कमरेड भाउजू: इतिहासको एउटा खेस्रा

- गोपाल झापाली

नेपाली डायस्पोरा साहित्य यति बलियो हुँदै छ कि बिषय उठान र प्रस्तुतीले नेपाललाई ठाडो चुनौती दिई रहेको छ । भुमण्डीकरणको समयमा सिर्जनाका लागि भूगोलको परिधी पनि संकुचन भई रहेको छ । मस्तिका लागि विदेश जाने नेपालीको संख्या कम्ति छ । रोजीरोटीकै सवालमा विदेश हानिएका छन् धेरै नेपालीे । अनि त्यहाँको यान्त्रिक कार्यशैली र दैनिकिबाट शक्तिशाली सिर्जना गर्नु खुद्रा बिषय होईन ।

डायस्पोरीक सिर्जनाको सागरमा अहिले एक से एक शव्द शिल्पीहरु आएका छन् । ति मध्ये कति मोती टिपेर आउँछन्, कति रित्तै फर्किन्छन् वा कति त्यतै हराउँछन् । यसको अन्तिम निक्र्यौल समयले गर्ला । डायस्पोराको सागरमा मोती टिप्ने लक्ष्य बोकेका सिर्जनाका तिव्र पौडीबाज कृष्ण बजगार्इं पनि देखिएका छन् । उनी डायस्पोराबाट साहित्यिक क्रियाशिलता, सांगठानिक अगुवाई र कृती प्रकाशनमा अग्र पङ्क्तिमा देखिएका छन् । उनको पछिल्लो कथासंग्रह कमरेड भाउजू यसैको पछिल्लो उदाहरण हो ।

जसरी उनका लागि म र मेरा लागि उनी नदेखिएको पात्र हौं, त्यसै गरि उनका कथाहरुको पृष्ठभूमी, भुगोल र परिभेष बारे बिल्कुल नाजान म । तर कथा केलाउन शिर्षकथा कमरेड भाउजूबाट शुरु गर्ने हो भने यहाँ उनले विल्कुलै नारी पात्रलाई नायकत्व दिएका छन् । हुन त, संसार बदल्ने युद्धमा लागेका धर्मप्रसाद आफैँ बदलिएको कथा हो यो । तर नेपालमा हुँदा कम्युनिष्ट राजनीतिमा लागेको र स्खलित हुँदै बेलायत पलायन भएको अनि भगवानै नमान्ने भनिएको कम्युनिष्ट लडाकू पुरोहितमा रुपान्तरीत भएको कथा हो । शिर्षक झै महिला मात्र नायक भएर उभिएको यो कथाले नेपाली राजनीति र क्रान्तिको कालोपाटोलाई देखाएको छ । सर्वहारा वर्गको राज्यसत्ता प्राप्तिका लागि लड्नेहरु कसरी जीवनसँग अन्तरसंघर्ष गर्छन् भन्ने तस्विर देखाइएको यो कथा धेरै नेपालीहरुको भोगाई पनि हो । जीवनको एउटा बिरोधाभाष कमरेड भाउजूले बोलेकि छिन् भावबाट । यस कथामा उनको परिवार कामरेडी पाराले कसरी टिक्न सकेन र बेलायत पुगे भन्ने कुराको शब्दचित्र छ । त्यहाँ धर्मप्रसादको पृष्ठभूमीबाट सम्मानित कमरेड भाउजू भएकी उनलाई त्यहि जीवन किच्ने कामरेडी नाम हटेदा दुःख लाग्यो । यो यथार्थ तर जीवनको बिरोधाभाष हो । यहि बिरोधाभाष बाच्ने धेरै भाउजूहरु र धर्मप्रसादहरु अझै मेरा आँखै अघि देख्छु नेपालमा ।

कमरेड भाउजू पढ्नासाथ आउने ‘पलायन कमरेड’ कथाले मस्तिस्कलाई उही स्वादको कथाको स्मरण गराउँछ । विश्व कम्युनिष्टका आदर्श कार्ल माक्र्सको समाधीस्थलबाट उदाएको कमरेड भाउजूले यो स्वाद दिनु स्वभाविक पनि हो । तर पलायन कमरेड साँच्चैनैं मानिसको अन्तर्राष्ट्रिय जाति हुने छ भनेर गीत गाउनेहरुलाई बेलायतको बैभवताबाट प्रमाणित गराउने कथा हो । माक्र्सको समाधी स्थलबाट उदाएको कृतिको यो वजनदार सिर्जना हो । धेरै पाठकहरुले यस्तै वास्तविकता महसुस गर्नेछन् कथाहरु पढिसकेपछि । मानिस कसरी पढ्दा पढ्दैको किताव छोडेर, हुँदा छँदाको जागिर छोडेर, जोत्दा जोत्दैको हलो छोडेर क्रान्तिमा होमियो, पार्टीमा कसरी अवसरवादीहरुको हावी भयो र निष्ठावानहरु कसरी चपरी मुनि पुगे यि बिषयलाई कलात्मक ढंगबाट उनीएको छ यस कथामा । ‘विश्वास’ पात्रले गुमाएको राजनीति प्रतिको विश्वास र क्रान्तिमा अटल रहेको ‘अटल’ पात्रले देखेको वर्गीय खाडल शव्दचित्रबाट भेट्न गाह्रो पर्दैन पाठकलाई ।

व्यक्तिगत रुपमा मलाई छोएको कथा ‘मिडीया मुस्कान’ हो । प्राकृत अभाव, दवाव र प्रभावमा रहेर कृत्रिम मुस्कान निकाल्न कति गाह्रो छ, मलाई थाहा छ । संवाददाताबाट बढुवा हुँदै सम्पादक सम्म हुँदाको मेरो निजी भोगाईले कथाका क्रममा चित्र बनाउन सहज बनायो मलाई । मैले पनि सामनाहरु जस्ता कथाका पात्रहरुको सामना गरेको छु । त्यस्ता कृत्रिम मुस्कानले दर्शकलाई मात्र होईन मुस्कानको नजिक रहनेहरुलाई पनि छुन्छनै, त्यहि सत्य हो– मिडीया मुस्कान । रहस्यमयी खवरहरु सनसनी रुपमा सार्वजनिक गर्नेहरुको मुस्कानको गर्भमा कति पीडा लुकेको हुन्छ भन्ने कुरा त्यस कथामा देखाईएको छ ।

‘तेश्रो कुकुर’ र ‘मौन युद्ध’ कथा पुरापुर पाश्चात्य समाजका प्रतिविम्ब हुन् । रवि यस्तो प्रतिनिधी पात्र हो, हजारौं नेपाली युवा जे सुकै सम्झौतामा पनि बेलायत वा अमेरीकाको नागरिक हुन चाहन्छन् । देशमा बढेको शैक्षिक बेरोजागरी, निराशा र समृद्ध मुलुकको रहर यसमा पोखिएको छ । भिजेको छ कथा रवि जस्ता युवाहरुका बाध्यताले । अनि पराया युवतीले दिएको कुकुर सम्मको संज्ञा सहन बाध्य छन् । मेरो रायमा यस कथामा विदेशको समृद्धीको मोहमा बेचिएको राष्ट्रियता प्रति अलिकति पनि पश्चाताप छैन तर यो हुनु पथ्र्यो रविलाई ।
लैङ्गिक अल्पसंख्यकका बारेमा नेपाली समाजमा पनि क्रमिक बहस र छलफल हुन थालेको छन् । तर ‘मौनयुद्ध’मा मिलनबिन्दूका ‘बुवा–आमा’ जस्तो घरजम गरेर बस्ने चलन अझै पनि नौलो मानिदैछ । एउटा कुरा साँचो हो, बिभिन्न देशका नागरिकहरु मार्फत धेरै वालबालिका धर्मसन्तानका नाममा विदेश पुगेका छन्÷पुगि रहेका छन् । आमाबाट हराएको मिलनबिन्दूले उसका धर्म बा आमा गे रहेको थाह पाउँदा किन त्यति धेरै आक्रामक भयो, सायद त्यो नेपाली मनोबिज्ञान थियो । आखिर ति महिला पुरुष नै भए पनि उसका बा आमा कहिल्यै हुन सक्ने थिएनन, ‘गे’ हुँदा पनि भएनन् । जे होस, प्रस्तुतीकरण र विषय छनौटका दृष्टिकोणले यो नौलो कथा हो । संग्रह भित्र यसले एउटा चहकिलो चट्नीको काम गरेको छ ।

संग्रहको एउटा शक्तिशाली कथा हो ‘गड्यौंला उर्फ सत्यराज’ । बौद्धिकता भित्रको निराशा, पारिवारीक विग्रह यहाँ देखिन्छ । बौद्धिकता प्राप्त गर्ने अभिलाशामा परिवार भित्र लागेको निराशाको धुँवा यहाँ पुत्पुताएको छ । धेरै नेपाली शिक्षित युवाहरु सत्यराज जस्तै विदेशमा गएर डिग्री हाँसिल गर्न चाहन्छन् । तर त्यो चाहना भित्र कस्ता कस्ता घाउ लुकेका हुन्छन् भन्ने कुरा भोग्ने र देख्नेलाई मात्र थाहा हुनछ । त्यस्ता घाउ उक्त कथामा चहर्याएका छन् ।

नेपालका बहुसंख्यक नेपालीको आस्था रहेको कम्युनिष्ट राजनीतिलाई सिर्जनाको अपरेशन थिएटरमा हालेर कथाकारले कलमको हतियार यति धारिलो गरि चलाएका छन् कि, मानौ समाथिस्थलमा लमतन्त परेका माक्र्स उठेर नेपाल नै दगुरुन् । आस्थाको भगवान जसरी अगाडी आएर भक्तसँग कहिल्यै साक्षात्कार गर्दैन, त्यसै गरि आस्थाको ‘कम्युनिज्म’ नेपाली जनताका धुरीबाट कहिल्यै चियाउँदैन, यहि तर्कनाको तरेली संग्रह भित्र बगेको छ ।

कथाहरु पढ्दै जाँदा एउटा कठिनाई मलाई चाँहि भयो, अरु पाठकलाई के भयो मलाई थाह भएन ? बेलायतका चोकहरु, परिवेश, वातावरण आदिका नामहरुको सेरोफेरोमा घुमेका कथाको मस्तिष्क चित्र बनाउन साह्रै गाह्रो भयो । जव शव्दहरुले मस्तिकमा चित्र कोर्छन्, आकार दिन्छन् अनि मात्र सिर्जनामा यौवन चढ्छ । बजगार्इंका शव्दमा चित्र कोर्न नसक्नु पाठकको कमजोरी पनि हुन सक्छ वा चित्रै नकोरीने क्लिष्टता कथामा पनि हुन सक्छ ।

सारमा भन्नु पर्दा कथासंग्रह कमरेड भाउजू एउटा वजनदार संग्रहको रुपमा आएको छ । यो भावि पुस्ताका लागि नेपाली कम्युनिष्ट राजनीति बुझ्न इतिहासको खेस्रा पनि बन्न सक्छ । एउटा कुरा भन्नै पर्छ, यति महत्व राख्ने कृति सिर्जनामा नेपालमा चलेको एक दशकको सशस्त्र द्वन्द्वलाई अझै मिहिन गरि केलाईएको भए अझै इतिहासमा आयातन बढ्थ्यो पुस्तकको ।

कृति : कमरेड भाउजू
विधा : कथा
लेखक : कृष्ण बजगार्इं
प्रकाशक : शव्दार्थ प्रकाशन, काठमाण्डौं
मुल्य : रु.१७५।–

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु