अन्तिम चिठी खोली हेर्दा

- प्रा. डा. कपिल लामिछाने

रूपन्देहीको शैक्षिक जगतमा स्थापित र प्रसिद्ध ओम जैसी अन्तिम चिठी (२०६७) उपन्यासका माध्यमबाट अब साहित्यका क्षेत्रमा पनि प्रवेश गरेका छन् । सन् १९७२ जुलाईमा भारतको सिलाङमा जन्मेका ओम जैसी त्यहीँबाट हाइस्कुल उत्तीर्ण गरेपछि सन् १९८७ मा भैरहवामा बस्न थालेका हुन् । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाबाट आई.एस्सी. तथा भैरहवा बहुमुखी क्याम्पस, रूपन्देहीबाट बी.ए. र कलकत्ता विश्वविद्यालय, भारतबाट अङ्ग्रेजी साहित्यमा एम्.ए. गरेका ओम जैसीमा अध्ययन गर्ने धोको अझै पुरा भएको छैन । यतिखेर पनि उनी समाजशास्त्रमा एम्.ए. अध्ययन गर्दै छन् । उनी मिहिनेती छन्, अध्ययनशील छन् र चिन्तनशील छन् । त्यसको छाप उपन्यासमा पनि परेको छ ।
लेखकले आफूले देखे–भोगेका कुराहरूलाई साहित्यमा अभिव्यक्ति गर्दछ । उपन्यासकार ओमले प्रस्तुत उपन्यासमा जेजस्ता पात्र र कथावस्तु पेस गरेका छन्, त्यसमा उनका जीवनमा घटेका घटनाको प्रत्यक्ष अभिव्यञ्जना भएको पाइन्छ । प्रायजसो उनी प्रमुख पात्र दीपमा अभिव्यञ्जित भएका छन् । उपन्यास सामाजिक सम्बन्ध र प्रेममा आधारित छ । उपन्यासको कथानक दीप, पूजा र ज्योतिको प्रेमकथामा केन्द्रित छ । एक हप्तामा फर्किन्छु भन्दै आमा यशोदा नेपालतिर लागेकी र लामो समयसम्म पनि नफर्केकीले प्रकाशजड्ड कार्कीको छोरा दीप कार्की आमाको वात्सल्य प्रेमबाट विमुख छ भने ठूलो कारोबार र परिवारका कारण दीप बाबुको यथोचित मायाममता पनि पाउन सक्दैन । ऊ र उसको साथी अमरको जिम्नास्टिक खेलमा रुचि छ । प्रतिस्पर्धामा दीप छानिन्छ । स्कुल जाँदा–आउँदा पूजासँग परिचय र प्रेम हुन्छ । प्रेमपत्र लेखालेख हुन्छ । नीलिमा र अमरले त्यसमा सघाउँछन् । दीप जिम्नास्टिकमा जितेको भनी चिया–समोसा ख्वाउँछ । पढ्ने बेलाका दीप, पूजा र अमर सिनेमा हेर्न जान्छन् । सिनेमा हेर्न गएको दीपको दाजु मोतीको साथी प्रेमले देखेको हुन्छ र उसले फोन गरी जानकारी गराउँछ । पढ्ने बेलामा सिनेमा हेर्न गएको चाल पाएर बाबु प्रकाशजङ्गले कामदारहरूलाई बिदा दिई सजायस्वरूप घरगोठका सारा काम दीपलाई लगाउँछन् । दीप बिहान सबेरैदेखि राति अबेलासम्म काममा लादिन्छ । पूजासितको सम्पर्क टुट्छ । कामले लखतरान हुन्छ । पढाइ पनि छुट्छ । उता नीलिमाका कोठाभरि दीपका फोटाहरू देखेर पूजा पनि सशड्ढित हुन्छे । उसले पढिरहेको स्कुल सेन्ट एन्थानिजबाट छुटाई कक्षा सुरु भएको छ महिनापछि अर्को स्कुल सेन्ट नानकमा हालिन्छ र हेडमास्टरको जिम्मा लगाइन्छ । यसरी दीपको पढाइ पुनः सुरु हुन्छ । अब ऊ निकै ध्यान दिएर पढ्छ । चनाखो भएर अघि बढ्छ । उसको लगनशीलता र पढाइबाट सबै प्रभावित हुन्छन् । ऊ कक्षामा दोस्रा हुन्छ । वेस्ट एयर एवार्ड पाउँछ । ज्योतिले उसका यी क्रियाकलाप हेरिरहेकी हुन्छे । स्कुलमा कार्यक्रम गर्दा ज्योतिले जोडजोडले ताली पिटेर उसलाई हौस्याएकी हुन्छे । ज्योतिको माया पाएर ऊ उत्साहित हुन्छ । उनीहरूको सम्पर्क र प्रेम बढ्दै जान्छ । यस्तैमा आमा नेपालबाट फर्किन्छिन्, तर लगत्तै उनी चिप्लिएर लड्छिन् । उनको अपरेसन गर्नुपर्ने हुन्छ भने मधुमेहका कारण अपरेसन गर्न नमिल्ने भएपछि अस्पतालबाट डिस्चार्ज गरिन्छ । अन्तमा होस फिरेर आमाको जीवनको अन्त हुन्छ । यस घटनाले दीप मर्माहत हुन्छ र उसको व्यवहार बदलिन्छ । पछि प्रवेशिका उत्तीर्ण भएपछि दीप उच्च शिक्षाका लागि नेपाल लाग्छ । ज्योति त्यहीँ रहन्छे । समय–समयमा दुवैमा पत्राचार भने भइरहन्छ । यादव ज्योतिका लागि केटा खोजेको भन्दै घरमा आउँछ । ज्योति अहिले पढ्दै गरेकी हुँदा विवाह गर्दिनँ भन्छे । त्यसमा बाबुआमा सहमत हुन्छन् । यता दीपले बल्लबल्ल आई.एस्सी. पास गरेर बी.ए.मा पढ्दै गरेको हुन्छ र बाबुलाई व्यापारमा सघाउन थालेको हुन्छ । एकदिन अमर नेपाल आइपुग्छ र कुरैकुरामा ज्योतिसँग विवाह गर्ने सल्लाह माग्छ । अमरले त्यो कुरा सिलाङ पुगेर ज्योतिलाई सुनाउँछ । ज्योतिका मनमा आशड्ढा उठ्छ । यस्तो कुरा पनि साथीसँग सल्लाह माग्ने भनी चिठी लेख्छे । ठट्टामा भनेको भनी स्पष्टीकरण लेखिपठाउँछ । एकदिन बाबुले दीपलाई अब सबै दाजुभाइ अलग–अलग बस्ने कुरा सुनाउँछन् । दीपलाई सारै नमजा लाग्छ । उसलाई बाबु हुँदाहुँदै एक्लो र टुहुरो हुनु परेको महसुस हुन्छ । बाबुको आदेशअनुसार सामान जुटाउन मोटरसाइकलमा जाँदा मनमा त्यही पिरलो परिरहेको हुन्छ र ऊ दुर्घटनामा पर्दछ । उसलाई अस्पताल लगिन्छ । ज्योतिको चिठी लिएर हुलाकी पुग्छ, तर त्यो चिठी पढ्न नपाउँदै दीपको देहावसान हुन्छ । यस उपन्यासको सङ्क्षिप्त कथा यति नै हो ।
उपन्यासले नेपाल र भारतका विभिन्न भौगोलिक र सामाजिक परिवेश ओगटेको छ । यसको कथावस्तुले नेपाल र भारतलाई जोड्ने काम गरेको छ । यहाँ व्यक्ति–व्यक्ति बीचको प्रेमसम्बन्ध र त्यसका माध्यमबाटै सामाजिक क्रियाकलाप व्यक्त भएका छन् । यहाँ मातृवात्सल्यका अभावमा बालमनमा पर्ने प्रभावका साथै समवयस्कको विषमलिङ्गी प्रेमलाई देखाइएको छ । समवयस्कका बीचको प्रेम स्वाभाविक भए पनि अल्लारे प्रकृतिको रहेको छ । जम्मा २८ परिच्छेदमा संरचित यस उपन्यासको कथावस्तु सामाजिक छ भने यहाँ प्रकाशजड्ड कार्की जस्ता दम्भी र हठी चरित्र पनि छन् र दीप, ज्योति, अमर, सुनिता, पूजा, सङ्गीता, नीलिमा, दीपको दाजु मोती, यशोदा, प्रीति, रोजी, रामसिंह, यादव, सुरेन्द्र के.सी. जस्ता पात्रहरू पनि छन् । मुख्य पात्र दीप र ज्योति हुन् । उपन्यास मुख्यतया दीपको दृष्टिविन्दुबाट प्रस्तुत भएको छ भने कथानक दुखद अवस्थामा पुगेर अन्त भएको छ । पात्रहरू आफ्नो उद्देश्यमा विफल छन् । विफलता तिनको नियति बनेको छ ।
उपन्यासको कथ्य, पात्र, कथानक, उद्देश्य, परिवेश समेत परम्परित र सामान्य छन् । अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका उपन्यासकार उपन्यासको समसामयिक प्रवृत्ति र परम्पराबाट अनभिज्ञ छैनन्, तर यो उपन्यास आई.एस्सी. पढ्दै गर्दा आफू स्वयम् दीप–ज्योति आदिले जस्तो भावुक प्रेम गर्ने उमेर–अवस्थामा लेखिएको हुँदा लेखकले यसलाई त्यही रूपमा प्रस्तुत गर्ने सम्मोहलाई परित्याग गर्न नसकेको देखिन्छ । तसर्थ यो उपन्यास समकालीन नेपाली उपन्याससँग प्रतिस्पर्धा गर्न सक्दैन । यसले नेपाली उपन्यासका विकासमा अरू एक इँट थपेको छ । उपन्यासकार ओम जैसीमा लगन छ, अध्ययन र ज्ञान पनि छ । तसर्थ उनबाट भविष्यमा समकालीन नयाँ प्रवृत्ति र प्रयोगका जीवन र जगत्लाई अझ टड्कारो रूपबाट प्रस्तुत गर्ने जोडदार उपन्यासको अपेक्षा गर्न सकिन्छ । उनमा यस्तो सम्भावना पनि देखिन्छ । उपन्यासको भाषा सरल र बोधगम्य रहेको तथा शैली सरल र प्रभावकारी रहेको हुँदा प्रस्तुत उपन्यास किशोरकिशोरी, युवायुवती र वयस्क सबैका लागि पठनीय रहेको देखिन आउँछ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 10 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु