म दिदीका महलमा वास बसिन

- पुण्य खरेल

हाम्रो गाडीले दिनको दुई बजे नै जिल्ला छोड्यो । शिक्षक नै शिक्षक बिचमा मेरो मिलनसार श्रीमान पनि शिक्षक जस्तै भएर बस्नु भएको छ । गाडी हानेको तिर भएर हान्नियो । नयाँ र राम्रो बाटो भेटेपछि त झन् गाडीको गतिले सबैलाई आनन्दित तुल्यायो । ठाउँठाउँमा उपस्थित भएका शिक्षक साथीहरूले निधारमा अविरका टीका लगाएर शुभकामना साथ विदाइ गर्नुभएको थियो । निधारको रातो टीकामा म सबै साथीहरूलाई सिकन्दर जस्ता, नेपोलियन जस्ता, लक्ष्मीबाई जस्ता, पासाङ ल्हामू सेर्पा जस्ता देखिरहेकी थिएँ । त्यस्सै म हाम्रो आन्दोलनको बिफलता बिर्सिरहेकी थिएँ । मलाई प्रहरी सेनासँगको भिडन्तको पर्वाह हराइरहेको थियो । म यो सरकारलाई कच्चा खेलाडी र आफूहरू जवाँमर्द, बहादुर सम्झिरहेकी थिएँ ।
हामी हाम्रो जिल्लाबाट आन्दोलनको वर्षात् बोकेर दुई गाडी शिक्षकहरू काठमाडौं भित्रिँदै थियौं । हाम्रा गाडीहरू उज्याला उज्याला ब्यानरसँग अघि र पछि गर्दै उछिन पाछिन गर्दै हाम्रो प्यारो झण्डा हावामा फररर फहराएर दिग्विजयी सेना झंै पृथ्वी राजमार्गमा दौडेको दृश्यले सबै दर्शकको मन लोभ्याउँथ्यो । लालपातीमय भएको यस क्षेत्रमा सम्पूर्ण जसो मानिसहरू तरर तरर तालीले हामीलाई झन् जोस्याउँथे । म गाडीभित्रका हाम्रा साथीहरूको निधारको अविरको टीकाबाट त्यो जोस नाप्थेँ । अहा ! वातावरण यस्तो बनेको थियो, दुनियाँबाट अब कायरहरू लोप भएका छन्, शब्दकोषबाट डर र डरछेरुवा झिकिएको छ । हिम्मत, आँट, जोस र सफलताको संसारमा शब्दकोष पनि त्यही अनुकूल बनेको छ र साथीहरू सब त्यसैको पर्याय बनेका छन् ।
बिहान सूर्यले काठमाडौंका गगनचुम्बी महलसँग पहिलो चुस्का प्रेम गर्न नपाउँदै त्यसलाई अवरोध गर्न हुन्हुनाएर हाम्रो गाडी गोङ्गबु पुग्यो । बसपार्क भित्र छिरेन हाम्रो बस । सायद त्यस नयाँ बसपार्कमा हाम्रो आन्दोलनका सेना अटाउने ठाउँ, किल्ला थिएन । चव्रmपथै चव्रmपथ दौडेको हाम्रो बस पशुपति गौशाला पुगेर रोकियो । साथीहरू ओर्लिनुभयो । मेरो श्रीमान ओर्लिनु भयो । म पनि ओर्लिएँ । रातो टीकामा शिक्षकहरूका माझमा मेरो श्रीमान शिक्षकै जस्तो देखिनुभयो । एक रातको सामिप्यताले शिक्षक र किसान एकाकार भएको बोध मलाई भयो । बाहिरीया कसैले पनि उहाँलाई गैरशिक्षक सम्झन सकेन । सायद उहाँ एक जना मात्र गैरशिक्षक भएर सम्पूर्ण शिक्षकमा रयालिँदा यस्तो भएको होला ।
साँझमा वास बस्ने कुरा भने मेरो प्रिय कुरा परेन । साथीहरू सबै गौशाला धर्मशालामा बस्नुभएको थियो । म र मेरो श्रीमान रातै पिच्छे अलग अलग आफन्तकहाँ पाउना लाग्थ्यौं । हामीलाई दाँतमा ढुङ्गा वास बसेपछि लाग्ने गथ्र्यो । हामीले सोचेको काठमाडौं र साँच्चैको काठमाडौंमा, हाम्रा काठमाडौंवासी पाहुना वारे हामीले सोचेको कुरा र यथार्थमा आकास र पतालको फरक रहेछ । हामीले त काठमाडौंका प्रत्येक रुखका पातले हाम्रो झण्डा फहराएका ठानेका थियौं, प्रत्येक सडक हाम्रै जुलुस बोकिरहेका बुझेका थियौं । तर काठमाडौं त मस्त निन्द्रामा निदाएको हाम्रो गाउँले किसानभन्दा फरक रहेन छ । काठमाडौंको सडकको व्यस्तता र लेउती खोलाको तिरमा ढाकर र तोक्माहरूको चहलपहलमा खास भिन्नता रहेन छ । हामीले वास बसेका घरहुँदी हाम्रो आन्दोलनको छेउ छन्दै थाहा नभएकोबाट आश्चर्य बोध ग¥यौं ।
आज तेस्रो दिन हो । पहिलो र दोस्रो रातका वास बसाइहरूले काठमाडौंलाई अवमूल्यन गरे । आजको वास बस्न श्रीमानलाई दिदीका घरतिर लग्ने कुरा म सोच्तैछु– “मेरी दिदी काठमाडौं बानेश्वरमा चार तले महल बनाएर बसेकी छिन्, सम्पन्न छिन्” भनेर उहाँसँग कति चोटी गफ पनि लडाएकी थिएँ ।
‘आज दिदीका घरतिर रात बस्ने प्रस्ताव राखौं र त्यता जाऔं या के गरौं ? कि आजदेखि हामी पनि गौशाला नै जाऔं ?’ म गम खाँदै थिएँ ।
‘जे भए पनि दिदीका घरमा निस्कन त पर्छ पर्छ, निस्केपछि खाना खानु पर्छ, एक रात वास बस्नु पर्छ’ यस्ता कुरा त छँदै थिए । तर फराक ठाउँमा बसेका साँघुरा मानिसहरूसँग साँघुरा ठाउँमा बसेका फराक मानिसको भेट कस्तो होला ? म सोचिरहेकी थिएँ । आजको आन्दोलन भोलि ३ बजे भद्रकालीमा बिरोधसभामा भेला हुने कार्यव्रmम राखेर बिसिएको थियो । मेरो श्रीमान शिक्षक साथीहरूको समुद्रबाट निस्किएर मेरो समिप आउनुभयो । साथीहरू आलोपालो विदावादी हुँदै थियौं । कति साथीहरू बसपार्कतिर लाग्दै हुनुहुन्थ्यो गौशाला जाने बस चढ्न । कति साथीहरूले एघार नम्बर चलाउनुभयो गौशाला तिरै ।
मैले उहाँसँग खुसुक्क प्रस्ताव राखेँ– “जाउँ आज बानेश्वर !”
“के त्यही दुर्मुखाकहाँ ?” उहाँले नकारात्मक प्रतिप्रश्न गर्नुभयो ।
दिदीभिनाजुको नकारात्मक स्वभावप्रति उहाँ परिचित हुनुभएको कुरा मलाई थाहा थियो । तथापि सहोदर दिदीको पिँढीमा आइपुगेर ननिस्कीकन जान पनि अनुचित हुन्थ्यो । “जाऊँ !” भनेर कर गर्न पनि मलाई गारो महसुस भैरहेको थियो । दिदीले मलाई मन नपराउने कुरा पनि उहाँलाई थाहा छ । म अलिक सामाजिक बन्न चाहने मान्छे हुँ । शिक्षणको सुरुकालदेखि नै मेरो अभिमानको विरुद्ध सरकारी घँगारु लठ्ठी जति उजाइयो त्योभन्दा कम खप्की मैले दिदीका खाइन । दिदीको अर्ति उपदेश– ‘मैले आफू बनिनू र आफूलाई बनाउनू’ भन्ने मात्र थियो । “चाकरी र चाप्लुसी सडकमा गरिने कुरा होइन, कोठाभित्र गरिने कुरा हो । कोठाभित्रको कुरा, पर्दाभित्रको कुरा कसले देख्छ ? पर्दाभित्र जे जे गरेर भए पनि जागिर बढाउने कुरामा, घर बनाउने कुरामा लाग्नु पर्छ । हाकिमले जे जे माग्छ आफूले दिने र हाकिमबाट आफूले जे जे माग्ने हो त्यो त्यो मागेर लिनु पर्छ” दिदीको यस्तो सुत्र थियो ।
एउटै उदरबाट जन्मेर पनि दिदी र म कसरी दक्षिणी ध्रुव र उत्तरी ध्रुव भयौं ? म अनुमान नै गर्न सक्तिन । तर उहाँले उहाँ जस्तै श्रीमान पाउनुभयो र मैले पनि लगभग म जस्तै श्रीमान पाएँ । यस कुरामा भने मैले आफूलाई दुखी ठानेकी छैन । मेरो अभिमानलाई धेरै अरु श्रीमानहरूले झैं मेरो श्रीमानले चोर औंलो उठाउनुभएन, बरु समर्थनको हात उठाउनुभयो समय समयमा । यसपालाको यो आन्दोलनमा पनि डडेल्नोमा एक हातको नीलो लठ्ठी बोक्नुभएको छ प्रजातान्त्रिक सरकारको प्रसाद । म लज्जित छु । यो बेलामा दिदीको घरमा गएर अपमानका कुरा आए कतै भने बिस्फोट त हुँदैन ? म त्रसित छु । मलाई मेरी दिदीका घरको वास कस्तो हुन्छ बडो शङ्का पनि छ । तथापि बिना उपलब्धीको जोखिम उठाउने पक्षमा म पुगेँ । साँझ खस्न लागेको थियो सडकहरूमा । सडक किनारामा बाघका जस्ता बत्ती बल्न थालेका थिए । आकास असारको गरुङ्गो भारी बोकेर चौतारी खोजे झैं गर्दै थियो । चौतारी न सौतारी छताछुल्ल पोख्न कुनै वेर थिएन ।
कुनै खास औपचारिक सहमती बिना साथीहरूसँग अलग्गिएर मेरो श्रीमान र म पुरानो बसपार्कतिर लस्कियौं । धेरै साथीहरू त्यतैतिर खुट्टा बढाउँदै रहेछन् । बसपार्कको मुखैमा “ए चाबहिल ! चाबहिल !! ... गौशाला ! ... तीनकुने ...” इत्यादि आवाज गर्दै एउटा बस आधा यात्रु बोकेर निस्कियो । म त्यस बसको ढोकातिर बढेको देखेर मेरो श्रीमानले मलाई पछ्याउनु भयो । मन्दगतिको बसमा हामी दुबै जना चढ्यौं । बसभित्र दर्जनौं साथीहरू आजको आन्दोलनको समीक्षा गर्दै हुनुहुन्थ्यो । मेरो मन आन्दोलनमा रमाउन चाहन्थ्यो तर भर्खरै दिदी भिनाजुको घरतिर जाने कल्पनाको पिन्जडाले अलिकति बन्दी बनाएको थियो । म साथीहरूको समीक्षामा राम्ररी सहभागी बन्न नै नपाउँदै बस बानेश्वर आइपुग्यो । बस रोकियो । हामी ओर्लियौं ।
दिदीको पिँढीमा पुगेर हामीले ‘कलबेल’को स्वीच थिच्यौं । यो भव्य महलले मेरो शरीरको आयतनलाई लिलिपुट बनायो । मैले मेरो श्रीमानलाई हेरेँ । लिलिपुटको श्रीमान लिलिपुट नै देखिनुभयो उहाँ पनि । मैले त्यस्सै किन सन्तुलन थाम्नु पर्ने भयो । ‘आज के अनिष्ट हुने हो !’ म त्रसित भएँ । “निस्कौं ! जाऔं गौशालातिरै ! भेडा भेडै सँग, हात्ती हात्तीकै सँग !” भनुँ झैं लाग्यो । तैपनि हातले त्यो स्वीच थिच्न दोहो¥याएँ, तेह¥याएँ ।
एउटी केटीले गेट खोली र सोधी– “कसलाई खोजेको ?”
“अस्मिता ! ... चैतन्य !...हुनुहुन्छ ?” मैले सोधेँ । चैतन्य भिनाजुको नाम हो ।
“के काम छ ?” उसले सोधी ।
“म उनकी बहिनी हुँ !” भन्न मलाई मन लागेन । नौनी घिऊको डल्लोजस्ती स्वास्नीमान्छेकी बहिनी मरिचको दानो जस्ती हुन्छे भनेर पत्याउने ताकत त्यस केटीमा के होला र ? मैले ठानेँ । तर पनि मैले भनेँ– “अस्मितालाई भेट्नु पर्ने छ ।”
“म पठाइदी हाल्छु !” ऊ सरासर सिँडी उक्ली ।
हामी उभिईरह्यौं । मेरो श्रीमान र म, म र मेरो श्रीमान हेराहेर ग¥यौं । यो पर्खाइको समयले हामीलाई धेरै पगाल्यो । दिक्कतका केही रेखाहरू श्रीमानका निधार, गाला, आँखा कताकति देखिए । यस्तैमा चप्पलको प्याट् प्याट् आवाजसँग एउटी सुक्सुकाउँदी, ढकमक्क गुलाफ फव्रmे जस्ती महिला देखापरिन् ।
“ठुली दिदी !” मेरो मुखले मसिनो आवाज फुस्कायो । उहाँले आँखा खुम्च्याउनुभयो, मानौं चिन्नुभएन तर एकै छिनमा चिन्नुभयो– “ए ! सानीकान्छी ? ... उहाँ को हो ?... कि ?” शब्द थाम्नुभयो, त्यही बेला मैले पुरा गरिदिएँ– “ज्वाइँ !”
“ए ! जाउँ माथि !” दिदी अघि लाग्नुभयो । हामी पछि लाग्यौं । कोठामा प्रवेश गर्दा लाग्यो हामी ठुलीदिदीका घरमा होइन कुनै राजा, बादशाहका कोठामा प्रवेश गरेका छौं । वर्णन नगरौं किन भने कोठाका हरेक चीजबिजले हामीलाई होच्याइ रहेथे ।
“अनि कहिले आएकी थिइस् त हँ ? कि आजै आउँदै गरेकी ?” दिदीले खरो स्वरमा सोध्नुभयो ।
“आज चार–पाँच दिन भयो । हामी शिक्षकहरूको आन्दोलन छ नि त !” मैले भनेँ ।
“ए ! त्यसैमा तँ पनि गोहोरिएकी ? टीभीमा हेरेकी थिएँ । बामेको यो उचालीपुइँयाँले तँलाई कहिल्यै छाडेन । बिगारेरै छाड्यो । बामे भनेपछि जात पनि अनौठैको रहेछ । घरबार, छोराछोरी केही मतलब छैन । तैंले कहिल्यै सुख नपाउने परिस् ! पहिला पहिला त उमेर पनि त्यस्तै उत्ताउलो थियो लौ । अब त बुढी भइस् त !” दिदी एकोहोरो फलाक्न थाल्नुभयो ।
“हुटेल कस्तो चल्दैछ दिदी ?” कुराको प्रसङ्ग बदल्न मैले सोधेँ ।
“राम्रै छ । पचास हजार जस्तो हुन्छ अचेल चाहिँ ... बर्खा लाग्यो ! ‘सिजन’ छैन नि ! सिजनमा त एक–डेढ जस्तो हुन्छ ! ” दिदीले भन्नुभयो ।
“कविता नि ? फुपूकी छोरी ? यहीँ तपाईंकैमा छे भन्ने सुनेकी थेँ !”
“हुटेलमा सघाउँछे । अहिले आएकी छे । भान्साकोठामा होली !”
“हामी आएको थाहा पाइन ?” मैले सोधेँ ।
“थाहा त पाई होला ! तर त्यो पहिला जस्ती पुखली कहाँ छे र ? अचेल त एक डौलकी, अनौठी पो भएकी छे त ! कसैसँग बोल्दिन !” दिदीले भन्नुभयो ।
दिदी र मेरा बिच एक छिन कुराकानी भए । मेरो श्रीमान चुपचाप बसिरहनुभयो । हामीलाई खाना खान पानी आयो । हामी भान्सा कोठामा प्रवेश ग¥यौं । त्यो पहिलेकी केटीले खाना पस्की दिई । मैले कविताको खोजी गरेँ ।
“कविता अर्को कोठामा लुकेकी छे !” त्यो केटीले भनी ।
“किन लुकेकी ?” मैले सोधेँ ।
“लाज हुन्छ अरे !” उसले भनी । मैले उसलाई बोलाउन अराएँ ।
कविता आई । बाइस् पच्चिस वर्षकी कविता, अनुहार भरि पोतो र दुब्ली पातली देखेर म तिन छक्क परेँ । उसका आँखाबाट आँसुका बलिन्द्र धारा झरिरहेका थिए । मेरो हातको गाँस रोकियो । देब्रे हातले उसको केस पन्साउँदै उसका आँसु पुसिदिएँ । ऊ झन्झन् सारो रोई । मैले खाना साना छोडेँ । चुठेर उसलाई लिएर अघिको कोठामा आएँ । दिदी भिनाजु अघि खाना खाएर टिभीमा हुनुहुन्थ्यो । मैले कवितालाई फकाउँदै सोधेँ । मेरो श्रीमान पनि चुठेर तौलीयामा हात गुट्मुट्याउँदै आएर एकातिर बस्नुभयो । बिस्तारै बिस्तारै कविताले सत्यकथा सुनाई । उसले जे सुनाई त्यसले मेरोभित्र ज्वालामुखी उठ्यो । मभित्र डढेलो लाग्यो, आँधी आयो, बाढी चल्यो, जे नुहुनु थियो भयो । मसँग क्षमता भए म यस महलका एकएक ईंटालाई ढुटोपिठो पार्थेँ !
मलाई यो घरमा खाएको भात औंलो घाँटीसम्म हालेर भएपनि निकालौं, छादौं जस्तो लाग्यो । मैले श्रीमानलाई अनुरोध गरेँ, “जाऊँ ! यहाँ नबसौं !”
हामीले झोला भि¥यौं । हाम्रो चाला देखेर त्यो भान्से केटीले अस्मितालाई खबर गरी । भिनाजु आएन । दिदी उठेर आई ।
“कहाँ हिड्न आँटेका तिमीहरू ? म त यो के ‘सिरियल’ अरे ? सारै राम्रो र’छ, त्यता पो लागेँ । बिस्तरा बनाउन कवितालाई भनेकी थिएँ ।”
“भैगो ! मलाई पुग्यो ! म दिदीका महलमा आएकी ! म कविताको रगतमा पौडी खेल्न, फुपू र सानीमाका छोरीहरूको सतीत्वको मूल्यमा मासु र भात खान आएकी होइन । मलाई बामेको खराब सङ्गतले होला, यो सबैकुरा पच्न सकेन । कविताको अनुहारको यो पोतोले यो महलको सम्पूर्ण कैरन ल्यायो । म बस्तिन । म हिँडेँ ! ...”
“होइन तँ ? ....के बहादुरी देखाउन आएकी ? तँ नचिनेकी बज्यू होस् ? मुखमा जे आयो त्यही बोलेर ... खोजेको के हो तैंले ?” दिदी के के भन्दै थिइन् ।
“मैले झुमाको, रामप्यारीको तिम्रा अगाडि उभिएकी मूर्तिजस्ती कविताको इज्जत खोजेको ! यिनीहरूले आफ्नो इज्जतको पोतोले अनुहार पोतेर यस महलको तला थपिदिएका होलान् ! होइन ? दिदीबहिनीको पसल थापेर महल बनाएकोमा ठुलो बहादुरी ठानेकी हौली !”
“धेरै बकबक नगर् ! कर लगाएर कसैलाई मैले ल्याएकी होइन यहाँ ! आफैं आएका हुन्, खान दिएँ ! लाउन दिएँ ! मिठो मिठो खान दिएको, राम्रो राम्रो लाउन दिएको बदला तँ चुकाउँदै छेस् ! ... चुप लाग् ! झगडा नगर् ! झगडा गरेर छिमेकका सामू जात्रा नगर् ! सुत् आनन्दले ! ... सोखले ! ...”
“मिठो मिठो खान र राम्रो राम्रो लाउन बम्बैको कोठीमा पनि दिन्छन् अरे ! इज्जतको मूल्य खान र लाउनमा साँट्न सकिन्न !”
“किन धेर कराइ राख्या ? भै गो !” मेरो श्रीमानले वाक्य फुटाउनुभयो, “अहिले झगडा गरेर के प्राप्त हुन्छ ? चुप लागेर बस्नू ! कि बाटा लाग्नू ! कसले कसलाई सम्झाउन सक्छ यो स्वार्थी दुनियाँमा ?” उहाँ झोला हातमा झुन्ड्याएर ढोकातिर लम्किनुभयो । उहाँका ओठ अझै चल्दै थिए ।
ज्वाइँ जान लागेको जस्तो अवस्थामा अस्मिताले कुनै प्रतिवाद गरिन । रोक्ने कुनै प्रयत्न गरिन । कविता हाम्रो झगडाबाट डराएर भित्रको कोठातिर पसेकी थिई । अस्मिता उभीरही । म अलिक आवेशका कुराहरू– “तिमी जीवनभर मलाई सरापेर महलमा सुखले बस ! म यो सभ्यताको विरुद्धको जेहादमा आजीवन लडिरहन्छु । आफ्नो नाम चाहिँ अस्मिता ...” म निस्किएँ । मेरो श्रीमान पनि निस्कनु भयो । हामी निर्जन सडकमा पाइला राख्तै तिनकुने, गैरीगाउँ, एयरपोर्ट, तीलगङ्गा हुँदै गौशाला पुग्यौं ।
गौशालाको ढोका बन्द भैसकेको रहेछ । धेरै प्रयत्न र हाम्रो पुरा विवरण पश्चात् पालेले ढोका खोल्यो ।
भित्र कति साथीहरू गफमै मस्त हुनुहुन्थ्यो । हिजोको, आजको झडपका घाइते भएका साथीहरूको अनुहारमा समेत कुनै क्लेश थिएन । मेरो मनलाई भने बानेश्वरको त्यस रक्तरन्जित महलले कैदी बनाएकै थियो । बानेश्वरदेखि गौशाला बिच त्यस कालोपत्रे सडकलाई कतिपल्ट मैले जोडजोडले लात्तीले किचेँ । कति ओठ टोकेँ । कति मुक्का हावामा हानेँ । मानौं म बिक्षिप्त भएँ । कविताको त्यो सत्य रूप मैले सुनेका सानीमाका छोरीहरू झुमा र च्याखुरीको, मामाका छोरीहरू रामप्यारी र जसमायाको साक्षी थियो । दर्जनौं दिदीबहिनीको पसल थापेर त्यसले घर बनाई । कविताको शरीर बेचेर त्यसले तलो थपी । मामाहरू, सानीमाहरू, ठुलीआमाहरू, माइज्यूहरू त्यही अस्मिताको प्रशंसाको भजन गाउँछन् । “थुक्क यी मामामाइज्यूहरू ! थुक्क यी ठुलीआमा सानीमाहरू !” आवेशमा आएँछु म । उठेर बरण्डाबाट एक पित्को थुक थुकेर म मनलाई आन्दोलनतिर फर्काउँदै साथीहरूबिच थचक्क बसेँ ।
रातको ढल्कँदो अवस्थालाई सङ्केत गर्दै एक शिक्षक साथीले मलाई शिक्षिकाहरू बस्ने कोठामा पु¥याउनुभयो । मेरो श्रीमान् त्यहीँ शिक्षकसाथीहरू बिचमा बङ्गालको खाडीमा गङ्गा मिसिए झैं मिसिनुभयो । शिक्षिका साथीहरू समेत आन्दोलनको रापले राँकिएकै हुनुहुँदो रहेछ । अहिलेसम्म पुलिसको दमन, धरपकड, लाठीचार्ज हराएको सिव्रmीको कुरा, च्यातिएका लुगाका कुराहरू उहाँहरूका मुखमुखमा थिए । म आज दोहोरो आव्रmोसमा थिएँ । मैले आफ्नो मुढो साथीहरूबिच ढालेर आँखा चिम्लिन प्रयत्न गरेँ, तर आँखा भौतिक रूपमा चिम्लिएका देखिन्थे मात्र ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु