साहित्यकार चूमरेसँग कुराकानी

- पुण्य खरेल

चूमरेसँग अन्तर्वार्ता लिनु महासागर खेलाउनु हो । भनिन्छ, अन्तर्वार्ता दिनेभन्दा लिनेले दुहुन सक्नुपर्छ । मैले भरमग्दुर उहाँबाट कुरा दुहुन कोसिस गरें, जस्तो सकें, यस्तै भयो ।

खरेल ः पारिवारिक जानकारी गराउन मिल्छ ?
चूमरे ः कस्तो पारिवारिक जानकारी माग्नुभएको हो ? म वानाका रेग्मी परिवारमा जन्मिएको ११ सन्तानको सानोकान्छो हुँ । नौ जना दाजु–दिदी तथा भाइ बितिसके । अब दाजुभाउजूहरू कोषराज रेग्मी तथा रेणुका रेग्मी बिराटनगरमा हुनुहुन्छ । दिदी डिम्बप्रिया दाहाल पहिला मादीमा हुनुहुन्थ्यो, अहिले काठमाडौंमा हुनुहुन्छ । छोराहरू प्रदीपमणि, गगनमणि तथा हेमन्तमणि र छोरीहरू रचना, मालती र कोपिला छन् । नाति–नातिनीहरू छोरापट्टि ६ र छोरीपट्टि पाँच गरी ११ जनाले घेरेका छन् । छोरीपट्टि त पनाति पनि भइसके ।
खरेल ः यहाँलाई ‘पूर्वको मोती’ भनेर उपाधि दिइएको छ । खासगरी ‘ज्ञानगुनका कुरा’ले यसलाई प्रचार गरायो । यसवारे के भन्नुहुन्छ ?
चूमरे ः यसवारे मैले धेरै ठाउँमा ‘सबै सम्पादक मोतीराम हुन्’ भनेर प्रष्ट पारिसकेको छु र पनि आलोचकलाई, विश्लेषकलाइ कुनै व्यक्ति वा उसका गतिविधि र लेखनवारे के भन्न मन लाग्छ त्यो उपाधि दिइहाल्छन् । मोतीराम भट्टले भानुभक्तलाई आदिकवि मात्र होइन धेरै उपाधिले परिचय गराएका थिए । तर सूर्यविक्रम ज्ञवालीहरूले आदिकविलाई नै रोजे र त्यही प्रचलनमा ल्याए ।
खरेल ः साहित्यतिर लाग्ने प्रेरणामा त्यस्ता कुनै पारिवारिक सङ्गत वा उल्लेखनीय घटना छन् कि ?
चूमरे ः कोही पनि स्वतः साहित्यकार हुन्छजस्तो मलाई लाग्दैन । किनभने, मलाई बाबुआमाका भागवत र रामायणप्रेमले, रघुवंशका मिठासले, २००९ सालको काठमाडौंको देवपत्तनमा भएको कविगोष्ठीमा महापण्डित राहुल सांकृत्यायन र महाकवि लक्ष्मीप्रसाद देवकोटाको रापिलो तेजले प्रभावित गरेर साहित्यतिर झुकाव बढाउने काम गरेजस्तो लाग्छ । यसमा मेरै भानिज बल्लभमणि दाहालको समेत योगदान छ । पछि म बनारस गएँ, त्यहाँको साहित्यिक वातावरणले मेरो त्यस झुकावलाई अझ मलजल गर्यो ।
खरेल ः वास्तवमा साहित्य भनेको के हो ?
चूमरे ः राम्रो विचार र राम्रो शैलीले अभिव्यक्तिएको सिर्जना नै साहित्य हो ।
खरेल ः कसैले ‘तपाई किन र कसका लागि लेख्नुहुन्छ ?’ भनी सोधेमा के उत्तर दिनुहुन्छ ?
चूमरे ः म प्रगतिशील विचारधाराको लेखक भएको हुनाले समाजलाई काम लाग्ने, जागरण दिने, अँध्यारो फाल्ने विचारले युक्त कलात्मक सिर्जनाले जनता लाभान्वित हुन्छन् भन्ने मान्यता राख्छु । साथै कविसाहित्यकार निजी अनुभव व्यक्ताउन चाहन्छन् । यो कुरा पनि मेरो लेखनस्वभावमै बसिसकेको छ । त्यसैले मेरो विचारमा म देश र जनताका लागि नै लेख्छु ।
खरेल ः साहित्यिक क्षेत्रमा निरन्तर लागिरहने कुरा तपाईंको योजनावद्ध विचार हो कि ? हुँदै जाँदा भवितव्यले बनायो ?
चूमरे ः साँच्चै भन्ने हो भने योजनावद्ध विचारले कामै गरेको हुँदैन भन्न सकिंदैन, यसै गरी भवितव्य भन्ने कुराले पनि खास भूमिका खेलेको हुँदैन । वास्तवमा साहित्य साधनाबाट जन्मन्छ, साधना साधकबाट हुन्छ, त्यसैले प्रष्ट छ, म साधक हुँ, साधना गर्छु । यसलाई तपाईं नै अथ्र्याउनुहोस्, योजनावद्ध हो कि भवितव्य ।
खरेल ः प्राध्यापकीय व्यक्त्त्वि र साहित्यकार व्यक्तित्व तुलना गर्दा कसलाई अग्लो ठान्नुहुन्छ ?
चूमरे ः अग्लो त कुनै छैनन्– न प्राध्यापक न साहित्यिक व्यक्तित्व नै । मैले लगभग ४० वर्ष पढाएँ, पढाउने व्यक्तित्व । अनि ५० वर्षभन्दा बढी साहित्यका विभिन्न विधामा कलम चलाएँ, साहित्यिक व्यक्तित्व । ती दुबै मेरा अभिन्न अङ्ग हुन् । कुनै अग्ला र होचा छैनन् ।
खरेल ः सम्वत् २०१२ देखिकै झर्रो नेपाली अभियानको केन्द्रविन्दुमा रहेर क्रियाशील रहनुभयो । अहिले यो अभियान लगभग तपाईंको एकल काँधमा चलेको छ । यसको महत्त्व र आजको सान्दर्भिकता वारे केही बताइ दिनुहुन्छ ?
चूमरे ः झर्रो नेपाली अभियानका मुख्य मान्छे एक जना बिते, तीन जना जीवित छन् । त्यसो हुँदा म झर्रो नेपाली अभियानको केन्द्रविन्दुमा हुइनँ । तर यो पटक काठमाडौं घुमेर आउँदा एउटा गतिलो अनुभव गरें । झर्रो अभियानको प्रारम्भमा जुन प्रगतिवादी चेतना थियो त्यसलाई मैले सकीनसकी जेजस्तो रूपमा रहेर पनि बोकेको रहेंछु । तपाईंलाई थाहै छ, २०६६ चैत २८–२९ को झापा चन्द्रगढीमा भएको भाषिक भेला २०१३ कै साक्षात् रूप हो । यस्तो झर्रो अभियानमा केही क्षेत्रका मात्र तपाईं–हामी नभएर नेपालको बिभिन्न क्षेत्रका लेखक–कविले यसै शैलीलाई आत्मसात् गरेको देखिन्छ । त्यसैले झर्रो भावना सान्दर्भिक नभएर स्वाभाविक भएको स्पष्ट छ । त्यति भईकन पनि अहिले झर्रोवादमा प्रतिक्रियावाद पनि पस्न खोजेको छनक पाइन्छ ।
खरेल ः संवत् २०१२ मै ‘पहिलो यात्रा’ कथा सङ्ग्रह प्रकाशन गर्न सक्ने कथाकार किन २०३६ सम्म (२४ वर्ष) कथा प्रकाशन बाट गुपचुप हुनुपर्यो ?
चूमरे ः लामो साहित्यक गतिविधिमा कुनै पनि कवि–लेखकको कुनै–कुनै समय कहिले अघि बढ्ने, कहिले पछि सर्ने, कहिले स्थीर रहने हुन्छ । यसो हुनाले मेरो पनि बिचको समय आफ्नै कारणले प्रकाशनमा शिथिलता आएको थियो । तर लेखनमा भने तेजिलो नभए पनि ठिकठिकै ढङ्गले सक्रिय नै थिएँ । २०३६ पूर्व पनि केही सङ्ग्रह प्रकाशित भएकै छन्– आफ्ना र अरुका समेत । जस्तै ः तानासर्माको जीवनका छाल (२०३०) प्रकाशित भएकै हो । यस्तै, मेरै हकमा पनि साधना (२०३०), धुनमाधुन (२०३५) आदि छापिएकै हुन् । हो, कथा सङ्ग्रहकै रूपमा आएन । म अलि कथाभन्दा भाषाको अध्ययन, निबन्धलेखन तिर पनि लहसिएँ ।
खरेल ः कथा प्रकाशनबाट कृति पस्किंदै आए पनि आख्यानकारका रूपमा किन चर्चा पाउनुभएन ?
चूमरे ः ‘यदि’ र ‘किन’ को उत्तर दिनु म व्यर्थ ठान्छु । किनभने आख्यानकार हुन रहर गरेर मात्र हुँदैन । त्यसै ‘म आख्यानकार हुन्छु’ भनेर मात्र हुन्छ ? एउटा पात्रको मात्र जीवन लेखेर आख्यानकार होइन्छ ? एउटा आख्यान टुङ्ग्याउन कतिन्जेल त्यसको फेरोमा बस्नुपर्छ ? समाजको कति सिलसिलेवार अध्ययन गर्नुपर्छ ? कति साधना र समय चाहिन्छ ? त्यो सबमा त्याग हुनुपर्यो, धैर्यता हुनुपर्यो, समय पाउनु पर्यो नि त !
खरेल ः आफूलाई कुन विधामा कलम चलाउन सबभन्दा सहजता बोध हुन्छ ?
चूमरे ः पहिले कथामा कलम चलाउन सहज लाग्थ्यो तर अचेल भने निबन्धमै आफूलाई पोख्न सजिलो लाग्छ, त्यसले नै सन्तुष्टि दिन्छ ।
खरेल ः कुनै एक विधा वा क्षेत्रमा पूर्ण समर्पित बनाएको भए अहिलेभन्दा बढी दिन सकिन्थ्यो कि जस्तो लाग्दैन ? अरु नयाँ प्रतिभाहरूलाई कस्तो अभ्यास गर्ने सल्लाह दिनुहुन्छ ?
चूमरे ः सफल लेखकले धेरै विधामा कलम चलाएर पनि सफलता पाएका छन् । यसलाई उदाहरण दिइरहन आवश्यक ठान्दिनँ । कुनै पनि लेखकलाई आलोचकहरूले लेखन विधा रोज्न खोचे थाप्नु मनासिब मान्दिनँ ।
म नयाँ प्रतिभाहरूलाई आनन्दबद्र्धनाचार्यको उक्ति नै भन्न चाहन्छु, ‘प्रतायन्ताम् वाचो’ अर्थात् कविहरूले अरुले लेखिसके, अब लेख्न बाँकी केही छैन नभनीकन आफ्नो मीठो सिर्जना गर्नुपर्छ । अरुले बोलिसकेको बोली नै त बृहस्पतिले पनि बोल्छन् भने अरुले नबोलेको को बोल्छ र ?
खरेल ः जीवन नै साहित्यमा चुर्लुम्म डुबाउनुभयो । कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
चूमरे ः जीवन सबैले आआफ्नै ढङ्गले बाँच्ने गरेका छन् । यही समाजका कैयौं प्रतिभाहरूका जीवनमा पनि धेरथोर उज्याला–अँध्यारा पक्ष देखिएकै हुन् । मेरो यो लामो जीवनमा पनि पारिवारिक सन्तुष्टि–असन्तुष्टि दुबै छन् । छोराछोरी ठुला भएपछि उनको बिहे हुन्छ, उनको कुरा म गर्दिन । मेरी प्रिय साथी वेदकुमारी भने मेरो साहित्यक जीवनमा समर्पित नारी हुन् । उनी असन्तुष्ट छिन् भन्नुभन्दा बरु म नै उनलाई दुःख दिएर साहित्यकार भएकोमा कहिलेकाहीं असन्तुष्ट हुन्छु ।
खरेल ः तपाईं आफू सन्तुष्ट–असन्तुष्ट जे भए पनि राज्य वा साहित्यिक संस्थाहरूले तपाईंको उचित मूल्याङ्कन नगरेको जस्तो लाग्दैन ?
चूमरे ः तपाईंलाई अचम्म लाग्ला, म आफ्नो योग्यता, आफ्नो स्वभाववारे पनि घोत्लिने मान्छे हुँ । जथाभावी समाजलाई, देशलाई, साथीभाइलाई दोष दिने मेरो स्वभाव नै छैन । मूल्याङ्कनका कुरामा पनि मलाई त आफ्नो बढी नै मूल्याङ्कन भए जस्तो लाग्छ । बरु, आफूले जानेको जति काम गर्न सकिएन भन्ने पो लाग्छ । बनावटी कुरा गरेजस्तो मानिँदैन भने कहिलेकाहीं प्रगतिशील विचारका लागि जति योगदान दिने मेरो योग्यता थियो त्यो दिन निकै पछि परें भन्ने पनि लाग्छ ।
खरेल ः महाकवि देवकोटाले ‘मुनामदन’ वाहेक अरु डढाए पनि हुन्छ भन्नुभएको कुरा सुनिन्छ । त्यस्तै, यदि एउटा मात्र कृति बचाउनू भनिए कुन रोज्नुहुन्थ्यो ?
चूमरे ः एउटा कृति मात्र रोज्दा मेरो उत्तम कृति ‘नेपाली टुककाहरूको अध्ययन’ नै हो, तर विचारका दृष्टिले दुईटा पुस्तकको चाहिं उल्लेख गर्न आवश्यक ठान्छु– ‘पारिजात परिचय र मूल्याङ्कन’ (समालोचना–२०५०) र ‘एउटा छाता दिनुहोला है !’ (२०६४)
खरेल ः आफू प्रतिष्ठानजतिकै भएर पनि प्रज्ञाप्रतिष्ठानका दृष्टिमा पर्नुभएको छैन । प्रज्ञाप्रतिष्ठानका वारेमा तपाईंको धारणा के छ ?
चूमरे ः प्रज्ञाप्रतिष्ठानका दृष्टि ममा परोस्–नपरोस् तर उसको दृष्टि आनो निस्केको आँखो जस्तो छ । गाउँ र सहरको कुरा होइन, राजनीतिको कुरा पनि होइन, माथि बयान गरेको आँखाको दृष्टि कस्तो–कस्तो हुँदो रहेछ भन्ने अनुभवचाहिं भएको छ ।
खरेल ः कोही साहित्यलाई राजनीतिभन्दा माथि राख्नुपर्छ भन्छन्, कोही साहित्य राजनीतिबाट अलग हुनै सक्तैन भन्छन् । यहाँको दृष्टिकोण के हो ?
चूमरे ः नेपालको राजनीतिको हिंडाइ अलि बाउँडो भएकाले हामीलाई पनि भन्न गारो परेको छ । वास्तवमा राजनीतिबाट साहित्य पर भने रहँदैन । यसो भएर पनि राजनीति राजनीति नै हो, साहित्य साहित्य नै हो ।
खरेल ः हाल साहित्यमा उत्तरआधुनिकताको बहस चलिरहेको छ । के हो उत्तरआधुनिकतावाद ?
चूमरे ः उत्तरआधुनिकतावाद प्रगतिवादको विपर्यास हो तर प्रगतिशीलहरूले उत्तरआधुनिकतावादबाट डराउनुपर्ने, थर्किनुपर्ने म केही देख्तिनँ । उत्तरआधुनिकतावादको गतिलो परिचय नभइन्जेल प्रगतिशीलहरू झस्किएलान् तर अलि गहिरिएर अध्ययन गरेपछि आफैं थाहा हुन्छ– यो त्यस्तो झस्किनुपर्ने कुरा होइन । कुनै पनि विचारहरू आजको युगमा आउँछन्, रोकिंदैनन्, रोक्न पनि हुन्न । अझ, वामपन्थी चिन्तन नै पनि बहुलवादी भइसक्यो । वामपन्थी चिन्तकहरू यस्तै शासनसत्तामा भाग लिइरहेका छन् भने हामी साहित्यकारहरूले पनि बहुलवादीहरूबाट डराउनु पर्ने के जरुरी छ र !
खरेल ः बिधाभञ्जन, विधामिश्रण, विनिर्माण, केन्द्र भत्काउने, महाआख्यानको अन्त्य आदि अनेक कुरा भन्दै आएको उत्तरआधुनिकतावादको परिणाम के अब साहित्य साँच्चै विधारहित नै हुन्छ त ? महाआख्यानको अन्त्य हुन्छ त ?
चूमरे ः विधाभञ्जन, महाआख्यानको अन्त्य, विनिर्माण जस्ता यी कुरा कथित हुन् । यसका पक्षधरहरूले भनेजस्तो अर्थिने कुरा नै होइनन् । कुराले केन्द्र भत्काउँछौं भन्ने र कामले केन्द्र बलियो पार्दै जानेहरूका कुरामा किन टाउको दुःखाउने ? ती कुराहरूको हामीले आफैं आफ्नो किसिमले अध्ययन गर्नुपर्छ, आफ्नो उपयोगमा लगाउनु पर्छ । हामी त झन् आफूलाई अरुभन्दा क्रान्तिकारी भन्छौं । पश्चिममा बासी भइसकेका यी कुराहरू अहिले यहाँका केही ‘मै हुँ’ भन्ने मपाईंवादीहरूले चलाएको बिनाबित्थाको कुरा पत्याएर त्यसैमा अल्मलिनुपर्ने जरुरी म त ठान्दिनँ । यसैले म भन्छु, नयाँनयाँ शैलीले, सबै विचारधाराकाले लेख्नुचाहिं महत्त्वपूर्ण कुरा हो लेखून् ।
खरेल ः तपाईं लीलालेखनविरुद्ध उभिनुभयो, कति लेखक–कवि त तपाईंसँग त्यतिबेलैदेखि चिढिए पनि । ‘पुनर्वहाली’ कथा सङ्ग्रहको भूमिकामा तपाईंले हाँक नै दिनुभएको छ । लीलालेखनको प्रतिवादमा किन यसरी लागिपर्नु भएको ?
चूमरे ः इन्द्रबहादुर राईलाई ‘तपाईंले किन कम्नीष्टहरूका विरुद्ध आक्रामक भएर लेख्नुभयो ?’ भनेर सोध्दा, ‘दार्जिलिङमा कम्नीष्टहरूले अचाक्ली गरेको हुनाले यसो म पनि तिनलाई लेखिहालौं न भनेर लेखेको हुँ’ भनेझैं झापामा प्रगतिशीलहरूको बढ्दो प्रभावलाई रोक्ने गतिविधिमा लीला लेख्नेहरूले अचाक्ली गरेको हुनाले मैले पनि प्रगतिशीलहरूको पक्षमा अलिअलि लेखेको हुँ । अलिअलि मात्रै लेखे तापनि ममाथि बिभिन्न बज्रप्रहार भएका छन् तर मैले यो सङ्घर्षलाई सैद्धान्तिक मानेको छु ।
खरेल ः सर्जक मात्र होइन चूमरे, ठुलठुला विशेषाङ्कहरू प्रकाशन गर्ने, ठुलठुला लस्कर लिएर हिंड्ने साहित्यिक सद्भाव यात्राको नायक पनि हो । कमलमणि दीक्षितले शङ्का गरे झैं कतै गुरुआमालाई भोकै र बुच्चै त पार्नुभएको छैन ?
चूमरे ः वास्तवमै कमलमणि दीक्षितले शङ्का गरेको कुरा सही रहेछ । तथापि मैले जेजति राम्रा काम गरें तीप्रति गुरुआमाले चुकचुक गरेकी अथवा गुनासो पोखेकी छैनन् । हो, यहीं आएर मेरो मनले अबको जीवनको महत्त्वपूर्ण पक्षवारे गम खान्छ । उनी अब बृद्धा, रोगी पनि भइन् । अब उनको राम्रो रेखदेख गर्नुपर्छ । यसमा म खुसी राजी कटिबद्ध छु । समले भनेका छन्, कर्तव्य मात्र राम्रो छ, कर्तव्यै छ रमाइलो ।’
खरेल ः प्रायः लेखकहरू मोफसलमा बसे पनि ‘राजधानी पस्ने साइत कहिले जुर्ला ?’ भनेर हडवडाउँछन् तर तपाईं त ढुक्कले झापामा बस्नुभएको छ । राजधानी पस्ने इच्छा जागेन ?
चूमरे ः यसवारे मेरी पत्नी वेदकुमारीलाई नै अघि सार्नु उचित ठान्छु । चन्द्रगढीमा गजघट्टसँग बस्न प्रोत्साहन दिने, मन गर्ने विशेष मान्छे वेदकुमारी नै हुन् । म आफैंलाई पनि राम्रो काम गर्न राजधानी बसे पनि झापा बसे पनि फरक पर्दैन भन्ने लाग्छ । यो विषयमा धेरै नभनौं ।
खरेल ः राष्ट्रिय साहित्यसँग तुलना गर्नुपर्दा झापाली साहित्य वारे तपाईं के भन्नुहुन्छ ?
चूमरे ः कुनै बेला भारतमा हिन्दी साहित्यको केन्द्र दिल्ली वा एक–दुई अरु ठुला सहर मात्र थिए । अहिले भारतका बिभिन्न प्रान्तमा हिन्दी साहित्यका सशक्त केन्द्र छन् । त्यस्तै, नेपालमा पनि अब मोफसल मोफसल मात्र रहेन । केन्द्र भनिएको ठाउँमा पनि मोफसलकै मान्छे केन्द्रे भएका छन् । यो परिप्रेक्ष्यमा हाम्रो झापाली साहित्यिक गतिविधि स्तरीयतातिर बढिरहेको छ । स्तरीयता बढाउन यहाँका लेखक मात्र होइन, पत्रपत्रिकाका साथै क्याम्पसमा शोधकार्य बढ्नाले पनि झापाको साहित्य राष्ट्रिय साहित्यसित तुलनीय हुने कुरा छ्याङ्ङ देखिन्छ ।
खरेल ः तपाईं स्रष्टा मात्र होइन, द्रष्टा पनि हुनुहुन्छ । समसामियक नेपाली समालोचनाको स्थिति के छ ?
चूमरे ः समालोचना कठिन कार्य हो । असल समालोचक हुन धेरै पढ्नुपर्छ । काठमाडौं गएर फास्सफुस्स सुन्दा के ह्वास्स गनाउँछ भने कैयौंं लेखकले विदेशी साहित्यबाट चोरी गरेर लेख्ने गरेका छन् । हाम्रा कतिपय कविलेखकलाई आक्षेप पनि लागेको छ । त्यसो हुनाले समालोचकले विद्वान भई कविलेखकको सर्वप्रथम त मौलिकताको जाँच गर्नुपर्ने आवश्यकता छ । सर्सरी हेर्दा नेपाली साहित्यमा अरु विधाजस्तै समालोचनाको पनि विकास भएकै मान्नुपर्छ ।
खरेल ः ‘समालोचकहरू कृति हेरेर होइन, कृतिकारलाई हेरेर समालोचना गर्छन्’ भन्ने आरोप छ नि !
चूमरे ः यो कुरा ‘को सही समालोचना गर्छ ? को गर्दैन ?’ भन्नेसित सम्बन्धित छ । समाजमा असल र खराब मान्छे भएजस्तै त हो नि साहित्यमा पनि । पक्षपाती समालोचकले स्वार्थका लागि जथाभावी समालोचना गरे पनि असल समालोचकले यस्तो घटिया समालोचना गर्छजस्तो मलाई लाग्दैन ।
खरेल ः भनिन्छ, अधिकांश समालोचक सम, देवकोटा, पौड्यालकै कृतिहरूका पछि लागिरहन्छन् । यसवारे तपाईंको भनाइ के छ ?
चूमरे ः होइन, इतिहासमा योगदान दिएका महाप्रतिभाहरूको चर्चापरिचर्चा जुनसुकै साहित्यमा पनि भइरहन्छ, हुनुपर्छ । मेरो भनाइ के छ भने नयाँनयाँ सशक्त कविलेखकका वारेमा पनि प्रशस्त लेखिएका छन् । अपेक्षाकृत नयाँ प्रतिभाहरूका वारेमा कम लेखिएको कुरा अवश्य हो, अझ लेख्नु पनि पर्छ । साथै ती राष्ट्रिय प्रतिभालाई पनि सँगसँगै लैजानै पर्छ । अघि चर्चा भयो नि, जुहीका विशेषाङ्क, सद्भाव यात्रा आदि वारे ती पनि सम, पौड्याल, देवकोटा तथा अन्य नयाँ प्रतिभा समेतका विशेषाङ्कहरू हुन् ।
खरेल ः कुनैबेला सिर्जनाहरू समालोचकले गरेको विवेचनाबाट प्रशिद्धी पाउने वा कुण्ठित हुने गर्थे । अचेल त जसले प्रचार गर्न सक्यो, त्यसले प्रशिद्धी पाउने र नसक्ने पछि पर्छ भनिन्छ नि ?
चूमरे ः त्यस्तो त होइन तर हालै काठमाडौंमा मविषयक अभिनन्दन ग्रन्थले चर्चा नपाएको र सामान्य मान्छेहरूका प्रायोजित अभिनन्दन ग्रन्थहरूले व्यापक चर्चा पाएको कुरा पनि मलाई सुनाइयो । म हाँसें मात्र । अब पैसाका बलमा गरिएको प्रचारको र्याइँ–र्याइँ कति दिन टिक्ला र ! साधा जीवन जिउने छँदै छौं । यसैले प्रचार केही हो, तर ढोल पिटेको प्रचार केही होइन, स्थायी होइन, म त यही भन्छु ।
खरेल ः राज्यले साहित्य तथा कलालाई जुन महत्त्व र प्राथमिकताका साथ दृष्टि पुर्याउनु पथ्र्यो त्यस्तो भैराखेको छैन । तपाईंको भनाइ के छ ?
चूमरे ः जति करायो त्यति उपलब्धी हामीले उपभोग गर्न पाउँदैनौं । हामीले कराएको कारण अर्कैको पेट भरिन्छ मात्र । स्वार्थीहरूलाई खुवाउन किन कराइ रहने ? ? भन्छु म त अचेल ।
खरेल ः राज्य पुनःसंरचना गरी मुलुकलाई बिभिन्न सङ्घीय राज्यमा बिभक्त गर्ने कुरा उठिरहेको बेला नेपाली भाषा–साहित्यको अवस्था के होला ? नेपाली भाषाको भविष्य कस्तो देख्नुहुन्छ ?
चूमरे ः नेपाली भाषामा एक किसिमको सङ्कट हुलिएको छ । अब यो कति स्थायी हुने हो ? त्यो चिन्ताको विषय छ र पनि यता केही वर्षको गतिविधि हेर्दा नेपाली भाषाउपरका धेरै वक्रदृष्टि स्वतः शिथिल हुँदै गएको अनुभव गर्दै छु ।
खरेल ः यहाँले नेपाली भाषासाहित्यको शिक्षक भएर तीन दशकभन्दा बढी समय गुजार्नुभयो । अहिले पनि शिक्षणबाट टाढिनुभएको छैन । अहिले उच्च शिक्षामा नेपाली भाषासाहित्यको शिक्षणको स्तर कस्तो छ ?
चूमरे ः उच्चशिक्षाका क्षेत्रमा पुरानो विचारकाहरूले अझै पनि घेरा हाल्न नछाडेर बाधा तेस्र्याए पनि नेपाली भाषासाहित्यको सुधारात्मक गतिबिधिबाट उच्च शिक्षा पर गएको छैन । केही छेडपेच र असमझदारीको अवस्था सिर्जना भए पनि नेपाली भाषा–शिक्षणको स्तर घट्छ भन्ने मलाई लाग्दैन ।
खरेल ः तपाईं नेपाली भाषासाहित्यको शोधार्थीको नजिक र कतिपयको शोधनिर्देशक नै रहनुभएको छ । अहिले शोधकार्यमा केकस्ता समस्याहरू देख्नुहुन्छ ? तिनको निराकरण कसरी गर्न सकिएला ?
चूमरे ः यतिखेर नढाँटी भन्नुपर्दा मात्रात्मक रूपमा शोधकर्ता बढे तापनि गुणात्मकता भने बढेजस्तो मलाई लाग्या छैन । यसो हुनमा गलत प्रवृत्ति र अराजक गतिविधि मुख्य कारक भएको देख्छु । हुन त कुनै पनि रोेगको निदान नहुने होइन । यसमा विश्वविद्यालय प्रशासन सशक्त र नियमित हुनुपर्छ तर अहिले त्यो अवस्था सिर्जना हुन सक्ने देखिंदैन, भविष्यमा भयो भने स्वतः निराकरण हुन्छ ।
खरेल ः सम्पादनको लामो अनुभव सँगाल्नुभयो । धेरै पत्रपत्रिकाहरू निकाल्नुभयो र अझै ती निस्कँदै पनि छन् । लामो सम्पादकीय व्यक्तित्वका तीता–मीठा अनुभव बाँड्नुपर्दा ... ...
चूमरे ः यति लामो समयमा भएका अप्ठ्याराको के वयान गरुँ ? अपजसको पनि कति गणना गरुँ ? साँच्चै भन्ने हो भने ती दुःख गर्दाका रातदिन, उकालीओराली सम्झँदा म छक्क पर्छु । तर जुनसुकै समस्या आए पनि धैर्यता आवश्यक पर्छ, परिस्थिति आफैं सिर्जना गर्नुपर्छ ।
खरेल ः चौहत्तरौं जन्मोत्सवको अवसरमा निकै ठुलो (झन्डै ९०० पृष्ठ) अभिनन्दन ग्रन्थसहित तपाईंको सार्वजनिक अभिनन्दन भयो, रथारोहण नै गराइयो, ठुलो सम्मान भयो । यस अभिनन्दनबाट जीवन सफलता वोध गर्नुभएकै होला ! कि अझै केही मनोकाङ्क्षाहरू, जिम्मेदारीहरू बाँकी नै छन्जस्तो लाग्छ ?
चूमरे ः मेरो चौहत्तरौं जन्मदिनको अवसरमा अभिनन्दन ग्रन्थसहित म र मेरी श्रीमतीको जुन अभिनन्दन भयो त्यो ठुलै खुसीको कुरा हो, तर ‘झर्रो नेपाली २०१३’लाई त्यस भेलामा भाषाविद्हरूसमेत उपस्थित भई जुन साकार रूप दिइयो, त्यसबाट मेरो झापाको पैंतालीस वर्षको बसाइ सार्थक भयो भन्ने लागेको छ । यो विषयमा सबै झर्रो शैलीका लेखक र झर्रो नेपाली प्रेमीहरूले व्यापक चर्चा गर्नुहुने मैले आसा गरेको छु । जहाँसम्म मनको इच्छाको कुरा सोध्नुभयो, व्यक्तिको पूजा गर्ने मेरो मनको इच्छा होइन । मेरो मनकै इच्छा भनेको, जबसम्म बाँचिन्छ, जति सकिन्छ, स्याबासीलायक राम्रा काम नै गरिरहूँ । तर बुढेसकालले भने दयामाया गर्दो रहेनछ । समय अलि निठुरी हुँदो रहेछ । यसले चाहिं मलाई निकै सकस पारेको अनुभव गर्दैछु ।
खरेल ः अभिनन्दकै सिलसिलामा यहाँकै इच्छाअनुसार प्रज्ञाप्रतिष्ठानसमेतको सहभागितामा चन्द्रगढीमा वर्णविन्यास सम्बन्धी गोष्ठीसमेत भयो र यसले ‘चन्द्रगढी घोषणापत्र २०६६’ समेत जारी गर्यो । यो घोषणा पत्रलाई गुरुले कसरी लिनुभएको छ ?
चूमरे ः अघि पनि चर्चा भयो, नेपाली भाषाको क्षेत्रमा ‘चन्द्रगढी घोषणापत्र’ प्रथमः त झापाकै इज्जत हो । धेरै समय लगाएर, पसिना बगाएर झापामा नेपाली भाषा र साहित्यका लागि मरिमेटेको मलाई यो घोषणापत्र जारी हुनमा नेपाली भाषाविद् र नेपाली कवि–लेखकहरूको रचनात्मक सहयोग र योगदानका कारण सम्पन्न हुन सकेको हो भन्ने लागको छ । ‘झर्रो – जिन्दावाद’ भनेर झोला बोकीबोकी हिँड्ने मलाई चन्द्रगढी घोषणापत्र कति मनपर्दो हो तपाईं नै विचार गर्न सक्नुहुन्छ । यद्यपि यो घोषणापत्रका एक–दुई कुरामा भने मैले अलि अप्ठ्यारो मानेको छु– एउटा, सबै ‘उ’ ह्रस्व लेख्ने जस्तै ‘भालु’, अनि अर्को चाहिं संयुक्त क्रियाक्षेत्रमा छ ।
खरेल ः नेपाली भाषाको वर्णविन्यास एउटा मानकमा स्थीर रहनुको सट्टा यसरी बदलिरहनु उचित हो र ? यसले भाषाका विद्यार्थी र प्रयोक्ताहरूलाई दिक्क पार्दैन ?
चूमरे ः नेपाली वर्णविन्यासले स्थीर रूप लिनै बाँकी छ । सय वर्ष पुरानो नियमलाई मानक भन्न मिल्दैन । कैयौं संयुक्त व्यञ्जनात्मक वर्ण अनावश्यक भइसके, ह्रस्व–दीर्घका पनि समस्या छन्, जोड्ने–छुट्याउने समस्या उस्तै छ । त्यसै गरी वर्तमान परिस्थितिमा नेपाली भाषाउपर खनिएका कैयौं समस्याले गर्दा पनि वर्णविन्यासको परिवर्तन आवश्यक छ । विशेष गरेर ह्रस्व–दीर्घ र पदयोग, पदवियोग वारेको नियम परिवर्तन नभई नहुने भएको छ । पुरानो वा हामीले मानिआएको मानकले केही समस्या ल्याएको छ । भाषासाहित्य पढाउँदा होस्, पत्रपत्रिकाको सम्पादन गर्दा होस्, लगभग कसैले पनि ती कडा नियम पालन गर्न कठिन मानिरहेका छन् । सरलता र सजिलो नियमले भाषा जीवन्त बन्छ ।
खरेल ः अब अलि व्यक्तिगत कुरा पनि गरौं, यहाँको दैनिकी कसरी बित्दै छ ?
चूमरे ः एउटा उखान छ– “आफ्नो बानी को छोड्छ ? अर्काको बानी को लिन्छ ?” म पनि सधैं अध्ययन–अध्यापन, सिर्जन, गोष्ठी, घोकन्ते आदि गर्ने भएको मान्छे । अहिले केही गतिविधि घटाउने सुरमा छु । तर पनि यस पटक काठमाडौंमा एक महिना खुसुखुसु कतिपय साहित्यकारहरूलाई भेट्न गएँ । दुईटा विमोचन कार्यक्रममा र दुईटा साहित्यिक कार्यक्रममा जान त छाडिनँ । छाडेको भनेको दुईटा कार्यक्रम हो– एउटा, भारतबाट आएका हास्यव्यङ्ग्यकारहरूको प्रज्ञाप्रतिष्ठानमा भएको कार्यक्रम र अर्को महजोडीलाई वासुदेव लुइँटेल पुरस्कार दिएको कार्यक्रम । यहाँ एउटा कुरा नढाँटीकन भन्छु है ! महजोडीलाई सम्मान गरेको कार्यक्रममा मेरो मनले नै जान मन गरेन । यद्यपि म वासुदेव लुइँटेलको भक्त हुँ । जान मन नगरेको कारणचाहिं केही महिनाअघि काठमाडौंमा भएको आन्दोलनमा शान्ति स्थापनाका नाममा महजोडीले सरकारलाई समर्थन हुने गतिविधि गरेर राम्रो काम गरेनन् भन्ने लागेर नै हो । सबैका प्रिय महजोडी, एकपक्षीय भए भन्ने लागेर नै हो । यो राम्रो होइन भन्ने मेरो मनले ठान्यो ।
खरेल ः कतिपय महान् दार्शनिक, चिन्तकहरू जीवनको उत्तराद्र्धतिर परिवारबाट भाग्ने, एक्लिने र दुःखद अन्त्य वरण गर्न पुगेको देखिएको छ । यस्ता कुरा गर्दा पुराना मानिसहरू ‘दैवका कानमा नपरोस् है’ पनि भन्छन् । गुरुको पारिवारिक वातावरण त त्यस्तो छैन नि !
चूमरे ः योभन्दा पहिले पनि पारिवारिक कुराहरू आइसकेका छन् । बुढ्यौलीका कुरा पनि सङ्केत गरिसकेको छु । सत्य कुरो हो– आदर्श र यथार्थ बेग्लै हुन्छ । आदर्श आदर्श हो, यथार्थ यथार्थ हो । तथापि म र मेरी श्रीमतीका प्रयासले घरझगडाले चियाउने मौकै पाएको छैनजस्तो लाग्छ मलाई ।
खरेल ः जीवनका यी दिनमा आफ्नो विगत फर्केर हेर्दा कस्तो अनुभूति हुन्छ ? अब फेरि जीवन सुरु गर्न पाए कस्तो जीवन रुचाउनुहुन्थ्यो ?
चूमरे ः मैले अघि नै भनें नि, ‘यदि’को चाहिं म विरोधी हुँ । जहाँसम्म बितेका दिनको सम्झना गर्ने कुरा छ, म अलि भावुकिन्छु तर अझै पनि तीतोमीठो चाहिं केलाउँछु । मान्छे हुँ, कवि पनि हुँ, मन पग्लिन्छ, भक्कानिन्छु ।
खरेल ः आखिर, जीवन के रहेछ त ?
चूमरे ः यो महत्त्वपूर्ण प्रश्न सोध्नुभयो । यसको उत्तर त एउटा लामो निबन्धले मात्र देला । थोरैमा भन्दा, प्रगतिशील विचारधाराको मान्छेलाई पनि बेदान्तका कैयौं विचारले प्रभाव पार्दा रहेछन् । भानुभक्तको ‘भक्तमाला’ले मेरा आँखामा आँसु ल्याउँछ तर मेरो ब्याख्या भने भौतिकवादी नै हुन्छ ।
खरेल ः साहित्य गोष्ठीमा दौडिंदादौडिंदै दिक्क पनि लाग्दो होला । निमन्त्रणा टार्न नसकेर यस उमेरमा पनि दौडधुप गरिरहनुपर्दा लेखनलाई स्वास्थ्यलाई प्रतिकूल भएजस्तो लाग्दैन ?
चूमरे ः दिक्क वा थक्थकी केही लागेको छैन । सकेसम्म निम्तो स्वीकार गरेर गोष्ठीहरूमा गइएकै हो । जानसके अब पनि जान्छु । म आफ्नो कमजोरी लुकाउन अरुलाई दोष दिने पक्षमा छैन । सकेको कोठामा बसेर अध्ययन गर्छु, लेख्छु । आजै पनि तपाईं आइपुग्दा म लेखिरहेकै थिएँ होइन त ! नसकेकोमा त के गर्नु र ?
खरेल ः दर्जनौं पत्रिकाहरू निकाल्नुभयो, सम्पादन गर्नुभयो तर ‘जुही’लाई मात्र यति धेरै माया किन ? “माथि उठायो जुहीले मलाई, डाँडा ... ... जात्रा गरायो जुहीले मलाई” भनेर जुहीलाई कान्छो छोराको रूपमा प्रस्तुत गर्नुभयो नि !
चूमरे ः जुहीलाई माया गर्नु भनेको आफ्नो महत्त्वपूर्ण कामलाई नछोड्नु हो । “माथि उठायो जुहीले मलाई ... ...”को व्याख्या गरेर म आफैंले पनि गरिमामा एउटा लेख छपाएको छु । वास्तवमा यसभित्र मेरा धेरै कुरा छन् । जुहीलाई यति धेरै माया गर्नुको पछाडि अर्को पनि कारण छ– जीवनमा धेरैखाले समस्याले कुँजिएजस्तो भएका बेला मलाई फुकेर हिंड्न त जुही नै माध्यम भयो । जुहीबाटै मैले यो जीवनमा भाषा र साहित्यका क्षेत्रमा केही भए पनि गतिला काम गर्न पाएँ । कल्पना गर्नुहोस् न, नाशवान् यो जगत्मा मेरा कति धन नाश भए झैं कार्य पनि नाश हुन्थे होलान् । त्यसैले त भनेको “माथि उठायो ... ... जुहीले मलाई ।”
खरेल ः अब नगरी छाड्दिन भन्ने केही योजनाहरू छन् ? ‘कि मनसा चिन्तित कर्म वचसा नप्रकाशयेत्’ ?
चूमरे ः म “वचसा नप्रकाशयेत् ...”पन्थी होइन । त्यसैले कोही मेरो नजिक छ भने मैले चिन्तन गरेको कुरा पनि थाहा पाउँछ । मेरा योजना थुप्रै छन् तर एउटाचाहिं भन्छु– कैयौं प्रगतिशील लेखक–साहित्यकारहरूले आफ्नो बाटो छोडेर बाहिरिए तर तिनले एउटा रचना सारै गतिलो दिएका छन्, अथवा ‘जीवनभरि पथभ्रष्ट भयो पछि गएर एउटा रचना गतिलो दियो’ । त्यस्ता रचनाहरूको समालोचना गरिएको सँगालो निकाल्ने योजना छ, हेरौं ।
खरेल ः किन अचेलका सिर्जनाहरू “एउटा छाता दिनुहोला है !”, “काजु, किसमिस खान देऊ !’’ जस्ता आउन लागेका होलान् ? यसले पाठकलाई ‘अब गुरुले लेखनी बिसाउन लाग्नुभएको होला’ जस्तो भान पार्दैन ?
चूमरे ः सबै लेखकलाई थाहा छ– बेलबेला लेखक मात्तिन्छ, कुँडिन्छ, निरासिन्छ । र त ऊ सिर्जनशील बन्छ । तपाईंले उल्लेख गरेका कुरा सामयिक अभिव्यक्ति भए पनि ‘जब तक सास तब तक आस’ । पढ्न लेख्न किन छाडिन्थ्यो । अझ म त सोचिरहेको छु, आफूले लेख्न नसके पनि लेख्न सक्ने साथीहरूलाई समर्थन र प्रोत्साहन दिइरहूँ ।
खरेल ः अन्तमा, युवा साहित्यकारहरूलाई केही सल्लाह सुझाव दिनुहुन्छ कि ?
चूमरे ः यसवारे मैले भन्ने महत्त्वपूर्ण दुईटा कुरा छन्– पहिलो त असल विचार लिनुहोस् र त्यसका लागि असलअसल पुस्तक पढ्नुहोस भन्छु । अर्कोचाहिं उदारमना, मानववादी, प्रजातान्त्रिक र प्रगतिशील भएर साधनारत रहनुहोस्, सफलता अवश्य मिल्छ ।
खरेल ः मैले सोध्न छुटाएका तर गुरुलाई भनांैभनौं लागेका कुराहरू भए ... ...
चूमरे ः कुरा त धेरै छन् । तीमध्ये मैले यता धेरै दिनदेखि मनमा कृतज्ञतापूर्वक राखेको धाराणामा धेरै क्षेत्रको धेरै साहित्यकारहरूको मप्रतिको निस्वार्थ स्नेहउपरको भावना हो । काठमाडौंमा एक जनाले मलाई सोध्नुभयो– “तपाईंले सबैखाले यति बिघ्न साहित्यकारलाई कसरी आफ्ना पार्नुभयो ?” मैले भनें– “म कसैको कुभलो चिताउँदिन । स्वभावको हठी भए पनि शठ ढङ्गको हठ गर्दिनँ । त्यस्तै शठ ढङ्गको हठीका छेउ पनि म सकेसम्म पर्दिनँ ।”
खरेल ः गरिमाका लागि आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराउनुभयो, यहाँलाई धेरै साधुवाद !
चूमरे ः झर्रो शैलीका आख्यानकार तपाईंलाई मेरो पनि धन्यवाद

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु