एउटा गीतको संरचनात्मक अध्ययन

- नवीन पौड्याल

गत वर्ष २०१४ मा एउटा सुन्दर गीति अल्बम निस्कियो रूमानी बतास। यसमा स्वर रबिन शर्मा शब्द पुश्कर पराजुली र संगीतकार शरद सिन्हा रहेका छन्। अल्बमका सबै गीत मिठा हुन्। यसमध्ये पनि एउटा गीतको शब्द, साङ्गीतिक धुन र स्वरको जादुपनले प्रस्तुत गीतले नेपालको वर्षको उत्कृष्ट गीतको पुरस्कार जित्न सफल भएको जान्न पाइयो। गीतमा उत्कृष्ट शब्द-योजना, सुमधुर साङ्गीतिक संयोजन, गायनको सुस्ष्टता र परिपक्वताको त्रिवेणीबाट सिर्जिएको यस गीतलाई नेपाली साङ्गीतिक जगत्‌मा एउटा उपलब्धि मान्न सकिन्छ। गीत यस्तो छ -
न बातले भन्यौ न हातले भन्यौ
जब तिमीले बिदा भन्यौ
केवल सासले भन्यौ....
बादलका छालहरूले आँखा छोपे झैं भयो
हजारौं तीरहरूले छाती घोचे झैं भयो।

म त्यही क्षण सम्झिरहेछु
म झ्यालबाट हेरिरहेछु
यी डाँडापाखा यी दृश्यहरू तिमीतिर गइरहेछन्
म उल्टो बगिरहेछु...
हावाका लहर छुँदै तिमी गए झैं भयो
उडेका केशहरूले मुहार छोए झैं भयो...
म सुस्तरी बल्झिरहेछु तिमीसँगै अल्झिरहेछु
बतासमा तिमी, यो सासमा तिमी
नबोलेको बातमा तिमी मनमनै सल्किरहेछु...
बिछोडको चोट हुर्केर कतै दुखे झैं भयो
कसैले तानी तानी मुटु झिके झैं भयो...

गीतको पार्श्वभूमि सिर्जित छ। यसका अनुसार एउटा युगल प्रेमी जोडी छन्। उनीहरू कुनै कारणले विछोडिनु परेको छ। अन्तिमपल्ट भेट भएपछिको दृश्य छ। उनीहरू मनमनमा विछोडको पीडाको भाव लिएर आआफ्नो दर्ग-दिशातिर जाँदो छन्। गीतले युवकले मनमा कुरा खेलेको बुझाएको छ। त्यो विरक्तिको क्षणमा कस्तो कस्तो परिदृश्य मनमा आउँछन्, त्यसै बिम्ब नै गीतको सामल बनेको छ। मनका विरह वेदनाको तीव्र भावलाई स्वर मुखरित भएको छ। यसमा घात र धोकाको कुरा नभएर विछोडिनुको पीडा बोध छ। कसैलाई दोष नदिएर आफ्नै स्थितिको वर्णन छ। गीतमा एउटा क्षीणकाय कथारेखा छ। आँखा छोपेपछि सिलिङमिलिङभित्र पनि केही रेखाचित्र स्पष्ट-स्पष्टतर बन्दै गएझैं गीतको भित्री शब्दचित्र स्पष्ट बन्दै जान्छन्।
१. विछोड हुँदाको क्षणमा प्रेमिकाले विदा मागेको परिदृश्य स्पष्ट छ- हात हल्लाएर टाटा गरेको होइन, बातले म गएँ है भनेर गएकी होइन तर त्योभन्दा पनि विदाइको चरम पीडामा गला अवरूद्ध भएर सासले मात्र केही विदाको संकेत गरेको छ। विछोडको पीडाको त्यो चरम संवेदनालाई समात्न सासले मात्र बोलेको परिदश्य सिर्जित छ।
२. त्यस विदाको घडीमा पीडकलाई कस्तो खालको पीडा भयो त भन्दा बादलका निर्मम छालले आँखा ढाकेर अगाडि शुन्य भएझैं भयो अनि अझ त्यसभन्दा अर्को शब्दमा हजारौं तीरले छाती रोपेझैं भयो।
३. त्यस घडीमा प्रेमी प्रेमिका बिस्तारै विस्तारै एकार्कादेखि टाडिदे टाडिँदै गए। पीडक त्यहाँदेखि गाडीमा चडेर कतै आफ्नै दिशामा जाँदैछ। त्यो विछोडको आलो पल सम्झेर अघोरै विरक्तिएको छ। गाडीको झ्यालको छेउमा बसेर जाँदा परिपरिका दृश्य रूखपात घर सबै सबै विछोडिएकी प्रेमिकातिर गएझैं लाग्छ। गाडीबाट बाहिर दृश्यावली अघि बढ्दा आफु चैं उल्टो बगिरहेझै लाग्नु पीडाको पराकाष्ट उचाइँ हो।
४. टाडिँदै गएपछि पहिलेका पलहरू सम्झँदा पीडकमा स्मृतिविम्बले छाउँदै गरेको छ। हावाले पनि छुटेकी प्रेमिकालाई छोएर आए जस्तो, मुहारमा केशले छोपिएझैं आफ्नो मन छोपिएको कोमल संवेदना छचल्किएको छ। छुटेकी प्रमिकाकै स्म़ृति अल्झिरहेको, प्रेममा नै बल्झिरहेको जस्तो उकुसमुकुस र औडाहा छ।
५. विछोडको चोटले छाती क्षतविक्षत भएको छ आफ्नो मुटु कसैले चुँडेर लगेझैं भएको पीडा छ।
प्रस्तुतमा गीतमा उच्चतम कोमल संवेदनाको रूप छ। विछोडको पीडाको पराकाष्ट अवस्था छ। गीतको मूल विषयवस्तुमा नै पूरा गीत संरचित छ। विछोडको पीडा कस्तो छ भनेर जनाउनु यसको पार्श्व प्रतिक्रियालाई चारैतिरबाट विम्बात्मक अनुभूति मिलाएर एकोन्मुख बनाएको छ –

मनको पीडाको अवस्था ----------विम्ब
बादलले छालले आँखा छोपेझैं हुनु
हजारौं तीरले छाती रोपेझैं भयो
डाँडापाखा दृश्यहरू तिमीतिरै गएजस्तो
आफु उल्टो बगिरहेझैं
हावाहरू तिमीतिरै गएर छोएजस्तो
उडेका केशले मुहार छोपेझैं
विछोडको पीडा कतै दुखेझैं
कसैले मुटु तानिदिएझैं।

प्रस्तुत गीतमा यसको स्थायीलाई दुईवटा अन्तराले पुष्टी गरेको छ। गीतमा अनुभूतिको उच्चतालाई कायम राखी एकपछि अर्को साक्ष्य र विम्बद्वारा अघि बढाइएको छ। संवेदना तीव्रता जनाउन स्पर्शविम्ब, चक्षुविम्ब, दृश्यविम्ब, श्रव्यविम्ब र स्मृतिविम्बको सुगमतासँग प्रयोग छ। प्रस्तुत गीतमा कोमलता र शब्दविम्बबाट आनुषांगिक आनन्द पाइन्छ। हृदयको कोमल अनुभूति जनाउनका निम्ति गीतको शब्द प्रयोगमा पनि सचेतता पाइन्छ। कण्ठ्य (कवर्ग), दन्तमूलीय (चवर्ग), दन्त्य (तवर्ग) र ओष्ठ्य (पवर्ग) स्थलीबाट उच्चारित हुने तथा उष्ण र स्पर्शी-संघर्षी वर्णको बढी प्रयोग पाइन्छ। गीतमा हुनुपर्ने आनुप्रासिक चमत्कार, उपमा अलङ्कारको कुशल प्रयोग, कोमल कण्ठ्यस्थली शब्दको चुनाइ, वैदर्भी रीतिका वर्णहरूभित्र माधुर्य गुणको ओतप्रोत आदिले गर्दा गीत उत्कृष्ठ बनेको छ। सचेत र पाऱखीलाई एउटा मिठो शब्दको तिर्सना मेटिदिन सक्ने छ।

पेदोङ सरकारी कलेज।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 पौष, 2072

लेखकका अन्य रचनाहरु