भर्जिनिया, म्याग्दी र १९३ औं भानुजयन्ती

- कोमलप्रसाद पोखरेल

दार्जिलिङ र सिक्किम प्रान्तका प्रवासी नेपालीहरू अत्यन्त उत्साह, उमङ्ग र भक्तिभावपूर्वक प्रत्येक वर्ष भानुजयन्ती मनाउँछन् । उनीहरू यसलाई राष्ट्रिय पर्वका रूपमा लिन्छन् । धेरै ठाउँमा उनीहरूले भानुभक्तको प्रतिमा पनि स्थापना गरेका छन् । प्रवासी दाजुभाइ, दिदीबहिनीहरूकै सक्रियता र पहलमा भानुजयन्तीका दिन त्यहाँको सर्कारले सार्वजनिक विदाको घोषणा पनि गरेको छ । यस कुराको स्मरणले म नेपालको वंशज नागरिक निहुर्मुन्टी ‘न’ हुन्छु । मलाई आत्मग्लानीले पिरोल्छ, तर म एकजना निरीह मान्छेले के गर्न सक्छु, के भन्न सक्छु पिरोलिनु बाहेक । मैले भन्न सक्ने कुरा, गर्नसक्ने कुरा एकमात्र छ । म मनमनै भन्छु — ‘थुक्क ! हाम्रा देशका माथिल्लो ओहदामा बस्ने ठूलाबडा भनाउँदाहरूले डाडुमा पानी तताएर त्यसैमा डुबेर मर्नु नि !’
दार्जिलिङ र सिक्किममा भानुजयन्ती मनाउने गरेको कुरा मैले धेरै पटक सुनेको र एकदुई पटक देखेको कुरा हो । भानुजयन्ती दार्जिलिङ र सिक्किममा मात्र मनाउँछन् भन्ने गहिरो विश्वास बोकिरहेका बेला म अर्को ठाउँबाट पनि त्यसैगरी प्रभावित भएको छु । त्यो ठाउँ नजिक छैन । टाढा छ, धेरै टाढा, जहाँ दिउसो हुँदा यहाँ रात हुन्छ । त्यही दिन र रातको फरक भएका ठाउँका आप्रवासी नेपालीले भानुभक्तप्रति गरेका हार्दिक श्रद्धाभावको कुरा हो यो ।
१६ जुलाई २००६ मध्यान्ह १२ बजे भर्जिनियाको डेलस अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण कक्षबाट इमिग्रेसन पार गर्नासाथ गोपी (ज्वाइँ), उहाँको एकजना साथी र म कारबाट हुइँकियौ उडब्रिजतिर । जेफ्रिज आर डीसँग जोडिएको १४३०२ नं.को विशाल आवासभवनको एपार्टमेन्ट नं. ११०८ मा छोरी ज्वाइँको आवास छ । प्रतिघण्टा ५५ माइलको गतिमा गुडेको कारलाई डेरामा पुग्न लगभग ४५ मिनेट लाग्यो । छोरी कृष्णा, नाति अभिषेक र अमृतलाई आँखाले अघाउन्जेल पान गरेपछि मेरो चिरप्रतीक्षित इच्छा पूर्ण भयो । १०÷१५ मिनट थकाइ मारेपछि मैले थाहा पाएँ त्यसैदिन त्यहींं नजिकैको ‘लिसिल्भ्यानिया पार्क’ मा १९३औं भानुजयन्ती धुमधामका साथ सम्पन्न भइरहेको छ । त्यस दिन आइतबार परेको हुनाले भानुजयन्ती पनि त्यसै दिन मनाइएको रहेछ । कामको व्यस्तताले विदाको दिन भानुजयन्ती मनाउनु त्यहाँको बाध्यता हो भन्ने कुरा पछि थाहा पाइयो । ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ (अनेसास) द्वारा आयोजित भएको हुनाले पनि सो समारोह भव्य एवं महŒवपूर्ण थियो । म त्यहाँ पुग्ने कुरा थाहा पाएर अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले मलाईसमेत लिएर आउन गोपीजीलाई निम्ता दिइसक्नु भएको रहेछ । सो कुरा थाहा पाएपछि त मेरा भुईँमा खुट्टा रहेनन् । २३÷२४ घण्टे जेट यात्राबाट लागेको थकाइले एकाएक सुइँकुच्चा ठोकेछ । मैले छोटो स्नान गरें । चिया र बिस्कुटको नास्तापछि गोपीजी, म र नाति अभिषेक लाग्यौं भानुजयन्ती समारोह स्थलतिर । कार द्रुतगतिमा चिप्लिरहेको थियो । म नयाँ नयाँ रमणीय दृश्यहरूलाई आँखाका नानीभित्र लुकाउँदै एकछिन भएपनि शोचमग्न भएँ ।
भानुभक्तलाई मैले सानैमा चिनेको थिएँ उनको ‘रामायण’ र ‘बधुशिक्षा’ का केही श्लोकबाट । मेरी मावलकी हजुर आमाले म आठ वर्षको छँदा सिकाएको निम्न लिखित श्लोक पनि झट्ट मेरा मगजमा आयो—
साँचो बोल्नु नबोल्नु बात कहिल्यै भूmटो भन्याको रति ।
आखिर् मर्नु छ पाउनू छ उति फल् याहाँ ग¥याको जति । ‘बधुशिक्षा’
मेरी आमाले पनि हजुरआमाबाट श्रुतिका रूपमा कण्ठस्थ गरेका श्लोकहरू सुनाउनुहुन्थ्यो । विवाहमा भन्ने श्लोकको लयमा लामो लेग्रो तानेर भन्दा सारै मीठो सुनिन्थ्यो । यसरी भन्न मेरी आमा निरक्षर भए पनि सारै सिपालु हुनुहुन्थ्यो । हजुर आमा र आमाको प्रभाव परेर होला अहिले पनि मलाई भानुभक्तद्वारा प्रयुक्त छन्दहरू गाउन औधी मनपर्छ । मेरा पूर्वस्मृतिहरू तरङ्गित हुँदै एकै क्षणमा मलाई भेट्न आइपुगे । मलाई चैं काठमाडौंदेखि अत्यन्त द्रुतगतिमा उड्ने जहाजमा उड्दा पनि २४ घण्टा जति लागेको थियो; तर मेरा ५५ वर्ष अघिका स्मृतिहरू एक निमेषमा अमेरिका पुगे; प्रकाशको गतिलाई पनि जिते; छक्क परें म । अमेरिका पुग्नेबित्तिकै भानुजयन्तीमा भाग लिन पाउनु मेरा लागि लर्तरो कुरा थिएन । वास्तवमा म भानुभक्तको भक्त नै रहेछु जस्तो लाग्यो ।
यहाँ म भन्ने गर्थें भानुभक्तको पुनर्जन्म दार्जिलिङ र सिक्किममा भएको छ, तर त्यहाँ पुगेपछि मैले यताको कुरा भुसुक्कै बिर्सिएँछु । उतैको कुरामात्र स्मरणमा आएछ, ‘भानुभक्तले अमेरिकाको ‘ग्रिनकार्ड’ मात्र होइन नागरिकता नै लिएछन् । डलरको लोभ देखाएर राम्राराम्रा कवि, साहित्यकार, गायक, नेता, अभिनेता, अभिनेतृ सबै अमेरिकाले तानिसकेछ जस्तो लाग्यो ।
मनमा अनेक तर्कवितर्कहरू खेलाउँदा खेलाउँदै थाहै नपाई ‘लिसिल्भ्यानिया पार्क’ आइपुगेछ । म सानो देशको सानो मान्छे । सोच पनि सानै थियो । मनमनै विचार गर्दै थिएँ लिसिल्भ्यानिया पार्क रत्नपार्क जस्तै अथवा त्यो भन्दा अलिक ठूलो होला । बिघ्न भए वरिपरि कम्पाउन्ड वाल लगाएको होला । त्यहाँभित्र अलेलि फूलबारी होला । तरुनी तन्देरीले इस्क गर्ने ठाउँ र भुटेका मकै र भटमास खाँदै उग्राउने ठाउँ होला । त्यो भन्दा बढी भए देखीदेखी होइन अलिक छेलिएर कुकुरासनमा कम्पाउण्डवाल भिजाउने ठाउँ होला । अझ धेरै भए सार्वजनिक शौचालय पनि होला तर रत्नपार्कको जस्तो घुँडाघुँडा आउने सु र दैलै उघार्न नसकिने गरी भरिएको आची चाहिं अलिक नहोला, किनभने त्यो काठमाडौं थिएन, अमेरिका थियो । तर ती मेरा सबै अनुमानित कल्पनाहरू नेपालको वार्षिक बजेटजस्तै पचहत्तर प्रतिशत घाटा भए ।
म एकछिन त वाल्ल परिरहें लाटाले पापा देखेजस्तै । केहीबेर पछि अलिक होस आयो, नियन्त्रित भएँ र आफैंले आफैंलाई प्रश्न गर्न थालें—“लौ भन् त तँ, यस पार्कमा कुन कुराको कमी छ ? पार्कको छेउमा विशाल पोटोम्याक नदी छैन कि ? त्यस नदीमा सवार गरी मनोरञ्जन प्राप्त गर्ने स्टिमरहरू छैनन् कि ? फुटबल, भलिबल र अन्य अमेरिकी खेलका लागि खेल मैदान छैनन् कि ? पोटोम्याक नदीको वरिपरि रमणीय जङ्गल छैन कि ? पिकनिक स्थल छैन कि ? सभासमारोहका लागि आवश्यक पर्ने घरहरू छैनन् कि ? गाडी पार्किङ् क्षेत्र छैन कि ? त्यहाँको वातावरण सुन्दर एवं शान्त छैन कि ? यसो नदी किनारमा आँखा घुमाउँदा भेडाबाख्रा, देउतेबोका र पठेक्रीझैं बैंसले मात्तिएका खैरे खैरेनी उन्मुक्त रुपमा नाङ्गै खर्किएका छैनन् कि ? के छैन ? म आफैंलाई उत्तर दिन्छु — ‘हो सबैथोक छ, चिताए जत्ति अथवा त्यो भन्दा पनि बढी । तर नदी किनार भए पनि बिहारी र नेपालीजस्तो लाम लागेर हग्ने र कुकुरासनमा तुर्क्याउने मान्छे ओखती लाग्छ भने पनि पाइँदैन ।
हामी १९३ औं भानुजयन्ती समारोहस्थल पुग्यौं । भर्खर भर्खर मात्र कार्यक्रम प्रारम्भ भएको रहेछ । साहित्यकार होमनाथ सुवेदीसँग नामले परिचय थियो तर अनुहारले थिएन । गोपीजी र मेरो कथासंग्रह अन्तर्व्यथा : आजको मार्फत उहाँले मेरो परिचय पाइसक्नु भएको रहेछ । उहाँ विशेष अतिथिको आसनमा बस्नुभएको थियो । गोपीजीले कानमा गएर केही भन्नासाथ उहाँ जुरुक्क उठेर मलाई भेट्न आउनु भयो । परिचय पश्चात् उद्घोषकलाई मेरो नाम र परिचय टिपाउनुभो र मैले पनि नवआगन्तुक अतिथिका आसनमा बस्ने सौभाग्य पाएँ । अनेसासको आयोजनामा सो समारोह भएको हुनाले सभापतिको आसनमा अनेसासका सभापति मोहन सिटौला हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा अमेरिकाका लागि नेपाली राजदूतावासका चार्ज डि. एफियर्स श्री रुद्रप्रसाद नेपाल हुनुहुन्थ्यो । त्यस क्षेत्रमा रहदै आउनु भएका अन्य व्यक्तित्वमा डा. बलराम अर्याल, भीम रेग्मी, एच. वि. भण्डारी, कमला प्रसाईं, कवि एवं निबन्धकार गोविन्द गिरी ‘प्रेरणा’ र अन्य धेरै महिला र पुरुषको उपस्थिति थियो । माला लगाएर फोटामा सजिएका भानुभक्तलाई मनमनै नमन गरें । वायुयानको धङ्धङी सँगुलै थियो । सोही कारणले हुनसक्छ बेलाबेला सिद्धिचरणलाईझैं ‘स्वप्न गगनबाट सुशीतलजल बर्सन्थ्यो रिमझिम’ । अमेरिकाभित्र पनि नेपाल रहेछ; म्याग्दी र रम्घा रहेछ भन्ने थाहा पाएर होला गर्वले हात्तीको जत्रै मुटूभयो ।
आदि कविको आफ्नै इच्छाले हुनसक्छ सो समारोहमा भानुभक्तकै जन्मस्थल छेउछाउका व्यक्तित्वहरूको उपस्थिति बढी थियो, उहाँहरू कै उत्साह र उमङ्ग बढी थियो सद्भावना, श्रद्धा र प्रेम बढी थियो । भानुभक्तका भक्त होमनाथ सुवेदीले आफ्नो मन्तव्यको क्रममा भानुभक्तको घर पुनर्निमाण गर्ने कुरा उठाउँदा र त्यसलाई उपस्थित सबैले तालीद्वारा समर्थन गर्दा मेरो मन थामिएन । आफ्नो दुई थोपा आँसूले मैले पनि होमनाथ सुवेदीको भनाइलाई साथ दिएँ । आर्थिक सहयोग भने पनि, जे भने पनि मेरा निम्ति त्यही अमूल्य थियो । त्यही अर्पिएँ आदि कविलाई । आदिकविको घर पुनर्निर्माण गर्ने भनेको के होला ? भन्ने कुरा मनमा उठ्यो । एकछिनमा त्यसको उत्तर थाहा पाएँ आदिकविको घर भनेको नेपाल हो । नेपालकै पुनर्निर्माण गर्ने भनेको होला जस्तो लाग्यो । अर्को मनले भन्यो आदिकविको सालिक तोड्नेहरूले यसो गर्न देलान् त ? ल एक छिनका लागि दिए अरे तर विदेशी सहयोग हसुर्न बानी परेका कावाहरूले भानुभक्तका लागि जुटाएको पवित्र सहयोग चप्काइदिए भने ! फेरि मन कुइँक्क घुम्यो र भन्यो, “आफ्नो देशको माया गर्ने देशभक्तहरू मिलेर सहयोगको सदुपयोग गर्नुपर्छ ।”
आदिकविको जन्म जयन्तीमा काव्य चर्चा हुनु नितान्त जरुरी छ भन्ने कुरा आयोजकले राम्रोसँग बुझेका रहेछन्; किनभने समारोहको अधिकांश समय काव्य चर्चामै बितेको थियो । कवयत्री कमला प्रसाईंको कविता संग्रह ‘म बिनाको मेरो जीवन’ र कवि मोहन सिटौलाको कवितासंग्रह ‘नयाँ मुलुकको नाद’ को विमोचन सोही समारोहका आकर्षण थिए । कमला प्रसाईंका कविता आफ्नै दुःखसुखका अनुभव र अनुभूतिका झिल्का र थोपा हुन् भन्ने कुरा कवयत्री स्वयम्बाट थाहा पाउन सकियो भने ‘सिटौलाको कविता नितान्त नवीन र मौलिक बिम्ब विधानमा उनिएको छ’ भनेर समालोचक एच्.बि. भण्डारीले आफ्नो समालोचकीय टिप्पणीमा उल्लेख गर्नुभएको थियो ।
समारोहमा भएको प्रतियोगितात्मक खुला कवि गोष्ठीमा विभिन्न कविहरूले आआफ्ना कविता वाचन गर्नुभएको थियो । त्यहाँ तुङ्गनाथ उपाध्यायको ‘श्रद्धासुमन’ प्रथम, हस्त गौतमको ‘आमाको व्यथा’ द्वितीय र दिनेश त्रिपाठीको ‘शब्दहीन देश’ तृतीय घोषित भएका थिए ।
त्यसैगरी सोही अवसरमा खुला प्रतियोगितात्मक बाल कविता गोष्ठी पनि सम्पन्न भएको थियो । त्यसमा आशिष सिटौला, प्रसन्न सिटौला र अमित श्रेष्ठ क्रमशः पहिला, दोस्रा र तेस्रा भएका थिए । अप्रतियोगी कविका रूपमा कविता पाठ गर्ने अन्य कविहरूमा नारायण अधिकारी, कपिल सिटौला, डा. हरिराज भट्टराई, नितेश अधिकारी, कमला प्रसाईं, प्रेम संग्रौला, टीका पुन, गोविन्द गिरी ‘प्रेरणा’, कविन्द्र सिटौला, मधु शर्मा, कल्पना सुवेदी, मोहन सिटौला र म स्वयं पनि थिएँँ । मैले आफूलाई त्यति कुशल कवि ठान्ने गरेको छुइन, तर त्यहाँ मैले सुनाएको ‘गयो जीवनै बैंस जाँदै गएन’ भन्ने छन्दोबद्ध कविताले निकै ठूलो प्रशंसा पायो । त्यहाँ उपस्थित सबैलाई घत लागेछ क्यार । अत्यन्त चाखपूर्वक मेरो कविता सुनेको पाएँ मैले । डा. हरिराज भट्टराईले त राम्रो, राम्रो धेरै राम्रो भनेर मलाई धाप पनि मार्नुभयो । त्यो समाचार भर्जिनिया र डि.सि. सबैतिर पैmलिएछ । मलाई भेट्ने धेरैजसोले ‘तपाईंले भानुजयन्तीमा धेरै राम्रो कविता सुनाउनु भएछ नि, आफूले त सुन्न पाइएन !’ भनेर दुःख मनाउ गरेको पनि सुने । कवि एवं साहित्यकार होमनाथ सुवेदी र उहाँकी श्रीमती नन्दादेवी सुवेदीबाट त झन् धेरै प्रशंसा पाएको छु मैले । त्यसो त नेपालमा विशेष गरेर झापामा भएका गोष्ठीहरूमा पनि उक्त कविताले प्रशंसा पाएको छ,, ताली पाएको छ । जे होस् त्यो प्रशंसा र ताली मैले पाएको होइन कविताले पाएको हो, सोही कविताले पाएको हो । मैले प्रशंसा पाउने भए यसभन्दा अघि पनि निकै कविता लेखेको छु जस्तो लाग्छ, खोइ पाएँ प्रशंसा ? खोइ पाएँ ताली ? जे होस् एउटा कविता मात्र भए पनि यसो हेर्नुहुने भएछ । समुद्र पारी गएर पनि अलेली नाम कमाएर आयो । आफुले डलर कमाउन नसके पनि एउटा कविताले नाम अलिकति भए पनि कमायो । आफैंलाई स्यावास् ।
भानुजयन्तीको कुरा गर्दागर्दै कलम झन्नै ‘आफूजयन्ती’ तिर रड्किएछ । अँ उक्त कायक्रमको अर्को आकर्षण प्रतियोगितात्मक भलिबल खेल थियो । सो खेलका लागि बाल्टिमोर निवासी मोहन थापाले ‘अनेसास–भानुभक्त मेमोरियल गोरखबहादुर थापा रनर कप’ को व्यवस्था गर्नु भएको थियो ।
सो भलिबल खेल प्रतियोगितात्मक भए पनि अत्यन्त सौहाद्र्रपूर्ण भलिबल खेल थियो । छ्यात्छ्याती नेपालीले खेलेजस्तो, नेपालभित्रै खेलेजस्तो अनि भानुभक्तकै रम्घामा खेलेजस्तो खेल थियो त्यो । छेवैमा बगिरहेको ‘पोटोम्याक’ नदी बग्न छोडेर निर्निमेष गोल हेरिरहेको थियो ।
भलिबल खेलको मध्यान्तरको मौका छोपेर मैले केही क्षण पोटोम्याकतिर दृष्टि दिएँ । एकै छिनमा रूप बदल्यो त्यसले र फेवाताल बन्यो । हेर्दैथिएँ त्यो माईपोखरीमा रूपान्तरित भयो । वरिपरि जङ्गलैजङ्गलले घेरिएको ठ्याक्कै माईपोखरी, स्वच्छ जलले पूर्ण जलाशय । मेरा देशका फेवा, रारा, माईपोखरी र अन्य जलाशयभन्दा विशाल थियो त्यो; तर मेरा देशका नदी र तालहरूका छेउमा ‘मुटुभन्दा शरीर ठूलो’ जस्तै थियो ‘पोटोम्याक’ । धेरै फराकिलो क्षेत्रमा बग्ने र जङ्गलैजङ्गलका बीचमा देखिने हुनाले तालको अनुहारको नदी थियो ‘पोटोम्याक’ । गोरेहरूका बीचमा को पुलिङ्गी, को स्त्रीलिङ्गी, को उभयलिङ्गी, को समलिङ्गी छुट्याउन सानोसानो अनुसन्धाननै गर्नुपर्ने हुन्छ भने नदीको लिङ्गभेद गर्ने कुरा चन्द्रलोक पुग्नुभन्दा कठिन हो । लिङ्गभेद गर्ने देशको लिङ्गभेद भएको भाषा बोल्ने भएका नाताले ‘पोटोम्याक’को लिङ्ग छुट्याउन खोजें मैले ।
नेपालका अधिकांश नदीहरू— मेची, कनकाई, कोशी, नारायणी, गण्डकी, कर्णाली, भेरी, सेती, महाकाली स्त्रीलिङ्गी छन् भने फेवा, रारा, माईपोखरीजस्ता प्रसिद्ध तालहरू पनि स्त्रीलिङ्गीनै छन् । यिनीहरूको नाम सुन्नेबित्तिकै, स्मरण गर्नेबित्तिकै मनका अशुद्ध मयलहरू एकाएक स्वच्छ बन्दछन्, पवित्र बन्दछन् । मानसिक स्नानबाट पवित्र भएपछि दैहिक स्नानको आवश्यकता नै पर्दैन रहेछ । खैरेहरूले राखेको ‘पोटोम्याक’ नामले नदी संझाउने होइन बरु बिर्साउने काम गर्छ । तर जेहोस्, जस्तोहोस् जलाशय देखेपछि हाम्रो मन त्यसैत्यसै द्रवीभूत हुँदो रहेछ, त्यसै पग्लिएर आउँदो रहेछ; मनैले भए पनि चुर्लुम्म डुबेर स्नान गर्न मन लाग्दो रहेछ । त्यहाँ भौतिक रूपले मनोरञ्जनका लागि ‘पोटोम्याक’ प्रिय देखिन्छ तापनि हाम्रालागि त्यो पवित्र गङ्गा हो । नदी र जलाशयको प्राकृतिक महत्त्व नबुझ्नेहरूले हाम्रो देशका नदी र जलाशयहरू दूषित बनाएका छन् तर यस कुरामा अमेरिकीहरू हामीभन्दा सयौंगुणा अघि छन्, तर भौतिक रूपमा उनीहरू अघि भए पनि आध्यात्मिक रूपमा भने उनीहरू हामीभन्दा धेरै पछि छन् ।
म हाम्रा स्त्रीलिङ्गी नदीहरूको कुरा गर्दैथिएँ, मातृरूपा नदीहरूको कुरा गर्दै थिएँ । अंग्रेजहरूका नदीहरू हाम्रा नदीसँग तुलनीय छैनन् भन्दै थिएँ । वास्तवमा अंग्रेजका नदीहरू निर्जीव वस्तुहुन्, मात्र एच२ओ को सूत्रमा निर्मित द्रव पदार्थ । उनीहरूको शब्दकोशमै लिङ्गभेदक क्रियापद छैन भने नदी कसरी स्त्रीलिङ्गी होस् त ।
अंग्रेजी भाषाको कुरा देखेर मलाई हाम्रो नेपाली भाषाको कुरा गर्न मन लाग्छ । कति विशाल छ हाम्रो भाषा ! कतिसम्पन्न छ हाम्रो भाषा ! मलाई अलिकति भए पनि नेपाली भाषा र अंग्रेजी भाषाको तुलना गर्न मन लाग्छ — ‘मेरो छोरो आज आउँछ’, ‘मेरी छोरी आज आउँछे’, ‘मेरी आमा आज आउछिन्/आउनुहुन्छ/पाल्नुहुन्छ’, ‘मेरा बा आज आउँछन्/आउनुहुन्छ/पाल्नुहुन्छ’, यी चारै वाक्यका क्रियापदहरू लिङ्गव्यतिरेकी छन् र त्यसरी नै आदरव्यतिरेकी पनि । छोराका लागि आदररहित पुलिङ्गी क्रियापद प्रयोग भएको छ भने छोरीका लागि आदररहित स्त्रीलिङ्गी क्रियापद प्रयुक्त छ । त्यसैगरी ‘आमा’ र ‘बा’ का निमित्त प्रयुक्त सामान्य आदरार्थी क्रियापद ‘आउँछिन्’ र ‘आउँछन्’ मा अघिल्लो स्त्रीलिङ्गवाचक र पछिल्लो पुलिङ्गवाचक हो । यीबाहेक उच्चआदर र उच्चतम आदरका रूपमा प्रयुक्त ‘आउनुहुन्छ’ र ‘पाल्नुहुन्छ’ आमा बा दुवैका लागि उपयुक्त छन् । यी क्रियापदले नेपालमा आमाबाबुको उच्च सम्मान हुन्छ भन्ने कुरा पनि देखाउँछन् । पदसङ्गतिमा लिङ्ग र आदर नभएको हुनाले अंग्रेजी भाषा नेपालीको तुलनामा लङ्गडोजस्तै देखिन्छ । विश्वका सम्पन्न एवं शक्तिशाली देशका अधिकांश व्यक्तिले बोल्ने र अन्तर्राष्ट्रिय रूपमा मान्यता समेत पाएको अंग्रेजी भाषा लिङ्ग र आदरको अभावमा विपन्न भएको छ । यसोभन्दा कसैदेखि डराउनु पर्दैन । अंग्रेजी भाषामा लिङ्गव्यतिरेकी र आदरव्यतिरेकी क्रियापद नभएको कारणबाट उपर्युक्त चारैवटा वाक्यका निमित्त एउटै क्रियापद प्रयोग हुन्छ – ‘माइ सन कम्स् टुडे’; ‘माइ डट(र्) कम्स् टुडे’; ‘माइ मद(र्) कम्स् टुडे’; ‘माइ फाद(र्) कम्स् टुडे’ । यी वाक्यमा छोरो, छोरी, आमा र बाका लागि एउटै क्रियापद ‘कम्स्’ को सङ्गति भएको छ । यसरी हेर्दा अमेरिकामा कसैका छोरी, बुहारी र आमाहरू स्त्रीलिङ्गी छैनन् र आदरणीया पनि । अब मैले ‘पोटोम्याक’ खोलो स्त्रीलिङ्गी भएनभन्दा त्यसको अर्थ लाग्छ ! धन्न प्रकृतिदेवीले चाहिं त्यतापटि पनि दृष्टि दिएकै रहेछ, नत्र काग, रुप्पी, परेवा, चिलजस्ता पंक्षीहरूको लिङ्ग छुट्याउन नसकिएभैmं अमेरिकी महिला र पुरुष छुट्याउन धौधौ पर्ने थियो र समलिङ्गी विवाहको वार्षिक बृद्धिदर धेरै माथि पुग्ने थियो ।
मध्यान्तरको समय व्यतीत हुनासाथ पुनः खेल चालु भयो । मेरा आँखाका नानीहरू ‘पोटोम्याक’बाट कुइँक्क घुमे खेलमैदानतिर । ‘काली गण्डकी ए’ र ‘काली गण्डकी बी’ का बीच भएको प्रतियोगितात्मक खेलमा जसले जिते पनि आखिर नेपाली कै विजय हुन्थ्यो र ‘काली गण्डकी’ कै विजय हुन्थ्यो । उडब्रिजको ‘लिसिल्भ्यानिया पार्क’ को त्यो खेलमैदान मेरा आँखामा नेपालमय बनेको थियो । खेलाडी को ? ‘नेपाली‘, दर्शक को ? ‘नेपाली’, आयोजक को ? ‘नेपाली’, प्रायोजक को ? ‘नेपाली’ । सबै प्रश्नको उत्तर एउटै थियो‘नेपाली’ ।
त्यस खेलमा खेल्ने खेलाडीहरू पक्कै पनि नेपालका विभिन्न क्षेत्र, अञ्चल, जिल्लासँग सम्बन्धित होलान्, यो मेरो निजी भनाइ थियो । आफ्नो विचारको पुष्टिका निमित्त खेलाडीको परिचय जान्न चाहें मैले । दर्शकमध्ये एकजनासँग खेलाडीको नाम भएको कागज रहेछ, मागेर पढें र आफ्नो डायरीमा टिपें । मैले टिपेका नाममा ‘काली गण्डकी ए’ बाट खेल्ने खेलाडीको नाम यसप्रकार थियो १. मोहन थापा (क्याप्टन), ताकाम धारापानी, म्याग्दी, २. मोहन बानिया, बेनी, म्याग्दी ३. डम्बर कार्की, राखु, म्याग्दी, ४. निलमथापा, चिमखोला म्याग्दी, ५. लायन बूढा, रुकुम, ६. शक्ति रेग्मी, ।
त्यसैगरी ‘काली गण्डकी बी’ टिमबाट खेल्ने खेलाडीहरू यसप्रकार थिए M १. राम तिलिजा (क्याप्टन), चिमखोला, म्याग्दी, २. टीका पुन, चिमखोला म्याग्दी; ३. लोकमान पुन, चिमखोला, म्याग्दी ४. गङ्गा पुन, दोवा म्याग्दी, ५. प्रेम लिम्बू, ह्वाकु, तेह्रथुम, ६. सुरेश लामा, नारायणगढ, चितवन । प्रस्तुत खेलमा खेम भट्टचन, म्याग्दीले अम्पायरको भूमिका निर्वाह गर्नुभएको थियो । अमेरिकाको एउटा सानो ठाउँमा अम्पायर समेत ९ जना खेलाडी म्याग्दीसँग सम्बन्धित हुनु मेरा लागि चानचुने कुरा थिएन । यसबाहेक समारोहमा उपस्थितमध्ये दुई जना –साहित्यकार होमनाथ सुवेदी र उहाँकी धर्मपत्नी म्याग्दीकै हुनुहुन्थ्यो । मैले नचिनेका अरु पनि हुनुहुन्थ्यो होला । यसरी हेर्दा सो आदिकवि जयन्ती मनाउनेमा मूलतः गण्डकीले र अंशतः म्याग्दीले अग्रस्थान ओगटेको थियो, यो मेरो नितान्त व्यक्तिगत हेराइ हो ।
त्यस समारोहमा उपस्थित सबैको उत्साह, उमङ्ग र श्रद्धाभाव देख्ता पछिपछि दार्जिलिङ् र सिक्किमलाई पनि अमेरिकाको यस क्षेत्रले उछिन्छ कि जस्तो लाग्यो । हुन त आदिकवि तनहुँ र म्याग्दीका मात्र होइनन् । उनी प्रत्येक देशवासीका हुन्, प्रत्येक गोर्खालीका हुन्, प्रत्येक प्रवासीका हुन् अनि प्रत्येक आप्रवासीका हुन् सबैलाई चेतना भया । तर भानुभक्तलाई आफ्नो बनाउने कार्यका लागि दार्जिलिङ, सिक्किम र भर्जिनियाका साहित्यप्रेमी, संस्कृतिप्रेमी व्यक्तित्वहरूलाई हामीले गुरु थाप्नु पर्छ होला जस्तो लाग्छ ।

सुरूङ्गा, झापा

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 10 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु