शपथ

- श्रवणकुमार ढुंगाना

चिया नपिएर
अनावश्यक खाजामा खर्च नगरेर
छाकमा मुष्ठी मुष्ठी घटाएर
मैले पैसा जोगाउने छु
किनभने
उसको लागि मैले
पैसा हावामा उडाउनु छ
नदिमा बगाउनु छ
कालाबजारहरूमा सेता पैसाहरू
यसरी खर्च गर्नु छ कि-
पैसा खसेर हरायो भनेर
चित्त बुझाउनु छ !

एक छाक खाएर वा भोकै बसेर
एक धरो लाएर वा नांगै बसेर
अरु कुरा त के कुरा
सिटामोलको चक्की नपाएर
तुलसी पानी खुवाउने बेला आउँदासम्म पनि
म झुक्ने छैन
रुने छैन
आत्तिने छैन
किनभने राष्ट्रियता जोगाउनु छ !
पहिरोले पुरिएर/ भुकम्पले किचिएर त के भो र
एकसरो न्यानो लगाउन नपाएर
कठ्यांग्रीएर मरे पनि
म गल्ने छैन,
उनिहरुले तिनलाई सहिद भन्ने छन्
मेरो छाप्रोको छानो उडाउँदै मेरै आँगनमा
हेलिकप्टर बसालेर
भाषण गर्नेछन्
मेरो धैर्यको प्रशंसा गर्नेछन्
कहिले ठुला ठुला होटलहरूमा
र कहिले
सगरमाथा आधार शिबिर मै पुगेर
मेरै कुरा गर्नेछन्
र भन्ने छन् -
" यो देशको ईतिहाँसमा स्वर्ण अक्षरमा लेखिनेछ"
तब म झनै गौरवान्वित हुँदै
यो देशको शिरलाई उच्चराख्न दृढ हुने छु !

मलाई बचाउन पशुपतिनाथ फूल र टीका लिएर ढोकैमा आउनेछन् दक्षिणा माग्दै,
मलाई बचाउन जिसस बाईबल र दक्षिणा लिएर आउनेछन्
बप्तिस्मा माग्दै,
बाँच्नु त बाँच्नकै लागि यो अक्करमा किन बाच्नु छ र ?
मैले त सन्तान जन्माउनु छ यो देशका लागि -
साउदी र मलेसियामा पसिना बगाउन सक्ने
कारगिल र अफगानमा रगत बगाउन सक्ने
र देशका लागि धेरै धेरै धन पठाउन सक्ने !

र यसरी आफू
कष्टमा पिल्सिएर
अभावमा निचोरिएर
अदम्य सहास देखाउँदै
अद्भुत त्याग देखाउँदै
देश बचाउने छु
उसलाई उठाउने छु भनी
म आज सरकारको नाउँमा
जनता पदको
शपथ लिन्छु
केवल उसका लागि !

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 पौष, 2072

लेखकका अन्य रचनाहरु