कथाकारका रूपमा पूर्ण राई - प्रवृतिगत अध्ययन

- नवीन पौड्याल

नेपाली साहित्यमा पूर्ण राईलाई एक सफल कथाकारका रूपमा चिनिन्छ। नेपाली कथा क्षेत्रमा उनको नाम उज्ज्वल देखिन्छ। उनी आफ्नो समयको युगसचेत भई पाठकका सामु एक सफल र लोकप्रिय कथाकार रूपमा परिचित छन् कथाका तीनवटा कथासंग्रह लिएर नेपाली साहित्यमा सदा जीवित छन्। उको जन्म कालिम्पोङको मन्सोङमा भएको थियो। आफ्नो जीवन यात्राका क्रममा उनी सिक्किममा शिक्षा विभागको पाठ्य पुस्तक अधिकारी भएका थिए। उनको निधन सन् २००३ मा भएको थियो। उनी सन् १९६५ सालमा दार्जिलिङको धुँवा पत्रिकामा सर्वप्रथम नेपाली कथामा देखा परेका थिए। सन् १९७२ मा सर्वप्रथम उनको सिमलको भुवा कथासङ्ग्रह प्रकाशित भएको थियो. उनकै अनुसार उक्त कथासङ्ग्रह अल्लरे बुध्दिको सारै कलिलो उपज थियो। त्यसको लगत्तै पछि नाङ्गो धरती कथासङ्ग्रह तयारी पारेर प्रकाशकलाई दिएका थिए त बनारसमा पाण्डुलिपि हराएको थियो (पूर्ण राई फूल झरेका पत्रदल, गान्तोक आजको सिक्किम प्रकाशन, १९७३)।
सानु लामाका अनुसार पूर्ण राई एक सशक्त कथाकार हुन्। उनी जस्तो सुगमतासित कथामा चित्र कोर्छन्, त्यस्तै सुललित ढङ्गमा कवितामा प्राण भर्छन्। आफुजस्तै लेखेका कथामा हृदय छुने सरलता पाइन्छ। पात्र-पात्राहरूलाई बोल्न लगाइँदैन कथामा तर सोचिराखेका कुरा बोलिदिन्छन्। कथा आफ्नै जस्ता लाग्छ। पूर्ण राई यथार्थवादी कथाकार हुन्। उनका कथामा सामाजिक पक्षका यथार्थलाई नजिकैबाट केलाइएको छ। जीवनमा अनेक कुरा देखिन्छन्, भोगिन्छन्, सुनिन्छन्, यी सबैलाई कथाकारले कथामा समेटेका छन्। जीवन र जगतका यथार्थलाई कथाकार नजिकमा पुग्न सकेका छन्। उनी समाजको सुक्ष्म निरीक्षक हुन् र आफ्ना कथामा समाजको विभिन्न अवस्थाको चित्रण-वर्णन पाइन्छ। समाजका नदेखिएका, नकेलाइएका कुराहरूलाई उनले आफ्ना कथामा समेटेका छन्।
पूर्ण राईका कथामा मूलरूपमा करूण, नैराश्यको प्रबलता, वैचारिकताको सघनता, युगचेतना, आञ्चलिकता, शिल्प-शैलीगत सचेतता, कथ्य भाषा प्रयोग, अकथात्मक प्रस्तुति आदि प्रव़त्तिहरू पाइन्छन्। यद्यपि मूल रूपमा उनका कथाहरूलाई केलाउँदा १. विसङ्गतिवाद, २. सामाजिक यथार्थवाद, ३. मनोविज्ञानपरक, ४. आञ्चलिकपरक आदि प्रवृत्तिहरू देख्न पाउँछौं।
१. विसङ्तिवादी चेतना- पूर्ण राईका प्रायः जसो कथाहरू विसङ्तिवादी चेतनामा आधारित छन्। पात्रहरू कुनै न कुनै रीतले विसङ्गतिग्रस्त छन्।
पासाङहरूका कथामा हाम्रा समाजका निम्न वेतनभोगी व्यक्तिहरूको रेखाचित्र खिँचिएको छ। अफिसको एक कर्मचारी पासाङ व्यक्ति बाहिरी रूपमा हँसी-खुशी र आनन्दित देखिन्छ। तर उसको भित्री पीडा अर्कै छ। उसकी बाह्र-चौधकी किशोरी छोरी बिरामी भएर मर्छे, उसकी स्वास्नी पनि रोगी छ। उ आफु रोएको अरूलाई देखाउँदैन तर भित्रभित्रै पीडित छ। उसले अन्य अफिसका अन्य पासाङ नाम गरेका कर्मचारीहरू पनि त्यसरी नै पीडित छन्। मानिसलाई दुःख परिरहन्छ र पासाङले अरूका दुःख पीड़ालाई बुझेर देखेर आफ्नो चित्त बुझाउँछ र कार्यलयमा साविकझैं हाँस्छ, हँसाउँछ र रमाइलो मान्छ। जीवन त भोग्नैपर्छ, बाँचुन्जेल केही न केही सहनै पर्छ भन्ने दर्शनलाई कथामा अभिव्यक्ति गरिएको छ। हामी सबै नै उही कर्मचारी पासाङ झैं छौं । संसार नै यस्तै दुःखहरूको जञ्जाल हो भन्ने भाव व्यक्त गरिएको छ। ल्याण्ड रेभेन्यूको पासाङ, ब्याङ्कको पासाङ, फरेस्ट विभागको पासाङहरू सबै नै कुनै न कुनै व्यथामा पीडित छन्। पीडा नै जीवनको अभिन्न अङ्ग बनेको छ।
निर्णय कथामा बूढा मानिसमा फूटबल खेल हेर्ने जुन तीब्र लालसा छ, त्यो नैसर्गिक बनेको छ। आफ्नो जवानीमा उनी आफैं खेलाडी हुनाले त्यो खेल उनको निम्ति नशा लागेझैं बनेको छ। अन्तमा फूटबल फाइनल हेर्न नजाने निर्णय गर्नु एउटा अप्रत्याशित घटना बनेको छ। उनी फूटबल हेर्न नजानुमा आफ्नो पराजय ठाने पनि उसले नजाने नै निर्णय गर्छ। गाउँले फूटबल प्रतियोगितामा उसको रूचि उभित्रको सुषुप्त अचेतन अवस्थामा बसेको खेलको लालसा विद्यमान रहेको छ। उनका एकेक कथामा नै जीवनका जटील कुराहरूको अङ्कन छ। कतै गरीबीले सताएको छ कतै प्रेमको पीडा छ। संसारको अनेक पीडा, दुःखमा पात्रहरू जेलिएका छन्। पात्रहरूमा नैराश्य भावको प्रधानता पाइन्छ।
उनका कथामा जीवनका नैराश्य पक्ष देखाइएको छ। सत्तरी र अस्सीको दशकको समयमा दार्जिलिङ सिक्किममा विशेषगरी युवा समाजमा व्याप्त असन्तुष्टी, बेरोजगारीपन, विभिनिन किसिमका समस्याका जङ्जाललाई उनका कथाहरूमा प्रतिविम्बन गरिएको पाइन्छ। उनका प्रायः प्रत्येक पात्र नै नैराश्यको शिकार बनेका छन्। जीवनमा उनीहरू दुःखित छन्, कुनै न कुनै पक्षबाट पीडित छन्। यस किसिमले हेर्दा उनका कथाहरूको भयवादी सिद्धान्तका आधारमा विश्लेषण गर्न सकिन्छ। कुनै कारणवस पात्रहरू भयबाट आक्रान्त छन्। गरीबी, अमानवता आदिले ग्रस्त छन्।
पूर्ण राईका कथामा सिक्किम - दार्जिलिङे जनजीवनको सर्वेक्षण पाइन्छ। यहाँको जनजीवनलाई नजिकैबाट हेरिएको छ। विशेष गरी सत्तरको दशकमा दार्जिलिङ सिक्किमतिर उद्योग धन्धाको घोर न्यूनताबाट उब्जेको शिक्षित बेरोजगारी समस्या, सरकारी नौकरी प्राप्त नहुँदाको पीडा, अर्कापट्टि गोर्खाली-नेपालीहरूको जातीय अस्तित्वको पीडा आदिबाट उब्जेको मानसिकता नै पूर्ण राईको कथागत मूल स्वर सन्धान हो। यस हिसाबले उनी सत्तरी र अस्सीको दशकका दार्जिलिभ-सिक्किमेली नेपाली जनजीवनका प्रतिनिधि कथाकार हुन्।

पेदोङ सरकारी कलेज

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 पौष, 2072

लेखकका अन्य रचनाहरु