जसरी भए पनि ...!

- माधव काफ्ले

लिपिबद्ध इतिहासले पुष्टि गरिसकेको छ राजनीति राम्रो विषयवस्नु होइन भन्ने कुरा । राजनीति राम्रो कुरा भएको भए जुलियस सिजरको हत्या हुने थिएन । राजनीति राम्रो कुरा भएको भए रामले बनवास जानुपर्ने थिएन, राजनीति लोककल्याणकारी विषय भएको भए सम्भवतः महाभारतको युद्ध हुने थिएन र हुने थिएन होला प्रथम र द्वितीय विश्वयुद्धका नाममा गरिएको विभत्स नरसंहार पनि; न त हिटलरको सर्वसत्तावादी शासन प्रणाली नै फैलन पाउने थियो, न त इदि अमिन र मुसोलिनीको पाशविक शासन प्रणाली नै फुल्न पाउने थियो । यही राजनीतिको राक्षसी कारणले गर्दा हज्जारौं भियतनामीहरूले आत्मदाह गरे । यही राजनीतिको कुसंस्कारले गर्दा एकै रातमा दसौं लाख मानिस मारिए इन्डोनेसियामा । तियानमेन चोकमा मान्छे मार्न पटक पटक डोजरको प्रयोग गरिएको कुरा इतिहासदेखि धेरै टाढा छैन । राजनीतिको ‘र’ पनि थाहा नहुने निर्दोष नागरिकहरू मारिए खाडी युद्धमा । अझै पनि अमेरिका र यसका मतियार राष्ट्रहरु निर्दोष मुलुकहरु माथि अनेकौं खोचे थापेर क्षेप्यास्त्र माथि क्षेप्यास्त्र प्रयोग गरिरहेकाछन् निमुखारुले स्वतन्त्रतापूर्वक बाँच्न पाउने नैसर्गिक अधिकारको डँडाल्नु ठनक्कै भाँचेर दिनानुदिन ज्यादतिका कहरहरु बर्साउँदै संसारलाई नै त्रसित र भयभित तुल्याइरहेकाछन् ।
लिप्सायुक्त राजनीतिले गर्दा शेरबहादुरले रणबहादुर शाहको घाँटी छप्क्याएको छ, ईष्र्यायुक्त राजनीतिले गर्दा भीमसेन थापाको दुखद्पूर्ण अवसान भएको छ, तिर्सनायुक्त राजनीतिका कारणले गर्दा रणोद्वीपलाई गोली हानी सर्वेसर्वा भएका छन् –भाइ राणाहरू । सत्ताको मीठो स्वाद जिब्रोमा पुग्न पाएपछि मान्छेले बाउ भन्दो रहेनछ, भाइ भन्दो रहेनछ, आमा भन्दोरहेनछ, आफन्त भन्दोरहेनछ । मौका पर्नासाथ घाँटी छप्क्याउँदै श्रीपेज भिरिहाल्यो । नरसंहार गरेर स्वेच्छाचारी भइहाल्यो । जतिसुकै नजिकको रगतको नाता नै किन नहोस्–मान्छे आलो रगतले आचमनी नगरी राज्य सिंहाशन हात लाग्ने नहुनाले आला मुण्डमालाहरु भिरेर नै मानिसहरु मठाधीश हुने गरेकाछन् । । यही राजनीतिले इथियोपियाको विनाश, सोमालियाको बर्बादी, रुवान्डाको नरसंहार, सुडानको भोकमरी, सोभियत संघ र युगोस्लाभियामा विखण्डनको डडेलो लगाएर त्यहाँको सामाजिक संरचना र आपसी मेल–सद्भावनाको पवित्र भावनालाई ध्वस्त पार्दै क्षेत्रीय अखण्डतालाई पुट दिएर आएको वर्तमान राजनीतिले सभ्यताको मुहान ठानिने अफगानिस्तानलाई श्मशानमा परिणत गर्दैछ, चेचेन्यालाई मानवरहित बनाउँदैछ, विखण्डनको राँको बोकेर श्रीलंकालाई डढाउन उद्यत छ, निरङ्कुशताको गोमन बनेर पाकिस्तानलाई डस्न खोज्दैछ, एकलध्रुवीय अमेरिकी साम्राज्यवाद ज्यादतीको जहर भएर ल्याटिन अमेरिकाभित्र मात्र नभई विश्वमा नै रक्तरञ्जित नङ्ग्रा देखाएर रक्तपिपाशु स्वभाव सार्वजनिक गर्दैछ, माओवादी आन्दोलन हिंसा र हत्याको पर्यायको रूपमा रूपान्तरण हुँदैछ । फगत दुई जोदाहाको बलमिच्याइँ र उदण्डताले गर्दा बर्सेनी लाखौं व्यक्तिहरूले सहादत प्राप्त गर्दा पनि रोमका राजा निरो झैं तमासा हेरेर बस्दारहेछन् शासकवर्गहरू ।
कलहको जगमा अडिएको हुँदोरहेछ राजनीति, द्वेषको उर्वर माटोमा उम्रँदोरहेछ राजनीति, अहङ्कारको आडमा अगाडि बढ्दोरहेछ राजनीति, षड्यन्त्रको मलजलले फस्टाउँदोरहेछ राजनीति, हत्या र हिंसाको बलमा बलिष्ट हुन खोज्दोरहेछ राजनीति, सुधारको आवरणभित्र कुटिलताका बर्दी र पासा लिएर हिंड्दोरहेछ राजनीति, कानुनी राज्यको पृष्ठभूमिमा अन्याय, अराजकता र आतङ्कको बाली लगाउँदोरहेछ राजनीति । विकासको कुरा कसैले गर्न खोजे तापनि स्वतन्त्रताको राग कसैले अलापे तापनि, सुधारको सन्देश कसैले दिन खोजे तापनि राजनीति फगत निरङ्कुशतन्त्र र हुकुमी शासनको अदृश्य मेरुदण्ड हो जसमा सीमित मानिसले असङ्ख्य मानिसलाई बँधुवा मजदुरको श्रेणीमा राखेर सत्ताको बागडोर आफ्नो हातमा लिने गर्दछन् र इमान्दार नागरिकहरूलाई कार्यकर्ताको बिल्ला भिडाएर पार्टीको रछ्यानमा लगेर खाँद्दारहेछन् र साधारण सदस्यताको दज्र्यानी चिन्ह बाँडेर कज्याउँदै जोत्दा पनि रहेछन् ,र सर्वसाधारण मानिसहरुलाई अघोसित कमाराको रुपमा कयसमा राखेर फनफनी घुमाउन पुग्दारहेछन् ,थाल्दारहेछन् ।
नचाहँदा नचाहँदै र सरोकार नराख्दा पनि सामाजिक प्राणी भएको नाताले अप्रत्यक्ष रूपबाट राजनीतिको ख्याकले ग्रसित र त्रसित पारिरहेको छ मलाई पनि । यसै परिप्रेक्ष्यमा मेरा एकजना राजनीतिज्ञ कम समाजसेवी मध्यम र साहित्यिक ज्यादा अभिन्न मित्रले यसैक्षेत्रमा एउटा फिस्टे उप निर्वाचन हुन लागेका बखत आफ्नो पक्षको उम्म्ेदवारको चुनावी प्रचार गर्ने सिलसिलामा आँगनको डिलमा उभिंदै अनुरोधयुक्त स्नेहिल भाषामा आग्रह गरेका थिए,–‘मित्र तपाईले जसरी भएपनि यसपालि हामीलाई सहयोग गर्नुपर्छ ।’ सहयोगको पवित्र भावना हामी बीचमा विगत १६ वर्षदेखि मौलाउँदै आएको छ । नातामा केही नपर्ने भएता पनि रगतको साइनो लागेर बन्ने नातेदारभन्दा उनी मेरो लागि सयौं गुणा पूजनीय र वन्दनीय छन् यसकारण कि उनी मेरो दुःखमा कति पटक चिन्तित भएका छन् मेरो कष्ट र पीडाको दारुण शृङ्खलामा आबद्ध हुँदै मेरो उद्धारकार्यमा दत्तचित्तले लागि परेका छन् । तिर्ने हो भने पनि उनले गरेका उपकार र सहयोग मैले जतिसुकै ठूलो प्रयास गरे पनि यस जुनीमा सक्ने छैन । उनलाई साँच्चै नै अप्ठ्यारो परेका बखत सहयोग हैन घाँटी नै दिन सहज किसिमले सक्ने थिएँ । तर कुरा त्यस्तो थिएन । मेरो समर्पणको सङ्लो आकाङ्क्षालाई अठ्याउँदै खोचे थापेर सहयोग आफूलाई नभई आफ्नो पार्टीको कुनै दुईकौडीको (उम्मेदवार जतिसुकै गरिमामय व्यक्ति भएता पनि ऊभन्दा उनी मेरो लागि धेरै सम्मानित भएका हुँदा यहाँ दुईटका शब्द प्रयोग गरिएको हो) टपरे व्यक्तिको लागि आत्मीयताको पर्दा पछाडिबाट द्रोणाचार्यले गुरुदक्षिणा वापत बूढी औंला मागे झैं मैत्रित्वको झरझराउँदो अगुल्टो मेरो सद्भावको जरोकिलो नै डढ्ने गरी मेरो मुटुमा ठोसेका हुँदा मैले भनें–‘किन?’ उनले किनको एकमुष्ट उत्तर दिन नसकेपछि त्यस उम्मेदवारको सहस्र विशेषणले सम्बोधन गर्दै राजनीतिक भाषामा नै किस्ताबन्दी भने–
य ‘उहाँ समाजवादको उन्नायक पुरुषका पुत्रश्री हुनुहुन्छ ।’
य ‘अनि ?’
–‘उहाँ असल समाजसेवी हुनुहुन्छ ।’
य ‘अनि ?’
– ‘उहाँ राष्ट्रिय व्यक्तित्व भएको मान्छे हुनुहुन्छ ।’
य ‘अनि ?’
– ‘उहाँ राष्ट्रवादी मान्छे हुनुहुन्छ ।’
य ‘अनि ?’
– ‘उहाँको आवश्यकता वर्तमान संसदीय संरचनामा खड्किएको छ ।’
य ‘अनि ?’
– ‘उहाँ महान हुनुहुन्छ ।’
मैले जतिसुकै तर्कको डोरी बाटे पनि, मेरा कट्मिरा तर्कको उत्तर दिन उनी धैर्यको पासो लिएर प्रतिउत्तरको अखडामा उचालिएको देखेपछि अनिको गारदबाट अलग्गिंदै भनें–‘ती त्यति ठूला महानायक भए २०५ क्षेत्र खाली हुँदा तपाईको पार्टीले उहाँको आवश्यकता किन महसुस गरेन त ?’
उनी अलिकति अकमकिए । (उनको उम्मेदवार मेरो चिन्तनको चौघेराभन्दा बाहिरको व्यक्तिभएको हुँदा उनको समस्यालाई साझेदारी गर्ने मन मेरो थिएन । खिल्ली उडाउनु मेरो घोषित लक्ष्य पनि थियो ) त्यसैले मलाई लाग्यो– फलाम एकदमै तातो अवस्थामा छ । प्रहार गर्न अलिकति पनि बिलम्ब गरे अरमठ्ठ भएर अररो हुनसक्छ र अधकल्चो भयो भने जतिसुकै पसिना बगाए पनि बेकार हुनजान्छ । त्यसैले उनी सम्हालिनुभन्दा पूर्व नै हरिशङ्कर प्रसाईंको व्यङ्ग्यको एउटा टुक्रो समाउँदै भनें–‘गुलामीको घ्युभन्दा आजादीको घाँस धेरै मीठो हुन्छ भन्छन्,घिउ जति जुँगा मुसारी मुसारी पञ्चायतले सप्क्याइ हाल्यो । अवको प्mयाङ्लो प्रजातान्त्रिक फुसुन सरकारले निम्ससरा नागरिकहरुलाई रिझाउन दिन बाँकी रहेको बस्तु त्यही घाँस हो राष्ट्रवादी नेतृत्वको मखुण्डो भिरेर त्यही घाँस खुवाउन आएको त होला नि यो पनि ! यस प्रसङ्गलाई बीचैमा चुँडेर फेरि अर्को आशय खप्टिंदै भनें–‘यसभन्दा अघि उहाँ कुन दुनियाँमा हुनुहुन्थ्यो र ? एक्कासि धूमकेतु बनेर उपनिर्वाचनको जुठो टपरी चाट्न कताबाट उदाउँदै आइपुग्नुभएको हो ?’ आशयका आँकुराहरूलाई निमेषभरमै निमोठेर फ्याकिएका प्रतिकारका तीखा वाण चेतनाभरि बज्रिन थालेपछि उनको अनुहारमा कता कता निराशाका घुर्मैला टाटा, कता कता कुण्ठाका पन्यैला रेखा, कता कता अहम्जन्य चेतनाका अणुहरू सल्बलाइरहेझैँ लाग्यो मलाई र लाग्यो अहंकारवादी सनातनी सोच अरमठ्ठ हुंदै तीव्र गर्जनका साथ साथ घनघोर अन्धकारलाई शिरमा स्युरेर मेघ गर्जिदैछ र कुुनै पनि अवस्थामा हुँकारका साथ तिरस्कारको वीष वमन गर्दै मेरो टाउकोमाथि खनिन सक्छ । तर त्यसो भएन ।
उनले संयमित हुँदै भने–‘तर उहाँले चुनाव जित्नुहुन्छ ।’
मलाई लाग्यो–यथार्थ हैन, उनको अभिमान बोलिरहेको छ । हैकमवादी प्रकृतिको सनातनी हुँकार बोलिरहेको छ ।आडँबरयुक्त दम्भी चरित्र बोलिरहेको छ ।
त्यसैले सोधें– आधार !
‘सरकार हाम्रै छ ।
– मैले मानें ।
‘संसदमा हाम्रो पूर्व बहुमत छ ।’
समस्त मन्त्रिमण्डल प्रचार प्रसारमा जुटिसकेको छ ।
– मैले मानें ।
‘अत्याधुनिक प्रगति र विकासका पूर्वाधारहरू खोजिंदैछ ।’
(भन्न त मलाई राष्ट्रको ढुकुटी पनि रत्यौली खेले सरह रित्याइँदैछ भनेर भन्न मन लागेको थियो) तर
प्रकटमा भनें–मैले मानें
‘विकासको लहर बढ्दै छ ।’
– मैले माने
‘जनाधार राम्रो छ ।’
‘हाम्रो पार्टी मजबुत छ ।’
उनको तुजुकको एकहोरो आलाप सुन्न धैर्य क्रमशः ¥हास हुँदै गैरहेकोले विवाद टुङ्ग्याउने हेतुले संक्षेपमा भनें–‘यी सबै हात्तीका देखाउने दाँत मात्र हुन ।’
मैले उनलाई यथार्थको धरातलमा उत्रिएर हेर्ने आग्रह गरें । वस्तुस्थिति र परिवेशलाई आत्मसात् गदै आफ्नो दर्शनको मूल्याङ्कन गर्न बिन्ती बिसाएँ । व्यक्ति र विचारलाई प्राथमिकता दिनुभन्दा पनि पार्टीका कार्यक्रम र निर्देशिकालाई परिभाषित गर्ने र त्यसमा उल्लेखित बूंदाप्रति आफू सदैव लागिपर्ने प्रणलाई सार्वजनिक गर्न अनुनय गरें । चुनावी परिणामलाई आदर्शको अभीष्टि भन्दा पनि पार्टीको प्रतिबद्धताप्रति दृढ हुने मान्यतालाई अघि सारे तापनि उनले मेरो सुझावलाई काखीमा टाँसिएको चमजुम्रालाई चिमटेर फ्याँकेझैं गरी धम्कीपूर्ण स्वरमा भने– “हामी जसरी भए पनि चुनाव जितेर देखाइदिन्छौं ।”
उनले राम्रो जनाधार, पार्टी जनप्रिय र मजबुत भएको भन्दा चलचित्रको छविजस्तै गत निर्वाचनमा वहाँको पार्टीले भनौं पार्टीको लोकप्रिय उम्मेदवारले बालिगमताधिकारको कानुनी प्रावधानको कलिलो घाँटीलाई वगरेले बोकाको घाँटी सेरे झैं मतदान केन्द्रमा आतङ्क मचाउँदै मतपेटीका उठाएर उँखुबारीमा लगी अन्धाधुन्द किसिमले मतमत्र आफ्नो पक्षमा खसालेर विजयी बनेको नयाँ उदेकलाग्दो कीर्तिमान कायम गर्नुभएको घटना सम्झें र सम्झें जनाधार भएका अन्य पार्टीका महासचिव लगायतका उम्मेवारले गरेको गैर जिम्मेवारी चुनावी आतङ्क, वर्वर उदण्डता । जुनसुकै र जतिसुकै ठूलो र मर्यादित व्यक्ति पनि पार्टीको बलले भन्दा पनि गुन्डागर्दीले चुनाव जित्छ । तराईको जनाधार र जनमत भनेको नै शक्ति र सम्पत्ति हो, गुन्डागर्दी हो, गोलाबारुद हो । जसले बेसी, पड्काउन सक्छ, जसले बेंसी प्रतिपक्षलाई कठालोमा समातेर पछार्न सक्छ उसले सजिलै चुनाव जित्दछ । अपवादलाई छोडेर भन्ने हो भने अहिलेसम्म जनमतका जेजति परिणाम आए ती सबै निरङ्कुशतापूर्वक भएका÷गरिएका छन् र यसको दरो प्रमाण पनि पटक–पटकको पुनः निर्वाचनले पुष्टि गरिरहेको छ ।
उनकै कथनलाई आधार मान्ने हो भने पनि यति गतिलो जनाधार र यति दरो साङ्गठनिक आधार भएको पार्टीको उम्मेदवार भएको मान्छे पार्टीको घोषणा–पत्रलाई लँगौटी लगाउँदै विभिन्न प्रलोभनको माखा भन्काउँदै व्यक्तिविशेषलाई बुंख्याचा बनाएर प्रचार प्रसारको ढ्याङ्ग्रो ठोकिरहेको थियो ।
जति तताए पनि ढुङ्गो नपग्लिने लक्षण देखे पछि अलिअलि आक्रोश,अलिअलि कठोर, अलिकति दृढ, केही अभिमान र थोरै हेपाहा स्वरमा छुट्टिने तर्खर गर्दै भनें – “जसरी भए पनि हामी यो चुनाव जितेर देखाइ दिन्छौं ! बुझ्नुभो !”
उनी तिनै व्यक्ति हुन् जुन थिचोमिचो र उत्पीडनका विरुद्ध मानतावादको वकालत गर्दै हिंड्छन्, समानताको पृष्टभूमिमा सुसंस्कृत समाज पुनस्र्थापित गर्ने सपना देख्छन्, युद्ध विभीषिका र आतङ्कवादबाट ग्रसित र त्रसित मानिसलाई उद्धार गर्ने विश्वप्रसिद्ध सामाजिक संस्थामा काम गर्छन् । प्राणी समुदायको मात्र हित नभएर समाज भू–मण्डलको वातावरणकै संरक्षण हुनुपर्छ भन्ने मान्यता बोकेर वातावरण संरक्षणसम्बन्धी संस्थाका संस्थापक अध्यक्ष हुन । सामाजिक शोषण र उत्पीडनबाट ग्रसित व्यक्तिको उद्धार नै आफ्नो आदर्शको अभीष्ट ठान्दछन् र मेरो लागि विशेष उल्लेखनीय त उनी आधुनिक नेपाली कथा साहित्यका सम्भावनायुक्त उज्ज्वल प्रतिभा हुन् जसको कलममा आकर्षक सन्तुलनको जादू छ प्रस्तुतीकरणमा मिठास छ, बेजोड शैलीको चमत्कार छ कथ्यको सजीव चित्रण उनिएको छ । त्यस्ता मर्यादित, त्यस्ता प्रतिष्ठित, त्यस्ता समाजसेवी व्यक्तिको मुखबाट ‘जसरी भएपनि’ को शब्द बारम्बार पुनरावृत्ति भएको सुनेपछि मेरो जिउमा सिरिङ्ग काँडा उम्रिदै रौं ठाडा ठाडा भएर ठडिएपछि मलाई लाग्यो, स्वाभिमानको मुन्टो निमोठ्दै मेरो मानमर्दन गर्न खुल्ला छातीमा कसैले निर्दयतापूर्वक ड्याम्म कि ड्याम लोहोराले हानिरहेको छ, हान्दैछ तारन्तार ।
हामीमाथि आरुढ हुँदै गइरहेको ‘जसरी भएपनि’ त्यो सूत्र हो जसले नागरिक हक र अधिकारको कानुनी प्रावधानलाई निमोठ्ने प्रयत्न गर्दछ । ‘जसरी भएपनि’ त्यो हुंकार हो जसले बालिगमताधिकारको संवैधानिक प्रावधानलाई कच्याककुचुक पार्दै आएको छ । ‘जसरी भएपनि’ त्यो संस्कृति हो जसले अनियमितता र उदण्डताको वलमा सामाजिक संरचनालाई ध्वस्त र विकृत तुल्याउन उधत हुँदै आएको छ । ‘जसरी भएपनि’ सङ्कीर्णवादी त्यो शब्द समूह हो जसले गुण्डागर्दीको बलमा बलमिच्याइँको कहर लाद्य्दै आएको छ समाजमा । जसरी भए पनि त्यो वाक्य हो जसले हिंसा–हत्या र अराजकताको बाढी नै ल्याएर भएपनि आफ्नो अह्मजन्य कार्यप्रणालीलाई सुदृढ बनाउने प्रयास गरिरहेको छ । ‘जसरी भएपनि’ सामन्तशाही त्यो सङ्केत हो जसले एउटा सामान्य सुविधामूलक नेतृत्वका लागि अत्याचार र अमानवीयताको बलमा दर्जनौं मानिसहरुको खप्पर फुटाएरै भएपनि, दर्जनौ मानिसहरूको घाँटी सेरेरै भएपनि दर्जनौं मतपेटिका लुटेरै भएपनि, दर्जनौं बम र बन्दुक प्रयोग गरेरै भएपनि, दर्जनौ मतदान केन्द्रमा मतदातालाई प्रवेश निषिद्ध गर्न लगाएरै भए पनि आसुरी शक्ति उरालेर परिणाम आफ्नो पक्षमा पार्दैछ भन्ने आवेगको धम्की पनि हो । ‘जसरी भएपनि’ को काँधमा चढेर राजनीतिवाजहरू विजयश्रीको मुण्डमाला भिरेर संसद्भित्र प्रवेश गर्दै आएका छन् र मेरा मित्र अन्त्यमा आत्मीयताको नाउँमा ‘जसरी भएपनि’ को आतङ्कको विषालु खील मेरो मुटुमा गाडेर दिग्विजयको दुन्दुमी फुक्दै मलाई अत्याउने जमर्को गर्दै छन् ।
निराशाको अजङको पहिरोले थिचेको छ हामीलाई । हार अथवा जीत नै वर्णसङ्करको ठिमाहा सन्तान भएको हुनाले जसले जिते पनि चासोको विषय मरिसकेको छ,जिज्ञाशा सेलाइसकेको छ,रहर सुकिसकेको छ हामीमा । सत्ताको बागडोर जसको हातमा गए पनि हामीलाई यति थाहा छ – अब यहाँ जे हुन्छ जालझेल मात्रै हुन्छ, जसले जे गर्छ, धोकाधडी मात्र गर्छ, दिनदहाडै लाइसेन्सवाला डकैत गर्छ, पहुँचवाला प¥यो भने नारी अस्मिताको मात्र नभएर राष्ट्रको अस्मिता पनि चिथोरेर, चुसेर बिक्रीका लागि दौडधुप गर्दछ, अन्यौलग्रस्त माहौल खडा गरेर तानाशाही प्रवृत्ति बढाउन उद्यत हुन्छ । प्रजातन्त्रको भ्रम सिर्जना गरेर अराजकताको बीउ रोप्दै जानेछ । राजनीतिको मूल्य विघटन भएको अवस्थामा कसैबाट अपेक्षा गर्नुको साटो घाँटीमा पासो लगाएर मर्नेले जित्छ । त्यसैले कुरा आशाको हैन, आस त अर्धमूर्छित अवस्थामा भिरको फर्सीझैं झुन्डिएर रहेको छ । कुरा ‘जसरी भएपनि’ को हो –जसले हामीलाई घरिघरि धम्क्याउँछ, घरिघरि लछार्दै, घरिघरि सातो हर्दै बारम्बार विकृतिको पसल खोलेर नाडी सुर्कदैं चुनौति दिइरहेको छ । आम नागरिकहरूको इज्जत र प्रतिष्ठालाई ङ्याकेर, निमठेर, मठारेर कार्यदिशा र संस्कारमा प्रतिगामी प्रणाली पुनस्र्थापना गर्न उद्यत रहँदै सामान्य जनमानसमा दखल दिइरहेको छ । अनिश्चितता र अहङ्कारसँग गाँसिदै गएको ‘जसरी भएपनि’ को श्वेत आतङ्कको पिशाचले बारम्बार तर्साइरहेको हुँदा हामी त्रसित मात्रै हैन भयभीत पनि हुँदै जान्छौं, शङ्कालु मात्रै हैन शोक सन्तप्त पनि हुँदैगा’छौं । ‘जसरी भएपनि’ को शब्द कसैले प्रयोग गरे लाग्छ – आफ्नै शिरमाथि उदण्डताको कालो बादल मडारिंदैछ र बिना कसुर बिनाद्वेष त्यो कुनै पनि बेला विद्रोहको बिगुल फुक्दै बिच्केको अरिंगालजस्तै बनेर बस्तीमाथि ओइरिन सक्छ, खनिन सक्छ । स्वाभिमानी छातीमा ज्यादतीको खील घुसारेर हिंड्न सक्छ, नीचता र कुटिलताको अपराधी आवेशमा आएर उधुम मच्याउन सक्छ ।
निरङ्कुश व्यवस्थाको अवशानको निमित्त गरिएको स्वतन्त्रता आन्दोलनको महादानलाई पैंतालामुनि कुल्चिएर कुनै दिन यस देशका राज्यसत्तामुखी सेसन्तरहरु तानाशाहीको कोपरा चाटेर कुर्लने गर्दथे –‘जसरी भएपनि हामी यो प्रजातान्त्रिक पंचायती व्यवस्था टिकाई राख्छौं प्रतिगामी अराष्ट्रिय तत्वलाई परास्त गरेरै छोड्छौं ।” “प्रतिगामी तत्व परास्त भयो भएन त्यो त देखिएन तर पंचायत चाहिं शतपूर्ण हुँदै परास्त भयो । त्यतिखेर यो ‘जसरी भएपनि’ को जङ्गली भूतले हामीलाई हर्काउँदै, थर्काउँदै, मर्काउँदै निकै नै लखेटिरह्यो, अन्यौल र भ्रमयुक्त प्रचारवाजीको बलमा । त्यतिखेर कति अवलाहरूको सिउँदोको सिन्दुर पुछिदियो, कति वृद्धहरूको सहारा खोसिदियो । कतिलाई अमानुषिक वर्वर यातना दिएर अपाङ्ग÷अपाहिज बनाइदियो । नरसंहारको कहालीलाग्दो वीभत्स माहौल खडा गरेर केही सीप नलागेपछि अन्त्यमा घुँडा टेकेर आत्म समर्पण ग¥यो । टेक्नु नै थियो त समझदारीमा टेकेको भए त्यतिधेरै मान्छे मारिने थिएनन्, त्यति ठूलो रक्तपात र विध्वंशत हुने थिएन, राष्ट्रको ढुकुटी त त्यसरी बित्थामा रित्तिने थिएन र देश यति हरिकङ्गाल पनि यति छिटै हुने थिएन । तर त्यसो भएन । ‘जसरी भएपनि’ ले प्रयोग गर्न सक्ने सबै हत्कण्डाहरु प्रयोग ग¥यो र अन्त्यमा ‘जसरी भएपनि’ भन्ने प्रवृत्तिको बीउ रोप्दै यसलाई हैकमवादी दर्शनको रूपमा विकास गरेर ड्रयाकुला जस्तै अलप भयो ।
जनताले चाहेको÷जनताले रोजेको÷मनपराएको व्यवस्था त आयो तर दुईकरोड नेपालीको भविष्यको आधार बोकेको व्यवस्थासँगसँगै अहारिसको छत्रछायाँमा मपाईंवादको काँचो वायु जसरी भए पनि को काँधमा चढेर भित्रियो । आज हरेक क्षेत्रमा यसको अधिनायकत्व जीवित छ । सानाभन्दा साना खिच्चा कुरादेखि लिएर ठूला–ठूला क्षेत्र, व्यक्ति र कुरामा पनि ‘जसरी भएपनि’ हावी हुँदै गइरहेको छ र मान्छेको प्रतिष्ठा, प्रतिभा र स्वाभिमान नै आज ‘जसरी भएपनि’ वादमा अनुवाद हुँदैछ । भन्न त मेरा मित्रले मलाई होच्याउने अभिप्रायले सहजतापूर्वक भने तर पनि देशको यस सङ्क्रमणकालीन विपद् अवस्थामा विद्रुपावस्थामा, विरक्तलाग्दो अवस्थाको गम्भीर र चुनौतिपूर्ण कुसंस्कारको विषय हो यो । यो प्रवृति तारन्तार यसैगरी बढ्दै गयो भने, बाँकटे हानेर बुर्कुसी मार्दै गयो भने सन्निपाती रोगीले झैं विलाप गर्नुसिवाय हामीसँग अर्को विकल्प रहने छैन । त्यसैले यो कतिन्जेल पो टिकिहाल्छ र भनेर जोखाना हेरिरहनुको साटो यसको जरो किलोनै मासिने गरी यस्ता दुच्छर प्रवृत्तिका गन्धेझारलाई नामेट हुनेगरी उखेलेर फ्याँक्न सबैले एक चित्त भएर लागेको खण्डमा यसको आसुरी दासत्वबाट अमलेख हुन सक्छौं नत्रभने अहिले व्यक्तिगत रूपमा कसैसँग सरोकार राख्दै फाइदा उठाए तापनि कालान्तरमा यो पाशविक प्रवृत्तिले कसैलाई छोडिहाल्ला जस्तो मलाई लाग्दैन र यो काखीको सहस्रमुखी पिलो भएर सबैलाई नसताउला भनेर भन्न सकिन्न ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु