डायोस्पोरिक साहित्यकार कृष्ण बजगाईंसँग साहित्यिक कुराकानी

- विनयकुमार शर्मा नेपाल

डायोस्पोरिक साहित्यकार कृष्ण बजगाईंसँग विनय कुमार शर्माले गर्नु भएको साहित्यिक कुराकानी ।
१. आजकल के लेख्दै हुनुहुन्छ?
निकै वर्षदेखि थाँति रहेको नियात्रा संग्रहको अन्तिम चरणमा छु । केही नयाँ नियात्रा लेखनको टुंग्याउन आँटेको छु ।

२. अनि कति भयो नि विदेश छिरेको ?
विदेशको बसाई पन्ध्र वर्ष भन्दा बढी भयो ।

३. कहाँ कहाँ कति बस्नुभो र के के साहित्यिक गतिविधि सञ्चालन गर्नु भो ?
सर्वप्रथम म बेल्जियम पुगेँ । करिब बाह्र वर्षको बेल्जियम बसाई पछि बेलायतलाई स्थायी मुकाम बनाएको छु । बेलायत आएको पनि झण्डै चार वर्ष पो हुन लाग्यो ।
बेल्जियममा हुँदा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना गरेर अध्यक्षको हैसियतले विदेशमा नेपाली साहित्यको प्रचारप्रसार गर्ने कामबाट थालनी भयो । नेपालबाट आएका र त्यहीँ जन्मेका नेपालीका सन्तानलाई नेपाली भाषा साहित्यसँग जोड्ने काम सुरुवात गरियो । साहित्यिक कृयाकलापलाई अगाडि बढाउने क्रममा विभिन्न साहित्यिक गोष्ठी, भानुजयन्ती, देवकोटा जयन्ती, मोति जयन्ती मनाउने र साहित्यिक पत्रिकाको प्रकाशन जस्ता कार्य गरियो । चिनजान नभएको विदेशी भूमिमा साहित्यिक प्रतिभाको खोजी गरी बाहिर ल्याउने कठिन काम गरियो ।
अर्को सबै भन्दा महत्वपूर्ण काम भनेको बेल्जियमका दश जना नेपाली भाषि कवि र बेल्जियमका दश जना डच भाषि कविका एक एक वटा कविताको संयुक्त संग्रह मेरो संयोजनमा नेपाली, अंग्रेजी र डच भाषामा प्रकाशन गरियो । यसरी तीनवटा भाषामा नेपाली साहित्य प्रकाशन भएको पहिलो पटक हो । त्यो ऐतिहासिक कार्य नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको एउटा सानो खुट्किलो थियो ।
आज भन्दा नौं वर्ष अघि बेल्जियमबाटै नेपाली र अंग्रेजी भाषामा समकालीनसाहित्य डट कम(www.samakalinsahitya.com) नामक विशुद्ध नेपाली साहित्यको वेभ पत्रिका संचालनमा ल्याएको थिएँ । जो अहिलेसम्म लोकप्रियताको शिखरमा छ । र निरन्तर पनि छ ।
बेलायत आएपछि भने साहित्यिक गतिविधिमा सामान्य सहभागिता जनाउने गरेको छु । प्रकाशनको लागि थाँति रहेका आफ्नै कृतिको अन्तिम तयारीमा ध्यान दिनु परेको र समकालीन साहित्य प्रतिष्ठानमा समय ब्यतित गर्नु परेकोले फुर्सद निकाल्न अलिक गाह्रो छ । ४. तपाईंले कुनकुनविधाको के के पुस्तक लेख्नु भो ?
मैले लघुकथाका दुइ, कथाको एक, हाइकुको एक र स्रष्टासँगको डिजिटल अन्र्तवार्ताको एक गरि जम्मा पाँचवटा पुस्तक पाठक समक्ष ल्याउन सकेको छु ।

५. तपाईंलाई नेपाली साहित्यका पाठकले के भनेर चिन्ने ?
एउटै विधामा केन्द्रित भएर लेखेको भए भन्न सजिलो हुन्थ्यो । विभिन्न विधामा कलम चलाउने भएकोले नेपाली साहित्यको एउटा मामुली लेखक, गम्भिर पाठक, डायोस्पोरिक नेपाली साहित्यको कलमकर्मी जे जे भनेर चिने पनि हुन्छ ।

६. कथाकस्तो हुनु पर्छ जस्तो लाग्छ?
कथा एउटा जीवन जस्तो पूर्ण हुनु पर्दछ । पूर्ण यस अर्थमा जीवनको अस्तित्व हुनलाई जे जे हुनु पर्दछ त्यसरी नै कथामा सबै तत्व हुनु पर्दछ । जसले पाठकको मानसपटलमा एउटा चित्र छाडेर जाओस् ।

७. कथा र लघुकथाको वास्तविक लम्बाइ कस्तो हुनु पर्ने हो तपाईंको दृष्टिमा?
लघुकथा र कथाको लम्बाई भन्दा पनि त्यसको स्वरुप र कथा तत्व खोज्नु पर्ने हुन्छ । तर यसो भनि रहँदा तिनका सिमालाई पनि मनन गर्नु पर्ने हुन्छ । मेरो विचारमा लघुकथा तीनसय शब्दसम्मको ठीक हुन्छ भने कथा एकहजार शब्द भन्दा माथिको भयो भने पूर्ण कथा बन्छ ।

८. डायस्पोरिक साहित्यको हालतकस्तो देख्नुहुन्छ र यसलाई अब के गर्नु पर्ने खाँचो छ ?
केही वर्ष यता डायोस्पोरिक साहित्यको बारेमा चर्चा परिचर्चा हुन थालेको छ । विदेशमा बसेर लेखिएको साहित्यको बारेमा बेग्लै अध्ययन गर्नु पर्ने सोंचेर होला त्रिविविले पनि पाठ्क्रममा डायोस्पोरिक साहित्यलाई समावेश गरेको छ । यो सुखद पक्ष हो । तर यतिले मात्र पुग्दैन । डायोस्पोरिक साहित्य मूलधारको साहित्य भन्दा बेग्लै स्वाद र शैलिको हुन्छ । विदेशी शब्द नेपाली साहित्यको लागि ग्राह्य हुँदै छन ।
विदेशबाट नेपाली साहित्य भण्डारमा बर्षेनी दर्जनौं कृति थपिदै छन । त्यसको मुख्य बजार भनेको नै नेपाल भएकोले त्यसलाई प्रोत्साहान र बजारीकरण आवश्यकता छ । अर्को कुरा के लाई डायोस्पोरिक साहित्य भन्ने केलाई नभन्ने बारेमा स्पष्ट कुनै रेखांकन छैन । विदेशमा बसेर लेखिएका सबै डायोस्पोरिक साहित्य हुदैन । अतः यस्ता भ्रम र विवादबाट मुक्त हुन त्रिविवि, प्रज्ञा र विदेशमा नेपाली भाषा साहित्यमा काम गरिरहेका संस्थाहरुले बृहत छलफल गरि एउटा सिमा तोक्नु पर्ने अहिलको खाँचो हो ।

९.आजकल नियात्राका नाममा छ्यासछ्स्ती वर्णनात्मक यात्रा लेखन आएकाछन् नि ! के भन्नुहुन्छ त्यस्ता नियात्राकारलाई ? ...जो पनि विदेश जाने र जसले पनि वर्णन मात्र लेखिदिने ?
मलाई पनि आश्चर्य लागेको छ कसरी चारपाँच दिनको विदेश भ्रमणमा मानिसहरु नियात्रा नाम दिएर मोटामोटा पुस्तक लेख्छन ? म आफू पनि आज भन्दा एक्काईस बर्ष अघि लामो विदेश भ्रमणमा समय बिताएको थिएँ । विगत पन्ध्र वर्ष भन्दा बढी भयो विदेशमै बसी रहेको छु । फुटकर नियात्रा लेखन बाहेक नियात्राको पुस्तक निकाल्न सकेको छैन । हो त्यही तपाईले भने जस्तै आरोप लाग्ला भन्ने डर छ मलाई पनि ।
विदेशको बर्णनात्मक लेखलाई यात्रा वर्णन वा यात्रा संस्मरण सम्म भन्न सकिएला । नियात्रा त भनि हाल्न नहुने हो । जसले लेखे उनै जानून । त्यस्ता पुस्तकलाई नियात्राको ठप्पा लगाएर भूमिका मार्फत वा पत्रपत्रिका लेख्ने समालोचक वा टिप्पणीकार नै जानून । यस्तो गम्भिर विषयमा किन खेलबाड गरिन्छ मलाई पनि आश्चर्य लागेको छ । यस्तै हल्काफुल्का वर्णन, चाकरीयुक्त समालोचना र भूमिकाले नेपाली नियात्रा साहित्यलाई पछाडी पारेको हो ।

१०.तपाईंको कथा संग्रह कमरेड भाउजूको निक्कै समाचार र टिप्पण्ी पत्रपत्रिकामा आयो नि !विदेशमा बसेर पनि नेपाल माथि निक्कै पकड छ नि ! यो कसरी भयो ? कि अर्के खेल छ प्रचारको ?
त्यस्तो खेलसेल वा पक्कड केही छैन । म विदेश आएर लेखक भएको हैन । नेपालमा हुँदा पनि साहित्य लेखनमा थिएँ । साहित्यिक संगठकको रुपमा काम गरेको थिएँ । यता आएपछि पनि लेखन, सम्पादन र साहित्यिक संगठनमा निरन्तरता दिए । नेपाल भन्दा बाहिर भए पनि म नेपाली साहित्य भन्दा बाहिर छैन । प्रवाशको कठिन र ब्यस्त समयमा सिर्जिएको मेरो सिर्जनालाई पाठकहरुले मन पराउनु भएको छ । मेरो कामलाई संसारभरबाट प्रोत्साहन गरिएको छ । तन विदेशमा भए पनि मन स्वदेशमा भएको म जस्तो साहित्यप्रेमीलाई सबै क्षेत्रबाट हौसला प्रदान गरिएको हो । त्यसैको प्रतिफल हो मेरो नविनतम कथा संग्रह कमरेड भाउजुको चर्चा परिचर्चाको कुरा ।

११. साहित्यमा लाग्नुको कारण प्रेरणा स्रोत पनि छन् कि?अलिकति अतितमा जाऊँ न !
सानैदेखि साहित्यमा रुची थियो । पाँच छ कक्षामा पढदा देखिनै कविता आदि विधामा पुरस्कृत हुँदै जाँदा हौसला प्रदान भयो । साहित्यमा रुचि बढ्यो । आठ कक्षामा पुगेपछि रुसी र चिनियाँ साहित्य लुकीछिपी पढ्न थालेपछि साहित्य प्रति अलिक बढी झुकाव हुँदै गयो । त्यसैको निरन्तरता हो अहिलेको मेरो साहित्यिक यात्रा ।

१२. अबको नेपाली साहित्य कस्तो हुनु पर्छ जस्तो लाग्छ तपाईंलाई?
साहित्यले जहिले पनि समाजलाई दिशा निर्देश गर्नु पर्दछ । सस्तो मनोरञ्जन खालका र नारावादी साहित्यको कुनै अर्थ हुन्न । विचार बोकेको साहित्य आउनु पर्दछ । जो समाज उपयोगी होस । अहिले बदलिदो परिवेश अनुसारको आम मानिसको साहित्य लेखिनु पर्दछ ।

१३. नेपाली साहित्यमा लागेर सन्तुष्ट हुनुहुन्छ ?
कुनै स्वार्थ बेगर साहित्यमा लागेको हुँ । कुनै दौड जित्नु छैन । कुनै पुरस्कार, सम्मान वा खास्टो खोज्नु छैन । बस आफूले लेखेका कुरा अलिकति भए पनि समाज उपयोगी भए सन्तुष्ट लाग्दछ । त्यस अर्थमा धेरथोर सन्तुष्टी प्राप्त भएको छ । म खुशी छु ।

१४.जीवनलाई हेर्ने तपाईंको दृष्टिकोण चाहिँ के हो नि?
सृष्टिको अनुपम सिर्जना जीवन हो । जीवन हुनलाई जिउँदो हुनु पर्दछ । जिउँदो हुनु भनेको असल काम र विचारले युगयुग बाँच्नु हो । त्यसरी बाँच्नलाई कला चाहिन्छ । हो त्यो कला असल मानव जीवनमा मात्र हुन्छ ।

१५. अरू केहीछन् कि नेपाली साहित्यकाबारेमा भन्न मन लागेका कुरा ?
साहित्यले मानव जातिलाई जोड्छ, टुक्राउँदैन । मानव जातिलाई प्रेम गर्ने र जीवनमा प्राण दिने साहित्य सिर्जना गरौं ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु