फेरि हात उठाएँ

- श्रीओम श्रेष्ठ रोदन

फेरि एक जनालाई चिनें भन्ने लाग्यो र सबैले देख्ने गरी हात उठाएँ । यो पनि मेरो गल्ती हुन सक्छ फेरि र नहुन पनि सक्छ । होस् जे भए नि किन चिन्ता गरिरहनु, भविष्य छँदैछ छुट्याउनको लागि ।
हुन त म, सधैं चिनें भनेकाहरुलाई चिन्न नसकिरहेको मान्छे । हिँडे भनेर अगाडि बढ्न नसकिरहेको मान्छे । पाएँ भनेर गुमाइरहेको मान्छे । पाइतालाहरु सधँै नयाँ माटोमा छौं भन्छन् तर पनि गन्तव्य थाहा पाउननसकेको मान्छे । तर पनि पटक्कै विचलित भएको छैन भन्छु म । यसरी बाँच्न सक्नुको स्वाद पनि अर्कैे हुन्छ । यस्तै अभ्यासले नै जीवनमा पक्का हिसाब किताब गराउन सिकाउँछ भन्ने पनि ठान्छु म । निरन्तर यात्रामा नपुछिएको पसिना पुछ्दाको विश्रामले आत्मपरीक्षा गर्न सिकाउँछ भन्छु म ।
त्यसले हात उठाएको हुँ चिनें भनेर । यदि गल्ती नै गरेको हुँ भने पनि खासै घाटा व्यहोर्नु नपर्ला सायद । घाटा सहनु पनि जीवनको एउटा प्रक्रिया हो । नाफाले मात्र जीवन कहाँ हँसिलो भइरहन्छ र ? भनेरै पनि केही सचेत गराएको छ विगतका अनुभवले । आफैलाई पनि सतप्रतिशत विश्वास गर्दा पोखरीमा हामफालेजस्तै झ्वाम्म हामफाल्नु हुन्न भन्न थालेको छु । आफ्नाजनहरुसँगको व्यवहार अब ढक तराजुमा होइन डिजिटलमा नै एक्युरेट हुनुपर्छ भन्न थालेको छु ।
एलबी सर अर्थात् एल बी क्षेत्री । नचिनेरै चिनेकोजस्तो लाग्ने नाम । नभेटेरै भेटिएका हुन् उनी । सिर्जना र व्यवहारले । फोन भेटमा नै चिनें भनेको हुँ मैले । शरीर भेट र परिचय टाढै थियो हाम्रो । चितवनको एउटा कार्यक्रममा पुगेको थिएँ २०६७ मा । कार्यक्रम भनिएको समयभन्दा धेरै अगाडि बढिसकेको भए पनि सुरु भइसकेको थिएन । अनौपचारिक भेटघाट र हार्दिक कुराकानी चलिरहेको थियो । एक जना सुटमा बो टाइ लगाएका शानदार व्यक्तित्वको चहलपहल जोशिलो थियो । हेर्छु र चिन्न खोज्छु तर सक्दिन । धेरैबेरसम्म जिज्ञासा राखिराख्न सक्दिन र सोध्छु नजिकैको मित्रसँग ‘को हुन् ?’ उनको नाम सुन्नासाथ म बसिरहेको आसनबाट जुरुक्क उठ्छु र नजिकै पुगेर आफ्नो नाम भन्छु । हात मात्र मिल्दैनन् हाम्रा । अँगालिन्छौं अनायास एकआपसमा । मानौं हामी बर्षौंदेखिका मित्र हौं । लामो समय छुट्टिएर भेटिएजस्तै । कुनै हिन्दी सिनेमाको सस्तोे दृश्यजस्तै बन्छौं हामी । कुनै भिलेनको कारण केटाकेटीमा छुट्टिएका हामीहरु शरीरको कुनै संकेतले एकले अर्कालाई चिनेजस्तो ।
मान्छे सेनाको एल बी सर, त्यो पनि भारतीय सेनाको । निबृत्ति भएपछि कर्मथलो चितवन बनाएका । पुनः अध्यापन पेशा प्रारम्भ गरेर प्रमुख नै बने क्याम्पसका । पढाउँदै जाने क्रममा सैनिक सरले पढ्न थाले साहित्य र लेख्न थाले लघुकथा । हामी बीचको पुल पनि त्यही लघुकथा नै बनेको थियो । एल बी सरले बन्दुकको कवाजबाट थाकेपछि चक डस्टरबाट अर्को प्रतिष्ठा कमाए र साहित्यमा समर्पित भए ।
भरतपुरबाट करिब ७ किलोमिटर टाढा छ कैलाशनगर । भौगोलिक रुपले समथर ठाउँ छ त्यो । तर त्यही ठाउँलाई कविडाँडाको रुपमा चिनिन थालेको छ । कविहरुको दृष्टिले उर्वर रहेछ त्यो भूमि । डा. खुमनारायण पौडेल, सङ्गीत आयाम, डा. हरिहर पौडेल, सुरेन्द्र अस्तफल, सृजन अविरल, उदय अधिकारी , गोपाल पौडेल, जी. शर्मा, एल बी क्षेत्रीहरु जस्ता कविहरु भएकै कारण कैलाशनगरलाई कविडाँडा भन्न थालिएको रहेछ । त्यही नामलाई आधार बनाएर एल बी सरले कविडाँडा साहित्य समाजको स्थापना गरेका छन् । आफ्नो बुबा आमाको नाममा पुरस्कार स्थापना गरेर प्रदान गर्न थालेका छन् । ‘चरैबेती’ साहित्यिक पत्रिकाको प्रकाशन सम्पादन गरेका छन् । एक जना रिटायर्ड सैनिकले यति धेरै काम गर्नु, गर्नु मात्र होइन । साहित्यको सम्मान गर्नु पनि हो । प्रोत्साहित गर्नु पनि हो बुझ्नेहरुलाई । गर्न सक्ने तर नगर्नेहरुका लागि स्वादिलो झापड पनि हो ।
एल बी सरको ठ्याक्कै हृदय पढ्न सकेको त छैन । आँखा हेरेर अनुमान गर्ने बिद्या पनि छैन मसँग तर उनले जे गरेका छन् त्यसैको आधारमा उनलाई हार्दिक , शालिन र हिमालजस्तै अग्लो अग्लो लाग्छ । डर पनि लाग्छ अग्लो भएकोमा । समय ग्लोबल वार्मिङको छ । पग्लिएर उचाइ घट्न पनि सक्ला । नहोस् कहिले त्यस्तो । मित्रताको उकालो चढ्दा पसिना पनि नबगोस् भन्ने मान्छे हुँ म । पग्लिने, होचिने, चिप्लिने कुरामा चिन्ता लाग्छ । भन्नेहरुका लागि यी आडम्बर हुन । नहोस् पनि कसरी ? अहिले आर्शीवाद पनि किनबेच हुने दलाली समय चलेको छ । मान्छेबाट मान्छे हराउँदै जाँदो छ । प्रेम र सद्भाव पखालिँदै जाँदो छ । आफ्ना दुई दुई सन्तानलाई घरबाट राति लगेर पुलबाट बगिरहेको नदीमा फ्याँक्न सक्ने बाउ समाजमा छौं हामी । बाउ पनि के भन्नु त्यस्ता अपराधीलाई ? बाउ शब्दकै अपमान गर्नेलाई । आफैले जन्माएको सन्तानबाट सेरिने कृतघ्न छोराहरुकै ठाउँका हौं हामी । आफ्नै छोरीलाई बलात्कार गर्ने बाउ समाजमा पनि छौं हामी ।
यस्ता उदाहरणहरु केलाउँदै जाने हो भने एक निमेष पनि बाँच्न सकिँदैन यो समाजमा । त्यही सम्झेर मर्दै जाने हो भने बाँच्नेहरु तिनीहरु जस्ता मात्रै हुन्छन् । तिनीहरु मात्रैको समाज कस्तो होला ? त्यसैले पनि अलिकति आँखा बन्द गरेजस्तो गर्नु परेको छ समाजकै लागि । जेसुकै भए पनि आखिर असल ठानिएपछि सम्बन्ध गाँस्न किन कन्जुस्याइँ गरिरहनु भन्ने ठान्छु । न लेखापरीक्षण गरिरहनुपर्ने ,न ब्यालेन्ससिट नै तयार पारिरहनु पर्ने मित्रताको । त्यही भएर पनि, धेरै चिनें भनेर नचिनिरहेको समयमा पनि एल बी सरलाई चिनें भनेर हात उठाएको हुँ । भ्रमै भए पनि होस् अब आखिर शतप्रतिशत सत्य जीवन कसले पो भोग्न पाएको छ र ? आफ्नै अनुहार शतप्रतिशत सक्कली कसले पो देख्न पाएका छन् र ? हृदयले हेरेँ, देखेँ भन्नु कुरा अर्कैै हो । होइन भने ऐनामा हेर्ने अनुहार सेकेण्ड ह्यायण्ड नै हो नि होइन र ? भनेपछि मित्रतामा केको व्याकरणको व्याख्या गरिरहनु ?
एल बी सरले पक्कै पड्कने बन्दुकले नै लड्नु भो युद्धमा । हामी नदेखिने बन्दुकले आफैसँगको युद्ध लड्छौं । बाँच्नको लागि कत्तिलाई सिध्याउनु पनि भो होला । आवश्यक समयमा मात्रै बन्दुक बोक्नु भो होला तर हामीजस्ता बन्दुक नहुनेहरुका लागि जीवन नै एउटा युद्ध बनेको छ । आफै समाप्त नहुन्जेलसम्म निरन्तर लडिरहनुपर्ने । तपाइँले जागिरमा कवाज खेल्नु भयो, हामी बाध्यताले कवाज खेलिरहेका छौं समाज र सँस्कृतिसँग । तपाईँ समय सीमाको सेना हुनुहुन्थ्यो र अहिले रिटायर्ड हुनुभो । हामी आजीवन घरका सैनिक हुन्छौ र कहिले रिटायर्ड हँदैनौं । तपाईँहरु सबै कुराबाट सुसज्जित र सुरक्षित भएर लड्नुहुन्थ्यो, हामी बिना तालिम, बिना बन्दुक, बिना पद, बिना पोशाक र बिना कमाण्ड लडिरहन्छौं भने हामीबीचमा कुन सीमाको दशगजाले विभेद गरेको छ र ?
हुन त पछारिनु पनि यस्तै विश्वासको भ¥याङबाट मजा हुन्छ । बेइमानको खुड्किलो चढेर लड्नु भन्दा इमान्दारजस्ता देखिने खुड्किलो टेक्दा बढी भर हुन्छ नै । अहिले मेरो मेमोरीमा डिलिट भइनसकेका केही भत्किएका विश्वासका बलिया पर्खालहरु झल्याकझुलुक बाँकी छन् । त्यसैले कसैलाई चिनें भन्दा दुई चोटि आफैसँग शंका लाग्छ । यतिखेर निबन्धकार रामबाबु घिमिरे सरको पङ्क्तिलाई सम्झिरहेछु् – “सिक्वेन्स नमिल्दा जोकर आफै पनि फाल्तु हुन्छ । जोकर अवसरबादको प्रतीक हो । मलाई जोकर मनपर्छ । अवसरवादी साथी मन पर्छ । कारण दुखमा पन्छिए पनि सुखमा टाँसिन आइपुग्छ । अवसरवाद भनेको वर्तमान हो । अवसरवादमा भूत र भविष्यको अर्थ हुन्न ।”
एकबारको जुनीमा आत्मसात् गर्न सक्नुपर्ने नै यत्ति हो । इमान्दारको मात्र खोजी गर्न थाल्यौं भने सधँै दुखीको दुखी बनिरहनु । पर्छ सालाखालासुखी बन्न अलिअलि पीडाको आभास गर्न सक्नुपर्छ । त्यसपछि समयले जस्तै घाउ लगाउँदा पनि खप्नै नसक्ने हुँदैन । समथर बाटोमा हिँडेर डाँडा उक्लिन गा¥हो परेजस्तो हुँदैन । अप्ठेरोमा हिँड्न जानियो भने सजिलोमा झनै सजिलो भैहाल्छ । यदि मृत्युको पनि आभास गर्न मिल्ने भएको भए मर्न पनि कोही डराउने थिएन होलान् ।
फेरि प्रश्न होस् ममाथि अरुका र आफ्नै पनि ! फेरि किन चिनें भनेर हात उठाइस् भनेर । भनोस् जोसुकैले जेसुकै भनोस् । म थुनिएजस्तो लुकेर गुरिल्ला युद्ध गर्ने मान्छे होइन । म हारेजस्तो गरेर अरुलाई हराइरहहने मान्छ पनि होइन । म जनताको नाममा जनता ठगिरहने व्यवसायको मान्छे पनि होइन । खुल्ला किताबजस्तो छुं भन्छु म ।चाहेकोले पढ्न सक्ने । जसले जुन अर्थ लाउन सक्ने र त्यहअनुरुप अर्थ लगाउन पनि मिल्ने । र यो पनि भनौं किं यही कारण मैले केही सहनु पर्छ, भोग्नु पर्छ भने पनि म सदैव तयार छु । किनभने त्यस्ता थुप्रै भोगाइका अनुभव मसँग नलुकिकन बसेका छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 पौष, 2072

लेखकका अन्य रचनाहरु