लेन्डुप दोर्जी विम्बप्रति सिक्किमेलीको गुनासो

- तुलसीहरि कोइराला

काजी, ठेकेदारी र बेठबेगारी जस्ता दैदस्तुर र दबाबबाट मुक्त भई विशाल भारतीय प्रजातान्त्रिक महासंघमा समाहित हुन अन्ठान्नब्बे प्रतिशत सिक्किमेलीले जनमत संग्रहद्धारा सहर्ष स्वीकार गरेर भारतीयकरणमा समाहित भएका हौँ हामी । उता नेपालमा भने राजनीतिक भाषणहरुमा सिक्किमलाई विम्ब बनाएर सिक्किमीकरण गरिएको भनिन्छ । राजा नाम्ग्याल र लेन्डुप दोर्जीलाई गाली गरेको सुनिन्छ । उनीहरुलाई देशद्रोही र धोकाघडीका उदाहरण बनाइएको छ । एसो किन गरिएको हो ? यो सबै भएको त हामी सिक्किमेलीकै अभिमतबाट हो नि । नेपाली दाजुभाइहरुले यसो भनिदिँदा हाम्रो चित्त कुँडिन्छ ।
नेपाली साहित्य परिषद, सिक्किममा आयोजित द्धिदेशीय साहित्यकारहरुको जमघटमा ‘भारतीय नेपाली साहित्यका प्रवृत्तिहरु’ शीर्षकमा परिषदका अध्यक्ष पारसमणि दङ्गालले कार्यपत्र प्रस्तुत गर्नेक्रममा यसो भन्नुभएपछि म निक्कै सोचमग्न भएथेँ । जनताको अभिमतबाट राजतन्त्रलाई छोडेर भारतीय महासंघमा प्रान्तीय हैसियतमा विलय भएको सिक्किमका जनताको कुनै गुनासो छैन भने त्यसका कारणीहरुलाई हाम्रा देशका राजनीतिक भाषणवाजहरुले किन गली गरिरहेका छन् भन्ने सोचनीय विषय बनेको छ । भारतीय साहित्य अकादमीबाट पद्यश्री सम्मान प्राप्त दुई व्यक्तित्व सानु लामा र केदार गुरुङसमेत मञ्चमा रहेको कार्यक्रममा सिक्किमको यथार्थ थाहा पाएपछि यसअघिका मेरो मस्तिष्कमा गढेका राजनीतिक खिलहरु एकाएक हराएथे ।
भारतीय साहित्य अकादमीकै मान्यता प्राप्त सन् १९८१ मा स्थापना भएको परिषदको सभाहलमा भएको कार्यक्रममा सभापतित्व ग्रहण गरिरहनुभएका प्राध्यापक रुद्र पौडेलले बाँडेको सद्भावपूर्ण अभिव्यक्ति झनै प्रशंसनीय थियो । ‘भारतीय संस्कृति भनेको हाम्रो साझा संस्कृति हो । यसलाई इण्डियन संस्कृतिमा बदलेर खुम्च्याउन मिल्दैन । हामीबीच प्रेम र सद्भाव नै हो जति बाँड्दा पनि नसिद्धिने । प्रेममा नै सृष्टि र आनन्द छ । हृदयको पुललाई कसैले तोड्छु भनेर पनि तेड्न सक्दैन’ भन्नुभएपछि मेरो मन एकाएक हलुङ्गो भएको अनुभव भएथ्यो । यही हृदय जोडिएकै कारण हामी एक हप्ते साहित्यिक यात्रामा सिलिगुढीबाट पसेर कालिङ्पोङ, सिक्किम, दार्जिलिङ हुँदै इलाम निस्किएर साहित्यिक यात्राको समापन कार्यक्रम गरका थियौँ ।
‘जहाँ सिर्जनामा सिँचन गरिन्छ’ मूलवाक्यका साथ सिर्जना उत्सवमा निस्किएको हाम्रो टोलीको नेतृत्व ‘रमा–कृष्ण सिर्जना प्रतिष्ठान’का अध्यक्ष महेन्द्र गुरुङले संहाल्नुभएको थियो । वास्तवमा हाम्रो यात्रा एक वर्षअघि नै तय भएर विशेष कारणवश स्थगित भएथ्यो । वि.सं. २०७१ चैत १२ गते काठमाडौँबाट रात्रिवसमा पूर्वीसीमा काकडभिट्टा प्रस्थान गर्दाको दिन बाटोमा परेको पानीले वसभित्रै पनि ओभानो रहन हामीलाई हम्मेहम्मे परेको थियो । रातभरको लामो यात्राबाट विहान काकडभिट्टा वसपार्कमा उत्रिँदा सबै जनाको अनुहार र शरीर निक्कै थकित देखिएको थियो । भारतीय मुद्रा साट्न तँछाडमछाड गर्दै आएका महिलाको भीड हेर्नलायक थियो । हामीलाई हिँड्नकै चटारो थियो । यताबाट लगिएका किताव र पत्रपत्रिकाका पोकापन्तुरा डिकीमा पानी पसेर लफक्कै भिजेकाले सम्हाल्नै मुस्किल भइरहेको थियो । लक्ष्मी उप्रतीले प्रकाशन गर्नुभएको लख्खीदेवी सुन्दास र सिक्किम विशेषाङ्क नराम्ररी भिजेछन् । वास्तवमा हाम्रै बेहोसीले यस्तो भएथ्यो । गाडीभित्रै मिलाएर राख्न पनि सकिन्थ्यो तर डिकीमा हालिएछ र नराम्ररी भिजेछन् ।
सिलिगुढी जानलाई गाडीको मोलतोलमा पनि समय लामै लाग्यो । यता इलामबाट टोलीमा सामेल हुन आउने कवि विमल वैद्य पनि आइपुग्नुभएकै थिएन र उहाँलाई पनि कुर्नैपर्ने थियो । कान्तिपुरका काकडभिट्टा सम्वाददाता पर्वत पोर्तेल आएपछि समय कटाउन अलिक सहज भएथ्यो । वसपार्ककै पूर्वपट्टि महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक अनावरण हुन समय कुरेर घुम्टोभित्रै थियो । निक्कै फराकिलो क्षेत्रफलमा सभाहलसमेत बन्ने योजना रहेछ । मुद्दामामिलो गरेर बल्लतल्ल स्वामित्व पाएको स्थान वास्तवमा सबैका आँखा लाग्ने ठाउँमै रहेछ । लामै मोलतोलबाट दुइटा गाडी तय गरिएपछि हाम्रो यात्राटोली कुनै पनि विहानी कर्म नगरी नै सिलिगुढीतर्फ लागेथ्यो । कवि महेन्द्र गुरुङ अध्यक्ष रहेको संस्थाका अन्य पदाधिकारीहरुमा लक्ष्मी उप्रेती, यादव भट्टराई, सीताराम गुरुङ, जलेश्वरी श्रेष्ठ हुनुहुन्थ्यो भने टोलीका अन्य सहभागीहरुमा– रचनाका सम्पादक रोचक घिमिरे, नेपाल प्रज्ञा–प्रतिष्ठानका आख्यान विभाग प्रमुख प्राज्ञ मातृका पोखरेल, रामप्रसाद पन्त, ठाकुर शर्मा, जयदेव भट्टराई, ललिता दोषी, विमल वैद्य, पर्वत पोर्तेल र यो पङ्क्तिकार सामेल थियौँ । यात्रामा निस्किइनैसकेपछि हतारो नहुनुपर्ने हो तर हामी भने वास्तवमै हतारोमै थियौँ । वारि र पारिको विकासको चर्चा गर्दै पहिलो गन्तव्य सिलिगुढी पुगेर गौरव लजमा भित्रिएपछि बल्ल हलुका हुन पाइएथ्यो । खाना खाएर पहिलो चरणमा डा. लख्खीदेवी सुन्दासलाई उहाँकै अपार्टमेन्टमा गएर भेट गरी उहाँकै विशेषाङ्क र अरुले लगिदिएका पत्रपत्रिकाहरु हस्तान्तरण गरियो । लकुवा (पार्किन्सन्स)ले गर्दा हिँडडूल गर्न नसक्ने अवस्थाकी सुन्दासको संयोगवश त्यसै दिन जन्मदिन पनि परेको रहेछ । यसरी घरैमा एकडफ्फा साहित्यकारहरु भेट्न पुग्दा उहाँ निक्कै भावविभोर हुनुभएथ्यो । जन्मदिन भन्ने थाहा पाएपछि रसवरी मगाएर खुवाउने–खाने गरेथ्यौँ ।
सिलिगुढीमा देवकोटा संघको ठूलो भवन रहेछ तर निर्माण सम्पन्न हुन भने बाँकी नै । हाम्रो सिक्किम साहित्य यात्राको पहिलो कार्यक्रम त्यही भवनमा भएथ्यो । देवकोटा संघका अध्यक्ष शारदा क्षेत्री नहुनुभएकोले उपाध्यक्ष रुद्रकुमार अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा दुवै तर्फका स्रष्टाहरुले सिर्जना सुन्ने–सुनाउने गरेका थियौँ । हाम्रो नेतृत्वदायी संस्थाका तर्फबाट देवकोटा संघलाई सम्मानपत्र प्रदान गरिएको थियो । उपस्थिति भने सोचेअनुसारको थिएन । इन्द्रबहादुर राई दार्जिलिङ जानुभएको, लख्खीदेवी हिँडडूल गर्न नसक्ने, ज्ञानेन्द्र खतिवडा लगायतको एक टिम लजमा भेट गर्न आएको भए पनि आउँछौँ भनेर पनि कार्यक्रममा उपस्थित भएनन् । दुई समूहबीच तालमेल नभएको स्पष्टै देखिन्थ्यो । विन्द्या सुब्बालाईसमेत जानकारी रहेनछ र लक्ष्मी उप्रेतीले फोन गरेर बोलाएपछि उहाँ आउनुभएथ्यो । संगीतकार अशोक राईले गीत गाएर सुनाउनुभएथ्यो । विन्द्या सुब्बा, राजा पुनियानी, मिरा गजमेर लगायतका केही स्रष्टाले सिर्जना वाचन गर्नुभएथ्यो । मैले भने बेग्लै स्वाद होस् भनेर लघुकथा सुनाएथेँ । आख्यानको छोटो रुप ‘लघुकथा’लाई पनि कविता, गजल, गीतजस्तै कार्यक्रमहरुमा वाचन गर्न सकिन्छ भन्ने अभियानमा छ ‘लघुकथा समाज’ । समाजको सचिवको नाताले पनि थोरै बोलेर लघुकथा सुनाएथेँ र सबैले मन पराएको अनुभव भएथ्यो ।
रोचक दाईले बोल्नेक्रममा नाट्यसम्राट वालकृष्ण समले भन्ने गरको वाक्य– आज दार्जिलिङले जुन कुरा गर्छ, भोलि नेपालले त्यसैको अनुसरण गर्छ’ को सम्झना गर्नुभएथ्यो । तर हामी दार्जिलिङमा नभएर सिलिगुढीमा थियौँ । दार्जिलिङ त अग्रणी हुँदै हो तर सिलिगुढीमा चाहिँ साहित्यमा ‘अहम्’ रोग लागेको अनुभव गरियो । पछिल्लो पुस्ताले इन्द्रबहादुर पुस्तालाई तिनीहरु के लेख्छन् र भन्ने, आफ्नै पुस्तामा पनि त्यसको भन्दा मेरो दमदार भन्ने भावनाले ग्रसित पारेको देखियो । देवकोटा, भानु, पारिजात लगायतका स्रष्टाहरुका सालिक ठडिएका छन् । भाषिकरुपमा नेपालीभाषीबीच बाह्य एकता देखिए पनि ‘साहित्यिक एकता’ देखिएन । नेपाली साहित्यको भोलिको अवस्था के कस्तो हुने हो भन्ने अनुमान यो छरपष्टले देखाइरहेथ्यो । त्यसो त यता पनि हालत त उस्तैउस्तै नै हो तर पनि यहाँभन्दा दयनीय सिलिगुढीमा देखिएर चिन्ता लागेको हो ।
भोलिपल्ट विहानै हाम्रो टोली कालेबुङ(कालिङ्पोङ) तर्फ लागेथ्यो । कालेबुङमा पनि ‘नेपाली साहित्य अध्ययन समिति’ सन् १९६५ देखि नै क्रियाशील रहेछ । खानाको प्रवन्ध यतै गरिएको छ भन्ने जानकारी नहुँदा तिष्टा किनारकै होटलमा मीठो खाना खाएर उकालो लागेथ्यौँ हामी । झण्डैझण्डै खाजाको सयम हुन लागेको थियो हामी पुग्दा । उहाँहरु खाना खानुपर्छ भनेर जोड गर्दै हुनुहुन्थ्यो तर खानाको आग्रहलाई स्वीकार्न सक्ने अवस्थामा हामी थिएनौँ । सहमतिमा कुरा टुङ्ग्याएर कार्यक्रमको तयारी गर्दैगर्दा हामी चाहिँ कालेबुङको प्रसिद्ध स्थल मङ्गल सदनको अवलोकन गर्न ओरालो झरेथ्यौँ । मङ्गल सदन वास्तवमै हेर्नलायक स्थल रहेछ । सदनका भव्य कक्षहरु, कृष्णका अनेक लीलाका मूर्तिहरु, विष्णुका अनेक अवतारका रुपहरु, त्यहाँको सफाई, फुलबारी, प्रवेशद्धारको भव्यता, औधि रोमाञ्चित बनाउनेखालका रहेछन् । समय थोरै भएकोले मात्रै हो, नत्र दिनभर बस्दा पनि धीत नमर्नेखालको स्थल एकसरो हेरेर मात्रै पुनः उकालिएथ्यौँ हामी ।
पहाडी डाँडामा तलैदेखि जग उठाएर भित्तामा टाँसेर बनाएका घरहरु माथिबाट हेर्दा साना तर तलबाट हेर्दा आठ–नौ तल्लाका पनि देखिन्थे । खानेपानीका फलामे पाइपहरुले कान्ला–भित्ता छपक्कै देखिन्थे । यस्तो दृश्य मैले पाल्पामा पनि देखेको थिएँ । त्यसै दिन हामीले गान्तोक पुग्नु थियो र रिजर्भ गाडीलाई पर्खाएका थियौँ । यसकारण पनि जतिसक्दो छिटो कार्यक्रम सकेर बाटो लागिहाल्नुपर्ने हतारो थियो । यता फर्किनलाई १८ गते उपत्यका बन्द हुने भन्ने हल्लाले गर्दा एक दिनको कार्यक्रम कटौती गर्नुपर्दा समयको व्यवस्थापन गर्न आयोजकलाई धौधौ परिरहेको थियो । समितिको भाइचाङ सभाहलमा परिचय आदान–प्रदान र सिर्जना वाचन कार्यक्रम गरिएथ्यो । उपस्थिति निकै राम्रो थियो । यात्राको उद्देश्यमाथि हाम्रा टोलीनेता महेन्द्र गुरुङले प्रकाश पार्नुभएको थियो । सुधिर क्षेत्री, मनोज बोगटी, मदना ओझा, पुकार राई, प्रदीप लोहारुङ उताका र यताका केहीका कविता वाचन गरिएका थिए । कार्यक्रममा कालेबुङका धेरै स्रष्टाहरु भएर पनि यी नामहरु उहाँहरुले नै छानेर बोलाउनुभएको थियो । समयको अभावले गर्दा धेरैका सिर्जना सुन्ने अवसर मिलेन । पुस्तकालय निक्कै आकर्षक रहेछ । पुराना सामग्रीहरु व्यवस्थित तरिकाले राखिएका रहेछन् । डा. पारसमणि पुरस्कार, भाइचाङ पुरस्कार कथा पुरस्कार लगायतका पुरस्कारहरु पनि समितिबाट प्रदान गरिदैआएको रहेछ । कालेबुङका स्रष्टाहरुको आतिथ्यलाई हामीले धेरैबेर अँगालिरहन सकेनौँ । समय भएको भए मेरै आफ्नो माइलो हजुरबाका सन्तान पनि कालेबुङमै थिए । आमाले खोजेर भेटेस् है नानी भन्नुभएथ्यो पनि । तर दुई घण्टा जतिमा कार्यक्रम, भेटघाट र अवलोकन सकेर सिक्किमलाई गन्तव्य बनायौँ हामीले ।
यो यात्राको मुख्य आकर्षण भनेकै सिक्किम थियो । दार्जिलिङ, सिलिगुढी भनेका त पहिले पनि पुगिसकेका स्थलहरु हुन् तर सिक्किम जान मन भएर पनि समय जुरिरहेको थिएन । एक्लै जाने कुरो भएन, राम्रो टोली बनाएर जान पनि सकिएको थिएन । कुनै संघ–संस्थाबाट अगुवाई गरेर लानलाई सम्भवतः मेरो पालो आइनसकेको हुनुपर्छ । फेरि सिक्किम जाने भनेपछि अथवा गएर आएको भनेपछि उसलाई हेर्ने दृष्टिकाण नै फरक पर्ने गरेको पनि छ । हाम्रा केही साहित्यकारहरु झोला बोकेर पारि तरेपछि अनेक उपाय लगाएर खर्चबर्च झारझुर गरेर आउँछन् । विशेष गरी सिक्किमका साहित्यकारहरुले एक दर्जन नयाँपुराना हाम्रा साहित्यकार–पत्रकारहरुको नामै लिएथे । कसैले नेपालको नामी पत्रिकामा अन्तर्वार्ता प्रकाशित गरिदिन्छु भन्ने, कसैले पुस्तक सम्पादन–प्रकाशनको काम गरिदिने, कसैले समालोचना लेखाइदिने, कसैले विशेषाङ्क निकालिदिने, कसैले आफ्नो दरिद्रपन मात्रै देखाएर पनि मुखै फोरेर माग्ने गरिदिँदा सबैलाई एउटै दृष्टिले हेर्नेहरु पनि रहेछन् । मुख्यमन्त्री पवन चामलिङलाई भेटेर दुखेसो पोख्ने, पुस्तक प्रकाशन गर्न नसकेको भनी झोलाबाट पाण्डुलिपि नै झिकेर देखाउने र प्रकाशन खर्च माग्नेहरुको सूची पनि बेलुकाको समीक्षा वैठकमा सुन्न पाइयो । हामीले भने चामलिङलाई भेट्ने कार्यसूची नै बनाएनथ्यौँ । उनी पनि गुराँस महोत्सव मनाउन भनेर दुई दिनदेखि पश्चिम सिक्किम गएका रहेछन् । हामीलाई कार्यक्रम गर्नु थियो, विचारहरु आदान–प्रदान गर्नु थियो, गर्यौँ । उनीहरुका गुनासोहरु सुन्यौँ । चित्त दुखाई र खुसीका कुराहरु पनि सुन्यौँ । त्यही चित्त दुखाइकै कुरा थियो सिक्किमीकरण र लेण्डुप दोर्जी प्रवृत्ति भनिएको प्रतिको उनीहरुको स्पष्टीकरण । जसले भोगेका छन्, उनीहरु राजीखुसी छन् भने हामीले टाउको दुखाउनुपर्ने कुनै कारण नै देखिदैन ।
नेपाली साहित्य परिषद, सिक्किमको आफ्नै भवनमा दुई देशीय जमघटमा वार्ता र छलफल चल्यो । प्राध्यापक रुद्र पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा– केदार गुरुङ, सानु लामा, पेम्वा तामाङ, डा. कविता लामा, पारसमणि दङ्गाल, प्रवीण खालिङ, पूर्ण योञ्जन, नीलम न्यौपाने, डा. राजु गिरी, चक्रपाणि भट्टराई, नवीन लामिछाने, वीना घिमिरे, टिवीचन्द्र सुब्बा, टीका ढुङ्गेल, शिव दर्नाल, लगायतका स्रष्टाहरुको बाक्लो उपस्थितिमा सिक्किमका स्रष्टाहरुको तर्फबाट प्रतिनिधि कविको रुपमा चक्रपाणि भट्टराईले मात्रै कविता सुनाउनुभएको थियो । ‘तपाईँहरु पाहुनाको रुपमा यहाँ आउनुभएको छ, हामी तपाईँहरुका सिर्जना सुन्छौँ’ भनेर अड्डी नै लिएपछि हाम्रो तर्फबाट सबैले नै सिर्जना वाचन गरेथ्यौँ ।
सिक्किमका कार्यक्रममा उता र यताबाट एकएक वटा कार्यपत्र पनि प्रस्तुत गरिएका थिए । डा. दुर्गाप्रसाद दाहालले नेपालका तर्फबाट ‘नेपाली साहित्यको विकासका प्रवृत्तिहरु’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएथ्यो । यताको त थाहा भएकै हो, हामीलाई उताको सुन्नु थियो । पारसमणि दङ्गाल (परिषदका अध्यक्ष) ले ‘भारतीय नेपाली साहित्यका प्रवृत्तिहरु’ केलाएर सुनाउनेक्रममै हो नेपाली राजनीतिज्ञले गलत विम्बका रुपमा सिक्किमलाई प्रयोग गरेको भन्ने दुखेसो गर्नुभएको । उहाँले सुवानन्द दास, ज्ञानदिल दास, पादरी गङ्गाप्रसाद प्रधान, पारसमणि प्रधानदेखिका योगदानहरुलाई केलाउनुभएथ्यो । वि.सं. १९५८ मा प्रकाशित ‘गोर्खे खवर कागज’को इतिहास केलाएर पादरी गङ्गाप्रसाद प्रधानलाई ‘नेपाली पत्रकारिताको आदिपुरुष’ भन्नुभएथ्यो । परिषदबाट भएका राम्रा कामहरु, भानु पुरस्कार, शिवकुमार राई पुरस्कार र माष्टर मित्रसेन पुरस्कारको चर्चा पनि भएथ्यो । नेपाली साहित्यमा सिक्किमले धेरै गरेको छ भन्ने प्रमाणका रुपमा दङ्गालको प्रस्तुति प्रशंसनीय थियो ।
हाम्रो टोली नेता महेन्द्र गुरुङ कवि मात्र नभएर गीतकार र राम्रो गायक पनि हो भन्ने जानकारी मलाई त थियो नै, उक्त कार्यक्रममा ‘सिक्किम मेरो हजुर’ बोलको गीत गाउँदा सिक्किमेलीका तालीले हल गुञ्जिएपछि उहाँको तारीफ नहुने कुरै थिएन । हाम्रो संस्थाका तर्फबाट नेपाली साहित्य परिषद, सिक्किम र स्रष्टा केदार गुरुङलाई सम्मान गरेर ‘अरुबाट आफूले सम्मान पाउन अरुको पनि सम्मान गर्न जान्नुपर्छ’ भन्ने भनाईको सार्थकता पुष्टि गरेका थियौँ ।
दुई दिनको सिक्किम बसाइमा त्यहाँको वातावरणले हामीलाई रोमाञ्चित बनाइर्यो । महात्मा गान्धी (एमजी रोड) को पूर्णकदको सालिक र वरपरको सुन्दरतामा फोटो खिच्ने तेस्रो मुलुकका पर्यटकहरु पनि बाक्लै देखिन्थे । रातको समयमा गान्तोकको सुन्दरता औधि लोभलाग्दो थियो । कालेबुङ, सिक्किम(गान्तोक) र दार्जिलिङको भौगोलिक अवस्थिति लगभग एकै खालको लाग्यो । भित्तामा टाँसिएका माथिबाट हेर्दा साना तर तलबाट हेर्दा दश तल्लासम्मका सिक्किमी घरहरुमा जत्रो घर भएपनि छानो चाहिँ जस्तापाताकै थियो । यसो गर्नुको पछाडि सरकारी नियम नै हो कि भन्ने लागेर मैले प्रा. रुद्र पौडेललाई नै सोधेथेँ । घोषित कानुनी नियम नभएर अघोषित तर प्रचलन नै बनिसकेको कुरा उहाँले बताउनुभएथ्यो । पहाडी वस्ती भएकोले एक तल्ला भए पनि भूकम्पीय जोखिमको दृष्टिले भार कम होस् भनेर जस्ता हालिएको हो भने पनि नवौँ तल्ला ढलान गरेर दशौँ तल्लामा चाहिँ जस्तापाता हालिनुले तर्क उति दर्विलो थिएन । जोखिम कम गर्ने नै हो भने त चार–पाँच तल्लाभन्दा माथि नबनाउँदै उपयुक्त हुने भूबनोट रहेछ । यहाँ आएजस्तै भूकम्प त्यहाँ पनि गयो भने जनधनको अकल्पनीय क्षति हुनसक्ने पूर्वानुमानले म झस्किएको छु ।
सिक्किममा बीसौँ वर्षदेखि यताबाट गएर अनेक काम–मजदुरी गरेर बसेका थुप्रै नेपालीहरु भेटिए । कोटेश्वर कालीमाटीमा दुइट घर छन् भन्ने एक दिदी विहानविहान घरमै पकाएर थर्मसमा चिया र चना–अण्डा बेच्दिरहिछिन् । जति बनाएर ल्याए पनि सकिइहाल्छ भन्थिन्, चिया साँच्चिकै मीठो थियो । विहानी भ्रमणमा जयदेवजी र मैले गफिदै चिया पिएका थियौँ । सिक्किममा बाहिरकाले जग्गाजमिन किन्न नपाउने भएर मात्रै उतै जोडेको हो, नत्र यहीँ पनि घर बनाउन सक्थ्यौँ भन्दै थिइन् ती दिदी । उनले श्रीमान्को व्यवसाय चाहिँ बताउन चाहिनन् र हामीले पनि कर गरेनौँ । जे भए पनि इमान्दारीपूर्वक काम गरेर जीविका गर्नु नै ठूलो कुरा हो । उनीहरु त भविष्यको लागि पनि कमाइरहेथे, यो झनै राम्रो हुँदै दो ।
औपचारिक कार्यक्रम सकिएपछि वेलुका रमाइलोसहितको समीक्षा वैठक बसेथ्यो । त्यति वेला सिक्किमी स्रष्टाहरुले साहित्य, राजनीति र यताबाट जाने स्रष्टाहरुका स्वभाव–व्यवहार आदिका बारेमा खुलेरै कुरा गेरेका थिए । उनीहरुले मलाई यताबाट जाने त्यस्ता खेतीपाती गर्ने साहित्यकार र पत्रकारहरुका कारण आफूहरुलाई को कस्तो हो भन्ने छुट्याउन गाह्रो भएको दुखेसोसमेत गरेका थिए ।
१६ गते विहानै सिक्किमलाई बाईबाई गरेर हाम्रो यात्रा दार्जिलिङतिर सोझिएथ्यो । दार्जिलिङ पुग्दा हामी अलिक ढिलै भएथ्यौँ । ‘गोर्खा दुःख निवारक सम्मेलन’मा दार्जिलिङका स्रष्टाहरु हाम्रो आगमनको प्रतीक्षामा हुनुहुन्थ्यो । रमिता प्रकाशनको आयोजनामा हुनलागेको कार्यक्रममा हाम्रो यात्राको स्थायी ब्यानर ‘सिक्किम साहित्य यात्रा’लाई नै त्यहाँ पनि टाँगेका थियौँ । बोल्नेक्रममा त्यहाँका एकाध स्रष्टाले छेड हानेका पनि थिए– ‘उता नेपालबाट सिक्किमको साहित्यिक यात्रामा गएर दार्जिलिङ पनि बाटोमा परेकोले ओर्लिनुभएका नेपालका स्रष्टाको बाटोमै भए पनि स्वागत गर्न पाउँदा औधि खुसी लागेको छ’, वास्तवमा यो हाम्रो स्थायी ब्यानर भए पनि तलतिर चाहिँ ‘सिर्जना उत्सव, दार्जिलिङ’ टाँसेका थियौँ । छोटो समयमै भए पनि दार्जिलिङको कार्यक्रम राम्रो भयो । प्रेम प्रधान (साहित्य अकादमी, दिल्ली), मनप्रसाद सुब्बा, नन्द हाङखिम (साहित्य अकादमी पुरस्कार प्राप्त स्रष्टा), गोपीचन्द्र प्रधान (अध्यक्ष नेपाली साहित्य सम्मेलन, दार्जिलिङ), अमला सुब्बा, प्रमीता गुरुङ, डा. गीता क्षेत्री, विमल राई, गुप्त प्रधान, केवलचन्द्र लामा, लगायतका थुप्रै स्रष्टाहरुको जमघट थियो । मनप्रसाद सुब्बाको विशेष अतिथि मन्तव्य निक्कै बौद्धिक र पेचिलो अनुभव भयो । एक समयमा दार्जिलिङले नेपाली साहित्यमा निक्कै प्रभाव पारेकै हो । अझै पनि दार्जिलिङ उत्तिकै तागतिलो छ । नेपाली साहित्यले फड्को मारिरहेको, विश्वमै फैलिदो अवस्थामा रहेको र नेपालमा साहित्यिक उद्योग चलिरहेको अनुभव दार्जिलिङले गरेको सुब्बाको मन्तव्यको निचोड थियो । केही स्रष्टालाई मात्रै छानेर काँधमा बोकेको र अरुलाई नेपालले वास्ता नगरेको भन्ने कसैमाथिको व्यङ्ग्यात्मक अभिव्यक्ति पनि उहाँबाट आएथ्यो । केही यताका र केही उताका स्रष्टाका सिर्जना वाचन गरिएपछि हाम्रो संस्थाका तर्फबाट नन्द हाङखिमलाई सम्मान गरिएको थियो । इन्द्रबहादुर राई भने दार्जिलिङमै भएर पनि कार्यक्रममा आउन सक्नु भएन । फोन सम्पर्कमा त उहाँले आउने नै भन्नुभएको थियो रे तर उहाँको घरसम्म गएर ल्याउन कसैले अग्रसरता नदेखाइदिएकाले नै हुनुपर्छ उहाँ नआउनु भएको । उहाँलाई पनि हाम्रो संस्थाले सम्मान गर्ने कार्यक्रम रहेको थियो । त्यसैले उहाँको घरैमा जानुपरेको थियो ।
नेपाली साहित्यमा इन्द्रबहादुर राईको योगदानको मूल्याङ्कन निक्कै उच्च छ । उता पनि उहाँको मूल्याङ्कन भइरहेकै छ तर उताभन्दा यता ज्यादा भएको छ । तेस्रो आयाम, लीलालेखन जस्ता सिद्धान्तहरुले पनि उहाँलाई अझ चर्चाको शिखरमा पुर्याएका हुन् । अब उमेरका कारण पनि उहाँलाई हिँडडुल गर्न गाह्रो हुनथालेको छ । घरसम्म पुगेरै सम्मान गरेको मलाई ठीक लग्यो ।
हाम्रो कार्यक्रम तालिकामा पहिले त एक दिन दार्जिलिङमा बस्ने रहेको थियो तर बन्दको हल्लाले गर्दा त्यही बसाईलाई नै इलाम सारेका थियौँ । दार्जिलिङको औपचारिक कार्यक्रम सकेर खाना खाई, सम्मान कार्यक्रम सकेर फर्किन हामीले दौडादौड नै गर्नुपरेको थियो । उहाँको सद्भावपूर्ण मन्तव्य पनि हामीले मन खुलाएर ग्रहण गरिरहन सकेनौँ । कतिसम्मको हतारो भने चौरस्तासम्म पुगेर भानुको सालिकलाई नमस्कार र परिक्रमा गर्ने आधा घण्टाको सयम पनि हामीसँग भएन । जलेश्वरी दिदी ‘यस्तो धपेडी गरेर त म कहिल्यै कतै पनि हिँडेकी थिइनँ, लौन श्वास बढेर आयो, म त दौडिन सक्दिनँ, बिस्तारै हिडौँ न हौ’ भन्दै हुनुहुन्थ्यौ । हामीमध्ये कति जनाको त दार्जिलिङ टेकेकै पहिलोपल्ट थियो । उनीहरुलाई ‘पहाडकी रानी’ दार्जिलिङ घुम्ने रहर कति हुँदो हो । समूहमा भएपछि रहरहरु पनि खुम्च्याउनु पर्दोरहेछ । आखिर बन्दको आह्वान गर्नेहरुले बन्द पनि फिर्ता लिइसकेका रहेछन् तर हामीले यसको आधिकारिक जानकारी इलाम आएपछि मात्र पाएका थियौँ । दार्जिलिङबाट पशुपतिनगर र त्यहाँबाट इलाम रिजर्भ गाडी लिएर आउनुपर्ने थियो । पशुपतिनगर आइपुग्दा मुसलधारे पानी परिरहेको थियो । जण्ड स्वभावको दार्जिेलिङे ड्राइभरले बाटोमा आफूले मान्छे मारेर जेल बसेर निस्किएको, लुटपाट गर्ने, गाडीमा हतियार बोकेर हिँड्ने, आफू समय अनुसारको गुण्डा हुँ भनेर आफ्नो परिचय दिँदा हाम्रा केही साथीहरुको सातो उडेको पनि थियो । राति अबेर गरी इलाम आइपुगेर दौडादौडको थकाइलाई आनन्दले बिसाएथ्यौँे ।
इलामको सुन्दरतामा रम्नुको मज्जा त्यहीँ पुगेपछि मात्रै थाहा हुन्छ । विहानै उठेर उकालिएका हामी भ्युटावरसम्म पुगेर चारैतिरको रमणिय वातावरणमा पुलकित भएका थियौँ । इलामका कवि विष्णु नवीनको सालिकमा उभिएर फोटो खिच्दा उनका अनेक पक्षमाथि छलफल गरेथ्यौँ हामीले । पुरै एक चक्कर लगाएर फर्किएपछि खाजा खाइओरी कार्यक्रमका लागि जिविस हलमा जम्मा भएथ्यौँ । ‘भानु प्रतिमा संरक्षण तथा साहित्य संबद्र्धन समिति, इलाम’को स्थानीय आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा तथा ‘रमा–कृष्ण सिर्जना प्रतिष्ठान’को संयोजनमा इलामको कार्यक्रम उल्लेख्य नै भएथ्यो । ‘समकालीन नेपाली नारी कथाकाहरु र लेखन प्रवृत्ति’ शीर्षकमा लक्ष्मी उप्रेतीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । इलामका पुराना व्यक्तित्व प्राध्यापक युद्धप्रसाद वैद्यलाई प्रतिष्ठानका तर्फबाट सम्मान गरिएको थियो । अग्रजस्रष्टा माधव भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केदार शर्माबाट कार्यपत्रको टिप्पणी भएथ्यो भने स्थानीय स्रष्टाहरु र यताबाट गएका स्रष्टाले पनि सिर्जना वाचन गरेका थियौँ । कवि विमल वैद्यले कार्यक्रमलाई सफल बनाउन गरेको दौडधूपलाई हामीले मुक्तकण्ठले प्रशंसा गरेथ्यौँ । कार्यक्रम सकेर खाना खानलाग्दा रात्रि वसले हर्न बजाइसकेको थियो । हाम्रैलागि भनेर वसले एकघण्टा बढी पर्खिनुपरेको थियो । एकहप्ताको यात्रामा यतिका ठाउँमा कार्यक्रमहरु गरेर हतारोहतारोमै यात्राबाट विश्राम लिएथ्यौँ हामीले ।
उता जाँदाभन्दा फर्किदाँ हाम्रा झोलाको वजन बढेथ्यो । आसामकी चेली स्रष्टा चन्द्रकला नेवारले एकपटक अन्तर्वार्ताका क्रममा भन्नुभएथ्यो– उता आसाममा त एउटै किताव प्रकाशित गर्नु पनि ठूलो हुन्छ । यता नेपालमा भने छ महिना–वर्ष दिनमा पुस्तक निकाल्ने स्रष्टा त कति रहेछन् कति ? तर आसामको तुलनामा सिक्किम, कालेबुङ, दार्जिलिङ साहित्यमा निक्कै अग्रणी हुन् नै । यसैको प्रमाणस्वरुप हाम्रा झोला पनि उपहारका पुस्तकहरुले भरिभराउ थिए । नेपाली साहित्य अध्ययन समिति, कालेबुङबाट प्रकाशित कथा विशेषांक उन्नयन, डा. पारसमणि प्रधान जन्म शतवार्षिकी विशेषांक, साहित्य संकेतका अंकहरु, सिक्किम कलाकार संघको मुखपत्र कलामञ्जरी, भानु स्मारिका, डा. राजेन्द्र भण्डारी र पारसमणि समको संयुक्त कृति भाषा–साहित्य, टिवीचन्द्र सुब्बाको इन्द्रबहादुर राई (व्यक्ति, कृति र कार्य) लगायतका थुप्रै पठनीय कृतिहरु मेरा यतिवेलाका खुराक बनेका छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु