मुरारि पराजुलीको ‘हाँसेर उसका ओठले’भित्रको अन्तर्वस्तु र रूपरचना

- प्रा. डा. कपिल लामिछाने

१. उठान
समकालीन नेपाली कविताका एक सशक्त हस्ताक्षर कवि मुरारि पराजुली (२०२३) आÇना कवितामा जनताको बह बोल्छन् भने उच्च रूपरचनाको तानाबाना बुन्दछन् । आलमदेवी–१ कोटाकोट, स्याङ्जा पैतृक घर भई तानसेन, पाल्पामा जन्मेका र रूपन्देहीको मणिग्राममा बसोबास गर्दै आएका पराजुलीको विभिन्न पत्रपत्रिकामा थुप्रै फुटकर कविताहरू प्रकाशित भएका छन् भने त्यस्ता कविताहरूको प्रथम सङ्ग्रह हाँसेर उसका ओठले (२०६१) हो । २०३६ मा जाली तमसुक नाटक लेखेर नेपाली साहित्यको आँगनमा पाइला टेकेका पराजुलीको पहिलो प्रकाशित कविताचाहिँ दैनिक निर्णयमा प्रकाशित ‘ए युवा’ (२०४२) रहेको छ । संयुक्त कवितासङ्ग्रहका रूपमा प्रकाशित सृजनाका स्वरहरू (२०४५) तथा आगो पालेका पेट र शीत ओढेका बस्तीहरू (२०४६) जस्ता सङ्ग्रहमा उनका कविताहरू पुस्तकाकारमा देखिएका हुन् । पराजुलीका कविता प्रयोगशील र प्रगतिशील छन् । प्रयोगशील रूपरचनाभित्र प्रगतिशील अन्तर्वस्तु पस्किनु उनको वैशिष्ट्य हो । प्रस्तुत सन्दर्भमा प्रगतिवादी साहित्यिक मूल्यमान्यताका परिप्रेक्ष्यमा पराजुलीको उक्त एकल सङ्ग्रहभित्रका कविताहरूलाई नियाल्ने यत्न गरिएको छ ।

२. प्रगतिवादी साहित्यिक मान्यता र अन्तर्वस्तु
प्रगतिवाद वा समाजवादी यथार्थवाद उत्कृष्ट साहित्यिक मान्यता हो । यो मान्यता जीवनजगत्लाई हेर्ने स्रष्टाको अन्तर्दृष्टि पनि हो । सामाजिक–आर्थिक रूपान्तरणको प्रबल चाह नभई स्रष्टामा यस्तो मान्यता पलाउँदैन । साहित्यलाई सामाजिक–आर्थिक रूपान्तरणको साधन नमानी फगत् स्वान्तःसुखायको आलाप गर्ने र साहित्य साहित्यकै लागि भन्दै कलावादको कोरा वकालत गर्नेहरू प्रगतिवादका कित्तामा पर्न सक्दैनन् । प्रेमलाई वासनातुष्टिको सेतु मानेर कोरा प्रेमवादी–यौनवादी मान्यता राख्ने तथा यथार्थदेखि परको व्यक्ति र वस्तुलाई रहस्यका दृष्टिले हेर्नेहरू पनि प्रगतिवादका परिसरभित्र पर्दैनन् । प्रगतिवाद माक्र्सवादी कलासाहित्यसम्बन्धी मान्यताबाट अनुप्राणित साहित्यिक मान्यता हो । माक्र्स, एंगेल्स, लेनिन र माओ–त्से–तुङका विश्वदृष्टिकोणले माक्र्सवादलाई परिपुष्ट तुल्याएका छन् । त्यसैले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद नै प्रगतिवादको दार्शनिक आधार पनि हो । प्रगतिवादले लेखक–कलाकारको सृजनात्मक स्वतन्त्रतालाई उच्च महŒव दिए पनि स्वतन्त्रताका नाममा स्वच्छन्दता वा छाडातन्त्रलाई निरुत्साहित गर्दै एउटा निश्चित उच्च आदर्शबाट बाहिर गएर बरालिनबाट रोक्छ । भौतिक जीवनजगत्लाई यथार्थ वा सत्य मान्दै यस बाहेक रहस्य र काल्पनिक तŒवलाई असत्य मान्नु प्रगतिवादको एक मूलभूत मान्यता हो । यसै गरी प्रगतिवादले साहित्य मानवीय र सामाजिक वस्तु भएकाले त्यसको सृजनमा त्यस बाहेक कुनै अदृश्य वा दैवी शक्तिको भूमिकालाई अस्वीकार गर्दै सामाजिक–आर्थिक सङ्घर्ष नै साहित्य सृजनाको आधार र प्रेरणाको मूल स्रोत मान्दछ । हाम्रो सन्दर्भमा, नेपाली समाज वर्गीय समाज भएकाले वर्गीय समाजको वस्तु साहित्य पनि वर्गीय नै हुन्छ भने साहित्यकारले निम्नवर्गीय पक्षघरतालाई महŒव दिँदै कथित वर्ग समन्वयका विरुद्ध शोषित–पीडित सर्वहारा वर्गका पक्षमा दृढतापूर्वक उभिनु पर्छ । श्रम, परिवर्तन, जीवन र भविष्यप्रति निराश–उदास होइन, आशावादी र निष्ठावान् रहँदै सामन्तवाद र पुँजीवाद, साम्राज्यवाद र विस्तारवाद र तिनका पृष्ठकोषक माथि प्रहार गरिरहनु लेखकीय दायित्व हो । साहित्य अपौरुषेय नभएर श्रम वा आर्थिक क्रियाकलाप र परिस्थितिको उपज भएको मान्दै जनताका दुस्मनप्रति घृणाभाव प्रकट गर्नु तथा सर्वसाधारण नागरिकप्रति प्रेमभाव र ऐक्यबद्धता प्रदर्शन गर्नु, सामन्तवादको अन्त नहुँदासम्म क्रान्तिको आवश्यकतालाई औँल्याइरहनु, सामाजिक रूपान्तरणको साधन साहित्यको भाव–सम्प्रेषणको माध्यम भाषा भएकाले साहित्यको भाषा दुर्बोध्य, ल्किष्ट र आडम्बरपूर्ण नभएर सरल, सुबोध र स्वाभाविक तथा उच्च कलात्मक हुनु पर्ने मान्यता राख्नु, साहित्यलाई रूपान्तरणको साधनका रूपमा लिंदै साहित्यका माध्यमले जनतालाई प्रशिक्षित पार्दै क्रान्तिका पक्षमा गोलबन्द गर्नु पनि प्रगतिवादी साहित्यिक मान्यता हुन् । वस्तुतः वर्गीय र विचारधारात्मक प्रतिबद्धताका साथ प्रगतिवादी स्रष्टाले यौनवाद, स्तुतिवाद र प्रतिगामी वा प्रतिध्रुवीय विचारका विरुद्ध आफूलाई उभ्याउन सक्नु पर्छ ।
कुनै साहित्यिक कृति वा रचनामा रहेको मूलभूत सार विचार नै अन्तर्वस्तु हो । अन्तर्वस्तुले कवि लेखकको जीवनजगत्सम्बन्धी दृष्टिकोण वा विचारको प्रतिनिधित्व पनि गर्दछ भने पाठकले ग्रहण गर्ने सन्देश पनि त्यही नै हुन्छ । त्यसैले साहित्यको उद्देश्य वा विचार पनि त्यसको अन्तर्वस्तु नै हो । कुनै साहित्यिक रचना पढेर त्यसबाट जे बुझिन्छ त्यो नै अन्तर्वस्तु हो । त्यसैले यसलाई ‘के’ प्रश्नका उत्तरबाट खोजिन्छ । अन्तर्वस्तुलाई स्रष्टाले कलात्मक आवरण र रूपबाट प्रस्तुत गरेको हुन्छ । त्यही अन्तर्वस्तुलाई धुरीखाँबो बनाएर स्रष्टाले साहित्यको संरचना निर्माण गर्दछ । धुरीखाँबो नभई घर बलियो हुँदैन र घरको आवरण नभई धुरीखाँबो ठिङ्ग्रिङ्ग उभिएर पनि घर हुँदैन । यसबाट अन्तर्वस्तु र रूपको साझेदारीको महŒवलाई बुझ्न सकिन्छ । बोक्रा नभए गुदी पनि नहुने भए पनि उपयोगी वस्तु त आखिर गुदी नै हो । यसबाट के बुझिन्छ भने अन्तर्वस्तु बिनाको साहित्य साहित्य हुन्न । साहित्यको त्यो अन्तर्वस्तु प्रत्यक्ष–अप्रत्यक्ष, प्रतीकात्मक, हास्यव्यङ्ग्यात्मक, सूचनात्मक, विवरणात्मक जस्तो पनि हुनसक्छ, तर अन्तर्वस्तु हुन्छ–हुन्छ ।
एउटा प्रगतिवादी स्रष्टाले आÇना रचनामा प्रगतिवादका खिलाफ हुनेगरी अन्तर्वस्तुको चयन र प्रक्षेपण गर्दैन । वास्तवमा त्यसो नगरेकै कारणले ऊ प्रगतिवादी लेखक कहलाएको हुन्छ । सामन्तवाद–साम्राज्यवाद र तिनका पृष्ठपोषकको स्तुतिगान गर्नु जनविरोधी वा प्रतिगमनकारी कित्तामा उभिनु हुन्छ । साहित्य कहिल्यै पनि स्तुतिगानमा संलग्न हुँदैन र जो स्तुतिगानमा संलग्न हुन्छ त्यो जनतको साहित्यकार हुन सक्दैन । जनसाहित्य जनताका पक्षमा र सामाजिक–सांस्कृतिक रूपान्तरणमा दृढतापूर्वक उभिएको हुन्छ ।

३. कवि पराजुलीको ‘हाँसेर उसका ओठले’भित्रको अन्तर्वस्तु
‘हाँसेर उसका ओठले’को अन्तर्वस्तु विविध खालको छ । कतै प्रगतिवादी मूल्य र मान्यताअनुरूपको छ भने कतै त्यसको विपरीत वा प्रतिध्रुवीय नहुने गरी सामान्य आलोचनात्मक रहेको छ । मूलतः यी कविता आलोचनात्मक यथार्थवादको ओढनी ओढेर उभिएका छन्, तापनि कतिपय कविता सशक्त प्रगतिवादी कविताका रूपमा उपस्थित भएका छन् । समकालीन नेपाली काव्यकविताका मुख्यमुख्य प्रवृत्तिमध्ये समकालीन यथार्थलाई अभिव्यक्ति दिनु पनि एक हो । आफूले भोगे–बाँचेको युगका यथार्थलाई पराजुलीले सफलतापूर्वक अभिव्यक्ति दिएका छन् । चालीसको दशकयताका मुलुकका मुख्य परिघटना भन्नु २०४६ को जनआन्दोलन र त्यसले स्थापित गरेको दलीय प्रजातन्त्र तथा त्यसकै कमी–कमजोरीलाई उपयोग गर्दै दुईतिरबाट जनतामाथि लाद्न खोजिएका बर्बरताहरू नै हुन् । एकातिर जनयुद्धका नाउँमा उग्र वामपन्थी भडकाउ र अर्कातिर त्यसलाई दमन गर्ने नाउँमा भएका दमनकारी सामन्ती दरबारिया चलखेल ¤ पचासको दशकभर देशले भोगेको पीडाको मुख्य केन्द्रबिन्दु यही हो ¤ कवि पराजुलीका कविताको प्रहारस्थल र कथ्यको सेरोफेरो पनि यहींँ यतैतिर रहेको पाइन्छ । त्यसमा पनि अधिकांश कविताहरू २०४६ पछिका प्रजातन्त्रका नाममा भएगरेका अप्रजातान्त्रिक क्रियाकलापउपर खनिएका छन् भने केही कविता द्वन्द्व र युद्धका कारण नेपाल र नेपालीले बेहोर्नु परेको दोहोरो बुहार्तनका पीडाउपर बर्सेका छन् ।
पञ्चायत कालभर आÇना निष्ठाका नायक रहेका व्यक्तिहरूमा विचलन आएको देख्दा त्यसै निष्ठाको गुठीमा सामेल कविलाई त्यस गुठीमा बसिरहन पनि धौधौ भएको छ र त्यसलाई त्याग्न पनि कठिन भएको छ । यस धर्मसड्ढटको अवस्थालाई कवि पराजुलीले ‘मेरो युगनायक’ शीर्षकको कवितामा व्यक्त गरेका छन् । आÇनो यस केन्द्रीय कथ्यलाई कलात्मक ढङ्गले अभिव्यक्त गरेका छन् । केही हरफ त्यहींंंंंंबाट ः
तिम्रै भरोसामा मैले
अरूलाई पनि सँगसँगै हिँडाएँ
धैर्यताको सातु फाँक हालेर
विश्वासको आँसु पिइरहेँ
अभाव र यातनाको खडेरीलाई मैले
समयको पसिनाले सिँचिरहें
आज टाउको
नब्युँतिने गरी लत्रेको छ
भन
म यो टाउकोलाई उठाऊँ नि नउठाऊँ
मेरो युगनायक
तिम्रो छायाले मलाई लज्जित बनाएको छ (पृ.२)
कवि २०४६ सालको जनआन्दोलन टुङ्ग्याउन गरिएको समझौतामा कमी देख्छन् । समझौता हतारमा गरिएकाले यतिखेर सर्प पुनः फँडा उठाएर हामीलाई डस्न आइलागेको छ । सर्प राजा वा राजतन्त्रको प्रतीक हो । त्यसबेला राजा फाल्न सकिन्थ्यो, तर फालिएन । समझौता गर्दा राम्रोसँंग हेक्का राख्न नसकेको अवस्थालाई कविले ‘सर्पको कल्ली बेरेर गोडामा’ शीर्षकको कवितामा व्यक्त गरेका छन् । जस्तै ः
सडकैछेउ सर्पशिर उठिरहेको थियो
हामीले हेक्का गरेनौंं सर्पलाई
या आपस्तमै घचेट्दा एकअर्कालाई । (पृ.७)
... .... ..... ......
निसन्देह
हामी केही कुरामा चुकिरहेका थियौंंं
तातै खाने जल्दै मर्ने हतासामा
हामी आपस्तमै झुकिरहेका थियौंं । (पृ.८)
दलहरू भागबन्डाको दलदलमा फसेकोमा कवि दुखित छन् । पचासको दशकभर दलहरू सत्ताको सातु फाँक्ने कसरतमा लागिरहेको सत्य हो । ‘नकच्चराहरूको वर्जित शब्द’मा कवि ः
नकच्चराहरू
रोटीको भागबन्डा नमिल्दा
हठात् महाभारत चर्काउँछन्
आÇनो आग्रहमा
अलिकति ओझेल ओल्र्हदा
आपसमा आरोपका आग्नेयास्त्र
आत्महत्याका लागि प्रक्षेपण गर्छन् (पृ.९)

प्रजातन्त्र एउटा व्यवस्थामात्र होइन, एउटा संस्कार पनि हो । हामी कहाँ २०४६मा प्रजातन्त्र नामको जुन व्यवस्था आयो, त्यसले प्रजातन्त्रको खास्टोभित्र अप्रजातान्त्रिक संस्कारको कुटुरो लिएर आयो । त्यसैको नतिजास्वरूप आज हामीले घोर राष्ट्रसड्ढटको पीडा भोग्नुपरिरहेको छ । यसैगरी कविले ‘प्यारा प्रजाहरू’ कवितामा प्रजातन्त्रको हुर्मत लिइएको अवस्थाको सजीव चित्रण गरेका छन् भने ‘हैसियत, मान्छे र सिंढी’मा जनतालाई आफू माथि जाने भ¥याङ बनाएर आफू माथि जाने र त्यसपछि भुल्ने कृतघ्न कथित प्रजातन्त्रवादी नेताउपर व्यङ्ग्य गरेका छन् । यस्तै ‘हिजडाहरू र प्रजातन्त्र’ शीर्षकको कवितामा नेतागणलाई हिजडाको संज्ञा दिंदै कविले हिजडालाई बुई चढाएर हिँडेकाले हामीले नाममात्रको प्रजातन्त्र पाएको कुरा उल्लेख गरेका छन् । कविका यी अभिव्यक्तिबाट के बुझ्न सकिन्छ भने प्रजातन्त्रका नाममा भएका सबै क्रियाकलाप सन्तोषजनक छैनन् । प्रजातन्त्रको नाम लिइयो, तर त्यसअनुरूपका काम भएनन् ।
कवि पराजुलीले उठाएको अर्को मुख्य प्रसङ्ग हो युद्ध । सशस्त्र युद्ध सुरु हुनुका अनेक कारण हुन सक्छन् । यसको औचित्य र अनौचित्यका बारेमा तमाम बहस हुन सक्छन्, तर साँचो कुरो के हो भने यसबाट नेपाल र नेपालीले ठूलो पीडा भोगेको छ, ठूलो क्षति बेहोरेको छ । निश्चय नै यसबाट कविमन आहत भएको छ । कवि कसैको भाट होइन, चाटुकार होइन । उसले देखेको कुरा उसले लेख्न पाउनुपर्छ, तर लेख्दा पनि जङ्गल र जेलको यातना भोग्नु पर्छ र लेख्नेले मृत्युवरणका लागि तयार पनि रहनु पर्छ । यस्तो कठिन अवस्थामा पनि कविले अत्यन्त सन्तुलित भएर सशस्त्र युद्धकालीन भोगाइका केही पक्षलाई कविताबद्ध गरेका छन् । यस्तै स्थिति समेतप्रति व्यङ्ग्य गर्दै कवि ‘नानीको निद्रा र शब्द’ कवितामा लेख्छन् ः
शब्दलाई के अचाक्ली भो यस्तो
नानीको निद्रासँगै
अपहरित भएको छ
कालजयी शब्दको सुरक्षा । (पृ.६)
कविले यहाँ द्वैधसत्ताका दोहोरो बुहार्तनबाट शिशुको निद्रा र कविका शब्द दुवै अपहरित भएको अनुभव व्यक्त गरेका छन् । बालबालिकाहरू युद्धबाट सारै उत्पीडित भएका छन् । स्वास्थ्य र बुद्धिको विकास गर्नुपर्ने कलिलो उमेरका बालबालिकाहरू युद्धका कारण अनाथ, टुहुरा र असहाय भएका छन्, मान्छेको मन जित्न विचार तिखार्नुपर्ने बेलामा हतियार तिखार्न पुगेका छन् । तिनका क्रियाकलाप रोकिएका छन्, तिनका खुसीहरू खोसिएका छन् । ‘अचेल नानीहरू’ कविताका अन्तमा कविका केही शब्द ः
अचेल नानीहरू
स्कुल जाँदा आउँदा मुस्काउँदैनन्
खेलौना दिंदा र गीत गाउँदा पनि
दिल खोलेर रमाउँदैनन्
अकारण
अङ्कलहरूको मृत्युले शोकाकुल
नानीहरू अचेल
मनका कुराहरू पनि बताउँदैनन् । (पृ.१२)
‘नानीको निद्रा र शब्द’मा जस्तै ‘शब्दहरूको टापुबाट’ कवितामा पनि कवि पराजुलीले युद्धले गर्दा शब्द सिर्जना वा लेखनमा अवरोध र आतङ्क सिर्जना गरेको तथ्यलाई व्यक्त गरेका छन् । मूलतः लेखक स्वतन्त्र छ, तर उसलाई स्वतन्त्रतापूर्वक लेख्ने वातावरण स्वतन्त्र छैन । कवि अनुभव व्यक्त गर्छन् ः
जङ्गली बारुदले डढ्न सक्छ
सदरमुकामको आँखाले डस्न सक्छ ।
... ... .... ...
यसैले
निर्वासित निर्जन टापुमा
लामबद्ध छन्
आतङ्कित मेरा शब्दहरू । (पृ ३७)
बालबालिका, कवि–लेखकमात्र होइन, जनयुद्धका कारण सिङ्गो मुलुक एउटा बधशालामा रूपान्तर भएको विभत्स चित्र कविले प्रस्तुत गरेका छन् । ‘कसाई सपनाको साम्राज्यमा’ शीर्षकको कवितामा मुलुक जताततै युद्ध लडिरहेको र युद्धका कारण यहाँ कसैको बाँच्नुको ठेगाना नभएको, जीवन अस्तित्वहीन भएको, जताततै बारुदी सुरुङ ओछ्याइएको, हिँड्दाहिँड्दै मर्ने र मारिने सम्भावना रहेको यथार्थलाई कविले कवितामा मूर्त रूप दिएका छन् । मुलुकको यस्तो अवस्थामा पनि सत्ताका ठेकेदारहरू राजा निरोझैंं आÇनैै धूनमा मस्त रहेको अवस्थालाई कविले व्यङ्ग्य गरेका छन् । ‘संवेदनहीनता’मा युद्ध वा बारुदको खेलमा लाग्नेहरूमा मानवताको अभाव र मान्छेमिजासको रिक्तता हुने कुरा व्यक्त गरेका छन् भने ‘तरवार’ कवितामा अस्त्र देखाएर तर्साए पनि हतियारले आर्जेको दम्भ चिरस्थायी नहुने तथ्यलाई प्रस्ट पारेका छन् । ‘तरवार’ कविताका आरम्भिक केही हरफ ः
तरवारको म्यानभित्र
संवेदनाको भाषा हुँदैन
तरवार आर्जित राज्यमा
कुटुम्ब अनुभूतिको राग हुँदैन
घाँटी सेरेर अर्काको
ताज पहिरिने टाउकोमा
निर्बिघ्न शान्तिको सपना फुल्दैन । (पृ.१४)
प्रजातन्त्र र सशस्त्र युद्धपछि कवि पराजुलीका कवितामा महŒवका साथ उठेको विषय राष्ट्र र राष्ट्रियता हो । ‘आमामाथि उठेको प्रश्न’ शीर्षकको प्रतीकत्मक कवितामा सामन्तवादद्वारा क्षतविक्षत पारिएको नेपालको अवस्थाको चित्रण गरेका छन् भने हाम्रो आÇनो राष्ट्रवादको ओठेभक्तिप्रति कविले व्यङ्ग्य प्रहार पनि गरेका छन् । राष्ट्रियताका कुरा गर्ने हामीमा राष्ट्रहितका काम गर्ने बानी घटेको र हटेको छ । त्यसैले ‘राष्ट्रवाद’ कवितामा कवि लेख्छन् ः
उदारवाद
पुत्रबधपछि मङ्गलचौथीको व्रत बस्छ
बम्बइया पर्यटकको
सिन्धुपाल्चोकमा घरज्वाइँ जम्छ
चम्पारणको छिमेकी मित्र
नागरिकता फाँटमा अक्सर भेटिन्छ
हाम्रो राष्ट्रवाद
न घिरौँला रोप्छ
न अङ्गुरको टोकरी बोक्छ (पृ.२९)
राष्ट्रवादी कवि पराजुली एकातिर राष्ट्रियतामा आएको खतीमा अति चिन्तित छन् भने अर्कातिर आÇनो माटोप्रति अत्यन्त श्रद्धाभाव प्रकट गर्दछन् । ‘माटो’मा उनी लेख्छन् ः
नेपाली हुनु नै
माटोको अमीट नाता हो
जो माटोमा उद्भासित हुँदै
माटोमै उत्सर्जन हुन्छ । (पृ.४९)
यस्तै ‘बताऊ, कहाँ छ मेरो राष्ट्र’ कवितामा कवि सानो स्टोभको पिन र दैनिक उपभोग्य सामानको पनि उत्पादन नहुने आÇनो मुलुक रक्सीमा आत्मनिर्भर भएकोमा गौरव गर्न सक्दैनन् । आÇनो अस्तित्व पनि राष्ट्रसित गाँसिएकाले राष्ट्रको यो हबिगतप्रति जिम्मेवारहरूसित कवि प्रश्न गर्छन् ः “ए बताऊ, कहाँ छ मेरो राष्ट्र ?” यस्तै सत्तास्वार्थको अहंंले वा अन्य कुनै पनि व्यक्तिस्वार्थले गर्दा मुलुकको अहित हुने काम नगर्न ‘नतान पैताला देशको’ शीर्षकको कवितामा आह्वान गरेका छन् । कवि अन्धराष्ट्रवादी भने छैनन् । त्यसभन्दा पनि माथि उनले मान्छेलाई राखेका छन् । त्यसैले मानवता उनको विचारको चुरो र जुरो हो । उनी लेख्छन् ः
मान्छेभन्दा प्यारो साथी
भेटिनँ मैले अर्को कुनै
ए, मान्छेलाई माया गर
मान्छेको मुटुभन्दा कोमल
भेटिनँ मैले अर्को कुनै । (पृ.४५)
सामाजिक विकृति–विसङ्गतिलाई चोटिलो रूपमा चित्रण गर्नु कवि पराजुलीको अर्को रुचिको विषय हो । कवि पराजुलीले युगजीवनका नानाथरी समस्यालाई, विकृति–विसङ्गतिलाई छर्लङ्ग्याउने सार्थक प्रयत्न गरेका छन् । त्यसमा उनी सफल छन् । सहरिया शिक्षित नेपाली समाजमा आधुनिकता र सभ्यताका नाममा बढ्दै गएको जङ्गली पाराको परम्पराप्रति कवि आक्रोश व्यक्त गर्दछन् । कवि स्वस्थ–सभ्य समाज चाहन्छन्, तर त्यस चाहनामा सुन्दरी प्रतियोगिताले तुसारापात गर्दछ । कविमन कुँडिन्छ, फाँडिन्छ र कुर्लिन्छ, ‘सुन्दरी प्रतियोगिता’ लिएर । व्यङ्ग्य कस्तै कवि लेख्छन् ः
सभ्यताको विकासले
बाँदरलाई मान्छे बनायो
जङ्गलबाट सहर पठायो
बिर्सेर विकासका यात्राहरू
लाटो देशका गाँडा तन्नेरी
वस्त्र फुकालेर गौरवसाथ
सौन्दर्य पस्किरहेछन्
बुद्धिमानीको पगरी भिरिरहेछन् । (पृ.२४)
सौन्दर्यप्रति कवि पराजुलीको आÇनै दृष्टिकोण छ । अङ्गप्रदर्शनलाई नारीको सौन्दर्य नमान्ने कवि समाजसेवी मदर टेरेसाका चाउरिएका गाला र विकलाड्ड झमककुमारीका गोडामा नारीसौन्दर्य देख्छन् । जस्तै ः
कसैले मलाई
सुन्दरी छान् भन्छ भने
मैले विश्व सुन्दरी
मुजा परेका
मदर टेरेसाका गालामा देखेको छु
मैले नेपाल–सुन्दरी
कुँजा भएका
झमककुमारीका गोडाहरूमा देखेको छु । (पृ. २५)
सामाजिक संस्कार कुसंस्कारमा रूपान्तरित भएको छ । त्यसैले कविका विचारमा यहाँ जीवनभर जनताका लागि राजनीति गर्ने नेता चुनावमा हार्छ र तस्करले जित्छ, एउटा कर्तव्यनिष्ठ कर्मचारी बढुवामा पर्दैन र जाँड–राँडको आयोजना गर्ने कर्मचारीको बढुवा हुन्छ, सरस्वतीको पुजारी सच्चा स्रष्टा पछि पर्छ र टपर्टु्ययाँले प्राज्ञको पदक हात पार्छ । त्यसैले ‘लज्जा–जाँड≠सफलता’ कवितामा गणितीय बिम्बका साथ कवि व्यङ्ग्यात्मक निष्कर्ष प्रस्तुत गर्छन् ः
आज मेरो समीकरण बोल्छ ः
महाŒवाकांक्षा ङ्क जाँड ≠ सफलता
राँडसाँड + भाँड + जाँड ≠ सफलता
लज्जा—जाँड ≠ सफलता
इमान+जाँड ≠ सफलता (पृ.३३)
हाम्रो इमान, हाम्रो आदर्श खण्डित र च्युत हुँदै गइरहेको छ । कवि त्यसमा चिन्तित छन् । ‘इमान’ कवितामा सारै मार्मिक तवरले यसलाई कविले व्यक्त गरेका छन् ः
नालापानीमा
प्यास खटेर लडेको इतिहास
कालापानीमा
मूक दर्शक भएर टुलुटुलु हेर्छ (पृ.२६)
यस कवितामा कविले राष्ट्रियता बेचिएको, सर्वहारा भनाउँदाले जमिन, बङ्गला र मोटर आÇना नाममा गरेको, सुकिला मलामीहरू इमानलाई दाहसंस्कार गर्न लाममा उभिएको जस्ता बिम्बद्वारा सामाजिक विकृतिलाई चोटिलो प्रहार गरेका छन् । यस्तै ‘अभिमान मन्दी भाउ बजारमा’ शीर्षकको कवितामा स्वाभिमानको भाउ घटेको, ‘विद्रोह’मा विश्वास विद्रोहमा बदलिएको, ‘रामअवतार’मा ‘भताइ’ चलाउन गाउँलेहरूलाई भोजभतेर खुवाउनु परेको जस्ता सामाजिक विकृतिलाई कविले उदाङ्गो पारेका छन् । कवि राजाविरोधी छन् । एक्काइसौँ शताब्दीको टापुमा उभिएर राजाको प्रशस्ति गाउने त कुरै छाडौं, कवि राजालाई मजाले हियाउँछन्, जिस्क्याउँछन् । ‘महाराज, जिस्किन मर्जी नहोस्’ कवितामा षड्यन्त्रको दुवाली थापेर बसेका सामान्तनायक राजालाई जनताका तर्फबाट कविले कडा चेतावनी दिएका छन् । केही शब्द कविका ः
महाराज जिस्किन मर्जी नहोस्
जे पनि हुनसक्छ यतिखेर
अनिद्रामा मान्छेले
होस गुमाएको बेला
समय सडकमा
जुलुस भएर पोखिएको बेला । (पृ.४२)

युवावस्थाका कवि पराजुलीलाई देश, समाज, वर्तमान अवस्थाले मात्र चिमोटेको छैन । उमेरको स्वाभाविक हदबन्दीले उनका कविताको दरबन्दीमा प्रणयभाव पनि पर्न आएको छ । ‘तिम्रो प्रतिबिम्ब’, ‘सपना’, ‘परिस्थिति’ आदि कवितामा रागानुभूति व्यक्त भएको छ । यस्तै, ‘स्टोभ, सहर र श्वास’ तथा ‘घर फर्कदा अचेल’जस्ता कवितामा सहरिया जागिरे जीवनका निष्ठुर क्षणहरू व्यक्त भएका छन् । तलब पाइएको छैन, खल्ती खाली भइसक्यो, स्टोभको मट्टितेल सकियो । अब के गर्ने ? समाधान बनेको छ भोक हड्ताल ।
‘किङ मिडासको ओभरकोट’ तथा ‘भोक, सुरक्षा र मिसाइल्स’ आदि कवितामा कविको विश्वबोध झल्केको छ । ‘किङ मिडासको ओभरकोट’मा विश्वविख्यात पश्चिमी लोककथाको नायकको अन्धतालाई देखाइएको छ भने ‘भोक, सुरक्षा र मिसाइल्स’मा मिसाइल्स प्रक्षेपणको होडलाई व्यङ्ग्य गरिएको छ । विश्वको मूल समस्या भोक हो । भोक जस्तो आधारभूत र मानवीय समस्या निवारण गर्नपट्टि नलागी कथित बडा मुलुकहरू मिसाइल्स प्रक्षेपणको साइत हेर्नपट्टि लाग्नु गैरजिम्मेवारी वा सनकपूर्ण कार्य हो भन्ने कविको ठहर छ भने त्यसैलाई ठूलो खबर बनाउने स्यालहुइँयावाला समचार माध्यमप्रति कविको गुनासो र मृदु व्यङ्ग्य छ ।
प्रत्येक मिसाइल प्रक्षेपणमा
बाबुको शिर निहुरिने गर्छ
छोरीको सर्वस्व हरिने गर्छ । (पृ. ६३)

यसरी यहाँ कविले आफूले भोगे–बाँचेको युगजीवनका तमाम यथार्थलाई व्यापक अभिव्यक्ति दिएका छन् । चालीसको दशकयता जनआन्दोलन र त्यसले स्थापित गरेको सीमित प्रजातन्त्र तथा त्यसकै कमी–कमजोरीलाई उपयोग गर्दै दुईतिरबाट जनतामाथि युद्ध लाद्न खोजिएको घटना मुख्य भएर रहेको छ । पचासको दशकभर एकातिर जनयुद्धका नाउँमा उग्र वामपन्थी भडकाउ र अर्कातिर त्यसलाई दमन गर्ने नाउँमा उग्र दक्षिणपन्थी दमनकारी प्रतिकारको मार देश र जनताले बेहोर्नु परेको पाइन्छ । कवि पराजुलीका कविताको अन्तर्वस्तु पनि यहीं हो । अधिकांश कविताहरू प्रजातन्त्रका नाममा भएगरेका अप्रजातान्त्रिक क्रियाकलापउपर खनिएका छन् भने केही कविता युद्धका कारण नेपाल र नेपालीले बेहोर्नु परेको दोहोरो प्रहारउपर बर्सेका छन् । कविको स्वर वा दृष्टिकोण प्रगतिवादी छ । कविले आÇना रचनामा प्रगतिवादका खिलाफ हुनेगरी अन्तर्वस्तुको चयन गरेका छैनन्, सामन्तवाद–साम्राज्यवाद र तिनका पृष्ठपोषकको स्तुतिगान गरेका छैनन् । कवि जनताका पक्षमा र सामाजिक–सांस्कृतिक रूपान्तरणका पक्षमा दृढतापूर्वक उभिएका छन् ।

४. लय–विधान र रूपरचना
युवाकवि मुरारि पराजुलीका यी कविता अत्यन्त उत्कृष्ट र कलात्मक रहेका छन् । पराजुलीले अवलम्बन गरेको लय–विधानलाई हेर्दा यहाँ सबै ठाउँमा मुक्तलय रहेको छ । प्रकारान्तरले भन्ने हो भने यी कविता गद्यकविता हुन् । नेपालीमा गद्यकविताको प्रथम प्रयोग गोपालप्रसाद रिमालले गरेका हुन् भने त्यसमा पहिलो उच्चता भूपि शेरचनले प्राप्त गरेका छन् । समकालीन नेपाली कविताको मूल लय गद्यलय नै रहेको छ । कवि पराजुली त्यही मूलप्रवाहमा पौडी खेल्दै देखापरेका छन् । गद्यकवितालाई मानिसहरू जसरी सजिलो भनी बुझ्छन्, त्यो त्यस्तो र त्यति सरल छैन । जेतेमेते लेखेर गद्यकविता भन्न सजिलो होला, तर उत्कृष्ट, कलात्मक गद्यकविता लेख्न त्यत्तिकै कठिन छ । कवि पराजुलीले भने त्यसमा आÇनो दरो पकड बनाइसकेका छन् ।
आकारका दृष्टिले सबै कविता समान छैनन् । कविताको लमाइ र स्वरूपका दृष्टिले यी फुटकर कविता हुन् । परजुलीका यहाँ सड्ढलित कविताहरू लामाछोटा २२ देखि ७७ सम्मका पङ्क्ति–सङ्ख्या वा हरफमा रहेका छन् ।
यी कविता बुझ्नै नसकिने जटिल छैनन् र सहजबोध्य पनि छैनन् । घुमाउरो भनाइ, बिम्ब, प्रतीक, मिथक र अलङ्कार आदिको प्रयोगले कविता उत्कृष्ट र मार्मिक बनेका छन् । कवितामा सोझो वर्णन र विवरण छैन । कथ्यलाई पराजुलीले सोझै राखेका छैनन् । त्यसो गर्नु राम्रो होइन पनि । यी कवितामा चित्रात्मक भाषाको उपयोग छ । यी कविता पढ्दा उनमा आÇनो विचार राखिहाल्ने खुल्दुलीभन्दा नयाँपन दिने हुटहुटी रहेको पाइन्छ, सुन्दर शब्दविन्यास रहेको पाइन्छ, काव्यिक अनुभूूतिलाई प्रायः छोटोछरितो ढङ्गले प्रस्तुत गर्ने वेदना पाइन्छ । राजनीतिक–सामाजिक सन्दर्भले डसिरहेको युगजीवनका विविध पहलुउपर कविले पटकपटक ठुङ मारेका छन् । वर्तमान मुलुकको परिस्थितिबाट कवि व्याकुल, आहत र चिन्तित छन् भन्ने कुरा कविताले बयान गरेका छन् । बिम्ब भनेको स्रष्टाका मानसपटलमा रहेको मनोचित्र वा मानसिक तस्विर ९ःभलतब िउष्अतगचभ० लाई मूर्त तुल्याउने चित्रात्मक भाषा ९ाष्नगचबतष्खभ बिलनगबनभ० हो । स्रष्टा पराजुलीका मानसमा त्यस्ता मानसिक तस्विर खाँदिएर रहेका पाइन्छन् । त्यस्ता बिम्ब केही त परम्परित नै छन् भने केही नौला प्रयोग पनि उनले गरेका छन् । यस दृष्टिले ‘मेरो युगनायक’, ‘हामी’, ‘नानीको निद्रा र शब्द, ‘सर्पको कल्ली बेरेर गोडामा’, ‘नकच्चराहरूको वर्जित शब्द’ ‘गाउँमा’, ‘सुन्दरी प्रतियोगिता’, ‘इनाम’, ‘राष्ट्रवाद’, ‘प्रश्न’ आदि कविताहरू विशेष उल्लेख्य छन् । कविले यहाँ समसामयिक बिम्ब, छायात्मक बिम्ब, मिथकीय बिम्ब, प्राकृतिक बिम्ब, सांस्कृतिक बिम्ब, क्रान्ति बिम्ब, प्रणय बिम्ब, गणितीय बिम्ब आदि बिम्बको उपयोग गरेका छन् । गणितीय बिम्बको एक उदाहरण —
आज मेरो समीकरण बोल्छ ः
महाŒवाकांक्षा ङ्क जाँड ≠ सफलता
राँडसाँड + भाँड + जाँड ≠ सफलता
लज्जा — जाँड ≠ सफलता
इमान + जाँड ≠ सफलता (पृ.३३)

शीर्षक शिल्प–संरचनाकै एक कडी हो । कवि पराजुलीले यहाँ यी फुटकर कवितालाई लामा र छोटा, अभिधात्मक–प्रतीकात्मक, साधारण–आलङ्कारिक विभिन्न शीर्षक दिएका छन् । ‘हाँसेर उसका ओठले’ एउटा कविता–शीर्षक पनि हो र ४५ वटा कविताको साझा छाता–शीर्षक (पुस्तकको नाम) पनि हो । शीर्षकको अर्थ हुन्छ । बह र पीडा भएकाले जिन्दगीमा मनैदेखि हाँस्न हामीले कमै पाएका छौँ, तर हामी परिस्थितिवश–वाध्यतावश मनमा बह र पीडा पालेर पनि ओठमा ङिच्च हाँसेका छौँ । यसै तात्पर्यको व्यञ्जनार्थ कविले पुस्तकको शीर्षक छानेका छन् ः हाँसेर उसका ओठले । यसले कविको सौन्दर्य चेतनालाई पनि प्रकट गरेको छ ।

५. बैठान
समकालीन नेपाली काव्ययात्री प्रगतिशील कवि मुरारि पराजुलीको सार्थक उपस्थितिलाई प्रस्तुत कवितासङ्ग्रहले पुष्टि गरेको छ । प्रस्तुत सङ्ग्रह नेपाली काव्यसंसारकै अनुपम उपलब्धि हो । प्रगतिवादी मूल्यमान्यता अनुरूपको अन्तर्वस्तु र शिल्पविधान, विषयगत विविधता, वैचारिक स्थिरता, भाव र शिल्पमा सन्तुलन, विविध बिम्बको प्रयोग, भाषाशैलीगत उत्कृष्टता, घुमाउरो र आलङ्कारिक कथन, गद्य लयको साङ्गीतिक विधान कवि पराजुलीका विशेषता रहेका छन् । कवि पराजुलीले नेपाली समाजले भोगेका पीडाहरू, सामाजिक–आर्थिक र राजनैतिक क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिका बारेमा कलात्मक कलम चलाएका छन् । आÇनो समाजप्रतिको लगाव, माटोप्रतिको प्रेम, मानवता र अन्तर्राष्ट्रिय भ्रातृभाव उनका कविताका धुकधुकी हुन् ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 6 माघ, 2072

लेखकका अन्य रचनाहरु