प्रमाण पत्र

- भोला अधिकारी

कति सजिलो छ हगि! प्रमाण पत्र प्राप्त गर्न। कसले सुरुवात गऱ्यो होला यसको। या हुन सक्छ यत्तिकै एउटा रीत बसेको हो। हुन त जीवन बाँच्नेहरूलाई के को दरकार र प्रमाण पत्रको। यसलाई प्रमाण पत्र भनौं वा कलाको नासो। दुवै एकै त हुन नि, खुकुरी फर्सीमा झर्नु वा फर्सी खुकुरीमा काटिनु त फर्सी नै हो।

यस परंपराको थालनी जसले पनि गऱ्यो। या उ अविश्वासी हुनुपर्छ, या सन्कि। नभए किन चाहियो प्रमाण पत्र। आज यहॉ जन्मेदेखि मृत्यु पर्यान्त प्रयोग हुँदै आएको यसको अस्तित्व नै दाल-चामल भन्दा ठूलो भएको छ। सायद हुनुपर्छ रुपियाँ पनि मान्छेहरूले प्रमाण पत्रकै रुपमा विकास गरेको हो। राजा महाराजा हुँदा उनीहरूको टाउकाको प्रमाण दिएर, अनि आज कुनै एक श्रेष्ठ मानवको टाउकाको प्रमाण दिएर।

ठूला बडाहरूका बैठक कोठामा प्राय़ः मज्जाले फ्रेममा राखेर झुण्ड्याएको देख्छु। लाग्छ, उनीहरूलाई के दरकार छ यो सबै गर्ने। मान्छेले त मान्छेका मन-मस्तिष्कबाट पो प्रमाण पत्र प्राप्त गर्नु पर्ने हो त यो एउटा सच्चा र उच्च कोटीको मान्छे हो भन्ने कुरा। कोही-कोही यस्ता पनि भेट्टाउने गर्छु। घरमा तमाम प्रमाण पत्र राखेर आफू खाली रिफिल झै भएकाहरू।अनि कतै सुन्छु पनि आज भोलि नलेजको होइन, डिग्रीको महत्व छ। लाग्छ मान्छे अब मान्छे रहेनन्। एउटा फलामको रोबोट झै भएका छन्। यहॉ भावनाको होइन अब प्रमाण पत्रको कदर हुनेछ।

मलाई त लाग्छ, साच्चै मान्छे हामी नै हौं भन्ने के प्रमाण छ। यदि स्वरुपलाई हेरेर मान्छे हौं भन्ने प्रमाण पत्र मिलेको हो भने आज रोबोटको पनि त स्वरुप मान्छेकै जस्तो छ। यदि अरु नै महत्व हेरेर भनेका हुन् भने त्यो सबै कहॉ रह्यो र अब। रगत हेरेर भनेको पनि त होइन होला। रगत त सबै प्राणीहरूको रातो नै छ। जात-पात हेरेर भनेको पनि पक्कै होइन। यो जात-पात भन्ने कुरा त महाजनहरूले दिएको उपाहार हो। आज युगौं बितेर जाँदा पनि मान्छे हुनुको कुनै प्रमाण पत्र नहुँदा जीवन चलिरहेकै छ भने अब किन चाहियो यसको अस्तित्व। हुनुपर्छ अहंकारको प्रदर्शनका लागि।व्यास, कालिदास, माघ, वाल्मीकि आदि जस्ता पूर्वीय र दाँते, भर्जिल, अरस्तु आदि जस्ता पाश्चात्य कवि-महाकविहरूलाई कसले दियो होला प्रमाण पत्र। उनीहरूले त मान्छेका मन-मस्तिष्कबाट प्रमाण पत्र पाए।युगौं कार्य रुपले बाँचिरहेका छन्। तर आजका यी साठ्ठी वर्ष पनि बाँच्न नसक्ने मान्छहरूलाई चाहिँ किन स्वाङ पार्नु पऱ्यो। हाम्रा पूर्वजहरू त नामका लागि होइन कामका लागि बाँच्थे।त्यही भएर हाम्रा कतिपय ग्रन्थहरूका रचयिता अनभिज्ञ नै छन्। अनि भएन कति काव्य-महाकाव्यहरूलाई एउटा सानो कुरा सत्य मानेर फलानो कविको होला भन्ने ठहर गर्नुपर्छ। नभए के थियो उनीहरूलाई पनि आजको झै प्रमाण पत्र चाहिन्थ्यो होला। तर आज यसैलाई विकास भनिन्दो हो। म जस्ता अनभिज्ञ गवारलाई के थहॉ यसको महत्व। यहॉ मान्छेहरूका हृदयमा कति गहिरो छाप बसिसकेको छ प्रमाण पत्रको। यहॉ आबाला, बृद्द, वनिता सबै यसैको भुल-भुलैय्यमा बाँचेका छन्। म किन विरोध गरौं।

मलाई अरु कुरामा होइन, एउटा कुरामा भने ठूलो अचम्म लागेको छ। कसरी मान्छेले ईश्वरलाई प्रमाण पत्र दिए। हुनुपर्छ मान्छे ईश्वर भन्दा ठूला हुन्। नभए कसरी यस्तो हुन सक्थ्यो। रावण जस्तो विद्वानलाई सीता हरणको तुच्छ लाञ्छना लगाएर बद्नामको प्रमाण पत्र दिइयो। जसका कारण उ सधै मानव हृदयमा घृणित भएर रहनु पऱ्यो। अनि राम जस्ता आफ्नी गर्भवती पत्नीलाई जंगलमा वेसाहारा छोडेर आउनेलाई पुरुषोत्तमको प्रमाण पत्र दिएर सधै मानव मनमा पूज्य बनाइयो। यही एउटा सानो तिल जत्रो गल्तिलाई पहाड तुल्याएर रावणलाई वद्नाम बनाइयो भने रामको पहाड जत्रो गल्तिलाई तिल तुल्याएर पुरुषोत्तमको माला पहिऱ्याइयो। यस्ता कय्यौं सही कुरालाई सही र गलत कुरालाई गलत नदेख्नेहरूले समाजमा कति प्रमाण पत्र बाँटे होलान्। जसका कारण पूज्यलाई निन्दित र निन्दितलाई पूज्य बनाइयो होला। त्यसैले आज ४जीको समयमा यो प्रमाण पत्रको अस्तित्व राम्रो लाग्दैन।

म सोच्दै थिएँ। जीवनमा पाइएका केही प्रमाण पत्रहरू कोठामा फ्रेममा सजाएर झुड्याउँ। तर होस् अब प्रमाण पत्रको कुनै महत्व रहने छैन। अब गरीबलाई गरीबीको, धनीलाई धनाड्यको प्रमाण पत्र दिनु हुँदैन। सबैलाई एउटै बनाएर समानताको हेराइ हेरिनु पर्छ। समाजमा जातीयताको प्रमाण पत्रले ल्याएको आरक्षणलाई जरैदेखि उखेलेर भ्याल्दै नयाँ नियमहरू बनाउनु पर्छ। ती नियमहरूमा जातको होइन रगतको नाता लेखौं र गरीब, धनी बीचको असमानता होइन, सबै समान रुपमा विभाजन गरौं। मानवतामा विश्वास गरेर ईश्वरीय तत्वको मूल्याङ्कन होस्। साथै धर्ममा भन्दा कर्ममा बल छ भन्ने शिक्षा प्रदान गरौं। अब यो प्रमाण पत्रको अस्तित्व नराखौं। फेरि पुरानो युग झै नाममा होइन, काममा विश्वास राखेर अघि बडौं। अनि त स्वच्छ मन, स्वच्छ तन बनाइ प्रदर्शनीमा उभ्याउन सकिने छ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 6 माघ, 2072

लेखकका अन्य रचनाहरु