म फर्केर अाएँ युएस्से

- कोमलप्रसाद पोखरेल

(हास्यव्यङ्ग्य कविता)

अनुभूति एक

त्यहाँ देख्न पाइन्न मान्छे हिडेको

जथाभाबि संसाझ टाउको गिंडेको

यहाँझैं धुलो सुघ्न पाइन्न लेस

म फर्केर आएँ त्यसैले स्वदेश ।

कुहेको सडेको छुनै हुन्न जान

न पूर्वीय सप्र्याङ् गरी हुन्छ खान

भने के गरी खानु मैले भनेर

छिटै फर्किआएँ युएस्से पुगेर ।

त्यहाँ पिउन पाइन्छ पाइन्न मात्न

जथाभावि पाइन्न स्वास्नी समात्न

त्यही लोकतन्त्रे खडेरी बुझेर

म फर्केर आएँ युएस्से पुगेर ।

न नारा उरालेर सातो लगार्छन्

न गाडी डढाई त्यहाँ भस्म पार्छन्

भने क्रान्तिमा देश तन्नं रहेछ

भनी फर्किआएँ युएस्से पुगेर ।

त्यहाँ पढ्दछन् शास्त्रभित्रै डुबेर

त्यसैले ठगी चीट शून्यै रहेछ

यतै ज्ञान पाइन्छ पुस्तक सुँघेर

भनी फर्किआएँ म आफ्नै स्वदेश ।

त्यहाँ घूसलाई सबै भूस मान्छन्

सधैँ आफुलाई इमान्दार ठान्छन्

बरू देश खाने यतै छन् भनेर

म फर्केर आएँ युएस्से पुगेर ।

उता भोटमा नोट साटिन्न कत्ति

जहाँ ढाँटको खेत रोपिन्न रत्ति

यतै यी कुरा गर्न मिल्ने भएर

म फर्केर आएँ युएस्से पुगेर ।

मिसेको दुई नम्बरी वस्तु मिल्छ ?

भनी सोधियो खोजियो यत्रतत्र

नपाए पछि व्यग्र सारै भएर

म फर्केर आएँ युएस्से पुगेर ।

न ता लड्न पाइन्छ त्यो देश भित्र

इराकै पुगी भिड्नु पर्ने विचित्र

घरैभित्र लड्ने र भिड्ने यतै छ

भनी फर्किआएँ युएस्से पुगेर ।

म ता भोकमा रोगमा रत्तिएको

विदेशी रिनैले सबै पोतिएको

बसूँ के गरी त्यो डलर्मा डुबेर

भनी फर्किआएँ युएस्से पुगेर ।

म चम्चे भरौटे भई लिम्छु दाम

भनी खोजिहेरेँ कतै छैन काम

त्यता चाकरी चाप्लुसी शून्य रे’छ

म फर्केर आएँ त्यसैले स्वदेश ।

लफङ्गा र झल्ला कतै भेटिदैनन्

जुवातास खेल्ने त झन् देखिदैनन्

भने के गरी दिन् बिताऊँ भनेर

म फर्केर आएँ युएस्से पुगेर ।

छ बत्ती बलेको अहोरात्र नित्य

दिवा सूर्यझैं निभ्न जान्दैन सत्य

त्यहाँ लोडसेडिङ् सधैं जेलमा छ

म फर्केर आएँ त्यसैले स्वदेश ।

हुँदैहुन्न खाई अघाई डकार्न

न पाइन्छ इच्छानुसारै खकार्न

कता छाड्नु संस्कार आफ्नो भनेर

म फर्केर आएँ युएस्से पुगेर ।

त्यहाँ छैन कानून नानी हकार्न

कडा रेछ बन्देज स्वास्नी भकुर्न

त्यसैले प्रजातन्त्र एतै रहेछ

भनी फर्किआएँ युएस्से पुगेर ।

कदाचित् त्यहाँ बन्धुको घात हुन्न

यहाझैं अनेकौ जहां जात हुन्न

यतै जातिको युद्ध बढ्दैछ धेर

भनी फर्किआएँ युएस्से पुगेर ।

फुटानी लडाएर केही कथुर्ने

अरूको सबै भाग आफैं हसुर्ने

प्रथाको खडेरी परेको बुझेर

म फर्केर आएँ युएस्से पुगेर ।

त्यहाँ खान पाइन्न सिन्की र ढिंडो

न ता धानको भातले थाम्छ बींडो

पिजाले गिजा सुन्निएला भनेर

म फर्केर आएँ युएस्से पुगेर ।

न जाँतो न ढिक्की न लिप्ने न पोत्ने

पटक्कै त्यहाँ गर्नु पर्दैन रे’छ

बुहारीहरू बिग्रलान् पो भनेर

म फर्केर आएँ युएस्से पुगेर ।

अनुभूति दुई

अहा श्वान त्याहाँ बडो भाग्यमानी

सधैं गोरिनीसाथ बित्ने जवानी

दुधे बाल कोक्रो कठै रुङ्छ राती

सदा बोतलै मात्र उस्को छ साथी ।

बिछट्टै त्यहाँ श्वानको हुन्छ मान

यहाँ झैं छि भन्ने हुदैहुन्न जान

डलर्तिर्नु पर्ला कि आच्चे भनेर

छिटै फर्किआएँ युएस्से पुगेर ।

त्यहाँ एक लोग्ने प्रथा लागु छैन

चितायो बितायो कसैले छुदैन

मलाई त्यही रोग सर्ला भनेर

छिटै फर्किआएँ युएस्से पुगेर ।

म छक्कै परें, ओठ चुम्छन् चरीले

कटाक्षै गरी वाण हान्छन् परीले

बुढो व्यास आफू नबन्ने भएर

छिटै फर्किआएँ युएस्से पुगेर ।

यता हेर्छु जोरै ढकुर् छन् घुमेका

उता हेर्छु त्यस्तै चखेबा चुमेका

म एक्लो परेबा बिजोडी भएर

नसक्ने भएँ बस्न, आएँ फिरेर ।

नयाँ माल हेरेर चाखेर किन्छन्

छिटै वाक्क मानेर मिल्काइदिन्छन्

पुरानै बरू टिक्छ धेरै भनेर

म फर्केर आएँ युएस्से पुगेर ।

त्यता वस्तु पाल्ने कुरा रे’छ गाह्रो

थलामा सधैं लाजमर्ने चटारो

सधैं कोरली उल्टिंदो मात्र रे’छ

त्यसैले त फर्कें म आफ्नै स्वदेश ।

बतासे फुलैबाट निस्कन्छ चल्ला

त्यसैको त्यहाँ हुन्छ हल्ला र खल्ला

न ता पर्छ कोरल्न ओथ्रा बसेर

त्यसैले म फर्कें युएस्से पुगेर ।

असाध्यै त्यहाँ वस्तु छाडा रहेछन्

खुलेआम बाली त खाँदा रहेछन्

यतै जोगिएला कि बाली भनेर

म फर्केर आएँ युएस्ए पुगेर ।

त्यहाँ कोरलीका छ मासे बहर्छन्

बिना रोक चर्ने सबैका रहर्छन्

म नामर्द चर्नै नसक्ने भएर

छिटै फर्किआएँ युएस्से पुगेर ।

डलर्मा पनि श्रीमती साट्न मिल्छ

जथाभाबि गाला त्यहाँ चाट्न मिल्छ

कतिन्जेल् बसूँ बन्द आँखा गरेर

भनी फर्किआएँ युएस्से पुगेर ।

नपुग्ने सधैँ किन्न चोलो र साडी

त्यसैले त्यहाँ किन्नुपर्ने कवाडी

नयाँ किन्न सक्ने हुती शून्य रे’छ

म फर्केर आएँ त्यसैले स्वदेश ।

कतै देख्छु नारी लँगौटी कसेका

कतै कट्टू मात्रै लगाई बसेका

धनी देश भन्ने कुरै मात्र रे’छ

म फर्केर आएँ त्यसैले स्वदेश ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 21 भाद्र, 2072

लेखकका अन्य रचनाहरु