देशभक्तिले ओतप्रोत मधु र गजल

- प्रा. डा. कपिल लामिछाने

समकालीन नेपाली गजलको परम्परामा मधु पोखरेल (२०१०) एक सशक्त हस्ताक्षर भएर उभिएका छन् । उनी हरेक जस्तो काव्य गोष्ठीमा गजल गुनगुनाउँदै पुगेका हुन्छन् । पूर्वबाट उदाएर उनी ताली बजाउँदै–ताली खाँदै पश्चिमसम्म फैलिएका छन् । उनलाई यसरी फैलाउने उनकै गजल हुन् । यस्ता गजल पहिले तिमी आइनौ (२०६७) गजल सङ्ग्रहमा छापिए भने अब नबजाऊ ताली दोस्रो गजल सङ्ग्रहमा ।
गजलको रचना गर्नु कविता कोर्नु जस्तो सजिलो छैन । यसको रचनामा केही विशिष्ट प्रविधि पनि छ । त्यसैले भावना, स्फुरण र रहरले मात्र गजल लेखिँदैन । काफिया, रदिफ लय आदिको जोहो गर्नुका साथै सेरहरूलाई एक आपसमा कहीँ भाव वा विषयले कि भने काफियाले सुसम्बद्ध पार्न सक्नु गजलकारको रचना कौशल हुन आउँछ । यस्तो प्रविधिको ज्ञान र अभ्यास नभई गजल तयार हुन सक्दैन । गजलमा भावना हुन्छ, तर भावनामा बग्नेको गजल जम्न सक्दैन । कविले गुरु थापेर कविता लेखेको थाहा छैन, तर धेरै असल गजलकारले अग्रजलाई गुरु थापेर गजलमा कलम चलाएका छन् र ती सफल भएका पनि छन् । गजल लेख्न रहर गर्ने तर सैद्धान्तिक ज्ञान र अभ्यास नभएकाहरू कुर्चा खाएर बस्न बाध्य छन् ।
मधु पोखरेल भने कुशल गजलशिल्पी हुन् । उनमा रचना र गायन कौशल दुवै पाइन्छ । जीवनका तमाम उकाली, ओराली, अनुभव, अनुभूति, भावनाहरू उनका गजलमा यथार्थ रूपमा प्रस्तुत भएका छन् । कुनै बेला गजल प्रणय वा प्रेममा सीमित थियो । समय–परिस्थितिले गर्दा गजलको कथ्यविषय अब प्रेममा सीमित रहेन । त्यसैले गजल विस्तारित भएको छ । गजलमा लोकप्रियता बढेको छ ।
प्रसङ्ग फेरि पनि मधु पोखरेलका यी गजलकै हो । यी गजल पनि प्रेममा सीमित छैनन् । यी अधिकांश गजल राष्ट्र–राष्ट्रियता वा देशभक्तिले ओतप्रोत भएर उपस्थित भएका छन् । केही सेर :
उन्नत देश बनाउन मेची–काली उठ
मुहार त्यो हँसाउन मन उलाली उठ ।

मातृभूमि भन्दा ठूलो छैन केही अर्को
स्वाभिमान जोगाउन हे ! नेपाली उठ ।
(गजल ३)
सीमा छेउ पुग्छु जब, आफैँ अल्मलिन्छु
देश मेरो उता हो या यता लाग्छ उस्तै उस्तै ।

कस्तो लिप्सा हो सत्ताको छक्क पर्छ मधु !
निरीहता या बाध्यता लाग्छ उस्तै उस्तै ।
(गजल १७)

गणतन्त्रको यो खेती सप्रन्छ खै कसोरी !
जोडौँ न एकतामा कुटो–कोदालीलाई ।
(गजल २०)
गणतन्त्र यो देशमा
कागलाई बेल भयो ।
(गजल २२)

कङ्काल हुँ अकालको म भक्त देशभक्तको
विषाक्त रङ्गमञ्चमा मलाई देख्न सक्छ को ?
(गजल ४५)

न देशभक्त जन्मियो न राष्ट्र एक भै उठ्यो
निरीह देशभक्त चैं कुचालमा सडे अहो ।
(गजल ५३)

मधु पोखरेलको प्रस्तुत गजल सङ्ग्रहमा देशप्रेम पछि मायाप्रेमले महŒव पाएको छ । मायाप्रेम जीवनसत्य हो । यसबाट पलायन हुन सकिँदैन । गजलमा प्रेमका प्रसङ्ग आउनु सौन्दर्यचेतकै परिचायक हो । मधु पोखरेल देशप्रति जति संवेदनशील र गम्भीर छन्, प्रेमविषयक प्रस्तुतिमा पनि त्यत्तिकै शिष्ट र शालीन देखिन्छन् । केही सेर :
अधरमा तिमी छौ, तिमी छौ नजरमा
म तिम्रो उज्यालो प्रहर छोडी आएँ ।

मधुमास तिम्रा नयनका नसामा
त्यो स्वप्निल ठाउँ–ठहर छोडी आएँ ।
(गजल २५)

गोरी तिमी हौ राधा कालो म कृष्ण छायाँ
आई अँगाली राख मधुवन म लेखिदिन्छु ।
(गजल ३४)

गन्तव्यहीन जिन्दगी कतिन्जेल दौडिएला र ?
कसैको सुकोमल अङ्गले छुुनुको मजा बेग्लै ।
(गजल ३७)

राजनीतिले समाजलाई रूपन्तरण गर्दछ र देशको विकास पनि गर्दछ, तर राजनीतिमा विकृति आयो भने उल्टो हुन जान्छ । गजलकार राजनीतिमा देखापरेको विकृतिबाट देश बिग्रला कि भनेर अन्त्यन्त चिन्तित र दुखित छन् । यस्ता केही सेर :
बिगारेर बाटो तिमी मुस्कुरायौ
दुखेकै छ माटो तिमी मुस्कुरायौ ।

नछोडेर सत्ता लिसो टाँसिएछौ
लिएछौ कुबाटो तिमी मुस्कुरायौ ।
(गजल ४८)

बिगारे मोहमा पर्दै अझै क्यै गर्न बाँकी छ
उठौँ, जागौँ कसोरी यो चलेको देश सम्झेर ।

भए सत्ता र भत्ताका पठायौँ जो पुगे माथि
तिनैका स्वार्थले गर्दा ढलेको देश सम्झेर ।
(गजल ५२)

विषाक्त रङ्गमञ्चमा कुपात्र नै बढे अहो
भएन शान्ति खै अझै र आस ती लडे अहो ।

न स्वच्छ राजनीतिले विकास मूल नै फुट्यो
तिनै मुहार नै सधैँ भुल्याउँदै चढे अहो ।
(गजल ५३)

सबै आज स्वार्थी भए राजनेता
कतै बिर्सिए काल रात्री उदायो ।
(गजल ५४)
गजलकारमा युगबोध छ । समकालिकता छ । संविधान बनाउने प्रण गरी गएका नेताहरू संविधान दिन असफल भएकोमा गजलकार दुखित छन् र त्यो गजल बनेर अभिव्यक्त भएको छ । जस्तै :
शासन विधिको लागि ज्यानै दिए कसोरी
भत्ता डकारी साथी संविधान नै हरायौ ।
(गजल ७)

न त शान्ति पायौँ न पायौँ विधानै
भयौँ बक्क लाटो तिमी मुस्कुरायौ ।
(गजल ४८)

संविधानै न त पायौँ न ता शान्ति नै
राष्ट्रको हाल बिग्रेर झर्दै थियो ।
(गजल ४९)

पश्चिमी संस्कृतिले समाजलाई गाँज्दै गएको छ । आफ्नो संस्कृतिप्रति बेवास्ता बढेको छ भने गजलकारमा त्यसप्रति चिन्ता पनि बढेको छ र त्यो गजल बनेर अभिव्यक्त भएको छ । जस्तै :
भित्र–भित्रै कुहिएको फर्सी भयो देश
आवरण मात्र रङ्गीन खोलमा छ ।

विदेशी संस्कृतिको बजार नै भयो
आफ्नो भन्ने मात्र मादल र ढोलमा छ ।
(गजल ९)

कुसंस्कार र कुरीति यो जरैदेखि मिल्काउन
विद्रोहको दह्रो हात माग्या थिएँ तिमीसँग ।
(गजल १५)

हिमाल, पहाड, तराई सबै एक हौँ
विकृतिलाई भुट्न अझै बाँकी छ ।
(गजल १६)

गजलकार समानताका पक्षमा भए पनि समाजमा अनेक विभेद विद्यमान छन् । त्यसबाट गजलकारमा चिन्ता थपिएको छ । एक उदाहरण :
धनी गरिबको भेद कहिलेसम्म ?
साना–ठूलाको विभेद कहिलेसम्म ?

माथि पुगेपछि पछि तल नहेर्नेलाई
प्रकट गर्नु पर्ने खेद कहिलेसम्म ?
(गजल १४)

अग्रज स्रष्टाप्रति स्रष्टाको श्रद्धा भइरहन्छ । उदाहरणका लागि मधु पोखरेलको गजल–४ लाई लिन सकिन्छ । चार सेरको एकमात्र यस गजलमा महाकवि देवकोटालाई कथ्य विषय बनाइएको छ । देवकोटा शतवार्षिकीका अवसरमा रचित यस गजलको एक सेर :
सयौँ वर्ष बाँच्ने भयौ देवकोटा
दिलैमा सबैको रह्यौ देवकोटा ।
(गजल ४)
अब यी गजलको रचनाविधानतर्फ लागौँ ।
सेरको समष्टि गजल हो । मानक गजलमा ५ सेर उपयुक्त मानिएको छ । मधु पोखरेलका यी गजलमा ४ देखि ७ सेर सम्मका गजलहरू रहेका छन् । तीमध्ये गजल ४ चार सेरको, गजल १६ र ४९ छ सेरको, गजल ५, १३, ३५, ४०, ४७, ५१, ५५ र ५६ सात सेरको रहेका छन् भने बाँकी ४८ वटा गजलहरू पाँच÷पाँच सेरका रहेका छन् । भावनाको ज्वारभाटाले गर्दा केही गजलमा सेरको सङ्ख्या बढे पनि अधिकांश गजल पाँच सेरका छन् । काफिया र रदिफ मिलाउनुपर्ने हुनाले एउटा गजल धेरै सेरको हुन सक्दैन । पाँच सेरको एउटा गजलमा मात्रै काफियामा प्रयुक्त हुन सक्ने उस्तै ६ शब्द आवश्यक पर्छन् । अलग अलग सेरमा बरु भाव पनि अलग अलग हुन सक्दछ, तर काफिया मिल्नुपर्छ । त्यस्ता सेरलाई आपसमा सुसम्बद्ध तुल्याउने तŒव नै काफिया हो । गजलकार मधु पोखरेलका गजलमा पूर्ण शब्द काफिया, शब्दांश काफिया आदि काफियाहरू आएका छन् र नौलानौला काफिया पनि आएका छन् ।
कतिपय गजलविद्हरू रदिफलाई ऐच्छिक मान्दछन् । रदिफ भनेको मतला (प्रथम सेर, आरम्भिका) का दुवै मिसरा (हरफ) र त्यसपछिको सेरका हरेक दोस्रो मिसरा (मिसरा ए सानी) मा पुनरावृत्ति भएर आउने पद वा पदावली हो । यो एक प्रकारको अन्त्यानुप्रास हो । मधु पोखरेलका हरेक गजलमा रदिफको साधु प्रयोग पाइन्छ ।
गजलान्त वा मकता (अन्तिका) मा गजलकारको नाम÷उपनाम रहनुलाई तखल्लुस भन्ने गरिन्छ । कतिपय गजलकार तखल्लुसको प्रयोगमा आसक्त हुन्छन् भने कतिपय गजलकार अनासक्त देखिन्छन् । मधु पोखरेलले केही गजलमा मात्र यस्तो प्रयोग गरेका छन् । त्यसैले उनलाई तखल्लुसको आसक्त कोटिमा राख्न सकिँदैन । उनको तखल्लुस मधु हो । तखल्लुसको प्रयोग भएका दुई उदाहरण –
कस्तो लिप्सा हो सत्ताको छक्क पर्छ मधु !
निरीहता या बाध्यता लाग्छ उस्तै उस्तै ।
(गजल १७)
जब जङ्गल राज भयो अहिले
मधुको मुटु धड्कन चञ्चल भो ।
(गजल ५०)

गजल लयबद्ध गेय काव्यविधा भएकाले लय पनि यसको एक अनिवार्य तŒव हो । गजलमा गजलकारले कुनै प्रचलित लयलाई उपयोग गर्न सक्छ या निश्चित यति र गति हुने गरी स्वयम्ले लयको निर्माण गर्न सक्छ । परम्परागत शास्त्रीय लयविधानलाई गजलशास्त्रमा बहर भन्ने गरिन्छ । बहर भनेको लयको परम्परागत निश्चित व्यवस्था हो । यस्ता अनेक बहर छन् । यस सङ्ग्रहमा रहेका केही गजल बहरमा, केही संस्कृत छन्दमा, केही लोक लयमा र केही स्वनिर्मित लयमा रचिएका छन् ।
यस सङ्ग्रहमा अन्त्यमा तीन गजल (गजल सङ्ख्या ५७, ५८ र ५९) हिन्दी भाषामा रहेका छन् । तिमी आइनौ (२०६७) मा पनि हिन्दीका दुई गजलले स्थान पाएका छन् । यसले गजलकार मधु पोखरेलको हिन्दी भाषामा समेत पहुँच रहेको प्रस्ट हुन्छ । यस हिसाबले यो पनि बहुभाषिक एकल गजल सङ्ग्रह हो ।
बहुविध भाव, विषय, लय र शैलीका सुन्दर गजलको सिर्जनाले गर्दा मधु पोखरेल एक उम्दा गजलकारका रूपमा चिनिन पुगेका छन् । जति धेरै विषय भए पनि देशभक्तिका गजल लेखनमा मधु पोखरेललाई बढी सफलता मिलेको छ । मधुले देशभक्तिको भावभूमिलाई उग्र तरिकाले नभएर मधुर रूपमा पेस गरेका छन् । यही नै नबजाऊ तालीका गजलको खासियत हो । त्यसैले भन्न सकिन्छ, मधुका लागि खुब बजाऊँ ताली ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु