मोदनाथ प्रश्रितका महाकाव्य प्रवृत्ति

- डा. यदु नन्दन उपाध्याय

अध्ययन सार
(प्रस्तुत आलेखमा प्रगतिवादी साहित्यकार मोदनाथ प्रश्रितका महाकाव्य प्रवृत्ति के कस्ता छन् भन्ने पक्षलाई उनकै दुई महाकाव्यमा आधारित भई विश्लेषण गरिएको छ । यसमा प्रश्रितका महाकाव्य प्रवृत्तिलाई कृतिगत तथ्य मार्फत नै विश्लेषण गरी देवासुर सङ्ग्राम प्रगतिवादी एवं मानव प्रगतिशील वैचारिक धरातलमा आधारित रहेको निष्कर्ष निकालिएको छ । यसको निष्कर्ष पुस्तकालयीय विधि मार्फत प्रगतिवादी एवं प्रगतिशील चिन्तनका आडमा निकालिएको हो । यस आलेखलाई मुख्यतः स्नातक तहको नेपाली पाठ्यक्रम अनुरूप उपयोगी बनाउने प्रयास पनि गरिएको छ )
१. विषय प्रवेश
मोदनाथ प्रश्रित (१९९९) नेपाली साहित्य, समाज चिन्तन तथा राजनीतिक गतिविधिका प्रभावशाली व्यक्तित्व हुन् । उनको साहित्यिक व्यक्तित्व कविता, निबन्ध, नाटक, उपन्यास तथा कथाका साथै समालोचनामा पनि बलियो उपस्थितिका साथ मुखरित छ । उनको काव्य सिर्जन २००८ सालबाटै थालिएको तथा २०१५ सालबाट सार्वजनिक प्रकाशनमा देखिएर अघि बढेको हो । उनका कविता कृतिहरूमा आमाका आँसु (२०१९, कविता सङ्ग्रह), बुबा खै ? (२०२०, खण्डकाव्य), मानव (२०२३, मदन पुरस्कार प्राप्त महाकाव्य), देवासुर सङ्ग्राम (२०३०, महाकाव्य), गोलघरको सन्देश (२०३९, खण्डकाव्य) शहिदको रगत (२०३९, कविता सङ्ग्रह), जब चल्छ हुरी (२०४९, गीत सङ्ग्रह) र सङ्कलित रचना भाग (१) (२०५८, कविता एवं गीतहरूको सङ्ग्रह) रहेका छन् । प्रश्रितका जम्माजम्मी कविता रचनाहरूको परिमाण फुटकर कविता र गीततर्फ २३५, खण्डकाव्य २ र महाकाव्य २ रहेको छ । प्रश्रितको कवि व्यक्तित्व उनका अरू साहित्यिक व्यक्तित्वका तुलनामा समृद्ध र प्रभावशाली छ । प्रस्तुत आलेखमा प्रश्रितका फुटकर कविता र गीतका साथै खण्डकाव्यका प्रवृत्तिको नभई उनका महाकाव्य प्रवृत्तिको मात्र विश्लेषण गर्ने कार्य गरिएको छ र यसको अध्ययनका निम्ति पुस्तकालयीय र त्यसभित्र पनि पुस्तकीय अध्ययन विधिको मात्र उपयोग गरिएको छ ।
२. प्रश्रितका महाकाव्य प्रवृत्ति
मोदनाथ प्रश्रितले २०२३ सालमा मानव र २०३० सालमा देवासुर सङ्ग्राम गरी दृई महाकाव्य प्रकाशित गरेको जनाइ सकिएको छ । उनको पहिलो महाकाव्य मानवमा मूलतः अध्यात्मवादी चेतनाका आडमा क्षमाशील मानवतावादी चेतना प्रकट गरिएको छ भने दोस्रो महाकाव्य देवासुर सङ्ग्राममा प्रगतिवादी वैचारिक मान्यता प्रकट भएको छ (उपाध्याय, २०६८ ः २९३–२९४) । प्रस्तुत सन्दर्भमा ती दुवै महाकाव्यबाट अभिव्यक्त प्रश्रितका महाकाव्य प्रवृत्तिहरूको विश्लेषण विभिन्न उपशीर्षकमा केन्द्रित भई क्रमशः गरिएको छ ।
२.१ श्रम शोषणको विरोध र वर्गद्वन्द्वको अभिव्यक्ति
प्रश्रितका महाकाव्यमा एउटा मान्छेले गरेको श्रम र बगाएका पसिनाको प्रतिफल अर्कैले उपभोग गर्ने प्रवृत्तिको चित्रण गरी त्यस प्रवृत्तिको विरोध गरिएको छ । मानवमा काले चरित्र र उसका बाबुबाजे समेतले गजाननका घरमा दास सरह भई रातदिन काम गरेका छन् तर उल्टो उनीहरूको जीवन दुखमय, पीडामय र अमानवीय बनेको छ । त्यसको सम्पूर्ण कारण गजाननको शोषण मात्र हो जो गाउँको मुखिया बनेर श्रमै नगरी सुख भागि रहेको छ र कालेको परिवारमाथि शोषण मच्चाइ रहेको छ । मोहनले तम्घासको उकालोमा साहुको गरुङ्गो भारी भोकभोकै बोक्न बाध्य भएको छ तर त्यसैलाई साहुले कुटपिट गर्ने अमानवीय काम गर्नुका साथै घर पुगेर ज्याला माग्दा उल्टै तिरस्कार र यातना भोग्नु परेको छ । देवासुर सङ्ग्राममा पनि कठोर परिश्रम गर्ने असुर पक्षमाथि गद्दामा बसेर सुखभोगमा रमाउने अल्छी देवताहरूले विभिन्न निहुमा शोषण गरी मोजमस्तीको जीवन बाँचेका छन् । यस प्रकार श्रम एउटाले गर्ने र फल श्रम नगर्नेले भोग्ने समाजको प्रचलनका कारणलाई देखाई त्यस प्रकारको प्रवृत्तिले नै समाजमा अन्याय र असमानता बढेको अभिव्यक्ति प्रश्रितका महाकाव्यले प्रकट गरेका छन् र त्यस प्रकारको गलत प्रचलन समाप्त पार्नु पर्ने मान्यता पनि ती दुवै महाकाव्य मार्फत प्रस्तुत गरेका छन् ।
प्रश्रितका महाकाव्यमा उक्त प्रकारको श्रम शोषणको गलत प्रचलनका कारण समाजमा धनी र गरिबको, शोषक र शोषितको, श्रम गर्ने र बसी बसी खानेको वर्गभेद बढेको उल्लेख गरी त्यस प्रकारको शोषण विरुद्ध गरिब, शोषित र श्रम गर्नेहरू सक्रिय हुनु पर्ने वर्गद्वन्द्वको अभिव्यक्ति पनि प्रस्तुत गरिएको छ । देवासुर सङ्ग्राममा यस्तो वर्गद्वन्द्वलाई निम्न वर्गको सङ्घर्ष मार्फत अन्त्य गरी समाजवादी समाज निर्माण गर्न सकिने प्रगतिवादी मान्यता प्रस्तुत गरिएको छ भने मानवमा पनि शोषण र दासताका विरुद्ध स्वस्फूर्त रूपमै भए पनि वर्ग विद्रोहको भावना विकसित गर्नु पर्ने मान्यता प्रस्तुत गरिएको छ । यसरी प्रश्रितका महाकाव्यले मानवका श्रममाथि हुने जुनसुकै प्रकारका शोषणको विरोध गर्नु पर्ने र त्यसलाई वर्गद्वन्द्व मार्फत परिवर्तन गर्न सकिने मान्यता प्रस्तुत गरेको पाइन्छ ।
२.२ नारी उत्पीडनको विरोध र मातृत्वका गहिराइको व्याख्या
मोदनाथ प्रश्रितले आफ्ना महाकाव्यमा नारीमाथि हुने विभिन्न प्रकारका भेदभाव र शोषण उत्पीडनको चित्रण गरी त्यस प्रकारका गलत कार्यका अन्त्यको मान्यता प्रस्तुत गर्नुका साथै नारी हृदयमा रहने मातृत्वका गहिराइको मर्मस्पर्शी व्याख्या पनि गरेका छन् । उनले मानवमा गजानन र तत्कालीन (२०२३) समाज समेतले गरेका नारी उत्पीडन र अपमानजनक व्यवहारलाई देखाई त्यसको आलोचना गरेका छन् । उनले श्रीमतीमाथि अन्याय गर्ने, शारीरिक आक्रमण गर्ने, दोस्रो विवाह गरी सताउने, छोरालाई काखा र छोरीलाई पाखाको व्यवहार गर्ने, असमान उमेर र बाल विवाह गर्ने, यौन शोषण र हत्या समेत गर्ने जस्ता लैङ्गिक विभेदका सामाजिक प्रवृत्तिको चित्रण गरी त्यस प्रकारको उत्पीडन गर्नेहरूको कठोर प्रतिवाद गर्नु आवश्यक रहेको जनाएका छन् । उनले मानवमा घरको खर्च चलाउनका निम्ति कतिपय महिलाले होटल व्यवसाय चलाएर बस्दा समाजले र स्वयं त्यही व्यवसाय गर्ने नारीहरूका पतिले समेत कुरा काट्ने गरेकाप्रति पनि आपत्ति जनाएका छन् । उनले देवासुर सङ्ग्राममा पुरुषको विलासी मानसिकता र अधिकार जमाउने आकाङ्क्षाका कारण नै समाजमा मातृसत्ताको अन्त्य भई पुरुष प्रभुत्व र नारी उत्पीडन थालिएको ऐतिहासिक यथार्थको उद्घाटन गरेका छन् । उनले धार्मिक अन्धता एवं सामाजिक कुसंस्कारका आडमा हुने नारीमाथिका शोषण एवं अपमानित व्यवहारको विरोध गरी नारी पुरुष समानताको आकाङ्क्षा व्यक्त गरेका छन् ।
मोदनाथ प्रश्रितका महाकाव्यमा नारीभित्र रहेको ममता, प्रेम, धैर्य र सहनशीलताको विशद व्याख्या पाइन्छ । मानव महाकाव्यकी सरिताभित्र ती गुण रहेका छन् । गजाननले पुतलीमाथि बलात्कार गरी जन्मिएको नवजात सन्तानलाई खोल्सामा फाल्न लगाएको र पुतलीको हत्या गरेको वीभत्स दृश्य देखेपछि सरिताले प्रकट गरेका मार्मिक अभिव्यक्ति र कार्यबाट सो प्रवृत्ति प्रकट भएको छ । त्यसमा सरिताले गजाननको शारीरिक आक्रमण र धम्की समेत बेहोर्दै मोहनलाई जोगाउनकै निम्ति गृहत्यागको कठोर निर्णय लिएको, निर्जन जङ्गल र डरलाग्दो ठाउँमा एकोहोरिएर नवजात मोहनलाई बचाउन अत्ताल्लिँदै हिँडेको, कतिपय मानिसहरूले चरित्रहीन नारीको आरोप लगाउँदा पनि सहन गरी कुनै प्रतिवाद नगरी मोहनको स्याहारमा मात्र केन्द्रित भएको र पछि आफूले भट्टी चलाएर, दाउरा र घाँस बोकेर मोहनको पालन पोषण गरी उसलाई कर्मशील बन्ने पाठ सिकाएको सन्दर्भले पनि नारीको ममता, धैर्य, सङ्घर्ष र सहनशीलताको उदाहरण प्रस्तुत गरेको छ । प्रश्रितले देवासुर सङ्ग्राममा नारीका शक्तिशाली स्वरूपको चित्रण मार्फत आइ लाग्ने विपत्ति र विसङ्गतिका विरुद्ध नारी पनि सङ्घर्ष गर्न विगतमा पनि अग्रसर भएका र अहिले पनि हुनु पर्ने मान्यता प्रस्तुत गरेका छन् । यसरी समाजमा हुने नारी उत्पीडनका विविध यथार्थ र तिनका ऐतिहासिक कारण समेत प्रस्तुत गरी तिनको अन्त्यको चाहनाका साथै नरीभित्रका ममतामयी गुणहरूको गहिरो व्याख्या प्रश्रितका दुवै महाकाव्यमा गरिएको पाइन्छ ।
२.३ जातीय विभेद एवं अन्धताको अन्त्य
प्रश्रितका महाकाव्यमा समाजमा भनिने गरेको तल्लो र माथिल्लो जातको कृत्रिम विभेदका साथै सामाजिक एवं धार्मिक अन्धताका विभिन्न स्थितिको चित्रण गरी त्यस्ता गलत प्रचलन र अवैज्ञानिक संस्कारका अन्त्यको कामना गरिएको छ । उनले हिन्दु वर्णाश्रममा आधारित नेपाली समाजमा प्रचलित रहेको जातीय छुवाछुत प्रथाप्रतिको असहमति र विरोधको विषयलाई महत्त्वका साथ प्रस्तुत गरेका छन् (भण्डारी, २०६७ ः २७७) । देवासुर सङ्ग्राममा समाजको कामको प्रकृति अनुसार जातिगत विभाजन भएको र त्यसले नै कालान्तरमा छुवाछुतको अमानवीय प्रथालाई जन्माएको ऐतिहासिक यथार्थको उद्घाटन गरिएको छ । प्रश्रितले उक्त यथार्थलाई बुझेर सबै जातजातिका बिच समानता र सहअस्तित्वको भावना विकसित गर्नु पर्ने मान्यता आफ्ना महाकाव्य मार्फत प्रस्तुत गरेका छन् । उनी सबभन्दा कठोर काम गर्ने समुदाय उक्त जातिभेदका कारण अपमानित भएका जनाई समाजले तिनलाई त झन् बढी सम्मान र प्रतिष्ठा प्रदान गर्नु पर्ने अभिमत प्रस्तुत गरेका छन् । उनले भोग र विलासको स्वार्थ पुरा हुँदा उक्त जातिभेदको पर्बाह नगर्ने तर अन्य सन्दर्भमा भने त्यही जातिभेदका आधारमा सामाजिक हैकम र प्रभुत्व प्रदर्शित गर्ने विभेदकारी प्रचलनका विरुद्ध सशक्त ढङ्गले प्रतिवाद गरी त्यस्ता प्रचलनको पूर्ण अन्त्यको अपेक्षा गरेका छन् । मानव महाकाव्यको गजाननले कामीको छोरी पुतलीसँग गरेको यौन दुराचार तथा कालेले गरेको तार्किक एवं भौतिक प्रतिवादको सन्दर्भले त्यही कुरालाई बुझाएको छ । उनका महाकाव्यमा धार्मिक आडम्बर, कुरीति, स्वाङ्, ढोंग र अन्ध विश्वासप्रति तिखो व्यङ्ग्य गरिएको छ (पन्थी, २०६८ ः ३३०) । त्यसका केही उदाहरण यस्ता छन् ः
चोखा बाहुनको गर्भ कामीकी छोरीमा रहे
भू्रणको जात के हुन्छ लौ श्रुतिस्मृति खोल्नुहोस् ।
कस्तो उत्पात यो दैत्य पस्नु ब्राह्मणका घर
अझै असह्य के यस्तो जनै र टुप्पी तोडनु ।
(प्रश्रित, २०४७ ः ४४)
यसरी प्रश्रितले आफ्ना दुवै महाकाव्यहरूका माध्यमबाट समाजमा हुने जातिभेद र छुवाछुत जस्ता अमानवीय प्रथाको अन्त्य चाहेका छन् र त्यस्ता अन्ध प्रचलनका विरुद्ध सशक्त प्रतिवादको अपेक्षा पनि गरेका छन् ।
२.४ देशभक्ति र विश्व बन्धुत्वको भाव
प्रश्रितका महाकाव्यमा नेपाली भूमिप्रतिको गहिरो भक्तिका साथै संसारभरिका मानिसका बिच प्रेम र परस्पर समानताको भावना फैलिनु पर्ने मान्यता प्रकट भएको छ । उनले कविता रचनाको प्रारम्भबाटै देशभक्तिको गहिरो भाव व्यक्त गरेका थिए भने त्यसको निरन्तरता महाकाव्यमा पनि अभिव्यक्त भएको छ । मानव महाकाव्यमा गजाननको दासत्वबाट मुक्त हुन काले भारततिर हिँडे पनि उसभित्रको देशभक्ति भुलभुलिएर प्रकट भएको छ । भारतमा काम गर्दा पनि नेपाल आमालाई सम्झि रहने, नेपाल फर्कने आतुरता लिइ रहने, नेपालीहरूप्रति अपमानजनक व्यवहार गर्ने विदेशी साहुप्रति तीव्र घृणा व्यक्त गर्ने उसको स्वभावले देशभक्त नागरिकको भूमिका निर्वाह गरेको छ । त्यसमा प्रश्रितले नेपालका तीर्थस्थललाई हेला गरेर विदेशी तीर्थस्थलको महिमा गाउने प्रवृत्तिको पनि विरोध गरेका छन् भने नेपालीहरू कामका निम्ति विदेश जाँदा नेपालमा साहुको सामन्ती शोषण बढ्ने हुनाले पनि देशभित्रै बस्नु पर्ने आग्रह गरेका छन् । यसका साथै आमाको मृत्युपछि विदेश जान लागेको मोहनले विदेशमा लड्दा घाइते भएको लाहुरेलाई देखी र उसका कुरा सुनेपछि आफू सुन्दर हिमाल र पवित्र आफ्नो भूमिलाई बचाउन नेपालै बस्ने अठोट गरेको सन्दर्भबाट पनि उसको देशभक्तिको भाव प्रकट भएको छ । देशभक्तिको यस्तो भाव देवासुर सङ्ग्राममा पनि बाह्य हस्तक्षेप विरुद्धको भावका साथ प्रकट भएको र समन्वयवादी शिव संस्कृतिको निर्माणमा पनि नेपालको महत्त्व पौराणिक सययदेखि नै रहेको सन्दर्भ उल्लेख गरिएको छ ।
प्रश्रितका महाकाव्यमा मानिस मानिसका बिच भएका युद्ध र रक्तपात मार्फत निर्माण गरिएका प्रत्येक देशका सीमाले मानिसका मनमा ईष्र्या, शत्रुता र हिंसात्मक प्रवृत्ति बढाएको हुनाले देश देशका बिचका युद्धको विरोध र सबै देशका मानव मानवका बिचको आत्मीय सम्बन्धको विकास हुनु पर्ने मान्यता प्रस्तुत गरिएको छ । उनले युद्धद्वारा निर्मित त्यस्ता साँधसीमाले आर्थिक असमानता बढाएको र मानव मित्रतामा तिक्तता फैलाएको हुनाले त्यस्ता गलत कार्यको अन्त गरी विश्वका सबै मानिस आफन्त हुन् भन्ने विश्व बन्धुत्वको भावना विकसित गर्नु पर्ने मान्यता प्रस्तुत गरेका छन् । यस दृष्टिले मानव महाकाव्य महत्त्वपूर्ण छ । यसरी प्रश्रितका महाकाव्यमा आफ्नो देशप्रतिको गहिरो भक्ति प्रकट हुनुका साथै विश्वस्तरमा पनि युद्धको विरोध र विश्व बन्धुत्वको भाव पनि प्रकट भएको पाइन्छ । देवासुर सङ्ग्राममा उच्च वर्गका मानवको नभई निम्न वर्गका मानवको मात्र हितरक्षाको अभिव्यक्ति प्रस्तुत गरिएकाले सर्वहारा वर्गीय मानवतावादी चेतना प्रकट भएको छ ।
२.५ भिन्न वैचारिक मान्यताको अभिव्यक्ति
प्रश्रितका मानव र देवासुर सङ्ग्राममा भिन्न भिन्न विचारको अभिव्यक्ति प्रकट भएको छ । उनको मानव महाकाव्यमा युद्ध होइन शान्ति, आक्रमण होइन सहिष्णुता एवं घृणा होइन प्रेम भन्ने मानवतावादी विचार व्यक्त गरिएको छ । सर्व साधारण जनतामा जातीय, लैङ्गिक एवं वर्गीय उत्पीडन मार्फत हत्तुहैरान पार्ने अपराधी गजाननलाई आत्मग्लानिमा छटपटिन दिनु नै उसका लागि सीमान्त दण्ड हो भन्ने सहिष्णुतामा आधारित मानवतावादी विचार यस महाकाव्यमा प्रकट गरिएको छ । सो कुरा गजाननलाई आक्रमण गरेर सिद्ध्याउन लागेको शम्भुलाई रोकेर मोहनले क्षमा नै ठुलो कुरो हो भनेबाट प्रष्ट भएको छ । यस अर्थमा मानवमा उत्पीडनकारी वर्गमाथि सङ्घर्षद्वारा विजय हासिल गर्नु पर्ने भन्ने प्रगतिवादी मान्यता नभई अपराधीलाई क्षमा दिएर चरित्र सुधार मार्फत समाज सुधारको आकाङ्क्षा व्यक्त गर्ने क्षमाशील मानवतावादी विचार प्रकट भएको देखिन्छ । यस प्रकारको मान्यता यथास्थितिको आलोचना गर्ने प्रगतिशील मान्यतामा आधारित छ र त्यसलाई प्रगतिवादी मान्न सकिन्न । मानव महाकाव्यको विचारबारे रिसाल (२०४५ ः १६९) भन्छन् “प्रश्रितले यसमा आफ्ना समस्त भाव र भाषालाई सोहोरेर कुरीति र अन्ध विश्वासको विरोधमा निर्धक्क कुर्लेका छन्, अन्यायीका गाला फोरेका छन्, जातभात, ठुलोसानो र गरिब धनीको भेदलाई बेसरी थप्पड मारेका छन् ।” यसर्थ मानव महाकाव्य प्रगतिशील दष्टिकोणमा आधारित छ ।
प्रश्रितको देवासुर सङ्ग्राम भने मानवमा भन्दा भिन्न द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी मान्यतामा आधारित प्रगतिवादी विचार प्रस्तुत गरिएको छ । यस महाकाव्यमा समाजको विकासलाई आदिम साम्यवाद, दास, सामन्ती, पुँजीवादी, समाजवादी र साम्यवादी चरणमा विभाजित गरिएको छ । त्यसमा समाजमा हुने लैङ्गिक, जातीय, वर्गीय आदि सबै प्रकारका उत्पीडनको अन्त्य सङ्घर्षद्वारा स्थापित हुने समाजवाद र साम्यवादमा मात्र सम्भव रहेको प्रगतिवादी वा माक्र्सवादी मान्यता प्रस्तुत गरिएको छ । यसैले मानवमा अध्यात्मवादी विचारका आडमा निर्देशित समाज सुधारको प्रगतिशील मान्यता प्रस्तुत गरिएको छ भने देवासुर सङ्ग्राममा आमूल परिवर्तनको प्रगतिवादी मान्यता प्रस्तुत भएको छ । साथै देवासुर सङ्ग्राममा त्यही प्रगतिवादी विचार प्रस्तुत गर्नकै निम्ति उनले अलौकिक, अतिकाल्पनिक पौराणिक सन्दर्भका देवतालाई समाजले मानि आएभन्दा पृथक शोषक उत्पीडक वर्गका रूपमा तथा असुर पक्षलाई शोषित उत्पीडित पक्षका रूपमा रूपान्तरित वा विनिर्मित गरेका छन् । यसरी प्रश्रितका जीवनमा भएको विचारको विकास अनुरूप मानव (माक्र्सवादी विचार ग्रहणपूर्व रचिएको) र देवासुर सङ्ग्राम (माक्र्सवादी विचार ग्रहणपछि रचिएको) ले भिन्न भिन्न वैचारिक निष्कर्ष प्रस्तुत गरिएको पाइन्छ । यथास्थितिको आलोचना गर्ने पक्ष प्रबल देखिएका कारण कतिपय समीक्षकले मानवलाई प्रगतिवादी भने पनि त्यसले माक्र्सवादी विचारलाई पूर्णतः आत्मसात गरेको नदेखिने हुनाले प्रगतिवादी महाकाव्य भन्नु उचित देखिन्न । यसरी प्रगतिशील तथा प्रगतिवादी जस्ता भिन्न वैचारिक प्रवृत्तिको अभिव्यक्ति प्रश्रितका महाकाव्यमा पाइन्छ ।
२.६ प्रश्रितको महाकाव्य शिल्प
मोदनाथ प्रश्रितका मानव र देवासुर सङ्ग्राममा मूलतः महाकाव्यका स्थापित मान्यताकै उपयोग गरिएको छ भने त्यस मान्यतामा नवीनता र समसामयिकताको खोजी पनि गरिएको छ । उनले मानवमा महाकाव्यका स्थापित मान्यता अनुसार इतिहास वा पुराण प्रसिद्ध विषय हुनु पर्ने, चरित्र प्रस्तुतिमा पनि महानता र उच्च कुलीनता रहनु पर्ने मान्यताका सट्टा सामयिक जीवनको र त्यसमा पनि सबभन्दा तल्लो वर्गको जीवन र तल्लो वर्गकै व्यक्तिलाई मुख्य चरित्र बनाएर प्रस्तुत गरेका छन् । त्यस्तै देवासुर सङ्ग्राममा विषय पौराणिक वा प्राक्ऐतिहासिक भए पनि त्यसको अन्तर्वस्तुको बुनाइमा विनिर्माण गरी समसामयिकता प्रदान गरेका छन् । त्यसको विनिर्माणमा हिन्दु समाजमा स्थापित सम्मानित देवता अपमानित शोषक वर्गमा तथा अपमानित असुर चाहिँ सम्मानित शोषित वर्गमा विनिर्मित वा रूपान्तरित भएका छन् । उनी विषय पुरानो लिए पनि त्यस मार्फत अहिलेको समाज र मानिसले भोगि रहेका समस्या र यथार्थलाई नै महाकाव्यमा प्रस्तुत गर्न चाहन्छन् र समाधान खोज्न पे्ररित पनि गर्दछन् । उनले मानव महाकाव्यमा विभिन्न भावलाई अभिव्यक्त गर्न सघाउने चित्रभाषाको प्रयोग पनि गरेर भावाभिव्यक्तिको नवीन मार्ग खोजेका छन् ।
प्रश्रितका महाकाव्यमा वैचारिक प्रबलता पाइन्छ । उनले मानवमा नेपाली समाजका लैङ्गिक, जातीय एवं वर्गीय शोषण र त्यस विरुद्धको अहिंसात्मक समाधानको विचारलाई आख्यान र कवित्वको सहकारिताका साथ अभिव्यक्त गरेका छन् र त्यसमा कतिपय चर्को विरोधको आक्रोश पनि मिसिएको छ । देवासुर सङ्ग्राममा उनले माक्र्सवादी विचारलाई भावपूर्ण कवित्वको प्रवाहमा प्रस्तुत गर्ने प्रयत्न गरे पनि पूर्ण सफलता पाउन सकेका छैनन् । यसो हुँदा समाज परिवर्तनको विचारको प्रबलतामा कवित्वको केही पक्ष कमजोर रहनु प्रश्रितका महाकाव्यको शिल्पगत प्रवृत्ति हो ।
लय विधानका दृष्टिले मानव गद्य लयका साथै अनुष्टुप, शार्दूल विक्रीडित, मन्दाक्रान्ता, वियोगिनी, अपरान्तिका आदि वर्ण मात्रिक छन्द र झ्याउरे जस्ता मात्रिक छन्दका श्रुति रमणीय लयमा आबद्ध देखिन्छ । देवासुर सङ्ग्राम मूलतः अनुष्टुप र केही मात्र वंशस्थ, उपजाति र गद्यको दण्डक लयमा आबद्ध रहेको छ । यस महाकाव्यको प्रवाहपूर्ण लय विन्यासले सौन्दर्य निर्माणमा अहम् भूमिका खेलेको छ । प्रश्रितका दुवै महाकाव्यले आन्तरिक लय विन्यासको मधुरता, कर्णप्रियता तथा ओज गुणयुक्त सौन्दर्य प्राप्त गरेका छन् र तिनबाट महाकाव्यीय उचाइ पनि बढेको देखिन्छ ।
कथन पद्धतिका सन्दर्भमा प्रश्रितले मानवमा आख्यानीकृत कथन पद्धतिको उपयोग गरेका छन् । त्यसमा उनले कविद्वारा निर्मित विभिन्न पात्रहरूको कथनका साथै सोझै कवि कथन मार्फत पनि समाख्यान गरेका छन् । देवासुर सङ्ग्राममा भने मूलतः नाटकीकृत कथन पद्धतिको उपयोग गरिएको छ । यसमा उनले सुरुमा मास्टर र खेतारा चरित्रको सृजना गरी तिनकै प्रत्यक्ष संवादमा समाख्यान अघि बढाएका छन् भने त्यसमा पनि अन्य देव तथा असुर चरित्रका प्रत्यक्ष संवाद मार्फत महाकाव्यीय विषयको कथन गरिएकोले यो नाटकीकृत कवि कथनमै अभिव्यक्त हुन पुगेको छ ।
मोदनाथ प्रश्रितको महाकाव्यको भाषा प्रयोग मध्यम शिक्षित समुदायप्रति लक्ष्यित रहेको छ । उनले तत्सम शब्दको बढी प्रयोग गरेका छन् भने तद्भव शब्दको श्रुति मधुर प्रयोगमा पनि उनी सक्षम छन् । उनले कतिपय तत्सम शब्द र पदावलीको प्रयोग महाकाव्यमा गरे पनि तिनको अर्थ सन्दर्भ पाद टिप्पणीका रूपमा दिएर पाठकलाई सजिलो पारि दिएका छन् । विशेष गरी उनको महाकाव्यको भाषा ओज गुणयुक्त र प्रवाहपूर्ण रहेको छ । भावानुकूल शब्द प्रयोगको सामथ्र्य प्रश्रितका महाकाव्यमा अभिव्यक्त भएको छ । साथै उनले उपमा, रूपक, दृष्टान्त, अर्थान्तरन्यास, लोकोक्ति आदि विभिन्न अलङ्कारको प्रयोग गरेका छन् भने प्रकृतिको मानवीकरण तथा मानवको प्रकृतीकरण पनि गरी महाकाव्यीय सौन्दर्य प्रवद्र्धनको कार्य गरेका छन् । उनले नेपाली जीवनमा प्रचलित उखान र टुक्काहरूको स्वाभाविक प्रयोग पनि गरेका छन् भने विशेष गरी लुम्बिनी अञ्चलको स्थानीय पर्वती भाषिकाका बोलीचालीमा प्रयुक्त शब्दहरूको प्रयोग पनि गरेका छन् । नेपाली महाकाव्यको परम्परामा सरलता, स्थानीयता र यथार्थताको खोजी उनका महाकाव्य प्रवृत्तिमा पाइन्छ ।
३. निष्कर्ष
मानव र देवासुर सङ्ग्राम जस्ता दुई चर्चित महाकाव्यका स्रष्टा मोदनाथ प्रश्रितका महाकाव्यमा विषम सामाजिक स्थितिप्रति तिखो आलोचना गर्ने प्रगतिशील प्रवृत्तिका साथै समाजमा व्यापक परिवर्तनको अपेक्षा गर्ने प्रगतिवादी वैचारिक दृष्टिकोण प्रकट भएको छ । उनले मानवीय श्रम र पसिनामाथि हुने शोषणको तिखो विरोध गरी आफ्ना महाकाव्यमा निम्न वर्गीय पक्षधरता प्रकट गरेका छन् । उनले नेपाली समाजमा छोराछोरीमा भेदभाव हुने, बाल विवाह, बहु विवाह, अनमेल विवाहका साथै यौन शोषण मानसिक पीडा, शारीरिक आक्रमण र घर निकाला समेत गरिने पुरुष अत्याचारको यथार्थ चित्रण गरी नारी हृदयको गहिराइ तथा मातृत्वका महिमाको उद्घाटन पनि गरेका छन् । उनले नेपाली समाजमा तल्लो र माथिल्लो जात भनी गरिने छुवाछुत लगायतका अमानवीय प्रचलनका साथै सामाजिक एवं धार्मिक अन्धताका विभिन्न भ्रमको उद्घाटन गरी तिनका ऐतिहासिक कारणहरू पनि प्रस्तुत गरेका छन् र त्यस प्रकारका गलत मान्यताका अन्त्यको मार्ग निर्देश पनि गरेका छन् । उनका महाकाव्यहरूले गहिरो देशभक्तिका साथै विश्व मानवता र भ्रातृत्वको भावना पनि प्रस्तुत गरेका छन् । उनको मानव महाकाव्यले सबै प्रकारका हिंसात्मक कार्यको पूर्णतः निषेधको मानवतावादी दृष्टिकोण प्रस्तुत गरेको छ भने देवासुर सङ्ग्रामले समाजको ऐतिहासिक आवश्यकता र वर्गीय मुक्तिका निम्ति सशक्त सङ्घर्षको आवश्यकता पनि पर्ने प्रगतिवादी मान्यता प्रस्तुत गरेको छ ।
प्रश्रितको मानव महाकाव्यको शिल्पमा सहज कवित्वको तीव्रता पाइन्छ भने देवासुर सङ्ग्राममा वैचारिक प्रबलता र भावनाको अल्पता पाइन्छ । यसो भए पनि अनुष्टुप छन्दको श्रुति रमणीय प्रयोगले देवासुर सङ्ग्रामको भावनाका अल्पताको क्षतिपूर्ति समेत भएको छ । उनले विभिन्न अलङ्कारको प्रयोग, स्थानीय बोलीचालीका शब्दको प्रयोग, चित्रभाषाको प्रयोग र ओज गुणयुक्त तत्सम, तद्भव शब्दहरूको उपयुक्त एवं प्रवाहपूर्ण प्रयोगले महाकाव्यीय शिल्पमा उच्चता प्रदान गरेका छन् । यसरी मानवीय श्रम शोषण, लैङ्गिक उत्पीडन र सामाजिक अन्धता र भेदभावको तीव्र विरोध गर्दै देशभक्ति र निम्न वर्गीय विश्व बन्धुत्वको भाव व्यक्त गर्ने सशक्त प्रगतिवादी महाकाव्यकारका रूपमा प्रश्रितको योगदान उल्लेख्य रहेको पाइन्छ ।
सन्दर्भ सामग्री
उपाध्याय, यदु नन्दन (२०६८), “कवि मोदनाथ प्रश्रितका प्रगतिवादी प्रवृत्ति” काठमाडौँ ः अप्रकाशित
विद्यावारिधि शोध प्रबन्ध, त्रि.वि., मानविकी, डिनको कार्यालय ।
पन्थी, दीन (२०६८), “कवि प्रश्रित र उनको ‘मानव’ महाकाव्य”, जुही (प्रश्रित विशेषाङ्क), (वर्ष १३, अङ्क
१, पूर्णाङ्क ६५), पृ. ३२७–३३८ ।
प्रश्रित, मोदनाथ (२०४७), मानव, दो. सं., काठमाडौं ः लुम्बिनी प्रकाशन ।
(२०४४), देवासुर सङ्ग्राम, ते.सं., नेपाल ः प्रगतिशील अध्यययन केन्द्र ।
भण्डारी, पारसमणि (२०६७), नेपाली कविता काव्य, परिमार्जित सं., काडमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
रिसाल, राममणि (२०४५), नेपाली काव्य र कवि, ते. सं., काठमाडौँ ः साझा प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 माघ, 2072

लेखकका अन्य रचनाहरु