साहित्यिक सङ्गठक स्रष्टा अधिकारीः द्रष्टा कलममा

- असफल गौतम

लमजुङ चन्द्रेश्वर–७, दुराडाँडामा जन्मेका अग्रज स्रष्टाको नाम हो तीर्थराज अधिकारी। वि. सं. २००३ कार्तिक ३० गते पिता नारायणदत्त अधिकारी र माता रूक्मिणा अधिकारीको कोखबाट माइला सन्तानका रूपमा जन्मेका अधिकारीका नामका अगाडि अहिले साहित्यकार उपाधि थपिएको छ। मध्यम वर्गीय परिवारमा जन्मेका अधिकारीका बाबु तत्कालिन गाउँका जिम्मुवाल भए तापनि मुख्य पेशा कृषि थियो, आमा कुशल गृहिणी। उनी जिम्मुवालका माइला छोरा बनेरै बाल्यकाल बिताए। गाउँकै स्कुलबाट प्राथमिक तह पूरा गरेका अधिकारी सर्वोदय हाइस्कुल, लमजुङ कलेज र पृथ्वीनारायण क्याम्पस हुँदै आफ्नो उच्च शिक्षा पूरा गर्ने अभिलाषालाई अगाडि बढाइरहे। वि.सं. २०२८ मा प्राइभेट परीक्षा दिएर स्नातक उत्तिर्ण गरेका अधिकारीले अगाडि बढ्दै जाँदा जीवन सोझो र सिधा रेखा मात्रै होइन भन्ने अनुभूत यही समयमा राम्ररी गरिसकेका थिए। उनलाई थाहा भयो, जीवन घुमाउरा, अप्ठ्यारा र कहाली लाग्दा गल्छेडाहरू पार गरेरै जानु पर्ने रहेछ भन्ने।
अधिकारीले आजको जस्तो सुखद् जीवन पाउनका लागि कति मेहेनत गरे भन्ने कुरा शब्दमा लेखेर कहिल्यै सकिदैनन्। वि.सं. २०२२ देखि २०२७ सम्म शिक्षण पेशा अँगालेका अधिकारीले जति विद्यार्थीलाई आफूले जानेको सीप सिकाए त्यति नै ती पाठशालाहरूबाट आफूले पाठ सिकेर अगाडि बढ्दै गए। जम्मभूमिको आसपास मात्रै होइन, उनी जीवन यापनको नौका खियाउँदै दोलखाको जिरीसम्म पूगेर अध्यापन गराई आफूलाई शिक्षासेवीका रूपमा चिनाए। सोही समय उनले झुल्का नामक पत्रिकाको सम्पादन गरेर साहित्य र शिक्षा सेवामा सँगसँगै लाग्न थाले। यसरी अगाडि बढ्दै जाने क्रममा उनले वि.सं. २०३२ मा लोकसेवा आयोगको परीक्षा पास गरी निरन्तर देश र जनताको सेवा गर्दै अगाडि बढिरहे।
बचिलो र कट्मेरो उमेरमा शिक्षा सेवा, युवा अवस्थामा राष्ट्र सेवा हुँदै वयष्कमा अधिकारीले साहित्य सेवालाई अगाडि बढाउँदै जीवनका भोटाहरू फटाल्न थाले। स्वाभिमानी असल राष्ट्रसेवक कर्मचारी भएरै उनले केही दशक बिताए। जागिरे जीवनको पाठशालामा उनले धेरै पाठहरू सिके र बुझे।
रूपयौवनसम्पन्नता विशालकुलसम्भवाः ।
विद्याहीना न शोभन्ते निर्गन्धा इव किंशुका ।।
सुन्दरता र तारूण्यताले युक्त भएका, ठूलो कुलमा जन्मिएका व्यक्ति पनि अनपढ छन् भने त्यस्ता व्यक्ति वास्ना नआउने पलाँसको फूलजस्तो देख्नमा राम्रो लाग्ने भए तापनि काम लाग्ने खालका भने हुँदैनन् भनेर चाणक्यले भनेका छन्। त्यही सिकाइ र बुझाइकै कारण उनले पढाई छोडेको झण्डै रजत वर्ष पुग्ने वेला वि.सं. २०५० मा प्राइभेट परीक्षा दिएरै स्नातकोत्तर पास गरे। यसरी आफ्नो अध्ययनलाई अगाडि बढाउँदै आएका अधिकारी अहिले नेपाल सरकारको उपसचिव पदबाट सेवा निवृत्त जीवन अमेरिकामा बिताइरहेका छन्।
अब उनको साहित्यिक यात्राको कुरो, वि.सं. २०२७ मै दोलखाको जिरीबाट झुल्का पत्रिका सम्पादन थालेका अधिकारीले निरन्तर गीत, कविता, निबन्ध, मुक्तकलगायतका विधामा कलम चलाउँदै जान थाले। झूल्कापछि पाताले छाँगो (२०४७), र पाल्ही नन्दन (२०५१) पत्रिकाको यही समयमा सम्पादन गरे। यसरी अगाडि बढेका अधिकारी अन्ततः वि.सं. २०५३ देखि सक्रिय रूपमा साहित्यमा समाहित भएरै साधनामा लागे। उनले जुन्किरी (२०५३), ऐना (२०५७), तीन लय तेह्र गीत (२०६०) जस्ता कविता र गीति कृति जागिरे जीवनका दौडानमै नेपाली वाङ्मयको क्षेत्रलाई अर्पण गरेर चर्चित साहित्यकारका रूपमा आफूलाई स्थापित गराउन सफल भए। यो अवधिमा उनले साहित्यिक कृतिको प्रकाशन मात्रै होइन। विभिन्न साहित्यिक पत्रपत्रिकाको सम्पादनसमेत गरे। त्यो भन्दा महत्वपूर्ण उनले आफूलाई साहित्यिक सङ्गठकका रूपमा चिनाउन सफल भए। पोखरा बसे, गीताञ्जली साहित्य परिवारको स्थापना गरे, जुन अहिले हराभरा भएर मौलाएको छ। विभिन्न सम्मान÷पुरस्कार वितरण, मासिक साधना प्रभात जस्ता कार्यक्रम गर्दै आएको छ। जागिरको सिलसिलामा परासी पुगे, साहित्य समाज परासीको स्थापना गरे। जो अहिले क्रियाशीलताका साथ परासीमा साहित्यिक उन्नयनमा लागिरहेको छ। वीरगञ्ज पुगे, साहित्यिक संस्था नै गठन गरेर प्रभात काव्ययात्रा नामक साहित्यिक अभियान चलाए। वीरगञ्जको नाम लिने बित्तिकै अग्रपङ्क्तिमा आउने नाम बनेको छ, प्रभात काव्ययात्रा। धादिङ पुगे, धादिङ साहित्य समाजको स्थापना गराए। जुन संस्था अहिले धादिङमा उत्तिकै जोस् र जागरमा साथ क्रियाशील रहेको छ। उनको वि.सं. २०७० मा प्रकाशन भएको झटारो वीरगञ्ज र धादिङ साहित्य समाजले परिचर्चा गराएर उनको साहित्यिक साधनालाई सम्मान गरे। उनले रोपेको बिरूवाबाट आफूले पाएको अभिभावकत्व बोध गरेर फर्के पनि।
यी केही छुटाउनै नहुने नाम मात्रै हुन्। स्रष्टा अधिकारीले साहित्यिक र सामाजिक सेवामा क्रियाशील रहदै अथाह काम गरिसकेका छन्। जसमा सर्वोदय हाइस्कुल विद्यार्थी युनियनको अध्यक्ष (२०२०), लमजुङ कलेज विद्यार्थी युनियनको सभापति (२०२२), लमजुङ पुस्तकालय सञ्चालक समितिको सभापति (२०२३), लमजुङ जिल्ला युवक सङ्गठनको प्रथम उपसभापति (२०२३) भएर सफल नेतृत्वदायी भूमिका निभाए। त्यो मात्र होइन उनी पृथ्वीनारायण क्याम्पस विद्यार्थी युनियनको सदस्य (२०२४) बनेर पनि काम गरे। सोही सिलसिलामा उनले राजनीतिक मुद्दामा छ महिना जेल सजायसमेत भोग्नु परेको थियो। यसरी अगाडि बढ्दै आएका अधिकारी, कर्मचारी मिलन केन्द्र पोखराको सदस्य (२०४९), अफिसर्स क्लब नवलपरासीको अध्यक्ष (२०५०–०५२), कर्मचारी मिलन केन्द्र पर्साको अध्यक्ष (२०५३), कर्मचारी मिलन केन्द्र धादिङको अध्यक्ष (२०५४), गीताञ्जली साहित्य परिवारको संस्थापक तथा सल्लाहकार (२०५९ देखि निरन्तर), लमजुङ–पोखरा सम्पर्क समितिको अध्यक्ष (२०६१), सामीप्य समाज नेपालको अध्यक्ष (२०६२), पूर्व कर्मचारी सेवा परिषद् कास्कीको सल्लाहकार (२०६६ हालसम्म), पोखरेली युवा सांस्कृतिक परिवारको सल्लाहकार भएर साहित्यिक र सामाजिक सङ्घसंस्थामा कुशल सङ्गठकको भूमिका निर्वाह गरिसकेका र गरिसकेका छन्। सेवा निवृत्त भएपछि उनी जनमत वाङ्मय प्रतिष्ठान काभ्रे, नेपाल मुक्तक प्रतिष्ठानलगायतका साहित्यिक संस्थाको आजीवन सदस्य बनेर साहित्य साधना यात्रालाई फराकिलो बनाउँदै आएका छन्। उनको यो अतुलनिय साधनाको उच्च सम्मान पनि विभिन्न सम्मान र पुरस्कारद्वारा विभूषित गरेर भइरहेको छ। जो उल्लेख गरेर साध्य नै छैन ।
विधिको विडम्बना नै होला, आत्मसाँक्षी राखेर जसले जे जसरी काम गरे तापनि वर्तमानमा जुनसुकै क्षेत्रमा अवाञ्छनीय आचरण गरेर आफ्नो बडप्पन देखाउने प्रशस्तै देखिन थालेका छन्। आडम्बरीहरू दुषित कर्मले बिटुलिएको मन लिएर आफूलाई आचरणयुक्त देखाउँछन् तर अधिकारी कहिल्यै त्यो कोटामा परेनन् । आफ्ना मनका इच्छालाई तिलाञ्जली नै दिएर आफ्नो कर्ममा लागे तर दुराचारले कलङ्कित बनेकाहरूले कहिल्यै उनको त्यागलाई देखेनन्। त्यसैले उनले लाज नभएको तीर्थे शीर्षकमा व्यङ्ग्यात्मक कविता नै लेखे। हुन पनि हो यो समाजमा इमान र स्वाभिमानमा बाँच्नेहरूको ठाउँ हुँदैन। केही समय पहिला आपैmँले लेखेको एक मुक्तकको याद आयोः
इमान र स्वाभिमानमा बाँच्नेहरूको ठाउँ हुँदैन
भ्रष्टहरू मौलाउँदा उनीहरू ओत बस्ने गाउँ हुँदैन
घुसखोरी, बेइमानी र दुराचार मात्रै फस्टाएपछि
हेर्नुस हजुर स्वाभिमानीको कुनै कुनामा नाऊ हँुदैन।
यो पङ्क्तिकारले भोगेको अनुभवले सिर्जित सिर्जना हो। आफूले जहाँ श्रम बिक्री गर्छ त्यहाँ आफू वर्षौ वर्ष इमान्दार भएर काम गर्दा पनि योगदानको कदर हुँदैन, कनिष्ठहरू वरिष्ठ भएका छन्। उनीहरू मालिक र आफूलाई नोकर बनाएका छन्। श्रमको उचित मूल्याङ्कन कहिल्यै हुँदैन। पहिला–पहिला लाग्थ्यो, सबैलाई यस्तै त कहाँ होला ? तर आजकल लाग्छ स्वार्थी दुनियाँमा हरेक स्वाभिमानीलाई त्यस्तै रहेछ। सन्दर्भ आइहाल्यो जोड्न मन लाग्यो, साहित्यकार तथा तत्कालिन पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत तीलक पौडेल पोखराको बाटो चक्ल्याउने अभियानमा निरन्तर लागिरहेका थिए। विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले मापदण्ड मिचेर बनाएर भवनमा डोजर लगाइएको थियो। अभियान थालेको महिना दिन नहुँदै उनको गोरखा सरूवा भयो, सरूवासँग पौडेलले बाटो चक्ल्याउने नाममा सात लाख घुस आएको आरोप लाग्यो। उनले त्यो खबर सुन्नासाथ पोखरा आएर पत्रकार सम्मेलन गरेर प्रमाण देखाउन चुनौति दिए, आएको विष पो लाग्थ्यो ? सबै कुरा साम्य भयो। त्यसपछि उनले कमिसन कानुन शीर्षकको लेख लेखे। यस्तै सन्दर्भ नेपाल राष्ट्र बैंकका उपनिदर्शेक पदबाट हाल सेवा निवृत्त साहित्यकार दुर्गाबहादुर शाह बाबाको पनि छ। वरियताक्रमले बाबा भन्दा चार÷पाँच नम्बर पछाडि रहेकाहरू उनीभन्दा अगाडि उपनिर्देशक भइसके। यस्ता उदाहरणहरू देख्दा लाग्छ यो हरेक स्वाभिमानीले भोग्नै पर्ने बेइमानीहरूले बनाएको अघोषित कानुन हो। स्रष्टा अधिकारीले पनि त्यो अघोषित कानुनका कारण धेरै ठाउँमा ठक्कर खान पुगे, अधिकारीलाई आफूलाई इमान्दार बनेकोमा कहिँ पछुतो लाग्दैन तर बेमइमानहरूको चरित्र देखेर उदेक लाग्छ। उनले पाएको गोरखा दक्षिणबाहु, उनले उपसचिव भएर इमान्दारिताका साथ गरेका कार्यको सच्चा मूल्याङ्कन भएको र बेइमानीहरूले उनको जस्तो फराकिलो मन बनाएको भए उनी नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त हुने आधार तयार भइसकेका थिए। भन्न त अधिकारी सचिव नभए पनि चिन्ता छैन भन्छन् तापनि मान्छेको मन हो, सबैको चित्त हुन्छ र नै दुख्छ। वर्तमानमा उनलाई नपुग्दो केही छैन, छोराछोरी मात्र होइन, बुहारी र ज्वाइँसाब सबै डाक्टर र इञ्जिनियर मात्रै छन्। अमेरिकामा बसेर नेपालका सरकारी कर्मचारीका झैँ ज्यालादारीमा नभइकन आठ घण्टा जागिर गरेर सम्भ्रान्त परिवारको रूपमा चिनिएका छन्। यो सबै देन उनी एक कुशल सङ्गठन भएका कारण नै हुन सकेको हो भन्नेमा दुई मत राख्नु पर्ने देखिदैन।
सेवा निवृत्त भएपछि सबै सुस्ताउँछन् तर अधिकारी पूर्ण सक्रिय साधनामा लागि रहेका छन्। जन्मभूमीप्रति श्रद्धा गरेर लाखौं खर्च गरेर सिङ्गो लमजुङलाई भीसीडीमा उतारेका छन्। आफूले स्थापना गरेका सङ्घसंस्थाको स्तरोन्नतिका लागि मन खोलेर आर्थिक, भौतिक नैतिक सहयोग गरिरहेका छन्। आफूप्रति श्रद्धा भाव राख्नेहरुको सम्मान गरिरहेका छन्। साथसाथै विभिन्न कृतिहरु पनि प्रकाशन गरिरहेका छन्। जसको उपज उनका झटारो मुक्तक सङ्ग्रह (२०७०), यो कस्को हात हो ? कविता सङ्ग्रह (२०७०), लम्जुङको सम्झना भीसीडी २०७१, र झटारो अङ्ग्रेजी संस्करणको मुक्तक (२०७२) सेवा निवृत्त भएपछि नै प्रकाशित भएका कृति हुन्। अन्तमा हिजो चकको धुलो र डस्टरसँग मितेरी साइनो लगाएर अगाडि बढेका अधिकारी आज सबैका रहर लाग्दा प्रेरणाका स्रोत हुन्। उनी एउटा पाठशाला हुन् पाठशालाबाट सबैले ज्ञानगुनका कुरा सिक्न सक्छन् त्यो आफ्नो ठाउँमा छ। तर अधिकारी त्यो भन्दा धेरै एक कुशल साहित्यिक सङ्गठन नै हुन्। यस्ता सङ्गठक अधिकारी जस्ता औलामै गन्न मिल्ने भए पनि साहित्य सङ्गठकहरूको जन्म होस् यही कामना, अस्तु।
प्रस्तुत लेख, २०७२ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन स्रष्टा अधिकारीको झटारो अंग्रेजी संस्करणको मुक्तक कृति परिचर्चा कार्यक्रममा पङ्क्तिकारद्वारा प्रस्तुत गरिएको स्रष्टा परिचयको सारसङ्क्षेप हो।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 पौष, 2072

लेखकका अन्य रचनाहरु