आमाहरू उपन्यासमा द्वन्द्वको दर्द

- प्रा. डा. कपिल लामिछाने

नेपाली साहित्य र सामाजिक रूपान्तरणको इतिहासमा कविता पौडेल (२००२, अर्घाखाँची) को ठूलो योगदान छ । १६ वर्षमा साक्षर भई २९ वर्षको उमेरमा मात्र प्रवेशिका गरेर पनि पौडेलले बालचित्कार (२०६२), हीरा (२०६३) र आमाहरू (२०६६) जस्ता उपन्यासहरूबाट नेपाली उपन्यासका फाँटमा आनो उपस्थिति जनाएकी छन् । प्रस्तुत सन्दर्भमा २०६६ मा तन्नेरी प्रकाशनबाट प्रकाशित उनको आमाहरू उपन्यासको सङ्क्षेपमा समीक्षा गरिएको छ ।
आमाहरू उपन्यासको कथावस्तु रुकुम जिल्लाको एउटा गाउँबाट सुरु भएको छ र नेपालका विभिन्न ठाउँमा घुमेको छ । प्रमुख पात्र तुलसीमाया साँझको समयमा ६० वर्षको उमेरमा चार छोरा चार छोरी भएर पनि एक्लै परेकीले थन्थनाउँदै दुखेका घुँडा मुसार्दै गरेका बेलामा तीनजना तन्नेरी केटा आएर भात पकाउन भन्छन् । तुलसीमाया आनाकानी गर्छिन् । यस्तैमा घाँसको भारी बोकेर कान्छी छोरी कमला आइपुग्छे । ऊ पनि बाहिरिया मान्छेका लागि भात पकाउन मान्दिन, जसले गर्दा तिनीहरूले कमलालाई घिच्याएर लग्छन् । तुलसीका पुलिसमा भएका जेठा र माहिला सोलेखुम्बु र साहिँला सल्यानको चौकी उडाउने दोहोरो भिडन्तमा परेर मरेका र कान्छा कमललाई माओवादीले लगेका थिए । कान्छी कमलाको आस थियो, त्यसलाई पनि हेर्दाहेर्दै अपहरण गरेर लगेकाले उनी घरमा एक्लै परिन् । जेठाजुको छोरो उमेशले माओवादीको मागअनुसार पचास हजार चन्दा नदिएकाले घरनजिकै रूखमा बाँधेर काटेर उसको हत्या गरेकाले गाउँभरि कोकोहलो मच्चियो । कमलाको चिठी विमलले पढेर तुलसीलाई सुनायो । कमलालाई माओवादीले अपहरण गरेर लगेपछि उसको सामूहिक बलात्कार गरेका र पुलिसले निर्धा व्यक्तिहरूलाई मार्ने गरेको, अब त्यहाँबाट भाग्न पनि नसक्ने भएको जस्ता त्रासद कुराहरू थाहा पाई अब कमला फर्कने आशा हराएको हुँदा देशमा अन्यत्र कहाँ कहाँ केके भएको छ बुझ्न भनेर खण्डहर जस्तो सुनसान घर छाडेर हिँडिन् ।
तुलसी सानाघरे बूढाकहाँ पुगिन् । त्यहाँ माओवादी अभियोगमा छोरो झैमनेलाई पुलिसले घरैबाट लगेर गोली हानी हत्या गरेको थाहा पाइन् अनि माथि काउलेमा गइन् । त्यहाँ पुलिसमा भएका तीनै जना दाजुहरूलाई माओवादीले हत्या गरेकाले खैलाबैला र रुवाबासी भएको देखिन् । त्यसपछि भुल्केपानी खुमा बहिनीकहाऊ गइन्, त्यहाँ पनि सुराक गरेको आशङ्कामा जेठो छोरको हत्या गरी अरूलाई गाउँनिकाला गरेर घर माओवादीले कब्जा गरेको थाहा पाइन् । त्यसपछि झन् दुखी हुँदै उनी तल गोटी भन्ने ठाउँमा पुगिन् । त्यहाँ दुई ‘भाइबैनी’भेटिन् । बालाई मारेकाले आमा शोकले मरेको र दुई दाजुलाई अपहरण गरेर लगेकाले एक्लै परेको, खान नपाएको बताए । अनि उनी मामाकी छोरी रुन्जतीको घर खोज्दै जाने क्रममा छोउकै जेठानीको घरमा पुगिन् । रुन्जतीको जेठानीका चारै भाइ (पुलिस) सोलुकाण्डमा परको र छोरीहरूले पनि हत्याहिंसाको सिकार हुनु परेको थाहा पाइन् । अनि उनी बहिनी रुन्जतीकहाँ गइन् । रुन्जतीको लोग्ने (ज्वाइँ)लाई पुलिसले र तीन छोरालाई किरिया बसेकै अवस्थामा माओवादीले हत्या गरेका, बाबुको हत्याराको खोजी गर्दै हिँडेकी छोरी सीतालाई पुलिसले बलात्कार गरी फालेको, तीनवटी विधवा बुहारीहरूलाई वनमै पुलिसले माओवादी ठानेर हत्या गरेको, बाबुको हत्यारालाई कारवाही गर्ने अठोटका साथ सीता पनि माओवादीमा लागेकीले आफू अब एक्लो भएको जानकारी पाइन् ।
अब एक्लो घर कुर्नुको औचित्य नदेखी नातापाता भएका ठाउँमा जाने–भेट्ने र देशको हाल बुझ्ने भनी दुवै त्यहाँबाट हिँडे । भुल्केमा बहिनी शकुन्तलाको घरको बिजोग परैबाट हेरे । त्यहाँ माओवादीको आमसभा रहेछ । कमल, कमला आएका छन् कि भनेर साँझ घर पुग्दा त घर माओवादीले सेल्टर बनाइसकेछन् । घर कार्यकर्ता, बन्दुक र खरखजानाले भरेछन् । आनै घरमा आफैँ अपमानित भएर बाहिर रात गुजार्नु प¥यो । नेपालगन्जमा साहिँली छोरी सपनाको घर पुगे । त्यहाँ ज्वाइँलाई सुराकीको आरोपमा माओवादीले र चौकीको भिडन्त हेर्न जाँदा नाती र तीन महिनापछि तीन नातिनी र सपनालाई पुलिसले सोत्तर पारेको जानकारी पाए ।
दाङमा भएको आक्रमणमा धनजनको ठूलो क्षति भयो । माओवादीका लाश तुरुन्तातरुन्तै डोकामा उठाएर खोलामा पु¥याए । सुरक्षाकर्मीले अपेक्षा गरेअनुरूप थप फोर्स तत्काल नआएकाले ठूलो क्षति बेहोर्नु प¥यो । अम्बु घाइते र उपचार भएको अवस्थामा अम्बु घर आई । अब उनीहरू ओखलढुङ्गा उषा छोरीको खोजीमा निक्ले । हिँड्ने बेलामा ज्वाइँले एकएक हजार दिँदै बसमा जानू भनेकाले उनीहरू बसबाट नारायणगढ पुगे र त्यहाँबाट अर्को बस चढेर अगाडि बढे । रातको १२ बजे बीसतीसजनाको समूहले बस रोकेर आगो लगाए । यात्रुहरू बडो बिचल्लीमा परे । झमझम पानी परिरहेकाले सबै निथ्रुक्क भिजे । भोलिपल्ट बिहान अर्को बस आयो र त्यहाँबाट अगाडि जान सके । त्यो बसले उनीहरूलाई कटारीको सट्टा इटहरी पु¥याइदिएछ ।
उनीहरू इटहरीबाट हिँडेर बेलुका पातले खोला माओवादी शिविरमा बसे । त्यहाँ रातमा शिक्षक, विद्यार्थी र व्यापारी समुदायलाई प्रशिक्षण दिने कार्यक्रम रहेछ । ठूला नेताबाट उनीहरूले कमलका गोडामा गोली लागेको भए पनि अब ठीक भएको, कमला विराटनगर जेलमा भएको, सीता अब माथिल्लो तहमा पुगेकी, थानेदारलाई उसकै हातबाट सफाया गरिसकिएको, रुन्जतीको श्रीमान्को हत्या गर्ने प्रहरीलाई जनअदालतमा पु¥याएको जानकारी र बाटाखर्च स्वरूप तीनतीन हजार समेत पाए । त्यहाँबाट तीन दिनमा धनुषा र चार दिनमा ओखलढुङ्गा पुगे । ओखलढुङ्गाको पुलिसचौकी तीन दिन अघिमात्र ध्वस्त भएछ । उषाको जेठाजु सुमनसँग भेट भयो । सुमनबाट तिहारमा टीका लगाइवरी तास–कौडा खेल्न लागेको मौका छोपी भाइ श्याम, भरखर बहिनी बनाइएकी छिमेकी अन्जु सहित सातजनाको हत्या भएको, पुलिसले आलटाल गरेको, माओवादीलाई चन्दा दिएको अभियोगमा उषा र उसको तीन वर्षको छोराको हत्या भएको थाहा पाए ।
ओखलढुङ्गाबाट साँझ कटारी पुगे र बसको प्रतीक्षालयमा रात काटे । त्यहाँबाट हिँड्दै जाँदा कोन्टी गाउँमा पुगे र शङ्करका घरको पेटीमा बास मागे । काठमाडौँ माइतबाट फर्किंदा बसमा माओवादीले आगजनी गरेको र आगैसहित झ्यालबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको, आमाको किरिया सकेर फर्किन लाग्दा जाबो बीस मुरी धान नदिएको, सेना र पुलिसमा भएका छोरालाई फिर्ता नबोलाएको, खाना ख्वाउँदा ताना सुनाएको, कान्छो छोरो मास्टरले सुराकी गरेको जस्ता आरोप लगाएर पाँचै भाइलाई हत्या गरेको र वनकार्यालयका दुईभाइ ज्वाइँ अजय–अमरलाई पनि माओवादीले खोजीखोजी मारेको वृत्तान्त थाहा पाए । घरमा विधवा कलिला केटीहरू लस्करै देखे ।
त्यहाँबाट उनीहरू सात दिन हिँडेर अर्घाखाँची काकाकहाँ पुगे । नेपाली चेलीको वर्षदिनको चाड दर खाने बेला बेलुका सात बजेतिर दोहोरो बन्दुक चलेको आवाज सुनियो । हाहाकार र सन्त्रास फैलियो । सातवटी छोरीमुनिको छोरो राजु घरमा नभएकाले खोजी हुन थाल्यो । बाहिर निक्ल्ने जस्तो थिएन । दस बजेतिर एउटा घाइते पानी खोज्दै आयो । ऊ पोखरातिरको रहेछ । जबरजस्ती ल्याएका रहेछन् । उसले छाडेर गए खोज्दै पुग्छन्, भारत पसौँ कि भएको छ भन्यो र पानी खाएर हिँड्यो । पाका–तन्नेरी धेरै मान्छे सोत्तर भए । सरकार पक्षको बढी मरेको, सरकार पक्षको ठूलो क्षति भएको जानकारी पाए । उज्यालो भएपछि उनीहरू बजारतिर गए । बैङ्क, सरकारी कार्यालय सबै ध्वस्त भएका, अझै आगो पुत्ताइरहेको, यत्रतन्त्र प्रहरी र सैनिकका लाश छरिएको, बन्दुक फालिएको, कतै मासुका लाप्सा कागले खाइरहेको विभत्स दृश्य देखे । तल गक्षेखोलामा रगतले मुछिएको हात गोडा भा“चिएको र गुहार–गुहार गरिरहेको अवस्थामा भेटियो । उसलाई प्राथमिक उपचारपछि काठमाडौँ पठाइयो । यता खोलामा दर्जनौँ लाश आधा गाडिएको अवस्थामा देखिए । कति गनाउन थालेका थिए । भयावह र विभत्स दृश्य थियो ।
त्यसपछि उनीहरू बुटवलतर्फ लागे । काकाले बसभाडा दिएका भए पनि उनीहरू पैदलै हिँडे । बुडीचउर पुगेर एउटा घरमा बास मागेका गालीमात्र पाए भने अर्को घरमा धेरै गालीपछि मात्र बास पाए । उनीहरू हिँडेर बेथरीको जङ्गलका बीचको झुपडबस्तीमा पुगे । पहिले त माओवादी भनी लखेट्न खोजे, तर आफूहरू माओवादी पीडित भएको जानकारी दिएपछि रूखमुनि बस्न पाए । त्यहाँबाट १०० किलोमिटर चार दिनमा हिँडेर बुटवल पुगे भने बुटवलबाट चार दिन हिँडेर स्याङ्जा पुगे । स्याङ्जामा रातको आठ बजेदेखि बिहान ४ बजेसम्म चौकी आक्रमण भइरह्यो । त्यहाँ धनजनको ठूलो क्षति भएको थियो । उनीहरू फालिएका चप्पल बटुली लगाएर त्यहाँबाट हिँडे ।
उनीहरू स्याङ्जाबाट हिँडेर बेलुका सात बजे पोखरा पुगे । चिप्लेढुङ्गामा पसल गरी बस्ने गाउँले बाबुराम खातीलाई भेटे । कमल र विमल हिजो यहाँ खाना खाएर स्याङ्जातिर लागेका रहेछन् । भेट्ने आसले उनीहरू १० दिन सम्म त्यहीँ बसे । एक दिन रातमा कमल आएकाले आमा छोराको भेट भयो । तुलसीले मान्छे मार्ने धन्दा छाड्न भनिन् । उसले आमालाई यसरी भौँतारिन छाडेर घरमै बस्न भन्यो । बाटातिर पुलिस देखेर कमल हतारहतार महिला वेशमा सजियो । उसले आमालाई बेनी आक्रमणको तयारी भइरहेको जानकारी दियो र पाँच हजार दिएर हिँड्यो । उनीहरू पोखराबाट बिहानै हिँडेर बेलुका लुम्ले पुगे । लुम्लेमा पुलिसको सुराकी गर्ने बूढा र माओवादी वार्ता गुपचुप सुने । बेनी आक्रमणको तयारीको कुरा थाहा पाए ।
बेनीदेखि पर खोचे भन्ने ठाउँमा हिमाल पुडासैनीको घरमा पुगे । त्यहाँ माओवादीकोको आउजाउ भइरहेको थियो । त्यहीँ खाना खाएर गोठमा परालमा सुते । भोलिपल्ट पचास हजार चन्दा नदिएको भनी सातजना भित्र बसेर पसलेको हत्या गरे, पसल्नीका मुखमा कालो कपडा र हात बाँधिदिएका थिए । स्कुल गएका पाँच छोराछोरी आएपछि रुवाबासी हुन थाल्यो । तुलसीहरूले पुलिसमा खबर गरे । पुलिस धेरै पछि आयो र केरकार गरी सरजमिन गरेर गयो । राति सैनिक ब्यारेक हान्ने तयारी भएको हल्लाले बजार बेलैमा सुनसान हुन थाल्यो । आठ बजेबाट दोहोरो हानाहान भयो । यता आँगनमा लाश त्यसै थियो । तुलसीहरूले लाश कुरे । रातमा मानिसहरू डोका बोकेर कुदेको देखियो । उज्यालो भएपछि उनीहरू त्यहाँबाट हिँडे । ब्यारेकमा जताततै धुवाँ उठेको थियो । ब्यारेक र बजार ध्वस्त भएको थियो । तीनजना पुलिसले माओवादीलाई ख्वाएको पालेको भनी केरकार र कुटपिट गरेको र एकजनालाई कुटीकुटी भिरबाट गुल्ट्याएको र एउटालाई त्यहीँ छाडेको उनीहरूले देखे । उनीहरूले त्यसलाई पानी ख्वाई हेल्थपोष्टमा लगी उपचार गराई घरमा पु¥याए ।
उनीहरू बागलुङ सुमापोखरी फुपूको घर पुगे, तर घरमा कोही थिएन । उनीहरूले त्यही पेटीमा रात बिताए । पुलिसलाई सहयोग गरेको भनी धनीरामलाई सफाया गरेका, अरुलाई धम्काएकाले सबै चार घर खाली गराई कब्जा गरेका र अब घर उनीहरूको सेल्टर भएको जानकारी पाएपछि उनीहरू त्यहाँबाट हिँडे । लुम्ले जान भनी हिँडेका भए पनि बाटो बिराएर उनीहरू बागलुङ बजारमा फुपूको छोरा (सोमनाथ)को पसलमा पुगे । सोमनाथले दुई छोरा हरि र रमेश पुलिसमा भएको, घरमा माओवादी आउने–जाने–खाने गर्ने गरेको, दसैंमा पुलिस छोराहरू आएका, अष्टमीका दिन खसी काटेर पाकेको बेलामा माओवादी आएर काम छ भनी लगेर चिर्बिरे खोलापारि लगेर हत्या गरेका, पुलिस आएर घरकालाई केरकार गरी घरको खानतलासी लिएका र त्यहाँ पुलिस र माओवादीको दोहोरो दमन र हत्या भएपछि माओवादीले चारै घर कब्जा गरेपछि र परिवारका तीस सदस्यमध्ये सातजना मात्र बाँकी रहेपछि बागलुङ बजारमा आई चिया पसल गरी बसेको कुरा सुनायो । तुलसीमायाहरू तीन महिना त्यहीँ बसी पुनः पोखरातर्फ लागे ।
उनीहरू पोखरा पुगेर सानो होटेलमा पसे । होटेलवाली रुकुम सिवाङको टेकबहादुरकी छोरी मुना रहिछ । मुना पोखरामा पढ्न बस्दा सिवाङतिरकै शिव राना मगरसँग प्रेम विवाह गरेकी रहिछ । मुनाले शिव सिवाङ गएका बेलामा माओवादीमा लागेको, मुनालाई पनि त्यतै लागौँ मन्त्री भइरहन्छ भनेको, मुना नमानेकी, पाल्पा आक्रमणमा परी शिव मरेको, मुना घरकी न माइतकी भएकी, काखको छोरो लिई घर पुग्दा ससुराले देखी नसहेको, सासूले दिएको पचास हजार लिई सिवाङबाट फर्किंदा दाङमा होटेलमा सुतेको बेलामा तीन बजे बलात्कारको प्रयास भएको, त्यहाँबाट भाग्दा अर्को एक एकल महिलासँग भेट भई बुटवलसम्म सँगै आएकी, सासू र देवरको सहायताले पोखरामा होटेल गरी बसेको जानकारी गराई ।
त्यसपछि उनीहरू मागेर खाने उद्देश्यले काठमाडौँ पशुपतिमा पुगे । एक हप्ता धर्मशालामा बिताए, तर फोहोर र तँछाडमछाडको वातावरणबाट दिक्क भए र अन्तमा माग्नुभन्दा काम गर्नु ठीक हो भन्ने निष्कर्षमा पुगे । अनि उनीहरू कामको खोजी गर्दै कालीमाटीको एउटा सामन्य होटेलमा पुगे । होटेलवाला अछामी रहेछ । उसले उसका सेनामा रहेका दुई भाइ छोरा दसैँको बेलामा घरमा आउन चाहेका, चौकी आक्रमणको हल्ला थाहा पाई घर नआउन भनिएको, दुवै भाइ साँफे बगरमा सरुवा भएकाले घर आएका, माओवादी कमान्डरले सेना छाड्न भनेको, नमानेको हुँदा हातगोडा बाँधी घाँटी रेटेर हत्या गरेको, बसिखान नभएर विस्थापित भई काठमाडौँ आएको, केही समय सामाखुसी भान्जाकोमा र अहिले केही समयदेखि भाडाको थोत्रो यस घरमा होटेल चलाएर बसेको, दुई विधवा बुहारी पालेको कथाव्यथा सुनायो ।
अछामीको सल्लाहअनुसार उनीहरू कागतीको व्यापार गर्न थाले । कालीमाटीबाट कागती किन्ने र त्यहीँ सडकको पेटीमा बसेर बेच्ने, २०० को बेच्दा १०० नाफा, ३०० को बेच्दा १२० नाफा भएकाले त्यही काम गर्ने निधोमा पुगे । आफ्नो कमाइ खाँदाको आनन्द नै बेग्लै भएकाले काम गरिखान थाले । उनीहरूले माओवादी र सरकारलाई सत्तोसराप गरे भने हामी भने छोराछोरी भनी खोज्दै घुम्दै ७० जिल्ला पुग्ने तर छोराछोरीले कहिल्यै बाआमा भनेर हामीलाई खोजेनन् भनी चिन्ता व्यक्त गर्दै जनतालाई दुख दिनेलाई कहिल्यै शान्ति नमिलोस् भन्छन् र उपन्यासको कथावस्तुको अन्त हुन्छ ।
यसरी आमाहरूमा जताततै हत्या र हिंसाको शृङ्खला देखिन्छ, जुन समकालीन यथार्थ नै हो । उपन्यासको आख्यानलाई हेर्दा कथानक रुकुमबाट सुरु भएर नेपालगन्ज, दाङ, इटहरी, ओखलढुङ्गा, कटारी (कोन्टी), अर्घाखाँची, स्याङ्जा, पोखरा, बेनी, बागलुङ, पुनः पोखरा र काठमाडौँ पुगेर अन्त भएको छ । मुख्यतः तुलसीमाया र पछि रुन्जती गरी दुई वृद्ध आमाहरू सन्तान र आफन्तहरूलाई खोज्ने–भेट्ने भन्दै हिँडेका छन् र त्यसै सिलसिलामा यहाँ सरकार तथा देश र जनताको भलो गर्ने भनी देशमा हत्या र हिंसाको ताण्डवनृत्य मचाउनेहरूका देश र जनताका हितविपरीतका हिंसात्मक क्रियाकलापको भन्डाफोर गरिएको छ । आमाहरू हत्या र हिंसाका सिकार पनि भएका छन्, द्रष्टा, भोक्ता र श्रोता पनि भएका छन् र देशका विभिन्न स्थानमा भएका घटनाहरूलाई एउटै सूत्रमा उन्ने काम पनि उनीहरूकै माध्यमबाट भएको छ । कथानक कहीँ बेगले अगाडि बढेको छ भने कहीँ मन्द गतिमा । कतिपय ठाउँमा बेग्लै प्रसङ्ग र स्थानका कुरा एकै अनुच्छेदमा गाजेमाजे पनि भएका छन् । तुलसीमाया प्रमुख पात्र हो भने रुन्जती, कमल, कमला आदि सहायक पात्रहरू हुन् । यस्ता सहायक पात्र र अन्य गौण पात्रको यहाँ पौल छ । मध्यम आकारको यस उपन्यासले विस्तृत र व्यापक आयाम ओगटेको छ । यहाँ खासगरी पचासको दशकको कालखण्डमा देशभित्र घटित प्रमुख घटनाहरूलाई समेट्ने प्रयत्न गरिएको छ । यथार्थ घटना र चरित्रहरूलाई यहाँ सामान्यीकरण गरिएको छ ।
माओवादी कथित जनयुद्धले र सुरक्षाकर्मी तथा उनीहरूका क्रियाकलापले समाजमा बासको समस्या, गासको समस्या, रोजगारी र स्वतन्त्रतापूर्वक आउजाउको समस्या उब्जाएको छ । नेपाली समाजको पारिवारिक विघटनको स्थिति सिर्जना भएको छ र सामाजिक सम्बन्ध विच्छिन्न–विच्छिन्न भएको छ । गाउँका घरहरू खन्डहर र सेल्टरमा परिणत भएका छन् । समाजमा सन्त्रास र आतङ्क फैलिएको छ । भविष्यप्रति निराश–हताश र वितृष्णा जन्मेको छ । युवा पुस्ता कि त माओवादीमा बलात् पुगेका छन् कि भने विदेशी गल्लीमा । कनिकुथी भएका रोजगारीका अवसर गुमेका छन् । पेसा–व्यवसाय गरी स्वाभिमानपूर्ण जीवन जिउन सक्ने अवस्था सरकार र माओवादी रवैयाका कारण समाप्त भएको छ । पठन–पाठन र आर्थिक उन्नति अवरुद्ध भएको छ ।
यहाँ जताततै द्वन्द्वको दर्द देखाइएको छ । नेपालीहरू दुवैतर्फबाट पीडित छन् । एकथरी पटकपटक आउँछन् । खान दे भन्छन् । नदिए ठूलो धनराशि चन्दा माग्छन् । त्यो पनि नदिए सुराकी भनी गिँड्छन्, मार्छन्, हत्या गर्छन् । किम्लासरी मार्छन् । अर्काथरी आउँछन् । किन खान दिइस् भन्छन् । किन सहयोग गरिस् तिनलाई भन्छन् र माओवादीको बिल्ला लगाई हत्या गर्छन्, मार्छन् । मार्नु यहाँ किम्लामराइ छ । द्वन्द्व सरकार र माओवादी बीचको हो, तर साँढेको जुधाइमा बाच्छाहरू मिचिएका छन् । सर्वसाधारणहरू दुवै खाले बन्दुकवादबाट आक्रान्त छन्, पीडित छन् । तसर्थ आमाहरू उपन्यास त्यस्तै द्वन्द्वपीडितहरूको र युद्धविभीषिकाको अभिलेख भएको छ । यहाँ जेजस्ता घटना घटेका छन्, ती हिजो मुलुकले बेहोरेको कटु यथार्थ हो, वास्तविकता हो । तुलसीमाया र रुन्जती सर्वसाधारण नेपालीका प्रतिनिधि हुन्, जो द्वन्द्वबाट पीडित छन् । उनीहरू द्वन्द्वका कर्ता होइनन्, पीडित हुन्– शाखासन्तान मारिएका, लुटिएका, अपहरणमा परेका, विस्थापित भएका । उनीहरू द्वन्द्वका द्रष्टा र भोक्ता हुन् । उनीहरू आम नेपालीले झैं हत्याहिंसाको अन्त्य चाहन्छन्, शान्ति चाहन्छन्, विस्थापितहरूको पुनस्र्थापना चाहन्छन् । लालाबाला पालौँला भनी दसनङ्ग्री खियाएर आर्जन गरेको धन वा दुईचार पैसा पनि लुटेराहरूले लुटेर लग्ने, चेलीबेटी अपहरण गरी लगेर बलात्कार गर्ने, पढ्ने–सिक्ने बेलाका कलिला बालबालिकालाई मन्त्री र सन्त्री बनाउने प्रलोभन देखाई युद्धको अग्निकुण्डमा होम्ने जुन काम भएका छन् त्यसलाई आमाहरूले निन्दा गरेका छन्, घृणा गरेका छन् र यस्तो स्थिति उत्पन्न हुनमा तत्कालीन सरकारलाई मुख्य जिम्मेवार ठह¥याएका छन् ।
आमाहरू उपन्यास अन्तर्वस्तुका दृष्टिले जति समसामयिक, सशक्त, महत्त्वपूर्ण र प्रभावकारी छ, त्यसलाई प्रस्तुत गर्ने शिल्पशैली वा प्रस्तुतीकरण तदनुरूप नयाँ विशिष्ट प्रभावकारी छैन । परिच्छेद विभाजन नभएको, केही ठाउँमा परिच्छेद–शीर्षक जस्ता वाक्यांश भए पनि त्यो प्रस्ट नभएको, कतिपय ठाउँमा अनुच्छेद–गठन र वाक्यगठन समेत नमिलेकाले उपन्यास सुपाठ्य नभएर पढ्न–बुझ्न झ्याउलो भएको छ । उपन्यासको भाषा सामान्यतया सामान्य छ । यसले ओगटेको परिवेश पश्चिम रुकुमदेखि पूर्व इटहरीसम्म रहेको छ । फेरि पनि उपन्यासको भाषा पुर्बेली वर्गको रहेको छ । यहाँ कमिलालाई किम्ला, प्राणलाई परान, बस्यांैलाई बसेम्, भन्यौँलाई भनेम् जस्ता औच्चार्य रूपको प्रयोग भएको छ । यस्तै यहाँ सन्दर्भअनुसार चल्तीका उखानको प्रयोग पनि त्यत्तिकै भएको छ । काँचो पिँडालु निल्नु न थुक्नु । नरहे बाँस न बजे बाँसुरी । साँढेको जुधाइ र बाच्छाको मिचाइ । गुहुमा हान्दा मुखमा छिटा । उल्टे खुकुरी पल्टे धार, पल्टे खुकुरी उल्टे धार । के खोज्छस् काना आँखो । भालुको रिस खन्यु“माथि । हग्नेलाई भन्दा देख्नेलाई लाज । साँपलाई जति दूध ख्वाए पनि विषै बढाउँछ । यस्ता उखानको प्रयोगले भाषिक अभिव्यक्तिमा मिठास र जीवन्तता थपेको छ ।
यसरी आमाहरू उपन्यासले नेपाली नारी उपन्यासका परम्परामा एक फड्को मारेको छ । यसमा नारी केन्द्रीयता छ, नारी प्रधानता छ र आम समस्यालाई नारीका दृष्टिविन्दुबाट प्रस्तुत गरिएको छ । त्यसैले यो उपन्यास नारीवादी भन्दा पनि मानवतावादी–प्रगतिवादी भएको छ, नारी प्रधान भएको छ । युद्धकालमा खासगरी नारी वा आमाहरूले झेलेका कष्ट, पीडा, उत्पीडन, दमनलाई यस उपन्यासले प्रस्तुत गरेको छ । सरकार र माओवादीबाट मानिस कमिला सरी मारिएका छन् । उपन्यासमा सरकार र माओवादी ज्यादतीको सर्वेक्षण गरिएको छ । शान्तिले बाँच्न र गरिखान पाउनु पर्ने उपन्यासको अपेक्षा रहेको छ । यही यसको मूल अभीष्ट पनि हो । त्यसैले केही कमी रहे पनि यो उपन्यास नेपाली उपन्यासका विकासमा एक उल्लेख्य प्राप्ति रहन जाने देखिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 21 भाद्र, 2072

लेखकका अन्य रचनाहरु