जूनको आँसु

- कोमल सुब्बा

असारको महीना।
पाँच दिनसम्म लगातार पानी परेपछि आकाशले आफ्नो घुम्टो उघारेको छ। पानीले गाउँका गोरेटाहरू हिलाम्मे पारे तापनि; वरिपरि देखिने रूखहरू, झ्याङहरू र पहाड़का थुम्काहरू भने पानीले नुहाएर सफा र कञ्चन देखिइरहेका छन्। गाउँलेको जीवन फेरि सामान्य भएर फर्किआएको छ। आकाशको पानी छानामा पर्दा सुनेको कर्कश आवाजले दिक्क पारेको स्थितिबाट मुक्त छ समय, मस्तिष्कमा घरिघरि ठोक्किरहने त्यो बेसुरिलो आवाज पनि छैन। मात्र सुनसान व्याप्त छ कोठामा। शान्तिको सास फेर्दै दुइ प्राणी मात्र छन् कोठाभित्र र परस्परको मुहारमा भविष्यको मानचित्र केलाइरहेका छन्। कुनै दक्ष चित्रकारले कोरेको रेखाचित्रले अन्तिम रूप प्राप्त गर्न आँटेको पराकाष्ठामय क्षण छ। भनौं ईश्वरको कुचीले अन्तिम स्पर्श दिनमात्र बाँकी छ। अधीरसित व्यतीत गरेको दस महीनापछि आज दुइ प्राणीको फूलबारीमा ढकमक्क फुल्नेछ- जून।

दिनभरि आकाशबाट तुरुक्क पनि पानी चुहिएन। लगातार परेको पानीको अत्याचारले पिल्सिएका लुगाहरू घाममा सुकाउँदा र उठाउँदा दुइ प्राणी बेलुकीसम्म लखतरान भएका थिए। धेरै खट्नुपरेकोले गर्दा पुरुष प्राणीको दोहोलो भएको थियो। साँझले तोकिदियो- आजको रात पीड़ापछिको आनन्दमय रात हुनेछ। वेदनाको अध्याय निम्त्याएर साँझले रातको काँधमा जिम्मेवारी सुम्पिदियो। जे गर्नु थियो अब रातले आफ्नै पाखुरीको भरमा गर्नु थियो।
“जाऊ, तल्लो घरको साइँली बड़ीलाई बोलाऊ। छिट्टो।” पीड़ा खप्न नसकेर लोग्नेलाई अह्राई।
आँखा चिम्लेर मिल्खा सिंहभन्दा तेज गतिमा कुदयो ऊ।
“बड़ी, लु जाऊँ घरमा छिट्टो।” हतार लगायो उसले बड़ीलाई। साइँली बड़ीलाई कुरो बुझ्न गाह्रो परेन।
“तँ जाँदै गर्, म आइहाल्छु।” भनेपछि घरभित्र पसेर चाहिने सामानहरू झोलामा हाली। साइँली बड़ी अर्थात् धाईआमा पुग्दा ‘ऐय्या ऐय्या’ गरिरहेकी थिई स्त्री। घरको सँघारमा साइँली बड़ीको बाटो कुरिरहेको थियो पुरुष।
उसको पीठ थप्थपाउँदै साइँली बड़ीले भनी- “जा, बुहारीको सफा लुङ्गीहरू तयार पारिराख्। पानी उमालिराख्नु, भरै चाहिन्छ।”
घड़ीको काँटा दौड़िरहेको थियो आफ्नै गतिमा, अड़िनु छैन समयलाई। पाँच घण्टा लामो समयको पीड़ापछि मध्यरातमा उसकी स्त्रीले देवशिशुलाई धरतीमा पदार्पण गराई।
“घरमा लक्ष्मीले खुट्टा टेक्यो है।” साइँली बड़ीले घोषणा गरिदिई।

बाहिर निस्की आँगनमा उभिएर उसले उँभो आकाशतिर हेरयो- पूर्णेको जून निस्फिक्री नुहाइरहेको छ उन्मुक्त आकाशमा, उसरी नै ताराहरू पनि नाचिरहेका छन्। उसलाई लाग्यो- भर्खर जन्मेकी उसकी छोरी पनि जूनजस्तै छे। उसले अठोट गरयो छोरीको नाम राख्नेछ- जून। उसकी स्वास्नीले भनी- “हाम्री जूनले उज्यालो छर्नेछ धरतीमा।”

आँखाको तारा नै थिई जून। जून हाँस्दा पूर्णिमाको उज्यालो देख्ने, जून रुँदा अँध्यारो औंसी आएको मान्ने भएका थिए उसका आमा-बाबु र जूनको भागमा मायाको भेल नै पोखाइरहेका उनीहरूले। समयको गतिसितै जूनले पनि आफ्नो रूप फेर्दै गई। बामे सर्ने भई, तोते बोली बोल्ने भई, हिँड़ने भई। यसरी नै चालै नपाई एकदिन स्कूलको सँघार पनि टेकी जूनले। उक्लँदै गई, उक्लँदै गई उ। एउटा श्रेणीदेखि अर्को श्रेणी उक्लन उसलाई कत्ति पनि गाह्रो परेन, अब्बल भएर नै उक्ली। एउटा चुलीदेखि अर्को अग्लो चुलीमा उक्लँदै गएझैं आठौं श्रेणीमा पाइला टेकिसकेकी थिई जूनले।

एक आश्चर्यमय रात। कल्पनासम्म पनि गर्न नसकेकी घट्नासित जून सम्मुखीन हुनपुगी। उसले पल्लो कोठामा सुँकसुँक गरेको अस्पष्ट आवाज सुनी- त्यो आवाज रातको सन्नाटामा यति भयानक थियो उसलाई उठेर कहीँ गइदिन पाए पनि हुन्थ्यो भन्ने लाग्यो। खासाक-खुसुक आवाज अबेरसम्म उसले सुनिरही। उठेर गई सोध्ने साहसधरि जुटाउन सकिन। अहिलेसम्म बाँचेको जीवनमा जूनले कहिल्यै घरमा तीतो, टर्रो बोली सुन्न पाएकी थिइन। यसरी नै अनिँदो रात बितेको थियो जूनको। उ निश्चित भइसकेकी थिई- आमा र बाबाबीच एउटा अभेद्य पर्खाल सृष्टि भएको छ।

भोलिपल्ट बिहान ऊ चाँड़ै उठी। उसकी आमा सधैंझैं भान्सा घरमा चिया पकाइरहेकी थिई। आमातिर हेरी उसले, आमाको आँखा सुन्निएको थियो। केही सोध्ने आँट गर्नै सकिन उसले। बाथरूमको नजीकै बाबासित जम्काभेट भयो, बाबाको मुहारमा सधैं प्रकट हुने सहजता थिएन। आज उसलाई आफ्नै घरमा अर्कै ग्रहबाट अपरिचित प्राणीहरू भेला भएका छन् भन्ने लाग्यो। उसले न बाबुको आँखामा रिसको ज्वाला देखेकी थिई न त आमाको आँखामा आँसु। उसको हृदय टुक्रिएर दुइ फ्याक हुनपुगेको थियो।

ऊ स्कूल जानअघि नै आमा-बाबा दुवैजना सँगै घरबाट निस्केर गए। आज उसित एक शब्द नबोली चुपचाप निस्केर गए दुवैजना। कहाँ गएका हुन् उसलाई केही अत्तोपत्तो थिएन। भारी मन लिएर स्कूल गएकी थिई जून, स्कूल छुट्टी भएपछि घर फर्कँदा उसको मनको भार झन् गह्रौं भएको थियो। घरमा काम गर्ने केटी प्रतिभासित उसको साँझ, रात बित्यो। बिहानै घरबाट निस्केका बाबा-आमा फर्केनन् रातसम्म पनि। उसलाई केही खान मन लागेन। पस्केको भात जूठोसम्म लाएर त्यत्तिकै ओछ्यानमा ढल्की। अनेकौं तर्कनाहरू खेल्नथाले उसको मनमा। निद्रा लाग्दै लागेन उसलाई। किशोरी जूनले निद्राहीन रात बिताई।

भोलीपल्टको दिन। जून अनभिज्ञ थिई। उसको जीवनमा अप्रत्याशितरूपले आउने हुरीबारे उसलाई हेक्का थिएन। गाउँका मान्छेहरू घरको आँगनमा भेला हुनथाले। उसले केही बुझ्नै सकिन। प्रतिभालाई बोलाएर कसैले कानमा केही भन्थे, उसले सुइँकोधरि पाउन सकिरहेकी थिइन।

पल्लो गाउँमा बस्ने आफ्नै काका पनि आइपुगे। लामो सास फेर्दै उनले जूनलाई आफ्नो छेउमा बोलाएर भने- “के गर्छस् छोरी, तेरो भाग्यमा यही लेखिएको रहेछ। तँ नसुर्ता, म छु तेरो काका।“ जूनलाई केही सुझिरहेको थिएन। वास्तवमा के भइरहेको छ- न उसले सोध्न सकिरहेकी थिई, न कसैले उसलाई स्पष्टरूपमा बताउन सकिरहेका थिए। जून आफ्नो कोठामा गएर ओछ्यानमा ढल्की। बाहिर मान्छेहरूको भीड़ बढ़्दै गइरहेको थियो। अचानक गाड़ीको आवाज सुनियो, नजीक नजीक हुँदै आएर त्यो आवाज आँगनमा स्तब्ध भयो।

भीड़मा कसैले भनेको सुनियो- “उकील भेट्न गएका थिए रे, फर्कंदा बेलुकी चिलाउने गोलाइमा एक्सिडेन्ट भएछ। पाँचजना थिएछ गाड़ीमा। दुइजना अस्पतालमा छ रे, ड्राइभरलाई चैं केई भएन रैछ।“

“बिस्तारो बिस्तारो।“ सेतो कफनमा बेह्रिएका दुइ नश्वर देहलाई आँगनमा राखियो। उसको काकाले जूनलाई हातमा पक्रेर कोठाभित्रबाट बाहिर निकाले। मान्छेहरूको भीड़बीच उसले आमा-बाबाको रक्तरञ्जित निष्प्राण शरीर लड़िरहेका देखी। अघिल्लो रात त हो, जुन उसको निम्ति एक आश्चर्यमय रात सिद्ध भएको थियो। आज फेरि यो के? जूनको आँखाबाट आँसु खस्न सकिरहेको थिएन, न त मुखबाट एक शब्द उच्चारण हुन सकिरहेको थियो। उ पनि आमा-बाबाझैं निर्जीव प्राणीमा परिवर्तित भएको थियो। एक शब्द नबोलीकन उसलाई एक्लो पारेर गए आमा-बाबा। उसलाई थाहा थिएन उसको गल्ती के थियो? कुन अपराधको सजाय हो यो?

अन्तिम संस्कारको निम्ति जब आँगनबाट आमा-बाबाको अर्थी उठाइयो- जूनले मूक दर्शक भएर हेरिरही दैलोको ठेलामा उभिएर।
“कस्ती छोरी रैछ, एक थोपा आँसुधरि झारेन।“ भन्दै थिए मान्छेहरू।

केहीबेरपछि उसको होस खुल्यो। आमा-बाबाको कोठामा गई। सबैकुरो यथावत् थिए, थिएनन् तर जूनलाई माया गर्ने उसका आमा-बाबा। हिजोको रातले त्यो कोठालाई अर्कै अर्कै पारिदिएको थियो, मात्र सन्नाटा व्याप्त थियो कोठाभित्र। फनक्क फर्केर जून आफ्नो कोठामा गई, दैलोको छिटकिनी लगाई र ओछ्यानमा घोप्टो परेर सिह्रानी पक्री आँसुका बलिन्द्र धारा खसाल्नथाली। क्षणभरमै उसको सिह्रानी आँसुले आहाल बन्यो, आँसुको खोलामा बगिरही निकैबेर- जून। जब आँसुको बाढ़ थामियो, जूनले सोची- मेरो आँसु मेरो कमजोरी होइन, मेरो शक्ति हो। अब म खोज्नेछु आमा बाबालाई- मैले झारिसकेकी आँसुको खोलामा र केलाउँदै लानेछु जीवनका रहस्यहरू।

टेबलमाथिको सानो तौलियाले आँखा र अनुहार पुछी। दैलो घरयाक्क खोलेर उ बाहिर निस्की र बैठक कोठामा बसिरहेका आफ्नो काकासित वार्तालापमा व्यस्त भई।


उत्तर बङ्ग विश्वविद्यालय, राजा राममोहनपुर, दार्जीलिङ, भारत

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु