बेल्जियममा साहित्य सम्मेलन

- श्रीओम श्रेष्ठ रोदन

नेपाली भाषा–साहित्यको विकास र विस्तार नेपालभित्र मात्र नभएर विश्वव्यापी रूपमा भइरहेको छ । अध्ययनका लागि बनारस पुगेका विद्यार्थीहरूले प्रकाशन प्रारम्भ गरेको नेपालबाहिरको नेपाली साहित्यिक अभियान अहिले विश्वको सबै महादेशमा पुगिसकेको छ । विश्वभरि फैलँदै गएका नेपालीहरूले आफ्नो भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने माध्यमका रूपमा लिन थालेका छन् । विदेशमा बसेका नेपालीहरूले मातृभूमिप्रतिको भावना अभिव्यक्त गर्न तथा आफ्ना सन्ततिहरूलाई नेपालीपनप्रति आकर्षित गर्न विभिन्न संघसंस्थाहरू स्थापना भएका छन् । विश्वका विभिन्न भूभागबाट नेपाली रेडियो, टेलिभिजनको प्रसारण, ब्लग, अनलाइन, वेबसाइटजस्ता विद्युतीय सञ्चार माध्यमको प्रकाशन, साहित्यिक कार्यक्रम, पुस्तक प्रकाशनजस्ता निरन्तर कार्यबाट नेपाली भाषा–साहित्यको विकास र विस्तारमा ठूलो योगदान पु¥याएको छ । जसमध्ये ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ले विश्वव्यापिरूपमा गर्दै आएको कार्य अत्यन्तै प्रसशंनीय छ ।
‘प्रवासमा नेपाली भाषा–साहित्यको अमरत्व, हामी सबैको दायित्व’ भन्ने मूल नाराका साथ बेल्जियममा दुई दिने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । नेपाली भाषा–साहित्यको प्रचार–प्रसारमा सक्रिय अनेसास, बेल्जियम च्याप्टरले स्थानीय भाषा–साहित्यसँग गरेको सहकार्य उल्लेखनीय छ । सन् २०११ मा बेल्जियमको सिन्तत्रुइदेनमा सम्पन्न ‘फ्रित नेपाल’ र सन् २०१४ मा लुभेनमा ‘मुभिङ इमोसन्स’ कार्यक्रममा अधिकांश स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो । फ्रित नेपाल र मुभिङ इमोसन्स त्यस अर्थमा फरक प्रस्तुति र परिणाम दिने खालका रहे । यस्ता खालका कार्यक्रमहरू अन्य डायस्पोराहरूमा पनि गर्न सकियो भने नेपाली भाषा–साहित्यको गरिमा, पहिचान र स्तर वृद्धिमा ठूलो बल पुग्छ । यसका निम्ति हामी सबैले आ–आफ्नो डायस्पोराबाट योगदान गर्न सक्छांैँ । यसको व्यापकीकरण र स्तरोन्नतिमा योगदान दिनु हामी डायस्पोराका स्रष्टा र साहित्य अनुरागीहरूको दायित्व हो । साहित्यकार तथा पत्रकार पञ्चम अधिकारीको उपर्युक्त भनाइलाई विदेशमा बसेका सबै स्रष्टाहरूले आत्मसात गर्न जरुरी छ ।
अगस्ट १६ र १७ मा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले बेल्जियम घोषणापत्र जारी गर्दै समापन भएको छ । जसमा नेपाली भाषा–साहित्यको स्तरीकरण र एक रूपताका लागि डायस्पोराबाट यथासक्य पहल गर्ने नेपाली साहित्यका स्तरीय कृतिलाई विश्वव्यापीकरणका लागि अनुवाद, प्रकाशन गरी अन्तर्राष्ट्रियरूपमा पहल गर्ने डायस्पारो साहित्यको स्पष्ट परिभाषा नभइरहेकाले डायस्पोरिक साहित्यको परिभाषा र सीमा तोकिने कार्य अगाडि बढाइने, इन्टरनेटका माध्यमबाट नेपाली साहित्यलाई व्यापक रूपमा विभिन्न वेबसाइटका माध्यमबाट प्रचार–प्रसार गर्ने, नेपाली डायस्पोरा साहित्यको अभिलेख तयार पार्ने उल्लेख गरिएको छ ।
सम्मेलनको उद्घाटन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले गर्नु भएको थियो । उहाँले बेल्जियमको सम्मेलनमा साहित्यप्रेमीहरूको उत्साह र सहभागिताले विश्वभरि सार्थक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले विश्वभरिका साहित्यिक अभियानबारे जानकारी गराउनुभयो । गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष जीवा लामिछानेले नेपाली भाषा–साहित्यको संरक्षण गर्नु पनि एनआएनको उद्देश्य रहेको बताउनु भयो । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, प्रा. डा. खगेन्द लुइटेल, एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, कृष्ण बजगाई, रमेश अधिकारी, इन्द्रकुमार जोशी, सुमलकुमार गुरुङ, प्रेम गुरुङ, दीपकज्योति पौडेल, लक्ष्मण अर्याल, श्रीओम रोदनले प्रवासमा भएका साहित्यिक गतिविधिको प्रशंसा गर्नुभएको थियो ।
अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र केसीको सभापतित्वमा भएको सम्मेलनमा युरोपका अधिकांश देश अमेरिका र नेपालको सहभागिता थियो । सम्मेलनमा परमानन्द सापकोटा, कृष्ण थापा, जानकी गुरुङ, सीता सापकोटा, गोपाल पौडेल, तारक भण्डारी, बाबुराम सिंह, मोहन आचार्य, विमल गिरीलगायतका कविहरूले कविता वाचन गर्नुभएको थियो । कार्य सम्मेलनमा दीपेन्द्र केसीको ‘अनुभूतिका अक्षरहरू’ (खण्डकाव्य), विमल गिरीको ‘स्पन्दनका छालहरू’ (मुक्तकसङ्ग्रह) र सौरभ कारन्जितको ‘छरिएका सौरभ’(मुक्तकसङग्रह)को सामूहिक विमोचन गरिएको थियो ।
सम्मेलनको दोस्रो दिन नेपाली भाषा–साहित्यसम्बन्धी विभिन्न विषयका प्रस्तुति भएका थिए । डा. खगेन्द्र लुइटेलको नेपाली भाषा–साहित्यको विश्वव्यापीकरण, पञ्चम अधिकारीको ‘प्रवासमा नेपाली भाषा–साहित्यको अमरत्व, हामी सबैको साझा दायित्व’ विषयक प्रस्तुति थियो । जीवा लामिछानेको नेपाली भाषा–साहित्य र एनआरएन, एलबी क्षेत्रीको नेपाली भाषा साहित्य, श्रीओम रोदनको साहित्यिक पत्रकारिता र चुनौती, होमनाथ सुवेदीको ‘अनेक डायस्पारो, कृष्ण बजगाईंको बेल्जियमका साहित्यिक गतिविधि, मोहन आचार्यको पोर्चुगलमा नेपाली भाषा–साहित्य, सुमलकुमार गुरुङको युरोपमा नेपाली साहित्य हिजो र आज, पदम विश्वकर्माको अनेसासको गतिविधिसम्बन्धी प्रस्तुति रहेको थियो ।
अन्त्यमा,
बेल्जियममा सम्पन्न सम्मेलनको सफलता र त्यसपूर्व भएका कार्यहरू डायस्पोरा साहित्यका लागि उदाहरण बनेको छ । यसका लागि अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र केसी, महासचिव दीपकज्योति पौडेल, कोषाध्यक्ष परमानन्द सापकोटाको भूमिका सह्राहनीय छ । व्यस्त जीवन शैली र साहित्यिक वातावरणको अभावमा पनि डायसपोरिक सर्जकहरूले गर्दै आएको योगदान प्रशंसा योग्य छ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 27 भाद्र, 2072

लेखकका अन्य रचनाहरु