व्यथितले महाकविलाई चिमोटेपछि...

- गोपीकृष्ण ढुंगाना

आफ्नै बुबाले राखेको नाम लक्ष्मीप्रसादलाई उनले अस्वीकार गरे । बुबा तिलमाधवले कान्छी पत्नी अमर राज्यलक्ष्मीबाट कात्तिक कृष्णपक्ष अमावास्या तिथीमा लक्ष्मीपूजाका दिन जन्मिएकाले लक्ष्मीको प्रसाद पाएको भन्दै साइला छोराको नाम लक्ष्मीप्रसाद राखेका थिए । तर एउटै टोल ठटुनटीमा भएकाले उनी अर्थात् नित्यराज पाण्डेले महाकवि बनेका लक्ष्मीप्रसादको नाम सरस्वतीप्रसाद राखिदिए । देवकोटाभन्दा २६ वर्षले कान्छा पाण्डे भन्छन्, ‘उहाँ लक्ष्मीप्रसाद भए पनि लक्ष्मीले कोल्टे हेरिन्, लक्ष्मीको अंग सरस्वतीले उहाँमा पूर्ण दृष्टि दिनुभएकाले हामी उहाँलाई गौरवका साथ सरस्वतीप्रसाद भन्छौं ।’
धोबीधारा र डिल्लीबजार आवतजावत गर्दा लाग्ने छोटो समय पाँच मिनेट थियो त्यो बेला । एउटै टोल भएकाले छिमेकीबीच सम्बन्ध घनिष्ट हुनु ठूलो कुरै भएन । धोबीधाराका पाण्डेले पारिवारिक घनिष्ठताका कारण देवकोटाको परिवारको नालीबेली थाहा पाउनु ठूलो कुरो पनि रहेन । उनले नाममात्र परिवर्तन गरिदिएनन् देवकोटाको, सबैले थाहा पाएको महाकविको जन्ममिति पनि फरक रहेको दाबी गर्दै यथार्थ बाहिर ल्याइदिए । ‘महाकविले कुनै ठाउँमा आफ्नो जन्म १९६५ साल भनेर होला उहाँका धेरै कृतिमा जन्ममिति १९६५ साल छ तर मैले चिना नै हात पारेपछि १९६६ लेखिन थालियो ।’
...
महाकवि रुसमा हुने अफ्रो एशियाली लेखक संघको कार्यक्रमका लागि नेपालको प्रतिनिधित्व गर्दै तास्कन्द पुगेका थिए । कार्यक्रममा कविता सुनाउँदा–सुनाउँदै उनी मूर्छा परे । रुस सरकारले नै उनको उपचार गरिदिएको पाण्डे सुनाउँछन् । ‘महाकविलाई नेपाल र नेपाली चिन्न सकेको थिएन र बहुलाएको भन्दै दाजुभाइले समेत भारतको राँची पु¥याए’, भन्छन्, ‘तर भारतका राहुल संस्कृत्यानले हिन्दी साहित्यको इतिहासमा प्रसिद्ध सुमित्रा नन्दन पन्त, ... निराला र जयशंकर प्रसाद बराबर महाकवि देवकोटा हुन् भनेका थिए ।’ राँचीको अस्पतालमा पनि महाकविले अस्पताल प्रमुखलाई थरिथरिका साहित्य, कला र समाजका बारेमा सुनाए । ‘उपचारका लागि आएको बिरामीबाट त्यस्तो भव्य साहित्य र दर्शन सुनेपछि अस्पतालप्रमुख छक्क परेछ, र भनेछ, देवकोटा इज द ग्रेट पोएट अफ नेपाल’, पाण्डे सम्झन्छन्, ‘प्रमुखले यो मान्छे बहुलाएको होइन, उनलाई बुझ्न नसकेर समाजले बहुला बनाएको रहेछ । छटपटिलाई व्यवस्थापन गर्न नसक्दा हुने असन्तुलनमात्र हो बहुलाएको होइन भनेर फिर्ता पठाइदिएछ ।’
रुसबाट फिर्ता भएपछि क्यान्सरले पीडित देवकोटा अन्तिम अवस्थामा आर्यघाटमा थिए । पाण्डेले थाहा पाए, उनको त्यही निधन भयो । ‘महाकविको अन्तिम विदाईले मलाई पनि ठूलै शोकमा पा¥यो, लाग्यो उनका बारेमा प्रशस्त घुलमिल भएकाले किताब नै तयार पार्न सक्छु’, भन्छन्, ‘लासमा चिनासँगै डढाउने गरिन्थ्यो तर उनको परिवारले लैजान भ्याएन । मैले भाउजू (महाकवि पत्नी) मनदेवीसँग चिना मागें । चार पाँच फिट लामो चिना अध्ययन गरें जन्मकुण्डली हेर्दा मिति फरक पाएपछि प्रमाणसहित महाकविको जन्ममिति २०६६ बाहिर ल्याएको थिएँ ।’ त्यसपछिका कृतिहरुमा २०६६ लेखिएको उनको भनाई छ ।
...
महाकवि देवकोटाको जीवनी लेख्ने पहिलो व्यक्ति हुन्, नित्यराज पाण्डे । धोबिधारा ठटुनटी टोलको आफ्नै तीन तले घरमा महाकविको विगत बताइरहेको दिन बुधबार उनी ८५औं वर्ष प्रवेश गरिरहेका थिए । दमले सताएर घरमैमा उपचार गरिरहेका पाण्डेले महाकविको उक्त चिना ४५औं दिनमा बागमतीमा लगेर परिवारले बगाएको जानकारी दिए । न्वारानको नाम र जन्ममितिसम्म बदल्ने हैसियत राखेका नित्यराजले निधन भएको तीन महिनाभित्रै महाकविको जीवनी तयार पारे । थाहा नपाएका कुरा भाउजू मनदेवी र महाकविका दाजुभाइसँग सोधे । पाण्डुलिपी तयार भएपछि मदन पुरस्कारका लागि पेश गर्ने सोच आयो ।
२०१३ सालमा स्थापित मदन पुरस्कार गुठीले किताब लेखेको भनी गोरखापत्रमा छापिएको समाचार र तीन प्रति हस्तलिखित वा टाइपराइटरमा लेखिएको पाण्डुलिपीलाई पुरस्कारका लागि चाहिने सामग्री भनेर खोज्थ्यो । पाण्डेले आफ्नो हस्तलिखित पाण्डुलिपी पद्मकन्या क्याम्पसको पुस्तकालयमा पु¥याए भने फोटोकपीको समय नभएकाले टाइप गराएर गुठीमा बुझाइदिए । नियमअनुसार साथमा पछि राष्ट्रकवि बनेका माधव घिमिरे र हालको शंकरदेव क्याम्पसका संस्थापक शंकरदेव पन्तको सिफारिस पनि पाण्ष्डुलिपीसँगै पेसेका थिए । ‘महाकवि देवकोटा’ शीर्षकको उक्त पाण्डुलिपी महाकवि निधन भएकै वर्ष २०१६ सालमा मदन पुरस्कार पाउन सफल भयो । २०७२ सालमा आइपुग्दा दुई लाख रुपैयाँ राशी भएको उक्त पुरस्कारवापत पाण्डेले त्यतिबेला चार हजार पाएका थिए । भन्छन्, ‘त्यो चार हजारले त्यही किताब छापें ।’
...
दुई दर्जन अर्थात् २४ उपशीर्षकमा बाँडेर लेखिएको ‘महाकवि देवकोटा’ नामक कृतिमा पाण्डेले देवकोटालाई ‘पृथ्वीका पुजारी’ भनेका छन् । महाकविले सुरुआतकै आफ्नो कविता ‘सूर्यको प्रति’ मा पनि प्रकृतिको सुन्दर दृष्य देखाई पृथ्वीमा नै स्वर्ग बसाल्ने विचार भावका रुपमा प्रस्तुत गरेका थिए,
हाम्रा ह्दय फुलाउँ फूलझैँ कोमलताले, मञ्जुलताले
माटोबाट गुलाब बनाउँ भरी उषाको लाल सुधाले ।
चेतनका हे पूर्ण शिखा ! शान्त शक्तिको सञ्चार गर
स्वर्ग वर्लोस् पृथ्वीमाथि प्रभातमा झैँ सकल घर... ।
महाकविले सूर्यलाई आह्वान गरी पृथ्वीप्रति देखाएको भक्तिभावजस्ता थुप्रै प्रसंग स्मरण गर्दै पाण्डे भन्छन्, ‘के नेपाल सानो छ ? भन्ने निबन्धमा झल्किएको मातृभूमिको महत्व, कविको पृथ्वी छोडी मृत्यु भएर गएको पनि सानो निन्द्रा ठान्ने कविता, धरतीको प्राकृतिक सौन्दर्यको वातावरणमा बसिरहे मिल्ने शान्तिको स्वर्ग र यस्ता धेरै साहित्यिक प्रस्फुटनले मलाई महाकविलाई पृथ्वीको पूजारी उपमा दिन मन लागेको हो ।’ हो, पृथ्वीमा अपूर्व गुण हुने भएकैले होला, प्राचीन ग्रन्थ वेदमा पनि पृथ्वीको पूजा उल्लेख गरिएको छ ।
ह्दयको भाव आकर्षण हुने तरिकाले प्रकट र प्रयोग गर्ने कलालाई महाकविले शैली भनेका थिए । प्रत्येक साहित्यकारको आफ्नै शैली हुन्छ जसमा निजी कला र व्यक्तित्वको छाप लागेको हुन्छ । गम्भीर पाठकले सिर्जना पढ्दा थाहा पाउँछ, लेखकको मौलिक कलाको छाप । त्यस्तै छाप बनाएर जनमानसको मनमुटु जितेको साहित्यकार हुन् महाकवि देवकोटा पनि । ‘भाव र शैलीको आपसमा घनिष्ट सम्बन्ध भई आत्मा र शरीरजस्ता देखिन्छन्, शैली नै भएन भने भाव आत्मा मूर्तिन नसकी भित्रभित्रै जमेर बस्दछ’, पाण्डे महाकवि शैलीको व्याख्या गर्छन्, ‘तर शैलीले भावलाई कहिले पनि तगारो हाल्दैन र भाव बग्ने माध्यम भई जनसमक्ष पुग्छ । देवकोटाको लेखनशैली यस्तै थियो ।’ पुरानो र नवीनताको मिश्रणका कारण महाकविको शैली नयाँ बनेको उनको बुझाई छ । थप्छन्, ‘उहाँले काव्यमा विभिन्न अलंकार, गुण र रीतिहरु पनि प्रयोग गर्नुहुन्थ्यो, यी र यस्तै थुप्रै गुणले महाकवि नयाँ युगका प्रमुख मार्गदर्शक समेत बन्नुभयो ।’
...
१९६२ सालमा चन्द्र शमशेरले स्थापना गरेको नेपालकै पहिलो स्कुल श्रेस्ता पाठशालामा पढाए पाण्डेले । तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले ‘चाहिँदैन’ भनेर २०१६ सालमा बन्द गरिदिए । पाण्डे पाटन हाइस्कुलमा अंग्रेजी शिक्षक पनि बने । पछि सरकारी जागीरमा सहसचिव पदबाट सेवानिवृत्त भए । बौद्ध दर्शनपछि महाकवि देवकोटा लेखेका पाण्डेले एक दर्जनजति कृति लेखेर आफूलाई इतिहासको पानामा सुरक्षित बनाएका छन् । यतिले पुगेन उनलाई र गतवर्ष आफू, बुबा, आमा, प्रथम पत्नी र महाकवि समेतलाई जीवन्त राख्न तीनवटा पुरस्कार घोषणा गरे, नित्यराज पाण्डे ज्ञानविज्ञान पुरस्कार, सिद्धिराज–विद्याकुमारी–देवकुमारी शैक्षिक पुरस्कार र महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार । प्रत्येकमा १५ हजार रुपैयाँ राशी राखिदिए । देवकोटाको नाममा पुरस्कार किन ? को उत्तरमा उनी भन्छन्, ‘महाकविजस्तो अद्भूत क्षमता भएका र विश्वले मानेका देवकोटा जो आकाश हेरेरै कयौं सिर्जना गर्न सक्थे, उहाँले लाउनै नपाएर लुगलुग कामेर हिँडेको, कहिले धोतीमात्र र कहिले खाली खुट्टा हिँडेको र कहिले भात खान नपाएरै म मरें भनेर सेतो कात्रोले आफूलाई छोपेकाजस्ता घटनाले बारम्बार चिमोटेपछि पुरस्कार स्थापना गरेको हुँ ।’
कुनै एक दिन मैतिदेवी–डिल्लीबजारस्थित घरमा कतैबाट घुम्दै आए देवकोटा । पत्नी मनदेवीलाई सोधे, ‘भात पाकेन ?’ भान्छाकोठा भित्रैबाट जवाफ आयो, ‘चामल किनेर ल्याउनू छैन, भातमात्र भन्छ ।’ पतिपत्नीबीच तिमी चल्ने र खान पाउँदा बेस्सरी खाने अनि नपाउँदा भोकै बस्ने देवकोटाबारे पाण्डेले प्रसंग जोडे । भन्छन्, ‘भात खान नपाएर म मरें होइन भन्दै कविजी सेतो कपडा बेरेर कोठाभित्र सुतेछन् । संयोग कस्तो परेछ भने, देवकोटालाई भेट्न केदारमान व्यथित टुप्लुक्क घर पुगे । मनदेवीले सबै बताइदिइछन्, अब खाँदै खान्नँ भनेर सुत्नुभएको छ । व्यथितले लास बनेका कविको तिघ्रामा बेस्कन चिमोट्नु भएछ । कविजी चिच्याए, मरें बाबा.. म मरें... । व्यथितले भनेछन्, तिमी कहाँ मर्नु नि, मरेको मान्छे पनि कहीँ कराउँछ ? त्यसपछि महाकवि जुरुक्क उठेछ्न् र भात खाएछन् ।’

काव्य–कुञ्ज, गठ्ठाघर, भक्तपुर, नेपाल

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 6 माघ, 2072

लेखकका अन्य रचनाहरु