चुमरेको नयाँ कृति : चिन्तन र समालोचना

- प्रा. डा. कपिल लामिछाने

नेपाली भाषा र साहित्यका फाँटमा चूडामणि रेग्मी (१९९३)को अत्यन्त ठूलो योगदान रहेको छ । संखुवासभामा जन्मे पनि चन्द्रगढी (झापा)मा स्थायी बसोबास गरी मेची बहुमुखी क्याम्पसमा प्राध्यापन सेवामा लामो समयसम्म संलग्न रही हाल सेवा निवृत्त स्वतन्त्र जीवन यापन गरिरहेका चूडामणि रेग्मीले भाषा–साहित्यको साधनाबाट भने अवकाश लिएका छैनन् । यसको एउटा प्रमाण हो– चिन्तन र समालोचना ।
कथा, निबन्ध, काव्यकविताका स्रष्टा तथा व्यङ्ग्यकार रेग्मी कुशल समालोचनाशिल्पी पनि हुन्, भाषासेवक पनि हुन् । वास्तवमा विद्वान् चूडामणि रेग्मीको व्यक्तित्वका मुख्य दुई विशाल फाँट छन्– भाषा र साहित्यसाधना । २०५९मा जुही प्रकाशनको तेह्रौँ पुष्पका रूपमा प्रकाशित चिन्तन र समालोेचनाले रेग्मीका यी दुवै व्यक्तित्वलाई चिनाएको छ ।
मुख्य तीन खण्डमा रहेको यस कृतिको पहिलो खण्डमा भाषिक चिन्तन तथा दोस्रो र तेस्रो खण्डमा साहित्यिक चिन्तन र समालोचनाहरू रहेका छन् । भाषिक चिन्तनअन्तर्गत ‘दीर्घान्तवादी सूर्यविक्रम ज्ञवाली’, ‘विश्वेश्वरप्रसाद कोइरालाका लेखोटमा पाइने वर्णविन्यास’, ‘नेपाली भाषा र पारसमणि’, ‘सजिलोवादी श्यामप्रसाद’, ‘नेपाली भाषाका विद्वान् डा. तारानाथ शर्मा’, ‘नेपाली भाषामा सबै हरस्ववाद सिद्धान्त’ जस्ता भाषाविषयक लेखहरू रहेका छन् । यी लेखका माध्यमबाट भाषाचिन्तक रेग्मीले भाषिक शुद्धता, भाषिक एकरूपता र भाषिक सरलताका पक्षमा महŒवपूर्ण योगदान दिएका आÇना अग्रज तथा समकालीन सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान, श्यामप्रसाद, डा. तारानाथ शर्मा र बालमुकुन्ददेव पाण्डेका भाषिक मान्यताको समीक्षा र स्मरण गरेका छन् । दोस्रो र तेस्रो खण्डमा परेका ‘आयामिक भाषा’, ‘भाषिक शुद्धताबारे समालोचक डा. ईश्वर बरालको दृष्टिकोण’, ‘कमल दीक्षितका निबन्धको भाषापक्ष’, ‘यहाँदेखि त्यहाँसम्मको भाषा’ जस्ता समालोचनात्मक लेखमा पनि रेग्मीको भाषिक चिन्तन मुखरित भएको छ ।
प्रस्तुत कृतिको दोस्रो खण्डमा रेग्मीद्वारा लिखित साहित्यिक चिन्तनसित सम्बन्धित समालोचनात्मक लेखहरू रहेका छन् । ‘समको समालोचकीय दृष्टि’, ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको समालोचकीय दृष्टि’, ‘सिद्धिचरण श्रेष्ठका साहित्यिक विचार’, ‘भवानी भिक्षुका साहित्यिक धारणा’, ‘माधवप्रसाद घिमिरेका समालोचनात्मक विचार’, ‘आयामिक भाषा’, शैलीविज्ञान र मोहनराज शर्मा’ तथा ‘नाटकेतर विधामा नाटकीकरण’ शीर्षकका समीक्षात्मक लेखहरू समाविष्ट छन् । यी समीक्षात्मक लेखका माध्यमबाट समालोचक रेग्मीले उल्लिखित स्रष्टाका समालोचकीय दृष्टिकोण केकस्ता रहेका छन् भनी खोजी गर्दै सङ्क्षिप्त टिप्पणी गरेका छन् भने ‘नाटकेतर विधामा नाटकीकरण’मा नाटकबाहेकका विधामा पनि विषयवस्तुको प्रभावकारिताका लागि केही नाटकीकरण गर्न सकिन्छ भनी उदाहरणसहित पुष्टि गरेका छन् ।
साहित्यिक समालोचना समाविष्ट तेस्रो खण्डमा नौवटा समालोचनाहरू रहेका छन् । ‘तरुणतपसीको बाह्य संरचना : सानो पुर्पच्छे’मा लेखनाथ पौड्यालविरचित नव्यकाव्य तरुणतपसीको छन्दविधान र व्याकरणका विभिन्न पक्षको विवेचना गरिएको छ भने ‘समालोचक सूर्यविक्रम ज्ञवाली’मा ज्ञवालीको समालोचकधर्मिताको विवरण र निक्र्योल गरिएको छ । यस क्रममा समालोचक रेग्मीले ज्ञवाली प्रभाववादी, नीतिवादी र झर्रोपन्थी समालोचक रहेको निष्कर्ष निकालेका छन् । यस्तै ‘भाषिक शुद्धताबारे समालोचक डा. ईश्वर बरालको दृष्टिकोण’मा समालोचक रेग्मी डा. बरालको भाषिक शुद्धता विषयक दृष्टिकोण केकस्तो रहेको छ भन्ने कुरा विभिन्न उदाहरण दिएर सविस्तार वर्णन गर्दै डा. बराल व्याकरणसम्मत तथा स्तरीय भाषाका पक्षपाती रहेको निष्कर्षमा पुगेका छन् । ‘कमल दीक्षितका निबन्धको भाषापक्ष’मा दीक्षितले आÇना निबन्ध, सम्पादकीय आदिका माध्यमबाट नेपाली भाषाको राम्रो प्रयोग गर्दै नेपाली भाषाका विविध पक्षबारे आÇना धारणा राखेको कुरा रेग्मीले उल्लेख गरेका छन् भने ‘यहाँदेखि त्यहाँसम्मको भाषा’मा नेपाली उपन्यासको इतिहासमै बृहत् आकारको उपन्यासका रूपमा देखापरेको ध.च. गोतामेको यहाँदेखि त्यहाँसम्म नामक उपन्यासको भाषाविषयक विविध पक्षको प्रयोगको अध्ययन गर्दै यो उपन्यास भाषिक सौन्दर्ययुक्त काव्यमय उपन्यास हो भन्ने निष्कर्षमा पुगेका छन् । ‘डा. तिमसिनाका समसामयिक समाजको प्रतिनिधित्व गर्ने तीन कथा’मा रेग्मीले डा. डिल्लीराम तिमसिनाका त्रिवेणी (२०१७) मा प्रकाशित ‘चौबन्दी चोलो’, ‘फुटेको ऐना’ र ‘चप्लेटी ढुङ्गो’ नामका तीनवटा कथाको सामान्य विवेचना गरेका छन् । उनले यी तीनवटै कथा समसामयिक सामाजिक परिवेशमा रचिएका छन् भनी देखाएका छन् । ‘पारिजातका निबन्धहरूको विवरणात्मक मूल्याड्ढन’ शीर्षकको समालोचनामा पारिजातका पाइएसम्मका निबन्ध र लेखको विवरण प्रस्तुत गर्दै तिनका सामान्य विशेषताहरू औँल्याउँदै रेग्मीले लेखिका “पारिजातका सांस्कृतिक, आर्थिक, शैक्षिक, मनोवैज्ञानिक कुराहरूका साथै विभिन्न साहित्यिक तथा प्रगतिशील विचारका चिन्तनले भरिएका प्रायः छोटा आकारका निबन्धहरू नेपाली निबन्ध साहित्यका अमूल्य अड्डका रूपमा रहेको” निष्कर्ष दिएका छन् ।
यहाँ रेग्मीले दुईवटा समीक्षात्मक लेख पनि समावेश गरेका छन् । ‘जेलजीवनको सशक्त अभिव्यक्ति ः बन्दी रहर’मा रेग्मीले २०५५ मा प्रकाशित राधाकृष्ण मैनालीको आÇनो जेलजीवनमा आधारित ‘बन्दी रहर’ शीर्षकको आत्मसंस्मरणको समीक्षा गरेका छन् । यस्तै रेग्मीले ‘ललिता दोषीका कथाहरूको परिचयात्मक तथा व्याख्यात्मक अध्ययन’मा नवोदित कथाकार ललिता दोषी क्षेत्रीका ‘प्रेमको परिभाषा’का १५ र ‘भत्किएको किनारा’का १३ गरी जम्मा २८ वटा कथाको सङ्क्षिप्त परिचय दिँदै दोषीलाई एक सशक्त सामाजिक कथाकारका रूपमा चिनाएका छन् ।
यस पुस्तकमा परिशिष्ट खण्डमा समालोचक रेग्मीका सम्पादकीय लेख र नवीन भट्टराईको रेग्मी विषयक टिप्पणी समावेश गरिएको छ । रेग्मीका उक्त भाषा–साहित्यविषयक लेख–समालोचनाहरू प्रायः छोटा रहेका छन् । रेग्मीको भाषिक मान्यता आफ्नै छ । यी लेख र समालोचनामा त्यसको प्रयोग भएको छ ।
यसरी चिन्तन र समालोचना नामक पुस्तकले नेपाली भाषा र साहित्य समालोचनाका फाँटमा रेग्मीका योगदानलाई झल्काएको छ । रेग्मी सरल, शुद्ध र झर्रोवादी भाषाका पक्षमा रहेका छन् भने समालोचनाका क्षेत्रमा उनी प्रभाववादी र वस्तुवादी समीक्षकका रूपमा देखापरेका छन् । नयाँ तथा पुराना प्रतिभा र कृतिलाई परिचय गराउन पनि रेग्मी तत्पर देखिन्छन् । यसरी यसअघि नै कुनै न कुनै पत्रपत्रिकामा प्रकाशित भइसकेका २३ वटा भाषिक साहित्यिक लेख समालोचनाको सँगालोका रूपमा रहेको यस कृतिले रेग्मीको भाषिक साहित्यिक व्यक्तित्वको प्रवक्ताको काम गरेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु