ज्योति, ज्योति, महाज्योतिमा व्यञ्जित सामाजिक–सांस्कृतिक यथार्थ

- प्रा. डा. कपिल लामिछाने

नेपाली उपन्यासका क्षेत्रमा थुप्रै उपन्यासहरू लेखेर ठूलो योगदान पुर्याएका उपन्यासकार दौलतविक्रम विष्ट (१९८३) का नयाँ उपन्यासहरू अझै पनि बजारमा आउँदै छन् । २०४६ कार्तिकसम्म उनका आठवटा उपन्यास प्रकाशमा आइसकेका छन्, जस मध्ये ज्योति, ज्योति, महाज्योति (२०४५) सातौँ उपन्यास हो । सामाजिक र सांस्कृतिक महत्त्वको बृहत् उपन्यास ज्योति, ज्योति, महाज्योतिले २०४५ सालको मदनपुरस्कार प्राप्त गरेको हो । लगन र लेखनलाई हेर्दा पचास हजारको रकमले पारिश्रमिकलाई पनि थेग्दैन, तापनि पुरस्कार भनेको मूल्य होइन, सम्मान र प्रोत्साहन हो भन्ने मानेमा विष्टले सो उपन्यासमा पाएको पुरस्कारलाई सम्मान मान्नै पर्छ ।
पशुपति क्षेत्रको सेरोफेरो र त्यहाँको जनजीवनका कथा, व्यथा, रहनसहन, जीवनशैली आदिलाई प्रतिपाद्य बनाएर लेखिएको ज्योति, ज्योति, महाज्योति सामाजिक यथार्थवादी उपन्यास हो । यसमा सामाजिक–सांस्कृतिक यथार्थको चोटिलो प्रस्तुति भएको छ । पशुपतिनाथ र आसेपासे अन्य देवीदेवताको समेत राम्रो वर्णनविश्लेषण भएको यस उपन्यासलाई धार्मिकहरूले ‘धार्मिक’मान्ने भम्र पनि गर्लान् । वास्तविकता त्यो होइन । पशु (जीव, खासगरी मान्छे), पाश (सांसारिक लोभ–मोह–प्रपञ्च आदि) र पति (पशुलाई पाशदेखि मुक्त गर्ने शिव वा ईश्वर) को समेत चर्चा भएकाले यसलाई दार्शनिक ठान्ने धृष्टता पनि नगरिएला भन्न सकिन्न । गाँठी कुरो त्यो पनि होइन । यो उपन्यास मूलतः सामाजिक यथार्थवादी हो । यसले सामाजिक यथार्थलाई जीवन्त रूपमा अभिव्यक्ति दिएको छ । सामाजिक असमानता, विसङ्गति, धर्मका नाममा चलेका अनेक कुसंस्कार, कुरीति र अन्धविश्वासलाई यस उपन्यासले जरैदेखि भत्काउन खोजेको छ । धार्मिक पवित्र स्थल मानिएको पशुपति क्षेत्रभित्र बसेर पनि गाँजा, भाङ, चरेस जस्ता लागू र निषिद्ध पदार्थको व्यापार गर्ने र मानव–कङ्कालको तस्करी गर्ने वडाध्यक्ष कृष्णलाल वैद्य, पशुपतिनाथको नयाँ भट्टको कामवासना र तत्जन्य क्रियाकलाप, पैसा वा भेटी नचढाएसम्म फूल प्रसाद पनि नपाइने तर थैली फुकाउन थालेको देख्नासाथ ठूलो खायस गर्दै जलप्रसाद समेत दिन व्याकुल बन्ने पशुपतिनाथका भट्टको द्रव्यपिचासी मानसिकता, स्कुलको वार्षिक उत्सवको मौका छोपी आफ्नो प्रचार गर्ने स्याङ्जाली जाली राजनीतिज्ञहरू अनि त्यस्तै मौका पारेर रक्सी धोक्ने नाङ्गा सरकारी अधिकृतहरू, कुचाले हिर्काएर फुकफाक गर्ने अधबँैसे कुचाले माइराम, अघोरी साधुद्वारा गोप्य रूपमा गर्भाधान गराउने निस्सन्तान साहु जय जय रामकी साहुनी, पशुपतिको वेलबोटमुनि हठयोग गरेको स्वाङ रचेर बस्ने र सुसार गर्न खटाइएका बुढी कन्या र विधवी तरुनी च्यापेर चुइँकुच्चा ठोक्ने कथित योगी, परेवा र बाँदरलाई भनी गहूँ र मकै त छर्ने तर मगन्तेले छोएमा प्रहरीका डन्डा ख्वाएर लखेट्ने धार्मिक व्यक्ति आदि त्यस क्षेत्रका वर्तमान वास्तविकता हुन् । यसै गरी यस उपन्यासमा कतै परिवार पाल्न दसोटा नाठा खेलाउन पर्ने गुर्मा सुभद्राको नाजुक आर्थिक अवस्थाको चित्रण छ त कतै तिनै सुभद्राको चकचकीको कथा छ । कतै सोझा र निर्दोषलाई चोर भनी कुटेरै अपराध सकार्न लागाउने इमान्दार र कर्तव्यनिष्ठ प्रहरीका क्रियाकलापको चित्रण छ त कतै पिङबाट चुच्चेढुङ्गामा बजारिएर मस्तिष्कमा ठूलो चोट पर्न गई विक्षिप्त भएर गाउँघर छाडी आएको घाइते शङ्करलाई सिद्ध मानी पुज्ने सोझा, अबूझ सर्वसाधारण तथा स्वार्थी धनलोलुप धनिराम साहूका चरित्रको चित्रण छ । कतै अंशियार तर टुहुरो भतिजा शङ्करलाई कुटेर लखेट्ने होमप्रसादको चित्रण छ कतै अनाथ परशुुलाई माया गरी पाल्ने–पोस्ने–पढाउने दीनानाथको आदर्श चरित्रको चित्रण छ । यस्तै कतै अघोरी ‘क’लाई गिँडेको घटना छ त कतै नक्कली सुभद्राले कलेजको पाले टिपेर हिँडेको घटना छ । कतै विकलाङ्ग मगन्ते स्वास्नीमान्छे माथि दिउँसै सडकमै बलात्कार गर्ने ग्वारामरिचाको चित्रण छ त कतै हराएको पतिलाई वषौँवर्षसम्म पर्सिबस्ने र त्यही पतिव्रताले अन्धी भएर विक्षिप्त घाइते शङ्करलाई पति मानेर सेवा गर्ने पतिव्रता प्रजाम्बीको चित्रण छ । समाजमा विद्यमान समसामयिक यस्तो वास्तविकताको उद्घाटन गर्दा यस उपन्यासले पशुपतिनाथ वा अन्य कुनै पनि देवीदेवताप्रति आस्था र विश्वास पनि जगाउँदैन र अनास्था र अविश्वास पनि उमार्दैन । न त कसैप्रति घृणाभाव नै जगाउँछ । मानवनिर्मित अबोला ती प्रस्तरमूर्ति त सब निरपेक्ष छन्, असंलग्न छन्– मानवीय तिकडमदेखि । हो, साधु, सन्त र सिद्ध भई खाने ठग, धूर्त र तस्करलाई भने तिनको पोल खोल्दै उपन्यासले उल्लीबिल्ली पारेको छ, ‘धार्मिक’ भनाउँदाहरूका खराब आचरण र चरित्रको खिसी गरेको छ । राष्ट्रिय सांस्कृतिक महत्त्वको पक्षलाई कत्ति आँच नआउने गरी सामाजिक, धार्मिक कुसंस्कार र अन्धविश्वासको सफल र कुशल चित्राङ्कनले गर्दा प्रस्तुत उपन्यासको महत्त्व झन् बढ्न गएको देखिन्छ । ब्यङ्ग्य, विद्रोह र छेडपेचले गर्दा उपन्यास रोचक पनि बन्न गएको छ ।
यस उपन्यासमा उपन्यासकार विष्टले शिव, पार्वती, काली, कावेरी आदि देवीदेवताका बारेमा धार्मिक र पौराणिक ग्रन्थमा भएका कतिपय विवादास्पद र भ्रामक कुरालाई ऐतिहासिक तथ्यका आधारमा व्याख्या र विश्लेषण गरेका छन् । उपन्यासको समाख्याता परशु स्वयम् नै संस्कृतिको छात्र हो र ऊ ‘शिवजीको समयपछि अस्तित्वमा आएका देवीदेवता’भन्ने विषयमा विभिन्न परिच्छेदमा शोधग्रन्थ तयार गर्दै छ । उसका अभाव, अनुभव, अनुभूति, संवेदना र पारिवारिक–सामाजिक सम्बन्धहरूलाई अभिव्यक्ति दिने सिलसिलामा नै नेपाली समाज, संस्कृति, हिन्दू दर्शन, पाशुपत दर्शन, पशुपति क्षेत्रका विशेषता उद्घाटित हुँदै गएका छन् ।
विभिन्न पात्रमध्ये परशु, प्रजाम्बी, दीनानाथ, घाइते शङ्कर, गजराज, सुभद्रा, होमप्रसाद, लक्ष्मी आदि उल्लेख्य छन् । प्रजाम्बी प्रमुख नारी चरित्र हो । उसको विवाह सानै उमेरमा होमप्रसादको भतिजो शङ्करसित भए तापनि उसकै अगाडि रामुको हात भाँचेको निहुँमा बेसरी कुट्दा शङ्कर भाग्छ र कहिल्यै फर्किँदैन । धेरै वर्षपछि पशुपति क्षेत्रमा त्यस्तै उमेरको विक्षिप्त व्यक्ति देखापर्छ, जसको हातमा पनि शङ्करकै जस्तै ‘शङ्कर’भन्ने गोदाइएको पाइन्छ । पछि दीनानाथ त्यसलाई प्रजाम्बीको पति शङ्कर ठान्छन् र बाजेले त्यस्तो ठानेकाले प्रजाम्बी पनि घाइते शङ्करलाई माया गर्छे । सुसार गर्छे । नुहाइदिन्छे । परशु पनि बालसखा शङ्करको त्यो अवस्था देखेर दिक्क हुन्छ । बाल्यकालका घटना सम्झेर पुलकित हुन्छ । घाइते शङ्करलाई सुधार्ने अनेक चेष्टा पर्दा पनि सुध्रन्न । सहरमा ऊ ‘सिद्ध’मानिन थाल्छ । प्रजाम्बी उसका लागि भनेर तीजमा व्रत बस्छे । अन्तमा दीनानाथको भाइ पर्नेले शङ्करलाई देखेपछि पोल खुल्छ, रहस्य पत्तो लाग्छ । त्यो त प्रजाम्बीको लोग्ने नभएर पिङबाट लडेर विक्षिप्त भएको र कति औषधोपचार गर्दा पनि ठीक नभएको शङ्कर पो हो । उसका भरपर्दा र प्रामाणिक कुरा सुनिरहेकी प्रजाम्बी हाँस्छे र हाँस्दाहाँस्दै मर्छे अनि महाज्योतिमा मिल्छे । एक प्रकारले उपन्यास दुखान्तमा टुङ्गिन्छ । व्यक्ति व्यष्टि हो । व्यक्ति–व्यक्ति मिलेर समूह बने जस्तै व्यष्टि व्यष्टि समष्टि बन्छ । व्यक्ति एउटा व्यष्टि ज्योति हो र त्यस्ता ज्योति, ज्योति मिलेर एउटै महाज्योति बन्छ । प्रजाम्बी पनि एउटा ज्योति हो । महाज्योतिमा मिलेकी छ । प्रजाम्बी जस्तै सबैसबै अन्तमा उही महाज्योतिमा मिल्नु पर्छ । यसरी अनेकतामा एकता र एकतामा अनेकता व्याख्यायित हुने हिन्दू दर्शनलाई यस उपन्यासले गुदीका रूपमा अभिव्यक्ति दिएको छ ।
पशुपतिनाथका पञ्चस्वरूप सद्योजात, वामदेव, तत्पुरुष, ईशान र अघोरको आधारमा परिच्छेद विभाजन, नामकरण र औपन्यासिक सङ्गठन गरिएको छ । चेतनप्रवाह शैली भए तापनि विवरणात्मकता छुटेको छैन । यसको यथार्थ बाह्य हो, सामाजिक–सांस्कृतिक यथार्थ, मनोयथार्थ यहाँ छैन । पात्र थुप्रै छन्, तर यो चरित्रप्रधान उपन्यास होइन । उपन्यास मोटो छ, यसमा उपन्यासकारको आत्मस्वीकृति पनि छ । ऐतिहासिक सन्दर्भ, दार्शनिक तथ्य र स्थानीय विशेषतालाई केलाउनपट्टि लाग्दा यसो भएको हो । त्यस्तो मोह पन्छाउन सकेको भए उच्चाट लाग्ने लामालामा भाषण जस्ता अनुच्छेदले पाठकलाई दिक्क पार्ने थिएनन् । विष्टको भाषामा परिष्कार र कलात्मकता भए पनि छपाइसम्बन्धी त्रुटिहरूले गर्दा पढ्दा खल्लो लाग्नु स्वाभाविकै हो । निष्कर्षमा विष्टको यो उपन्यास सामाजिक–सांस्कृतिक मूल्यलाई ठम्याएर तिनका खराबीको परिशोधनको अपेक्षा राख्दै मूलतः सामाजिक यथार्थवादका धरातलमा हिँड्न सफल छ । यसको महत्ता शिल्पशैलीमा भन्दा कथ्य र प्रतिपाद्यमा रहेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 भाद्र, 2072

लेखकका अन्य रचनाहरु