पुरुष सत्ता

- कृष्ण बजगाईं

दासताको प्रतिक भन्दै विबाहित नारीहरुले पोते तथा मंगलसुत्र नलगाउने भए । उनीहरुको देखासिकी गदै धेरै विवाहित नारीहरुले सिउँदोको सिन्दुर पुछे । के नारीहरु दान दिने वस्तु हुन र विबाहमा कन्यादान गरेको ? यस्तो बिरोधका स्वर उठेपछि परम्परागत विबाहमा कमी आउन थाल्यो ।
त्यसपछि समाजमा गोलमालको स्थिति आयो । को विबाहित ? को अविबाहित ? छुट्याउन गाहो पर्याे । उपभोक्तवादी बजार अर्थ ब्यवस्थामा बजार प्रवद्र्धन गर्ने चलाखका कारण एक नम्बरको माल नबिकेर दुइ नम्बरी माल बिके जस्तै भयो । हेर्दा हेर्दै ‘सेकेण्ड हेन्ड’ मालले बजार लिन थाल्यो । यस्तो अवस्थामा अविबाहिताहरु चिन्तित बने ।
उत्तरआधुनिक समाज थियो त्यो । हरेकलाई आफूखुशी गर्ने स्वतन्त्रता थियो । अधिकार रक्षाका लागि अविबाहिताहरुको तुरुन्तै संगठन बनि हाल्यो । उनीहरुले विबाहिताहरुलाई आफनो धर्म पालन गर्न भने । जवाफ स्वरुप विबाहिताहरुले अर्काको स्वतन्त्रतामा हस्तक्षेप नगर्न तिनीहरुलाई चेतावनी दिए ।
अविबाहिता र विबाहिताका बीच द्धन्द्ध सुरु भयो । उनीहरुको द्धन्द्ध एनजिओहरुले थाहा पाए । उनीहरुले तुरुन्तै एउटा प्रोजेक्ट बनाएर आइएनजिओबाट पैसा मगाई हाले । पोजेक्ट अनुसार त्यो पैसाले उनीहरु बीचको द्धन्द्ध न्युनिकरण र नारी शसक्तिकरण गर्नु थियो । पाँच तारे होटेलमा नेता टाईपका विबाहिता र अविबाहिताहरुलाई गोष्ठीको लागि बोलाइयो । एनजिओले उनीहरुलाई खुब पढाए । घनिभूत छलफल चलाए ।
कार्यक्रमको अन्तमा एनजिओका हाकिमले गोष्ठीको निष्कर्ष सुनाउन थाले –‘यो सब काम पुरुष सत्तात्मक ब्यवस्थाको कारणले भएको हो । यस्तो विभेद र द्धन्द्धका पूर्ण दोषी पुरुषहरु हुन् ।’ यति भन्नासाथ सहभागी सबै नारीहरुले निकै बेर ताली पिटिरहे । हाकिमले अझै केही भन्दै थिए । तर बाँकी कुरा सुन्नै सकिएन ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु