श्वेतभैरवी

- होम सुवेदी

(कथाकार विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीको सन्दर्भमा श्रद्धासुनम स्वरुप उनैको श्वेतभैरवी कथा पद्यानुवाद)

लाग्ला पाठकमा कथा बिरसिलो होलान् यहाँ गन्थन
ढुंगैमा पनि सार मिल्छ जबकि गर्दा ठुलो मन्थन
हाम्रै फल्गुनीको कथा र घटना लेखूँ कि लेखूँ कि म
धेरै वर्ष पुरानु हो तर पनि सम्झन्छु छर्लंग म ।।

पक्का वर्ष भुलेंछु सायद थिएँ कौमार्य आरम्भमा
थोरै गन्थन मात्र गर्नु छ यहाँ यो पूर्व प्ररम्भमा ।
हूँदो हुँ दस बार वर्ष तिरको लाग्थ्यो कलिलै छु म
मेरै बालककालको चहकिलो यौटा कथा भन्छु म ।।

सिद्धिएझंंै थियो वर्खा ऋतुको याम भर्खर
शारदी याम थाल्दैथ्यो पृथ्वीमा हुन तर्खर ।

बर्खामा कोशीको रौद्र रुपले गरी नर्तन
कोशीको रौद्र त्यो रुप शान्त लाग्दै थियो हुन ।।

गाउँ बेंसीहरुलाई कोशीले डस्नु थ्यो जति
डसेर फिर्न लागेझैं हुँदैथ्यो त्यसको गति ।।

बर्खामा कोशी उर्लेर बिकरालै भए पनि
सुक्न लाग्दै थियो आज केही ढिलै भए पनि ।।

अहिले कोशीको छाल केही टाढा हुँदै थियो
तथापि बाढीको त्रास गाउँभित्र छँदै थियो ।।

कोशीको रौद्र त्यो रुप मेटिदैन अझै पनि
छँदैछ मनमा मेरो कोशी केही घटे पनि ।।

भुलुक् भुुलुक् भुलुक् गरी उठेर छाल आउँथ्यो
यता सबै डराउथ्यौं उता सबै बगाउँथ्यो
अमोघ काल झैं थियो अगाडि कोशी ताण्डव
खुलुक्क निल्दथ्यो कतै मिलिक्क बन्धु वान्धव ।।

यता पनी डरै थियो थियो डरै उता पनि
बगाई लग्न सक्तथ्यो जतासुकै गए पनि ।।
थिएन कोशीका अघि कुनै गृहस्थी डेगिलो
विनासकारी कोशीको थियो प्रवाह बेगिलो ।।

किसान खेती गर्दथे सधै सधैं घुँडा धसी
बगाउँथ्यो डुबाउँथ्यो समस्त खेतीमा पसी
कराल काल झैं थियो प्रचण्ड कोशीको रुप
विपत्ति आइलाग्दथ्यो गरेर घोर ताण्डव ।।
अकास चम्कंदै थियो गरी अनन्त नर्तन
गड्याङ् गुडुङ् गड्याङ् गुडुङ् गरेर घोर गर्जन ।
विनासको लीला गरी पुरानु मार्गमै फि¥यो
अनन्त ताण्डवी लीला गरेर कोशी थामियो ।।

आयो कार्तिकको बेला बर्खा याम बितेपछि
शारदी कालको याम भयो बर्खा गएपछि ।।

कोशीले धङ्स पारेर गरी ताण्डव नर्तन
पुरानै ठाउँमा फेरि लाग्दैथ्यो अब फर्कन ।।

कोशी त्यो बाढीको रुप लिएर यमराजको
अघाएर फिरेजस्तो लाग्दैथ्यो यमराज त्यो ।।

अघिल्लै दिनको जस्तो गाउँ आतङ्कमै थियो
तथापि कोशीको बेग केही ता थामिदै थियो ।।

साना तालहरु उस्तै बाटाघाटाहरु उही
डम्म पानी थियो उस्तै उही मैलो हिलो उही ।।

बर्खा याम गयो आयो त्यहाँ शारदी वास्तव
त्यसैले केही उत्पात कम भो कोशीको अब ।

बर्खामा गाउँका गाउँ सारै संकटमा थिए
कोशीले डेग छाडेछ मानौ ती अब बौरिए ।।

बिदो बाढी हुँदा केही गाउँ जाग्दैछ यस्तरी
नारीले प्रसवी पीडा सहेर ब्यूँझिए सरी ।।

लामो प्रसवको पीडा थामिए झैं भयो जब
पृथिवी वेदनाबाट ब्यूँझिएझैं भइन् तब ।।

थर्किंदा थर्किंदै मेघ बर्सिंदा बर्सिंदै जल
वायुमण्डलमा केही हट्तैथ्यो अब बादल ।।

घटेझै हुन थाल्दै थे प्रचण्ड गर्मीका दिन
केही शीतलता आयो लाग्दा कार्तिकका दिन ।।

वायुले मधुरो बेग लिएर बहँदै थियो
मानौ त्यो वायुले प्राण हामी मानवमा दियो ।।

छोडेका कोशीले केही खेतमा धान झुल्दथे
फलेको श्रम देखेर किसानहरु भुल्दथे ।।

हिजो अस्ति थियो शङ्का शङ्का त्यो अब दूर भो
निर्धक्कसँगको सोच आएर एक सुर भो ।।

कोशीको त्यो महा उग्र रुपको गर्न वर्णन
छाडेर अब थाल्दैछु मेरै कौमार्य वर्णन ।।

लेलहा नामको मान्छे थियो केवटको थर
बाबु छोरी सँगै बस्थे सानो छाप्रो थियो घर ।।

छाप्रो एक बनाएको दक्षिणी पूर्वमा थियो
हाम्रो बारीतिरै बस्थ्यो सोझो मानव त्यो थियो ।।

भँगालो कोशीको एक फाटेर आउँथ्यो त्यहाँ
फर्केरै फेरि त्यो मिल्थ्यो मूल कोशी थियो जहाँ ।।

गाउँलेहरुका लागि भँगालो कामको थियो
त्यसैबाट त्यहाँ धेरै पानीको काम चल्दथ्यो ।।

भँगालो कामको हुन्थ्यो गाउँलाई नुहाउन
नारीजातिहरुलाई काम दिन्थ्यो लुगा धुन ।।

पानीबाट हुने काम भँगालैबाट चल्दथ्यो
हिउँदे बालीका लागि यसैले काम गर्दथ्यो ।।

भँगालो अहिले लाग्थ्यो बडो शान्त र शीतल
बर्खामा धमिल्यो हुन्थ्यो भयो त्यो अब निर्मल ।।

बर्खाको के कुरा गर्नु अहोरात्रै सुसाउँथ्यो
गाउँलेहरुको यस्ले सातो ठाडै उडाउँथ्यो ।।

बर्खाको याममा लाग्थी कुनै उन्मत्त भैरवी
हिउँदे याममा लाग्ने कुनै ग्राम्य बधू सरी ।।

प्रचण्ड यसको रुप उर्लेर जब आउँथ्यो
लेलहा माझीका लागि खतरा कहलाउँथ्यो ।।

पानीको बेगले केही थियो बारी कटानमा
बग्दथ्यो बारीकै हाम्रो पल्लो दक्षिण पूर्वमा ।।

कोशीमा बाढी आयो कि धमिलो हुन थाल्दथ्यो
लेलहाको घरै भित्र पसुँला गर्न थाल्दथ्यो ।।

छप्ल्याक् छुप्लुक् गरी केही बेगैमा बग्न थाल्दथ्यो
लेलहा बिचरालाई सागरै सरी लाग्दथ्यो ।।
सप्तकोशी नदीबाट फाटेको केही मास्तिर
भँगालाको थियो घुम्ती लेलहाको घरैनिर ।।

केही घुम्ती परेकैले तीब्र बेग त्यहाँ थियो
खुँडाका धारको जस्तो धारिलो बेगिलो थियो ।।

भँगालै गड्गडाएर गाँवैलाई डराउँथ्यो ।
टुक्रा टुक्रा गरुँलाई झैं भन्ने भान गराउँथ्यो ।।

बर्खाका तिन मैनामा बाबुछोरी त्यहीं निर
बडो मुस्किलमा बस्थे धारकै केही पर्तिर ।।

सकियो अब बर्खाको भेलबाढी ढिलो ढिलोे
ओभानो हुन थाल्दैथ्यो सुक्तै थ्यो अब त्यो हिलो ।।

बाढीका पानीले छाड्दा लाग्थ्यो यो नवप्रान्त छ
बिस्तारै सङ्लिंदै आयो अब त्यो धार शान्त छ ।।

कुनै लज्जावती ग्राम्य बालाको रुप झैं भयो
हिलोको ताण्डवी रुप भँगालोमा कता गयो ?

लेलहा माझीकी पुत्री फगुनी सोर बर्षकी
हुँदी हो यतिका वर्ष पछि लेख्तै छु त्यो कथा ।।

स्मृतिमा अझ ताजै छन् बितेका ती कथा सब
धेरै वर्ष यता लेख्न थाल्देछु त्यो कथा अब ।।

फगुनीको जसै गर्छु सम्झना उसको वय
सोरै वर्ष थियो भन्नेमा हुन्छ केही सम्शय ।।

सोर वर्ष थिई भन्ने कल्पनै मात्र हो यहाँ
त्यो बेला फगुनी होली चौध वा सत्र वर्षमा ।।

तर एक कुरामाथि मेरो छ दृढ निश्चय
युवती कालको फड्को टेक्तै थी फगुनी तब ।।

हुन सक्छ थिई होली पन्ध्र वा सत्र वर्षकी
सोरकी हुँदी हो भन्ने मेरो अन्दाज मात्र हो ।।

त्यो केटी बालिकाबाट युवाकाल तिरै थिई
सकिन्छ यो पनि भन्न वयको सन्धिमा थिई ।।

छोडौं त्यो अब त्यो छोडौं उसका वयको कथा
त्यो कथा सम्झँदा आज भित्र दुख्छ कता कता ।।

तिस पैंतिसका वर्ष अघिको यो कथा अझै
मेरो मस्तिष्कमा ताजै रहे झैं लाग्छ त्यो सबै ।।

यौटा बेग्लै थियो नौलो फगूनीमा विशेषता
गोरो गोरो थियो वर्ण छक्कै पर्दाे विचित्रता ।।

न थिई बालिका जस्ती न थिई युवती सरी
थिएन जो हुनु पर्ने बेग्लै थ्यो मुख माधुरी ।।

नयाँ संस्कृतिले आज ढाकेको छ बजारमा
सानैमा छिप्पिए जस्ता देखिन्छन् जिउ डालमा ।।

एघारै पुग्न पाउन्नन् आजका बालिकाहरु
परिपक्व भए जस्ता देखिन्छन् जिउडालमा ।।

वयमा कलिलै हुन्छन् भोग्ने नागर सभ्यता
सोर वर्ष पुगेजस्ता लाग्दछन् ती कता कता ।।

सधैं मोज सधैं मस्त रहन्छन् अनि हर्षमा
सोरका युवती जस्ता देखिन्छन् बार वर्षमा ।।

यिनै सहरिया बाला हलक्कै बढ्दछन् किन
खानले पानले हो कि केले हो खै म जान्दिनँ ।।

सधैं काम सधैं धन्दा सधैंको परिबन्दमा
पर्दछन् गाउँका बाला घनचक्कर द्वन्द्वमा ।।

त्यसैले बढ्न छाडेर हुँदैनन् ती हराभरा
कामले छिचिने गर्छन् कहाँ बढ्नु कठैबरा ।।

कालो वर्ण हुने केही ताम्र वर्ण हुने अनि
गोरो वर्ण हुने केही थिए मानिस गाउँमा ।।

परिवारै थियो कालो त्यस्तोमा कसरी भई
अपवाद भनेजस्तो अचम्मै गोरी त्यो थिई ।।

केशको स्वर्ण आभाले थप्थ्यो सुन्दरता अनी
हेर्दा राम्रै थिए आँखा केही खैरा भए पनि ।।

सोर श्रृंगारले उस्को सजाउ गर्नु हो भने
भान पर्ने थियो होला उसमा अप्सरा हुने ।।

यता खैरा थिए आँखा सुनौलो केश थ्यो उता
युरोपेली कुनै नारी जस्ती लाग्थी कता कता ।।

तर श्रृंगारको त्यस्ले कहाँ पाओस् प्रसाधन
राम्री राम्री बनुँ भन्ने हुँदो हो उसको मन ।।

आफूलाई सजाएर राख्ने सोच कता हुनु ?
ग्राम्यवालाहरुलाई सोख पूर्ण कहाँ हुुनु ?

कोरी बाटी नगर्नाले केश खस्रो रुखो थियो
जगल्टे जोगीको जस्तो पँहेलो केश त्यो थियो ।।

बिसम्भार गरेकैले लट्टियो केश वास्तव
लेलहा पुत्रीका लागि कहाँ श्रृंगार होस् अब ??

गोरी हो तर त्यो गोरोपन सारै विकर्षक
लाग्दथ्यो किन हो मेरो तर्कै हो कि निरर्थक ??

अरु ग्रामीण बालामा हुने झैं त्यो विशेषता
थिएन फगुनी भित्र भन्ने लाग्छ कता कता ।।

अनौठोपन थ्यो उस्को अरुमा पाइँदैनथ्यो
एकान्तप्रिय त्यो लाग्थी मित्रता चाहिदैनथ्यो ।।

बेग्लै लाग्ने थियो चाला अनौठो ढंगकी थिई
अरु बालाहरु भन्दा बेग्लै त्यो चञ्चले थिई ।।

युवतीहरु मस्कन्थे ख्याल गर्थे घरी घरी
फगुनी तर्किने गर्थी नदेखेझैं गरी गरी ।।

घाँस पानीहरु गर्दा जिस्कन्थे युवतीहरु
त्यस्तोमा फगुनी चाहिँ सारै गम्भीर बन्दथी ।।

स्वभाव उसमा बेग्लै थियो कि भित्र सञ्चित
भएनन् उसका कोही साथी सँगाती निश्चित ।।

हुर्किएकी थिई बाला पिताको रेखदेखमा
एक्लै सन्तान थी अर्काे थिएन परिवारमा ।।

बालकै कालमा मातृस्नेहले थिई वञ्चित
एकान्तप्रियता उस्मा हुँदैगो अनि सञ्चित ।।

यही अन्तर्मुखी चाला लेलहामा पनी थियो
मानौ ईश्वरले उस्कै स्वभाव पुत्रीमा दियो ।।

भँगालै निर त्यो हुर्की भँगालै निर त्यो बढी
एकल्काँटे थिई त्यस्तो हुनुमा यो थियो कडी ।।

हुर्किनै नसके जस्तो लेलहाका घरै अघि
आँपको रुख थ्यो एक कोशी बग्थ्यो त्यहीं निर ।।

वसन्त ऋतुमा आँप फुल्नु पर्दछ सर्वदा
देखिन्थ्यो मञ्जरी त्यस्मा आठपाँच यदाकदा ।।

फुलिहाले पनि त्यस्मा चिचिलै आँप झर्दथ्यो
रुखमा आँपको दाना हुर्केको देखिंदैनथ्यो ।।

एउटै आँप पाकेन थियो कि रुख बैगुनी ?
फगुनीको बित्यो बाल्य काल त्यै रुखको मुनि ।।

खेतमा कामका बेला जान्थ्यो बाबु उतातिर
माटो खेली यता बस्थी फगुनी रुख मन्तिर ।।

यस्तैमा कहिले काहीं खोलाभित्र पसी पसी
पौडन्थी अथवा बेला काट्तथी घरमै बसी ।।

यिनै पात्रहरुबाट छाप त्यो उसमा पर्यो
एकान्त प्रेमको काम आँपैको रुखले गर्यो ।।

फगुनी त्यही नै हाम्रो घरमा काम गर्दथी
घरका काममा हाम्रो त्यही नै अघि सर्दथी ।।

बसेको छु यहाँ एक दिनको गर्न वर्णन
सम्झन्छु घटना भित्र बिर्सन्न किन हो किन ?

अपरान्ह थियो क्यारे घटना जब त्यो भयो
मानौ जिन्दगीमा मेरो बिजुली घोर चम्कियो ।।

भूमिका धेर बाँधेर झिजो लाउन्न व्यर्थ म
गर्न लौ अब थालें म कथाको मुख्य वाचन ।।

घटना पनि सानै हो ठुलो भन्न म सक्तिनँ
अब संक्षेपमा गर्छु व्यर्थै झन्झट गर्दिनँ ।।

धन्दापात सबै हाम्रो घरको काम गर्दथी
झाडुपोछा लगाएर घर सुघ्घर गर्दथी ।।

घरको काम गर्दैमा हुन्थ्यो केही ढिलो ढिलो
जहान अरुको भन्दा हाम्रो केही थियो ठुलो ।।

कोठा चोटा बढारेर झाडु पोछा लगाउनु
सफा सुघ्घर पारेर घरलाई सजाउनु ।।

यिनै थे उसका काम दिनचर्या थियो यही ।
झिनाझाक्रा यिनै काम गरी फल्गुनी हुर्किई ।।

स्वभावै यो हुने गर्छ संयुक्त परिवारमा
खैलाबैला र होहल्ला हुन्छ त्यो घरबारमा ।।

सबैले यो बुझे हुन्छ संयुक्त परिवारमा
तानातान र होहल्ला हुन्छ त्यो परिवारमा ।।

केटाकेटी जहाँ हुन्छन् त्यहाँ शान्ति कता हुनु
त्यहाँ हुन्छ कतै हल्ला कतै हाँसो कतै रुनु ।।

कसले के कुरा गथ्र्यो हम्मेसी बुझिदैनथ्यो
हाम्रो त्यो घरमा हल्ला कहिल्यै सिद्धिदैनथ्यो ।।

बाझाबाझ सधैं गर्थे यता नोकर चाकर
रडाको कहिले पथ्र्यो अर्काेतर्फ बरोबर ।।

केटाकेटी यता आमा सानिमा सबका सब
बाझाबाझ गरे जस्तै बसेर चुट्थे गफ ।।

यस्तैमा कहिलेकाहीं त्यो बेला पनि आउँथ्यो
कोकोहोलो हराएर शान्तिले वास पाउँथ्यो ।।

त्यस्तो बेला जसै आयो शान्त हुन्थ्यो त्यहाँ घर
लाग्दथ्यो अघिको हल्ला गर्ने मान्छे कहाँ छ र ??

दर्के पानी रहे जस्तै कोलाहाल रहेछ कि
भन्ने भान हुने गथ्र्यो हल्ला शान्त भएपछि ।।

ठुलो विष्मयका केही घटना हुनु पूर्वको
पूर्वसङ्केत झैं लाग्ने चकमन्न रहेछ त्यो ।।

आशङ्काहरु जन्मन्थे शून्य नीरवता बिच
सानो शब्दै पनि लाग्थ्यो ठुलो विस्फोटको रुप ।।

मुटु ढुक्क हुने गथ्र्याे केको हो शून्यता यहाँ
आशङ्का तब जन्मन्थ्यो मनभित्र कहाँ कहाँ ।।

यस्तो लाग्थ्यो यहाँ हाम्रो घरमा शून्यता भयो
तुलीगाँडाहरु जस्तो ऐले हुल कता गयो ?

किन यस्तो भयो हाम्रो घर यो चकमन्न छ
कान खाने कुरा गर्ने लावालस्कर शून्य छ ।।

सानो एक थियो गुन्द्री त्यसैमा पल्टिदै थिएँ
कोठामा पल्टिँदै गर्दा केही झोक्राउँदै थिएँ ।।

थामिएको थियो हल्ला यो बेला अघि जो थियो
थाहै पाइन त्यो हल्ला कसरी अब रोकियो ।।

कस्तो कस्तो भयो ऐले प्रगण्डै चकमन्न छ
घरमा जो थियो हल्ला त्यो हल्ला अब बन्द छ ।।

सधैं साथ लिई जान्थे किन छोडी गए हुनन् ?
कोशीका तटमा पौडी खेल्नलाई गए हुनन् ।।

पानीमा पौडी खेल्थें म बालुका माथि सुत्तथें
साथीले किन हो आज मलाई मात्र बिर्सिए ।।

कसरी छुट्टिएँ आज किन भित्र गएँछु म
साथीकै साथ खेल्दै थें कस्तो हुस्सु भएँछु म ।।

भुलेछन् अरुले भै गो मिठ्ठूले पनि बिर्सिई
उसैले सम्झनु पर्ने प्यारी मित्र त्यही थिई ।।

सँगै खेल्थी सँगै हिंड्थी असाध्यै प्रेम गर्दथी
म उस्का भरमा पर्थे उ मेरा भर पर्दथी ।।

भित्र एक्लै हुँदा मेरो मनमा डरको हुरी
पसी आतङ्क गर्दैछ कस्तो हुँ डरको पुरी ।।

बडो निस्तब्धता आज हुन गो घरमा यहाँ
घरै भित्र डराएर सुरक्षा पाउनु कहाँ ??

सान्नानीहरुले भन्थे त्यस्तो निस्तब्ध भो भने
भूत प्रेत र चाण्डाल त्यस्तैमा हिंड्दछन् अरे ।।

किचकन्नेहरु हुन्छन् आँखा पिर्लिक्क पल्टने
बिब्ल्याँटो टेक्तछन् खुट्टा छातीमा सिङ उम्रने ।।

तिनैले बोक्सीको कालो थुतुनो हुन्छ भन्दथे
बोक्सी त्यै मनमा आयो हाडखोड चबाउने ।।

काला बोक्सीहरु आई सद्दे मान्छे भगाउँछन्
तिनै बोक्सीहरु आई काला जादु जगाउँछन् ।।

भूतका प्रेतका यस्तै बोक्सीका र पिसाचका
कथा सुन्थ्यौं सधंै हामी दुःखका र विषादका ।।

मनमा सम्झना आए नानाभाँती कुराहरु
डरले छुल्छुली पा¥योे एक्लै आज कसो गरुँ ।।

घरको शून्यता भित्र देख्दैथे भूत दौडँदै
थिएँ म घरमा एक्लै कल्पनातिर पौंडिदै ।।

घरको शून्यताभित्र छायामा भूत पौडँदै
आएजस्तो भयो भान मेरै टुप्पी समाउँदै ।।

बनको बाघले आई खाला भन्नु कता कता
मनका बाघले खाई बौलाएँ अब लौ म ता ।।

यस्तै यस्तो थियो शून्य शून्यता तब भङ्ग भो
ढोका उघ्¥यो त्यसै बेला मेरो चित्त झसङ्ग भो ।।

तर्छिएझैं भएँ झट्ट डरले मन झस्कियो
यसै कारणले गर्दा मेरो यो छाती चस्कियो ।।

रहस्यमाथि झन् अर्काे रहस्य थपिंदै थियो
ढोका मेरो यसै बेला घ¥याक्क गरी उघ्रियो ।।

ढोकाको शब्दले पा¥यो विस्फोटै पो भएछ कि
आशङ्का यो पनि जन्म्यो भूकम्पै पो गएछ कि ??

आशङ्का मनमा बोक्ने मान्छे बन्दछ काँतर
नडर्ने दुनियाँभित्र यौटै मान्छे कहाँ छ र ?

जब त्यो फगुनी आई ढोका खोलेर भर्खर
मेरो यो मनको शङ्का तब लाग्यो निरर्थक ।।

सानो एक कुनै बाल्टी लिएर भित्र त्यो पसी
रयालेको थियो माटो गोबरै पानीमा मुछी ।।

मनमा जो थियो मैले पालेको अघि संशय
फगुनी आई जो भित्र भएँ तत्काल निर्भय ।।

“सानो बाबु म आएकी कोठो लिप्नु छ यो पनि
उठ लौ उठ लौ झट्ट” फगुनीले यसै भनी ।।

डर त्रास र सन्देह जो थियो मनमा सब
पानी फोका फुटेजस्तो बिलायो सबका सब ।।

असामान्य अवस्थामा म त्यहाँ भर्खरै थिएँ
म सामान्य अवस्थामा तत्कालै अब फर्किएँ ।।

पल्टिएकै थिएँ ऐले अटेरी अल्छी झैं बनी
“लौ चाँडो उठ हे बाबु” फल्गुनीले यसै भनी ।।

“लौ न लौ उठ लौ चाँडो पल्टेका कति धेर हो ?
धेरै काम रहेका छन् मलाई अब बेर भो ।।”

थिएँ आलश्यले लस्त पल्टिएकै अझै थिएँ
फगुनी बिन्ती गर्दै थी मैले दृष्टि त्यतै दिएँ ।।

अविच्छिन्न प¥यो दृष्टि मेरो फल्गुनीमा जब
“मलाई किन हेरेको ?” उसले यो भनी अब ।।

उसलाई भने मैले “लौ तिमी भित्र आइछौ
फगुनी, तिमीले आज नयाँ धोती लगाइछौ ।।”

धोती उस्ले लगाएको थियो त्यो चम्चमाउँदो
सेतो त्यो रङ्गको धोती थियो नैनकिलाटको ।।

“मलाई मन भो आज नयाँ धोती लगाउन
किन हो किन ? के जान्नु लाऊँ भन्ने भयो मन ।।

यसमा जो थियो माड धोएर निख्रिने गरी
खै केले धुन पाइन्न धोएकै छैन राम्ररी ।।

पिटेरै धुनु पो पथ्र्यो यस्लाई पिट्न पाइनँ
राम्रै छ हगि यो धोती मिलाएरै लगाइनँ !”

फगुनीले यसो भन्दा “राम्रो रैछ !” भनिदिएँ
सेतो धोती थियो उस्को राम्रो भित्रै गनिदिएँ ।।

मैले राम्रो छ मन्दैमा आत्मसन्तुष्टि देखियो
उस्का आँखाहरु भित्र सन्तुुष्टि अझ चम्कियो ।।

खैरा खैरा दुबै आखाँ उसका अझ चम्किए
गोरो वर्ण थियो उस्को खैरा आँखाहरु थिए ।।

काला आँखाहरु भन्दा खैरा आँखाहरुतिर
मनको भाव झल्कन्छ मेरै हो सोच आखिर ।।

कसैका नेत्रले मेरो आज ध्यान यसै खिच्यो
मेरो जीवनमा त्यस्तो यो मौका पहिलो थियो ।।

नयाँ सोच नयाँ छाँट कुत्कुती क्यै नयाँ नयाँ
उम्रिए मनमा मेरा भावना झन् नयाँ नयाँ ।।

खैरा आँखाहरु देखी मनमा हुन्छ सक्सक
जिज्ञासा हो कि हो मेरो आनन्द अनि कौतुक ?

यस्तै केके फुरे मेरो मनमा भावनाहरु
जैले आँखा जुधे हाम्रा भाव आए अरु अरु ।।

देख्दै आइरहेको थें उस्लाई दिनका दिन
केही भिन्नै थिई आज फगुनी किन हो किन ??

फगुनी आज बेग्लै छे कुरा गर्छे मिठोमिठो
मानौं चञ्चलता आयो यस भित्र छिटो छिटो ।।

हम्मेसी घुल्न सक्तैनन् मान्छेको यो समाजमा
ख्यालठट्टाहरुबाट अलग्गै रहनेहरु ।।

मलाई लाग्छ आश्चर्य फगुनी किन त्यो विधि
बडो वाचाल बन्दैछे यो कस्तो नवपद्धति ?

उस्को प्रवृत्तिमा आयो हठात् यो परिवर्तन
छिनैमा बन्दथी शान्त छिनैमा लाग्थी झर्कन ।।

“सानु बाबु यहाँ आज एक्लै बस्नु प¥यो किन
खेल्दथ्यौ साथीका साथ हिजो अस्ति दिनै दिन ।।”

सोध्दैथी फगुनी यस्तै साधारण कुराहरु
फेरि ठट्यौलीमा उस्ले थपी बेग्लै कुराहरु ।।

“ए सानो बाबु लौ छाडौं कुरा यी मसिना झिना
मन तिम्रो कहाँ लागोस् एक्ला छौ दुलही विना ।।”

विवाह दुलही प्रेम यस्ता शब्द सुनेपछि
लाज लाग्दै म खुम्चन्थे माया पिर्ति भने पछि ।।

माया प्रेम पति पत्नी शब्दको उच्च गम्भीर
थिएन अर्थको ज्ञान थिएँ बालक आखिर ।।

यस्ता शब्दहरु हुन्छन् बडो मार्मिक अर्थका
त्यो बेला सम्म के जान्नु होलान् शब्द यी व्यर्थका ।।

यिनको अर्थ गाम्भीर्य यद्यपि नबुझे पनि
जान्दथें गोप्य सम्बन्ध दिने शब्द यी हुन् भनी ।।

लाजको खोलमा हुन्छन् यस्ता शब्द सधैं भरि
थोरै अर्थ बुझेकैमा लाज लाग्थ्यो घरी घरी ।।

थियो त्यो संकटावस्था आफैंभित्र म अल्झिएँ
सारै संकोचमा पारी लाजले अझ खुुम्चिएँ ।।

यस्ता शब्दहरु हुन्थे लाजले परिवेष्टित
केटाकेटीहरुलाई शब्द हुन् यी विवर्जित ।।

लाजबाट निकै माथि पुगेर मर्म मर्ममा
बूढापाकाहरु खेल्छन् यस्ता शब्द र अर्थमा ।।

बालबालाहरुलाई शब्द हुन् यी विवर्जित
युवावस्था जसै पुग्छन् गर्छन् शब्दार्थ अर्जित ।।

केटाकेटीहरुलाई मायामा छेकबार छ
वृद्धवृद्धाहरुलाई मायामा अधिकार छ ।।

मायाका प्रेमका यस्तै लोग्नेका स्वास्नीका कथा
सुन्दैमा सक्सकी लाग्थ्यो मेरा भित्र कता कता ।।

ताता ताता भए कान लाजले केही खुम्चिएँ
‘धत् !!’ मात्रै मुखमा आयो आफैं भित्र म गुम्सिएँ ।।

मेरो त्यो सङ्कटावस्था बुझेरै नबुझे सरी
फल्गुनी हाँस्नु पो लागी खित्कै छोडी घरी घरी ।।

आँसु काढेर हास्तै थी हाँसो थ्यो तिब्रतातिर
मेरा कान हुँदै जान्थे राता राता यतातिर ।।

लाजका भारले भित्री मेरो आँट थिचे पनि
धौ फुुकाएर हास्तै थी फगुनी त्यो अझै पनि ।।

मेरो पौरुषको गर्व भित्रभित्रै लुते भयो
सधैं ता दर्बिलो हुन्थ्यो आज खै त्यो कता गयो ??

मेरो पौरुषतालाई ब्यूँझाएर कडा गरें
त्यसैको आड लागेर सोध्ने साहस यो गरें—

“फगुनी दुलहा तिम्रो खै कता छ ?” भनेपछि
रोकियो उसको हाँसो साहसी म बनेपछि ।।

भर्खरै जसरी हाँस्थी त्यो हाँसो अब रोकियो
उसको मुहुडाभित्र बेग्लै आकृति देखियो ।।

फगुनी लाज छाडेर बडो बेसर्मी झैं बनी
सोझै आँखा जुधाएर “दुलाहा तिमी हौ !” भनी ।।

उसका यी कुरा सुन्दा लाजले पानी झैं बने
अरु केही नबोलेर त्यो बेला मात्र “धत् !” भनें ।।

उसको नेत्रको रंग तुरुन्तै किन हो किन
फेरिएछ भने जस्तो लाग्यो धेर म जान्दिनँ ।।

रंग कालो भयो उस्को आँखाको त्यही नै घडी
खैरा आँखा भए काला हुनुमा के थियो कडी ?

परिवर्तनको छाप तुरुन्तै स्पष्ट देखियो
के भयो के भयो कालो उसमा रंग पोखियो ।।

कुनै उत्कट सम्वेग उसभित्र पसेछ कि
तत्कालै काम्न पो थाली सर्पैले पो डसेछ कि ?

फगूनी यता थर्थरी काम्न थाली
तुरुन्तातुरुन्तै भई औधी काली
ठुलो बेगको वायु चल्दैछ यस्तो
ठुलो आँधीले वृक्ष ढल्दैछ जस्तो ।।

कताबाट आयो कताबाट आयो
अघिको सबै रंग बेग्लै गरायो
कसैबाट यो शास्त्र पढ्नै सकिन्न
स्थिति यो कतैबाट बुझ्नै सकिन्न ।।

अघी जो थियो छैन त्यो रंगढंग
कताबाट उस्मा चढ्यो रुपरंग
डराएर केही भएँछु झसंग
कुरा बुझ्न मेरो गयो अन्तरंग ।।

धत् तेरी के कुरा यस्ता छाड है यी कुराहरु
छाडौं यस्ता कुरालाई अरु बेग्लै कुरा गरुँ ।।

देख्न ता छैन देखेको नदेखेकै भए पनि
फगुनी बेहुलो तिम्रो कहाँ छ भन्न सक्तछु ।।

बेर्थैमा बेहुलो तिम्रो मलाई किन ठान्दछ्यौ
छँदैछ बेहुलो तिम्रै मलाई किन मान्दछ्यौ ।।

मेरा यस्ता कुरा सुन्दा औंलाले भुमि कोतरी
केही सम्हालिए जस्ती भए झैं यो कुरा गरी ।।

बिहे हाम्रो भएकै हो यो कुरा किन ढाँट्तथें
तिम्रा साँचा कुरालाई त्यत्तिकै किन काट्थें ?

बिहेको विधिमा हाम्रो दुबैले चुम्नुपर्दछ
चुम्माचुम्मी भएकै हो गौनाको काम बाँकी छ ।।

“के हो त्यो शब्दको अर्थ ?” राम्ररी नबुझेपछि
सोधें मैले त्यसै बेला फेरि उस्ले यसो भनी ।।

“कस्तो चुम्बनको अर्थ अब ता तिमीले पनि
बुझ्नु पर्ने भयो बेला नबुझेको अझै पनि ।।

दुबैका ओठले ओठ चुस्नु हो बुझ चुम्बन
चार ओठहरु मिल्छन् मानौं हो प्रेम सङ्गम ।।

कोही बेग्लै कुरा भन्लान् प्रेममा यो विधान छ
हाम्रो दाम्पत्यका लागि बुझ यो प्रावधान छ ।।

एकाकार दुबै हुन्छन् दुबैका ओठ मिल्दछन्
चिनाजानी यसैबाट गरेर अघि बढ्दछन् ।।

यस्तो चुम्बनको मूल्य साना बालक के बुझून्
प्रेम ईश्वर हो भन्ने नजानी कसरी पुजून् ।।

माया प्रेम भने जस्तै होला चुम्बन यो पनि
केटाकेटीहरु बुुझ्छन् गोप्य सम्बन्ध हो भनी ।।”

फल्गुनी भन्न यो थाली अझै स्पष्ट हुने गरी
“बालकै कालमा गर्छन् हाम्रो चुम्बनको विधि ।।

दुबैका कान्छी औंंलाको खुन काटी निकाल्दछन्
जहाँ बाँधिन्छ यो जोडी तिनको खुन साट्छन् ।।

काटेर दुईका औंला दुवै खून मिलाउँछन्
बेहुला बेहुली भन्दै नातासम्बन्ध लाउँछन् ।।

औंलाबाट जसै बग्छ बगेको त्यो सबै खुन
जोड्नु नै योग्यता हुन्छ बेहुला बेहुली हुन ।।

बालकै कालमा हुन्छ बिहेको विधि यो सब
पुनः गौना गरी लान्छन् बन्दछन् ती युवा जब ।।”

गौना चुमौनका बार्ता खुन साट्ने कुृरा धरी
फल्गुनीले यहाँ यस्ता निकै लामा कुरा गरी ।।

फल्गुनी केही बोल्दैथी म ता अन्योलमा परें
पल्टिएरै त्यहाँ मैले अर्काे प्रश्न नयाँ गरें ।।

“तिमीलाई सधंै हाम्रो घरैमा देख्छु दिन्दिन
बेहुलो किन आएन तिमीलाई अझै लिन ?”

तत्कालै उग्रता उस्मा देखियो अनि कम्पन
केही खोजिरहे जस्तो देखिन्थ्यो उसको मन ।।

भनी “लिप्नु छ यो कोठा लौ चाँगै उठ लौ उठ”
मनमा भाव बेग्लै छ बोल्दैछे यो कुनै झुट ।।

“अघि नै भनिहालें नि, मेरै हौ दुलहा तिमी”
यति भन्दा नभन्दै त्यो फगुनी मूर्तिवत् बनी ।।

फल्गुको कुरा सुन्दा परेें दोधारमा म ता
बिलायो उसको हाँसो उसैभित्र कता कता ।।

ढिलो धेरै भए जस्तो गर्दथी शब्दशब्दमा
तथापि उसको चेष्टा थिएन केही कर्ममा ।।

ममाथि उसको दृष्टि थियो यस्तो विचित्रको
निलो कालो भएँ क्यारे उम्लियो डर भित्रको ।।

ठट्टाको जो थियो भाव खै त्यो भाव कता गयो ?
फल्गुनी अब बेग्लै छे भिन्नता अब देखियो ।।

मलाई दुलहा भन्दै जिस्कने फल्गुनी अब
कालो बादलको छाया जस्ती लाग्दथी वास्तव ।।

मानौं आमोदको सट्टा आयो बेग्लै कठोरता
क्षणैमा भान भो त्यस्तो के थियो त्यो विचित्रता ?

कोशीमा हुँडलो पारी बाढी त्यो जब आउँछ
मानौं फल्गुनीमा त्यस्तै बाढी यो गड्गडाउँछ ।।

भेल बाढी र संवेग फल्गुनीमा चढेछ कि ?
कोशीमा बाढी आएझैं अनायासै बढेछ कि ??

आशंका उग्र फैलन्थ्यो कोशीको गाउँगाउँमा
बडो सन्त्रास फैलन्थ्यो बाढीले ठाउँठाउँमा ।।

कोशीका बाढीको ताप मानौ आज यता स¥यो
आशङ्का किन हो त्यस्तो तत्कालै मनमा प¥यो ।।

हेर्दा हेर्दै यता उस्को नेत्रमा कालिमा बढ्यो
तत्कालै देहका उस्को शुष्क काठिन्यता चढ्यो ।।

अनायासै बढ्यो उस्को वाणीमा शुष्कता पनि
धोद्रो धोद्रो भयो बोली त्यसैमा यो कुरा भनी ।।

“अरु कोही यहाँ छैनन् होलान् कि घरबाहिर ?
तुृरुन्तै हेरी फर्कन्छु तिमी सुस्ताउँदै गर ।।”

क्षणैमा घर हेरेर कोठामा भई हाजिर
यो बुझी फल्गुनी आई सुनसान थियो घर ।।

सिरबाट झ¥यो त्यस्को साडीको लामु आँचल
कसी कम्मरमा बाँधी बडो जोड गरी बल ।।

थियो जर्खरिलो केश काँधमा त्यो पनि खस्यो
व्यग्रता उसमा बेग्लै मानौं भित्र गई बस्यो ।।

कोरीबाटी नगर्नाले फैलन्थ्यो केश यस्तरी
फैलाई केश नाच्तैछ कुनै झाँक्री भने सरी ।।

बडो त्रास लाग्दो भयो रुपरङ्ग
कताबाट आयो नयाँ यो तरङ्ग
फिलुङ्गो निभेझैं भए नेत्र उस्का
मुटू भित्र मेरो पस्यो एक झस्का ।।
अनूहारमा जो थियो गौरवर्ण
हरायो र आयो नयाँ कृष्ण वर्ण
भई भूत जस्ती भई प्रेत जस्ती
निभ्यो फल्गुनीको सबै श्वेत वर्ण ।।

कोठामा शीघ्र त्यो फर्की बुझेर घरको स्थिति
मानौं सन्तुष्ट त्यो लाग्थी त्यहाँ केही रहेनछ ।।

तल झर्दा थियो उस्को जिउमा एक आकृति
फर्किएर जसै आई बेग्लै भो त्यही आकृति ।।

सेतो वर्ण थियो उस्को पहिले अनुहार त्यो
फर्किर जसै आई बैजनी रङ्ग देखियो ।।

भासिएका दुबै आँखा देखिए किन हो किन
कताबाट छि¥यो यस्तो रहस्य केही जान्दिनँ ।।

फुले जस्तो थियो श्वास श्वासमा तीब्रता थियो
फुलेकै श्वासमा अर्काे असामान्य स्थिति भयो ।।

मैलो धैलो थियो चोली घरको कामकाजले
तेलका डाम देखिन्थे धुलो मैलो अझै थियो ।।

तथापि उसको साडी सेतो स्वच्छ सफा थियो
त्यही एक थियो साडी जस्ले सौन्दर्य थप्तथ्यो ।।

काम केही थियो गर्ने भने झैं भई तत्पर
धोतीको त्यही फुर्काेले कसेर बाँधी कम्मर ।।

तत्कालै किन हो मैले स्थितिमा परिवर्तन
भएजस्तो यता देखें उता त्यो लागी गर्जन ।।

फल्गुनीमा नयाँ रुप फेरिएझैं भयो अब
भर्खरै जो थियो रुप फेरियो सबका सब ।।

छातीमा रौद्रता आयो लाग्थ्यो यस्तो भयानक
फल्गुनीभित्र के त्यस्तो पस्यो उग्र भयावह ।।

हरिणीहरुका यस्ता तिखा हुन्छन् दुबै सिङ
त्यसैका सिङ जस्ता हुन् मानौ फल्गुनीका स्तन ।।

उसका छातीमा यौटा असाधारण विकृति
देखियो के भयो त्यस्तो कृति हो या त विकृति ।।

मलाई लाग्न यो थाल्यो सिंगौरी अब हान्दछन्
जस्मा सौन्दर्य झल्कन्छ दश धारा समाल्दछन् ।।

छातीमा रौद्रता ज्यादै उक्सिएर बढेपछि
मलाई डर झन् लाग्यो स्तन तिखा भएपछि ।।

धरै बन्दी भयौं भन्दै चोलीको जेल तोड्दछन्
गुम्सिएर कति बस्ने भनेर ठाउँ छोेड्दछन् ।।

पुरानो चोलीको जेल भित्र गुम्सनु हो कति
भन्दै विद्रोहमा ओर्ले स्तनको फेरियो मति ।।

हाल्नु हो कति यो लामो स्तन कैरन यो सब
चोलै छेडेर निस्केलान् भन्ने भान प¥यो अब ।।

यसैले अब छाडेर यिनको गर्न वर्णन
फेरि लागें म बिस्तारै नछाडी अघिको क्रम ।।

कोशीको बालुवा माथि चेलेको भुमरी सरी
फल्गुनी हुर्रिंदै आई मेरा सामु त्यसै गरी ।।

उसमा जो थियो कम्प त्यो अझै बेगमा थियो
मानौ भोको कुनै जन्तु लम्केर खान माग्दथ्यो ।।

“दुलाहा तिमी हौ मेरा म तिम्री दुलही अब”
एक्कासी वाक्य यो भन्दै फल्गुनी आई मैनिर ।।

हावाको भुमरी जस्तै तातो निःश्वास फाल्दछे
मानौं भोको छ यो सिंह मलाई खान थाल्दछे ।।

डरले लग्लगाएँछु मुटु जो तिब्र धड्कियो
उगेल्नु हो कि हो निल्नु घाँटीमै हाड अड्कियो ।।
डर लागेर चिच्याएँ भाग्न थाले यता उता
अन्त भाग्नु कहाँ ? आफ्नै कोठै भित्र कता कता ।।

कस्तो कारणले भित्र ममा यो त्रास जन्मियो
बुद्धिले पुष्टि के हुन्थ्यो तर्कैले पुष्टि हुन्नथ्यो ।।

मेरो अस्तित्वका लागि थियो संकटको घडी
फल्गुनी झम्टनै लागी के थियो झम्टने कडी ?

मान्छे धेरै गरें भन्छ उन्नति व्यर्थ हो सब
प्रकृति सामुृ यै मान्छे निरिह असहाय छ ।।

प्रकृतिका अघि मान्छे अझै लाग्दछ बालक
संसारै हाँक्छु यो भन्छ अर्कै छ तर चालक ।।

प्रकृतिको कुनै सोझो रुप बुझ्दैन मानव
प्रकृतिको कुनै नग्न रुप के बुझ्छ मानव ?

फल्गुनी फल्गुनी भन्दा बेग्लै लाग्दै थी त्यो दिन
लाग्दथी कहिले काम्न कैले लाग्थी मडारिन ।।

उर्लन्थे फल्गुनी भित्र नाना भाव घरी घरी
भँगाको कोशीको मानौं उर्लिंदैछ भने सरी ।।

मुटु हल्लाउने यस्तो फल्गुनी भित्र मेघ छ
कोशीको बाढीमा जस्तै प्रलयङ्कारी वेग छ ।।

मुखै बाएर आयो कि हाहाकार मचाउँछ
कोशी हो कालकै रुप गाउँ बस्ती पचाउँछ ।।

कोशीमा बाढी उर्लन्छ प्रलयङ्कारी हुन्छ त्यो
हामी मानवका लागि उग्र उन्मत्त बन्छ त्यो ।।

जटा जिरिङ्ग फैलिए बीभत्स रुप देखियो
समग्र त्यो शरीर नै विकारबाट छोपियो
भई विरुप फल्गुनी कठोर भाव उम्रिए
जटाहरु हवासँग फरर्र फर्र फैलिए ।।

तुफानले उडाउँदै लग्यो कता बडारिएँ
डराउँदा डराउँदै यता उता मडारिएँ
यतै उतै घुमाउँदै प¥याक्क पारी भाँच्तछे
प्रचण्ड श्वेत भैरवी भएर आज नाच्तछे ।।

कोशीमा बाढीको रुप जस्तो हुन्छ भयावह
फल्गुनी पनि यो बेला त्यस्तै लाग्थी भयानक ।।

फल्गुनी त्यो अझै लाग्थी सारै उग्र भयङ्कर
हाहाकार मचाएर खेल्छे कि रौद्र ताण्डव ?
हावामा फैलियो केश बेग्लै भो उसको छवि
श्वेत आतङ्कका लागि बन्दैछे श्वेत भैरवी ।।

निभेको अग्नि झैं नेत्र तत्कालै अब देखिए
मानौं ताण्डवका लागि उस्का पाउ खडा भए ।।

स्तनमा हुनु पर्ने जो कमनीय कता गयो
श्वेतभैरवीको वक्ष सिङ जस्तै खडा भयो ।।

बाफिलो श्वास फेर्दै थी मुख उस्को थियो खुला
श्वेतभैरवी नै लाग्थी फल्गुनी यो खुलम्खुला ।।

मेरो भाग्ने भयो इच्छा इच्छा के पुग्न सक्तथ्यो
श्वेतभैरवीका सामु मेरो के चल्न सक्तथ्यो ?

सबै मार्ग भए बन्द अब मात्रै थियो रुनु
बालकै म थिएँ भाग्ने ममा सामथ्र्य के हुनु ?

ममाथि पानीको खेदो यो बेला सम्म जारी छ
श्वेतभैरवीले मानौं आहारा हात पारिछ ।।

भीमकाय कुनै जन्तुको मुखेन्जी परें कि म
खुस्किएर दुबै खुट्टा भीरैबाट झरें कि म ?

मानौं यौवनले मत्त भएकी श्वेतभैरवी
कोतर्दैछे भने जस्तो देखिन्थ्यो उसको छवि ।।

फल्गुनी भित्रको भोको तातो उन्मत्त यौवन
भोकैले छट्पटाएर प¥यो कि आतुरी हुन ।।

मलाई निल्नकै लागि बाउँदैछ ठुलो मुख
श्वेत भैरवीले मेरो थर्काइ मनमा दुःख ।।

कोशीको बाढीले जस्तै बढारेर कता लग्यो
आधा होस थियो मेरो आधा होस कता गयो ?

माटो गोबर मुछ्नाले कुहिनासम्म हातमा
त्यस्कै लेघ्राहरु उस्का देखिन्थे अनुहारमा ।।

मुहुडा उसको यस्तो कसैले यदि देख्तथ्यो
ठाडो पुच्छर लाएर डराई भाग्न सक्तथ्यो ।।

हातमा खड्क बोकेको कालीकै रुप देखियो
भर्खरै जो थियो रुप केले त्यो रुप छोपियो ।।

त्यसको मुहुडा देखी भागें भित्र यता उता
कोठो एकै थियो भित्र त्यहाँ भाग्नु कता कता ?

मलाई झम्टिने गर्थी फल्गुनीले घरी घरी
बिरालोले मुसोलाई भेटेर झम्टिए सरी ।।

भित्र बोकेर आएकी थिई पोतेरी बाल्टीको
भरिएको थियो बाल्टी माटो गोबर पानीले ।।

घोप्टिएछ त्यही बाल्टी भाग्दा ध्यानै गएनछ
दौडँदा दौडँदै उस्को थाहा सुद्धी भएनछ ।।

बाल्टीको बिटमा यौटा काँटी छोटो तिखो थियो
दौडँदा दौडँदै उस्को त्यसैमा पाउ ठोक्कियो ।।

बाल्टीको बिटले खुट्टा घोचियो घोचिए पनि
मलाई झम्टदै गर्दा उस्ले ख्यालै गरिनछे ।।

देखिए खुनका थोप्ला कोठाभित्र जताततै
पानी गोबरका साथ मिसिएका कतै कतै ।।

ढलेको बाल्टीमा खुट्टोे फल्गुनीको यता प¥यो
भाग्दैमा काटियो खुट्टो ताजा खून त्यता झ¥यो ।।

च्यातियो उसको साडी बाल्टीको काँटीमा परी
थाहा सुद्धी नपाएरै फल्गुनीले यसो गरी ।।

कोठाभित्रै म भाग्दैथें जोगिने सुरमा अझै
व्यर्थै यत्न थियो मेरो झन्टन्थी त्यो कतै कतै ।।

जगदीश्वको मैले तत्कालै सम्झना गरें
बचाउ गर हे दैव असपत्तालमै परें ।।

पुकारे फेरि यो मैले जगदीश्वरका सँग
छुट्कारा पाऊँ हे नाथ श्वेतभैरवीका सँग ।।

भट्टीको राप झैं त्यस्को तातो उच्छ्वास पोखियो
श्वेतभैरवीको झन् झन् उन्मत्ताकृति देखियो ।।

त्यसका रापले मानौं संसारै यो डढाउँछ
मजस्ता भुसुनालाई काँचै यस्ले पचाउँछ ।।

उसका सिङले हान्ने जस्तो लक्षण देख्तछु
बचाउ गर हे नाथ पुकारा यही पोख्तछु ।।

भूतका प्रेतका यस्तै सातो खाने कुराहरु
सम्झना मनमा आए धेरै दन्त्य कथाहरु ।।

श्मसानवासीका त्यस्तै किचकन्ने र वायुका
सातै उड्ने कथा सुन्थ्यौं डरलाग्दा भयानक ।।

भयभीत भएँ ऐले तिनैको सम्झना भयो
कल्पना लोकमा मानौं महाभूकम्प नै गयो ।।

देखिएन त्यहाँ बाँच्ने उपाय सब बन्द छन्
हाम फालेर भागौं कि मनमा केही द्वन्द्व छन् ।।

तत्कालै यो भयो भान श्वेतभैरवी नर्क हो
हाम फाल्नु यहाँबाट बाँच्ने अन्तिमा मार्ग हो ।।

देखिएन त्यहाँ अर्काे बाँच्ने बाटो कतै पनि
बार्दलीबाट हाम्फालें मरिए मरियोस् भनी ।।

सम्झँदा सम्झँदै कस्तो नर्कै भित्र फसें छु म
बाँसका एक थुप्रामा माथिबाट खसेंछु म ।।

करेसामा थुपारेका थिए ती बाँसका घना
हामफाल्दा तिनैमाथि झरेंछु सम्झनै बिना ।।

कोठाभित्र थियो भुङ्ग्रो भाग्दाभाग्दै यता झरें
मर्दा मर्दे यता फेरि अर्कैै सङ्कटमा परें ।।

भन्दैथें मरियो होला बाँचिएछ अझै पनि
हाम्फाल्दा बाँसको छड्के जाकिएछ घुँडामुनि ।।

गहिरो चोट लागेछ निस्कियो खुनको भल
कता छे फल्गुनी भन्ने भएन केही अड्कल ।।

अकस्मातै उठेको थ्यो फल्गुनीभित्र हुन्डरी
उर्लियो जसरी उस्मा भयो शान्त त्यसै गरी ।।

उर्लिएको थियो मानौं कोशी भित्र तुफान यो
सङ्ग्रालो भित्रको रन्को एक्कासी अब थामियो ।।

गड्गडाएर आएको भेल यो अघि जो थियो
बाढीको धमिलो पानी घटेर अब सङ्लियो ।।

बर्खामा प्रलयङ्कारी कोशीको जो थियो रुप
एक्कासी हुन गो उस्तै पहिले जे थियो रुप ।।

व्यवहारै भयो भिन्न फल्गुनीको उसै घरी
पुरानै गतिमा मानौ कोशी बग्छ भने सरी ।।

कोशी यो गड्गडाएको घटेर सङ्लियो सब
फल्गुनीभित्रको ताप त्यै पनी सङ्लियो अब ।।

डरैले अझ काम्दैथें चित्त शान्तै भएनछ
श्वेतभैरवीका लागि तर वास्तै रहेनछ ।।

कुनै उद्विग्नको भाव थिएन अनुहारमा
छर्लङ्गै देखियो उस्को स्मित हास्य मुहारमा ।।

सातो उड्ने थियो कालो उसको वर्ण भर्खर
अनुद्विग्न तथा शान्त बन्न गर्र्दैछ तर्खर ।।

केही नै नभए जस्तो मुद्रामा त्यो त्यहाँ थिई
फल्गुनी मनिरै आई आएर ढिङ्ग उभ्भिई ।।

प्रलयङ्कारी झैं लाग्ने श्वेतभैरवी छैन यो
जस्तो ढाँचा थियो पैले त्यै ढाँचा अब झल्कियो ।।

“धेरै नै चोट लाग्यो कि ! सानो बाबु ?” घुँडामुनि
हेरेर साँखुले बन्दै फल्गुनीले यसै भनी ।।

देखियो पहिले जस्तै फल्गुनीको मुखाकृति
पूर्ववत् फर्किए उस्का आनीबानी भए जति ।।

पुरानो रङ्गमा उस्को अब सर्वाङ्ग फर्कियो
श्वेतभैरवीको ढाँचो अन्यत्रैतिर तर्कियो ।।

वेगसम्वेगको राप हटेर अब शान्त छ
सिङ जस्तो थियो छाती कमनीय र कान्त छ ।।

नारीको वक्षमा हुन्छ प्रीतिको लाख वैभव
घिनलाग्दो थियो पैले लोभलाग्दो भयो अब ।।

सेता आँचलको पर्दा लागेको देख्छु वक्षमा
पुष्ट तारुण्यको शोभा देखियो अब ता त्यहाँ ।।

प्रेमाकर्षणको केन्द्र तिनैमा हुन्छ आखिर
नहेरुँ मनले भन्छ आँखा पुग्छन् त्यतैतिर ।।

उसका हात गोडामा हिलो मैलो अझै थियो
गृहिणी नारीको मूल्य हुने लक्षण त्यो थियो ।।

श्वेत भैरवीको झल्को हटेर फल्गुनी भयो
पहिले जस्ती देखिन्थी त्यस्तै लक्षण देखियो ।।

लेलहा माझीकी यौटै दुहिता यही मात्र छ
चुमौन भैसक्यो यस्को द्विरागमन बाँकी छ ।।

द्विरागमनका लागि प्रतीक्षा छ निरन्तर
मनमा हुुँडलो बोक्छे देखिन्छे स्वच्छ बाहिर ।।

भित्रबाहिरको हाम्रो घरको काम गर्दछे
नोकर्नी भन्नु मात्रै हो हाम्रैमा मख्ख पर्दछे ।।

कहाँबाट कहाँबाट उसमा आँधी सल्कियो
सल्किएको थियो आँधी त्यो आँधी अब ढल्कियो ।।

मेटाऊँ मनले भन्छु मेट्न देख्तिन सम्भव
मनमा टाँसियो यस्तो लाग्छ मेट्नु असम्भव ।।

मनमा बल्झने गर्छन् अझै फल्गुनीका कुरा
बिर्सिएर बसूँ भन्छु कहाँ बिर्सनु त्यो कुरा ?

गोपनीय रह्यो हाम्रो नयाँ सम्बन्ध गाँसियो
नयाँ ज्ञान उदाएको नयाँ सम्बन्ध बाँधियो ।।

बडो आतङ्किलो आँधी आएर अब रोकियो
उम्लियो फल्गुनी भित्र ममा आएर पोखियो ।।

थाहै पाएन तेस्रोले किस्सा त्यो अब सुल्झियो
अझै सम्झन्छु छर्लङ्ग थियो सारै विचित्र त्यो ।।

घरैमा आउँदा आँधी घर बाहिर थे सबै
सुराकै सम्म पाएनन् भोक्ता हामी थियौं दुबै ।।

अपरान्ह थियो होला घट्यो त्यो घटना जब
त्यसका दोषी थ्यौं हामी निर्दोषी भन्न मिल्छ र ?

बाँधियो एक सम्बन्ध मनै भित्र कताकता
केही सक्सक लागेझैं हुन लाग्यो मलाई ता ।।

घटना जे थियो त्यस्तो के आश्चर्य थिएन र ?
यस्तै भिन्नै दियो ज्ञान ज्ञान भिन्नै थिएन र ??

भित्र आफैं फु¥यो ज्ञान त्रासका भित्र यो सब
भन्नुहुन्न कसैलाई नयाँ हाम्रो अनूभव ।।

शङ्काले मनमा छायो म आफैंसित रुन्छु कि
कसैले चाल पाएमा लाजले पानी हुन्छु कि ?

कस्तो कारणले लाज लाग्ला भन्ने विवेचना
गर्ने सामथ्र्य त्यो बेला हामी भित्र कता हुनु ?

किन लाग्दछ यो लाज के होला स्पष्ट कारण
जान्न पाए पनी हुन्थ्यो कस्ले गर्ला निवारण ?

कसैले चाल पाएछन् भने सर्म हुने भयो
के भयो घटना त्यस्तो सर्म लाग्दो कुरा छ यो ।।

कसैलाई नहोस् ज्ञान यहाँ जो घटना घट्यो
बडो आवेगको आँधी सर्लक्कै अब ता हट्यो ।।

द्विविधा मनको राखी भनें यो धर्मराउँदै
“ठिकै छु म यहाँ हेर फल्गुनी तिमी जाऊ है !”

आफूमा जे उठ्यो रन्को फल्गुनी धेर बुझ्दी हो
बालकै म थिएँ मेरा लागि त्यो भुमरी भयो ।।

के के कारणले होला लाज सर्म पलाउँछ
मलाई छैन यो ज्ञान फल्गुनीलाई आउँछ ।।

फल्गुनीले नियालेर मलाई हेरी सुस्तरी
कोठो लिप्ने बहानामा अनि त्यो माथि उक्लिई ।।

धेरै बेर बरन्डामा बसें एक्लै पिरोलिँदै
नाना भावहरु आए मनमा भित्र हुत्तिंदै ।।

केही काल पछि हाम्रो घरमा सब फर्किए
मलाई त्यो अवस्थामा देखेर सब तर्सिए ।।

के भयो के भयो भन्दै घरमा हल्ली खल्ली भो
ठुलै दुर्घटना मानी औडाहा पिर मच्चियो ।।

लाजै लाग्ने कुरा ठानी भनिएन कतै पनि
रडाको झगडा बेर्थै घरभित्र नहोस् भनी ।।

मेरो घाउ फखालेर दबाइ पट्टी बाँधियो
घुँडामुन्तिर त्यो घाउ निकै नै गहिरो थियो ।

यता फल्गुनीमा भूत चढेको जे कुरा थियो
थाहा पत्तै नपाएर साम्मसुम्म सबै भयो ।।

सानो घाउ भए देखि चाँडै ओभाउने थियो
ठुलै घाउ भएकाले खाटो बस्नै ढिलो भयो ।।

के भयो के भयो भन्ने जिज्ञासा जो त्यहाँ थियो
बारपन्ध्र दिनै भित्र आफैं सेलाउँदै गयो ।।

बिर्सिंएँ घाउको पीडा घरैभित्र बसी बसी
पुरियो घाउ यो मेरो केही काल बिते पछि ।।

भँगोलो पारीको काम थियो जाने कुनै दिन
भँगालोबाट तर्दैथें लेलहाको घरै निर ।।

घुँडासम्म थियो पानी बडो स्वच्छ र निर्मल
मानौं अमृत झैं लाग्थ्यो त्यहाँ त्यो कोशीको जल ।।

तर्थें धोती लगाएरै भिज्ला कि धोती त्यो भनी
भिज्ला कि धोती त्यो भन्दै सुर्किएर घुँडामुनि ।।

त्यो बेला रहिछे आफ्नै घरका अघि फल्गुनी
जो थियो आँपको बुथ्रो त्यो आँपैका रुखै मनि ।।

भरिए तापनि घाउ त्यस्मा खाटो अझै थियो
चोरले दसी छाडेझैं त्यो अझै टल्कँदै थियो ।।

टाढैबाट नियालेर मैलाई नै यता उता
नियाल्दै रहिछे जस्तो लाग्यो भित्र कता कता ।।

मनमा दुविधा बोकी पुगें बुथ्रे रुखैनिर
तरेर नदीको धार फल्गुनीका अघिल्तिर ।।

उसको जो थियो जात्रा सम्झँदै छु अझै पनि
यता म सम्झँदै गर्दा उता उस्ले यसो भनी—

“के हो चुमौनको अर्थ बुझ्यौ कि तिमीले अब ?
दुबैका खुनको मेल गर्नु नै त चुमौन हो ।।

संयोगैले त्यहाँ हाम्रो मिसिएको थियो खुन
बार्दलीबाट हाम्फाल्यौ बाँस माथि कुनै दिन ।।”

उसका भाव थे बेग्लै हेर्दा हेर्दै सबै गनें
गन्दागन्दै यता मैले केही बेग्लै कुरा भनें—

“चुमौन पहिले हुन्छ बडो गाँठी कुरा छ है
गौनाका लागि ता धेरै दिन पर्खिनु पर्छ है !”

ममा गम्भीरता आयो अनि आयो उता पनि
बडो गम्भीर मुद्रामा उस्ले अर्काे कुरा भनी—

“हाम्रो संस्काका लागि चुमौन मुख्य हो कुरा
बिना चुमौनले हुन्न हाम्रो सादी बिहा पुरा ।।

तर जेहोस् तिमी हेर मेरो यो मन्त्र सम्झनू
मैले डाम लगाएर छाँडे भन्ने नबिर्सनू ।।

देख्तैमा तिमी तर्कछौ अबदेखि नतर्कनू
फल्गुनीलाई देखेर अर्कातर्फ नफर्कनू ।।

घुँडामुन्तिरको दाग देखेर सम्झने गर
त्यो आफ्नो दाग बोकेर हिंड्नेछौ जिन्दगी भर ।।

तिम्रो मात्र कहाँ हो र मेरै जिन्दगीमा पनि
त्यो पापी क्षणको दाग लागेको छ अझै पनि ।।”

उसका यी कुरा सुन्दा मेरो भित्र चिसो पस्यो
मानौं यो उसको दाग जिन्दगी भर नै बस्यो ।।

बुझिन्थ्यो उसको चित्त अझै शान्त रहेनछ
नभन्दै उसको घाउ अझै स्वस्थ भएनछ ।।

केके भन्दै थिई हाम्रो फगुनी यो त्यहाँ निर
यथातथ्य कुरा सुन्ने थिएन मन सुस्थिर ।।

यसैले म त्यहाँबाट बिदा मागी कतैतिर
लागेको सम्म सम्झन्छु बाँकी सम्झन सक्तिनँ ।।

अब ता फल्गुनीलाई सम्झ्यो कि मन् बिझाउँछ
धेरै वर्ष बिते उस्को झझल्को मात्र आउँछ ।।

अन्तराल भयो लामो तिस पैंतिस वर्षको
कथाको रुपमा हेर्दा लाग्छ त्यो रोमहर्षको ।।

कोशीमा बाढी उर्लेझैं उर्लन्छन् सम्झनाहरु
फगुनीको कथालाई कसरी हो पूरा गरुँ ?

नगई पतिका साथ माइतैतिर पो छ कि
अथवा सम्झना मेरो उसलाई हुँदैछ कि ?

कहाँ होली कता होली जीवितै छ कि फल्गुनी
बाँचेकै भनेदेखि बस्ती हो त्यो रुखैमुनि ।।

गौना कैले भयो होला गौनामा के कसो भयो ?
उसका पतिले आई लिएर कहिले गयो ?

कहिले कहिले मेरो मनमा हुन्छ खुल्दुली
फल्गुनीलाई सम्झ्यो कि होला कि हिक्क बाडुली ।।

श्वेतआतङ्कको रुप देख्यो कि पतिले पनि
उर्लन्थ्यो श्वेत आतङ्क फल्गुनीभित्र दन्दनी ।।

अज्ञातैमा भयो मेरो श्वेतभैरवी संगम
त्यो कथा अहिले हुन्छ आफैं दृष्टि विहङ्गम ।।

हुर्कनै नसके जस्तो आँपको रुख जो थियो
होला कि अहिलेसम्म अथवा कोशीमा डुब्यो ?

लेलहा त्यो बूढो माझी अझैसम्म छँदै छ कि
मलाई किन हो आज फल्गुनीले त्यतै लगी ।।
।। इति श्वेतभैरवी ।।
क्षमापन ः यहाँ मैले फगुनीलाई छन्दका लागि कति ठाउँमा फल्गुनी भनेकोमा कथाकारसँग ।


भद्रपुर

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 28 भाद्र, 2072

लेखकका अन्य रचनाहरु