जहाँ मार्क्सले कम्युनिष्ट घोषणापत्र लेखे, मैले कविता

- कृष्ण बजगाईं

कार्ल मार्क्स र फ्रेड्रिक एंगेल्सले कुनै जमानामा कफी सप खोलेका थिए र ? कि उनीहरु कुनै क्याफेमा काम गर्दथे ? बेल्जियमको राजधानी ब्रसेल्समा अवस्थित एक क्याफेसँग कम्युनिष्ट दार्शनिक मार्क्स र एंगेल्सको नाम जोडिएर आउँदा सुरुमा यस्तै प्रश्न प्रतिप्रश्नले मनमा रोटेपिङ खेल्न थालेको थियो । पछि बुझ्दै जाँदा अझ त्यो त कम्युनिष्ट क्याफे,मार्क्स क्याफे, कार्ल मार्क्स घर आदि नामले पो चर्चित रहेछ ।

ब्रसेल्सको रैथाने हुने सुर कसेपछि नजिकको तिर्थ हेला भने जस्तै भयो । टाढटाढासम्म चक्कर काटी सकेँ । मेरै नाक अगाडि त्यत्रो ऐतिहासिक घर भएको पत्तै पाइन ? ब्रसेल्समा बसेको दुइ वर्षपछि पो बल्ल थाहा पाएँ । म पनि कतिसम्मको हुस्सू ! हुन पनि मेरो अपार्टमेन्टबाट पन्ध्र बीस मिनेटको ट्राम वा बसको यात्राबाट त्यहाँ पुगिन्थ्यो । त्यो ठाउँ म काम गर्ने थलोबाट पाँच मिनेटको पैदल यात्रा । त्यत्रो बसाई अवधिमा त्यो कुरा कसैले मलाई सुनाएनन् । त्यही भएर थाहा नपाएको हो । एक दिन नगरपालिकको पर्यटन प्रवद्र्धन गर्ने हाते पर्चामा मेरो ध्यान परेपछि पो थाहा पाएँ सबै कुरा ।

कार्ल मार्क्सको नाम जोडिएको त्यो क्याफे ब्रसेल्सको मुटुमा छ । त्यस क्याफेको ठीक अगाडि युरोपको सबै भन्दा सुन्दर र हर समय व्यस्त भई रहने ‘ग्राण्ड प्लेस’ नामको प्रसिद्ध चोक छ । जसलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समेत राखेको छ । त्यस परिसरमा रहेका सोह«ौं शताव्दिदेखिका पुराना घरले आफ्नो प्राचिन मौलिक पहिचानलाई जिवन्त राखेका छन् । सन् १६९५ मा फ्रेन्चहरुको आक्रमणमा ध्वस्त भएका घरहरु पछि पुनर्निर्माण गरिए । ती भवनहरुमा युद्धका घाउ टाटा कहीँ कतै देखिदैनन् । न त छिमेकी मुलुक बेल्जियम र फ्रान्सबीचको सम्बन्धमा अहिले कुनै तिक्तता नै छ । प्राचिन रुपमै दुरुस्तै रहेका ती भवनहरुको सुन्दरता र कलात्मकताले बर्षेनी लाखौं पर्यटकलाई उत्तिकै आकर्षित गरिरहेको छ ।

नगरपालिका भवन, पुरानो राजदरवार, म्यूजियम, क्याफे, रेण्टुरेण्ट, बियर वार, हस्तकलाका सामाग्रीका पसल, चकलेट दोकान, संसार प्रसिद्ध बेल्जियमको हिरा तथा जुहारातका पसलले घेरेको छ त्यस चोकलाई । त्यसको संरचना र पर्यटकको चहलपहललाई हेर्दा नेपालको बसन्तपुर र पाटन दरवार स्क्वायरमा पुग्दछ परदेशी मन । भवनका ढाँचा र पसलका प्रकार फरक भए पनि प्राचिनता, सुन्दरता र रौनकतामा समानता छ नेपालसँग ।

पर्यटन ब्यावसाय हो भन्ने कुरा नेपालमा नारामा मात्र सिमित छ । यहाँ ब्यवहारमा कार्यन्वयन भएको छ । बाह«ैमास पर्यटक तान्नलाई स्थानिय नगरपालिका र केन्द्रीय सरकारले गरेको प्रयास चाहीँ अनौंठो र अचम्मित बनाउने खालको छ । यीनको प्रयास हाम्रो जस्तो देशका मानिसहरुलाई लहडी र फजुल खर्ची पनि लाग्न सक्दछ ।

त्यस चोकमा हरेक महिना केही न केही नयाँ खालका कार्यक्रम राखेर पर्यटकलाई अल्मलाई रहेका हुन्छन् । पर्यटकको बसाई लम्ब्याउन अनेक उपाय लगाउँदा रहेछन् । हरेक वर्ष त्यस चोकमा आयोजना हुने ‘अन्र्तराष्ट्रिय ज्याज महोत्सव’को रौनक नै बेग्लै ! सातदिन सम्म चल्ने उक्त महोत्सवमा युरोपदेखि अमेरिकासम्मका कलाकारको सहभागिता हुँदो रहेछ । ज्याज सुन्नैका लागि भनेर ज्याज प्रेमी आन्तरिक र वाह्य पर्यटकहरु समेत आउँदा रहेछन् । जिन्दगीमा पहिलो पटक हो मैले प्रत्यक्ष ज्याज संगीत सुनेको । पहिले क्यासेट प्लेयरमा सुन्दा धोध्रो लागेको ज्याज प्रत्यक्ष सुने पछि त्यसको ‘फ्यान’ नै भएँ । ज्याज संगीतको पारखी भएपछि त्यसको संगीत तनाव कम गर्ने औषधी जत्तिकै लाग्यो । अहिले पनि तनाव भएको बेला ज्याज संगीतमा रमाउँदछु ।

त्यहाँ वर्षमा पटक पटक हुने म्युजिक कन्सर्ट नछुटाई हेरेको थिएँ । संगीतको वास्तविक शक्ति त्यहाँ थाहा पाएँ । संगीतको लयमा युवायुवती र बृद्धबृद्धासम्म नाँचेको त्यहीँ देखेँ । सित्तैमा हेर्न पाइने, नाम चलेका कलाकारका कन्सर्टमा धीत मरुञ्जेल रमाएको छु । संगीत पर्यटक पनि हुँदा रहेछन् पहिलो पटक त्यही थाहा पाएँ ।

हरेक वर्ष उखरमाउलो गर्मीमा वालुवा थुपारेर बनाईएको समुद्र किनारको झझल्को दिने कृत्रिम ‘बिच’मा खेलाडीहरुले खेलेको ‘बिच भलिवल’को आनन्द लुट्न पर्यटकहरुले त्यसलाई गन्तब्य बनाउदा रहेछन् । पहिलो पटक प्रत्यक्ष बिच भलिबल देखेँ । त्यो पनि ऐतिहासिक स्थलमा । ‘टु पिस’ बिकिनी लगाएका अर्धनग्न महिला खेलाडीका शरिरबाट पसिनाका नदी भन्दा तिनीहरुको जवानी चुहिएको देखिन्थ्यो । त्यसको बर्णनमा श्रृंगार रसका कविले कति राम्रा कविता लेख्दा हुन् अनुमान मात्र गरे । मैले जे देखेँ जस्ताको तस्तै लेखौं भने अश्लिल हुनसक्दछ । त्यसैले यति मात्रै लेख्न सकेँ ।

त्यही चोकमा क्रिसमसको समयमा कृत्रिम रुपमा वरफ जमाएर बनाईएका बरफको चौंडा पिचमा ‘आईस स्केटिङ्ग’को हेर्न र खेल्न आउनेका भीड कति हो कति ! त्यो दृष्यको बर्णन र तारिफ कसरी गरौं ? क्रिसमस सकिएपछि पुरानै रुपमा फर्कने त्यो चोक फेरि जस्ताको तस्तै । सफा र हेरिरहूँ जस्तो लाग्ने ।

हेरेरै कहिल्यै नअघाउने हरेक दुई वर्षमा हुने फुलको कार्पेटको प्रदर्शनी हेर्न जापान, अमेरिका देखि पर्यटक आउँदा रहेछन् । करिब तीनसय वर्ग मिटर क्षेत्रफलमा ‘वेगोनिया’ जातको विभिन्न रंगका फक्रेका फूलको थँुगावाट तयार पारिएको हुँदो रहेछ त्यो कार्पेट । साता दिनसम्म प्रदर्शनीमा राखिने रंगीन बुट्टेदार कार्पेटको अद्भुत कलाको बर्णन कसरी गर्नू ? हाम्रा धर्म शास्त्रमा फुलमाथि बस्ने भगवान हुन्थेँ । हाम्रोमा त्यस्तो कार्पेट बनाईएको भए भगवाननै आउँदछन् भनेर हेर्नेको ताँती नै हुन्थ्यो होला । अथवा मानिसहरुले फटाफट धुप अक्षेता र पैसा चढाउँदथे होला र धर्मगुरुहरुले पैसा सोहर्ने थिए होलान् । मेरो मनमा आएका यस्ता विचार गलत पनि हुनसक्दछ । तर जे देखेँ त्यो सिर्जना अनौंठो लाग्यो मलाई ।

नेपाल भन्दा आधा सानो देश । तर संसारमा सबै भन्दा धेरै अर्थात चारसय भन्दा बढी प्रकारको बियर उत्पादन हुँदो रहेछ । हरेक वर्ष आयोजना हुने बियर मेला त्यही चोकमा हुने गर्दछ । त्यो बियरको मेलामा मातेर लडेका, छाँदेका वा झगडा गरेका कोही देखिएनन् । बरु विभिन्न थरिका बेल्जियमको बियर चाख्दा चाख्दै खुट्टाले लत्तो छाड्न लागेको थियो मेरो । त्यहाँको शालिन र सभ्य दृष्य देखेपछि रक्सी र वियर पिउन नजान्ने त हामी नेपाली नै हौं कि जस्तो लाग्यो ।

गर्मीको समयमा फुर्सदमा रमाउने ठाउँ त्यहीँको बियर बार थियो । कुनै साथीलाई भेट्नु पर्यो भने भेट्ने त्यहीँ चोक थियो । संसारभरिका रंगरंग र थरिथरिको शारिरिक बनौट भएका मानिसको रुपरंग त्यहीँ देखेको हो मैले । संसारभर अधिकांश बोलिने भाषा नबुझे पनि त्यहीँ सुनेँे । त्यति सानो ठाउँमा संसार देखे पनि कार्ल माक्र्सको नाम जोडिएको क्याफे त्यति ढिलो थाहा पाउँदा हुनसम्मको पछुताउ भयो । जब त्यस क्याफेको बारेमा थाहा पाएँ । मेरो मनमा धैर्यता रहेन । कति खेर पुगौं पुगौं लाग्यो ।

जब कार्ल मार्क्सलाई सन् १८४५ मा फ्रान्सबाट पनि निकाला गरियो त्यसपछि उनी बेल्जियममा शरण लिन आएछन् । उनी बेल्जियममा शरणार्थिको रुपमा पो बसेका रहेछन् ! संयुक्त राष्ट्रसंघको स्थापना हुनु अगि, शरणार्थि सन्धीमा हस्ताक्षर नगरि उतिखेर नै शरण दिने त्यो राष्ट्र कति उदार र प्रजातान्त्रिक रहेछ ? हुन त आजका मितिसम्म पनि नक्कली र सक्कली दुबै शरणार्थीहरुको आकर्षण हो बेल्जियम । धेरै शरणार्थीको जीवन रक्षा गरेको छ । तेस्रो मुलुकका नागरिकको युरोपियन हुने सपना पुरा गरिदिएको छ । नेपालकै जस्तै भुराजनीतिक अवस्था उत्तर र दक्षिणका दुइ ठूला राष्ट्र जर्मनी र फ्रान्सको चेपमा छ । तर पनि आर्थिकरुपमा धेरै सम्पन्न छ देश । कुनै अन्तर्राष्ट्रिय झैझगडामा उतिसारो प्रत्यक्ष संलग्नता छैन । तर पनि युरोपियन कमिसनको हेडक्वार्टर, युरोपियन पार्लियामेन्ट र नाटोको हेड अफिस यहीँ छ ।

बेल्जियममा शरण लिएपछि मार्क्स ब्रसेल्सको त्यो क्याफेमा नियमित कफी पिउन जान थाले । क्याफे त्यसबेलाका राजनेता, चिन्तक, कलाकार, साहित्यकार, विचारकहरुको भेटघाट र बहस गर्ने मुख्य अड्डा नै थियो । उ बेला क्याफेमा बसेर कफि पिउनु बुद्धिजिवीको सर्टिफिकट पाउनु जत्तिकै हुन्थ्यो । तीनलाई एलिट क्लासका मानिस जस्तै ठानिन्थ्यो । समय परिवर्तन भयो, अहिलेको क्याफे तरुनी भेट्ने र मायाप्रेम गाँस्ने मिटिङ प्वाइन्ट भएको छ ।

सन् १८४८मा प्रकाशित संसार बदल्ने कम्युनिष्ट घोषणापत्र कार्ल मार्क्स र फ्रेड्रिक एंगेल्सले त्यहीँ क्याफेमा बसेर लेखेछन् । त्यो कम्युनिष्ट घोषणापत्र प्रकाशित भएपछि शरण दिइरहेको राजतन्त्रात्मक देश बेल्जियममा मात्र होईन संसारभर हल्ली खल्ली मच्चियो । बेल्जियमका तत्कालिन राजाले उनलाई पक्रन आदेश दिए । मार्क्स र उनकी पत्नीलाई अठार घण्टा थुनामा राखेपछि देश निकाला गरे । त्यसपछि उनीहरु फेरि फ्रान्स गए ।

त्यो ऐतिहासिक घरमा रहेको क्याफे आजकल देश विदेशका मानिसहरुको आर्कषण केन्द्र बनेको छ । हाल त्यहाँ क्याफे र बेल्जियन खानाको रेष्टुरेण्ट संचालित छ । खाना जानु भन्दा पहिले नै स्थान ‘रिजर्भ’ गर्नु पर्ने त्यस रेष्टुरेण्टको ब्यापार कति होला ? अनुमान गर्न सकिन्छ । जे होस् कार्ल माक्र्स र एंगेल्सको नाम जोडेर कसैको ब्यापार फलिफाप भएको छ । नीजी धनसम्पत्ति र ब्यापारका बिरोधी ती दार्शनिक त्यस रेष्टुरेण्टका अघोषित ब्राण्ड एम्बेसेडर भएको देखेँ मैले । त्यस कुरामा मार्क्स र एंगेल्सका सन्तान तथा उनका अनुनायीले बिरोध नगरेपछि अरुलाई के को आपत्ती ?

कुरा यति मात्र होइन । सन् १६९८ मा निर्मित त्यो घरको बेग्लै ऐतिहासिक महत्व रहेछ । सन् १८८१ मा बेल्जियन सोसलिष्ट पार्टीको स्थापना त्यहीं घरमा पो भएको रहेछ ! कम्युनिष्ट मार्क्स र एंगेल्सको नाम जोडे पनि, सोसलिष्ट पार्टी स्थापना भए पनि त्यस क्याफे भित्रको खाने तथा पिउने बस्तुको मुल्य भने भयङ्कर पूँजिवादी छ ।

यस्तो महत्वपूर्ण संसार प्रसिद्ध क्याफेमा बेल्जियम बसाईको दुइ वर्ष पछि पहिलो पटक गएँ । कम्युनिष्ट घोषणपत्र लेखिएको त्यस घरलाई फ्रेन्च भाषामा ‘ला मेजों दु शीन्’ भनिन्छ । अर्थात ‘राजहंस घर’ । बाहिरबाट हेर्दा त्यो घर मध्यकालिन ढाँचामा बनेको छ । प्रवेशद्धारको ठीक माथि उड्नलाई ठीक परेको सेतो राजहाँसको कलात्मक मूर्ति छ । बाहिरबाट हेर्दा पुरानो ढाँचाको त्यस घरभित्र पसेपछि देखिने आधुनिक सुविधाहरु हेर्दा कुन युगको घर भनेर अलमल्ल परिन्छ । तर घर भित्रको मौलिकतामा कुनै फेरवदल नगरिकन सिंगारिएको छ ।

रेष्टुरेष्टको माथिल्लो तलामा कार्ल माक्र्सको ठूलो पोट्रेट रहेछ । त्यहाँ आएकाहरु मार्क्सको छेउमा परेर फोटो खिचाउँदा रहेछन् । भित्तामा अरु पनि चित्रहरु टाँगिएका छन् । त्यहाँका आकर्षक तथा दुर्लभ पेण्टिङहरु देख्दा कला प्रतिको युरोपेलीहरुको रुची थाहा पाउन सकिन्छ ।

म पुग्दा रेष्टुरेण्ट खचाखच भरिएको थियो । म एक्लो फुक्का मान्छे । एक्लै गएको थिएँ । संयोगवश क्याफेको झ्याल पट्टिको टेवलमा स्थान पाएँ । त्यहाँबाट सम्पूर्ण ‘ग्राण्ड प्लेस’को मनोरम दृश्य देख्न पार्इंयो ।

कुनै कार्यक्रम नभएको बेला परेकोले त्यो ‘ग्राण्ड प्लेस’ खाली थियो । खालीको अर्थ मान्छे नहुनु भन्ने होइन । हरसमय ब्यस्त चोकमा टन्न पर्यटक थिए । तर कुनै औपचारिक कार्यक्रम थिएन । त्यहाँ संसारभरका पर्यटकको ओहरदोहरमा कुनै कमी थिएन । चोकको एक छेउमा बेल्जियमका चित्रकारहरुको समूह थियो । कोही कार्टुन त कोही पोटेट्र बनाईरहेका, कोही पहिले नै बनाइएका चित्र बेच्न बसेका थिए । तरुनी युवती, बैंश ढल्केका बुढीको फेसन त्यस झ्यालबाट चिहाएर हेरिरहेँ । तरुनीहरुको ‘क्याट वाक’ र युवायुवतीको माया साटासाट यस्ता दृष्य बुढाहरुले देखे भने उनीहरुको जवानी नै बौरिएर आउला जस्तो लाग्यो । यस्तो ठाउँमा बसेर मार्क्स र एंगेल्सले श्रृंगार रसको कविता लेख्नु पर्नेमा कसरी कम्युनिष्ट घोषणापत्र लेखे होलान ? आफैलाई प्रश्न सोधेँ ।

ब्लाक कफी टेवलमा आइसकेको थियो । कफि पिउन थालेँपछि मनमा विभिन्न तरंगहरुले यात्रा गर्न थाले । आधा कप कफी सक्दा नसक्दै अचानक एउटा कविता फुर्यो । कागजमा टिपिहालेँ ।

‘आँखा र सपना’

खुल्लै आँखाले पनि
कसरी देख्न नसकेको हँ ?

आँखा चिम्लेर महिर्षिले
संसार देख्थे
ध्यान मग्न बुद्धले
ज्ञानको गहिराई देखे
आँखै खोलेर पनि
नदेखे जस्तो किन गर्नूृ ?

आँखा चिम्लेर पनि ब्यूँझि राख्नू– बुद्ध
आँखा खोलेर पनि नदेख्नू– राजनीति

कसरी असरल्ल छाड्न सकेका
आँखाहरु सडकमा ?

जिन्स पाइन्टको पछिल्लो खल्तीमा
आँखा राखेर किन हिँड्छन तरुनीहरु ?
वक्षस्थलमा आँखा टाँसेर
कसरी हिँड्न सकेका लोग्ने मानिसहरु ?
कसले भन्यो
राजनेताहरुको आँखा घिच्चुकमा हुन्छ ?

हाम्रै आँखा अगाडि छट्टु् राजनेताहरुले
कसरी झुक्यार लगेकाछन्
जनताको आँखाको नानी,
र टाँसी दिएकाछन् उनीहरुको आँखामा सपना ।

सपनाको आकार हुँदैन
सपना साकार हुँदैन
जब थाहा पाउँछन् एक दिन
माग्नेछन् उनीहरुले आआफ्ना आँखाका नानी ।
त्यसपछि हेर्नुपर्दछ
कसरी चलाउँछन् अन्धाहरुले शासन ?

ला मेजों दु शीन् , ब्रसेल्स, बेल्जियम

विश्वका सर्वहाराको मुक्तिका लागि भन्दै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन कम्युनिष्ट घोषणपत्र लेखिएको घरमा कविता लेख्ने कस्तो गज्जबको संयोग जु¥यो ! म कति भाग्यमानी ! वास्तवमा भन्ने हो भने मेरो साहित्यिक यात्राको श्रेय मार्क्सवादी साहित्यलाई नै जान्छ । आठ कक्षा पढदादेखि नै लुकीछिपी मार्क्सवादी साहित्य पढने गरेको थिएँ । त्यसैको निरन्तरताले मलाई साहित्यमा लाग्ने प्रेरणा र ज्ञान दियो । धन्य छ मार्क्सवादी साहित्य, जसले मलाई संसार बुझने चेतना दियो । तिनै मार्क्सले कम्युनिष्ट घोषणापत्र लेखेको घरमा बसेर मैले कविता लेखँे । यो भन्दा खुशी हुने र गर्व गर्ने कुरा के हुन सक्दछ मेरा लागि ?

देश द्धन्द्धमा फसेको बेलामा परदेशमा भौतारिरहेको थिएँ । वास्तवमा देशको दुर्दशा र त्यस्तो अवस्थामा कुनै सुरक्षित भविष्य नदेखेर हिँडेको मान्छे म । त्यो बेला जनमुक्तिका लागि भन्दै कम्युनिष्ट आन्दोलनको नाममा घरदेशमा माओवादी द्धन्द्ध सुरु भएर उत्कर्षणमा पुगेको बेला थियो । सरकारको निसानामा परेर कैयौ कम्युनिष्ट र गैर कम्युनिष्टहरुले यातना पाए, मारिए, बेपत्ता पारिए । सत्तामा पुगेपछि हरेक सरकार दमनकारी हुन्छन् । सरकारको कुरा छाडौं । तर माओवादी निशानामा परेर शोषक, सामन्ती र सुराकीको नाममा हजारौं निर्दोष मारिए । कैयौंको धनसम्पत्ती लुटिए, घर जग्गा कब्जा गरिए । के मार्क्सले त्यसरी निहत्था गरिब जनता मारेर कम्युनिष्ट ब्यवस्था आउँदछ भनेर कम्युनिष्ट घोषणापत्रमा लेखेका थिए त ? कम्युनिष्ट घोषणापत्र लेखेको ठाउँमा बसेर आफैलाई प्रश्न गरेँ । डर त्रासमा नेपालमा रहेका मेरा परिवार, आफन्तजन र चिनेजानेका साथी भाइको तस्बिर आँखैमा आयो । माओवादी र सरकारको चेपुवामा परेर दुःख पाएका निरिह जनताको पीडा अनुमान गरेँ । घरदेशमा घट्ने नराम्रा खबरले हरेक परदेशीको मन दुःखी हुन्छ । मेरो पनि मन उही हो । दुःखी भएँ । त्यसपछि चिसो भैसकेको कफिको अन्तिम घुट्को पिएँ । र म सहरको कोलाहालमा मिसिएँ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु