मार्क्सवादी दर्शनका प्रमुख स्थापना र साहित्य

- प्रा.डा. यदु नन्दन उपाध्याय

अध्ययन सार
(प्रस्तुत आलेखमा माक्र्सवादी दर्शनका मुख्य स्थापनाका बारेमा प्रकाश पारिएको छ । त्यसमा द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादका मूलभूत प्रस्थापनालाई प्रस्तुत गर्नुका साथै शोषण र अन्धताको विरोध गर्ने, निम्न र श्रम वर्गीय पक्षधरता प्रकट गर्ने, परिवर्तनको शाश्वत पक्षलाई वैज्ञानिक तर्कद्वारा पुष्टि गर्ने, साम्राज्यवादी वा वैदेशिक हस्तक्षेपको विरोध गर्ने जस्ता पक्षहरू पनि यसका मूलभूत प्रस्थापना भएको उल्लेख गरिएको छ । साथै माक्र्सवादी साहित्यमा यिनै विचारलाई साहित्यका विधागत धर्म र मर्म अनुरूप कलात्मकताका साथ प्रस्तुत गरिने निष्कर्ष पनि प्रस्तुत गरिएको छ । मुख्यतः पुस्तकीय गहन पठन मार्फत सामग्री सङ्कलन गरी तयार पारिएको यस लेखमा प्रगतिवादी साहित्यमा विचार र साहित्यिक तत्त्व दुबैको प्रभावकारी अभिव्यक्ति हुनु पर्ने निष्कर्ष निकालिएको छ ।)
१. विषय प्रवेश
जर्मन दार्शनिक कार्ल माक्र्स (सन् १८१८–१८८३) का नाममा सुरु भई संसारभरि प्रसिद्ध माक्र्सवादी दर्शन उन्नाइसौँ शताब्दीको मध्य (कम्युनिस्ट घोषणा पत्र ः सन् १८४८) मा प्रतिपादित सिद्धान्त हो । यसमा माक्र्सका साथै उनकै आजीवन सहकर्मी मित्र फ्रेडरिख एङ्गेल्स (सन् १८२०–१८९५) का सिद्धान्तहरू अविभाज्य रूपमा मिसिएका छन् । माक्र्सवाद एउटा विश्व दृष्टिकोण हो र यसको निर्माणमा प्राकृतिक विज्ञानका उपलब्धिहरूका साथै तत्कालीन दार्शनिक चिन्तनको सफलताले पनि महत्त्वपूर्ण स्थान ओगटेको छ (आफानास्येभ, सन् १९८५ ः २७–२८) । यस दर्शनको सैद्धान्तिक अवधारणालाई सोभियत रुसमा व्यावहारिक प्रयोगमा ल्याउन नेतृत्व दिने भ्लादिमिर इलिच लेनिन (सन् १८७०–१९२४) तथा चिनिया भूमिको विशिष्टता सहित लागु गर्ने माओत्सेतुङ र त्यसपछिका नेता एवं विचारकका विचार तथा व्यावहारिक कार्यले अघि बढाएका छन् । भट्ट (२०५५ ः ६०९) का अनुसार “माक्र्सवाद कुनै जडसूत्र वा धर्म सिद्धान्त नभएर व्यवहारलाई पथ प्रदर्शन गर्ने सदा गतिशील सिद्धान्त भएको हुनाले त्यसको सिर्जनात्मक विकास हँुदै आएको छ ।” प्रस्तुत लेखमा माक्र्सवादी साहित्यका मुख्य स्थापनाबारे सारभूत रूपमा प्रकाश पारिएको छ ।
२. द्वन्द्वात्मक भौतिकवाद
द्वन्द्वात्मक भौतिकवाद प्रकृति, मानव समाज एवं चिन्तनमा विद्यमान गतिका आम नियमहरूको अध्ययन गर्ने विश्वदृष्टि हो । यसको निर्माण माक्र्स तथा एङ्गेल्सले सम्पूर्ण पुराना दर्शनको अध्ययनका साथै जर्मन भाववादी हेगेल (सन् १७७० –१८३१) को आत्मवादी द्वन्द्ववादबाट आदर्शवादी आवरण हटाएर तथा जीवन जगत्का विषयमा पदार्थ वा भौतिक जगत्को प्राथमिकता स्वीकार गरे पनि द्वन्द्वात्मकताको ख्याल नगर्ने फायरबाख (सन् १८०४–१८७२) को यान्त्रिक चिन्तनलाई पन्छाएर गरेका हुन् (वोल्कोव र अरू (सम्पा.) सन् १९८५ ः ४७) । हेगेलले द्वन्द्ववादको सूत्र विचारमा लागु गरी त्यसबाट पदार्थको सृजना भएको उल्टो व्याख्या गरेका थिए भने फायरबाखले पदार्थलाई प्राथमिक महत्त्व दिएर पनि त्यसको अन्तरविरोधपूर्ण गति र विकास प्रक्रियालाई यान्त्रिक ढङ््गमा बुझेका थिए । माक्र्स र एङ्गेल्सको द्वन्द्वात्मक भौतिकवाद ती दुबैका अभौतिक अवैज्ञानिक मान्यताभन्दा पृथक् वैज्ञानिक पद्धतिमा आधारित छ । यसको वैज्ञानिकता र वस्तुतगततालाई बुझाउन निम्न लिखित तिन नियमहरू महत्त्वपूर्ण छन् । ती नियमहरू हुन् (१) प्रतिपक्षको एकता र सङ्घर्षको नियम (२) मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम र (३) निषेधको निषेध सम्बन्धी नियम ।
(क) प्रतिपक्षको एकता र सङ्घर्षको नियम
द्वन्द्वात्मक भौतिकवादको एउटा महत्त्वपूर्ण प्रस्थापना प्रतिपक्षको एकता र सङ्घर्षको नियम हो । यो वस्तु वा प्रक्रियाभित्रको द्वन्द्व, विकास र रूपान्तरणको व्याख्या गर्ने वैज्ञानिक सूत्र पनि हो । यसले कुनै वस्तु, समाज र चिन्तनमा निरन्तर द्वन्द्व हुन्छ र त्यसले विकासलाई बुझाउँछ अनि विकास अघिल्लोभन्दा नयाँ रूपमा उदाउँछ भन्दछ । यसका अनुसार कुनै पनि कुरामा सकारात्मक र नकारात्मक अनि जीवनशील र मरणशील तत्त्वको द्वन्द्व हुन्छ । ती दुवै पक्षमा सङ्घर्ष पनि हुन्छ र मेल पनि हुन्छ । समाज व्यवस्थाको कुरो गर्दा उत्पादन प्रक्रियामा पुँजीपति र मजदुरका बिच मेल भएकाले उत्पादन र विकास हुन्छ भने ती दुबै वर्गका बिच अधिकार र लाभका निम्ति द्वन्द्व पनि हुन्छ । यस्तो द्वन्द्वले गति वा विकासलाई नै अघि बढाइ रहेको हुन्छ । यसरी प्रत्येक वस्तु, प्रक्रिया र विचारमा समेत प्रतिपक्षता पनि रहने अनि तिनीहरूकै सङ्घर्ष मार्फत उन्नत तत्त्वको निर्माण पनि हुने कुरालाई द्वन्द्वात्मक भौतिकवादको महत्त्वपूर्ण नियमका रूपमा लिइन्छ ।
(ख) मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम
द्वन्द्वात्मक भौतिकवादको अर्को महत्त्वपूर्ण प्रस्थापना पहिले मात्रामा परिवर्तन तथा त्यही क्रम बढ्दै गएर पछि गुणमा परिवर्तन हुन्छ भन्ने हो । यसले पहिले वस्तुको मात्रात्मक आयतनमा वृद्धि देखा पर्छ र निश्चित सीमापछि त्यसको स्वरूप र गुण दुबैमा परिवर्तन देखिन्छ भन्ने द्वन्द्ववादी मान्यता प्रस्तुत गरेको छ । पुँजीवादी समाजभित्र वर्ग सङ्घर्ष चर्कंदै गएर अन्तमा समाजवादको उदय हुनु गुणात्मक परिवर्तन हो । सामन्तवादबाट पुँजीवाद र पुँजीवादबाट समाजवादमा हुने परिवर्तन गुणात्मक परिवर्तन नै हुन् । रुसमा भएको सन् १९१७ को अक्टोवर क्रान्तिले पुँजीपति वर्गमा रहेको सत्ता सर्वहारा वर्गमा आयो र त्यसले पहिलेको भन्दा गुणात्मक परिवर्तनलाई बुझायो (किरण, २०६३ ः ४–५) । पदार्थका सन्दर्भमा मात्रात्मक रूपमा पानी उम्लँदेै गएर बाफमा परिणत हुनु, प्राणीमा लार्भाबाट पुतलीको निर्माण हुनु पनि मात्रात्मकबाट गुणात्मक परिवर्तन मानिन्छ । यसरी द्वन्द्वात्मक भौतिकवादको महत्त्वपूर्ण नियममा मात्रा र गुणको परिवर्तन सम्बन्धी नियमलाई मानिन्छ ।
(ग) निषेधको निषेध सम्बन्धी नियम
वस्तुमा रहने ह्रासशील तत्त्वको निषेध हुने अविच्छिन्न प्रक्रियालाई निषेधको निषेध सम्बन्धी नियमले व्याख्या गरेको पाइन्छ । वस्तुमा परिवर्तन हुँदा नकारात्मक तत्त्वको अवसान तथा सकारात्मक तत्त्वको उदय हुन्छ र उदित भएको सकारात्मक पनि कालान्तरमा पुरानो भएपछि अवसानतर्फ जाने रूपमा हुन्छ । मकैको बिउ छरेपछि बोट उम्रन्छ र छरेका दानाको निषेध हुन्छ । पुनः बोटबाट घोगा निस्कन्छ र त्यसले बोटको निषेध गर्छ । यसरी पुरानो र नचाहिँदो मरणशील तत्त्व अस्वीकृत हुनु निषेध हो भने पुरानोकै विकासशील तत्त्वलाई नवीनता सहित स्वीकार गर्नु परिवर्तन हो । साथै पुरानोबाट स्वीकार गरिएको नयाँ पनि पुनः पुरानो हुनु निषेधको निषेध हो । निषेध एउटा सकारात्मक प्रगति हो जुन खालि त्यसको विकासबाट मात्र सम्भव हुन्छ जसको निषेध गरिन्छ (कर्नफोर्थ, २०६० ः १०३) । यो प्रक्रिया प्रकृति, मानव समाज तथा चिन्तन लगायत सबैमा लागु हुन्छ ।
निचोडमा खराबका विरुद्ध असल, अवैज्ञानिकका विरुद्ध वैज्ञानिक र असुन्दरका विरुद्ध सुन्दरको द्वन्द्व, विकास र रूपान्तरणको नियम नै द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त हो । यो माक्र्सवादको मूलभूत दार्शनिक स्थापना मानिन्छ ।
३. ऐतिहासिक भौतिकवाद
सामाजिक इतिहासलाई अध्ययन गर्ने माक्र्सवादी दृष्टिकोण नै ऐतिहासिक भौतिकवाद हो । यसले पूर्वस्थापित विभिन्न भाववादी एवं अधिभौतिकवादी मान्यताको खण्डन गरी द्वन्द्वात्मक भौतिकवादी नियम अनुसार समाज विकासलाई केलाउँदछ । दैवेच्छाले समाजको सञ्चालन गर्दछ र ईश्वरका योजनाहरूको कार्यान्वयन विश्व इतिहास हो भन्ने अवैज्ञानिक मान्यताका विपरीत माक्र्स र एङ्गेल्सले इतिहासका वास्तविक निर्माता जन समुदाय र श्रमिकरू नै हुन् भन्ने कुरा प्रमाणित गरेका छन् (आफानास्येभ, सन् १९८५ ः २२१–२३) । ऐतिहासिक भौतिकवादको स्थापनापछि इतिहासको अध्ययन गर्ने वस्तुगत नियमहरू पत्ता लागेका छन् र यस क्षेत्रमा क्रान्तिकारी परिवर्तन भएको मानिन्छ । इतिहासको अध्ययन गर्ने माक्र्सवादका आधारहरू तल प्रस्तुत गरिएका छन् ।
(क) उत्पादन पद्धतिको निर्णायक भूमिका
ऐतिहासिक भौतिकवादले मानव समाजको विकासमा उत्पादन पद्धतिको भूमिकालाई मुख्य र निर्णायक मानेको छ (आफानास्येभ, सन् १९८५ ः २३९) । उत्पादन पद्धतिमा उत्पादक शक्ति र उत्पादन सम्बन्ध पर्दछन् । उत्पादक शक्ति भनेका कुनै पनि वस्तु उत्पादनमा मुख्य भूमिका खेल्ने मानवीय श्रम, उत्पादनमा प्रयोेग गरिने औजार तथा जमिन, उद्योग जस्ता उत्पादनका विषय मानिन्छन् (पौडेल, २०६३ ः ७५–७६) । मानिसले आफ्नो जीवन निर्वाहका निम्ति अनिवार्यतः उत्पादन क्रियाकलाप वा उत्पादन सम्बन्धमा सहभागी हुनै पर्छ । खान, लाउन, बस्न, शिक्षा, स्वास्थ्य, सुरक्षा लगायत विभिन्न सुविधाका निम्ति विद्यमान उत्पादन सम्बन्धमा सम्मिलित भई आफ्नो श्रमशक्तिको प्रयोग गर्नु पर्छ । यस क्रममा मानिसको सम्बन्ध प्राकृतिक जमिन, जमिनको स्वामित्वप्राप्त व्यक्ति, औद्योगिक प्रतिष्ठानका मालिक आदिसँग गाँसिन्छ । यसरी श्रमिक र श्रममालिक पक्षका बिच श्रममूल्य र उत्पादित वस्तुको मूल्य सम्बन्धी सम्बन्ध नै उत्पादन सम्बन्ध मानिन्छ । यस्ता उत्पादन सम्बन्ध सामाजिक व्यवस्था अनुरूप फरक फरक हुन्छन् । ऐतिहासिक भौतिकवादले समाज विकासमा आदिम साम्यवाद, दास, सामन्त, पुँजीवाद ,समाजवाद र साम्यवाद गरी पाँच चरणमा छुट्याएको छ । यी प्रत्येक युग अघिल्लाका तुलनामा पछिल्ला गुणात्मक रूपले प्रगतिशील हुने र युगान्तरका निम्ति उत्पादन पद्धतिको नै निर्णायक भूमिका रहने मानिन्छ (आफानास्येभ, सन् १९८५ ः २२२) । यसरी मानव श्रमशक्तिमा आधारित उत्पादन पद्धति नै समाज विकासको मुख्य शक्ति हो भन्ने नवीन मान्यता ऐतिहासिक भौतिकवादले प्रस्तुत गरेको छ ।
(ख) वर्ग सङ्घर्षको भूमिका
ऐतिहासिक भौतिकवादले भौतिक साधनमा निजी स्वामित्व भएको कुनै पनि समाजमा उत्पीडक र उत्पीडित वर्गका बिच निरन्तर सङ्घर्ष जारी रहने र अन्ततः उत्पीडित वर्गकै विजय भई पहिलेभन्दा उन्नत र प्रगतिशील समाजको निर्माण हुने मान्यता प्रस्तुत गर्दछ । श्रेष्ठ (२०५६ ः १३७) का अनुसार “समाजको उत्पादन प्रक्रियामा मानिसहरूले कुन स्थान ओगटेका छन् र उत्पादनका साधनसित तिनीहरूको कस्तो सम्बन्ध छ भन्ने कुरा नै वर्गहरू छुट्याउने कसी हो ।”समाजमा रहेको निश्चित उत्पादन सम्बन्धका आधारमा एकैखाले जीवन पद्धति भएका र एउटै आर्थिक स्वार्थ भएका मानिसहरूको समूह नै वर्ग हो ( पौडेल, २०६३ ः १६७) । यस अनुसार उत्पादनका जमिन, उद्योग लगायतका साधनमा स्वामित्व रहेका उत्पीडक शोषक वर्ग तथा स्वामित्वबाट वञ्चित रहेका उत्पीडित र शोषित वर्ग मानिन्छन् । ऐतिहासिक भौतिकवादले आदिम साम्यवादी समाजमा सामुदायिक स्वामित्व रहेकाले (आफानास्येभ, सन् १९८५ ः २९२) वर्गभेद नरहेको र त्यसपछिका युगमा दास र मालिक , किसान र जमिन्दार , मजदुर र पुँजीपति जस्ता परस्पर विरोधी मुख्य वर्गका बिच अनवरत सङ्घर्ष भइ रहने र भइ पनि रहेको उल्लेख गरेको छ । दैनिक जीवनका यस्ता साधारण अनुभवलाई कार्ल माक्र्सले अर्थशास्त्रका जटिल सूत्रमा व्यक्त गरेका छन् (वर्मा र अरू (सम्पा.) सन् १९८५ ः ४९९) । वर्ग सङ्घर्ष नै परस्पर वर्गहरूमा विभाजित समाजको सबल गतिदायी शक्ति र विकासको स्रोत (आफानास्येभ, सन् १९८५ ः २९४) भनी मान्ने यस सिद्धान्तले वर्ग सङ्घर्ष नभए सामाजिक प्रगतिलाई नै असम्भव देख्दछ । यसले वर्ग सङ्घर्षका अरू पनि कारणहरू मान्दामान्दै मूल कारण चाहिँ अतिरिक्त श्रमको मूल्य मालिक वर्गले हडप्नुलाई मान्दछ ।
माक्र्सवादले कुनै पनि वस्तुको मूल्य त्यसमा परेको श्रमबाट पनि निर्धारित हुने मान्दछ । उदाहरणका लागि एउटा कलम बनाउँदा श्रमिकले पाँच रुपियाँ पाउँछ र पुँजीपतिको लगानी सात रुपियाँ हुन्छ । त्यही कलम बजारमा बेच्दा चाहिँ बिस रुपियाँ पर्दछ । अब कलममा परेको मूल्य जम्मा बाह्र भयो र बाँकी अतिरिक्त मुुुूल्य चाहिँ आठ भयो । यही अतिरिक्त आठ रुपियाँ पुँजीपतिले बसी बसी हडप्ने गर्दछ र त्यसमा मुख्य श्रमको लगानी गर्ने मजदुर गरिबीको कुचक्रमा छाक टार्ने समस्यामा परि रहन्छ । यही शोषण हो र दासयुग एवं सामन्ती युगमा मालिक वा सामन्तले अतिरिक्त उत्पादनको शोषण गर्थे भने पुँजीवादी युगमा अतिरिक्त मूल्यको शोषण पुँजीपतिले गर्दछन् (पौडेल, २०६३ ः ११३) । यसै शोषणबाट मुतिmका निम्ति थालिएको दासयुगदेखिकै वर्ग सङ्घर्षमा द्वन्द्वात्मक नियमानुसार सर्वहारा वर्गको विजय अवश्यम्भावी छ भन्ने विश्वास माक्र्सवादको छ (त्रिपाठी, २०५८ ः १५६) । वर्ग सङ्घर्षले नै सामाजिक व्यवस्थामा आमूल परिवर्तन ल्याउने र ल्याएको हुनाले माक्र्सवादले आजसम्मको मानव समाजको इतिहासलाई वर्ग सङ्घर्षको इतिहास (माक्र्स र एङ्गेल्स, २०६४ ः २३) मानेको देखिन्छ पनि ।
(ग) आधार एवं अधिरचनाको भूमिका
ऐतिहासिक भौतिकवादले समाज विकासमा आर्थिक आधारको मुख्य र त्यसका जगमा आधारित अधिरचनाको धेरथोर भूमिका रहेको मान्दछ । यसले सम्पूर्ण समाजको बनोटमध्ये उत्पादन पद्धतिद्वारा निर्मित आर्थिक र सामाजिक पक्षलाई आधार वा जग तथा वैचारिक, सामाजिक चेतनालाई अधिरचना वा आधेय मान्दछ (केपास्कुवि, २०५६ ः ३३) । समाज विकासमा आर्थिक, भौतिक आदि पक्षको नै निर्णायक भूमिका हुन्छ भन्ने कुरा उत्पादन पद्धति र वर्ग सङ्घर्षको भूमिकाबारेको व्याख्याले नै प्रस्ट पारेको छ । साथै “राजनीति, न्याय, दर्शन, धर्म, साहित्य, कला आदि कुराको विकास आर्थिक विकासमा आधारित हुन्छ” (माक्र्स र एङ्गेल्स, २०६३ ः ५९) भन्ने तथा मानिसहरूको अस्तित्वमा उनीहरूको चेतना निर्भर हुने (माक्र्स र एङ्गेल्स, २०६३ ः ३९) जस्ता एङ्गेल्स र माक्र्सका कथनले ती आर्थिक सामाजिक आधारले विचार धारात्मक अधिरचनालाई अभिप्रेरित र नियन्त्रित गर्दछन् भन्ने बुझाउँँछ । यथार्थमा सामाजिक जीवन भनेको केवल भौतिक, आर्थिक पक्ष मात्र नभई मानवीय भावना, सोचाइ, संस्कार, आचार विचार, मनो विज्ञान, संवेदना, जातीय परम्परा, सामाजिक सङ्गठन, सुरक्षा आदि कुराहरूको समग्र बिम्ब हो । ऐतिहासिक भौतिकवादले यी सबै कुराहरूलाई आर्थिक, भौतिक आधारले जन्माउने मान्दछ । यसै गरी यसले राजनीति, न्याय, दर्शन आदि कुराले आर्थिक आधारमाथि पनि प्रभाव पार्ने (माक्र्स र एङ्गेल्स, २०६३ ः ५९) तथा सामाजिक चेतनाले अस्तित्वमा निस्क्रिय नभई सक्रिय प्रभाव पार्ने (आफानास्येभ, सन् १९८५ ः ४२२) समेतको मान्यता पनि प्रस्तुत गर्दछ । यसरी हेर्दा जीवन जगत्को विकासमा सामाजिक, आर्थिक आधार र अधिरचनाले एकअर्कालाई कमबेसी प्रभावित पार्नुका साथैे स्वयं आफू पनि प्रभावित हुने कुरो ऐतिहासिक भौतिकवादको आधार एवं अधिरचना सम्बन्धी मान्यताले मान्दछ । मानव समाजको इतिहासमा उपर्युक्त सम्पूर्ण पक्ष समाविष्ट हुन्छन् अनि ती सबैमा रहेका पतनशील तत्त्वको अवसान तथा उदीयमान तत्त्वको विकासबाटै समग्र सामाजिक गतिशीलता जारी रहने मान्यता यस सिद्धान्तले प्रस्तुत गरेको छ । माक्र्सवादको महत्त्वपूर्ण स्थापनामा ऐतिहासिक भौतिकवाद पनि पर्दछ ।
वस्तु, घटना र प्रक्रियालाई शाश्वत द्वन्द्वका गतिशील सन्दर्भमा हेर्ने द्वन्द्वात्मक भौतिकवाद एवं समाज विकासको भौतिकवादी इतिहास प्रस्तुत गर्ने ऐतिहासिक भौतिकवाद मिलेर माक्र्सवादको जग खडा भएको छ । प्रकृति विज्ञान, समाज विज्ञान तथा दर्शनका क्षेत्रमा नवीन र व्यावहारिक दृष्टिले प्रमाणित तथ्यहरू अगाडि सारेर विकसित भएको र भइ रहेको यस दर्शनले आफूपूर्वका भाववादी एवं यान्त्रिक भौतिकवादी दार्शनिक अवधारणाको तर्कपूर्ण खण्डन गरी श्रमिक पक्षधरताको नयाँ विश्वदृष्टि प्रस्तुत गरेको देखिन्छ ।
४. शोषण र अन्धताको विरोध
माक्र्सवादले आफ्नो सामाजिक विश्लेषणमा दास, सामन्ती एवं पँुजीवादी समाज व्यवस्थामा मानवीय श्रमको भिन्न–भिन्न रूपमा शोषण हुने र समाजवाद तथा साम्यवादी समाजमा शोषणको पूर्ण अन्त हुने विश्लेषण प्रस्तुत गरेको छ । यसले समाज विकासको आधार उत्पादन प्रणालीलाई मान्दछ र दासयुगमा मालिकले दासलाई किनबेच गर्न, मार्न र सम्पूर्ण श्रमको अमानवीय शोषण गर्न सक्ने मान्दछ (श्रेष्ठ, २०५६ ः १११) । त्यस समाजमा कानुन बनाएर होइन धर्मका आडमा मनोमानी ढङ्गले किसान लगायतका श्रमिकमाथि बर्बर शोषण मच्चाइन्छ (भुसाल, २०६५ ः २३) । कमैया, बेगारी, कुत आदि प्रथा सामन्ती शोषणका स्वरूप हुन् । पुँजीवादी युगमा उत्पादनका जमिन, उद्योग लगायतका साधनको स्वमित्व पुँजीपतिमा रहन्छ र श्रमिकहरू अधिकारमा स्वतन्त्र भएपनि बाँच्नका लागि पुँजीपतिलाई श्रम बेच्न बाध्य हुन्छन् । उत्पादन प्रक्रियाका दास, सामन्ती एवं पुँजीवादी सामाजिक, आर्थिक व्यवस्थामा शोषणका रूप फरक भए (श्रेष्ठ, २०५६ ः ९१ ) पनि मूलतः शोषणमूलक नै हुन्छन् भन्ने मानिन्छ ।
माक्र्सवादले सामन्तवादी एवं पँुजीवादी समाजमा हुने शोषणको अन्त्य गरी समाजवादी एवं साम्यवादी समाजको स्थापना गर्ने दीर्घ कालीन ध्येय लिएको हुन्छ । श्रमजीवी वर्गले सामन्त एवं पुँजीपति विरुद्ध क्रान्ति गरेर सदाका लागि व्यक्तिगत स्वामित्वको उन्मूलन र शोषणको अन्त्य लगायत अन्य प्रकारका उत्पीडनहरू निर्मूल गर्ने खालको व्यवस्था समाजवाद हो । त्यस्तै साम्यवाद त्यस्तो वर्ग रहित सामाजिक व्यवस्था हो जसमा उत्पादनका साधन (जमिन, उद्योग आदि) हरूमाथि एउटै सार्वजनिक स्वामित्व र समाजका सबै सदस्यहरूको पूर्ण सामाजिक समानता कायम हुन्छ (आफानास्येभ, सन् १९८५ ः २६४–७०) ।
माक्र्सवादले सामन्त एवं पुँजीवादी शोषणको मात्र नभई साम्राज्यवादी थिचोमिचो र हस्तक्षेपको पनि विरोध गर्दछ । एउटा कमजोर देशमाथि शक्तिशाली देशले गर्ने आर्थिक, सांस्कृतिक, राजनीतिक हस्तक्षेप र नाकाबन्दी मार्फत पनि साम्राज्यवादी प्रभुत्व बढि रहेको हुन्छ र त्यस प्रकारको क्रियाकलाप विरुद्ध पनि माक्र्सवाद क्रियाशील रहन्छ । उक्त प्रकारका सबै शोषण विरुद्ध जनतालाई सचेत र सङ्गठित गराउने, श्रम नै सृजना र विकासको आधार हो भन्ने सचेतना जगाउने, सामाजिक विकासमा श्रमजीवीको नै केन्द्रीय एवं निर्णायक भूमिका रहेको हुन्छ भनी यथार्थबोध गराउने तथा श्रमिक जनताको न्यायलाई स्थापित गराउने भएकाले माक्र्सवादलाई शोषण विरुद्धको सिद्धान्त मानिन्छ ।
माक्र्सवाद विज्ञान सम्मत वस्तुवादी सिद्धान्त भएकाले यसले कुनै पनि अभौतिक, अलौकिक रहस्य र हावादारी कुरामाथि विश्वास गर्दैन । यसले मान्छेको विद्यमान जीवन इतिहासका कठिनतम श्रम प्रक्रियाको अविच्छिन्न शृङ्खला रहेको र आगामी समुन्नत समाजको विकास पनि श्रमजीवी जनताबाट नै हुने यथार्थ सम्मत अवधारणा प्रस्तुत गर्दछ । त्यसैले कुनै वस्तुगत आधार र कार्य कारण सम्बन्धविनाका कुरामाथि यसको पटक्कै विश्वास रहँदैन । यसले समाजमा प्रचलित अनेकौँ कुसंस्कार ,जातीय भेदभाव, अन्ध विश्वास, धार्मिक पाखण्डको विरोध गर्दछ । यसले अलौकिकता र सामान्य रूपमा धार्मिक विचारहरू, सबभन्दा पहिले प्राकृतिक शक्तिमाथि मानिसको विवशता र अज्ञानताबाट पैदा भएका हुन्छन् भन्दछ (कर्नफोर्थ, २०६० ः १७) । सामन्ती समाज र पछिल्लो अवधिमा पुँजीवादले पनि धार्मिक अन्धता, रहस्य र अनेकौँ सामाजिक कुसंस्कारको पक्ष पोषण गरी समाज विकासमा अवरोध पु¥याएको मादन्छ र ती सम्पूर्ण गलत परम्पराका विरुद्ध द्वन्द्ववादी एवं भौतिकवादी दृष्टि अनुरूपको स्वस्थ समाजको निर्माणमा लाग्नु पर्ने अवधारणा प्रस्तुत गर्दछ । यसरी सामन्तवादी, पुँजीवादी एवं साम्राज्यवादी शोषण दमनका विरुद्ध मात्र होइन कुनै पनि मानव विकासका विज्ञान सम्मत मान्यता विरोधी अन्धताको सशक्त विरोध गर्ने सिद्धान्त भएकाले माक्र्सवादलाई शोषण र अन्धता विरुद्धको सिद्धान्त मानिन्छ ।
५. वर्गीय पक्षधरताको सिद्धान्त
माक्र्सवादले कुनै पनि दर्शन यता न उताको अर्थात् धनी र गरिब सबैलाई समान देख्ने तटस्थ हुनै नसक्ने मान्यता प्रस्तुत गरी आफ्नो पक्षधरता निम्न वर्गीय श्रमजीवी जनताका समर्थनमा रहेको घोषणा नै गर्दछ (आफानास्येभ, सन् १९८५ ः ३२) । यसले आर्थिक दृष्टिले उपेक्षित र शोषित वर्ग अनि सामाजिक दृष्टिले अपहेलित जनताप्रतिको पक्षधरता जनाउँछ । विद्यमान विश्वका निर्माता, सभ्यताका उपासक र सामाजिक परिवर्तनका बाहक शक्ति भनेका मेहनतकस जनता नै हुन् भन्ने मान्यता यसले प्रस्तुत गर्दछ । प्राकृतिक र भौतिक स्रोत एवं साधनमाथि हैकम जमाएर बस्नेहरूले नभई रातदिन पसिना बगाएर श्रम गर्नेले मात्र संसारको निर्माण गरेका हुन् भन्ने मान्यता राख्दै माक्र्सवादले श्रमजीवीप्रतिको पक्षधरता दर्शाउँछ र त्यसै वर्गलाई शासनसत्ताको आसनमा पु¥याउने विचार व्यक्त गर्दछ (वोल्कोव र अरू, सन् १९८५ ः ८३) । माक्र्सवादले सर्वहाराको पक्षधरता दर्शाउने मात्र होइन सर्वहारा अधिनायकत्वको वकालत पनि गर्दछ । यसरी निम्न वर्गीय पक्षधरता दर्शाउँदै समाज परिवर्तनको महान् ध्येयमा अघि बढ्नु माक्र्सवादको अर्को महत्त्वपूर्ण स्थापना मानिन्छ ।
६. आमूल परिवर्तनकारी सिद्धान्त
माक्र्सवाद समाजलाई हेर्ने मात्र होइन फेर्ने दर्शन हो । यस कारण यसले कुनै पनि कुराको सामान्य सुधार मात्र होइन व्यापक एवं आमूल परिवर्तनको माग गर्दछ । यसको द्वन्द्वात्मक भौतिकवादी मान्यताको एउटा व्याख्या मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनमा विकास भन्ने रहेको छ । यसले पहिले वस्तुको आकारमा वृद्धि हुने र त्यसको उत्कर्ष बिन्दुपछि गुणात्मक परिवर्तन हासिल हुने व्याख्या गरेको छ । सामाजिक परिवर्तनको कुरो गर्दा पहिले मानिसमा आफ्ना हक अधिकारको सचेतनामा वृद्धि भई विभिन्न खालका विद्रोहात्मक कार्य वा सामाजिक सुधारका कामहरू हुन्छन् तथा तिनमा सफलता असफलता पनि हात लाग्न सक्छ । माक्र्सवादले यस्ता छिटफुट घटनालाई मात्रात्मक सुधारका रूपमा मात्र लिन्छ र गुणात्मक उपलब्धिका निम्ति क्रमभङ्ग र छलाङ मार्फत प्राप्त हुने आमूल परिवर्तनको अपेक्षा गर्दछ । यस्तो मात्रात्मक विकासलाई सर्पिल गतिमा तथा गुणात्मक विकासलाई भ्यागुते गतिका रूपमा व्याख्या गरिन्छ (किरण, २०६३ ः १०१ ) । यसको ऐतिहासिक भौतिकवादी व्याख्या अनुसार सामन्तवादका सट्टा पुँजीवाद, पुँजीवादका सट्टा समाजवाद यस्तै क्रमभङ्ग र छलाङ मार्फत प्राप्त हुने गुणात्मक परिवर्तनका उदाहरण हुन् । नेपाली समाजमा २००७ सालदेखि यता थुप्रै मात्रात्मक परिवर्तन भएपनि अर्धसामन्ती आर्थिक, सामाजिक एवम् सांस्कृतिक संरचनामाथि विजय प्राप्त गर्नु अझै आवश्यक रहेको मानिन्छ । यसरी हेर्दा माक्र्सवाद सानातिना उपलब्धिमा विश्राम लिने नभई आमूल परिवर्तनको लामो प्रक्रियामा लागि रहने वैज्ञानिक सिद्धान्तका रूपमा देखा परेको छ र यो पनि यसको महत्त्वपूर्ण प्रस्थापनामा पर्दछ ।
७. माक्र्सवादी साहित्य
माक्र्सवादी साहित्य भन्नासाथ आमूल परिवर्तनसँग सम्बन्धित उपर्युक्त वैचारिक पक्षलाई आधार बनाएर गरिने साहित्य सिर्जना हो । साहित्यका आफ्नै सार्वभौम तत्त्व पनि रहेका हुन्छन् जुन तत्त्वहरू माक्र्सवादी वा गैरमाक्र्सवादी साहित्यमा पनि स्वतः रहन्छन् । प्रगतिवादी साहित्यमा विचारलाई महत्त्व दिइन्छ र विचारमध्ये पनि आमूल परिवर्तनसँग सम्बन्धित उल्लिखित विचारलाई नै प्रस्तुत गरिएको हुन्छ । त्यस्ता विचारसँग अन्योन्याश्रित भएर कल्पना, भावना, संवेदनाका साथै साहित्यका विधागत धर्म अन्तर्गतका अनेकौँ पक्षहरू यसमा प्रस्तुत गरिएका हुन्छन् । समाज र जीवन विविधतामुखी छ र त्यसलाई मान्छेले आफ्ना आफ्ना हेराइले हेर्नु र अनुभूत गर्नु पनि स्वाभाविक छ । सो समाजलाई रमणीय, सुन्दर, हृदय संवेद्य बनाउनका निम्ति पनि जीवनानुभवको समृद्धिका साथै अनेकौँ साहित्यिक पक्ष र निजी शैलीगत कुरा समाविष्ट हुन्छन् । यस क्रममा एङ्गेल्सले साहित्यिक कृतिमा लेखकको दृष्टिकोण जति बढी लुकेको हुन्छ कलाकृतिका लागि त्यो कुरा त्यत्तिकै लाभदायक पनि हुन्छ भनेका छन् (माक्र्स र एङ्गेल्स, २०६३ ः ९५) । यसैले कविता भए समाजका कुनै विषयलाई भावमय, सूत्रमय एवं लयात्मकताका साथ बिम्ब प्रतीक सहितको अभिव्यक्तिमा रमणीय बनाएर प्रस्तुत गरिएको हुन्छ भने नाटक भए संवाद र अभिनय मार्फत जीवन सन्दर्भका मार्मिक पक्षलाई दृश्यमय बनाई प्रस्तुत गरिएको हुन्छ । कथा वा उपन्यास भए कथानकीय विन्यास मार्फत जीवन यथार्थका गहिराइलाई हृदय संवेद्य बनाएर प्रस्तुत गरिएको हुन्छ । निबन्धमा पनि अनुभूतिको तरलता र अनुभवजन्यताका साथ सोही विचारलाई अभिव्यक्त गरिएको हुन्छ । भन्नुको तात्पर्य के हो भने विविधतामुखी जीवन अनुभूतिलाई आफ्नै भावनाका प्वाँख मार्फत रमणीय संसारमा चहार्ने काम माक्र्सवादी साहित्यकारले पनि गरेको हुन्छ तर जसरी आफ्नो गुँडबाट निस्केको चरो बास बस्न आफ्नै गुँडमा फर्कने गर्दछ त्यसै गरी माक्र्सवादी साहित्यकारले भावनाको प्वाँख फिँजाएर कल्पनाको संसार चहारे पनि आफ्नो विचारको सूत्र (घर) चाहिँ छोड्ने गर्दैन । यद्यपि स्थापित परम्परागत मूल्य र मान्यतामा खुकुलोपन बढ्दै आएको विद्यमान परिवेशमा उक्त चिन्तनलाई परम्परित सूत्रकै रूपमा खोज्ने कुराबारे नयाँ बहस पनि चलाउनु जरुरी भइ सकेको छ । जे होस् मूल कुरा के हो भने साहित्य मन, भावना वा हृदयसँग निकटता राख्ने रमणीय तत्त्व हो अनि विचार समाजलाई निश्चित दिशा प्रदान गर्ने र खास गन्तव्यमा पु¥याउने आधार तत्त्व हो । माक्र्सवादी साहित्यमा यी दुबै पक्ष अविभाज्य र अपरिहार्य रूपमा अभिव्यक्त हुन्छन् ।
८. निष्कर्ष
भौतिक रचनाबारेको अध्यात्मवादी एवं यान्त्रिक भौतिकवादी मान्यताभन्दा पृथक् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी स्थापना लिएर देखा परेको माक्र्सवादले प्रकृति, मानव समाज र चिन्तनको विकासबारे वैज्ञानिक व्याख्या प्रस्तुत गरेको छ । यसले विद्यमान विश्वको भौतिक संरचनाका निर्माता श्रमजीवी मानिस मात्र हुन् भनी तिनकै समृद्ध जीवन निर्माणका निम्ति अग्रसर हुनु पर्ने र हुने श्रम पक्षधर मान्यता प्रस्तुत गरेको छ । यसले सामन्तवादी एवं पुँजीवादी शोषणका विरुद्ध मात्र होइन दलाल पुँजीपति एवम् साम्राज्यवादी क्रियाकलापको पनि डटेर विरोध गर्नु पर्ने मान्यता प्रस्तुत गरेको छ । साथै समाजलाई प्रतिगमनतिर लैजाने कुपरम्परा, मानवीय भेदभाव, धार्मिक, सांस्कृतिक अन्ध मान्यताका विरुद्ध मानव जीवन सापेक्ष स्वस्थ संस्कृतिको निर्माणको आवश्यकता मुखरित गरेको छ । त्यसका निम्ति विद्यमान समाजमा सानातिना सुधार वा परिवर्तनले मात्र नपुग्ने भन्दै गुणात्मक रूपले नै आमूल परिवर्तन मार्फत समाजवादी र साम्यवादी समाज व्यवस्थाको निर्माण गर्नु पर्ने अवधारणा प्रस्तुत गरेको छ । माक्र्सवादका यस्ता स्थापनाहरू समाजको भौतिक एवं मानसिक विकासको परम्परा र सम्बद्ध मुलुकको विशिष्ट परिवेश अनुकूल सिर्जनात्मक प्रयोगमा प्रतिफलित हुने मानिन्छ । माक्र्सवादका यिनै दार्शनिक, राजनीतिक एवं आर्थिक स्थापना अनुकूलको आमूल परिवर्तनकारी समाज निर्माणको विचारलाई साहित्यका विधागत धर्म र साहित्यिक मर्म मार्फत प्रस्तुत गर्ने साहित्यलाई नै माक्र्सवादी साहित्य भनिन्छ ।
सन्दर्भ सूची
आफानास्येभ, भिक्टर (सन् १९८५), दर्शन शास्त्रको प्रारम्भिक ज्ञान, अनुः राजेन्द्र मास्के, सोभियत संघ ः
प्रगति प्रकाशन ।
कर्नफोर्थ, मोरिस (२०६०), द्वन्दात्मक भौतिकवाद, दो.सं., अनु. युवराज पन्थी, पाटन ः तेज बहादुर
गुरुङ ।
किरण, (२०६३), सङ्घर्षको दर्शन, दो. सं., नेपाल ः जनदिशा प्रकाशन ।
केपास्कुवि (केन्द्रीय पार्टी स्कुल विभाग) २०५६), माक्र्सवादी अध्ययनका लागि केही सन्दर्भ सामग्री, काठमाडौं ः केन्द्रीय पार्टी स्कुल विभाग, नेकपा (एमाले) ।
त्रिपाठी, वासुदेव (२०५८), पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा भाग २, ते.सं., ललितपुर ः
साझा प्रकाशन ।
पौडेल, विजय (२०६३), माक्र्सवादी अर्थशास्त्र, काठमाडौं ः एसिया पब्लिकेसन प्रा.लि.।
भट्ट, गोविन्द (२०५५), “माक्र्सवाद”, नेपाली साहित्यकोश, सम्पा. ईश्वर बराल र अरू, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
भुसाल, घनश्याम (२०६५), जनताको बहुदलीय जनवाद, काठमाडौं ः घनश्याम भुसाल ।
माक्र्स, कार्ल र फ्रेडरिक एङ्गेल्स (२०६३), साहित्य र कला, दो.सं., अनुः राजेन्द्र मास्के, सूर्य प्रसाद पौडेल,
काठमाडौं ः विवेक सिर्जनशील प्रकाशन ।
(२०६४), कम्युनिस्ट पार्टीको घोषणा पत्र, अनु. कृष्ण प्रकाश श्रेष्ठ, काठमाडौं ः प्रगति पुस्तक सदन ।
वोल्कोव, ग. न. र अरू (प्रधान सम्पा.), (१९८५), माक्र्सवादी लेनिनवादी सिद्धान्त के मूल तत्त्व, अनु.
ज.च. पाण्डेय, सोभियत संघ ः प्रगति प्रकाशन ।
श्रेष्ठ, कृष्णदास (२०५६), ऐतिहासिक भौतिकवाद, जन साहित्य प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 6 माघ, 2072

लेखकका अन्य रचनाहरु