सम्झनामा डोना-पाउला

- अर्जुन यावा

भाइ, गोवामा राष्ट्रिय कवि सम्मेलन हुँदैरहेछ। साहित्य परिषदमा इन्भिटेशन आएको रहेछ। जाने?' सायद 18 जुलाई 2015-मा हुनुपर्छ, साहित्य र अभिनयमा आफूलाई चिनाइसक्नु भएकी रूपा तामाङले भन्नु भएको थियो। मैंले 'मौका पाए त जाने नि नाना' भनें। हाम्रो साइनो साहित्य र कलादेखि अलग्गै थियो। वाट्सएपमा हाम्रो एउटा समूह थियो 'संवाद', जसको एडमिन पनि रूपमा नाना नै हुनुहुन्थ्यो। संवादमा थियौं म, गोवा की मुनु अनि अरुहरू। म पुग्नअघि नै रूपा नानाले फोनद्वारा म गोवामा जाने कुरा मुनुलाई अवगत गराइसक्नु भएको रहेछ। त्यसैले हाम्रो भेट भयो।
---
मुनु बहिनी अस्वस्थताको कारण अहिले गान्तोक आइपुगेकी छ। पञ्जी, गोवामा आयोजित 'काव्य होत्र'-मा भाग लिन पुगेको बेला पहिलो भेट भएको हो हाम्रो। 23 जुलाईदेखि 48 घण्टा लामो राष्ट्रिय कवि सम्मेलन चलिरहेको थियो त्यो समय। कला अकादेमी, गोवाद्वारा गोवा सरकारको राजभाषा सञ्चालनालय, पर्यटन सञ्चालनालय र कला एवं संस्कृति सञ्चालनालयको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रम मेरोलागि धेरै दृष्टिले महत्वपूर्ण थियो। देशभरिका विभिन्न भाषी कविहरूसित पालैपालो तीनवटा मञ्चमा दिन-रात नभनी 48 घण्टासम्मको लामो कार्यक्रम मेरो निम्ति पहिलो अनुभव थियो। राष्ट्रियस्तरको कार्यक्रममा सहभागि बन्ने अवसर पनि पहिलो थियो मेरो। तीन दिनको कार्यक्रमावधिका रमाईला पाटाहरूमध्ये वाट्सएप ग्रुपकी साथी मुनुसितको भेट एउटा थियो।
---
खुट्टा दुखाइको चपेटमा परेर छुट्टी बिताइरहेकी मुनु कार्यक्रमको दोस्रो दिन मलाई भेट्न आउने भएकी थिई कला अकादमी। फोनमा कुरा भएको थियो हाम्रो। भेट हाम्रो तर अन्तिम दिनमात्रै भयो। उनकी दिदी झरना पनि भेट्न आउने कुरा थियो। अन्तिम दिन अथवा 25 जुलाई 2015। कामको व्यस्तताले भेट हुन सकेन हाम्रो। वाट्सएप मै कुरा सीमित रह्यो। देशभित्रै पनि भेष र भाषा मिल्न गाह्रो पर्ने ठाउँमा पुगिसकेपछि देशभित्रै छु जस्तो नलाग्दो रहेछ भन्ने अनुभव पहिलोपल्ट गरिरहेको थिएँ। पश्‍चिम सिक्किमबाट कवयत्री रजनी पेघा अनि कालेबुङका युवा कविहरू टीका 'भाइ', मनोज बोगटी, भीमा राई र लेखनाथ छेत्रीबाहेक सबै नयाँ अनुहार। हिन्दी, अङ्ग्रेजी, बङ्गालीसितै कोंकुनी, कन्नड, मलयालम, बिहारी, कस्मिरी, गुजराती, राजस्थानी अरु-अरु भेष-भूषा र भाषीहरूमाझ एकजना नयाँ अनुहार थिई मुनु। सप्पै कुरा आफुसित मिल्ने मान्छे भेटिँदा धेरै हर्ष लाग्दोरहेछ। मैंले अनुभव गरें अनि यो त्यहीबेलै बुझेको थिएँ। मुनुलाई भेटेपछि अघिल्लो दिन आधाअधुरो डोना-पाउला समुद्रीतट (वीच) घुम्ने रहर पूरा हुने भयो। बेलुकी छः बजी स्ट्याण्ड पुग्नु थियो बस पक्रिनलाई। नौबजीको ट्रेन पक्रिनु थियो बेङ्लोरका लागि। सबैकुराको वास्ता नराखी गयौं हामी डोना-पाउला घुम्नु।
---
'अटो...! डोना-पाउला जावोगे?' जबरजस्तीको हिन्दी बोलेको थिएँ।
61 प्रतिशत कोंकनी, 19 प्रतिशत मराठी, 7 प्रतिशत कन्नड, 5 प्रतिशत हिन्दी र 4 प्रतिशत उर्दु भाषीहरूमा पनि प्रायः सबैले अङ्ग्रेजी मात्रै बोल्ने, तर उसले हिन्दीमै भनिरहेको थियो- 'डेड सौ लगेगा।'
मेरो 'जाने?' प्रश्‍नको सीधा उत्तर नदिएर 'डेडसय लाग्छ' भनिरहेको थियो उ। यो तीन दिनसम्ममा मैंले 'यहाँ बार्गनिङ चल्दैन' भन्ने बुझिसकेको थिएँ। नयाँ ठाउँमा बोलिरहेको मेरो बोलीबाट उसले नयाँ मान्छे हो भन्ने ठहर गर्नु सायद ठूलो कुरा थिएन। त्यसै पनि दिनभरि कस्ता-कस्ता मानिसहरू चडाउँदा हुन् ओटोमा। त्यसैले सबैप्रकारका र सबै व्यवहारका मानिसहरूलाई हेरेर अनि सुनेर अनुमान लगाउने सक्ने भइसकेको हुनुपर्छ। 'मेरो प्रश्‍नको जवाबमा डोना-पाउला पुग्ने भारा अघिबाटै बताउनु किन उचित लागेको थियो उसलाई?' भन्नेतिर मेरो ध्यान गएन। मुनु खुट्टा दुखेकोले अकादमी परिसरबाट मूल सडक निस्कदै थिई। उसो त अकादमीको प्राङ्गनबाट 15 सेकेन्डमा सडक निस्किनु टाडा होइन। पछिल्लोपटिको बाटो भएर निस्किँदा अवश्यै 2 मिनट लागेको हुनसक्छ। मुनु सडकमा निस्किसक्दा चालकले अटो ‘ब्याक’ गरेर नजिक्याइसकेको थियो। हामी हिँड्यौं।
---
मलाई डोना-पाउला वीचबारे जान्ने मनमा चाह हिँजैदेखिको थियो। यसबारे हिजो साँझ घुम्न आउँदा थोरै असजिलो भएपनि बस यात्राको समय अरुहरूले कुरा गरिरहेको सुनेको थिएँ। एउटा अमर कथा पछिबाट केही बुझ्न आधी सफल थिएँ म, आधी विफल। कोट्याएर सोध्न मिलेन। त्यो अमर कथाबारे बुझ्ने अवसर यही थियो। जे होस, झपक्क साँझ परिसक्दा पुगेका थियौं हामी डोना-पाउला हिजो। हामीसित थिई एक वृद्धा कवयित्री पनि। उमेरले अनुमानित सात र आठ दशकमाझकी उनी तर हिँडनलाई मेरो निम्ति कुनै समस्या छैन भन्दै थिई हामीलाई। पानी परिरहेको, वरिपरि प्रायः अँध्यारो। परपरतिर झिलिमिली थियो बत्तीको। हामी त्यसैमा रमाइरहेका थियौं सायद। मानिसहरूको घुइँचो थिएन। वृद्धा कवयित्री हामीभन्दा अझ उत्साहित देखिन्थी। 'सिक्किमतिरै सायद छोरीको विवाह भएको छ' भन्थिन् उनी। नेपाली-हिन्दी दुवै बोल्ने उनी हामीसितको भेटमा उस्तै खुशी थिइन्। तलतिर बे अफ् बेङ्गालले हिर्काइरहेको छालहरूले साथ दिइरहेको थियो हाम्रो उत्साहित मनहरूलाई। बे अफ् बेङ्गाललाई तर यहाँ 'मान्डवी' नदीको रूपमा जानिन्छ। अथवा मान्डवी नदी पर..परर.. पुगेर बे अफ् बेङ्गालसितै मिसिएकी छ। पानी परिरहेकै थियो हामी पुग्दा। हतार गरी वीचमै पुगेर एउटा खुद्रा पसलमा किनेको छाताले मेरो शरीरको कपडा जोगाउन सकेको थिएन। फर्किएर कोठा पुग्दा छ्याप्प भिजेका थियौं हामी।
----
चिल्लो सडक। फराकिलो पनि उस्तै। गन्तव्य पुगिञ्जेलीलाई कुरा गर्दै अघि बडन हामीलाई कुनै समस्या थिएन। मैंले हिजो आधी सुनेको कुरा जान्न चाहेँ।
'मुनु! हामी जाँदै गरेको वीचको नाम के पो अरे? डौना-पाउलो नि?' सुनेको कुरा सोधें। मैंले सिधै मुनु भनेर सम्बोधन गर्न सक्थें। हाम्रो भेट वाट्सएपसम्मै सीमित रहँदा त्यति सम्बोधन नगरिए पनि नामको पछिबाट 'जी' थपेर बोल्ने हामी भेटपछि 'दाजु-बहिनी' भइसकेका थियौं। त्यसैले यतिबेला 'वाट्सएप ग्रुप'-को साथीभन्दा अलिकमाथि थियौं हामी।
'होइन दादा! डोना-पाउला हो।' मुनुले बुझेको बताई मलाई 'यसको त स्टोरी पनि छ नि। त्यसैले यसको नाम डोना-पाउला बसेको भनिन्छ।' मेरो जिज्ञासा मुनुले बुझे झैं लागिरहेको थियो यतिबेला।
'प्रेमी-प्रेमिका थियो अरे नि डोना र पाउला?' मैले हिजो आधी स्पष्ट सुनेको फेरि सोधें 'सुनेको छौ कथा?' अनि भनें 'भन्नु नि' सुन्न चाहेको थिएँ। हामी दुईपटी झ्याम्म-झ्याम्म परेका हरिया रुखहरूले शितलता छाइरहेको लमतन्न सडकमाथि गुडिरहेका थियौं। गान्तोकबाट हिँडन एकदिनअघि साथीहरूले 'यो बेला त गोवामा गरमले मार्छ होला हौ' भन्दैथिए। तर त्यसो भएन। 24 डिग्री तामक्रम त्यस्तो समस्या बनेको थिएन हाम्रो लागि, भनौं मेरो लागि। कालेबुङ-सिक्किमका अरु पाँचजना पञ्जीका स्थानीय साहित्यकारहरूको निम्तोमा अर्को साहित्यिक कार्यक्रममा गएका थिए। म मुनुसित डोना-पाउला जाँदै थिएँ। यहीबेला मुनुले सुनेको दन्त्यकथा जस्तै छोटकरीमा सुनें मैंले पनि डोना-पाउलाको कथा। बीचबीचमा अटो चालकले पनि थपिरहेका थिए।
---
'डोना र पाउलो दुई प्रेमी-प्रेमीका थिए। डोना एक पोर्टुगली राजकुमारी थिइन्। डोनाले प्रेम गरेकी थिइ पाउलासित। पाउला तर गरीब घरानाका थिए। माछा मारेर जीविका चलाउने माझी थिए। दिनभरि समुद्रमा नाऊ (डुङ्गा) लिएर जाल हान्दै माछा मार्न जान्थे र साँझमा घर फर्कन्थे।' म मनमनै सोच्दैथिएँ 'डोनाले आफ्नो राजखान्दान र पाउलाले आफ्नो गरिबीलाई आफ्नो प्रेमसम्बन्धबीच कहिल्यै ल्याएन रहेछन्।' अनि लाग्यो 'सायद युगौंदेखि चलिआएको परम्पराको पर्खाल भत्काइरहेका थिए उनीहरूले।'
मुनु भन्दै थिई- 'यसरी दिनभरि समुद्रमा माछा मार्न जाने पाउला बिहान डोनालाई छोडेर जान्थे। पाउलो जाँदा डोनाले यही समुद्र तट (डोना-पाउला वीच)-मा पर्खिरहन्थी। तर, एकदिन डोनालाई सधैँ झैं छोडेर गएको पाउला फेरि फर्खिएर आएनन्। आज आउँछ, भोलि आउँछ भन्दै महिनौं बित्दा पनि पाउला फर्केर नआएपछि निराश बनिन् डोना। त्यसैले पाउलालाई सम्झेर नै उनले यही ठाउँबाट समुद्रमा हाम फालेर आत्माहत्या गरेकी हुन्। त्यसैले पछिबाट यो ठाउँको नाम डोना-पाउला भयो भन्छ।'
कथा सकी मुनुले। यो स्थानीय मान्यता पनि थियो। गोवालाई कर्मथलो बनाएकी मुनुले राजधानी पञ्जीमा धेरै वर्ष विताइसकेकी हुन्। त्यसैले स्थानीय भाषा र भौगोलिकता दुवैसित धेरै नजीक भइसकेकी थिइन्।
'किते कर्ता तु बाबा?' अचानक अटो रोकिँदा चालकलाई प्रश्‍न गरेकी थिइन् मुनुले।
'काइना' उत्तरमा भनेको थियो चालकले। मैंले कोंकनी बुझिन। भरे थाहा भयो 'के भयो?' भनेकी थिइछ। चालकले 'केही होइन' भनेका थिए। त्यसपछि हिन्दीमा 'बाटो अप्ठेरो छ, गाडी जाँदैन। यहाँबाट हिडेर जानुपर्छ' भन्दैथिए चालक।
'उस तरफ से तो अटो आ रहे है।' मैंले विपरीत दिशाबाट आइरहेको अटो देखाउँदै भने। त्यसपछि उसले अटो सडकको बायाँतिर लग्यो अनि हामी फेरि अघि बढ्यौं।
---
अर्को ऐतिहासिक मान्यताअनुसार डोना-पाउला पहिला एउटा गाउँको नाम थियो। जतिबेला गोवामा पोर्तुगिस साम्राज्य थियो। त्यस समय एक चर्चित व्यक्तित्व थिए पाउला। पाउलाको पूरा नाम थियो 'पाउला अमारल एन्टोनियो डी साउटो भामर', जसको नामसित डोना-पाउलाको नाम जोडिएको छ। भनिन्छ, पाउला श्रीलङ्काको जाफनापटमनाममा पोर्टुगिस भाइसरोयकी छोरी थिइ। सन् 1961 सम्म पोर्टुगिस साम्राज्य रहेको गोवामा पाउला र उनको परिवार 1644-मा आएका थिए। पाउलाले 1656-मा स्पेनका एक धनाड्य व्यक्तित्वसित विवाह गरेकी थिइन्, जसको नाम थियो डोम एन्टोनियो सुटोमायर।
भनिन्छ, वर्तमानमा गोवाको 'काबो राज'-मा भएको सम्पत्ति पनि पाउलाको पतिकै नाममा थियो। त्यतिबेला 'ओडाभेल' भनेर जानिने त्यस गाउँको उत्थानको निम्ति उनीहरूले धेरै सहयोग पुर्‍याएका थिए। 1682-मा पाउलाको हेदान्त भएको थियो। पाउलाको मृत्युपछि आफ्नो गाउँप्रति लगाएको गुणकै कारण गाउँलेहरूले गाउँको नाम 'डोना-पाउला' राखेका हुन् भन्ने पाउन सकिन्छ।
---
स्थानीय मान्यताअनुसार 'डोना र पाउलाले प्रेम गरेका थिए। एउटा निश्‍चल र चोखो प्रेम। प्रेम युगयुगसम्मको। जन्म-जन्मको।' म सम्झँदै थिएँ 'तर पाउला किन फर्केर आएन त? के उसको डुङ्गा पल्टिएर उसको मृत्यु भयो? नभए किन फर्की नआएको हो? तर समुद्रमा कुनै तुफान आएको कथा पनि थिएन। कि त डोनासित व्यक्त गर्न नसकेको दुई माझको गरीब-धनीको पर्खालले छेकेको थियो उसलाई? उसो भए कहाँ गयो होला?' मनमा आफ्नै प्रकारले त्यसका कारणहरू खोजिरहेको थिएँ।
'दादा हामी आइपुग्यौं।' मुनुको कुराले मेरो तन्द्रा चुँडियो। राजधानी पञ्जिमदेखि सात किलोमिटर टाडा रहेको डोना-पाउला हामी कला अकादेमीदेखि पुग्न कति समय लाग्यो, त्यो मैंले ख्याल राखिन।
'वाउ...।' हिजो राम्ररी नदेखिएको मेरै अघिल्तिरको सुन्दर दृष्यले मोहित गराएको थियो मलाई। गुणस्तरीय पर्यटन विकासमा निक्कै अघि रहेको गोवाका पर्यटकीय स्थलहरूमध्ये 'डोना-पाउला वीच'-लाई गोवा कै उपनगरका रूपमा पनि जानिन्छ। हामी अबेर बेलुकी पुग्दासम्म यहाँ पर्यटकहरूको भीडभाड नै थियो। हाम्रो अघिल्तिर देखिने थोरै अग्लो ढीप थियो 'टापु'-जस्तै। त्यसमाथि थियो पर्यटकहरूको सुविधाका लागि बनाइएको फराकिलो छानोमात्रै लगाइएको घर। त्यहाँको थप सुन्दरता थियो त्यो। मन थामिएन, हामी हिँडिरहेको फराकिलो बाटोको दाहिनेतिरका खुद्रा पसलहरूको पछिल्तिरबाट मोबाइलमा क्याप्चर गरें।
माण्डवी नदी र जुवारी नदीको मिश्रित छालले हुत्याएको चिसो हावा हामीलाई स्पर्श गर्न भ्याइरहेको थियो। जो गएर 'एरावियन सी'-सँगै अघि बढिरहेको छ। त्यही चिसो हावासितै अलिक ओरै 'एक्वा राइडिङ'-मा रम्नेहरूको कमी थिएनन्, न त वीचमा फोटो उतार्नेहरू कै कमी थियो। त्यहाँ सम्मिलित थियौं हामी पनि अर्थात मुनु र म।
'म त आइराखे कै हो नि दादा, तपाईंको खिचिदिन्छु नि।' भन्थी मैंले मुनुलाई 'फोटो खिचिदिन्छु' भन्दा, अनि क्यामेराको फ्रेम मिलाई-मिलाई कोण-कोणमा मलाई नै कैद गरिरहेकी थिई उ मेरै क्यामेरा र आफ्नो मोबाइलमा। घरिघरि मेरै भीडियो गरिरहेकी थिई। हाम्रै सामु फोटो खिचिरहेका केही युवाहरूलाई 'क्लिप' गर्न लायौं हामी दुईलाई दुवैको मोबाइल र क्यामेरामा। त्यहाँको स्मृति सम्झेका थियौं हामी दुवैले। 'आँखाले भ्याएसम्मको दृष्यावलोकनमा रमिरहेका थिए सबैका मनहरू' मलाई लागेको थियो।
'दादा माथि जाउँ' भनी मुनुले। अघि परैबाट क्यामेरामा मैंले कैद गरेको ठाउँ दैखाउँदै फेरि भनी 'त्यहाँबाट सबैतिर राम्ररी हेर्नसकिन्छ' अनि गयौं हामी। पहाडमा हुर्केको मान्छेलाई तराई-समतलमा एकैचोटी दिशाबोध नहुनु पनि स्वभाविक थियो। त्यस्तै भइरहेको थियो मलाई। घाम अस्ताउँदै गइरहेकोबाट हामी दक्षिणतिर सिँडी उक्लिरहेका थियौं, अहिले सम्झँदा। ठीक हाम्रो देब्रेतिर समुद्र लहरदेखि केही माथि ठूलठूला ढुङ्गाहरूमाथि बनिएको थियो एकजोडी प्रतिमा। सम्झें, डोना-पाउलालाई कतिले देखे-देखेनन्, तर तिनै अमर युगल प्रेमीको प्रतीक थियो त्यो प्रतिमा। 'कहिले बनेको होला?' भन्ने प्रश्‍न त्यतिबेला मभित्र थिएन। श्‍वेत रङ्गमा उभिएको डोना-पाउलाको प्रतिमा सायद प्रेम र शान्तिको प्रतीक पनि थियो, रङ्गजस्तै। त्यसैले आकर्षित गरिरहेको थियो पर्यटकहरूलाई, अनि त ती प्रतिमाहरूलाई पछि पारेर फोटो उतारिरहेका थिए धेरैले। साथ दिएका थियौं हामीले पनि फोटो उतारेर।
पर्यटकीय दृष्टिले आकर्षणको केन्द्र बनेको डोना-पाउलाको युगल स्वेत-प्रतिमा 1969-मा बारोनेश वाइ भोन लेस्नरले बनाएको कुरा पछि थाहा पाएँ। यसलाई गोवा पर्यटन बोर्डले 'इमेज अफ इण्डिया' भनेको रहेछ। एउटा प्रतिमा पूर्वसित फर्किएको छ अनि अर्को पश्‍चिमतिर। गोवा यात्राको समय यी दुई प्रतिमा 'डोना' र 'पाउला'-को हो भन्ने सुनेको थिएँ। तर, दुवै नारी स्वरूपमा उभिएको प्रतिमा हेरेपछि 'डोना' र 'पाउला'-को प्रतिमा होइन भन्ने प्रष्ट हुन्छ।
हामीमाथि पुग्यौं, जहाँ मानिसहरूको घुइँचो नै थियो। युवाहरू अधिक रहेको हुलमा बूढापाकाहरू पनि थिए थोरै। मुनु त्यहाँ पनि व्यस्त थिई मेरै फोटो उतार्न। मोबाइलमा दुवैले शेल्फी खिच्यौं। चित्त परेन सायद मलाई, त्यसैले पावर शट क्यानोनमा टाइमर शट लियौं। घरिघरि मुनुले मेरो फोटो लिइरहेकी बेला मैंले भिक्टोर साइन दिइरहेको थिएँ। मलाई थाहा छैन तर फोटो खिच्दा त्यसो किन गरिन्छ।
'आइस्....।' त्यहाँबाट देखिने चारैतिरको रमणीय दृष्यले मन लोभ्याएको थियो। पर.... परदेखि मुडुलिएर आइरहेको समुद्रका छालहरूले किनारामा निरन्तर हुत्याइरहेको थियो। 'पाउलाको प्रतीक्षामा रहेकी डोनाले यस्तै छालहरूमा कतिसम्म पाउलालाई खोजी होली? कतिदिन समुद्रका यी लहरहरूसितै अपार समुद्र तरिरही होली?' मनमनै प्रश्‍न गरें।
'बेलुकी 6 बजीभन्दा अबेर गर्‍योभने बस पाउनु गाह्रो हुन्छ' भनेका थिए 'काव्य होत्र'-का आयोजक समितिका प्रेमानन्द पौड्यालजीले। पञ्जीबाट सिधै बेङ्लोर जाने भएको थिएँ अमिता बहिनी-ज्वाइँलाई भेट्नु। त्यसैले पनि अरु साथीहरूसित म दिउँसैदेखि अलग भइसकेको थिएँ। सँगै जाउँ भनेका थिए मेङ्लोर जाने स्टेफनले मलाई। स्टेफनसित काव्य होत्र मै भेट भएको। स्टेफन एक असल कवि। पेशाले महाविद्यालयका प्राचार्य। उनकोमा जाने ढिप्पीले म परपरिँदै थिएँ। 'मेङलोर सँगै जाउँ, उतैबाट तिमी बेङ्लोर जाउ' भनेपछि मैंले हुन्छ भनेको थिएँ। उ खुशी भएर 'बेलुकी सँगै निस्किनु पर्छ' भनेकाले 'ठाउँ नयाँ भए पनि मलाई कुनै समस्या नहुने भयो' सम्झेर ढुक्क थिएँ। झरना दिदीले पहिल्यै सतर्क गराइसक्नु भएको थियो। सबै बिर्सिएर तर यतिबेला धेरैबेर बसिरहुँ लागेको मनलाई मैंले फर्काएर ल्याउनु मेरो विवशता थियो।
---
मुनुले बस स्ट्याण्डसम्म पुर्‍याउने भई। कला अकादमी पुगेर फेरि अर्को अटो लियौं। बाटोमा झट्ट सम्झेँ 'स्टेफनले सँगै जाउँ' भनेको थियो। फोन गरेँ। बस स्ट्याण्डमै भेट्ने सल्लाह भयो। हामी पुग्यौं। भेट्यौं। मलाई देख्ने बित्तिकै मेरो लागि रेलवे स्टेशन पुग्ने टिकट उसैले लिइदियो। अङ्ग्रेजी धेर बोल्ने स्टेफनले 'व्ही आर गेटिङ लेट यार.., दिस इज लाट्स बस...।' यस्तै के-के भनिरहेका थिए। केहीबेरपछि मुनुले विदा लिई गान्तोकमा भेट्ने सल्लाहसितै। हाम्रो बस गुड्न थाल्यो। दिशाबोध थिएन तर मलाई। बाहिरको दृष्य अवलोकन गर्दा-गर्दै झ्याप्प अँध्यारोले हामीलाई निल्दै लग्यो। अनि सोध्यो स्टेफनले मेरो टिकट। स्वीच अफ हुन लागेको मोबाइलमा वाट्सएप खोलेर देखाए। त्यसपछि उ रिसाएको थियो मेरो सिधै बेङ्लोर जाने टिकट देखेर। मलाई के थाहा 'मेङलोर' र 'बेङ्लोर' जाने ट्रेन अलग-अलग हो भनेर। मुडगाउँ रेलवेस्टेशनदेखि हामी छुट्टियौं। म लागेँ यसवन्तपूर स्टेसन, बेङगोलतिर अनि स्टेफन लागे मेङलोरतिर। त्यसपछि धेरै सम्पर्क गर्ने प्रयास गरें, तर भएन। सायद साह्रै रिसाएछ कि क्या हो कुन्नि।
---
मुनुसित अटोमा डोना-पाउलादेखि फर्किँदा 'डोना-पाउला घुमेको र डोना-पाउला कै कथाबारे लेख्नु मन लाग्यो' भनेको थिएँ। मुनुले खुशीसाथ 'दादा लेख्नुस् ल, मलाई पनि कथा लेख्नु पूरा मनपर्छ' भनेकी थिई। मुनु र म भेटेको लगभग एक महिनापछि मुनु अहिले गान्तोक आइपुगेकी छ। शीपमा ड्युटीकै समय लडेर खुट्टामा आएको समस्याका कारण धेरै महिनादेखि उपचार गराइरहेकी उनी ठीक नभएपछि आफ्नै गाउँ-घरको हावा-पानीमा बसेर उपचार गराउने उद्देश्यले उनी यहाँ छिन्। उपचारका अनेक उपायहरू गरिरहेकी छ अहिले मुनु।
डोना-पाउलाबाट फर्किँदै गर्दा उनको आग्रहलाई स्वीकार्दै 'हुन्छ लेखेर पठाउँछु नि ल' भनेको मुनु गान्तोक आइपुगेको यतिका दिनसम्म पूरा गर्न सकेको थिइनँ। तर अहिले पनि डोना-पाउलाको प्रेमकथाले मलाई माण्डवी र जुवारी नदीको छालले हुत्त्याएको चिसो हावाले जस्तै स्पर्श गरिरहेको छ।

गान्तोक सिक्किम, भारत

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु