नेपाली वाङ्मयका अविश्रान्त साधकः चूडा मणि रेग्मी "एक अभिरेखाङ्कन"

- अनिरुद्ध तिमसिना

१. विषय प्रवेश:–
नेपाली भाषा र साहित्यका अविश्रान्त साधक चूडा मणि रेग्मी साधना, श्रम, सिप, समर्पण र स्वाभिमानका दृष्टिले विरलाकोटिमा पर्ने स्रष्टा र द्रष्टा हुन् । बहुआयामिक व्यक्तित्वका धनी रेग्मीले महाकाव्य र उपन्यास विधा बाहेक अरु सबैजसो विधामा कलम चलाए र उत्कृष्ट कृतिहरु दिएका छन् । साधनाका क्तममा कथा, कविता, निवन्ध, भाषा–व्याकरण, समालोचना, यात्रा वृत्तान्तका साथै पत्रकारिता (विशेषतः साहित्यिक पत्रकारिता)मा समेत योगदान दिइरहेका छन् र विशिष्ट रुपमा प्रस्तुत गरिरहेका छन् । उनको साहित्यिक यात्राको प्रथम पाइलो कविता नै हो तापनि सङ्ग्रहका रुपमा भने २०५० सालमा आएर मात्र ‘भावना’ (लघुकाव्य सङ्ग्रह)का रुपमा देखापर्यो । साहित्यकार चूडा मणि रेग्मीको प्रथम प्रकाशितथ रचना ‘हामी युवक बढ्दै छौं’ शीर्षकको कविता हो । यो कविता २०१२ सालमा ‘रहर’ (सामूहिक कविता सङ्ग्रह)मा प्रकाशित भएको देखिन्छ जसको सम्पादक बलराम उपाध्याय (बनारस) देखिन्छन् अनि ‘जाग बिहान भयो’ पनि ‘छात्रवाणी’ (२०१२) मा त्यसै वर्ष प्रकाशित भएको पाइन्छ । उनको पहिलो प्रकाशित पुस्तक ‘पहिलो यात्रा’ कथा सङ्ग्रह (२०१२) हो । सं. २०३० सालभन्दा पहिलेसम्म नेपाली साहित्यको सिर्जनशील क्षेत्रमा उनी कथाकारकै रुपमा विशेष चर्चित रहेका देखिन्छन् यद्यपि उनको रचनाकारिता, कथा र निवन्ध मात्र नभएर नेपाली वाङ्मयका क्षेत्रमा विविधीकृत हुँदै अन्तर्गर्भी बनेर अगाडि बढिरहेकै थियो । सं. २०२१ सालमा बनारसबाट प्रकाशित ‘आमा’ पत्रिकामा उनको ‘जुवा’ निवन्ध प्रकाशित भएको हो । यो निवन्ध उनको २०३० सालमा प्रकाशित ‘साधना’ निवन्ध सङ्ग्रहमा सङ्कलित छ । उनको अर्को निवन्ध सङ्ग्रह ‘धुनमा घुन’ (२०३५) प्रकाशित भएपछि चूडा मणि रेग्मी निवन्धका फाँटमा पनि स्थापित व्यक्तित्वका रुपमा देखापर्छन् । जीवनको आठौं दशकमा यात्रा गरिरहेका रेग्मीको कविता–काव्य सङ्ग्रह भने सं.२०५० सालमा आएर ‘भावना’ (लघु काव्य सङ्ग्रह) का रुपमा बाह्र श्लोकदेखि बयालीस श्लोकसम्मका सातवटा लघुकाव्यहरु सङ्ग्रहित र प्रकाशित छन् । नेपाली साहित्यको इतिहासमा लघुकाव्यको स्पष्ट परिभाषा भएको छैन र पहिचान पनि छैन । बहुआयामिक प्रतिभाका धनी रेग्मी कवि, कथाकार, भाषा, व्याकरणविद्, निवन्धकार, हास्यव्यङ्ग्यकार, समालोचक मात्र नभएर एक जिम्मेवार प्राध्यापक, पत्रकार, समाजसेवी एवम् एक असल संरक्षकका रुपमा ख्यातिप्राप्त व्यक्तित्व हुन् । उनी सचेत, सजग र निरन्तर क्तियाशील, ऊर्जा सम्पन्न परिवर्तनकामी प्रगतिशील विचारका सशक्त व्यक्तित्व हुन् । उनका निम्न लिखित सिर्जनाहरुले यस कुराको प्रमाण दिन्छन् ।
२. रेग्मीको रचनाकारिता, सम्मान र पुरस्कार एवं प्रवृत्तिगत वैशिष्ट्य ः–
२.१) रचनाकारिता ः–
चूडा मणि रेग्मीको प्रवृत्तिगत वैशिष्ट्यलाई उनका विभिन्न प्रकाशित कृतिहरुको अध्ययनबाट नै थाहा लाग्न सक्तछ ।
(क) कथा सङ्ग्रह ः
१. पहिलो यात्रा (२०१२), २. नेपाली कथा साहित्य (सहलेखन प्रथम संस्करण २०१४, दोस्रो संस्करण २०५८), ३. भुमरी (२०३६), ४. चाबी (२०५६) ।
(ख) निवन्ध सङ्ग्रह ः–
१. साधना (२०३० प्रथम संस्करण, परिवद्र्धित दोस्रो संस्करण २०६४), २. धुनमा घुन (२०३५ प्रथम संस्करण, परिवद्र्धित संस्करण २०६५), ३. घुमेका कुरा (२०५६), ४. गफडीका गफ (२०६३), ५. आँखा र मनका पाइलाहरु (२०६३), ६. बितेकाहरुको सम्झना (२०६३), ७. एउटा छाता दिनुहोला है ! (२०६४), ८. मनभित्र र बाहिर (२०६४), ९. चूडा मणिका कलममा कमलमणि (२०६५) ।
(ग) सम्पादित निवन्ध सङ्ग्रह ः–
१. घुम्दा फिर्दा (२०३४, संयुक्त लेखन), २. झर्रा सुरेली र झटाराहरु (युगज्ञानमा प्रकाशित विभिन्न लेखकका निवन्धहरु २०६४), ३. अनिकालेका गफःपिंडालुको तरकारी (२०६३) ।
(घ) भाषा–व्याकरण ः–
१. नेपाली टुक्काहरुको अध्ययन (२०४१ पहिलो संस्करण, दोस्रो संस्करण २०५७)
२. नेपाली भाषा र व्याकरणका केही विषय ः केही छलफल (२०५२)
३. तत्सम शब्दको वर्ण विन्यास (२०५३)
(ङ) कविता÷काव्य ः–
१. भावना (लघुकाव्य सङ्ग्रह २०५०, यसमा सातोटा लघुकाव्यहरु– भावना ४२ श्लोके, मेरी दिदी ४२ श्लोके, शिवोऽहोम् १४ श्लोके, हीरामोती २२ श्लोके, इन्दिराको आत्मव्यथा २० श्लोके, बुढाको बिलौना २४ श्लोकेसमेत १८४ श्लोक छन्, भुजङ्ग प्रयात छन्दको प्रयोग भएको छ), २. गजवाष्टक १०८ (हास्यव्यङ्ग्य कविताहरुको सङ्ग्रह २०५१), ३. यक्षको पोखरा प्रवास (२०५२ प्रकाशित, कृतिका रुपमा २०६४ मा प्रकाशित), ४. अरे । उदेकलाग्दा कुरा र गजवाष्टक (चम्पू २०५६) (घुमेका कुरा जस्तो कृतिमा पनि कविता छन् ।)
(च) समालोचना सङ्ग्रह ः–
१. पारिजातः परिचय र मूल्याङ्कन (२०५०), २. कृती र कृति भाग –२ (२०५३), कृती र कृति भाग–१ (२०५६), ४. बाइस समालोचना (२०५७), ५. चिन्तन र समालोचना (२०५९) ।
(छ) सम्पादित समालोचना सङ्ग्रह ः–
१. विश्व शाक्यका हास्यव्यङ्ग्य कृतिहरुको मूल्याङ्कन (२०६२) ।
(ज) पत्रपत्रिका ः–
१. छात्रदूत (वाराणसेय संस्कृत छात्रपरिषद्को वार्षिक मुखपत्र २०१३), २. छहारी (द्वैमासिक २०१५ सहसम्पादन), ३. जनवार्ता (समाचारपत्र २०२०), ४. मोती (साहित्यिक सामयिक सङ्कलन २०२३), ५. धारा (मेची महाविद्यालयको वार्षिक मुखपत्र २०२४), ६. कस्तूरी (सामयिक सङ्कलन २०२५ सहसम्पादन), ७. युगज्ञान (साप्ताहिक समाचारपत्र २०२६–२०४८ प्रकाशक पनि), ८. अध्ययन (मेची महाविद्यालयको मुखपत्र वार्षिक २०३६), ९. जुही (साहित्यिक त्रैमासिक २०३८ देखि हालसम्म ५७ औं अङ्कसम्म), १०. यथार्थ कुरा (पाक्षिक २०५२ देखि हालसम्म ।)
यसरी सम्पादन गरेका पत्रिकाहरुमा ‘जुही’का २३ वटा विशेषाङ्क र ‘यथार्थ कुरा’का ११ वटा विशेषाङ्कहरुको छुट्टै महत्व रहेको छ । चूडा मणि रेग्मीका यी प्रकाशित कृति बाहेक उनका युगज्ञानकै पानाहरुमा छरिएका दैनन्दिनीका लेख रचनाहरु अन्य लेख, भूमिका, सम्पादकीय, टिप्पणी, पुस्तक समीक्षाका छुट्टाछुट्टै ग्रन्थहरु बन्न सक्छन् । उनका मौलिक कृति नै २५ वटा र सम्पादित कृति ५ वटा र १० भन्दा बढी पत्रिकाहरुको सम्पादन गरिसकेका कवि, कथाकार, निवन्धकार, नाटककार, हास्यव्यङ्ग्यकार, समालोचक, सम्पादक, साहित्यिक पत्रकार एवम् पत्रकार, प्राध्यापक, समाजसेवी अनेक व्यक्तित्वमा आयामिक बनेका चूडा मणि रेग्मी विविधतामा एकतालाई दह्रो गरी अठ्याउने झर्रोवादी आन्दोलनका अभियन्तामध्ये एक हुन् अनि झर्रोवादी लेखनलाई निरन्तरता दिने मेची क्याम्पसदेखि मेची क्याम्पसमै ३४ वर्ष विताएका त्रिभुवन विश्वविद्यालयका पूर्व सहप्राध्यापक एवं नेपाली साहित्यका क्षेत्रमा आधुनिक मोतीराम भनेर चिनिने रेग्मी प्रगतिशील लेखक संघका पूर्व सदस्य तथा सल्लाहकार, वरिष्ठ साहित्यकारका रुपमा चिनिन्छन् । आठौं पटकसम्म साहित्यिक सद्भाव यात्रा लिई विभिन्न जिल्ला (चितवन, पोखरा, गोरखा, सुनसरी, मोरङ, दमक–झापा र इलाम) मा सम्पन्न गर्दै तिनको नेतृत्व गर्ने चूडा मणि गुरु थुप्रै झापाली साहित्यकारहरुका अगुवा र उत्प्रेरक गुरु हुन् । उनकै सम्पादनमा प्रकाशित ‘युगज्ञान’, ‘जुही’ र ‘यथार्थ कुरा’ जस्ता पत्रिकाहरुमा प्रारम्भिक रचनाहरु प्रकाशित भएपछि क्रमशः माथि उठेका हुन् । मदन पुरस्कार विजेता त्रि.वि.वि. का पूर्व प्राध्यापक मोहनराज शर्मा तथा कृषि विकास बैंकका शाखा अधिकृत कृष्ण धरावासीहरु रेग्मीकै उत्प्रेरणाबाट साहित्यका क्षेत्रमा माथि उठेका व्यक्तित्व हुन् उनीहरु ।
ठोकुवा गरेरै भन्न सकिने कुरा के हो भने ४५ वर्षभन्दा बढी समयसम्म झापालाई नै कर्मथलो बनाएर साहित्यिक पत्रकारिता गर्ने पूर्वाञ्चल क्षेत्रका अद्वितीय क्तियाशील व्यक्तित्व हुन् चूडा मणि रेग्मी । लुकेर बसेका पुराना साधक र नयाँ प्रतिभाहरुलाई प्रकाशमा ल्याउने, उनीहरुमा भएको प्रतिभा पहिचानका साथ उनीहरुलाई जगाउने अनि प्रकाशमा ल्याउन देशका विभिन्न जिल्लाहरुमा साहित्यिक सद्भाव यात्रा गर्ने – एक्लै होइन परिवारका साथ साथी संगातीहरुको सहकार्यसहित सहकर्मी मित्रहरुसमेत लिएर हिंड्ने र स्थापित प्रतिभाहरुलाई सम्मान गर्न नानाभाँतिबाट कार्यक्तम सञ्चालन गर्दै रहने व्यक्तित्व उनीबाहेक अरु कोही देखिएको छैन । यसो भनेर अरुको महत्वलाई न्यूनीकरण गर्न खोजिएको होइन । सङ्ख्यात्मक एवं गुणात्मक योगदानका दृष्टिले पनि साहित्यकार चूडा मणि रेग्मीको उत्कृष्टता कम छैन भन्न खोजिएको मात्र हो । उनले प्राप्त गरेका क्षेत्रीय र राष्ट्रिय स्तरका २८ वटा भन्दा बढी सम्मान र पुरस्कारहरुको उल्लेख मात्र गर्ने हो भने पनि चूडा मणि रेग्मीको महत्ता थाहा पाउन सकिन्छ ।
२.२) चूडा मणि रेग्मीले प्राप्त गरेका सम्मान र पुरस्काहरु ः–
साहित्यकार चूडा मणि रेग्मीको योगदान सङ्ख्यात्मक दृष्टिले मात्र होइन, गुणात्मक दृष्टिले पनि उत्कृष्ट रहेका छ । उनले प्राप्त गरेका सम्मान र पुरस्कारहरुबाट पनि यस तथ्यलाई प्रमाणित गर्दछन् । यद्यपि यी पुरस्कारहरुबाट उनी सन्तुष्ट छैनन् ।
१. नेपाल साहित्य गुठी सम्मान (२०४२), २. पत्रकारिता पुरस्कार (जुहीका लागि २०४४ मा शिक्षा मन्त्रालयबाट), ३. राष्ट्रिय शिक्षा समिति पुरस्कार (२०४५), ४. त्रि.वि.वि. सेवा पदक (२०४७), ५. महानन्द पुरस्कार (२०४८), ६. देवकोटा स्मृति भवन (भद्रपुर) रजत जयन्ती सम्मान (२०५२), ७. राष्ट्रिय प्रतिभा पुरस्कार (बनेपा, काभ्रे २०५३), ११. कनकाई प्रतिभा प्रतिष्ठान सम्मान (सुरुङ्गा, झापा २०५३), १२. प्रेस काउन्सिल पुरस्कार (२०५४), १३. भैरव पुरस्कार (२०५४ – गजवाष्टक १०८ का लागि), १४. बिर्ता जेसिज उत्कृष्ट नागरिक सम्मान र पुरस्कार (२०५४), १५. घनश्याम स्मृति प्रतिष्ठान, सम्मान (चन्द्रगढी २०५४), १६. समता साहित्यिक परिवार इलाम ‘अभिनन्दन’ (२०५४), १७. वर्तमान साहित्य प्रतिष्ठान चन्द्रगढी ‘सम्मान’ (२०५७), १८. सिंहदेवी पुस्तकालय, पृथ्वीनगर झापा ‘सम्मान’ (२०५७), १९. त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारी ‘सम्मान’ (२०५८), २०. महानन्द वाङ्मय मन्दिर विराटनगर–मोरङ ‘अभिनन्दन’ (२०६०), २१. मदन पुरस्कार स्वर्ण वर्ष ‘सम्मान’ (२०६२), २२. अथक साहित्य साधक, प्रलेस गोरखा ‘सम्मान’ (२०६३), २३. प्रलेस, सुनसरी ‘अभिनन्दन–सम्मान’ (२०६३), २४. लेखनाथ पुस्तकालय, चन्द्रगढी ‘सम्मान’ (२०६३), रसिक साहित्य प्रतिष्ठान (इटहरी) द्वारा दीपेश पुरस्कारसहित अभिनन्दन (२०६४), २६. डा. नरेन्द्र चापागाईं स्मृति पुरस्कार तथा अभिनन्दन, विराटनगर–मोरङ (२०६४), २७. महेन्द्रद्वार सहकारी संस्था लि. काकरभिट्टा ‘सम्मान’ (२०६४), २९. विदुर इङ्लिस बोर्डिङ्ग हाइस्कुल, रजत जयन्ती सम्मान (२०६४) भद्रपुर, ३०. साहित्यिक पत्रकार संघ केन्द्रीय कार्यालयद्वारा अभिनन्दन (२०६६) ।
यति औधि सम्मान, अभिनन्दन र पुरस्कार पाएर पनि चूडा मणि रेग्मीको आत्मसम्मानले गौरवशाली बन्ने अवसर भने पाएको छैन । उनले सम्मानित भएको अनुभूति नै गरेका छैनन् । राजधानी बाहिर बसेर साहित्यिक पत्रकारिताको क्षेत्रमा साधनाको निरन्तरताका साथ जीवन निर्वाहको पेसामा संलग्न भएर पनि सृजनालाई उर्बर बनाउँदै नवागन्तुक साहित्यप्रेमीहरुका लागि सुन्दर चौतारी तयार पारेर तिनको सिर्जनालाई मलजल, गोडमेल गर्दै हुर्काउनसमेत लागि पर्ने साहित्यकार चूडा मणि रेग्मीको आफ्नोपन नै साहित्य स्रष्टाहरुलाई समयसापेक्ष प्रोत्साहन प्रेरणा र हौसला दिनु नै हो भनेर मान्नु पर्दछ ।
जिज्ञासु साहित्य साधक चूडा मणि रेग्मीको साहित्यिक यात्रा २०१२ सालदेखि औपचारिक रुपमा प्रारम्भ भएको देखिन्छ । कविता प्रकाशन, सम्पादकीय लेखन र कथा सङ्ग्रह ‘पहिलो यात्रा’ (२०१२) बाट अघि बढेको उनको रचनाकारिता नेपाली वाङ्मयका क्षेत्रमा विविधीकृत हुँदै विभिन्न विधामा मुख्यतः कविता, कथा, निवन्ध, समालोचना, पत्रकारितासम्म फैलिएको र झाँगिएको पाइन्छ । यति मात्र नभएर भाषिक चिन्तनलाई पनि रेग्मीले आफ्नो साधनाको क्षेत्र बनाएको पाइन्छ । जसरी मोतीराम भट्टले तत्कालीन सामाजिक वातावरण अनुसार आफूलाई साहित्यका सबै विधामा संलग्न देखाएका थिए भने पूर्वाञ्चल क्षेत्रका आधुनिक मोतीराम भनेर चिनिने रेग्मीले पनि उपन्यास विधालाई छोडेर अरु सबै विधामा कलम चलाएका छन्् ।
जीवनको आठौं दशकमा यात्रा गरिरहेका कविता यात्रा ‘हामी युवक बढ्दै छौं’(२०१२) बाट सुरुभएको भए तापनि सङ्ग्रहका रुपमा भने ‘भावना’ लघुकाव्य सङ्ग्रह २०५० मा आएर मात्र पुस्तकाकार कृतिका रुपमा प्रकाशित भएको देखिन्छ । अड्तीस वर्षपछि आएर ‘भावना’ प्रकाशित हुनु केही नयाँ दिने रेग्मीको धुन नै हो कि जस्तो लाग्दछ । ‘भावना’ लघुकाव्य सङ्ग्रहमा सातवटा लघुकाव्यहरु सङ्ग्रहित छन् र बाह्र श्लोकदेखि बयालीस श्लोकसम्मका लघुकाव्य यसमा सङ्कलित छन् । लघुकाव्य त धेरैले लेखेका होलान् तर यसरी लघु काव्यहरुको सङ्कलन भने देखिएको छैन । नेपाली साहित्यमा अहिलेसम्म लघुकाव्यको सोदाहरणका साथ परिभाषा दिएको पाइँदैन र पहिचान पनि भएको छैन । वस्तुतः ‘लघुकाव्यलाई संक्षिप्त आयाममा प्रवन्ध विधान भएको आख्यानीकृत काव्यात्मक अभिव्यक्ति हो’ भन्न सकिन्छ र यो रुप कविको अन्तर्कथ्यलाई एकीकृत रुपमा संक्षेपमा सम्प्रेषण गर्न पर्याप्त समर्थ देखिन्छ तापनि परिमार्जित तथा प्राञ्जल शिल्प संरचनामा र ओजस्वी भाषाको कलात्मक संयोजनामा भने केही फितलो हुन गई मध्यमस्तरकै रहन गएको पाइन्छ । जागरणधर्मी तर अन्तर्मुखी भावावेग भएकाले पनि यसो भएको हुनु स्वाभाविक देखिन्छ । उनका अन्य काव्य कविताहरु ‘गजवाष्टक १०८’ (हास्यव्यङ्ग्य कविताहरुको सङ्ग्रह २०५१), यक्षको पोखरा प्रवास (२०५२), अरे उदेक लाग्दा कुरा र गजवाष्टक (२०५६), आदि र ‘घुमेका कुरा’ (२०५६) जस्ता यात्रा वृत्तान्तमा समेत संवेगात्मक अभिव्यक्तिका कविताहरु यत्रतत्र छरिएर रहेका देखिन्छन् । गद्य र पद्यको सुन्दर अभिव्यक्ति भएको रचनालाई ‘चम्पूकाव्य’ भनिने गरेका पाइन्छ तर विद्यागत विशिष्टताका निम्ति छुट्टाछुट्टै कृतिहरु सङ्ग्रहित भएर निस्कनु राम्रो हुने ठान्नु अनुचित होइन र खिचडी सङ्ग्रह बनाउने प्रवृत्ति सुष्ठु लाग्दैन । कविले जीवन चेतनालाई भावनाको हार्दिक उच्छलनमा प्रवाहशील बनाएर कलात्मक सौन्दर्य शब्दमा भर्नु लर्तरो काम होइन । कवि रेग्मीले मानवीय सम्वन्धको गतिशीलतालाई पूर्ण सजीवताका साथ अभिव्यञ्जना दिएका छन् । कवि रेग्मीका अहिलेसम्म सत्रवटा लघुकाव्यात्मक कृतिहरु दुईवटा सङ्ग्रहमा प्रकाशित भएका छन् । ‘भावना’ शीर्षकको सङ्ग्रहमा ‘भावना’ लगायत ‘मेरी दिदी’, ‘शिवोऽहम्’, ‘पछुतो’, ‘हिरा मोती’, ‘इन्दिराको आत्मव्यथा’ र ‘बुढाको विलौना’ छन् भने ‘यक्षको पोखरा प्रवास’मा एघारवटा लघुकाव्यहरु सङ्ग्रहित भएपनि ‘मेरी दिदी’ भने दोहोरिएर छापिएको छ । अझ ‘मेरी दिदी’ त ‘घुमेका कुरा’ (२०५६) मा पनि छापिएको देखिन्छ । यस सङ्ग्रहमा कवि रेग्मीका ‘खाँदबारी’, ‘दिदी ! ए मेरी दिदी !’, ‘काव्यपात्राप्रति शोकाभिव्यक्ति’, ‘यक्षको पोखरा प्रवास’, ‘पथिक कवि स्मृति’, ‘लाली’, ‘परित्यक्ताको आक्तोश’, ‘इरौंटाको व्यथा’, ‘वीर सोमनाथ’, ‘यक्ष यक्षिणीको पोखरा आवास’ लघुकाव्यहरु छन् । यी लघुकाव्यहरुमा अभिव्यक्त मानवीय संवेदना सामाजिक जीवनको सुन्दर आयामभित्र सरल, सहज र जटिलतामा घोलिएर जीवनबोधका साथ प्रकट भएका पाइन्छन् । विपरीत गुणयुक्त तत्वहरुको संयोजनबाट सृष्टिको सुरुवात भए झैं छन्द र अलङ्कारहरुकै प्रयोग गरेर पनि सौन्दर्य सृष्टिको महान् भूमिका निर्वाह गर्ने व्यञ्जनाका सम्भावनाहरुलाई सूक्ष्मताका साथ सम्प्रेषण गर्न कवि रेग्मी समर्थ भएका देखिन्छन् ।
‘भावना’ लघुकाव्य सङ्ग्रभित्रको ‘भावना’ कवि चूडा मणि रेग्मीको किशोर वयमा खाँदवारीमा पढ्न बसेका बेला परिघटनाहरुको सम्झनाले भाव विभोर हुँदा मनमा उठेका उकुसमुुकुसहरु र संवेदित तरङ्गहरुलाई ‘भुजङ्गप्रयात’ छन्दमा भूतकालिक जीवनको स्मृतिका रुपमा प्रवाहित गरेका छन् । ‘मेरी दिदी’ पनि करुण स्वरमा भुजङ्गप्रयात छन्दमा नै दिदीका करुण गाथाहरुलाई समेटेर ‘छोरी भएकैले दुःख पाएँकी हुँ’ भन्ने भावमा कविले कविता रचेका छन् । कविले सम्प्रेषण गर्न खोजेको कवितात्मक सौन्दर्यानुभूति केही हदसम्म प्रक्षेपण गर्न सफल छन् र साधना सार्थक भएको देखिन्छ । अन्य सबै लघुकाव्यहरु धेरथोर सफल नै छन् ।
कथाकार चूडा मणि रेग्मीका चारोटा कथा सङ्ग्रहहरु प्रकाशित भएका देखिन्छन् । ‘पहिलो यात्रा’ (२०१२) रेग्मीको पहिलो कृतिका रुपमा प्रकाशित छ भने अर्को ‘नेपाली कथा साहित्य’ (सहलेखन २०१४ प्रथम संस्करण, परिवद्र्धित परिष्कृत द्वितीय संस्करण २०५८)मा प्रकाशित हुन पुगेको छ । तेस्रो कथा सङ्ग्रह ‘भुमरी’ (२०३६) प्रकाशित हुन एक्काइस वर्ष लागेको देखिन्छ । भने चौथो कथा सङ्ग्रह ‘चाबी’ (२०५६) प्रकाशित हुन झन्नै दुई दर्जन वर्ष पर्खिनु परेको पाइन्छ । यति हुँदाहुँदै पनि कथाकार रेग्मीका थुप्रै कथाहरु पत्रपत्रिकाहरुमा प्रकाशित भइरहेका छन् र लघु कथा समेत सयौंहरु सङ्कलित भएर कृतिका रुपमा प्रकाशनमा आउन बाँकी नै छन् । कथाकारिताका दृष्टिले ‘पहिलो यात्रा’ आभ्यासिक पाइलो हो । यसमा रेग्मीका अभ्यास कालका पाँचोटा कथाहरु (१) म कस्तो हूँला, (२) काले, (३) युग युवक, (४) पहिलो यात्रा (५) अन्धकार छन् । यी कथाहरुमा कथाकार रेग्मीले नेपाली सामाजिक जीवनमा मानवय मूल्य र मान्याहरु परिवर्तन हुँदै गरेको तर प्रगतिवाद परिपक्व भइ नसकेको तत्कालनि सङ्क्तमणकालीन अवस्थाको यथार्थ प्रस्तुति गरेका छन् ।
‘म कस्तो हूँदा !’ कथामा कथाकारको आफ्नै जीवन वृत्तमा उत्पन्न भावावेग र वैचारिकताको उकुसमुकुसलाई जीवन्त प्रतिबिम्बन गर्न खोजिएको छ । ‘काले’मा वर्गीय पात्रको सिर्जना गरेर शोषणको दिग्दर्शन गराएका छन् । ‘युग युवक’मा परिवारभित्र आएको वैचारिक परिवर्तन र युवकोचित क्तान्ति धर्मिताको चित्रण देखिन्छ । यसमा कथाकारको विधागत सचेतता शिथिल भए झैं देखिन्छ । ‘पहिलो यात्रा’ कथा सङ्ग्रहकै शीर्षक कथा हो । यसमा कथाकरले पहाडी सामाजिक वस्तुस्थितिको यथार्थ सजीव रुपमा प्रस्तुत गरेका छन् । ‘अन्धकार’मा उज्यालो खोज्न गएको यात्री अँध्यारै–अँध्यारो देख्छ । कथा कवितात्मक भाषामा लेखिएको छ र आत्मविश्वासका साथ नयाँ मार्ग पहिल्याएर अगि बढ्न उत्प्रेरित गरेको पाइन्छ । तत्कालीन सामाजिक यथार्थको झलक दिन कथाहरु पर्याप्त सक्षम छन्’ भन्न सकिन्छ ।
रेग्मीको दोस्रो कथा सङ्ग्रह ‘नेपाली कथा सहित्य’ हो, यो सहलेखनको कृति हो । यसमा उनका तिनोटा कथाहरु–(१) सहित्य सेवक, (२) नयाँ धामी (३) सारी छन् । तर त्यसै परिवेशमा लेखिएका तिनोटा कथाहरु दोस्रो संस्करण (२०५८) मा थम भएका छन् १) ‘गोडा भए जुत्ताको के खाँचो’, २) वेश्या ३) सहमति । यसरी दोस्रो संस्करणमा ६ वटा कथा प्रकाशित भएका छन् । यी कथाहरु उत्तरोत्तर विकसनशील हुँदै गएका देखिन्छन् ।
रेग्मीको तेस्रो कथा सङ्ग्रह ‘भुमरी’ (२०३६) हो । यसमा उनका एघार वटा कथाहरु सङ्कलित छन् भने ‘चाबी’(२०५६)मा १२ वटा कथा सङ्ग्रहित छन् । तारानाथ शर्माले ‘पहिलो यात्रा’का कथाहरुमा प्रशस्त त्रुटि रहेको देखाएपछि आफूसँग भएका सबै प्रति नष्ट गरेको कुरा कथाकारले नै भनेको सम्झना आउँछ तर कथाहरुमा के छ भन्ने कुरा माथि भनिएकै छ । यसरी सङ्ग्रहमा सङ्कलित भएका ३४ कथाहरु बाहेक दुई दर्जन जति कथाहरु विभिन्न पत्रपत्रिकाहरुमा छरिएर प्रकाशित भएका छन् । झर्रो गाउँले भाषाको प्रयोग गरेर कथा लेख्ने कथा विधाका कुशल शिल्पी रेग्मी विकृतिका विरुद्ध प्रगतिशील सुधारको चेतना प्रकटीकरणमा सक्रिय रहेका देखिन्छन् । २०१२ सालमा ‘गोडा भए जुत्ताको के खाँचो’? शीर्षकको कथा ‘छात्रदूत’ मा प्रकाशित भएपछि कथायात्रा सुरु गरेको रेग्मीले जीवन र जगत्को अनुकूलताका निम्ति आफैंले देखेका, अनुभव गरेका र बेहोरेका सुख दुःखलाई मानव जीवनका संवेदनाहरुलाई मार्मिक ढङ्गले सार्वजनिक गर्ने सामथ्र्य र कौशल देखाएका छन् । उनी प्रगतिवादी कथा लेखनका सिद्धहस्त शिल्पी हुन् भन्ने कुरामा कुनै सन्देह छैन ।
भाषा व्याकरणका जानिफकार रेग्मी नेपाली भाषालाई अन्य विदेशी भाषाका साथै संस्कृत र हिन्दी भाषाको प्रभाव र थिचोमिचोबाट संरक्षण गर्न र नेपाली संस्कृति, साहित्य, कला र शिक्षाको उत्थान गर्ने उद्देशयले स्थापित भएको ‘जन साम्स्कृतिक सभा’को स्थापना कालदेखि नै ‘नौलो पाइलो’ (२०१३) पत्रिकका माध्यमबाट ‘झर्रोवादी आन्दोलन’लाई यसका नायकहरु बालकृष्ण पोखरेल, तारानाथ शर्मा, कोशराज रेग्मी, बल्लभमणि दाहालहरु सँगसँगै सुरुदेखि नै सङ्घर्षरत रहेर अगाडि बढेका हुन् र रेग्मी अझै ‘झर्रो नेपाली घर’मा रहेर झर्रो नेपाली भाषालाई सार्थक रचनाले सिंगार्ने कार्यमा जुटिरहेका छन् । भाषा र व्याकरणका केही विषय केही छलफल (२०५२) र ‘तत्सम शब्दको वर्ण विन्यास’ (२०५३) जस्ता कृतिहरु लेखेर आफूलार्ई भाषा व्याकरणको जानिफकारका रुपमा स्थापित गरिसकेका छन् । उनको अभिमत भाषामा बोलाई लेखाइमा एकरुपता होस् भन्ने रहेको छ । नेपाली वर्णविन्यासका बारेमा आधुनिक कम्प्युटर प्रविधिसँग मेल खाने ढङ्गले वर्ण विन्यास गरिनु पर्छ भनेर प्रस्ताव गरेका छन् । यस बारेका उनी एक्ला बृहस्पति नै भए पनि अडान छाडेका छैनन् । भाषाको अभिव्यक्तिगत सामथ्र्य र कौशलका निम्ति चाहिने आवश्यक तत्वहरुमा वर्ण विन्यासदेखि लिएर उखान–टुक्काहरुको प्रयोगमा साथै व्याकरण अत्यन्त महत्वपूर्ण मानिन्छन् । तिनले साम्स्कृतिक झलक मात्र होइन मनोविज्ञानलाई समेत प्रकट गर्छन् । टुक्काहरु सूक्ष्म भावाभिव्यक्तिका बलिया माध्यम बन्दछन् । प्रचलित नेपाली वर्ण विन्यासमा आधुनिक यान्त्रिक प्रणाली (कम्प्युटर) अनुकूल वैज्ञानिक र सहज प्रयोग्य बनाइनु पर्ने प्रस्ताव ध्यान दिन योग्य छ अनि भाषा व्याकरण त विद्यालय–क्याम्पस स्तरमा पढाउने गुरुहरुका चाख–विषय नभए पनि पढाइएका अनिवार्य विषय भएकाले तिनका बारेमा परिश्रमपूर्वक अध्ययन गर्नैपर्ने हुन्छ । यसैको परिणाम स्वरुप माथिका भाषा व्याकरण बारेका कृतिहरुको जन्म हुन गएको देखिन्छ । उनी कवि, कथाकार, निवन्धकार, समालोचक हुन् तापनि पेसाले उनलाई भाषा–व्याकरण र लिपिका विषयमासमेत गम्भीर चिन्तन गर्न कर लगायो र यी अमूल्य कृतिहरुको सिर्जना हुन गयो ।
रेग्मीको सम्पादनको क्षेत्र र महत्व अर्कै छ । नेपाली पत्रकारिता र साहित्यिक पत्रकारिताको ऐतिहासिक वृत्तान्त चूडा मणि रेग्मीलाई बिर्सेर कदापि पूर्ण हुन सक्तैन । बिस वर्षे उमेरमै बनारमा पढ्न बसेका रेग्मीले २०१३ सालमा वाराणसीबाट प्रकाशित ‘छात्रदूत’मा सम्पादक बनेर सम्पादकीय लेखन सुरु गरी यस क्षेत्रको जिम्मेवारी बहन गरेका थिए । त्यसपछि २०१५ सालमा ‘छहारी’ जनवार्ता (दैनिक २०१६–२०), मोती (२०२३), धारा (२०२४), कस्तुरी (२०२५), युगज्ञान (२०२६–२०४८), अध्ययन (२०३६ मेची क्याम्पसको वार्षिक मुखपत्र) आदिका सम्पादक सहसम्पादक बनेर झाँगिन पुगेको पत्रकारिता जुही (२०३८), यथार्थ कुरा (२०५२) जस्ता पत्रिकामा पुगेर उनको पत्रकार व्यक्तित्व भाषा साहित्यको शिखर चुम्न सफल भएको देखिन्छ । उनका सम्पादनमा ‘जुही’का २५ वटा र ‘यथार्थ कुरा’का ११ वटा विशेषाङ्कहरु उल्लेख्य रहेका छन् । कुशल, निर्भीक र स्वतन्त्र पत्रकारितामा रेग्मीको श्रम–सिप श्रेयस्कर बनेको छ । झापा जिल्लाका निमित्त मात्र होइन राष्ट्रकै सामु रेग्मी उदाहरणीय व्यक्तित्वका रुपमा स्थापित भएका छन्, साहित्यिक पत्रकारितालाई शिखरमा पु¥याएर व्यक्ति नै संस्था बनेका छन्, सम्पादक बनेर सम्पादकीय लेख्ता, पुस्तक परिचय लेख्तालेख्तै उनले समालोचना र निवन्ध लेख्ने सामथ्र्यको प्रशस्त ऊर्जाशील बनाउन सफल भएका छन् ।
निवन्ध लेखनका क्षेत्रमा उनले एउटा कीर्तिमान नै कायम गरेका छन् । नौवटा निवन्ध सङ्ग्रहमा उनका ४१४ भन्दा बढी निवन्धात्मक रचनाहरु प्रकाशित भइसकेका छन् । यी बाहेक विभिन्न पत्रपत्रिकाहरुमा बग्रेल्ती नै निवन्धहरु छरिएका देखिन्छन् । समसामयिक विषयवस्तुलाई समाएर व्यङ्ग्य–विश्लेषण सहित झर्रो भाषामा (भाषिक जटिलताबाट मुक्त भएर) आफ्नो बौद्धिक क्षमतालाई कलापूर्ण ढङ्गले प्रस्तुत गर्नु रेग्मीको वैशिष्ट्य देखिन्छ । उनले निवन्धका माध्यमबाट आफूलाई स्पष्ट वक्ताका रुपमा स्थापित गरेका छन् । उनको पछिल्लो निवन्ध सङ्ग्रह ‘चूडा मणिका कलममा कमलमणि’ (२०६५) जस्तो ओजस्वी भाषामा लेखिएको खोजपूर्ण निवन्ध हो तर कतिपय विद्वानहरले यसलाई समालोचनात्मक कृतिका रुपमा पनि हेरेका हुन सक्छन् । चूडा मणि रेग्मीको सर्वोत्तम लेखन विधा निवन्ध नै हो । उनको मन परेको विधा पनि निवन्ध नै देखिन्छ । रेग्मीले निवन्धकै माध्यमबाट आफूलाई यथार्थवादी स्पष्ट वक्ता साहित्यकारका रुपमा सर्वोन्नत बनाएका छन् । उनका निवन्धहरु भावात्मक, वर्णनात्मक, विषयपरक, वस्तुपरक, व्यङ्ग्यात्मक भएर पनि निजात्मक छन् । प्रायः सबै निवन्धहरु नेपाली जनजीवनका मर्मलाई उद्घाटित गर्ने सूत्रात्मक वाक्य गठनमा झर्रा ठेट नेपाली शव्दहरुको समुचित प्रयोगले गर्दा साधारण पाठकका लागि पनि औधि स्वादिलो, सुरुचिपूर्ण घतलाग्दा बन्न पुगेका छन् । उनका निवन्धहरुमा व्यक्ति, समाज र राष्ट्रमा रेहका कमी–कमजोरीहरुको सुधार सहितको स्वस्थ, स्वच्छ समाजको निर्माण होस्, मुक्त ढङ्गले अग्रगतिमा सबै अगाडि बढुन् भन्ने सन्देश रहेका पाइन्छन् । देख्ता अत्यन्त भद्र र साधारण देखिने रेग्मी विचारमा निकै खरा भएर पनि गम्भीर र सूक्ष्म भने देखिंदैनन् । बिम्बपरक खण्डित वाक्यहरु प्रशस्तै प्रयोग गर्ने प्रवृत्ति रहेको तथ्य उनका निवन्धहरु पढ््का थाहा पाइन्छ । निवन्ध लेखनमा वस्तुपरक खस्रा देखिएका रेग्मी कोमल भने अलिक कम नै देखिन्छन् । बहुआयामिक व्यक्तित्वका धनी रेग्मी सरल र भावुक स्वभावका तर खरो मिजासका व्यक्ति मानिन्छन् । समय सबैभन्दा बलवान् छ, चूडा मणि रेग्मीका निवन्धहरु समयबोध र जीवन–निष्ठाका दर्शन हुन् । कुनै पनि दुर्दान्त परिस्थितिसँग डटेर प्रतिरोध गर्नु र दृढताका साथ अन्याय एवं शोषणका विरुद्ध खरो स्वर निकाल्नु उनको सङ्घर्षशील स्वभावको प्रमाण हो ।
समालोचक, समीक्षकका रुपमा चूडा मणि रेग्मीका छुट्टै महत्व रहेको छ । वस्तुतः चूडा मणि रेग्मी २०५० सालमा ‘पारिजातः परिचय र मूल्याङ्कन’ जस्तो व्यक्तिपरक सिङ्गो कृति प्रकाशित गरेपछि समालोचकका रुपमा देखापरेका हुन् । उनको समालोचकीय यात्रा २०१३ सालमा वाराणासीबाट प्रकाशित ‘छात्रदूत’मा सम्पादक बनेर सम्पादकीय लेखेपछि र ‘दीपक’ मासिकमा सन् १९५८ मा (वाराणसीबाट प्रकाशित) ‘ध्वनिः एउटा छोटकरी चिनारी’बाट सुरु भएको देखिन्छ । त्यसपछि छहारी द्वैमासिक (२०१५) मा ‘साहित्य नवनिर्माण’ शीर्षकको सम्पादकीय लेखेर समीक्षात्मक आलोचनाको प्रारम्भ गरेका हुन् । उनको समालोचकीय यात्रा सम्पादकीय लेख्ता, पुस्तक–पत्रिकाको परिचयका सन्दर्भमा टीका टिप्पणी लेख्ता लेख्तै समालोचना पनि सहजतापूर्वक लेख्न थालेको देखिन्छ । उनका अहिलेसम्ममा निन्नाङ्कित समालोचना सम्वन्धी कृतिहरु प्रकाशित भएको देखिन्छन्ः–
(१) पारिजातः परिचय र मूल्याङ्कन (२०५०) कुनै व्यक्ति विशेषको विषय प्रवृत्तिमा आधारित भएर सिङ्गो पुस्तक लेख्ने काम चूडा मणि रेग्मीले सर्वप्रथम यसै कृतिबाट सुरु गरेको देखिन्छ । त्यसपछि केही पुराना र केही नयाँ गरेर १५ वटा समालोचनाहरुको सङ्ग्रह; (२) ‘कृती र कृति, भाग–२’ प्रकाशित भएको छ र २०५६ मा सातोटा समालोचनाहरुको सङ्ग्रह, (३) ‘कृती र कृति भाग–१’ प्रकाशित भएको छ । २०५७ सालमा (४) ‘बाइस समालोचना’ र २०५९ (५) ‘चिन्तन र समालोचना’ गरी पाँचोटा समालोचनात्मक कृतिहरु प्रकाशित भएका देखिन्छन् । उनको (६) ‘चूडा मणिका कलममा कमलमणि’ जस्तो कृति पनि व्यक्तिपरक समीक्षाको कोटिमा राख्न नसकिने कृति होइन । यसरी चूडा मणि रेग्मीका हालसम्ममा प्रकाशित भई देखापरेका यिनै छवटा कृतिहरु छन् । यी कृतिहरुका आधारमा नेपाली साहित्यको समालोचनाको क्षेत्रमा समालोचक रेग्मीको योगदानको मूल्य निर्धारण गर्न सकिन्छ ।
यसरी समालोचक चूडा मणि रेग्मीले एउटा साहित्यकारमा आधारित भएर ‘पारिजातः परिचय र मूल्याङ्कन’ तथा चूडा मणिका कलममा कमलमणि’ जस्ता कृतिहरुद्वारा समालोचनाको गुरु गम्भीर दायित्वलाई निर्वाह गरेका छन्, यसमा उनको सतर्कता र प्रवुद्धता कति व्यावहारिक बनेको छ । त्यो भने निरुपण हुन बाँकी नै छ । प्रौढ अवस्थामा प्रकाशित भएको ‘पारिजातः परिचय र मूल्याङ्कन’ पहिलो समालोचनात्मक कृति हो भने थुप्रै समालोना सङ्ग्रहित भएर प्रकाशित हुन बाँकी रहे तापनि कमल दीक्षितका वैशिष्ट्यहरुलाई प्रकट गर्ने एउटै व्यक्तिमा केन्द्रित समालोचना सङ्ग्रह हो – चूडा मणिका कलममा कमलमणि । यसलाई निवन्ध विधा भनेका छन् लेखकले र ‘व्यक्तित्व तथा कृतित्व’ मा आधारित मानेका छन् । कमलमणिका रचनात्मक योगदानको वैशिष्ट्य देखाउँदै कमलको कलम वस्तुपरक तथा आत्मपरक निवन्धका साथै आत्मकथात्मक यात्रा संस्मरणात्मक, जीवनीपरक, आलोचनात्मक तथा शोधपरक निवन्धका अतिरिक्त भूमिका लेखन सम्पादकीय टिप्पणीहरुमा समेत कमलको कलम चलेको र तिनमा एउटा विशिष्ट लेखकको व्यक्तित्व झल्किएको यथार्थ प्रस्तुत गरेका छन् ।
समालोचक चूडा मणि रेग्मीको समालोचनामा पत्रकारिताका सन्दर्भबाट अगाडि बढेको र समसामयिक प्रसङ्गमा लेख्न आवश्यक परेको साहित्यिक कृति, साहित्यकार तथा साहित्यिक प्रवृत्ति आदिमाथि टीका टिप्पणी गरिएका सरल सहज समीक्षात्मक लेखहरुबाट नै रेग्मीको समालोचना विस्तार भएको पाइन्छ । उनका समालोचनाहरु सहज संवेद्य, छात्रोपयोगी सामान्य किसिमका छन् । उनका समालोचनाहरुमध्ये धेरैजसो परिचयात्मक छन् भने पन्ध्रवटा जति मात्र विश्लेषणात्मक केही गहन छन् । उनको शैली सूत्रात्मक छ र विविध प्रवृत्ति रहेका भए तापनि उनी व्यावहारिक समालोचक हुन् भन्न सकिन्छ । उनका फुटकर समालोचाहरु सय भन्दा बढी नै होलान् । समग्रमा नव प्रतिभालाई प्रेरणा र प्रोत्साहन दिने, स्थानीय प्रतिभाहरुको सराहना, पछि परेका साहित्य साधकलाई हौस्याउने, स्थापित प्रतिभाहरुको गुणगान गाउने, राष्ट्रिय प्रतिभाहरुका विषयमा परिचय गराउने खालका समालोचनाहरु नै रेग्मीका प्राप्ति हुन् भन्न सकिन्छ । उनको जाँगर र आँट उल्लेख्य रहेको छ ।
साहित्यकार चूडा मणि रेग्मी अनेक व्यक्तित्वमा विस्तारित छन् । उनको कवि व्यक्तित्व राष्ट्र, राष्ट्रियता र प्रगतिशीलतामा रमाएको छ । सामाजिक विसङ् गतिप्रति व्यङ्ग्य र सहज सुबोध्य झर्रो भाषाशैली उनको कवित्वको पहिचान हो ।
कथाकार रेग्मीको कथाकारिता नेपाली समाजमा व्याप्त रहेको धनी र गरिब बिचको विभेद, पुरुषले नारीमाथि गरेको अत्याचार जातपात, उच–निच आदिलाई औंल्याएर यिनका विरुद्ध सङ्गठित जनशक्तिले मात्र क्रान्ति गर्न सक्छ भनेर जनबलको महत्व दर्साई समस्याग्रस्त सामाजिक जनजीवनको विकृति र विसङ्गतिलाई विषय बनाएर यथार्थवादी दृष्टिकोणले निम्नर्गीय आर्थिक अवस्थाको जीवन्त चित्रण तथा झर्रो भाषाशैलीको प्रयोग गर्नु वैशिष्ट्य रहेको पाइन्छ ।
रेग्मीको निवन्धकार व्यक्तित्व सबैभन्दा उच्च र व्यापक रहेको छ । उनका निवन्धहरुमा पनि समसामयिक स्थितिको यथार्थ चित्रण तथा सामाजिक अव्यवस्थाप्रति व्यङ्ग्य गर्दै सुधारात्मक आग्रह गरिएको पाइन्छ । साधारण विषयवस्तु, गहकिलो भाव, आफ्नै झर्रोवादी भाषा, सूत्रात्मक सहज शैलीमा प्रस्तुत गरिएका निवन्धहरुमा निराशा, कुण्ठा, हीनताबोध आदिको वर्णन पाइन्छ । साहित्यिक दृष्टिकोणले हेर्दा निजात्मक मानिने व्यङ्ग्यात्मक तथा आत्मपरक निवन्धहरु ‘कस्तो अर्ती खानु’ (२०२२) बाट सुरु भएर ‘एउटा कथा भयो, एउटा कथा पनि’ (२०६१) सम्म मात्र होइन त्यसबाट अगाडि बढ्दै ‘मूल्याङ्कन मागिरहेछन् सिर्जनाहरु’ (२०६४) भन्दा पनि अझ अगाडि सम्रचित सयौं निवन्धहरुमा उनको आत्माभिव्यञ्जक व्यङ्ग्य झन् झन् तिख्खर, सशक्त र मर्मस्पर्शी भएर प्रकट भएको देखिन्छ । साथै उनको यथार्थपरक अभिव्यक्ति संरचनागत कौशलमा पनि सिद्धहस्तमा देखा पर्दै गएको छ ।
नेपाली भाषा र व्याकरणका क्षेत्रमासमेत सेवा पु¥याएका ‘झर्रोवादी’ आन्दोलनका सहयात्री रेग्मीको झर्रोवाद प्रतिको आफ्नो दृढ आस्थालाई प्रकट गर्न निज निवासलाई नै ‘झर्रो नेपाली घर’ नामकरण गरेका छन् र बोलीचालीमा पनि झर्रोपनालाई अवलम्बन गरेका छन् । भाषिक उत्थानमा जोड दिने रेग्मीले युगज्ञान, जुही, यथार्थ कुरा जस्ता आफ्नै सम्पादन र प्रकाशनमा निस्कने पत्रिकाहरुका माध्यमबाट पनि आफ्नो प्रस्तावित वर्ण विन्यासको प्रायोगिक भाषाको प्रयोग गर्दै विभिन्न लेख रचनाहरुद्वारा भाषा र व्याकरणका क्षेत्रमा अविसमरणीय योगदान पु¥याएका छन् र आफ्नो चिन्तन दृष्टिलाई समेत प्रस्तुत गरेका छन् ।
साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका रेग्मीको लेखनी पत्रकारीताका क्षेत्रमा पनि सक्तिय रहेको देखिन्छ । उनको साहित्यिक प्रतिभाको परिचय ‘छात्रदूत’ (२०१३), ‘छहारी’ (२०१५), ‘जनवार्ता’ (२०२०), ‘मोती’ (२०२३), ‘धारा’ (२०२४), ‘कस्तुरी’ (सामयिक सङ्कलन २०२५), ‘अध्ययन’ (२०३६) द्वारा प्राप्त हुन्छ भने यिनबाट राम्रो अनुभव सङ्गालिसकेका रेग्मीले २०२६ देखि २०४८ सम्म सात्पाहिक ‘युगज्ञान’, २०३८ देखि बिचमा केही अङ्क छोडेर हालसम्म ‘जुही’ त्रैमासिक र २०५२ देखि ‘यथार्थ कुरा’ पाक्षिक पत्रिकाको सम्पादन प्रकाशन गर्दै आएकाबाट पनि स्पष्ट हुन्छ । ‘जुही’का पच्चिसौं विशेषाङ्क, ‘यथार्थ कुरा’का दशौं विशेषाङ्कहरुले मात्र होइन, उनका सम्पादनमा निस्केका पचासौं, ‘जुही प्रकाशन’का ग्रन्थमालाले पनि देखाइरहेका छन् ।
साहित्यका सिर्जनात्मक विधाहरुमा जहिलेदेखि चूडा मणि रेग्मीको कलम चल्यो, त्यति खेरदेखि नै उनको कलम समालोचनातर्फ पनि चलेको देखिन्छ । २०१३ सालमा ‘छात्रदूत’को सम्पादकीय लेखेर समालोचनाका क्षेत्रमा प्रवेश गरेका रेग्मीका छवटा पुस्तकाकारमा कृतिहरु प्रकाशित भइ सकेका छन् भने यी बाहेक सयौं रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा छरिएर प्रकाशित भएका देखिन्छन् । परम्परागत प्रभाववादी तथा व्याख्यात्मक समालोचनामा विशेष रुचि देखाउँदै आएका र नेपाली भाषाको मौलिक स्वरुपलाई राम्ररी बुझेका रेग्मीले भाषापरक, विश्लेषणात्मक समालोचनाहरु पनि प्रशस्तै लेखेका छन् । आफूले देखेका कुरा निर्भीक भएर भन्ने क्षमता राख्ने रेग्मी वस्तुपरक आलोचनाधर्मलाई आत्मसात् गर्दै यथार्थवादी समालोचनाको बाटो अँगाली कृति र कृतिकारको गुण दोष केलाउने, विवेचना र मूल्याङ्कन गर्ने समालोचनाकर्मीका रुपमा स्थापित हुँदै आएका देखिन्छन् । सूत्रात्मक शैलीमा लेखिएका उनका समीक्षात्मक लेख रचनाहरु विश्लेषणात्मक विवेचनामा त्यति गम्भीर र सूक्ष्मतातिर त्यति संलग्न नभएका भए तापनि सारलाई संक्षिप्ततामा प्रस्तुत गर्ने, निष्पक्ष र वस्तुवादी एवं टिप्पणीका ढङ्गबाट आफ्ना विचार अघि सार्ने समालोचकका रुपमा देखापर्छन् भनेर मान्नुपर्दछ । उनका समालोचनामा व्याख्या र विश्लेषण त्यति गम्भीर र व्यापक पाइँदैन तर कृतिका गुणदोषको तथ्याङ्कन गर्नमा भने पछि परेका छैनन् । उनका समालोचनाहरु विविध प्रवृत्तिका देखिन्छन् । यथार्थवादी वस्तुवादी मात्र होइन, समाजपरक पनि छन्, शैली विज्ञानका सन्निकट रहेका पनि छन् र भाषा वैज्ञानिक पनि छन् । उनले साहित्य समालोचनाका क्षेत्रमा आफ्नो व्युत्पन्न प्रतिभाको राम्रो परिचय दिएका छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 भाद्र, 2072

लेखकका अन्य रचनाहरु