काफल पाक्यो

- वासुदेव अधिकारी

पोहोर पोहोर
कहाँ पाक्न पाउनु काफल ?
सधैँ ठिहीले खाने
सधैँ डढेँलोले चाट्ने
सधैँ बाँदरले लुछ्ने
मुना भाँचिहाल्ने
उत्पात खसाइ हाल्ने
चिचिला टिपिहाल्ने !

हिजो
वसन्त आगो फुक्थ्यो
वसन्त बाँदर पाल्थ्यो
वसन्त प्रलय बोक्थ्यो
तर पनि कोइली गाउँथ्यो
‘काफल पाक्यो, काफल पाक्यो’

यस पटक
ठिही पग्लियो घाममा
आगो बाल्दा बाल्दै
डढेलो प्रदायक समातिए
क्यामरामा कैद भयो
तिनको आगो, लज्जा र कलङ्क
बाँदहरु थाके
र वसन्त गानमा मिसिए
आफैँ मसाङ्ग्रियो उत्पात
जोगिए काफल बोटका मुना
जोगिए काफलका चिचिला
मिठो घामको स्पर्शमा
मुना छिप्पिइहाल्यो
चिचिला बढिहाल्यो
अहिले सबै काफल पाकेको होइन
तैपनि कोइलीले गायो
‘काफल पाक्यो, काफल पाक्यो’

चरीले काफल पाकेको गीत गाउनु
सबै बोट काफल पाक्नु होइन
सबै दाना काफल पाक्नु होइन
यो यामको गीत हो
यो उत्सवको सङ्गीत हो
यो महक उद्वोधन हो
याम शुरु भएपछि
नपाकेको बोट पाक्छ
उत्सव शुरु भएपछि
नपाकेको हाँगा पाक्छ
माहौलले नै नपाकेको दाना पकाउँछ
हो, कुनै दाना नपाक्न सक्छ
कुनै दाना कुहिन सक्छ
तिमी किन चिन्ता गर्छौ
काफलको जङ्गलमा
केही दाना काफल पाकेन भनेर
संसारको कुन जङ्गलमा
कुहिएको छैन एक दाना काफल ?

स्वागत छ
‘काफल पाक्यो’ गीतलाई !
कोइलीलाई !
पाकेको काफलको महकलाई !

नपाकेको काफल पाक्ने घाम
र किराबाट जोगाउने
तितेपातीको अर्गानिक झोल
छँदैछ नि हामीसित !

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 3 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु