कवि वैरागी काइँला: एउटा छोटो चिन्हारी र केही काव्यिक रेखाकृतिहरु

- अमर नेम्बाङ लिम्बू

यो कुरा सत्य हो कि पारिवारिक वा अन्य केही कारणले जससँग हामी ज्यादै नजिक छौं उसको विषयमा केही लेख्नु निश्चय नै कठिन हुन्छ । मेरा दोस्रो ठूलो वुवाको छोरा आदरणीय वैरागी काइँलाको विषयमा पनि मेरो स्थिति झनै यस्तै छ । त्यसैले यथाशक्य अनुपेक्षित प्रशंसा तथा स्तुतीगानबाट जोगिंदै उहाँलाई जस्तो पाएँ मैले अथवा उहाँका कृतिहरु पढ्दा जस्तो लाग्छ मलाई त्यस सम्बन्धमा मात्र यहाँ केही प्रकाश पार्ने जमर्काे गरेको छु ।

जन्ममिति र जन्मस्थान
वैरागी काइँलाका बुवाको नाम खड्कबहादुर नेम्वाङ र उहाँको आमाको नाम ( आमाहरुको क्रममा दोस्रो) सरस्वती लावती हो । उहाँहरुकै कोखबाट वैरागी काइँलाको जन्म विक्रम सम्वत् १९९६ साल श्रावण २५ गते पाँचथरको पौवासारताप गा.वि.स वाड नं. १ स्थित पौवा गाउँमा भएको थियो ।

नामकरण
सानो छँदा बोलाउने नाम काइँला थियो उहाँको । फुपू र बज्यूहरुले ओझाहाङ भन्दथे जन्मकुन्डलीमा लेखिएको थियो बझाङ । तर, स्कूलको सर कृष्ण शर्माले राखिदिए तिलविक्रम । आफ्नो बाल्यकालको स्मरण गर्दै वैरागी काइँला एकठाउँ लेख्नुहुन्छ, “गाईवस्तुहरुलाई चटाउनको लागि बाँसको दुईवटा चोङ्गे भरि नुन बोकेर गोठतिर हिँडेकोम अन्तत ः इलाम पुगेँ । ......यसरी इलाम त पुग्यो तर परिचय पनि सधैँको लागि अर्कै पाएछ तिलविक्रम ।” तर हिजोआज उहाँको यो परिचय पनि गौण भएर उहाँ आफैले सन् १९६२ देखि ‘ वैरागी काइँला ’ भन्ने परिचय नै सधैँको लागि कायम भएको छ ।

शिक्षा
अर्को कुरा उहाँले लेख्नुभएको उक्त स्मरणबाट के अवगत हुन्छ भने सम्वत् २००५ सालमा उहँका दाजुहरु दसैं बिदामा इलामबाट घर आएका थिए । बिदा सकिएपछि दाजुहरु स्कूलमा हाजिर हुन जाँदा उहाँ पनि दाजुहरु सँगसँगै भागेर मावली गाउँ इलाममा पुग्नुभयो । इलाम पुगेपछि स्थानीय श्री पद्मोदय हाइस्कूल ( हाल श्री आदर्श उच्च मा.वि) मा भर्ना भएर आफ्नो प्रारम्भिक अध्ययन सुरु गर्नुभयो उहाँले । त्यस हाइस्कूलमा कक्षा सातसम्मको पढाई सकेर सम्वत् २०११ सालमादार्जीलिङको सरकारी हाइस्कूलमा प्रवेश गर्नुभयो । त्यसपछि त्यहाँको स्कूली शिक्षा सकेर स्थानीय सरकारी महाविद्यालयमा प्रविष्ट भई आई.एस्सी. मा उत्तीर्ण हुँदै बि.ए. सम्मको अध्ययन पुरा गर्नुभएको छ उहाँले ।

किरात लिम्बू भाषा तथा संस्कृतिविद्
वैरागी काइँला एउटा सशक्त आयामेली कवि मात्र नभएर किरात भाषा एवम् संस्कृतिको प्रखर अन्वेषक पनि हुनुहुन्छ । उहाँले अहिलेसम्म सुष्टिवर्णन लगायत लिम्बू भाषा तथा संस्कृतिको विषयमा एक दर्जनभन्दा बढी कितावहरुसमेत लेखिसक्नुभएको छ । यसबाहेक किरात जागरणको गीत अनुवाद गर्नुको साथै लिम्बू साहित्य तथा संस्कृतिसम्बन्धी विभिन्न पत्र–पत्रिकाहरुसमेत सम्पादन गर्नु भएको छ उहाँले ।

राजनीति
कवि वैरागी काइँलाको जीवनभित्र सर्सर्ती हेर्दा उहाँलाई एक होनहार सामाजिक तथा राजनीतिक कार्यकर्ताको रुपमा पनि पाउँदछौँ , जुन कुरा पाँचथरको राजनीतिक इतिहास पल्टाउँदा ज्ञात हुन्छ । उहाँले सम्वत् २०३२÷०३३ सालतिर डेमोक्रेटिक फ्रन्टबाट प्रजातन्त्रको पुनर्वहालीको लागि सशक्त जनमत तयार गर्ने क्रममा आफ्नो गाउँ तथा जिल्लामा जि.पं.स. को हैसियतले महत्वपूर्ण भुमिका निर्वाहसमेत गरेका थिए । यति मात्र होइन सम्वत् २०६२÷०६३ साल चैत्रमा भएको ऐतिहासिक जनआन्दोलनमा स्रष्टाहरुको तर्फबाट पटक–पटक भएको विरोध जुलुसमासमेत उहाँको सक्रिय सहभागिता भएको देखिन्छ ।

कविता– यात्रा
बाल्यावस्थादेखि नै भावुक, कुशल वक्ता (गोल्ड मेडालिस्ट) एवम् तीक्ष्ण बुद्धिको हुनुहुन्थ्यो वैरागी काइँला । त्यसैले हाइस्कूलमा छँदै उत्कृष्ट कविता लेख्न थाल्नुभयो उहाँले ।सम्वत् २०२० साल ज्येष्ठमा उहाँको सम्पादकत्वमा तेस्रो आयाम पत्रिकाको प्रथम अङ्क प्रकाशित भयो । त्यसपछि सम्वत् २०३१ सालमा साझा प्रकाशनले ‘ वैरागी काइँलाका कविताहरु ’ नामक एउटा कवितासङग्रह प्रकाशित ग¥यो जसमा सन् १९६० को अन्ततिरदेखि सन् १९६४ को अन्ततिरसम्म कविले सृजना गरेका लामाछोटा गरी जम्मा एक्काएसओटा कविताहरु समेटिएका छन् । त्यसैवर्ष उहाँलाई उक्त कृतिको निम्ति साझा पुरस्कारसमेतबाट सम्मानित गरिएको थियो । यसवाहेक साहित्य साधनाको क्रममा कवि वैरागी काइँलाले अहिलेसम्म दर्जनौ सम्मान तथा पुरस्कारहरुसमेत प्राप्त गरिसक्नुभएको व्यहोरा सबैलाई अवगतै छ ।

प्रस्तुत कृतिमा कविले आफ्ना कवितालाई दुईखण्डमा विभाजित गरेर राख्नुभएको छ ।
पहिलो खण्ड (१) ः मेरो हजूरका कविताहरु
दोस्रो खण्ड (२) ः मातेको मान्छेको भाषण र अन्य कविताहरु

पहिलो खण्डमा परेका रचनाहरु कविका प्रेम कविताहरु हुन् जसमध्ये अधिकांशलाई सङ्गीतमा आबद्ध गरिएका छन् र जसलाई ख्यातिप्राप्त गायकहरुलै बेलाबेलामा गएका पनि सुन्छौँ हामी । यसबाट प्रष्ट हुन्छ कि वैरागी काइँला एक सशक्त कवि मात्र नभएर एक प्रसिद्ध गीतकार पनि हुनुहुन्छ । तर, उहाँका यी प्रेम कविताहरु केवल गीतहरु मात्र नभएर साङ्गीतिक सम्पन्नता तथा काव्यात्मकताले युक्त भएका उच्चकोटिका साहित्यिक रचनाहरु पनि हुन् । कविकै शव्दमा भन्नुपर्दा ती रचनाहरु ‘ दुईआँखाको ट्रेमा ’ लिएर आएका ‘ मायाको नयाँ संस्करण ’ हुनुको साथै ‘ यौटा चल्दैगरेको मुटु ’ पनि हो । हिन्दी साहित्यको कवि वीरेन्द्र मिश्रका अनुसार सङ्गीतिक सम्पन्नताले घनीभूत भएका साहित्यिक लेखनहरु हिन्दी साहित्यमा पनि धेरै कम छन् । झन् नेपाली साहित्यमा त केही फाट्फूट् रुपमा मात्र देखा परेका छन् यस्ता लेखनहरु ।
यसबाहेक कविका केही असङ्कलित आयामेली लेखनका कविताहरु तथा कविले जवानीमा लेखेका केही प्रेमकविताहरु पनि यत्रतत्र छरिएर रहेका छन् । जसलाई पनि छुट्टै सङ्कलनको रुपमा प्रस्तुत गर्न आवश्यक देखिन्छ ।
आयामिक लेखन
पहिलेको साहित्यले कुनै ‘ ठोस वस्तु वा दृश्य जगतको ’ लम्बाइ तथा चौडाइको विषयमा मात्र लेख्दै आएको थियो जसलाई आयामेली सर्जकहरुले साधरणतया ‘ च्याप्टो साहित्य ’ भन्ने गर्दथे । तर, अबको साहित्यलेचाँहि यसको मोटाइ (गहिराइ)को विषयमासमेत लेख्नुपर्छ । यही नै आयामेली साहित्यकारहरुको मुख्य भनाइ हो । अझ इन्द्रबहादुर राईको शव्दमा भन्ने हो भने अबको साहित्यले मानिसको सम्पूर्णतालाई उचाल्नुपर्छ अथवा जीवनप्रतिको सत्यतालाई अभिव्यक्त गर्नुपर्दछ । वैरागी काइँलाको शव्दमा भन्ने हो भने अस्तित्व सङ्कटमा छ! जिन्दगी भाँच्चिएको छ , खडिण्त भएको छ, पराजित भएको छ अथवा जिन्दगी लाश मात्र भएको छ । यस्तो जिन्दगीलाई समग्रता र नवजीवनको चेतना दिँदै सलग्ग उतार्नुपर्छ हामीले । इश्वरवल्लभको शब्दमा भन्ने हो भने टुक्रिरहेको छ आजको मानिस, फुटिरहेको छ आजको मानिस र भाँच्चिइरहेको छ उसको आवाज । यस्तो आवाजको विरुद्धमा दैलो लाउनुपर्छ हामीले । यसरी आयामेली साहित्यका यी तीन हस्ताक्षरहरुले दार्जीलिङमा आयामेली साहित्यको श्रीगणेश गर्दै नेपाली प्रयोगवादी साहित्यमा एउटा महत्वपूर्ण कित्ता स्थापित गरेका छन् । हुन त साहित्य सिर्जनाको फाँटमा हिजोआजको लेखनकला तेस्रो आयामदेखि चौथो आयाममासमेत प्रवेश गरिसकेको छ । जसले कुनै वस्तुको लम्बाइ , चौडाइ तथा मोटाइको विषयमा मात्र नलेखेर समय र स्थानकोसमेत आकलन गर्दछ । तर ५०÷५५ वर्ष अगाडि तस्रो आयामको लेखनले नेपाली साहित्यमा निश्चय नै एउटा नयाँ हलचल ल्याएको थियो भन्दा अत्युक्ति नहोला ।

उपसंहार
धेरै वर्ष अगाडि सम्वत् २०२२ सालतिर तेस्रो आयामको प्रकाशक छँदा मैले वैरागी काइँलाका कविताहरु बलैले पढेको थिएँ। अंग्रेजी, ग्रिसेली, जर्मन, मेसोपोटामियन, संस्कृत अफ्रिकी, लिम्बू तथा लेप्चा मिथकहरु, बिम्बहरु, प्रतीकहरु, सन्र्दभहरु, चित्रात्मक तथा सङ्गीतात्मक शब्दहरु सबै अटेसमटेस भएर बसेका छन कविताभित्र । यी सबै कुुराहरु छिचोलेर भित्र पस्न निकै गाह्रो थियो त्यस बेला । तर कविताहरु ल्किष्ट र दुरह देखिएता पति त्यसभित्र कताकता टी. एसइलियटले “डिसोसियसन अफ सेन्सिविलिटी (संवेदनाको विच्छेद) ”भने झैँ एउटा अत्यन्त संवेदनशील भावानुभूति हुनुको साथै एउटा प्रखर बौद्धिक सचेतना पनि भएको पाँउछौँ हामी । यसबाहेक पाश्चात्य प्रयोगवादी कविहरुले प्रयोग गरेका निर्वैयिक्तता तथा वस्तुतताका धारणहरुसमेत उनका कविताहरुमा पनि पाउँछौँ हामी । समग्रमा भन्नुपर्दा इज्रा पाउण्डले जस्तै माकारोनिक शैलिमा लेखिएका उहाँका उर्जाशील तथा धरोहर कविताहरुले मानवीय संवेदनाहरुको अत्यन्त गहिराइमा गएर अस्तित्वसम्बन्धी सचेत गराउँदै जीवनको सम्पूर्णतातर्फ उन्मुख गराउँछन् पाठकवर्गलाई । साँच्ची नै थोरै लेखेर धेरै लोकप्रियता आर्जन गर्नुभएको छ उहाँले । डा. वासुदेव त्रिपाठीसमेतले नेपाली कविता (भाग ४) मा लेख्नुहुन्छ , “ आयामिक कविताले आफ्नो गुणस्तरको कारणले उनलाई स्वच्छन्दतावादी प्रगतिवादी युगका कवि प्रतिभा भूपि शेरचनपछि सर्वाधिक लोकप्रिय नवकविका रुपमा प्रतिष्ठित तुल्याएका हुन् । ”
आज लगभग बाहुन्न वर्षपछाडि उहाँको विषयमा लेख्न बस्दा उहाँका कविताहरु पुनः सर्सर्ती हेर्ने सुअवसर प्राप्त भयो । यसबेला कसैले भनेको सम्झन्छु म, “ जब कवि बूढो हुन्छ तब उसको कविता नौजवान हुन्छ ” । धेरै वर्षअगाडि लेखेका उहाँका कविताहरु अब त थोत्रा, पुराना र बूढा भइसक्नुपर्ने तर उहाँ जति–जति बूढो हुदै जानुभएको छ उति –उति उहाँका कविताहरुचांहिँ अझ जवान, अझ सशक्त र अझ जिउँदाजाग्दा भइरहेका देख्छु म । टी.एस. इलियटले आफ्ना कविताहरुमा अहिलेसम्म प्रयोग नै नभएको प्रविधि अप्नाउँदा उहाँका कविताहरु उत्कृष्ट भएका छन् । त्यस्तै वैरागी काइँलाका कवितामा पनि आफ्ना अद्भूत शैलीगत विशेषता छ, आफ्नै मौलिक अभिव्यक्ति र अनुभूति छ र आफ्नै अद्भुद शील्पकौशल छ, जुन कुरा नेपाली कविताहरुमा धेरै कम पाएको छु मैले ।
सुली पुँधोको कवितामा जस्तो प्रखर बौद्धिकता र भावनात्मक एकता, वाल्ट व्हिटम्यानको कवितामाजस्तो जीवन्तता, क्रान्तिकारिता, सशक्तता र सङ्गीतात्मकता (अस्तित्वका दावीमा साबातको बैला उत्सव आदि) तथा टी.एस. इलियटको कवितामा जस्तो अद्भुत तथा नवीनतम शील्पशैलीद्धारा सुसज्जित भएका छन् उहाँका कविताहरु ।तर, उहाँले हालसालै केही अगाडि लेख्नुभएको कवितासंग्रह “ अन्धा मान्छे र हात्ती ” अन्तर्गतका कविताहरु जस्तै मालीगाउँका चितुवा तथा बाँकी आदिले पहिलेका कविताहरुभन्दा प्रशस्तरुपमा समसामयिक चेत बोकेता पनि ती कविताहरुमा पहिलेका कविताहरुमा जस्ता बुरुकबुरुक्ती उचाल्ने शशक्तता, उच्च सौन्दर्यात्मकता, भाषिक चमतकारिता, आयामिक सम्पूर्णता, वस्तुता आदि दार्शनिक अवधारणासमेत भएको पाउँदैनौ हामी ।
सम्वत् २०४७सालदेखि यता तत्कालीन राजकीय प्रज्ञा प्रतिस्ठानको प्राज्ञ तथा सम्वत् २०६६÷०७० सालसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिका रुपमा रही नेपाली साहित्यमा विशीष्ट योगदान दिनुभएका वैरागी काइँलाको विषयमा अहिलेसम्म दर्जनौँ लेखक एवम् समालोचकहरुले आ –आफ्ना दृष्टिकोण र आ–आफ्ना व्याख्या, विवेचना र विश्लेषणसमेत गरिसकेका छन् । यसबाट के निष्कर्ष निकाल्न सक्छौँ भने उहाँले नेपाली काव्यजगतमा एउटा नयाँ आयाम र एउटा नयाँ हलचल ल्याई आयामिक धारका बढी लोकप्रिय’कविका रुपमा एउटा विशिष्ट पहिचान बनाइसक्नु भएको कुरा सर्वविदितै छ । यसको साथै किरात लिम्बू भाषा एवम् संस्कृतिको क्षेत्रमा पनि उहाँले जुन महत्वपूर्ण योगदान दिनुभएको छ , त्यो योगदान र उहाँको विलक्षण काव्यिक प्रतिभा समन्वित भई एउटा व्यक्ति मात्र नभएर एउटा कालजयी संस्थाकै रुपमा स्थापित भइसक्नुभएको छ उहाँ । अन्तमा उहाँबाट पुनः अन्य उत्कृष्ट कृतिहरुको अपेक्षा गर्दै यो लेख यहीँ टुङ्ग्याउँछु ।

पौवासारताप, पाँचथर

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु