चन्द्रलोक

- गोपाल झापाली

नेपालका पहिलो चन्द्रलोक यात्री हामी । नैना र म । हामी माथि नेपाल सरकार, नेपाली जनताको ठुलो भरोसा छ । त्यसैले यो चन्द्रलोकका बारेमा केहि न केहि नयाँ रहस्य पत्ता लगाउनै पर्छ । निलआर्म स्ट्रङ्के तस्विरलाई छोएर वाचा गरेका छौं हामीले ।
चन्द्रलोकमा हाम्रो चन्द्रयान त अवतरण भयो । तर हामीलाई मन लाग्दि निस्कन र हिँड्न छुट छैन । नासामा ५ वर्ष सम्मे गरेको तालिममा लिएका एक एक ज्ञान मसिनो गरि सम्झन आवश्यक छ । त्यसैले बडो होसियारी पूर्वक उपकरणै उपकरणले बाँधिएको शरीर लिएर म चन्द्रयानबाट पहिलो पटक चन्द्रलोकमा पदार्पण गर्ने हिम्मत राख्दैछु । पहिले त आँखाले भ्याए सम्मको दूरी नियालेँ । तुँवालै तुँवालो लागे जस्तो । साह्रै निरश रंगमा पोतिएको माटो । निष्प्राण लाग्ने चट्टानै चट्टानको भुँई । पुरै फिक्का, कान्ति बिहिन आकाश । खासमा हावा कस्तो थियो, थाह पाउन सकिएन । किन भने हामीलाई हाम्रो यन्त्रमा जोडीएको हावामात्र लिन छुट थियो । नैनाका अनुहार नियालेँ । बोल्न छुट थिएन । हाम्रो उपकरणले बोले पनि एकको आवाज अर्कालाई सुन्न दिँदैन थियो । यो प्रविधी यसै गरि जोडिएको हुन्थ्यो । आँखाका अगाडीको सिसालाई छिचोल्दै उनका नजरमा नजर ठोक्काउँदा बडो अन्योलता थियो । खासमा यो चन्द्रलोक चाँहि हो कि होईन । यदि हो भने के छ प्रमाण, होईन भने हो चाँहि कहाँ त ?
हामीले धर्ती छोड्नु अघिनै हाम्रो कार्यबिभाजन थियो । नैनाले चन्द्रयान भित्रै बसेर यान्त्रिक व्यवस्थापन गर्ने, मैले चन्द्रलोकमा उत्रिएर त्यहाँको अनुसन्धान गर्ने । उनले बुढी औंठा उचालेर सवै ठिक ठाक भएको र अब अनुसन्धानमा उत्रन निर्देश गरिन । मैले पनि उसै गरि बुढी औठा उचालेर पहिले एउटा खुट्टो बाहिर निकाले । खुट्टा टेक्न खोँजे । अचम्म । टेकिदैन त । अनि याद भै हाल्यो, चन्द्रमाको गुरुत्वाकर्ष पृथ्वीको भन्दा कम छ । त्यसैले यसलाई सामान्यिकरण बनाएँ । शरीर त हावा हावामा उडे जस्तो । जव दुवै खुट्टा सहित चन्द्रलोकमा अवतरित भएँ, एकाएक छाती गहु्रङ्गो भयो, मुटुको धड्कन बढ्यो, रक्तसञ्चारमा तिव्रता आयो । तर हिम्मत हार्ने एक त्यान्द्रो पनि सुविधा थिएन, त्यो गर्नु पनि हुने थिएन । कानमा नियन्त्रणकक्षबाट आवाज आई रहेको थियो–सवै वातावरण ठिक छ, पाईला अघि सार ।
निर्देशन पालना मेरो जिम्मेवारी थियो । म नाम लेख्दै थिएँ इतिहासमा–चन्द्रलोकमा पहिलो पटक पाईला राख्ने नेपालीको रुपमा । पाईला त राखेँ, उठाउनै गाह्रो । फेरि राख्न खोजेँ गोडानै टेकिन मुस्किल । हावा हावामा उडे जस्तो । चार पाईला अघि बढाउन साथ दुई आकृती नजिक नजिक आए । मन ढक ढक भयो । अघि बढ्न सकिन । आकृती मान्छे जस्तै दुरुस्तै । उनीहरु खुरु खुरु हिँडेर आए । प्राणीको अस्तित्व पनि टुंगो लागि नसकेको चन्द्रलोकमा कसरी यि प्राणी ? मेरो सातो पृथ्वीलोकनै पुग्यो । पुरै नाङगो, सर्वाङ्ग शरीर । टेलिभिजनमा देखेको चिम्पान्जी जस्तो आकृती । उचाई हुँदो हो साढे तीन फिट । छातीको उचाई प्रष्टै देखियो ति आकृती आँखै अगाडी आए पछि । एउटा स्त्री प्राणी रहेछ । मलाई आए, कोट्याए, चिमोटे । मेरो यन्त्रले भरिएको शरीरले उनीहरुको स्पर्श भने हृदय सम्म आई पुगेन तर त्यो भन्दा बढि अत्यास र अन्योलता नशा नशा पुग्यो । यन्त्रले केहि गडवडी भएको निर्देशन दिई रहयो कानमा । ति प्राणीले मलाई घिस्याउँदै लगे । म कति कोश पर पुगँे कुनै हेक्का रहेन । विकृत मानव जाती भनौं वा विकासको क्रममा रहेको जाति । उनीहरुले मलाई एउटा डायरी देखाए । अचम्म, चन्द्रलोकमा कागजको डायरी । कसरी ? दुई तस्विर देखाए । वरि परि छरिएका कंकाल देखाए । कंकालले मानव आकृती रुप बोकेको थियो । बडो उत्सुक देखिए उनीहरु म भन्दा । डायरीका पाना उनीहरुले पल्टाए । अक्षर देवनागरि थिए । भाषा नेपाली थियो । म अचम्मको पराकाष्टामा धकेलिदै थिँए । अन्तिम पातामा लेखिएको थियो– पृथ्वीमा एशिया भन्ने महादेश छ । त्यहाँ नेपाल भन्ने देश छ । त्यहाँ बाट हामी दुई सन् २०४० को जनवरी १ मा चन्द्रलोकमा अवतरित भयौं । यन्त्र असफल भयो । फर्कने आशा हरायो ।
आमाको अवाज सुने........छोड्दे, छोड्दे...... । मलाई आमाको आवाजले झनै अचम्मित ग¥यो । यो चन्द्रलोकमा आमाको आवाज कसरी ? एकछिनमा झल्यास्स भएँ, चन्द्रग्रहणको रात रहेछ । बिहानीपख हाम्रो परम्परा अनुसार ग्रहण लाग्दा चन्द्रमालाई कुनै अपसकुन बस्तुले समातेको भनि बिभिन्न पुकारा गर्दै छोड्दे छोड्ने भनिन्छ । कस्तो अचम्म, चन्द्रग्रहणको रात चन्द्रमामा पुगेको अनौठो सपना ।
(झापा)

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 6 माघ, 2072

लेखकका अन्य रचनाहरु