"कमरेड भाउजू" कथासंङ्ग्रहमा यथार्थको भ्रम

- प्रा.डा. खेम दाहाल

कृष्ण बजगाईंको ‘यन्त्रवत्’ (सन् २००७) हेरिएको थियो, अहिले ‘कमरेड भाउजू’ (२०१५) सँग निकटता रहेको छ । यस कृतिका कथाकारको सेवा धरानको रेडियो नेपालसित जोडिएको थियो, पछि देशको हावापानीले समाउन सकेन, सिर्जनशील पात्र परदेशतिर गएको डेढ दशकभन्दा बढी भएको थाहा छ । केही गर्दा पनि गर्न नसकिने, जनशक्ति बाहिर जाने देश हाम्रो भयो ।

यी कथाकारले कथाको कार्यपीठिका प्रकाश गर्दा धारापानीको उकालो भन्दैनन्, ग्रीनफोर्डको कम्युनिटी हल भन्छन् । नाम धर्मप्रसाद हुनु एउटा खुसीको लक्षण हो, उनकी पत्नी कमरेड भाउजू कार कुदाउन अझ गुडाउन सक्ने क्षमता राख्छिन् । दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा कति नेपालीहरु विदेशी भूमिमा उपस्थित हुनुहुन्छ । कमरेडको स्थितिमा कार किनिएको छ, गुडाउने हिम्मत पतिलाई छैन, पत्नीलाई छ । त्यसकारणले गर्दा श्रीमतीले कार हाँकिन्, श्रीमान र उत्तराधिकारीहरु चढेका हुन् । समयको चेतना राम्रो छ, किनभने मानिसको हत्या हिंसा भएको २०५२–६२ को समयमा कमरेड धर्मप्रसाद एक प्रकारले आन्दोलनकारीको अवधिभरि सानो दायित्वका साथमा त्यही पार्टीमा आबद्ध थिए । धर्मप्रसाद र उनकी पत्नी केन्द्रमा पारिएका छन् । जसको वरिपरि हाम्रो संस्कार घुमिदिन्छ । देशमा क्रान्तिकारी बनेका यी कमरेड धर्मप्रसाद र उनकी पत्नी नेपाली समाजमा निकै लोकप्रिय बनेकाले एक प्रकारले पुरोहित काम गर्न सक्ने लचिला मानिस देखिए । छिमेकीलाई पैसा सापट दिने, कुनै नेपालीको छोरी जन्मिई त्यसको न्वारान गर्ने पुरोहितको आवश्यकता परे धर्मप्रसाद धोती फेर्ने लचिला मानिस भए । उनी चाडपर्व, नयाँ अवसर, नयाँ कामको प्रारम्भ र नेपालीको जमघटमा सरिक भएको पाइएको जमघटमा भाउजू भनेर चिनाउँदा कमरेडकी पत्नीलाई पनि मान गर्दै कमरेड भाउजू एउटा परिचय बन्यो । धर्मप्रसादको पुरोहित काम आलोचित भयो, किनकि क्रान्तिकारीले नगर्ने काम हो तथा प्रशंसित पनि भयो किनभने समाजसेवामा संस्कार जोगियो ।

धर्मको प्रचारक भन्ने आरोपमा कमरेडलाई दलले कारवाही ग¥यो, उनी पार्टीबाहिर भए तर काममा निर्लिप्त भएकाले धन चाहिँ कमिएछ, नाम जे होस् । भाउजू पनि अब कमरेड शब्द रुचाउन छोडिन्, किनभने पतिले नै कमरेडबाट बाहिरिनु परेपछि पत्नीलाई त्यो गरी उचित सम्मान नहुने भयो । यसबाट नेपालीको एउटा कथा अवश्य आयो, तर यसमा खास कुरातिर ध्यानाकर्षण नभएर कथा पढिसकिएको अनुभूति भएको छ । क्रान्तिकारीको आलोचना, सङ्गठनको कमजोरी बेलायतको समाज र काम गराइ तथा घरको काम पतिले गर्ने र बाहिरको काम पत्नीले भ्याउने समेतको संसारलाई एकमुष्ट सलाम गर्दा एउटा अभिव्यक्ति आएको कुरा विचारणीय छ । यथार्थको भ्रम र अनुभूतिको संरचना गहिरो सँग गाँसेर माला बनाउन कथाको कथानकले सकेन ।

कमरेड अटल र कमरेड विश्वासबीचको सम्बन्धबाट सुरु भएको कथा पलायन कमरेडमा ठूलो एयरपोर्ट केन्द्रमा पारिएको छ । कमरेड अटलले बेलायती भूमिमा देखेका फराक सडकहरु हामीसित छैनन्, कमरेड विश्वासले त्यस्तो स्थितिको आगमनका लागि ठूला मानिस इमानदार हुनुपर्ने अभिव्यक्ति प्रकाश गर्दा हाम्रा अग्रजको कमजोरी प्रकाशमा आउँदछ । अतिथि अटललाई मित्र विश्वासले घरमा नलगेर होटेलमा पु¥याए तथा त्यहीँ बस्ने खाने स्थिति मिलाइदिएको घटना अति सामान्य छ, त्यस देशमा मात्र होइन, नेपालमा पनि सामान्य बन्दैछ । मन नपरेको वा आफू अनुकूल नभएको होटेल शाहीको सत्कारले तान्न सकेन, साँझमा घर लैजाने समयको प्रतीक्षा रहिरह्यो (पृ. १९) । उताको भूमिमा सबै जातका मानिस काममा व्यस्त देखिए, यताको भूमि नेपालतिर सम्झना गर्दा जातको पहिचान भन्दै द्वन्द्व चर्किएको स्मरण कमरेडलाई भयो । घर परिवार, दुई छोरी, संस्कार, पूजापाठ र घण्टीको आवाज एकातिर अर्कातिर कमरेड भएपछि यी सबैको परित्याग हुनुपर्ने हो । अटलले पूजा कोठामा पूजा गरिरहेको प्राणी बाहिरबाट नै त्यस आश्रमकी गृहिणी भएको बुझ्दा पार्टीसँगको नीति एउटा हात्तीको दाँतझैं लाग्यो ।

संस्कार, धर्म र छुवाछुतको सीमा भत्काएर क्रान्तिलाई बलले ल्याउने गरी गरेका हिजोअस्तिका प्रयासहरु स्मरणमा आएछन् । एउटा कमरेडको बेइमानी र आर्थिक हिनामिनालाई अर्का पात्रले बचाएको पोल नखुले पनि मनमा त्यसको छाया (बिम्ब) मेटिएको छैन । एउटा विदेश गएर आफ्नो पूर्व इतिहासलाई पूर्व पर पन्छाएर धन कमाउनमा व्यस्त कमरेड विश्वास र ठीक विपरीतमा यताको क्रान्तिकारीको घेराभित्रको सोच बोकेका अटलमा सोचाइको खाडल बन्ने देखिएको छ । यी संवाद र कथानकको प्रकृति, दृष्टिबिन्दु र भाषाशैलीको संरचना, देशकाल परिस्थितिको एउटा डोरो हिँडुन्जेल हिँडेजस्तो लाग्छ, पर पुगेपछि सबै मेटिने खालको भएकाले यथार्थको भ्रम नेपालमा बसिरहेका हामीजस्ता पाठकलाई दिन नसकेको ठहर भएको छ ।

‘मिडिया मुस्कान’ कथा सकारात्मक सोचको कथा हुनाले उचित विषय ग्रहण गरिएको ठहर गरिन्छ । पत्रकारिता आजको जल्दोबल्दो विषय मात्र नभएर अन्याय, शोषण, अपराध, कालो धन्दाबाट सबैको पर्दा खुल्ला गरिदिने स्रोत बनेको छ । यसमा एउटी प्रमुख पात्रका रूपमा प्राप्त युवतीले पत्रकारिताको प्रयोगशाला बधशाला खोजी । नेपालका मिडियाले बालबालिका र महिलाका विषयमा खेलेको भूमिकामा अनुसन्धान गर्ने सिलसिलामा विद्यावाचश्पति गरेर सफलता हात पारी परिस्थितिअनुसार मुस्कानको रुप फेरिन्छ, “भेट्दा अनौपचारिक मुस्कान । टिभीमा मिडिया मुस्कान । काम सकेर घर जान बिदा माग्दा गम्भीर मुस्कान” पात्रका चरित्र हुन् । पात्रले गर्ने गरेका प्रमुख काममा सम्पादकसित औपचारिक कुरा, काममा बफादारी र मुस्कानका साथमा कार्यक्रमको प्रस्तुतीकरण उसको बाहिरी क्रियाकलाप देखिन्छ । युवतीको भित्री काम शोधसँग जोडिएको छ– यसमा तथ्य सङ्कलन, तिनको वर्गीकरण, त्यसबाट मिलाएर लेखिने भाषा, शोधपत्र र त्यसको डिग्री एवार्ड कार्यक्रमसम्म पुगेको स्थिति सकारात्मक सोच भएकाले विषयको छनोटबाट यथार्थको भ्रम(Illusion of Reality) सिर्जना भएको अवस्था छ ।

‘तेस्रो कुकुर’ कथामा समाख्याताले कार धुने पखाल्ने कामको जिम्मेवारी पाएको छ । बिना तलबको जागिर खान्छ, समाख्याताकने मन उघ्रिएको छैन । कागजपत्रकी पत्नीले खुरुखुरु काम लदाउँछे, माया छैन र मान्छेझैं गर्दिन । कागजका पतिपत्नी भएर बसे पनि मांसल सुखभोग भएन । वरपरकाले जेबुझे पनि नोकरको काम गरिदिनुपर्छ, दुई कुकुर छन् यो मान्छे तेस्रो कुकुरझैं अन्न खाएर घरकीको सेवा गर्छ । त्यताका नागरिकसित बिहे गरेर उसको नोकरपति भएर केही समय लगभग तीन वर्ष जति पार गरेपछि नागरिक बन्न सकिन्छ, अनि पारपाचुके गरेर आ–आफ्नो बाटो लागेपछि नेपालबाट जहान छोराछोरी लान सक्ने चलन हुन्छ । नेपाली समाज, संस्कार, संस्कृति, धर्म, चेत र पर्यावरणमामात्र सीमित पाठकले यस्ता बनावटी घटनासित आत्मसात् गर्दैनन् र यी पात्र पनि समाजका प्रतिनिधि पात्र होइनन्, यस्तो विषयलाई केन्द्रीय विषय मान्नुभन्दा अन्य मूल विषयभित्र परिधीय बनाउन प्रयास गर्ने कथाकारहरु धेरै हुनुहुन्छ ।

समलिङ्गीको विषयलाई ‘मौन युद्ध’ कथामा समेटिएको छ । पछिल्लो समयमा तेस्रो लिङ्गी, समलिङ्गीहरुले साहित्यमा स्थान पाउन थाले, मोहनराज शर्माले ‘सलिजो’ नामक उपन्यास साठीको दशकमा लेखिदिनु भएपछि एउटी केटी र अर्की केटीले बिहे गरेको घटना नेपाली आख्यानमा बिम्बित भयो, गाढा रुपमा प्रकाश भएको पाइएको हो । त्यसैगरी एउटा महिलाले खेल्ने पाठ खेलेर अनाथ बालक बेलायत पु¥याउँछे, उसमा पुरुष चरित्र छन् तर महिलाको रुपमा उपस्थित भएर कुनै पुरुषसित विवाहको नाटक रच्न सक्छे । पालिएको अनाथले सोधेको जवाफमा भनियो “डाक्टरसँगको सल्लाहले नै केही अपरेशन र केही स्त्री हार्मोन बढाउने औषधी खाएर नारी रुपमा आफूलाई परिवर्तन गरेकी थिएँ, तर बिस्तारै मेरो नारी स्वरुप हराउँदै गयो, पुरुष प्रकृति देखा पर्न थाल्यो, पुरुषभित्र नारी स्वभाव र प्रकृति मन पराउने तिम्रो ड्याडले मलाई छाडेर गएका हुन् (पृ. ५४) । सामाजिक चेतको डायास्पोरिक विषयमा दर्ता हुन सक्ने सन्दर्भ यस कथामा समेटिएको छ ।

कुनै आपत्विपत्बाट आफ्ना स्थान छाडेर परको समाजमा गई त्यहाँको मिश्रित संस्कारलाई आत्मसात् गर्नु डायास्पोराको एउटा धर्म भएकाले यस अनाथले अनुभूत गरेको सन्दर्भ त्यस्तै नेपालको राजनीतिलाई उचित रुपमा साहित्यिक रुप दिई लेखिएको कथा ‘देवकोटाको सालिक मङ्गलग्रहमा’ दोस्राको खैलाबैला तेस्राको लाभ भएको परिणाम देखाउँछ । सालिक बन्ने बनाउने क्रममा पैसा उठ्यो, तर सिद्धिचरण वा लक्ष्मीप्रसाद तथा विद्यापतिमध्ये कसको महत्व ठूलो होला भन्ने द्वन्द्वमा सङ्गठनात्मक क्षमता र कार्यकुशलताका धनी मानिएका त्रिलोकनाथ शर्माले आफ्नै सालिक बनाउन लगाएर एउटा लघुकथामा हुने रहस्यको खुड्किलो उक्लिएका छन् । अन्त्यमा यस देशमा राजनीति गर्ने समावेशीको भाग मात्र खोज्नेहरु जिल्ल पर्ने घटना आउँछ । समयचेतको राम्रो उपयोग गरिएको विद्यापति तथा देवकोटाको प्रतिकात्मक बिम्ब ग्रहण गर्दै सम्मान गरिएको कथामा साहित्यको मूल्य बोध हुन्छ र साहित्यकारको नाम सुनौलो अक्षरमा लेखिएको कथाकारको अन्तर धरातल अथवा मन प्रशस्त छोइने भएर आएको हुनाले यस कथामा यथार्थको भ्रम सिर्जना भएको छ ।
‘तेस्रो कुकुर’ तथा ‘म सिसिफस’ दुवै कथाले विदेशी भूमिमा पुगेपछि नेपाल, भारत, भुटानबाट जाने युवकले पाउने कष्टको प्रकृति बोल्दै छन् । यी कथामा पात्रलाई बिहे गरिस्, पति वा लोग्ने भइस् भनिदिने र दिनरात होटलमा भाँडा माझ भनी जोताउने इत्यादि कार्यको अनुभूति दिलाइन्छ । सिसिफस निबन्धमा पात्रले गह्रौं ढुङ्गो माथि पु¥याउँछ, तल झर्न दिन्छ र फेरि माथि नै पु¥याउँछ, नित्य गर्छ । त्यसै गरेर यस तेस्रो लिङ्गीको पति बनाइएको पात्र– कसैको लोग्ने भएको भ्रम पाल्छ, लेस्वियन (तेस्रो लिङ्गी)को लोग्ने भएर बस्ने वीर ठहरिन्छ, रेस्टुरेन्ट आफ्नो हो भन्ने ठान्छ र साँझ बिहान नभनी काममा खट्छ । यस प्रकारका साधारणदेखि परसम्मको स्वादका कथानकको व्यवस्था डायास्पोरामा हुन्छ ।

‘गड्यौला उर्फ सत्यराज’ यहाँ त्यहाँ सबै ठाउँको कथा हो । राधेश्याम हिन्दी बोल्न रुचाउँछ, अनुलता अंग्रेजी तथा नेपाली बोल्न रुचाउँछे । दिनभरि सत्यराज अनुसन्धानको काममा गएकाले अनुलता एक्ली भएकी हुन्छे । ‘बेलाबेलामा अनलाइनमा देखिन्थी, भ्वाइस च्याटमा रमाउँदथी । बचेको समय फेसबुकमा अल्मलिन्थी ।’ पत्नीको समय यसरी बित्न लाग्यो । भने पति ‘बिहानै उठेर युनिभर्सिटीको ल्यावमा छिरेपछि दिनभर गड्यौलासँग समय बिताउँदथे ।’ यस्तो परिस्थितिमा तेस्रो व्यक्ति राधेश्याम यही घरभित्रको अर्को कोठामा बस्ने गरी आएको छ । धेरै समयसम्म यस प्रकारबाट बस्दाबस्दै आफ्ना पतिले गड्यौलाको अनुसन्धान कार्यमा समय दिँदादिँदै पत्नीको शारीरिक चाहना पूरा गर्न नसकेको स्थितिमा अनुलता र राधेश्याम आपसमा मियोमा कसिएछन् र त्यस ठाउँबाट अल्पिएछन् । सत्यराज गड्यौलाझैं लुलिएछ । यस्ता कथामा शरीरजन्य बाध्यताको विषय प्रस्तुत भएको पाइन्छ, ‘डायस्पोरा’को लक्षणभन्दा संसारको भूमिमा प्राणी मात्रको आवश्यकतातर्फ लेखकीय दृष्टि मोडिएको हुनाले यस्ता विषयमा बेलायत तथा अमेरिका मात्र उचित स्थान नभएका उदाहरणहरु साधारणीकरण हुन सक्छन् ।

डायास्पोरा (Diaspora) ‘सन् ७० मा रोमनहरुले लडाइँमा हराएर धपाइदिएपछि यहुदीहरुको अन्य धर्मावलम्बी जेन्टायल(Gentile) राष्ट्रहरुमा निर्वासन भएको हो, सन् १९४८ मा एरेटस इजरायलको स्थापनापछि समाप्त भएको बताइन्छ (दीक्षित, २०५७ ः १२७) ।’ यो शब्दकोशले दिएको अर्थमा यहुदीहरु धपाइए, विश्वभरि अनेक काम गरे, अनेक ठाउँमा मारमा परे, ग्यासच्याम्परमा आलु पोलेझैं पोलिए । जेरुसलेम (इजरायल) को स्थापनाले डायस्पोराको समस्या समाधान भएको छैन, यहुदीले राज्य पाए अर्काको चिहान भत्काएर आफू मालिक हुँदैमा समस्याको टुङ्गो लागेको छैन । संसारभरिबाट घटनामा परेर वा कामको खोजीमा अन्य देश जानेहरुको सङ्ख्या धेरै बाक्लो र प्रतिशत उच्च छ । हाम्रा अग्रज नेताहरुले देशको यस्तो प्राकृतिक सम्पदा हुँदाहुँदै, सगरमाथा, लुम्बिनी, नदीनालाको देश भन्ने गर्व गर्दागर्दै अवसरहरु सिर्जना गरिदिएनन्, त्यसैले हामी र हाम्रा सन्तानले विदेशी भूमिमा पसिना बगाउन जानुपर्ने अवस्था आएको छ, त्यो सबैको साझा समस्या हो र त्यसलाई डायस्पोरा एवम् त्यसबारे लेखिएमा डायास्पोरिक सङ्कथन(Diasporic Discourse) हुने मान्यता विकसित भयो । मनमा पूर्वस्मृति आइरहनुपर्छ, आफ्नो ठाउँप्रति अनुराग भइरहनुपर्छ । मिश्रित संस्कृतिको बीचमा उभिनुपर्छ, आफ्नो भूगोल, कानुन र धर्म गुमेको चिन्ता रातदिन हुनुपर्छ, म मात्रै उछिट्टिएँ, छोडिएँ, फ्याकिएँ, परिचय गुमाएँ भन्ने चिन्ता हुनुपर्छ । म फेरि आफ्नो मूलसित जोडिन सक्छु वा सक्दिनँ भन्ने व्यग्रताले सताएको स्थितिमा मात्र डायास्पोरिक साहित्यको सही परिभाषा समाइन्छ (भट्टराई, २०६४ ः ११९) । यसमा लैनसिंह बाङ्देल, प्रकाश ए. राजबाट यस लेखनको प्रवेश नेपाली साहित्यमा भएको हो ।

समान अधिकार, पतिपत्नी र एकल परिवारको उदाहरणलाई मिल्ने कथा लोग्ने र अस्थायी शत्रु हो । यसमा महिलालाई ठूलै घमण्डकी धनी देखाउँदा पूर्वाग्रह हुने अवस्था पनि आउला । प्यारले मानिसलाई जित्न सकिन्छ हो, काममा गएर आएको पति राम्रा उपहार दिन सुरु गर्छ, अब सुधारमा आउँछे । पाठकले गर्ने आशा त्यही हो, तर यसरी प्रतिनिधिहीन विषयलाई साह्रै महत्व दिएर कथा लेख्नेहरु औधि आलोचनाका भागिदार हुन्छन् । यो पात्र औसत पात्रमा नपर्ने भएपछि, पक्ष विपक्षको विचार नगरी लेखिएको कथा र कथानक जस्तै हुन्छ ।

समयको चेतमा अडिएको, नेपालको माओवादी जनक्रान्ति समाप्त भएपछिको कथावस्तुमा आधारित कथा ‘गणतन्त्रपछिको प्रेम’लाई अबका दिनबाट हेरिएको छ । पात्रले जनताको मर्का नबझुी घरको अभिभावक अपहरण गरे, सन्तानले ज्यान जोगाउन सरकार गुहारे । त्यसैको परिणामस्वरुप युवती बेलायत पुगी, अपहरित बाबुकी छोरीले अरुको सहयोगबाट राम्रो कमाइ गर्ने ठाउँ पाई । अपहरणकर्ता बेरोजगार भएपछि भाग्दै छलिँदै बेलायती भूमिमा कामदार भएर पुग्यो, उसको कष्टपूर्ण कार्य देखाइयो रमिता हेरियो । यस्तो प्रकारले सारांशमा क्रान्तिकारीहरुको आजको स्थितिलाई कथामा समेट्न खोजिएको छ ।

कमरेडहरुलाई परिस्थितिले साथ दिएन, स्थितिको विपरीतता जन्मियो, समय सधैं आफ्नो पकडमा नहुने रहेछ, शक्तिकी देवी सरेर अन्य ठाउँमा पुगेकी हुँदिरहिछन्, आफ्नो बल भएका समयमा मनपरी गरिँदो रहेछ, हाम्रो बुद्धि र विवेक छोटो भएर आउँदो रहेछ र पश्चात्ताप मात्र हुने रहेछ भन्ने विषयमा कथा लेख्दै जाँदा ‘कमरेड भाउजू’ को रुप देखियो ।

कथाकारले प्रशस्त साधना गरेका छन्, ध्यान तानेका छन् र आफ्नो अनुभूतिको संरचना प्रस्तुत गरेका छन् त्यसलाई राम्रो पक्ष मानिन्छ । कथाका कतिपय घटनामा प्रतिनिधित्व विषयको चयन नभएको, अनुभूति पूर्वाग्रही भएको हाम्रो अनुभूतिको संरचना बन्दो छ । नारीलाई सिर्जनामा सरिक गराएको, उपन्यास लेख्न प्लट खोज्दै हिँडेको ‘सिङ्गल डट कम’ कथामा र ‘मिडिया मुस्कान’ मा नारीको शिल्प अध्ययन गरिन्छ । महिलाहरुलाई उच्च स्थान दिने र प्रतिभाशाली देखाउने कथाकारलाई नारीवादी कथाकार भन्ने गरिन्छ । यहाँ त्यति पर नपुगीकन उच्च स्थान र पात्रको उच्च भूमिकामा नारीलाई उभ्याइन्छ । उच्च स्थान दिएर पात्र नारीलाई उठाउने कथाकारमा विश्वेश्वरप्रसाद कोइरालाको नाम उल्लेखनीय छ र पात्र नारीलाई डरपोक देखाउनेमा गुरुप्रसाद मैनालीको नाम उल्लेख हुन्छ । यस कृतिका कथाकारले पनि उच्च नारी पात्र स्थान बनाएको एउटा कथा सिङ्गल डटकम हो ।

छोराछोरीको उपस्थितिबाट आफ्नो आयु परीक्षणमा आउँछ । ‘मौनता र शान्ति’ कथामा त्यस्तो कुरो स्पष्टसित बोलेको छ, तथापि पूर्वस्मरण, मातृभूमिको पीडा, नेपालतिरको मायाममता स्नेह आदिमा कुनै पश्चात्ताप र चिन्तन नभएकाले यो कथामा ‘डायास्पोरा’का लक्षणहरु विचलनमा आएका छन् ।

‘चौंथो विवाह’ कथाले बिहेलाई खेलाँची ठान्दै पटक पटक गरिरहने कार्य मान्दै लगेको बेलायती समाज गरिमामय देखिएन । समाजले त्यस्तो कार्यमा गरेको व्यवस्था, नीति तथा कानुनले नेपाली संस्कारको अपमान गरेको हुनाले त्यस चलनको आलोचनात्मक व्याख्या हुन पुगेको छ ।
अन्त्यमा पुग्दा कृष्ण बजगाईका यी ‘कमरेड भाउजू’ सङ्ग्रहका कथाहरु प्रायः युरोपेली भूमिमा हुने घटनाबाट अभिप्रेरित भए पनि जन्मभूमिको पीडाबाट ग्रसित, तड्पमा परेका पात्रको अनुभूति प्रशस्त छोइने भएर आएका नदेखिएकाले ‘अनुभूतिको संरचना’ आधारभूत रुपमा स्थापित गर्न असमर्थ देखिन्छन् । दुई कथाहरुमा ‘मिडिया मुस्कान’ र ‘सिङ्गल डट्कम’ शीर्षकका कथाले अहिलेको समय पक्रन सकेको, जल्दोबल्दो विषय र पर्यावरण अनुकूल रुपमा समाउन सकेको अनुभूतिबाट यथार्थको भ्रम सिर्जना हुनसक्छ ।

सन्दर्भ सामग्री सूचीः-
भट्टराई, गोविन्दराज (२०६४), उत्तरआधुनिक विमर्श, काठमाडौं ः मोडर्न बुक्स ।
दीक्षित, नरेन्द्रमणि आचार्य (२०५७), अङ्ग्रेजी–नेपाली साझा संक्षिप्त शब्दकोश, ललितपुर ः साझा प्रकाशन ।
बजगाईं, कृष्ण (२०७१), कमरेड भाउजू, काठमाडौं ः शब्दार्थ प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 भाद्र, 2072

लेखकका अन्य रचनाहरु