साहित्यिक नेतृत्वका नायक रेग्मी

- रविलाल अधिकारी

१. परिचय सम्पर्क :
म वनारस नजाँदै वनारसवाट पढेर आएका मेरा गाउँका गुरु वृहस्पति अधिकारीले आफ्ना वनारसकालीन साथीहरुका नास्तिक क्रियाकलाप वताउँदा आफू जस्तै धोती फेरेर भात नखाने पूर्वका साथी भनेर गणेश भण्डारी, प्रेमचन्द्र भण्डारी, चूडामणि रेग्मी आदिको नाम लिनुभएको थियो । म वनारस गएपछि मैले पढ्‍ने नेपाली संस्कृत महाविद्यालयमा सँगै पढ्ने र उक्त महाविद्यालयका छात्रावासमा सँगै वस्ने पूर्व ६ नं. चैनपुर (हाल सङ्‍खुवासभा) का एक जना साथी प्रेमचन्द्र र गणेश भण्डारीका निकटताका रहेछन्। वल्लभ मणि भण्डारी नाम गरेका ती मित्रले भण्डारीवन्धुहरुका विषयमा सोद्‍धा जानकारी गराए, तर चूडामणि रेग्मीजीका विषयमा वताएनन्। साहित्यिक नाता नभएकोले प्रेमचन्द्र भण्डारी हुलाक नियन्त्रक भएर गण्डकी अञ्‍चल हुलाक नियन्त्रण कार्यलय, पोखरामा आएका भए पनि मैले भेट गर्न खोजिन । गणेश भण्डारीलाई आफू पनि प्राध्यापन पेशामा संलग्न भएपछि भेटेको हुँ । चूडामणि रेग्मीजीलाई गणेश भण्डारी भन्दा पनि पहिले नै भेटेको थिएँ। —साहित्यिक‘ र —युग ज्ञान‘ साप्‍ताहिकका सम्पादक रेग्मीजी पत्रपत्रिकाका रचनाका आधारमा मसँग परिचित हुनु स्वभाविक थियो । म उहाँलाई राम्ररी नचिने पनि गुरु बृहस्पतिले वताएका साहित्यिक साथी भन्‍ने चिन्दथे, नामका आधारमा मात्र । प्रत्यक्ष परिचय २०३९ सालमा भएको थियो । उहाँले आफ्नो परिचय दिंदाको प्रसङ्‍ग निकै रोचक रहेकाले मैले अहिलेसम्म पनि उहाँका वाक्‍यहरुमध्येका केहि वाक्‍यहरु विर्सन सक्‍तिनँ ।
२०३९ साल जेठ २७ गतेदेखि असार १० गतेसम्म त्रि.वि.का आयोजनामा पृथ्वीनारायण क्‍याम्पस; पोखरामा अनिवार्य नेपालीको अभिमुखीकरण कार्यशाला गोष्‍ठी भएको थियो। गोष्‍ठीको प्रारम्भमा जेठ २७ गतेका दिन गोष्‍ठीमा भाग लिन आउने सवै सहभागीले आ-आफ्नो परिचय वताउँदै गए । यसै क्रममा रेग्मीजीले पनि आफ्नो परिचय दिदैँ भन्‍नुभयो- मेरो नाम चूडामणि रेग्मी, म मेची क्‍याम्पस भद्रपुरमा पढाउँछु, मलाई त्रिभुवन विश्‍वविद्यालयले ठेकेको पद उपप्राध्यापक हो र मलाई यो पनि धेरै भएको छ, मेरो काम पढाउनु हो र म पढाउँछु, मलाई सहायक प्रध्यापकको पद भएपनि पुग्छ‘ आदि । अप्रत्क्ष रूपवाट चिनिएको साथी प्रत्यक्ष रूपवाट चिनिन खोज्दा उसले दिएको परिचय अनौठो लाग्यो मलाई। के आशयले ती वाक्‍यहरु निस्केका हुन् मलाई जानकारी भएन; तर पछि वुझ्दै जाँदा सहप्राध्यापकको अन्तरवार्तामा विशेषज्ञ वनेर वसेका डा. वल्लभ मणि दाहाल, डा. वासुदेव त्रिपाठी, डा. केशवप्रशाद उपाध्याय, डा. चूडा मणि वन्धुमध्येका आफ्ना विशेषज्ञहरुलाई आफूलाई असफल वनाएकामा आक्रोश देखाउँदा, ठेकेको पद उपप्राध्यापक हो र मलाई यो पनि धेरै भएको छ‘ जस्ता वाक्‍यहरु वोल्नुभएको रहेछ । संस्कृतमा मात्र आचार्य गरेका र नेपालीमा एम.ए. नगरेका भनेर पोखराका भोलानाथ पराजुलीलाई र झापाका चूडामणि रेग्मीलाई सहप्राध्यापक नवनाएका हुन् रे भन्‍ने चर्चा त्यसै क्रममा चलेको थियो । २०४७ सालमा प्रजातन्‍त्रको पुनर्बहाली भएपछि स्वत: प्रमोशनको प्रक्रिया लागू गरिंदा रेग्मीजी सहप्रध्यापक हुनुभयो। भोलानाथ पराजुली पहिले नै पेन्शनमा वसिसक्नुभएको थियो । २०५५ सालपछि रेग्मीजी पनि पेन्शनमा वस्नुभएको छ ।
साहित्यिक रूपवाट अप्रत्यक्ष चिने पनि पहिलो पटक पोखरामै प्रत्यक्ष चिन्‍ने मौका पाएपछि रेग्मीजी र म चिरपरिचित जस्तै वन्यौं। उहाँले २०३८ सालमा —जुही‘ साहित्यिक त्रैमासिक प्रकाशन कार्य थाल्नुभएको रहेछ र तीन अङ्‍क प्रकाशित भइसकेका रहेछन्। ती अङ्‍कहरु हामीलाई पढ्न दिने र विक्रीका लागि जिम्मा पनि दिने काम उहाँले गर्नुभयो । रेग्मीजी सेमिनार सकेर झापा गएपछि विकेको पैसा र वाँकी पत्रिका मैले पश्‍चिमाञ्‍चल क्षेत्रीय शिक्षा निर्देशनालयका डिपुटी डाइरेक्टर नगेश निरौलाजीलाई वुझाएँ । निरौलाजी मेरा वनारसकालीन मित्र हुनुहुन्थयो र उहाँको जुवाँइ हुनुहुँदो रहेछ। निरौलाजी पोखरावाट सरुवा भएर अन्यत्र गएपछि पोखरातिर साहित्यिक सम्पर्क गर्ने आधार रेग्मीजीले मलाई वनाउनुभयो। खास गरी पृथ्वीनारायण क्‍याम्पसमा —जुही‘ का अङ्‍कहरु राख्‍ने, पुस्तकहरु राख्‍ने सम्बन्धमा मलाई जिम्मा दिनुभयो। रेग्मीजी जस्तो साहित्यिक पत्रिका प्रकाशित गरेर विविध प्रतिभालाई वाहिर देखापर्ने मौका प्रदान गर्ने व्यक्तिलाई सहयोग गर्न त्यति जिम्मा लिन पाउनु मेरो निमित्त सौभाग्यकै कुरो थियो र मैले यथासक्‍य जिम्माको निर्वाह गरें। २०५२ सालका असारमा पोखराको पृथ्वीनारायण क्‍याम्पसमा हुने त्रि.वि.का परीक्षामा अव्‍जर्भर भएर उहाँ फेरी पोखरा आउनुभयो। —न्यु सांग्रिला होटल महेन्द्रपुलमा डेरा लिएर वसे पनि उहाँ र मेराबीच भेटघाट र कुराकानी धेरै भए। रचनाहरुलाई छपाएर विकाउन पनि पर्छ भन्दै कतिपय विक्रिका स्रोत वताउने र अरु व्यवहारिकताका कुराहरु पनि सिकाउने काम उहाँले गर्नुभयो। घरमा आएर श्रीमती र छोराछोरीहरुसँग चिनजान कुराकानी गर्ने, खाना खाने जस्ता काम पनि उहाँले गर्नुभएकोले म मात्र नभई मेरो परिवार नै उहाँसँग परिचित हुन पुगेको छ।
जुन समयमा मैले रेग्मीजीलाई प्रत्यक्ष रूपमा देख्‍न पाएको थिएँ, त्यति बेला उहाँले साहित्यमा विशेष चासो राखेर कलम चलाएको जस्तो लागेको थिएन। उहाँका २०१२ सालमा प्रकाशित —पहिलो यात्रा‘ कथासंग्रह, 2036 सालमा प्रकाशित —भुमरी‘ कथा संग्रह र 2030 सालमा प्रकाशित —साधना‘ निवन्ध संग्रहका विषयमा केही कुरै नगरी 2035 सालमा प्रकाशित —धूनमा घुन‘ निवन्ध संग्रह मात्र मलाई पढ्न दिनाका कारणले उहाँका साहित्य साधनाका व्यापकतालाई चिन्ह सक्ने क्षमता मैले आर्जन गरिन। सामान्य रूपमा साहित्य लेखे पनि मूल रूपमा रेग्मीजी पत्रकार प्राध्यापक हुनुहुन्छ भन्‍ने मलाई लाग्यो, तर 2040 सालपछि उहाँले त्रि.वि. सञ्‍चयकोषवाट ॠण समेत लिएर आफ्ना सारा छरिएका कृतिहरु छपाउने साहस गर्नुभएछ। 2052 सालमा दोस्रो पटक पोखरा आउँदा उहाँले धेरै कृतिहरु ल्याएर पढ्न दिनुभयो र —यक्षको पोखरा-प्रवास‘ काव्य पनि लेख्‍नुभयो । उहाँको साहस देख्ता म प्रभावित भएँ। 2012 सालमा वनारसमै छँदा —पहिलो यात्रा कथासंग्रह छपाएको कुरा जानकारी गराउँदै —भुमरी‘ कथा संग्रह र —साधना‘ निवन्ध संग्रह दिन नसके पनि —भावना‘ (लघुकाव्यसंग्रह- 2050), पारिजात: परिचय र मूल्याङ्कन (2050) गजवाष्‍टक (हास्यव्यङ्गय कविता- 2051) र नेपाली भाषा र व्याकरणका —केही विषय : केही छलफल (2052) नामका कृतिहरु उहाँवाट प्राप्‍त गरेर पढ्ने सौभाग्य पाएँ । 2052 सालमा प्रकाशित —कृति र कृति‘ समालोचना सँगालो पनि उहाँले पठाउनु भयो । उहाँका यी सवै साहित्यिक कृतिहरुको अध्ययन गर्दा उहाँको साहित्य साधनाका व्यापकतालाई वुझ्‍ने अवसर प्राप्‍त भयो । उहाँले —साहित्यकार चूडामणि रेग्मीको जीवनी, व्यक्तित्‍व र कृतित्वको अध्ययन‘ शिर्षकको आफू विषयक शोधपत्र (2054) पनि मलाई पठाएर आफ्‍ना विषयमा पूर्ण जानकारी लिने सौभाग्य प्रदान गर्नुभयो । विराटनगरका स्नातकोत्तर क्‍याम्पस नेपाली एम.ए. मा अध्यन गर्ने भूमिप्रसाद दाहालले आठौँ पत्रका प्रयोजनका लागि लेखेका यस शोधपत्रमा रेग्मीजी सम्बन्धी धेरै जानकारी प्रस्तुत गरेका छन् ।यसवाट रेग्मीजीको साहित्यिक स्वरूप पनि जानकारीको विषय वन्छ । यसका आधारमा र आफूले अध्ययन गरेको रेग्मीजीका कृतिहरुका आधारमा उहाँका साहित्यिक स्वरूपलाई धेरै मात्रामा चिन्‍न सकिन्छ; त्यसैले म यहाँ आफूले चिनेका रेग्मीजीका साहित्यिक स्परूपलाई छोटो रूपमा प्रस्तुत गर्छु ।
२. रेग्मीको साहित्यसाधक स्वरूप :
साहित्यकार चूडामणि रेग्मीले नाटक र उपन्यास लेख्‍ने प्रयास गरेको देखिँदैन भने वाँकी रहेका साहित्यका अरु विधानहरु उहाँका कलमले नछोएका छैनन्। साधनाका क्रममा कथा, निवन्ध, कविता र समालोचनालाई उहाँले लेखेको मोटामोटी क्रम देखिन्छ। यसो त वनारसमा रहँदा नै कविता, कथा र समालोचना लेख्‍न थालेको देखिन्छ ।(दाहाल, 2054: 10), तर कृतित्वका संकलनका हिसावले कथा संग्रह 2012 सालमा प्रकाशित, निवन्ध संग्रह 2030 सालमा प्रकाशित, कविता-काव्य संग्रह 2050 र 2051 मा प्रकाशित तथा समालोचना कृति 2050 र 2053 मा प्रकाशित भएका आधारमा यो क्रम निर्धारण गरिएको हो । सामान्यतया साहित्यमा प्रवेश गर्ने प्रतिभा सर्वप्रथम कवि नै वन्छ र रेग्मीजी पनि 2012 सालमा "हामी युवक वढ्दै छौँ" भन्‍ने कविता छपाएर पहिले कवि वन्‍नुभएको थियो; तर पहिले कविता संकलन प्रकाशित नगरी कथासंग्रह प्रकाशित गरेको हुँदा सामान्य साहित्यिक परम्पराभन्दा उहाँको साहित्यिक विकास अपवाद जस्तो देखिएको हो । उहाँलाई कविताले आकर्षित गरेर लोभ्याइ रहेको थियो तापनि २०५० सालमा मात्र काव्य संग्रह प्रकाशित गर्न पुग्नु भयो। कथा संग्रहरु र निवन्ध संग्रहहरु पहिले नै प्रकाशित गर्नु भयो, त्यसैले उहाँको साहित्यिक विकास अववाद जस्तो देखिएको हो। समालोचना विधा दृष्‍टिकोणमा परिपक्वता आएपछि अलि पछि नै लेखिने भएकाले पछि प्रकाशित हुनु स्वभाविक हो। यसरी कविता कृतिको प्रकाशन केही पछि प्रकाशित भएको देखिएपनि कविता, कथा, निवन्ध र समालोचना जस्ता विधाहरुमा रेग्मीजीले योगदान पुर्‍याएको देखिन्छ ।
साहित्यसाधक रेग्मीका व्यापकता विषयमा अध्ययन गर्न खोज्दा सकभर धेरै लेख्‍न खोज्ने राहुल साङ्‍कृत्यायनको स्वभाव सम्झन मन लाग्छ। —महापण्डित राहुल साङ्‍कृत्यायनको नेपाल सम्बन्ध‘ भन्‍ने लेखमा राहुल साङ्‍कृत्यायनको स्वभाव वारे वताउँदै साहित्यकार-पत्रकार रोचक घिमिरेले एक ठाउँमा भनेका छन् : "सकेसम्म वढी लेख्‍ने छटपटी उनलाई सधैं हुन्थ्यो । आफैं लेख्‍न नभ्याएर उनले व्यासले झैं आफूले वोलेर अरुलाई लेख्‍न पनि लगाए" (घिमिरे, २०५१: ३८०/८१) रेग्मीजीमा पनि राहुलको प्रभाव परेको छ, त्यसैले आफ्ना मनका भावावेगलाई सकभर लिपिवद्‍ध गर्नतिर उहाँले चासो राखेको देखिन्छ। कृतित्वमा राहुलका —घुमक्‍कड शास्त्रको प्रभाव उहाँको —घुम्दा फिर्दा संग्रहका निवन्धमा परेको कुरो "प्रस्तुत निवन्धको रचना, विषयवस्तु आदिमा राहुल साङ्‍कृत्यायनको प्रभाव परेको पाइन्छ" (दाहाल, २०५४:८४) भनेर उल्लेख गरी देखाइएको छ। प्रस्तुत सन्दर्भमा राहुल र रेग्मीजीको तुलना गर्न खोजिएको होइन तापनि सकभर धेरै भावावेगलाई लिपिवद्‍ध गर्ने गुण राहुलवाट रेग्मीजीले पनि ग्रहण गरेको हो कि भन्‍ने सम्झना मात्र गर्न खोजिएको हो। भावावेगलाई नछोडी समेट्न खोज्दा विधागत शिल्पसंरचना र परिमार्जन देखापर्न नसक्नु स्वाभाविक हो तैपनि आ-आफ्नो स्वभावका आधारमा साहित्यकारहरु कलम चलाउँछन् र रेग्मीजीले पनि शिल्पसंरचना र परिमार्जन पक्षमा भन्दा सवै भावावेगलाई लिपिवद्‍ध गर्ने पक्षमा जागरुकता लिनुभयो। कुनै विधालाई साधनाको विशिष्ट क्षेत्र वनाएर कलम चलाउने साधकहरुका सापेक्षतामा सवै विधामा विशिष्ट क्षेत्र वनाएर कलम चलाउने साधकहरुका प्रभावशाली हुन नसक्ने यथार्थलाई कसैले नकार्न सक्‍तैन, तर आफ्ना समाज वा देशमा साहित्यिक विकासको स्थिति सामान्य छ र साहित्यका माध्यमले जागरण ल्याउन पर्नेछ भने साधकहरुले धेरै विधामा कलम चलाउने गर्छन्। वालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान, मोदनाथ प्रश्रित आदिले धेरै विधामा कलम चलाएको कुरा यहाँ उदाहरणीय छ। यसो भए तापनि आज वढी महत्वाकाङ्क्षा वा लोभकारण भई एउटा व्यक्‍तिले धेरै विधामा कलम चलाएको देखिन्छ। "त्यसो गर्दा निजलाई क्षणिक लाभ भएपनि निजको सृजनात्मक लाभ भने अलपत्र पर्न सक्छ। यही (यसै?) कारणले हाल साहित्यमा राम्रो साधना भएको छैन, (सुवेदी, २०५३/५४, ९३) भन्‍ने भनाइ प्रस्तुत सन्दर्भमा मननीय छ, तर रेग्मीजीले महत्वकाङ्क्षा र लोभलाई भन्दा भावको पोख्‍ने कौतुहललाई प्राथमिता दिएर यो वहुविधामा कलम चलाउने काम गर्नुभएको हो। अन्यथा उहाँका चरित्रवाट लोभ र लाभका वाटामा दगुरेको क्रियाकलाप झल्कन्थ्यो। उहाँका समकालीनहरु पचासतिर नाचेर पचासथरी विरोधभासपूर्ण कुराहरु वोलेर अर्थोपार्जन गर्न लालयित छन् र लोभको घृणित रूप देखाइरहेका छन् भने उहाँमा कुनै किसिमको उतार चढाव नआई सधैं एकै किसिमले साहित्य साधना गर्ने प्रवृत्ति हुनु महत्वाकाङ्क्षा र लोभले प्रभाव नपारेको प्रमाण हो। यसैले उहाँको वहुविधामा फैलिएको व्यापकता जागरण ल्याउनका निमित्त स्पुरण भएको भावावेगको प्रतिफल हो, महत्वाकाङ्क्षा र लोभको प्रतिफल होइन भन्‍ने यथार्थ जाहेर हुन्छ। जनजागरणका परिवेशमा गरिएको काम शिल्पसंरचना र परिमार्जनका हिसावमा मध्यमस्तरकै देखापरे पनि लोकमा आदरणीय र महत्वको ठहरिन्छ, त्यसैले रेग्मीजीको साहित्यसाधना अन्याय, अत्याचार, शोषण र दवावभित्र थिचिएर, विकृति, विसङ्‍गति, निराशा, कुण्ठ र पलायनमा रुमलिएर वाटो पहिल्याउन नसकी अलमलिएका नेपाली जनतालाई उद्‍धार गर्नका निमित्त मृतसञ्‍जीवनी वुटी समान भएको छ। जनजनमा आफ्नो विचार पुर्‍याउन सकेमा वाणी सार्थक ठहरिन्छ अलङ्‍कारको जरुरत पर्दैन भन्‍ने कवि सुमित्रानन्दन पन्तको मान्यता छ। यस सम्बन्धमा पन्तको भनाइ निम्न प्रकार (राकेश, २०४४:२७०):
तुम वहन कर सको जन-जन में मेरे विचार
वाणी मेरी, चाहिए तुम्हें क्या अलङ्‍कार !
कवि पन्तले भने जस्तै जन-जनका मनमा आफ्नो विचार पुर्‍याउने नियतले वाणीको साधना गरिएको छ भने वाणी विशेष अलङ्‍कृत नभए पनि शोभनीय नै मानिने हुँदा साहित्यकार रेग्मीका साहित्य साधनालाई हामी शोभनीय प्रयास मन्छौँ। उहाँले समाजमा व्यक्‍त गर्न आवश्‍यक देखेका विषयहरुलाई आफ्ना विविध विधाका रचनाहरुमा व्यक्‍त गर्नु भएको छ। कथामा विकृति र विसङ्‍गतिको चित्रण गरेर तथा आफ्नो नैतिकताको वाटो देखाएर, कवितामा भावको उच्छलन देखाउने र अन्याय असमानताको विरोध गर्ने भएर, निवन्धमा हास्य र व्यङ्‍गद्वारा तीखो प्रहार गरेर एवम् समालोचनामा समाजलाई वाटो देखाउने राम्रा कृतिहरुको प्रशंसा गर्दै फ्रायडवादी, विसङ्‍गतिवादी, पलायनवादी कृतिहरुको कटु आलोचना गरेर उहाँले साहित्यिक लेखनलाई सार्थक पार्नुभएको छ।
संलग्नताका हिसाववाट साहित्यकार चूडामणि रेग्मीको अध्ययन गर्दा उहाँ कुनै विधामा लागेर पनि धेरै समय दिन सक्ने देखिनुहुन्‍न। सहज र सरल रूपमा स्फुरण भएका कुराहरुलाई सामान्य मेहनत गरेर पाठकसमक्ष ल्याउने हतारमा उहाँ उत्सुक हुनुहुन्छ। स-साना हास्यव्यङ्‍गहरु कविताहरु (गजवाष्टक १०८ र अन्य), स-सानो काव्यसंग्रह (भावना २०५०), काव्य (यक्षको पोखरा प्रवास २०५२ मा ३४ वटा पद्यमात्र), स-साना निवन्ध संग्रह (साधना २०३०, धूनमा घुन २०३५) र निवन्धहरु, स-साना कथासंकलन (पहिलो यात्रा २०१२ र भूमरी २०३६) र फुटकर कथाहरु तथा समालोचनामा पारिजात सम्बन्धी कृति (पारिजात: परिचय र मूल्याङ्‍कन-२०५०) एवम् अन्य समालोचनाहरुको अध्ययन गर्दा उहाँको साहित्यलेखनमा विशेष प्रयास र संलग्नताको भूमिका रहेको देखिँदैन, तर पनि साहित्यिक जागरण ल्याउनका लागि आफू पनि लेख्‍ने र अरूलाई पनि लेख्‍नुपर्छ भन्‍ने भावनाले अभिप्रेरित गर्ने वातावरण वनाउने दिशामा रेग्मीजीको जाँगर मोतीराम भट्टको जस्तै भएर चलेको छ। यस सन्दर्भमा हामी उहाँलाई साहित्यिक नेता मान्छौँ।
3. रेग्मीको पत्रकारिता- अभियान:
साहित्यकार चूडामणि रेग्मीलाई पत्रकारका रूपमा अध्ययन गर्न खोज्दा २०१३ सालमा वनारसमा नेपाली संस्कृत छात्र-परिषद्को वार्षिक मुखपत्र —छत्रदूत‘को सम्पादनदेखि अध्ययन गर्न पर्ने हुन्छ। विराटनगरमा —छहारी‘ द्वैमासिक २०१५ मा र —जनवार्ता 2020‘ मा सम्पादन गरेपछि उहाँ झापातिर लाग्नुभएको हो। झापा पुगेपछि "मोती" (२०२३), "धारा" (२०२४), "कास्तूरी" (२०२४), "शारदा श्री" (२०२५/२६)", "अध्ययन" (२०३६) जस्ता पत्रिकाहरुको सम्पादन गर्दै २०२६ सालदेखि "युगज्ञान" साप्ताहिकको सम्पादन र प्रकाशन आफैंले गर्नुभयो। २०३८ सालदेखि साहित्यिक त्रैमासिक —जुही‘को सम्पादन र प्रकाशन पनि थपी २०५२ सालदेखि —यथार्थ कुरा‘ पाक्षिकको पनि सम्पादन र प्रकाशन गर्नुभएको छ। —यथार्थ कुरा‘ पाक्षिक पत्रिका भएपछि समाचारमूलक गतिविधिहरु त्यसैमा आउने हुँदा —युगज्ञान‘ साप्ताहिकको आवश्यकता नभएकाले अहिले —युगज्ञान‘ वन्द गरेर —जुही‘ त्रैमासिक र —यथार्थ कुरा‘ पाक्षिकलाई मात्र उहाँले प्रकाशित गर्नुभएको छ।
साहित्यकार रेग्मीजीको पत्रकारिता अभियान पनि साहित्यिक जागरणकै लागि भएको हो। उहाँले —युगज्ञान‘ साप्ताहिकलाई समाचारमूलक पत्रिकाका रूपमा साप्ताहिक वनाएर छपाउनु भयो, तर धेरै सामग्री समाचारका भन्दा साहित्यका नै दिनुभयो। त्यस्तै हाल प्रकाशित —यथार्थ कुरा‘ पाक्षिकलाई पनि समाचारमूलक भन्दा वढी साहित्यमूलक नै वनाउनुभएको छ। प्रशासकहरुलाई पत्रकार वनेर डराइदिनका निमित्‍त समाचार पत्रकारिता अँगाले पनि उहाँले विशेष लक्षित वनाएको क्षेत्र साहित्यिक जागरण हो, त्यसैले उहाँले समाचारमूलक प्रकाशन वनाएका पत्रपत्रिकामा पनि साहित्यिक सामग्री भर्नु भयो। समाचारमूलक पत्रपत्रिकैमा यसरी साहित्यिक सामग्रीलाई प्रधानता दिने रेग्मीजीले प्रकाशित गरेको साहित्यिक पत्रिका —जुही‘ स्वाभाविक रूपमै हामीलाई महत्वपूर्ण साहित्यिक सामग्री दिन सफल हुने नै भयो। अधिकांश रूपमा काठमाडौंका वरिष्ठ-गरिष्ठ भनाउँदा लेखकहरुलाई स्थान दिए पनि पूर्व मेचीदेखि पश्‍चिम महाकालीसम्मका लेखकहरुलाई समेटेर कुनै न कुनै अङ्‍कमा सवैलाई स्थान दिने काम —जुही‘ले गरेको छ। पूर्णाङ्‍क ७ लाई कथा अङ्‍क वनाएर अहिले फेरि पूर्णाङ्‍क ४२, ४३ र ४४ लाई पनि कथा अङ्‍क आदि वनाउनुभएको छ। त्यस्तै काव्य-अङ्‍क धनुषचन्द्र गौतम- अङ्‍क आदि गरी कतिपय विशेषाङ्‍क र कतिपय सामान्य अङ्‍कहरु —जुही‘का प्रकाशित भएका छन् र हाल ४४ पूर्णाङ्‍कसम्म यो प्रकाशित भएको छ। पहिलेका अङ्‍कहरुका जस्ता काठमाडौंका वरिष्ठ गरिष्ठहरुका रचना पछिका अङ्‍कहरुमा प्राप्‍त हुन नसक्नु, पत्रिकाको मोटाइ पनि पातलिंदै जानुजस्ता कतिपय गुनासाका कारणहरु अरु पत्रिकामा जस्तै जुहीमा पनि देखापर्न सक्छन्, यो अर्कै कुरा हो तर उपत्यकाभन्दा वाहिर प्रकाशित भएर यति समयसम्म जीवित रहने र यतिका अङ्‍कहरु प्रकाशित हुने —जुही‘ नेपालको एकमात्र पत्रिका देखिन्छ। यसलाई वचाउन रेग्मीजीका पसिना कम वगेका छैनन्। "जुही"का निमित्त आफ्ना छोरा प्रदीपमणिका धेरै पसिना वगेको र जिनातिना गरी निकाल्दै गरेको गुनासो रेग्मीजीका पसिना कम वगेका र जिनातिना गरी निकाल्दै गरेको गुनासो रेग्मीजीले व्यक्‌त गर्नुभएको छ (रेग्मी, २०५३/५४: २२) आफ्ना अभिव्यक्तिहरुलाई पनि ठाउँ दिन पाइने र साहित्यिक जागरणका लागि पनि विशेष भूमिकाको निर्वाह हुने हुँदा दु:ख दर्द सवै खटेर रेग्मीजीले यो पत्रिका वचाइ राख्‍नु भएको छ। अव त पत्रिका ननिकाले निद्रा नलाग्ने आदत पनि वसिसक्यो हो; त्यसैले —जुही‘को तीनमहिने प्रतिक्षा ढिलो हुने र पट्यार लाग्ने मानेर —यथार्थ कुरा‘ पाक्षिक पनि प्रकाशित गर्नु थाल्नुभएको छ।
पत्रकारिता-अभियानमा लागेर साहित्यकार चूडामणिजीले आफ्नो साहित्य साधना जारी राख्‍न सक्नुभयो भने अरू साहित्यकारहरुलाई पनि रचना प्रकाशन गरी चिनाइदिने काम गर्न सक्नुभो। यी काम वाहेक आफ्ना भाषा सम्वन्धी मान्यताहरु स्थापना गर्ने सक्नुभयो। यी काम वाहेक आफ्ना भाषा सम्बन्धी मान्यताहरु स्थापना गर्ने काम उहाँले —जुही‘ पत्रिकाका माध्यमले थाल्नुभयो। आज —यथार्थ कुरा‘मा पनि त्यही भाषा प्रयोग गर्नुभएको छ। उहाँले जतिसुकै जिद्दी गरे पनि —अ‘ लाई इकार (l) उकार (') मात्रा दिने भाषाको नियम वस्न कठिन छ जस्तो लाग्छ। झर्रो भाषा सम्बन्धी अरु नियमहरु लागू पनि हुन सक्लान्, तर मैले उहाँको निकटता पाए पनि, उहाँका भाषिक अभियानतिर चासो राहेको छैन र गुण गाउने वा निन्दा गर्ने दृष्टिले भाषाशास्त्री रेग्मीजलाई हेरेको छैन। म सहमत नभए पनि त्यो उहाँको स्वतन्त्रताको पक्ष हो र यतिकै कारणले उहाँसँगका मित्रतामा शिथिलता देखापर्दैन र पर्नु हुँदैन भन्‍ने मेरो धारणा छ। आफ्नो मान्यता अरुलाई लाद्‍न खोज्ने प्रवृत्ति रेग्मीजीमा पनि नभएकोले हाम्रा मित्रतामा वैमनस्य पैदा हुने संभावना छैन।
४. उपसंहार: २०१२ सालदेखि हालसम्म साहित्यकार वा पत्रकारका रूपमा सक्रिय रहेर कुनै न कुनै रूपले साहित्यको सेवा गरिरहने साहिसी, जागरुक र संयमी रेग्मीजी नेपाली भाषा र साहित्यसेवीमा उदाहरणीय व्यक्‍तित्व हुनुहुन्छ। उहाँ जति धैर्यशाली रहेर अटूट रूपमा आफ्नो साहित्यिक यात्रा र साहित्यिक पत्रकारितालाई अगाडि वढाइ रहन खोज्ने साहसी छोराहरु नेपाल आमाले कम प्राप्‍त गरेकी छन्। उहाँ जस्ता छोराहरु नेपालका प्रत्येक जिल्लामा जन्मने हो भने त नेपालको सांस्कृतिक, साहित्यिक र कलात्मक विकास कहाँ पुग्थ्यो ! कहाँ पुग्थ्यो। कमसेकम प्रत्येक अञ्‍चलमा एउटा-एउटा चूडामणि रेग्मी जन्मने हो भने पनि आज हामी यस किसिमको गर्दो मानसिकता लिएर पूँजीवादी र सामन्तवादी भड्काउहरुमा वहकिंदै निराशा, कुण्ठा, पलायन पालेर छाडावादी संस्कृतिको अनुसरण गर्ने, प्रशासकहरुको गुणगान गर्ने जस्ता काम गरी साहित्यिक मूल्यवत्ता वँचाउन नसक्ने स्थितिमा पुग्ने थिएनौँ। यद्यपि अपरिपक्व अवस्थामा लेखिएका वनारसकालीन कथाहरुमा यौनपरक अश्‍लीलताको आरोप रेग्मीजीका कथामा पनि लागेको थियो भन्‍ने जानकारी समालोचक गोविन्द भट्टले गराएको पाइन्छ (भट्ट, २०५३/५४: ११३), तर अपरिपक्‍व अवस्थावाट पार भएपछि एउटा समाजलाई परिवर्तन गर्ने लेखक र पत्रकारको दायित्व वोकेर सामाजिक विकृति, अन्याय, अत्याचार आदि नराम्रा पक्षको कटु आलोचना र व्यङ्‍गय गर्दै साहित्यिक कृति र पत्रपत्रिकाका लेख सम्पादकीयहरु रेग्मीजीले लेखेको देखिन्छ। खास गरी उहाँका पछिल्ला अवस्थाका कविता, निवन्ध र समालोचनाहरु लेखकीय दायित्वको निर्वाह गर्ने रचनाहरु हुन्। —गजवाष्टक १०८‘का कविताहरु तथा प्रकाशित र अप्रकाशित सवै निवन्ध र समालोचनाहरु व्यङ्ग्य, विद्रोह र आलोचनाका माध्यमवाट साहित्यिक नेतृत्व गर्न सक्षम छन्। हाम्रा देशका आजका परिवेशमा कलामा केही कमजोरी नै देखिए पनि साहित्यिक नेतृत्व यस्तै रचनाले गर्छन्, निराशा, कुण्ठा, पलायन रतिराग र प्रयोगवादका जिद्दीलाई वोकी जनतालाई भ्रममा पार्ने रचनाले कलात्मक भइटोपलेर पनि नेतृत्व गर्दैनन्‘ भन्‍ने यथार्थ आज मननीय छ र रेग्मीजीलाई साहित्यिक नेता मान्‍नुपर्ने देखिन्छ।
आफ्नो साहित्य साधनावाहेक साहित्य लेख्‍न रहर गर्ने अरु नवप्रतिभा, गाउँ ठाउँमा रहेका पुराना लेखक, टाढा-टाढाका लेखक सवैलाई आफ्ना पत्रपत्रिकाका माध्यमले प्रकाशमा ल्याएर र मुखले प्रेरणा, हौसला, आँट, भरोसा प्रदान गरेर पनि रेग्मीले साहित्यिक नेतृत्व गर्नुभएको छ। "लेख्‍ने व्यक्‍तिका लेखहरु रेग्मीले खोजी-खोजी छपाइदिएको पाइन्छ" (दाहाल, २०५४:१८) भन्‍ने कथन यस प्रसङ्‍गमा स्परणीय छ। आफ्ना रचनाका माध्यमले परिवर्तनको दिशा देखाई नेतृत्व गर्ने र अरु रचनाकारहरुलाई साहित्यतिर उन्मुख वनाएर मोतीराम भट्टले जस्तै नेतृत्व गर्ने भएकाले हामी रेग्मीजीलाई साहित्यिक नेतृत्वका नायकका रूपमा हेर्छौं। सधैं उहाँको सुस्वास्थ्य कायम रहोस् र नेतृत्वको गति अगाडि वढिरहोस् भन्‍ने म कामना राख्‍छु।
५. सन्दर्भ-कृति:
१. दाहाल, भूमिप्रसाद, २०५४ साहित्यकार चूडामणि रेग्मीको जीवन, व्यक्‍तित्व र कृतित्वको अध्ययन, एम्,ए.नेपालीको अप्रकाशित शोधपत्र, विराटनगर।
२. घिमिरे, रोचक, २०५१, "महापण्डित राहुल साङ्‍कृत्यायनको नेपाल सम्बन्ध" वगर वर्ष १२, पूर्णाङ्‍क ४३, उत्कृष्ट रचनाहरु - २०५०, पृ. ३८०-९१।
३. सुवेदी, होम, २०५३/५४, "छरिएका मुक्‍तकहरुमा चूडामणि रेग्मीका अभिव्यक्‍ति" —जनमत‘ साहित्यिक मासिक अभिव्यक्ति" —जनमत‘ साहित्यिक मासिक ५४ (चूडामणि रेग्मी अङ्‍क), पृ. ९३-९५।
४. रेग्मी, चूडामणि, २०५३/५४, "आफ्नै कुरो: आफ्नै हुँडलो", ऐजन, पृ. १९-२३।
५. भट्ट, गोविन्द, २०५३/५४, "रेग्मीलाई वधाई, दुवाललाई धन्यवाद" ऐजन, पृ. ११३।
६. राकेश, रामदयाल, २०४४, नेपाली कविता: विभिन्‍न आयाम, साझा प्रकाशन, काठमाडौँ।

रामघाट, पोखरा।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु