भुँइचालो

- डिग बहादुर तामाङ्ग

खै बाबु, काल नआए पछि मरिदैन रहेछ । १९९० सालको माघे संक्रान्तीको दिन ठुलो भुँइचलो आएको थियो रे । हाम्रा बाबुआमा म र भाइबहिनीहरुलाइ लिएर मामाको घरमा भोज खान जानु भएको थियो रे, बाबुले मलाई कोक्रोमा बोकेर बाहिर निस्कनु भएको थियो रे । त्यसपछि मैले यस्तो बिनासकारी भँुइचालो आएको थाहा पाएको थिइन भन्छे ध्याँङगाँउकी लमेनी बुढी । अनुहार चाउरी परेर मुजामुजा भएको छ, ढाड कुप्रिएर सिदा पररे हिड्न पनि नसक्ने भइ सकिन तै पनि आफ्नो अनुभव बेलिबिस्तार लाउन पछि पर्दिनन् उनी ।

पैँञौं डाँडाकी चीरमाई तामाङ्गनी १९९० सालको भूँइचालो जाँदा उनी तेह्रबर्षकी थिइन रे । छहरे गाँउको भुुरुङखोलाको भीरमा गाईबाख्रा चराउन गएकी थिइन रे । यसरी घुम्यो रे कि डाँडापाखा उनी त मूर्छित नै भइन् रे । पछि बिँउझिए पछि सबैको घर भत्केर भीरहरुमा पैरो गएको देखिन् रे । बैशाख १२ गते आएको महाकम्पमा यसरी कुरा सुनाउने बुढी आमा पछि बैशाख २९ गते आएको परकम्ममा आफनो प्राण भन्दा प्यारो घर भत्केको कुरा सुने पछि होसै हराएझैं गरी बोल्न छोडेका थिए रे । उमेरले ९५ बर्षकी भइन भनेर उनकी छोरी सुनाउँछिन ।

माधादेउराली तथा वरिपरिका गाँऊका सबै घरहरु २०७२ सालको भूँइचालोले ध्वस्त भएको थियो । खाने अन्न देखि ओढ्ने, ओछ्याउने, लगाउने लुगाफाटो केही रहेनन् । दुइ पटक आएको महाभुकम्प दिँउसो आएर मात्रै कोही मरेनन् नत्र भने सबै जनाले परमधाम लिन पथ्र्यो । आ यसरी बाँच्नुभन्दा त सबै परेको भए यो दुख सहेर बस्नु पर्दैन थियो होला । सबैजनाको बोलीनै यसरी लोली मिलाँउदै गफ गर्ने मेलो भै सक्यो गाउमा । के जाति सरकारले पन्ध्र हजार रुपैँया दिन्छ रे भन्ने समाचार सबैले नसुनेको भने होइन तर गैरिगाउका तामांङ्गहरुले आफ्नो नाम लेखाँउन नजानेर हो वा सरकारले खटाएको डोर सो गाँउमा आएर उनिहरुको सही नाम नलेख्नाले हो दुुइ पैसा कोही कसैले पाएको छैन । दँशै आए तिहार आए मासुभात समेत खान नपाई गए । तर हिँउदको यो चीसो जाडो भने तातो न्यानो नभए नजाने जस्तो भयो हामी सबैलाई बाबु यसपाली भनेर सुनाउँछन् तितेचौरका काँइला थोकर ।

मंसिर महीना लाग्न थाल्यो । जाडो दिनदिनै बढन थाल्यो । झन पुषमा अतिनै जाडो हुन्छ । घर भत्केर छानाको बाँकी रहेको फलेक र खाँबोहरु बटुलेर बनाएको गोठ बर्षभरीको झरीलाई केही काम दिएको थियो । अब मंसिर पौषको बेला मुटु काम्ने जाडोमा के गर्ने हो सबै पिरोलीन थालेका थिए । नभन्दै बाल बच्चाहरु रुघाखोकी लागेर धमाधम मर्न थाले । गाँउबाट बोकेर स्वास्थ्य चौकीसम्म पु¥याउन सकिएन । खोइ के भूत लाग्यो यस गाँउ भरि । सारा नानीहरुलाई धमाधम खाएर सोतर बनायो भन्छे लालमाइ बुढी । धानखेत बाँजो नै रह्यो यसपाली पानी नपर्नाले, मकै अलि अलि भयो, कोदो पनि खासै भएन यसपाली । बाहिर दाउराको चाँग लगाएर राखेका छन् । केही दाउराको फप्लेटो अगेनोमा थप्दै लालमाइ थप्छे “बुढो बाँचेको भए पनि केही भरथेक हन्थ्यो होला खै ।” नानीहरु नातीनी बुहारी मलायतिर गागो छ । दशैमा बीस हजार पैसा पठाएको थियो । यसो लुगाफाटो हाल्यो नानीहरुलाई नत्र त चीसैले मर्ने रहेछ, सरकाले के दिन्थो र ?

भन्ज्याङ डाँडा बस्ने लामथेपाका छोराछोरी पनि काठमाडौं तिर कोही टेम्पो चलाउछन् त कोही बस । त्यसैले खासै दुःख महसुस भएको छैन । महिनावारी दालचामल आई पुग्छ । घर भने नक्सा पास नगरी बनाउन नपाउने भएकोले मात्रै नत्र उन्को घर अहिले सम्म बनी सक्थ्यो । “मेरो त छोराहरु भएकोले खासै दुःख भएन तर गाउ भरिका मान्छेहरुलाई धेरै दुःख भएको छ, घर छैन खानेकुरा छैन, लुगाफटा छैन, ओढ्ने ओछ्याउने छैन, जाडोले कठ्याग्रिएंर मर्न थालेका छन्, खोइ सरकार कँहा गयो कुन्नि । रेडियोले भनेको थियो बाहिरबाट आएको पैसा मात्रै बाँड्यो भने जीउको एक करोड पुग्छ भन्थो । साँइला थोकर थप्छन् हे त्यस्तो कुरा पनि पत्याउने ? जजस्ले जे भन्यो त्यही पत्याउने ? उता घरघरमा के जाति आगो बल्ने टुटी टाँस्ने भनेर भनेछन् त्यो बुढोले त्यो पनि पत्याउने ? म त पत्याँउदिन यस्ता कुरा ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 माघ, 2072

लेखकका अन्य रचनाहरु