इन्द्रमणि दर्नालको कृष्णा कृष्णा नाटकको उत्तरआधुनिक पठन

- नवीन पौड्याल

उत्तरआधुनिकता शब्द नेपाली र हिन्दीमा प्रचलित शब्द हो। यस संस्कृत शब्दले चौदिशामध्ये एक उत्तर र कुनै कुराको पश्चात भन्ने अर्थ बोध गर्दछ। यो शब्द यद्यपि संस्कृत शब्द भए तापनि अर्थ र प्रयोग चाँहि नेपालीमा संस्कृतबाट नभए अँग्रेजीको Post Modernism गरी दुई शब्दबाट हुबहु अनूदित भएर चलन चल्तीमा देखिन्छ। अँग्रेजीमा Post Independence, post Colonial र Post Graduate सरह Post Modernism प्रयोगमा आएको हो। अँग्रेजीको Post Independent शब्दले स्वतञ्त्रता पश्चात बुझिएसरह यस शब्दको अर्थ आधुनिकता पश्चात भन्ने नै बुझिन्छ। यस हिसाबले हेर्दा उत्तर आधुनिकता शब्दले आधुनिकतादेखि भिन्न वा यसदेखि मुक्ति बुझाउँछ। अँग्रेजीको Post Modernism शब्दको हुबहु अनूदित भएको यस नवनिर्मित शब्दको संरचना भने व्याकरणिक रूपमा त्रुटीपूर्ण देखिन्छ। यो शब्द उत्तरआधुनिक नभएर आधुनिकोत्तर सही हुन्छ। Post Graduate शब्दलाई स्नातकोत्तर प्रयोग भएसरह आधुनिकोत्तर शब्द नै उपयुक्त हुन्छ। यही उत्तरआधुनिकता शब्द नै रूढ भएर प्रयोगमा आएको देखिन्छ। यसका साथै उत्तरआधुनिकताले युग चेतना र प्रवृत्तिपरक चेतना दुवै बोध पनि हुन्छ।
ल्योतार, ज्याँ बुद्रियाँ, फ्रेडरिक जेमसन, फुको, देरिदा, ग्राम्ची, अल्थुसर आदि चिन्तकहरूले उत्तरआधुनिकतामाथि निकै चर्चा परिचर्चा गरी यसलाई आधुनिकताभन्दा पर वा बेग्लैको अर्थ दिएका छन्। विधामिश्रण, विधाभन्जन, विमिथकीकरण, विपरिचितिकरणदेखि लिएर अनेक विषयवस्तुलाई उत्तरआधुनिकले समेटेको देखिन्छ। उत्तरआधुनिकताका सबैभन्दा प्रखर व्याख्याता ल्योतार हुन्। उनका अनुसार ज्ञान र सूचनाहरू नै शक्तिका केन्द्र हुन्। यद्यपि ज्ञानको व्यापारीकरण पनि हुन्छ। सर्वसत्तावादी, सार्वभौम सत्य, महावृतान्त, महान कथन, मिथक आदिप्रति उत्तरआधुनिकताले अविश्वास व्यक्त गर्छ। उनका विचारका प्रमुख बुँदाहरूमा विचारधाराको अन्त, ईश्वरको अन्त, मानवको अन्त, इतिहासको अन्त, साहित्य, साहित्यकार र आलोचनाको अन्त हुन्।
उत्तरआधुनिकताबारे विभिन्न मत मतान्तर पाइन्छ। कतिले यसलाई पुञ्जीवादी अवधारणा मान्छन् भने कतिले सामान्य युगजन्य चिन्तन ठान्छन्। अबको युगमा धेरै परिवर्तन आइसकेका छन्। मानिसका रहन सहन, चिन्तन, जीवन शैली प्रायः सबैमा आमूल परिवर्तन आएको छ। पहिलेका सत्य ठानिएका कुरा अब सत्य नहुन सक्छन्। अब संसार एउटा ग्रामसरह बनेको छ र विश्वग्रामको अवधारणा अघि आइसकेको छ। पहिलो र दोस्रो विश्वयुद्धपछि संसारका मानिसहरूको मानसिक रूपमा ठुलो परिवर्तन आएको देखिन्छ। यही परिवर्तनको सिलसिलामा उत्तरआधुनिक अवधारणाले बल पाएको छ। बुँदागत रूपमा उत्तरआधुनिकतालाई यसरी बुझ्न सकिन्छ -
क) उत्तरआधुनिकतावाद व्यक्ति वा सामाजिक इकाइहरूको स्वतञ्त्रताका पक्षमा तर्क प्रस्तुत गर्दछ।
ख) यो पूर्णवादी र समग्रताको खण्डन गर्दछ।
ग) यसले महानलाई सामान्य बनाउँदछ।
घ) यसले शब्दकेन्द्रवाद नमानेर अर्थबहुलतालाई स्वीकार्दछ।
ङ) यसले एकता र एकलताको बदली अनेकलता, अनेकता र बहुलता मान्दछ।
च) यसको स्थितिमा कुनै आदर्श र ज्ञानको आधार मानवताको चेतना हुन्छ।
छ) यसले विकेन्द्रता, मुक्तता र व्यक्तिवाद स्वीकार्दछ।
ज) यसले भूमण्डलीकरण, स्थानीयता स्वीकार गर्दछ।
झ) यसले कृतिलाई विधाका रूपमा भन्दा पाठका रूपमा स्वीकार्दछ।
ञ) यसले कुनै जातिको उच्च र कुनैको निम्न संस्कृतिको खण्डन गर्दछ।
ट) यसले नयाँ नयाँ सूचना र प्रौद्योगिकीबाट प्राप्त ज्ञानलाई स्वीकार गर्दछ र व्यक्ति व्यक्तिको आन्तरिक र वैयक्तिक ज्ञानलाई समेत स्वीकार गर्दछ।
ठ) दलित साहित्य, आञ्चलिकता, नारी विमर्शका रचना आदि यसका उपलब्धि हुन्।
यद्यपि उत्तरआधुनिकता कतिपय सन्दर्भमा विरोधाभाषी छ। यसले कुनै पनि कुराको सुस्पष्टता धारणा दिँदैन बरू संशयता दिन्छ। यो एकप्रकारको स्पष्ट नभएको धमिलो (Vague) दर्शन हो। यो अवधारणा पुँजीवादी सोंचलाई सहयोग गर्ने, उनीहरूकै स्वार्थसिद्ध गर्ने कुरा हुन् भन्ने भनाइ मार्क्सवादी चिन्तकहरूको छ। हुन पनि यसबाट कुनै सिद्धान्तको निर्माण हुँदैन बरू पूर्वप्रचलित सिद्धान्तहरूलाई लथालिङ पार्ने काम गर्दछ। यसले कुनै पाठलाई जे जसरी बुझ्यो, त्यही नै सही बुझाइ हो भन्ने स्वीकार गर्दछ जो स्पष्टता छैन।

१. नाटकमा उत्तरआधुनिकताको प्रसङ्ग –
काव्येषु नाटकम् रम्यम भनेझैं साहित्यमा नाटक नै सबैभन्दा कलापूर्ण विधाका रूपमा परिचित छ। नाटकमा बहुविध प्रयोग, कला र तकनिकीगत युक्तता पाइन्छ। नाटकभित्र बहुआयामिक कला कौशल प्रदर्शन गर्न सकिन्छ। यसभित्र अभिनय, गायन, नृत्य, संगीत, ध्वनि, प्रकाश, चित्रकारिता, वास्तुकारिता, सज्जा इत्यादि सबै प्रयोग गर्न सकिन्छ। सुनेर र हेरेर प्राप्त हुने अलौकिक आनन्द नै नाटकको मूल विशेषता र उपलब्धी हो। संस्कृत साहित्यमा नाटकको धेरै अध्ययन, अनुसन्धान, र वर्गीकरण गरिएको छ। यद्यपि पूर्वीय र पाश्चात्य अध्ययनको घेराभित्र नाटक नअँटेर नयाँ नयाँ शिल्प प्रवधि र तकनिकीगत कुराबाट नाटक अघि बढिसकेको छ। अबका नाटक रङ्गमञ्चमा मात्र सिमीत नभई खुला रूपमा पनि प्रदर्शित हुने गर्छन्। सडक नाटक, खुला रङ्गमञ्च, दर्शकबिचबाट पात्रको उपस्थिति, नाटकभित्र नाटक, अनाटक इत्यादि विभिन्न कुराहरू देखा परेका छन्। यसैगरी कथानाटक, ब्ल्याक थिएटर आदि पनि विकसित भएको देखिन्छ। सामान्यतया नाटक दुइ किसिमले आस्वादन हुन्छन् – रङ्गमञ्चीय र पाठनीय। यद्यपि नाटक मञ्चित नै हुनुपर्छ तर पनि जम्मै नाटक मञ्चित हुँदैनन्। यस्ता पाठनीय नाटकहरू पनि नेपालीमा धेरै लेखिएका छन्। नाटकका निम्ति नाट्यपाठ, नाट्यगृह, नाट्यकलाकार, नाट्यसामग्री र नाट्यप्रेक्षक आदिको आवश्यकता पर्दछ। नाट्यगृहलाई प्रेक्ष्यागृह, नाट्यघर, नाट्यमञ्च, रङ्गशाला आदि पनि प्रयोग हुन्छ। नाटककले सधैं नावता समक्ष उपस्थित चुनौतीहरूलाई दर्शकसमक्ष प्रत्यक्ष गराउंदछष उत्तरआधुनिकता द्रवारा प्रभावित नाटकहरूमा दर्शकहरूलाई यी चुनौतीहरूसँग कथावस्तुले मात्र होइन शिल्प सैली अनि अभिनयका माध्यमहरूद्वारा गहराइन्छ।
इन्द्रमणि दर्नालको कृष्णा कृष्णामा उत्तरआधुनिक चेतना
इन्द्रणणि दर्नाललाई एक सफल नाटककार र कथाकारका रूपमा पाएका छौं। अझ उनी एक सशक्त नाटककारका रूपमा चर्चित छिन्। हालसम्म उनका नाटकहरूमा ययाति (नाटक सङ्ग्रह, २००२), ’अक्षि-भू‛ (गीति नाटक सङ्ग्रह, २००६), र ‛कृष्णा!! कृष्णा!!’ (२००९) प्रकाशित देखिन्छन्। उनको एउटा कथासङ्ग्रह म्याडम अनि अन्य कथाहरू (१९९९) प्रकाशित देखिन्छ। यीमध्ये उनको ‛कृष्णा!! कृष्णा!!’ भने सबैभन्दा चर्चित र सफल देखिन्छ। यसमा उत्तरआधुनिकताको चेतना प्रबल रूपमा देख्न पाइन्छ। यसमा महाभारतको मिथकलाई विभिन्न दृष्टिकोणबाट प्रस्तुत गरे विमिथकीकरण गरिएको छ।
१. कथावस्तु - कृष्णा कृष्णा नाटकको मुख्य कथावस्तु महाभारतको एक प्रसाङ्गिक कथावस्तुको रूपमा रहेको द्रौपदीको जीवनी हो। यसमा द्रौपदीको जीवनमा जन्मदेखि लिएर बनाएर लेखिएको छ।
२. विमिथकीकरण - यसभित्र नारीवादी चेतना, विशेष पात्रलाई सामान्य र सामान्य पात्रालाई विशेष बनाइएको छ। रामायणका प्रतिष्ठित र विशेष पात्रका रूपमा रहेका श्रीकृष्ण, युधिष्ठिर, भीम, अर्जुन, भीष्म पितामह, धृतराष्ट्र आदि अति सामान्य पात्रका रूपमा प्रस्तुत छन् भने द्रौपदी, सत्यभामा, कुन्ती, अम्बा शिखण्डी आदि समान्य पात्राहरूलाई विशेष दर्जा दिइएका छन्। नारीका दृष्टिमा भीष्म पितामह, युधिष्ठिर, अर्जुन अति सामान्य स्वार्थी र नारीको महत्त्व नबुझ्ने पात्रका रूपमा उभ्याइएका छन्। यसमा महाभारतको कथा नै समेत भिन्नै प्रकारले प्रस्तुत गरिएको छ। सञ्जयले अन्धा राजा धृतराष्ट्रलाई युद्धको प्रत्येक पलको खबर तथा द्रौपदीहरूले भीष्म पितामहको बितेको जवानीको इतिहासको घटनालाई चिहाउन कुनै एउटा चाक्षुस नामक अत्याधुनिक दुर्वीक्षण यञ्त्रबाट अवलोकन गरिएको छ। महाभारतको युद्धको कारणलाई अर्कै दृष्टिबाट हेरिएको छ। यसमा पात्रको नामकरण, तिनका भिन्नाभिन्नै प्रकृति र कार्यबाट विपरिचितिकरण गरिएको छ। नामकरणमा पनि विशेष ध्यान दिइएको छ। सामान्य र प्रचलित पात्रनामलाई उनीहरूका अप्रचलित नामलाई अघि सारिएको छ। जस्तै द्रौपदीलाई कृष्णा, अर्जुनलाई पार्थ, श्रीकृष्णलाई यशोदानन्दन आदिको प्रयोग गरिएको छ। यतिसम्म कि श्रीकृष्णलाई ईश्वरका रूपमा नलिएर धृतराष्ट्र, गान्धारी, दुर्योधन र शकुनीका नजरमा एकजना छली, षडयन्त्रकारी र सामान्य पुरूषका रूपमा उभ्याइएको छ। यसमा पाण्डव शिविरको महानतालाई अस्वीकार गर्दै अन्यको पनि उत्तिकै महत्त्व प्रदान गरिएको छ। नारी, सिपाही, सामान्य मानिस आदिका नजरबाट अर्जुन र उनका दाजुभाइको सर्वत्र प्रशंसा मात्र नभई निन्दा पनि गरिएको छ।
३. विपरिचितीकरण – प्रस्तुत नाटकमा केही प्रख्यात पात्रहरूको विपरिचितीकरण गरिएको छ। महाभारतका द्रौपदी, भीष्म पितामह, श्रीकृष्ण, कुन्ती, कर्ण, युधिष्ठिर, भीम, अर्जुन, दुर्योधन, धृतराष्ट्र, गान्धारी आदिका साविक चरित्रभन्दा भिन्नै चरित्रको प्रस्तुती गरिएको छ। महाभारतको गरिमामय त्यस्ता चरित्रहरू यहाँ सामान्य मानवका रूपमा मात्र प्स्तुत छन्।
४. परिवेशगत संचेतना – प्रस्तुत नाटकलाई नाटककारले पौराणिक नाटक भनेर तोकेकी छन्। यसको परिवेश महाभारतकालीन पौराणिक रहे तापनि यसलाई समसामयिक परिवेशमा अध्ययन गर्न गरिएको छ।
५. नारीवादी चेतना - प्रस्तुत नाटकलाई पूर्ण रूपेण नारीवादी मान्न नसकिए तापनि यसमा नारीवाद केही पक्ष परिलक्षित छन्। नाटकको नामकरण नै द्रौपदीको अप्रचलित नाम कृष्णालाई लिएर गरिएको छ। उनी जन्मिँदा कालो वर्णको भएर उनलाई कृष्णा भनिएको नाटकमा नै उल्लेख पाइन्छ। यस नाटकमा द्रौपदीको बहुविवाहलाई नारीवादी दृष्टिकोणबाट हेरिएको छ। पाँच पाण्डवकी साझा स्वास्नी द्रौपदीलाई एकजनाले एकेक वर्ष राख्ने र यौनभोग गर्ने प्रावधान राखेको उल्लेख पाइन्छ।
६. अन्यका कुरा -
७. पात्र-पात्राको नामकरण ढाँचा
उत्तरआधुनिकताको सन्दर्भमा नाटकको मूल्याङ्कन र उपसंहार


पेदोङ सरकारी महाविद्यालय

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु