पिँजडाको चरो

- माया एञ्जोलो

उन्मुक्त चरो
हावाको पिठ्यूँमा चडेर
बहावको धारलाई छिचोल्दै
वेगको अन्तिम किनारसम्म पौडन्छ।
आफ्ना पँखेटालाई
घामका सुन्तले किरणमा डुबाउँछ
र सम्पूर्ण आकास उसैको हो झैँ फुर्ति गर्छ।

तर, साँगुरो पिँजडामा थुनिएको चरो, बिचरो
मुस्किलैले मात्र चिहाउन सक्छ
आफ्नो कैदखानाको झ्यालबाट बाहिर ।
उसका पँखेटा च्यापिएका छन्
उसका गोडा बाँधिएका छन्
त्यसैले ऊ
खोल्दछ आफ्नो गला
गाउनका लागि।

पिँजडाको चरो
कुनै अज्ञात डरमा काम्दै गाउँछ।
तर पनि
वर्सौँदेखि सधैँ नै सुनिइरहिएको छ यो स्वर
दुर्गम टाकुराहरूसम्म ।
पिँजडाको चरो
स्वतन्त्रताको गीत गाउँछ ।

स्वतन्त्र चरो अर्को शितल हावाको प्रतिक्षा गर्छ
सल्लेरीका मन्द सुसाइको बाटो हेर्छ
बिहानको उज्यालो चौरमा आफ्ना आहाराहरूले पर्खिरहेको कल्पना गर्छ
र सम्पूर्ण आकास आफ्नै हो, ठान्छ।

तर, पिँजडाको चरो
सपनाहरूको चिहानमै उभिइरहन्छ
उसको छाया ऐठनका बर्बराहटलाई हकार्छ।
उसका पँखेटा च्यापिएका छन्,
उसका गोडा बाँधिएका छन्
त्यसैले ऊ
खोल्दछ आफ्नो गला
गाउनका लागि।

पिँजडाको चरो
कुनै अज्ञात डरमा काम्दै गाउँछ।
तर पनि
बर्सौँदेखि सधैँ नै सुनिइरहिएको छ, यो स्वर
दुर्गम टाकुराहरूसम्म।

पिँजडाको चरो
स्वतन्त्रताको गीत गाउँछ ।
(सं.रा. अमेरिका)

(मूल अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनुदित)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 28 भाद्र, 2072

लेखकका अन्य रचनाहरु