दशैँ आयो रे !

- सुमी लोहनी

हिजोआज केटाकेटीहरु ‘दशैँ आयो ! दशैँ आयो !’ भन्दै मीठो खाने अनि राम्रो लाउने आशाको रोटे पिङ्गमा नथचुन्जेल मच्चिदैछन् । मित्र ! तपैँलाई दशैँ आयो कि आएन कुन्नि ? तर जनतन्त्र, गणतन्त्र, लोकतन्त्र, मनपरितन्त्र आदि तन्त्रैतन्त्र आएको देशका धेरै बासिन्दाको दैलोमा दशैँको ‘द‘ पनि अँह गोडो टेक्न आए जस्तो छैन । हैन, सप्पैले आयो ! आयो ! भनेको दशैँ अधिकांस देशबासीको मझेरीमा नगै कता ग’छ त हँ ? भनेर यसो हेर्दा, सुन्दा, विचार्दा त जसको घराँ दशैँ नभए पनि हरेक दिन दशैँ मनाइन्छ त्यस्ता दिलदार मान्छेको घराँ पो पुगिबक्सेछ दशैँजी त ! चामलको सेतो भात खान, दुई चौटो चिची चपाउन, एकसरो नयाँ लुगा फेर्न वर्ष दिन कुरेर दशैँको प्रतीक्षा गर्नेहरुको घर आँगनाँ दशैँ आउन त के चिहाउन पनि मुस्किल छ । के गर्नु बडा दशैँलाई पनि बडा, बडा व्यक्तिका बडेमान्का बिल्डिङ्गमा नै आउन मन लाग्दो रै’छ । अनि दुई छाक पेटभरि खान पनि नपुग्ने भोका, नाङ्गा, गरिबगुरुवाको घरमा किन पाइलो टेक्थ्यो र ! दीनदुःखी निमुखाको थाप्लाँ हरेक साल दशैँको सट्टा ऋणको भार पो थोपरिन्छ त !
साँच्चै अहिलेको दशैँ पनि केही व्यक्तिलाई त मज्जैसँग धीत् फुकाएर आ’को छ । सबैभन्दा बढी बडा दशैँ बडा व्यापारीलाई आएको छ । त्यसैले त रातारात बजार भाउ ह्वात्तै हल्केर बादलमाथि पुगी गगन चुम्बन गर्न सक्षम भ’को छ । अनि अति प्रसन्न भै बडा व्यापारीका चिल्ला तालुमा घनघोर धन वर्षा गर्दैछ । त्यसैले आजभोलि हात्तीछाप नोट लिएर तरकारी किन्न बजार गयोभने तरकारी झोलाको पिँधैमा हराउछ र पकाउँदा कन्तीको झोलमा झाम्टा झल्याकझुलुकु झुल्किन्छ ।
केही नेताहरुलाई चाहिँ दिल खोलेरै दशैँ आ’को छ । त्यसैले हारेर, राजिनामा दिएर पनि मन्त्री पद दक्षिणा मिलेको छ । विभागै नभए पनि मन्त्री चैँ मज्जाले भ’का छन् । पदको सदुपयोग गर्दै देश विदेश घुम्या छन् । निधाराँ भत्ता, लत्ता, सत्ताको टीको ट्यासट्यास भ’को छ । नेता नेता बीचाँ गाली र आरोप प्रत्यारोपको जमरा सरक्कै मौलाको छ । नेताहरु आफ्नो स्वार्थका लागि गरिब नेपालीको खुसी, इच्छा, चाहना, सुख, शान्ति आदि कुराको बली मज्जैले चडाउदै छन् । यही त हो नि रमाइलो दशैँ, हैन त ?
बडा दशैँलाई भव्य स्वागत् गर्न सक्नेहरुले त बडा भव्य तरिकाले बडा दशैँ मनाउँनुहुने नै छ क्यार ! नसक्नेले चैँ छिमेकीका घराँ म्याँम्याँ गर्दै कराउदै आएको दशैँको मीठो आवाज सुन्दै कल्पिकल्पी ¥याल काढदै भए दशैँ मनाउनुहोला । च्यात्तेर झूलजस्तो बनेको झल्लर लुगाले जिउ ढाकी ठूल्ठूला सपिङ्ग मलमा डमीले ला’को राम्रो नाना हेर्दै चित्त बुझा’र दशैँ मनाउनुहोला । तिर्दा तिरिमिरी झ्याइँ भए पनि होस् भन्दै ऋण काढेरै भए पनि दशैँ चैँ मज्जाले मनाउनुहोला । हिङ नभए पनि हिङ बाँधेको टालो छ भन्दै महान् चाडलाई महलवासीको सिको गर्दै मनाए त झनै राम्रो !
जे जसरी मनाए पनि सम्पूर्ण पाठक मित्रहरुलाई बडा दशैँको हार्दिक मङ्गलमय शुभ–कामना !


भाटभटेनी

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 16 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु