जीवनको एउटा अविस्मरणीय दिन

- डा. वल्लभ मणि दाहाल

२००९ साल माघ ९ गतेतिरको कुरा हो। त्यो दिन हाम्रो जीवनको एउटा अविस्मरणीय दिन रहयो। हामी पहाडबाट (सङ्‍खुवासभा जिल्ला) काठमाडौंमा आएका नयाँ- कलिला ठिटा मेरो मामा चूडामणि रेग्मी र म लेखक (वल्लभ मणि दाहाल) दुवै घरबाट सम्स्कृत पढ्न भनी आएर काठमाडौंको हाँडीगाउँमा आचार्यजीको घरमा वसेका थियौं। उहाँसँग अहिलेसम्म पनि हाम्रो राम्रो मित्रता छ। हामी पहाडबाट काठमाडौंमा आएका नव चेतना भएका ठिटाहरुमा निकै उत्सुकता थियो। पहाडबाट आएका हामीले पहिले कहिल्यै मोटर, रेलसम्म पनि देखेका थिएनौँ। त्यस वेला, यहाँको नव चेतनाको लहर र नव वातावरणले हामीलाई कुत्कुत्याइरहेको थियो।
त्यो दिन किन स्मरणीय रह्‍यो भने त्यो दिनमा एउटा ठुलो कवि सम्मेलन हुँदै थियो। त्यस वेला, भारतबाट महापण्डित राहुल साँकृत्यायन र उहाँकी पत्‍नी कमला साँकृत्यायन पनि काठमाडौं आउनुभएको थियो। उहाँहरु पनि त्यस सम्मेलनमा उपस्थित हुनुभएको थियो। त्यस वेला, हामीले भरखर-भरखर राहुल साँकृत्यायनका किताबहरु पढेका थियौँ। उहाँ सत्र-अठार भाषाका ज्ञाता हुनुहुन्थ्यो भन्‍ने हामीले सुनेका मात्र थियौँ। त्यस वेला, हामीलाई प्रभाव पारि दिइएको थियो- उहाँ सम्स्कृतदेखि लिएर सन्सारका भाष, धर्म, इतिहास, सम्स्कृति, सम्पूर्ण विषयका महाज्ञाता, महापण्डित हुनुहुन्थ्यो। एक प्रकारका सवल नै हुनुहुन्थ्यो। उहाँ यहाँ आएर धर्मरत्‍न यमीको घरमा वस्नुभएको थियो। पछि हामीले थाहा पायौँ- उहाँका ठुला मित्रहरुमध्ये उहाँ पनि एउटा हुनुहुँदो रहेछ। त्यो दिन धर्मरत्‍नजी, लक्ष्मीप्रसाद देवकोटा, वालकृष्ण सम, सिद्‍धिचरण श्रेष्ठ आदि ठुला कविहरु सवै जम्मा भएर कवि सम्मेलनको तयारी भयो। ती सवै कुरा देखेर हामीमा नयाँ कुराको आभास भइरहेको थियो। नयाँ उमङ्‍ग छाएको थियो हामीमा। अहिलेसम्म पनि मलाई याद छ- त्यो कवि सम्मेलनको मञ्‍च मृगस्थलीमा वनाइएको थियो। त्यो कवि-सम्मेलनको मञ्‍चमा हामी सवै भेला थियौं। त्यहाँ राहुल साँकृत्यायन र कमला साँकृत्यायनको उपस्थितिले त्यो कवि-सम्मेलन अभूतपूर्व वन्यो। ठुला कविहरु लक्ष्मीप्रसाद देवकोटा, वालकृष्ण समहरु पनि आउनुभएको थियो। त्यो कवि-सम्मेलनमा हामी वढो उत्सुकतापूर्वक श्रोताको रूपमा जम्मा भयौँ।
अहिले पनि मलाई सम्झना छ- लक्ष्मीप्रसाद देवकोटाको दाहिनेपट्‍टिको वँगारो थिएन। उहाँले वडो लय र ताल मिलाएर कविता पढ्‍नुभयो। —दालभात डुकु, दालभात डुकु, ढुकुढुकु डुकु, ढुकुढुकु डुकु, दालभात डुकु‘ उहाँको यो कविता सुनेर सवैले ताली वजाए। अनि फेरि उहाँलाई —पागल‘ कविता पनि पढ्न श्रोताबाट अनुरोध गरियो। कविताको पछिको अम्श अहिले पनि मलाई याद छ- "यस्तै छ साथी मेरो हाल" त्यो वेला उहाँले पढेका ती हरफहरुको सम्झना आउँछ। त्यसपछि उहाँले सम्भवत: —झञ्‍जावात‘ वाचन गरेको जस्तो मलाई लाग्छ। त्यस वेला, राहुल साँकृत्यायनले नेपालका कवि र साहित्यका वारेमा खास गरी लक्ष्मीप्रसाद देवकोटाको विशेषताको विषयमा भारतीय साहित्यका ठुला कविहरु- —पन्त-प्रसाद-निराला‘ तिनैका विशेषता लक्ष्मीप्रसाद देवकोटामा पाइन्छ भनेको कुरा मलाई अझै पनि सम्झना छ। त्यो कवि-सम्मेलनमा अरु कविहरुले पनि कविता पढ्नुभयो।
अनि हाम्रो लागि खास गरी, म र मेरो मामा (चूडामणि रेग्मी)को साहित्य साधनाको कुरा गर्दा पछि मैले साहित्य-साधना छोडें, तर उहाँ (चूडामणि रेग्मी) त्यो कवि-सम्मेलनवाट यति प्रभावित र अनुप्राणित हुनुभयो- उहाँ अहिलेसम्म पनि, आजसम्म पनि नेपाली भाषा र साहित्य-सेवामा आफूलाई समर्पित गरिरहुनुभएको छ, आजीवन आफूलाई गर्दै आउनुभएको छ। पछि प्रेसै पनि राख्‍नुभयो। उहाँले पछि आएर —जुही‘ पत्रिका प्रकाशित गर्नुभयो। युगज्ञान जस्ता धेरै पत्रिका पनि उहाँले निकाल्नुभयो, अनि उहाँले आफ्नो सम्पूर्ण जीवन यस्तै कवि-गोष्ठी, साहित्य-गोष्ठी, पत्रिका प्रकाशन, पुरस्कार आदिमा आफूलाई आजसम्म पनि समर्पित गरिरहनुभएको छ। मलाई लाग्छ- उहाँको हाम्रो भाषा-साहित्यसम्वन्धी प्रेरणाको स्रोत सम्भवत: त्यही कवि-सम्मेलन थियो। हाम्रो सौभाग्य पनि त्यति ठुला कविहरुको सम्मेलनमा भाग लिई तिनीहरुवाट प्रेरणा लिनु थियो।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 21 भाद्र, 2072

लेखकका अन्य रचनाहरु