गन्जबहादुरको भीमसिने बोको

- होम सुवेदी

प्रस्तावना ः
यहाँ कथाको थालनी अघि बचाउका लागि केही नभनी धरै छैन । भनेरै पनि अभरै ता नपरिएला तापनि नभन्नु भनेको अटेरी गर्नु हुन सक्छ । साँचो कुरा भनेपछि खैरियत होला के त ! बरु यो पो सोचेको छु ।
यस कथाका मूल पात्र गन्जबहादुर छन् । उनका पुत्र छन् उनको नाम समरबहादुर हो । यिनीहरुको गाउँको नाम छ सिकैजा । तर यी सबै कुराहरु काल्पनिक मात्र हुन् । कथामा गन्जबहादुर, समरबहादुर र सिकैजाको कुरा आउनासाथ त्यो ठाउँठेगाना मात्र नभई ती नामहरुसँग यस कथाभित्रका घटनाहरु पनि धेरथोर कतै न कतै ता मिल्न पनि सक्लान् । यहाँको घटना, ठाउँ ठहर र यहाँका गन्जबहादुर लगायतका चरित्रसँग मिल्ने चरित्रहरु कोही भए उहाँहरुले यो मेरो कथा होइन भनिदिनुपर्नेछ । यदि कुराहरु आफूसँग मिलिहालेछन् भने केही वर्षअघिदेखि केही वस्तुले तताएका मान्छेहरुले खोचे थापेर यो कथा मेरै हो, मेरो कथा लेख्ने यस कथाकारको भौतिक कारबाही गर्नुपर्छ भनेर आइलाग्न सक्ने हुँदा कथाकारले अघिबाटै स्पष्टीकरण गर्नु आवश्यक भएकोले यो कथाका पात्र र घटनाहरु काल्पनिक मात्र हुन् भन्नु परेको हो । यो मेरो कल्पना मात्र हो । यी सबै कुराहरु काल्पनिक मात्र हुन् बाबा ठाकुरे हो, नितान्त काल्पनिक हुन् । कुनै संयोग परिगयो भने काकताली मात्र हुनेछ । भौतिक कारबाही गरिनु आवश्यक छैन भनी प्रस्तावनामा सविनय र अति आग्रह राखेर लेखेको छु ।
अब मूल कथा ः
अँ त, अब म साँचो अर्थमा मूल कथा थाल्छु ढिलो भइसक्यो ढिलो नगरीकन । थिए गन्जबहादुर एकादेशमा । अब एकादेश भन्दा पनि सिकैजा गाउँमा थिए भन्दा पनि हुन्छ । सिकैजा थियो गाउँ एकादेशमा । उनी थिए गन्जबहादुर नामले । गाउँमा उनलाई नाम काढेर बोलाउन र ठाडो सिर लाएर हेर्न सक्ने आँट कसैको थिएन, अर्थात् बडो प्रतापी थिए उनी । अनि अरु केही कुरामा पनि उनका अघि तुजुक लगाउने आँट कसैको थिएन । त्यसैले यस्ता थिए गन्जबहादुर । थर जातको कुरा अब कसले गरिरहोस् । फेरि त्यसो गरियो भने यो गणतन्त्रको विरोधी र चारजात छत्तिस वर्ण भन्ने पृथ्वीनारायणको पक्षपातीको बिल्ला लाग्न सक्छ । उठ्न सक्छ फेरि भौतिक कारबाहीकै कुरा ।
अँ त, अब यहाँबाट कुरा अघि बढाऊँ । वास्तवमा थिए गन्जबहादुर । उनी ता अब अलिक उमेर ढल्किसकेका थिए, यसैले उनलाई गाउँमा सबै खालका कामहरुमा बोलाउन सकिन छाडेको थियो । पाल्कीमा लगेर भए पनि कति ठाउँमा ता उनको उपस्थिति गराइन्थ्यो नै । तर उनी जान नसक्ने ठाउँमा प्रतिनिधिका रुपमा उनको पुत्र समरबहादुरलाई लिन र लान थालिएको थियो, आसन ग्रहण गराउन थालिएको थियो, भाषण गराउन थालिएको थियो । यी समरबहादुर अलिक पछाएको बेलाका छोरा थिए गन्जबहादुरका ।
गाउँमा पर्दा यही परिवारको हैकम चल्थ्यो । कसैकोमा खसी काटे गन्जबहादुरको रोज्जा हुन्थ्यो ह्याकुलो । पु¥याउनै पर्ने । कसैकोमा धर्मकर्म गर्नु परे रोटा पकाएर पु¥याउनै पर्ने गन्जबहादुरकोमा । हो, गन्जबहादुरले त्यति बढी गरेनन् गाउँठाउँका युवतीको मामलामा । जसलाई उनले मन पराए त्यसलाई घरैभित्र हुले । यस मानेका उनी निकै नै इमानदार हुन् भन्ने मान्नु पर्छ । तर छोराछोरी भनै उनका भएनन् । जेठीबाट भएनन्, माइली ल्याए । उनबाट पनि भएनन् साइँली ल्याए । साइँलीबाट पनि नभएपछि अर्की ल्याए । सायद उनले अन्तैको जोहो गरेकी थिइन् क्यारे । अन्तकै जोहो गरेकै कारणले होला तिनले भने एउटा छोरो पाइदिइन् गन्जबहादुरलाई । नत्र अर्की पनि ल्याउने विचारमा थिए । त्यसैले उनका अहिले चार ओटी मात्र छन् । आ अब कति ल्याउन् त बिचराले । यस मामलामा उनी इमानदार छन् । मनपराएकालाई उपयोग गरेर, पिएर, खाएर वा चुसेर उतै झुम्रो बनाएर छाड्दा हुन् । त्यसो गर्न उनी सजिलै सक्तथे, तर त्यस्तो अनैतिक काम गरेनन् उनले । त्यस्तो अनैतिक काम पनि गर्नु हुन्छ ? उनी ता गन्जबहादुरु पो हुन् त ! उनी कम मानवतावादी छन् र ? बाहिरफेर मनोरन्जनका लागि उपयोग गरिएकाहरु यी होइनन् । धर्मपत्नीहरुमध्येमा अहिले उनका घरमा चारजनालाई उच्च दर्जा मिलेको छ । तिनै छन् उनले ग्रहण गरेका श्रीमती गन्जबहादुरहरु । राखापाखाका कुरा उति ख्याल हुँदैन उनैलाई पनि । कसले गणना गरिरहोस् बाहिरफेरको कुरा ! उनैलाई थाहा नभएपछि यो कथाकारले कताबाट थाहा पाओस् त !
गाउँठाउँमा उनको बदनाम नभए पनि उनका छोरा समरबहादुर भने बाबु भन्दा पनि बढी अझ बढी रोमान्टिक भएर निस्किंदा भए । यसै कारणले निकै सकस पर्न थालेको थियो सिकैजामा । हुर्किएका छोरीचेलीहरुको इज्जतका लागि अलिक गारो हुन थालेको थियो सिकैजावासीहरुका लागि । गाउँका धेरै मान्छेहरु उनका अधीनमा भए पनि केही मान्छेहरु अलिकति खासखुस गर्न थालेका थिए । छोरीबुहारी र चेलीबेटीकै कुरा आएपछि धेरैलाई खप्न मुस्किल पर्न थालेको थियो । अझ सिकैजामा अलिकति चेतना पनि आइसेको थियो । गन्जबहादुरको पालाको भन्दा अहिलेको सिकैजामा केही जानिफकारहरु पनि थिए । तर उनका हैकमका अघि चुँ गर्न भने सक्नैनथे ।
“बाबुचैं ता निकै इमानदार हो यस मामलामा । उसले सारो बेइमानी ता गरेन है ।” कहिलेकाही गाउँमा कुरा चल्थे गाउँलेहरका माझमा । उनीहरु गन्जबहादुरका बारेमा झासझुस कुरा गरिहेर्थे । गाउँमा कुरा चल्दा गन्जबहादुरका बारेमा साउतीका शब्दमा भनिन्थ्यो । कडा शब्दमा यी कुरा उति सारो भन्ने ह्याउ कसैको पनि हुन्नथ्यो ।
“तर छोरो ता भीमसिने बोको नै पो छ त । गाउँका चेलीबेटी देख्नु नै हुँदैन ।” गन्जबहादुरका छोरामाथि टीकाटिप्पणी गरिन्थ्यो । तर यो टिप्पणी पनि सबैले सुन्ने गरी हुँदैन थियो । “यस मोराले यो गाउँलाई नै दुर्गन्धित बनायो ।” सानै बोलीमा भए पनि कोहीकोही ता भन्न पछि पर्दैनथे ।
“आफ्ना चेली बेटी आफैं काबुमा राख है । नत्र लाग्ला भीमसिने बोको तिनका पछि । अनि पारिदेला मययै नपुगी गाभिनो । कहिलेकाहीं बूढापाकाहरु गाउँलेलाई सल्लाह दिन्थे ।
‘के भीमसिने बोको मात्र भन्छौ ? त्यो ता बिउका लागि राखिएको कुखुराको भाले पो हो त । पोथी देखेपछि......” अलिक छिचरो कुरा बोल्नेहरु भने समरबहादुरका बारेमा अझै तल झरेर प्रतीकात्मक भनाइ राख्ने गर्थे ।
“काँ भन्छौ त्यति मात्र, यो समरे मोरो ता कसैका छोरी र बुहारी नै भन्दैन । एउटीसँग लागे पनि ता हो । लागेको छ दसतिर । पैसा छ मोराका हातमा जति पनि । हाम्रा केटाकेटीहरु पनि पैसा भनेपछि कुदिहाल्छन् उसका पछि । अनि कसरी थाम्नु !” कोही सोझासाझाहरु यसै भन्थे ।
सिकैजा गाउँ सिङ्गै भित्रभित्रै भयभीत थियो– गन्जबहादुरको भीमसिने बोकोमाथि । केही पछि ता यो गाउँ आक्रोशित पनि भइसकेको थियो । चारचार ओटी स्वास्नीहरु भएर पनि कान्छीपट्टिबाट जन्मिएको एक्लो छोरो । गन्जबहादुरले पनि उसलाई नियन्त्रण गर्न सकिराखेका थिएनन् । उसलाई कुनै कुराको कमी थिएन । पैसाका कमी उसलाई कहिल्यै थिएन । थियो भने शिक्षा र अनुशासनको मात्र कमी थियो । यसै कारण ऊ अनुशासनहीन थियो । यही अनुशासनहीन भएको कारण ऊ भीमसिने बोकोका रुपमा गाउँमा चित्रित हुन थालेको थियो । सबै चेलीबेटीहरु पनि पैसैका पछि लाग्ने मात्र ता हँुदैनन् । कसैले ता इजजतलाई पनि महत्व दिएका हुन्छन् । यसैले इज्जतलाई महत्व दिनेहरुको मन मिल्यो र तिनीहरु संगठित हुन थाले– गन्जबहादुरपुत्र समरबहादुरको विरुद्धमा । गाउँठाउँका ठुलाठालुको जुठो पुरो खाएर पालिनेहरुको पनि कमी हुँदैन । यस्तै जुठोपुरो खाएर पालिएका गन्जबहादुरका केही दूतहरुले यो कुराको सुइँको पाएर आफ्ना मालिकलाई खबर गरे ।
समरबहादुरको अत्याचारको सीमा नाघ्न लागेकोले सारा गाउँ नै खनिएर त्यसलाई सेकाउने विचारमा लागेको छ भनेर बढाइ चढाई कानमा कुराहरुको सुइँको दूतहरुले पु¥याएपछि बाबुलाई अलिक चिन्ता हुन थाल्यो । अलिक खुलेरै उसको विरोधको कुरा पनि चल्न थालेको थियो । कताकताबाट गन्जबहादुरका कानमा समरबहादुरमाथि सारा गाउँ नै क्रोधित छ भन्ने भनक पनि पुगिसकेकोले उनले जुनसुकै उपाय गरेर भए पनि यो क्रोधलाई शान्त गर्ने विचार गरे । अन्तमा छोराको बिहे गरिदिएपछि अलिक ठेगान लाग्ला कि भन्ने विचारमा पुगे ।
साँढे, बोको वा भीमसिने बोकोलाई छाडा छाडियो भने त्यसले मनपरी गर्छ भन्ने उनले बुझेका पनि थिए । ‘आफू समयमा जे भइयो भइयो, अब समय पनि उसबेलाको जस्तो छैन, कुनै उपाय नगरी नहुने भयो ।’ उनको सोच थियो । वास्तवमा समय पनि ता उनका पालाको जस्तो थिएन । गाउँमा इस्कुल समेत खोलिएको थियो । एस.एल.सी.सम्म पासै गरेका वा पढेका केही मान्छेहरु पनि गाउँमा भइसकेका थिए । यो समाजसँग पनि ता उनले सम्झौता गर्नै पर्ने भो ।
वास्तवमा गन्जबहादुरलाई छोराको चालामाला देखेर चित्त पनि बुझ्न छाडेको थियो । आमा वेश्यै भए छोरीहरुले चैं त्यो बाटो नसमातुन् भन्छन् अरे । गन्जबहादुर र उनका चारैओटी श्रीमतीहरु पनि उति खुसी हुन छाडेका थिए । समरबहादुरको चालामाला देखेर आफू जे जस्तो भए पनि ऊ सप्रियोस् भन्ने भावना बोकेका थिए ।
यो अप्ठेरो छिनाल्न अब यसको बिहे गरिदिनु पर्छ । बिहे गरेर पघाहा लगाएपछि केही सुध्रिएला कि ? कि कुनै अर्काे उपाय छ ? देखिएन उपाय अर्काे । बिहे गरिदिएपछि ता केही सुघ्रिएला ! नत्र यसले बिताउने भो । समाजमा बसिनसक्नु हुने भो । गन्जबहादुरले सोचे । अनि एक दिन समरबहादुरले भान्सा गर्दै गरेको बेला पारेर सोधे बूढाले–
“तैंले मन पराएकी केटी कुन हो ? अब म तेरो त्यसैसँग बिहे गरिदिन्छु । नडराई धक फुकाएर भन् । आफ्नै जात घरानका मन पराएको भए राम्रो हुन्थ्यो !” अलिकति आशा स्वेच्छा पनि जाहेर गरे ।
“भन् तँलाई कुन केटी मन परेकी छे ?” आमाहरुले पनि केरकार गर्न थाले ।
सबैको एकैबाजिको हमलापछि ऊ अलिक अन्कनायो । अझ पनि चारैओटि आमा र बाबु खेर्न छोडेनन् । गतिलो गरी खेरेपछि उसको केही सिप लागेन र बोल्यो–“खै कुनलाई चैं मन पराएको भनौं । कुनैको जिउ राम्रो छ, कुनैको अनुहार राम्रो छ । कुनैको गलो राम्रो छ । पातलीका चैं दाँत राम्रा छन् । त्यो लछिमाको हाँसो भनेपछि भुतुक्क हुन्छु । अब कुन मन पराएको भन्ने ? हुन्छ भने तपाईंकै जस्तै चारै ओटीसँग बिहे गरिदिनुहोस् न ।”
निष्कर्ष ः
“हँ......!!” उसका कुरा सुनेर गन्जबहादुर बडो बिलखबन्दमा परे । आमाहरु पनि अवाक हुन पुगे । अब कसरी यो भीमसिने बोकोलाई सुमर्ने हुन् गन्जबहादुरले ? गाउँलेहरु भने केही दिनका लागि पर्खिएका छन् । गन्जबहादुरका चाटुकारहरुले यो कुराको निचोड कसरी निकाल्ने हुन् अनि गन्जबहादुरले कसरी व्यवहारमा लागू गर्ने हुन् ! सिकैजा गाउँ नै केही दिनका लागि पर्खिरहेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 21 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु