जागुनका पं. हीरा मिश्रज्यू – मेरो पनि अलिकति थप कुरा

- नवीन पौड्याल

श्री सुकराज दियालीज्यूले जसमाथि प्रस्तुत पुस्तक लेख्नुभएको रहेछ तिनै व्यक्तित्वलाई चिन्ने, देख्ने, बुझ्ने अवसर मैले पनि पाएको हुँ। यद्यपि ममा यस्तो मेहनतले किताब लेख्ने जाँगर छैन। व्यक्तिको प्रतिभाको जीवनकालमा नै सम्मान र सत्कार हुनुपर्छ। सत्कार्य गर्नेको बेलैमा मूल्याङ्कन हुनुपर्छ, राम्रो काम गर्नेले स्यावासी पाउनु पर्छ तथा नराम्रो काम गर्नेको धिक्कार पनि हुनुपर्छ। वीरपूजा हुनुपर्छ, प्रतिभाले समयमा नै फस्टिन पाउनु पर्छ इत्यादि सोंचाइ सबैको हुन्छ। त्यसलाई कार्यरूपमा उतार्न भने तत्पर कोही हुँदैन औ भए पनि थोरै हुन्छन्। यद्यपि सुकराजजीले यसलाई गरेर देखाउनु भयो। सुकराजजीले जाँगर चलाएर लेख्नुभयो। यसका निम्ति सुकराजजीलाई हार्दिक धन्यवाद, बधाइ र शुभकामना छ।
असमको सबैभन्दा पूर्वको तल्लो भागमा अवस्थित छन् मार्गेरिटा, लिडु, टिराप, लेखापानी र जागुन भन्ने ठाउँहरू। दोस्रो विश्वयुद्धको समयमा बर्माबाट विभिन्न राजनैतिक कारणले पलायन भएर, अनेक दुःख कष्ट खपेर, डेढ- दुई सय किमीमिटर हिँडेर यता नेपाल र भारततिर आएका थिए। असमको लेखापानी बर्माको नजिकै पर्ने ठाउँ हुँदा त्यहाँ एउटा शरणार्थी शिविर अस्थायी रूपमा राखिएको थियो। त्यही अस्थायी शिविरसम्म आइपुग्ने लक्ष्य लिएर बर्माबाट गोर्खालीहरू आएको जीवन्त वर्णन इन्द्रबहादुर राईको कथा 'जयमाया आफुमात्र लिखापानी आइपुगी'मा पाइन्छ। त्यस कथामा केही ऐतिहासिक तथ्यलाई कल्पना र यथार्थ मिसाई एउटा सुन्दर कथात्मक रूप दिइएको छ। लेखापानीमा असम राइफल्सको एउटा ठुलो क्याम्प रहेछ। त्यस क्याम्पबाट सेनामा नोकरी गरेपछि धेरै गोर्खालीहरू त्यहीँको वरिपरिका गाउँतिर बसोबास गर्न थालेपछि त्यहाँ एउटा ठुलो गोर्खाली आवादी देखिन्छ। लेखापानी पुग्नुभन्दा पहिले लेडु आउँछ। त्यहाँ कोइलाको खानी छ। पहाडै कोइलाको रहेछ र रातैदिन कोइला खनन चल्दो रहेछ। त्यसको छेउमा टिरापस्थित टिराप कोलरीमा पनि कोइलाको विशाल खानी रहेछ। त्यहाँभित्र सुरूङबाट दिनदिने कोइला निकालेर रेलमा हाली सारा भारतभरि पठाइन्दो रहेछ। त्यहाँको कोइलासम्बन्धी खनन, ठुल्ठुला लरी ट्रकमा हालेर, पहाड काटेर, भुईँदेखि तलतलसम्म खाल्डो, कोइलाको तहको घेरा इत्यादिको रमिता लाग्दो दृश्य देखिन्छ। त्यहाँको स्टील वेल रोडको दाहिनेपट्टि कोइला खानीको तथा देब्रेपट्टि चाहिँ चियाको हरियो बगान। एकापट्टि कालो र अर्कोपट्टि हरियो दृश्य। त्यही स्टील वेल रोड बर्मातिर जाँदो रहेछ। छेवैमा म्यान्माको पट्काइ पहाडको हरियो दृश्यले मन रोमाञ्चित बनाउँछ।
लेडु, टिराप र लेखापानी नाघेपछि जागुन पुगिन्छ। जागुन पुग्ने बेलामा एउटा ठुलो गेटको भग्नावशेष देखिन्छ। पहिले जागुन अरूणाचल प्रदेशको एउटा भाग थियो र पछिबाट सिमानाको पुनर्सीमाङ्कन गर्दा असममा परेको भन्ने कुराको जानकारी पाइयो। जागुनमा अधिकाङ्श गोर्खाली बस्ती रहेछ। त्यहाँ सात माइल, आठमाइल नौमाइल इत्यादि नामका ठाउँ रहेछन्। ती प्रत्येक माइलको नामकरण पनि रामपुर, विष्णुपुर, दुर्गापुर, पार्वतीपुर इत्यादि प्रकारले गरिएको रहेछ। त्यहाँको दुर्गापुरमा आदिकवि भानुभक्त आचार्यको प्रतिमा स्थापना गरिएको रहेछ। त्यहाँ गोर्खाली जातीय सङ्गठन, साहित्यिक सङ्घ खोलिएका रहेछन् र साहित्यिक गतिविधि पनि सञ्चालन भइरहँदो रहेछ। विक्रमवीर थापाको 'माटो बोल्दो हो' उपन्यासमा वर्णन गरिएका ठाउँहरू लेखापानी, टिराप कोलरी र टिरापगेटबाट हिँडेर जाने भित्री बिशागाउँ इत्यादि पनि पाइन्छन्। विक्रमवीर थापाले उहाँको उक्त उपन्यासमा वर्णित ठाउँहरूको भ्रमण गर्न यस कलमकारलाई अनुरोध गर्नुभएको हो तर समयको अभावले जान सकिएको छैन। यस उपन्यासमा त्यहाँ केही ठाउँहरूका यथार्थ वर्णन पाइन्छ। त्यहाँको स्टील वेल रोडको निर्माणको इतिहास र पृष्ठभूमि केलाइएको छ र एकजना पात्र सुदीपलाई उक्त रोड र लेखापानी, जागुन, बिशागाउँ आदिको भ्रमण गराइएको छ। जागुनबाट भीम धमालाका कविता, कथा, निबन्ध र अनुवादका कृति प्रकाशित छन् भने बिशागाउँका टिकाप्रसाद भट्टराई एकजना राम्रा गीतकार, कथाकार, निबन्धकार, कवि हुन्। थानुराम पाण्डे पनि त्यहाँका जागरूक लेखक हुन्। त्यहाँ जाँदा उनीसित पनि हाम्रो भेटघाट भएको हो। खिलराज उपाध्याय, केन्द्रप्रसाद उपाध्याय, मञ्जु उपाध्याय, धर्म विनय आँसु, आदि पनि त्यहाँ साहित्यिक व्यक्तित्व हुन्।
यसरी हेर्दा जागुनका गोर्खाली समाज साहित्यिक, सामाजिक, धार्मिक आदि कुरामा सचेत रहेछ। त्यस जागुनको छ माइलमा रहेको रामपुर भन्ने ठाउँमा एकजना प्रतिभा रहेछन् पण्डित हीरा मिश्र। उनी मनकारी, परोपकारी, दयालु, सबैका हितैषी व्यक्ति हुन्। उनका विविध पक्षमा सुकराजजीले लेखिसकेपछि मैले अरू थप्नुपर्ने देखिन्न। तापनि उनीबारे जोड दिएर भन्नुपर्दा उनी विशिष्ट, सम्माननीय व्यक्ति हुन्। अतिथि देवो भवको मन्त्रलाई सार्थक रूपमा ग्रहण गर्ने मिश्रज्यू साँच्चै श्रद्धाका पात्र हुन्। उनी दानवीर, दयावीर र कर्मवीर हुन्। आफुले दिएका दानादिको उत्ति चर्चा गर्दैनन्, विज्ञापन गर्दैनन् र आफु बढी प्रशंसित भएको रूचाउँदैनन्। वर्षमा एक पल्ट गाउँका गरीबलाई घर बनाइदिन्छन्, मन्दिरलगायत अन्य जनकार्यमा गुप्त दान दिन्छन्, पढ्न नसक्नेलाई पढाइदिन्छन्। अहिलेसम्म उनले बाह्रवटा जति घर बनाइदिई सके भने कति ठाउँमा कति पुण्य कार्य गरे, त्यसको लेखाजोखा छैन भन्ने भनाइ त्यस ठाउँका अरू मान्छेहरूको रहेको छ।
मैले सानामा असमको लेखापानीमा हाम्रो मावलीपट्टिका आफन्तको घर छ भन्ने चर्चा सुनेथेँ। बेलुकी हीरा मिश्रज्यूको परिवारमा लेखापानीमा कोही रिसाल परिवार कतै चिन्नुहुन्छ कि भनी बाल्यकालमा सुनेको कुरा सुनाएँ। साँच्चै उहाँहरूले चिन्नुहुँदो रहेछ अनि भोलि आफ्नो गाडीमा त्यो ठाउँ पठाउने बन्दोवस्त गरिदिने कुरा श्रीमती मिश्रले गर्नुभयो। नभन्दै भोलिपल्ट बिहानै घरको एउटा गाडीमा हामी चारजना पाहुना लेखापानी नभएर लेडुको भित्री गाउँ मूलाङ भन्ने ठाउँमा हामी सोध्दै पुग्यौं। त्यहाँ पुगेर घर पत्तो पाइयो र कहिल्यै र कोही नगएको आफन्तको घर पुगेर आएँ। त्यस घरका आफन्त पनि छक्क परे। साइनोले त्यसरी पछ्याउँदो रहेछ। साथमा सुकराजजीलगायत उनकी श्रीमती र गेजिङका कवि इन्तियाज हक पनि थिए। त्यहाँ दुई घण्टा जति बिताए पछि हामी फेरि मिश्रज्यूको घर गई खाना खाएर दुलियाजान फर्किन विदा लियौं। विशेष गरी मेरा निम्ति यसलाई महत्वपूर्ण कुरा मान्छु। अरूले पनि सोही अनुभव गरेको कुरा प्रकट गरे। जे होस् हाम्रो निम्ति उक्त यात्रा पनि रमाइलो भयो। लेडुको भित्री गाउँसम्म पुगेर असमको धुकधुकी सुन्न पाइयो। त्यहाँको जनजीवनका विभिन्न पाटा देख्न पाइयो र त्यहाँ मानिसहरूका जीवन रेखा पनि बुझ्न पाइयो। कतिपय घरका मानिसहरूले लेडुको कोइला खानीबाट अवैध तरिकाले कोइला निकाली बोरा भरेर बाहिर बजारमा बेचेर पनि जीविकोपार्जन गर्दो रहेछन्। अर्कापट्टि चियाकमानमा पत्ती टिपेको दृश्य पनि रमाइलो लाग्यो। चियाबगानमा काम गर्नेहरू बगानिया आदिवासी हुँदा रहेछन्।
अतिथिको मान- सम्मान गर्ने रूचि भएका मिश्रज्यूको घरमा नेपालबाट आएको एउटा लगभग पच्चीसजना जतिको झुण्ड दुई दिनसम्म रहेका थिए। उनको आतिथ्य सेवा बुझेर काठमाडौंका कवि देवी नेपालले एउटा रमाइलो काव्य नै रचना गरेका रहेछन्। मिश्रज्यूले अनेक सामाजिक हितका काम गरे। साहित्यिक लेखन नभए पनि त्यहाँको साहित्यिक परिवेश निर्माण गर्न सक्रिय प्रत्यक्ष र परोक्ष भूमिका खेलेका छन्। उनी स्रष्टा- साहित्यकारलाई सम्मान गर्छन्।
सुकराज दियाली हाम्रा समाजका एक जाँगरिला लेखक हुन्। उनी जागुनका हीरा मिश्रको सामाजिक योगदान बुझेर उनीबारे एउटा पुस्तकाकार कृति नै लेख्ने जाँगर चलाउनु सानो जाँगर, लगन र धैर्यको काम होइन। यसभन्दा अघि पनि उनले मिजोरामका एक प्रतिभा गुनु घर्तीको कृतित्व र व्यक्तित्वमाथि एउटा ग्रन्थ नै प्रकाशित गरेका छन्। उनी प्रतिभालाई चिन्न सक्छन्, कदर गर्न जान्दछन् र अरूलाई इज्जत गर्न सक्छन्। अब त उनी आफैं एक सम्मानित व्यक्तित्व भइसकेका छन्। जागुनको साहित्यिक गतिविधि र योगदानको बारेमा सुकराजजीले पं हीरा मिश्र र भीम धमालाजीलाई सोध्नुहुँदै थियो। उहाँले त्यसरी सोधेर पाएका उत्तरहरूलाई मिलाएर यसरी किताबै निकाल्नु धेरै ठुलो कुरा हो। यसबाट सुकराजजीको अनुसन्धान गर्ने प्रवृत्ति स्पष्ट रूपमा देखिन्छ।
प्रस्तुत पुस्तकलाई हामी दुई भागमा विभाजन गर्न सकिन्छ – लेखकको भ्रमण संस्मरण र मिश्रज्यूका व्यक्तित्व र कर्तव्य। लेखकको भ्रमणको टोलीमा यो कलमकार पनि सरिक थियो। यसका साथै गेजिङ, सिक्किमका नेपाली कवि इम्तियाज उल हक पनि सँगै थिए। इम्तियाज त चौबीस पच्चीस बर्षीय एम बी एका विद्यार्थी र बैंकका कर्मचारी रहेछन्। उनले राम्रा राम्रा कविता लेख्दा रहेछन्। उनको एउटा कवितासङ्ग्रह 'मेरा केही हरफहरू' प्रकाशित भइसकेको रहेछ। यसरी मूल रूपमा घरमा हिन्दीभाषी परिवेश भए पनि नेपाली साहित्य लेखन र अध्ययनमा निकै रूचि र जाँगर भएका युवा रहेछन् इम्तियाज हक। हामी चारजना (सुकराजजीकी श्रीमती गरेर) मा ठट्टा, परिहासमय वातावरण बनाइरह्यौं। हाम्रो रेलयात्रा न्यू जलपाइगडीदेखि शुरू भई गफ गर्दै, ठट्टा गर्दै सुत्दै बितायौं। गौहाटीमा हामीलाई भेट्न कवि जयन्तकृष्ण शर्मा आइपुगे। त्यसपछि फेरि दस घण्टाजतिको रेलयात्रा पछि असमको पल्लो छेउको तेलनगरी दुलियाजान स्टेसनमा पुगी ओर्लियौं। त्यहाँ पुगेको एक छिनपछि दुलियाजान नेपाली समाजका अध्यक्ष श्री लीलाराम थापा आफ्नो गाडीमा लिन आएर समाजको कार्यालयमा पुर्‍याए। यात्रा रमाइलो लाग्यो। भानुजयन्तीको पूर्व सन्ध्यामा पनि एउटा सानो परिचयात्मक कार्यक्रम सम्पन्न भयो। त्यस कार्यक्रममा मणिपुरका डा. सीताराम अघिकारी, शिलाङका कवि सागर सापकोटा, वरिष्ठ विद्वान व्यक्तित्व श्री पद्म ठकाल, डा खेमराज नेपाल आदि पनि उपस्थित हुनुहुन्थ्यो। भोलिपल्ट राती आठ बजेदेखि भानुजयन्ती कार्यक्रम सम्पन्न भयो। रामायण पाठ भयो। रामायणको धूनको यताको भन्दा केही भिन्नै लाग्यो। उक्त कार्यक्रमा जम्मा चारवटा पुस्तक विमोचन भए- खुमन सोनारको बालकवितासंग्रह 'धानचराको बोली', नारदप्रसाद उपाध्यायको उपन्यास 'टेलिफोन', यस कलमकारको 'साहित्य अनुशीलन' र भानुभक्त समितिले तयार पारेको 'भानुस्मारिका'। पुस्तक लोकार्पण कार्यक्रम चाहिँ अबेर रात भएकाले र कार्यक्रमको लामो सूचीका कारण खासै रोचक पाराले हुन सकेन। अभिजमान स्मृति ट्रस्टले प्रदान गर्ने अभिजमान पुरस्कार वितरण समारोह पनि सम्पन्न भयो। पुरस्कार ग्रहण गर्न विक्रमवीर थापा (अस्वस्थ) र ओम आत्रेय अनुपस्थित थिए। उनीहरूबाहेक दार्जिलिङकी चेली शैलीका छेत्रीको पुरस्कार पनि मैले ग्रहण गरेर पछि उनलाई हस्तगत गरें।
भानुजयन्तीको भोलिपल्ट हामी 12 बजेतिर दुलियाजानबाट गाडी चडेर जागुन यात्रा गर्यौं। बीचमा डिगबैबाट गाडी बदली गरेर जागुनको बसमा चड्यौं। बाटामा माकुम, मार्घेरिटा, लिडु, लेखापानी, टिराप, टिरापकोलेरी आदिको नाम मैले विक्रमवीर थापाको माटो बोल्दो हो उपन्यासमा वर्णन गरिएकाले रमाइलो लाग्यो। जागुनमा हामीलाई लिन भीम धमाला आएका थिए। उनले हीरा मिश्रको घर लगेर राखेका हुन्।
पुस्तकको मूलभाग भने पं हीरा मिश्रको व्यक्तित्व र सुकार्यको चर्चा र मूल्याङ्कन हो। यसमा मिश्रज्यूको जीवनी, जीवनवृत्ति, परोपकारी कार्यहरूको वर्णन छ। यसमा पंडितका बारेमा भएका कुरा मात्र हालिएको छ। उनको बारेमा बोक्रे कुराले बढ्ता प्रशंसा गरिएको छैन। यसमा जागुनको सामाजिक, साहित्यिक, शैक्षिक परिवेश र पृष्ठभूमि पनि केलाएका छन्। जागुन यात्रालाई लिएर लेखिएको बाल्मिकी क्याम्पस काठमाडौंका देवी नेपालले काव्य नै लेखेका छन् 'आँखाभरि जागुन मनभरि सम्झना' । यसमा पनि जागुनमा भानुभक्तको सालिक र भानुजयन्तीको अवसरमा त्यहाँ गरिएको साहित्यिक कार्यक्रमको वर्षनका साथै पं. हीरा मिश्रको सदाशयताबारे पनि मुग्धकण्ठले छन्दोवद्ध रूपमा उतारेका छन्। यसबारे मैले बढी जनाइरहे पाठकलाई दिक्दार हुन्छ किनकि सुकराजजीले यसमा सबै कुरा लेख्नुभएको छ। यस हिसाबले प्रस्तुत पुस्तकमा इमानदारिता छ। यसरी दार्जिलिङ नागरीका सुकराजजीले असमको सबैभन्दा पल्लो छेउ जागुनका पं. हीरा मिश्रको बारेमा किताब लेखेर प्रकाशित गर्नुलाई हामी सलाम गर्छौं।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 9 पौष, 2072

लेखकका अन्य रचनाहरु