शेक्सपियरको जन्मघरमा पारिलो घाम

- कृष्ण बजगाईं

आइमाई र मौसमको कुरा नगरी बेलायतमा दैनिकी नै चल्दैन कि जस्तो किन गर्दछन् यहाँका मानिसहरु ? सुरु सुरुमा मलाई पनि यस्तै लाग्दथ्यो । बस्दै जाँदा थाहा लाग्यो आईमाई र मौसम यहाँका सदावहार विषय हुन् । हामी पनि के कम ? हामीले पनि मौसमकै कुरा गर्यौं । अहा क्या रमाइलो घाम ! बिहानै पारिलो घाम लागेपछि दिनभरीको यात्रा रमाईलो हुनेमा आशावादी भयौं ।

गाडीमा भएको नाभिगेटरमा गन्तब्य स्थान ‘स्टार्डफोर्ड–अपन–एवन’ सेट गरेपछि एकसय नब्बे किलोमिटर देखायो । लेखक कलाकारहरुको पुण्य भूमिको यात्रा सुरु हुन लागेको थियो । पथप्रदर्शक नाभिगेटर थियो भने म चाहीँ ड्राइभर । यात्रीहरु दुइजना छोरा र श्रीमती । गाडीमा बसेपछि शेक्सपियरका बारेमा आफूलाई थाहा भए जति सबै कुराहरु सुन्ने र सुनाउने सुरु भयो । गफले बिश्राम लिएको बेला उनका कृतिका पात्रहरु बारम्बार मेरो मष्तिस्कमा आइरहन्थे ।

एकसय बीस किलोमिटर प्रतिघण्टाको दरले तिब्र गतिमा गाडी दौडदै छ । दौडदै छ पनि के भन्नू दौडाउदै छु । तिब्र गतिमा गाडी कुदाउनुको बेग्लै मज्जा छ । आफूले अनुभूति गरेको कुरा भन्छु –‘त्यो मज्जा यात्रु भएर भन्दा पनि ड्राइभर हुँदा बढी हुँदो रहेछ ।’ जीवनमा सबै पक्षको गति यसरी नै तिब्र हुँदो हो त मानिस कुन अवस्थामा हुन्थे होलान् ? यात्रा भर मनमा यस्ता तरंग उठी रहे । बाटामा कति गाडीलाई उछिनेर अगाडि बढियो । कति गाडीले आफूलाई पछाडि छाडे छाडे । अगाडि र पछाडि गर्दा गर्दै नेभिगेटरले अब तीन किलोमिटर टाढा बतायो शेक्सपियरको जन्मघर ।

हाईवेमा बत्तासिएको कार पुरानो सहर स्टार्ड–अपन–एवन भित्र छिरेपछि गतिमा नियन्त्रण गर्नु पर्ने भयो । तोकिएको स्पीडमा गाडी नचलाए बाटामा राखिएका सिसिटिभी क्यामाराले रेकर्ड गरेपछि ढाड सेक्ने जरिमाना तिराउने कागज आईहाल्छ ।

यो पुराना घरहरुको चेप हो या सडक ? अति ब्यस्त ट्राफिकका कारण त्यहाँ गाडी घिस्रन थाल्यो । करिव दश मिनेटको कछुवा दौडाईपछि हामी गन्तब्यमा पुगेको कुरा नाभिगेटरले जनाउ दियो । तर त्यहाँ गाडी पार्किङ गर्न मिल्ने ठाउँ नै थिएन । गाडी कहाँ पार्क गर्ने त ? ठूलो समस्या पो आईलाग्यो ! गाडि पार्क गर्ने ठाउँ खोज्नैमा पो दिन जाने हो कि ? यताका ठूला हुन या पुराना सहर त्यहाँ गाडी पार्किङको समस्या कति हुन्छ भनि साध्य छैन । पार्किङको ठाउँ खोज्न गाडी अगाडि बढाएँ । करिब पाँच मिनेट चक्कर काटेपछि पार्किङ लेखेको ठाउँ देखियो । गाडी त्यतै मोँडे । पार्किङ स्थल भित्र छिरेपछि बल्ल बल्ल पाँचौं तलामा गाडी पार्क गर्न मिल्ने खाली ठाउँ पाइयो । गाडी पार्किङ गरेपछि आवश्यक दस्तुर तिरेर तल झर्यौं । र ठ्याक्कै मूल सडकमा पुगियो ।

कता होला शेक्सपियरको जन्म घर ? बाटामा अलमल्ल पर्नु भन्दा कसैलाई सोध्नु उचित लाग्यो । चोर औंलोले दिशा देखाउँदै करिब पाँच मिनेट जतिको पैदल हिँड्नु पर्ने कुरा एक सज्जनले बताए । उनलाई धन्यवाद दिएर त्यतै लागियो । ट्राफिक लाईट पार गरेर हिँडेपछि ढुंगा छापेको बाटो देखियो । दायाँ बायाँ ससाना पुराना ढाँचाका घरहरु थिए । अधिकांश घरमा शोभिनियर पसल र केही रेष्टुरेण्टहरु थिए । हरेक ठाउँमा पर्यटकहरुको खचाचच भिड । एउटा लेखक जसको निधन भएको नै चारसय पचास वर्ष भन्दा बढी भईसक्यो उसैका नाममा हजारौंको रोजिरोटी चलेको देखेपछि ति लेखक प्रति श्रद्धा जागेर आयो । लेखक हुनुको गर्वानुभूति भयो ।

सन् १५६४ अप्रिल २६ का दिन पिता शेक्सपियर र माता मेरी अर्डेनको सन्तानको रुपमा स्टार्ड–अपन–एवनको हेन्ले स्ट्रीटमा प्रशिद्ध नाटककार तथा साहित्यकार विलियम शेक्सपियरको जन्म भएको हो । अंग्रेजी साहित्यमा रोमियो एण्ड जुलियट, ओथेलो, किंग लियर, म्याक्वेथ, मर्चेन्ट अफ भेनिस, ह्याम्लेट, ट्वेल्भथ नाईट, एज यु लाईक इट, टु जेन्टलमेन अफ भेरोना जस्ता कालजयी कृतिहरु दिएर सन् १६१६ अप्रिल २३ मा उनको भौतिक शरिर यस संसारबाट बिदा भए पनि अमर कृतिका कारण उनी आजसम्म पनि बाँचीरहेका छन् ।

अलिकति हिँडेपछि हामीले परैबाट शेक्सपियर सेन्टर लेखेको घर देख्यौं । त्यहाँ मानिसहरु लाईन लागेका थिए । त्यो नै उनको घर भित्र जाने प्रवेश द्धार हो भनेर अनुमान गर्न गाहो भएन । हामी त्यहाँ पुगेर लाइनमा बसी टिकट काटेपछि भित्र प्रवेश गर्यौं ।

भित्र पवेश गर्ने बित्तिकै विभिन्न ससाना कोठामा शेक्सपियरका बारे जानकारी दिने अडियो र भिडियो सामग्रीहरु चलिरहेका थिए । उनका फोटा र केही साहित्यिक कृतिहरुले सजिएको थियो हल ।

ती सामग्रीका माध्यमले मोटामोटी रुपमा शेक्सपियरको जीवन र कर्मका बारेमा हामीले थाहा नपाएको क्षेत्रको ज्ञान हासिल भयो । त्यति जानकारी पश्चात शेक्सपियरको जन्मघर लेखेको संकेत चिन्ह पच्छ्यायौं । त्यसले हामीलाई घाँसे चौर भएको एउटा सानो बगैचामा पुर्यायो । सामुन्ने हाम्रा पहाडका जस्तै पुरानो छाना, सेतो रंगले पोतेको बुईगल सहितको तीन तले पुरानो घर थियो । त्यस घर अगाडि उभिएर मानिसहरु फोटो खिचिरहेका थिए । हामीलाई थाहा पाउन गाह्रो भएन शेक्सपियर जन्मेको घर त्यही हो भनेर ।

त्यस घरलाई पछाडि पारेरे हामीले पनि थुप्रै फोटा खिच्यौं । बाहिरबाट जति पटक जताबाट हेरे पनि हाम्रो पहाडका हुनेखानेहरुको घर भन्दा बिल्कुल केही फरक थिएन त्यो घरको बनौट । त्यसले मलाई एकछिन नेपालको पूर्वी पहाडी जिल्लामा पुर्यायो ।

त्यस घरको पुरानो ढोकाबाट भित्र लाग्यौं । भुईं तलामा सानो कोठा देखियो । त्यो कोठा पहिले एउटा अलग्गै घरको रुपमा थियो रे । त्यसलाई पछि मूल घरसँग जोडिएको रहेछ । त्यहाँबाट अगाडि बढ्यौं । त्यसपछि अर्को कोठा देखियो । त्यो उनीहरुको पारिवारिक अतिथि कक्ष रहेछ । त्यसलाई पहिले कै अवस्थामा जस्ताको तस्तै सुरक्षित राखिएको थियो । शेक्सपियरका पिताले पयोग गरेका लत्ता कपडा, फर्निचर आदि त्यहाँ सुरक्षित थिए ।

त्यहाँबाट अगाडि बढेपछि भान्सा कोठा र डाइनिङ रुममा पुगियो । त्यहाँ पनि उनका परिवारले प्रयोग गर्ने गरेको टेबल, कुर्सी र अन्य सामग्री सजाएर राखिएको थियो ।

काठको साँघुरो भर्याङ चढेर पहिलो तलामा उक्लिएपछि शयन कक्ष देखा पर्यो । उनको बहिनी उल्यमा जौन हर्टको एउटा कोठा र शेक्सपियर उनको भाइको अर्को कोठा थियो ।

बीचको ठूलो कोठा उनका मातापिताको रहेछ । जसलाई म्युजियमको रुपमा प्रयोग गरिएको थियो । त्यहाँ शेक्सपियरले प्रयोग गर्ने गरेको बाकस , पारिवारिक फोटो र शेक्सपियरको हस्ताक्षर सुरक्षितसाथ राखेको देख्न पाइयो ।

त्यहाँबाट निस्केपछि अर्को कोठामा पुगियो । त्यो शेक्सपियर जन्मेको कोठा रहेछ । त्यस कोठामा पलंगको साथमा उस बेलाका सामान र शेक्सपियरले प्रयोग गरेका खेलौनाहरु थिए । निकै बेर लगाएर ति सबै हेरि सकेपछि पछाडि पट्टीको ढोकाबाट तल झर्याैं ।

फेरी उही हरियो घाँसे चौर, रंगीबिरंगी विभिन्न जातका फुलहरुको फुलवारी आँखाको सामुन्ने थियो । आश्चर्य लाग्ने कुरा के छ भने त्यहाँ भएका कतिपय रुखहरु केही पोथ्रा सोहौं शताब्दी देखिका रहेछन् । शेक्सपियरले आफ्ना केही रचनाहरुमा त्यही बगैंचाका बोटबिरुवाहरु र फुलको बर्णन गरेका रहेछन् ।

बँगैचा घुम्दै जाँदा एउटा कुनामा दाही जुँगा पालेको ठयाक्कै लेखनाथ पौडेलको जस्तै सालिक परैबाट देखियो । शेक्सपियरको जन्मघरमा लेखनाथ ? पत्याउनै नसकिने दृष्य अलिक टाढाबाट देखेपछि लामा फट्का मारेर नजिकै पुगेँ । कसको सालिक रहेछ भनेर नियाँलेर हेरेको त रविन्दनाथ टेगरको पो रहेछ ! त्यो सालिक कुनै भारतिय संस्थाले त्यहाँ निमार्ण गरेको रहेछ । यस्तो दृष्य देखेर अचम्म लाग्यो । के कारणले भारतियहरुले त्यस ठाँउमा टेगरको सालिक बनाए ? रविन्दनाथलाई चिनाउन ? अथवा शेक्सपियर कै स्तरका भारतिय साहित्यकार हुन् भनि देखाउन ? फेरी बेलायतीहरुले किन सहजरुपमा टेगरको सालिक त्यहाँ बनाउन दिए ? मन भित्र प्रश्नका माथि प्रश्नको ओइरो लागिरहेको थियो । जति तर्क गरे पनि चित्त बुझ्दो उत्तरले आफूलाई सन्तुष्ट पार्न सकिन ।

रवीन्दनाथ टेगोरको सालिक अगाडिको घाँसे चौर थियो । त्यहाँ केही मानिसहरु उभिएका थिए त केही बसेका थिए । के रहेछ भनेर बुझेको त त्यहाँ हरेक दिन घण्टा घण्टामा शेक्सपियरको नाटकको केही अंश देखाईदो रहेछ । शेक्सपियरको नाटकमा नाम चलेका कलाकारहरुले अभिनय गर्दा रहेछन् । यस्तो अवसर छुटाउने कुरै भएन । करिव पन्ध मिनेटको पतिक्षापछि रोमियो जुलियट नाटकको केही अंशमा कलाकारहरुले अभिनय गरे । क्या जिवन्त अभिनय ! कितावमा पढेको नाटक पत्यक्ष हेर्न पाउनु त्यो पनि संसारका महान नाटककार शेक्सपियरको बगैचामा । म कति भाग्यमानी ! गर्वले ढक्क फुल्यो छाति ।

नाटक सकिएपछि एक जना पुरुष कलाकारसँग भलाकुसारी गरेँ । उनी स्थानिय रंगमंचका खारिएका ब्यावसायिक कलाकार रहेछन् । उनीसँग फोटो खिचेपछि आनन्दित मन लिएर हामी सबै बाहिर निस्कियौं ।

उन्नाइसौं शताब्दीसम्म शेक्सपियरका वंशजहरुसँग भएको त्यस घरलाई पछि शेक्सपियर ट्रस्टलाई हस्तान्तरण गरिएको रहेछ । त्यसको कुशल ब्यवस्थापन र बजारीकरणका कारण लाखौं पर्यटकलाई वर्षेनी आकर्षित गरेर मनग्गे आम्दानी गर्दो रहेछ ।

शेक्सपियरको नामसँग जोडिएका अरु दुइवटा स्थानको पनि भ्रमण गर्ने टिकट काटेकोले साँघुरा गल्लीमा मानिसहरुको भीड छिचोल्दै अगि बढियो । करिव दश मिनेटको पैदल यात्रापछि शेक्सपियरको छोरी सुसाना र ज्वाईं जौनको घरमा पुगियो । भित्र पुग्ने बित्तिकै गाईडले हाम्रो स्वागत गरे । र त्यहाँको बारेमा सामान्य जानकारी दिए । शेक्सपियरकी छोरी सुसाना सुशिक्षित रहिछिन् । उनका पति जौन त्यसबेलाका प्रशिद्ध डाक्टर रहेछन् । तिनका घरका कोठा कोठा चाहारियो । हरेक कोठा संग्राहलयको रुपमा विकाश गरिएको रहेछ । त्यस घरको आकर्षण भनेको डाक्टरले बिरामी जाँच्ने कोठा र त्यसबेलाका मेडिकल उपकरणहरु । ती सबै सुरक्षित तरिकाले राखिएको थियो । त्यहाँ केही पुस्तकहरु पनि देखिए । सायद मेडिसिन सम्बन्धी पुस्तक थिए होलान् ।

माथिल्लो तला सबै हेरिसकेपछि पछाडिबाटै तल झर्यौं । तल झर्दा मगमग वासनादार बगैचाले स्वागत गर्याे । घर पछाडिको त्यो निक्कै ठूलो बगैचामा फूलहरु मात्र होईन उतिखेर औषधीको रुपमा प्रयोग गरिने जडिबुट्टीका बोटविरुवाहरु पनि थिए । ती अहिले पनि जिवितै देख्दा जडिबुट्टीलाई रोगब्याध नै पो नलाग्दो रहेछ जस्तो लाग्यो । तर त्यहाँ भएका फूलहरु चाहीँ सायद नयाँ होलान्, मैले अनुमान गरेँ । ति फूलका महक परसम्म पुगेको थियो ।
हामी बगैंचाबाट बाहिर निस्कियौं । त्यहाँबाट करिव दश मिनेटको पैदल यात्रा हिँडेपछि पुगिने शेक्सपियरको नाम जोडिएको अर्को स्थान किन छाड्नु भन्ने लाग्यो । घमाइलो दिनमा दायाँबायाँ नजर लगाउँदै गफिदैै शेक्सपियरको अर्को घर अगाडि पुगियो । त्यहाँ शेक्सपियरले आफनो जीवनको अन्तिम समय बिताएका रहेछन् । र त्यहीँ उनको स्वर्गवास भएको रहेछ । उति बेला उनको प्रशिद्धि बढ्दै गएर प्रशस्त पैसा कमाएपछि किनेको विलाशी भवन रहेछ त्यो । त्यहाँ पनि उनले प्रयोग गरेका सामानहरु प्रदर्शनीमा राखिएको थियो । त्यस भवनको पछाडी फूलको विशाल ठूलो बगैचा र बस्नका लागि फलंैचाहरु राखिएका रहेछन् । दिनभरको थकाई मार्न हामी पनि एकछिन त्यहाँ बस्यौं । र शेक्सपियर सम्बन्धी गफ गर्यौं । शेक्सपियरले यस्तै सुन्दर ठाउँमा बसेर त होलान् नि साहित्यिक कृति रचना गर्न सकेका । हामीले त्यहाँ धेरैबेर कुराहरु गर्न सकेनौं । दिन ढल्कदै थियो, घुम्ने ठाउँ हेर्न अझै बाँकी नै थियो । एकछिन मै उठी हाल्यौं ।

त्यस भवनको ठीक अगाडिको चर्च जसलाई होली ट्रिनटी चर्च वा शेक्सपियर चर्च पनि भनिदो रहेछ त्यहाँ पुग्यौं । सन् १२१० मा स्थापना भएको त्यस चर्चमा उनलाई समाधीस्थ गरिएको रहेछ । उनको न्वारान अर्थात ब्याप्टीज्म पनि त्यही चर्चमा भएको रहेछ ।

चर्च भित्र प्रवेश गर्न फेरी लामबद्ध हुनु पर्यो । बिशाल ठूलो चर्च भित्र हुलका हुल मानिस निस्कदै भित्रिदै थिए । त्यहाँ कुनै हल्लाखल्ला थिएन । सबै शान्त थिए । भित्र चर्को आवाजमा बोल्न नपाईने नियम नै रहेछ ।

भित्र चर्चका भित्ता, झ्याल, सिलिङ सबै उच्चतम कलाले सिंगारिएको देख्न पाइयो । चर्चको सबै भन्दा अगाडि पट्टि शेक्सपियरको समाधी थियो । उनको छेउमा श्रीमती हथावे र जेठी छोरी सुसानाको समाधी थियो । हरेक समाधीको अगाडि नाम नै लेखिएकोले छुट्याउन गाह्रो भएन । शेक्सपियरको समाधी नजिकै वरपर अन्य प्रशिद्ध ब्यक्तिहरुको समाधी पनि रहेछ । महान साहित्यकार शेक्सपियरको समाधी अगाडि करिव एक मिनेट जति आँखा चिम्लिएर उभिएर उनलाई श्रद्धासुमन अर्पण गरेँ ।

उनको समाधीमा हरेक वर्ष सहरका गन्यमान्य ब्यक्तिहरु, नगरपालिकाका पदाधिकारीहरु र सर्वसाधारण सम्मिलित जुलुसले मुख्य बजार परिक्रमा गरेर त्यहाँ पुष्प चढाउँन जाँदा रहेछन् । त्यस जुलसको नेतृत्व भने किङ एडवार्ड ग्रामर स्कूलका बिद्यार्थीहरुले गर्दा रहेछन् । त्यसको खास कारण चाहीँ त्यही स्कूलमा विलियम शेक्सपियरले पढेका रहेछन् । एउटा साहित्यकारलाई मरोणपरान्त चारसय पचास वर्ष पछिसम्म पनि कति धेरै सम्मान दिएको ? अचम्म लाग्यो । त्यो परम्परा हामी कहाँ पनि भए कति राम्रो हुन्थ्यो ? साहित्यकारहरुलाई त्यो भन्दा ठूलो सम्मान र पुरस्कार अरु के हुन्थ्यो ? हामी कहाँ त साहित्यकार मरेको एक वर्ष बित्दा नबित्दै बिर्सने बानी छ । साहित्यकारलाई हेर्ने आफ्नो देशको सरकारी नीति देखेर दुःख लागेर आउँदछ ।

संसारभर चिनिएका महान साहित्यकारको जन्मदेखि मृत्युसम्मको हरेक वस्तु हेर्ने र धेरै जानकारी प्राप्त गर्ने अवसर मिल्यो । बिरलै हुने यस्तो सार्थक यात्रा पुरा गरेर फर्कदा मन चंगा भयो । तर मनमा लागि रह्यो हामीले पनि महाकवि देवकोटा, आदि कवि भानुभक्त आदिको जन्मघरलाई यसरी नै विकाश गर्न सकिदैन र ?

त्यस चर्चबाट निस्केपछि बाहिर खाजा खायौं । करिब बीस मिनेटको पैदल यात्राबाट गाडी पार्क गरेको स्थानमा पुग्यौं । र घर फर्कन गाडीमा चढ्यौं । यात्रादलका हामी सबै थाकेका थियौं । सबै थाके पनि ड्राइभरले थाक्न मिलेन । गाडी भित्र सिटमा बसेपछि हामी पटक पटक लामो हाइ काड्दै थियौं । चारपाँच किलोमिटर नपुग्दै उनीहरु गाडी मै निदाए । तर मेरा आँखा चाही जागै राखेँ ।

त्यस यात्रामा भखैरै हेरेर आएको शेक्सपियरको घर र उनको जीवनवृत्तिका दृष्य एकपछि अर्को गर्दै आउदै जाँदै थिए । अचानक उनका बारेमा पढेका विवादस्पद कुराहरु मेरो दिमागमा मडारिन थाल्यो ।

शेक्सपियर आफ्नो जन्म स्थान छाडेर करिव दुइसय किलोमिटर टाढा लन्डनमा नाटकमा काम गर्न जानुको कारण अपराधबाट जोगिनु रहेछ । त्यतिबेला अबैधरुपमा हरिणको शिकार गरेको कारण प्रहरीले उनलाई खोज्दै रहेछ । कानूनी कार्यवाही हुने डरले भागेर लन्डन पुगेका रहेछन् । त्यसपछि लन्डनमा रंगमंचमा काम थाले । त्यहीँबाट उनले ख्याती र पैसा दुबै कमाए ।

शेक्सपियरका पिता त्यसबेलाका ठूला ब्यापारी रहेछन् । हातमा लगाउने पंजाको ब्यापारबाट राम्रै कमाई गरेका थिए । पछि शेक्सपियरले आफै पनि धेरै सम्पत्ति कमाएका रहेछन् । सरकारी कर नतिरेको कारणले शेक्सपियरले केही वर्ष मुद्धामामिलाको झमेला पनि बेहोर्नु परेको रहेछ ।

अंग्रेजी साहित्यमा शेक्सपियरको जति कुनै लेखकले आजसम्म त्यो स्तरको ख्याती पाएका छैनन् । तर शेक्सपियरका कालजयी रचना उनले नलेखेर अरु कसैले लेखेको हो भन्ने कुरा केही अनुसन्धानकर्ताहरुले भनेका छन् । शेक्सपियरको छद्म नामबाट कुनै यहुदी महिलाले गोप्यरुपमा लेख्थिन् रे । त्यसबेला बेलायतको राजगद्यीमा रानी एलिजावेथ प्रथम भएकोले रानीको भन्दा बढी ख्याती अर्की महिलाले कमाउन बन्देज रहेछ । सोही कारण ति महिलाले शेक्सपियरको नाममा साहित्य सिर्जना गरेकी हुन् भन्ने एक थरीको तर्क छ ।

उनको बारेमा अर्को विबादास्पद कुरा के छ भने उनी कुनै विश्वविद्यालयमा पढेका थिएनन् रे । उनी इङल्याण्ड बाहिर कहीँ पनि गएका थिएनन् । राजदरवार सम्बन्धी कुनै ज्ञान नै थिएन । कसरी उनले आफ्ना नाटकमा इटालीको विभिन्न राज्य र त्यहाँका राजघरानाका बारेमा लेखे भनेर तर्क गरिएको छ ।

शेक्सपियरको नामबाट लेख्ने लेखकहरु भनेर विभिन्न ब्यक्तिको नाम अनुसन्धानकर्ताहरुले प्रकाशमा ल्याएका छन् । क्रिस्टोफर मार्लो, फ्रान्सिस बेकन, डा. बेन जोन्सन, एडवार्ड द भेर, काउन्टस अफ पेम्बुक आदिले शेक्सपियरको नाममा लेख्दथे रे ।

जीवन एक रंगमंच हो हामी त्यसको कलाकार हौं भन्ने महान नाटककार शेक्सपियर सम्बन्धी कहिल्यै नसकिने र नसुल्झने यस्ता विवाद उनको मृत्युको दुइसय वर्षदेखि आजसम्म चलिरहेको छ । उनी प्रति श्रद्धा राख्ने ब्यक्तिहरुलाई यस्ता विवादास्पद कुराले चोट पुर्याउँदो हो । कुरा र विवाद जे भए पनि कालजयी कृतिका लेखक शेक्सपियर होइनन् भन्ने कुरा त्यति घुमेर आएपछि मेरो आत्माले स्वीकारेन ।

उनी प्रति अगाध श्रद्धा र विश्वास कायम राख्दै साहित्यिक उर्जाका साथ घर फर्कदा गोधुली साँझ थियो । गाडी एकसय बीस किलोमिटर प्रति घण्टाको गतिमा हुँईकदा मेरो मन कहिले नेपाल त कहिले बेलायत गर्दै तिब्र बेगमा दौडिदै थियो ।

लन्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 पौष, 2072

लेखकका अन्य रचनाहरु