खण्डकाव्यकार लेखनाथ पौड्याल र ऋतुविचारमा पूर्वीय दर्शनको प्रयोग

- नारायण बराल

१.लेखनाथको खण्डकाव्य यात्राको संक्षिप्त रुप
आधुनिक नेपाली कविताका युगनिर्माता तथा परिश्कारवादी काव्यधाराका प्रवर्तक कवि शिरोमणि लेखनाथ पौड्याल ( विं सं १९४१– २०२२ ) ले बाल्यकालमा आफ्नो जन्मस्थल कास्की जिल्ला लेखनाथको अर्घौ अर्चले गाउँमा नै कविताको उद्बोधन प्राप्त गरेका थिए । पं दुर्गादत्तको स्वर्गको ढोका खोलिदिने अनि सम्पूर्ण नेपाली पाठकहरुको हृदयमा साहित्यको अलौकिक आनन्द दिलाउने लामा र सेता दारी भएका गुरुज्यू श्री लेखनाथ पौड्याल व्यास, वाल्मीकी र कालिदासीय परम्पराका महान् काव्य प्रतिभा हुन् । लेखनाथ पौडयालले आाफ्नो आठ दशकभन्दा लामो जीवन यात्राको समयमा छ दशकभन्दा लामो काव्ययात्रा पुरा गरेको पाइन्छ । कवि पौडयालको समष्टि कविता यात्राका सन्दर्भमा चर्चा गर्दा वि सं १९६६ सालमा माघवी पत्रिकामा धारावाही रुपमा प्रकाशित वर्षाविचार लामो कविताबाट उनको खण्डकाव्यकारिताको प्रथम उन्मेष भएको देखिन्छ भने २०११ सालमा प्रकाशित मेरो राम खण्डकाव्यमा पुगी त्यो विश्रान्त बनेको देखिन्छ । वास्तवमा यही वर्षाविचारले लेखनाथको भविश्यको उज्वलतालाई सङ्केत गरेको छ ।
लेखनाथ मानसाकर्षिणी र श्रृङ्गारपच्चीसी (कविताकल्पद्रुम सं १९६१)का साथ नेपाली कविताजगत्मा प्रवेश गरेको एक दशकभित्रै कविले आफ्नो भावी दिशा निर्धारित गर्दै माध्यामिककालीन शृङ्गारी काव्ययुगलाई बिदाको सलामी दिएर नयाँ युगको आरभ्भ गर्ने अग्रणी भूमिका खेलेको देखिन्छ । उनी सं १९६१ देखि १९९१ सम्मको तीन दशकको अवधिका एक मात्र केन्द्रीय प्रतिभाका रुपमा देखिन्छन् भने समग्र रुपमा उनी परिश्कारवादी काव्यधाराका शिखर प्रतिभाका रुपमा पनि देखिन्छन् (उपाध्याय २०५९ः७३) । लेखनाथ पौड्यालका प्राकृतिक पर्यवेक्षण, सामाजिक व्यङ्ग्य र आदर्शीकरण, नीतिचेत, पौराणिक सन्दर्भको नवीन व्याख्या, युगोन्मेष, हिन्दू पुनर्जागरणको स्वर र अध्यात्मचेतका साथै लय, शैली र अलङ्करणका अनुशासित लालित्यसहित सहज संयमित परिश्कारधर्मी स्तरीय कविताचेतका प्राथमिक प्रस्फुटनका विन्दुका रुपमा वर्षाविचार लघुकाव्य (१९६५ – १९६६) देखा पर्छ र यसलाई नेपाली खण्डकाव्यको परिश्कारधर्मी प्रथम स्तरीय प्रयास पनि भन्न सकिन्छ (कँडेल २०५५ः२१०)।
विं सं १९७० सालको शोकप्रवाह (शोककाव्य) खण्डकाव्यले लेखनाथको उच्च भावक्षमताको परिचय दिन्छ । उनका लय र शैलीमा आइरहेको परिश्कृतिले गर्दा यसको भावधारा झन् चहकिएको छ । परिश्कारवादी काव्यधाराको उल्लेख्य कृतिका रुपमा यस करुण खण्डकाव्यले लेखनाथको विकासशील कविप्रतिभालाई प्रस्तुत गरेको छ । वि सं १९७३ मा प्रकाशित ऋतुविचार प्राकृत खण्डकाव्यका दृष्टिले प्राच्य साहित्यमा भेटिने प्रकृतिका वर्णनात्मकताका सन्दर्भमा नेपालीको पहिलो मौलिक प्राकृत काव्य हो । यो काव्यको पृष्ठभूमिका रुपमा वर्षाविचार नै देखापर्दछ र त्यसकै विकसित रुपमा ऋतुविचार जन्मिन्छ । वर्षाविचार लघुकाव्यका रुपमा देखापर्दछ र उनको आगामी ऋतुविचार काव्यको प्रारुप पनि हो । प्रकृतिका विशुद्ध सौन्दर्यको प्रस्फूटन गरिदिएर काव्यात्मक आनन्दमा अलौकिकता एवं सच्चिदानन्दको स्वाद भर्दिने कामले लेखनाथको काव्यसाधना महले भरिएको चाकासमान हुन पुगेको छ (चापागाईँ २०६५ः २०) । सामाजिक, सास्कृतिक तथा नैतिक अध्यात्मिक प्रतिच्छवि सहित लेखनाथको सूक्ष्म प्रकृति पर्यवेक्षण प्रकट हुनुको साथै लेखनाथमा भाव, लय, चिन्तन र शैली शिल्पको पूर्वस्वछन्दतावादी स्पर्शसहित सहज परिश्कृत संश्लिष्ट सौन्दर्यको नमूना स्वरुप ऋतुविचार खण्डकाव्य नेपाली कविताकै पनि प्रथम परिश्कृत सौन्दर्य वाटिकाका रुपमा देखापर्दछ । उनका वुद्धिविनोद १९७३ (बौद्धिक लघुकाव्य), सत्यकलि संवाद १९७६, गीताञ्जली ( लघु स्तुतिकाव्य) १९७४ सालको सुक्तिसिन्घु कवितासङग्रहमा विरहिणीका उपर सखीको प्रश्न कविताद्धारा माध्यात्मिककालीन नेपाली कविताको शृङ्गारिक धारालाई चरम कलात्मकतामा पु–याएको पाईन्छ । विं सं १९९४ सत्प्रश्नात्मक वुद्धिविनोद , त्याग र उदयको युगल प्रकाश (२००२), लालित्य (संङग्रह काव्य) गंगा गौरी (अपूर्ण महाकाव्य), अमरज्योतिको सत्यस्मृति (२००८), तरुण तपसी (नव्यकाव्य २०१०), मेरो राम (२०११) यस खण्डकाव्यकृतिगत परिमाणले उनको खण्डकाव्य यात्रा सर्वाधिक उर्वर रहेको पुष्टि गर्दछ ।
शोकप्रवाह शोककाव्य हो । नेपाली भाषाको पहिलो बौद्धिक काव्यको रुपमा सं १९७३ मा प्रकाशित बुद्धिविनोदलाई लिइन्छ । यसमा समकालीन नेपालका पूर्वी– पश्चिम वा प्राचीन– नवीन मूल्य, दृष्टि र चेतनाका प्रश्न–प्रतिप्रश्नको द्धन्द्धमय अभिव्यक्तिका रुपमा उभिदै ज्ञान र विज्ञानको घर्षण थालिएका युगीन बौद्धिक धरातलको व्यञ्जक नै बढी देखापर्छ । गीताञ्जलि शासक स्तुतिको सन्दर्भसँग जोडिएको पाईन्छ । सत्यकलि संवादमा काव्यमूल्यभन्दा हिन्दू पूनर्जागरणको स्वर तथा सामाजिक मूल्य र युगचापको मात्रा बढी देखिन्छ । लेखनाथ पौड्यालले नेपाली भाषामा उच्च गुणस्तरयुक्त काव्य रच्ने भित्री अठोटका साथ वि सं १९६६ सालमा वर्षाविचारको विकसित रुप ऋतुविचार (१९७३ ) हो भने ती दुवैको अन्तिम परिश्कृत उत्कृष्ट परिणति ऋतुविचार (विं स.१९९१) हो । संक्षेपमा भन्नुपर्दा उनले रचेका काव्यहरु मध्ये सत्तप्रश्नात्मक, वुद्धिविनोद बौद्धिक काव्य हो भने अमर ज्योतिको सत्यस्मृति शोककाव्य हो अनि त्याग र उदयको युगल प्रकाश चांिह शासक स्तुतिपरक काव्य हो । मेरो राम काव्य रामभक्तिमूलक अध्यात्म चिन्तनको उपज कृति हो र अमर ज्योतिको सत्यस्मृति काव्य महात्मा गान्धीका शोकमा र स्मृतिमा लेखिएको आध्यात्मिक मानवतावादी युगोन्मेषको काव्य हो ।
अतः कविशिरोमणि लेखनाथ पौड्याल परिश्कारवादी काव्यधाराका उत्कृष्ट खण्डकाव्यकार हुन् । उनले नेपाली काव्यको लामो यात्रा पार गर्नुको साथै अध्यात्म चिन्तनको गहिराइमा डुबुल्की मारी जीवनबोध गराएका छन् । नेपाली काव्यमा नौलो चिन्तन र नवीन दृष्टिकोणलाई अँगाल्न कविको काव्यगत भावगाम्र्भीय र र्मािर्मकता चौपट्टै सहृनीयोग्य छन् । सारांशमा अध्यात्मभाव लेखनाथीय समस्त कविताको आत्मा हो । पूर्वीय दर्शन र साहित्यलाई नेपाली काव्यमा भरी लेखनाथले कवितात्मक सौन्दर्य विशेष समेत झल्काएका कवि सफल उत्कृष्ट काव्यकारका रुपमा उच्च स्थान प्राप्त गर्न सफल भएका छन् ।
२.दर्शनको परिचय
मानवीय समाजको विकास भएपछि मान्छेको स्वभाविक जिज्ञासा र चेतनाबाट दर्शनको उत्पत्ति भएको पाईन्छ । प्रकृति र समाजसँगको संघर्षका कारण उत्पन्न समस्याको समाधान खोज्ने क्रममा दर्शनको विकास भएको पाईन्छ । जब भौतिक र सामाजिक अनुभव बिच द्धन्द्ध हुन्छ तब मानवमा एक दृष्टिकोणहरु निर्माण हुन्छन् । प्रकृतिका डरलाग्दा समस्याहरुसँग जुध्नकै लागि मानिसले बौध्दिक विकासको फलका रुपमा दर्शनको विकास गरेको पाईन्छ ।
नेपाली वृहत् शब्दकोशमा दर्शन शब्दको अर्थ प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, जीवन र चेतनाबारेको विवेचन र विश्लेषण गरिने विधा, सम्बन्धी विषयमा व्यापक रुपले यथार्थ परिचय दिने शास्त्र, आध्यात्मिक तथा भौतिक वस्तुको चिन्तन र विश्लेषण भन्ने अर्थमा लिईन्छ । यो शब्द संस्कृत भाषाको ‘दृश् दशने’ धातुमा ‘अन’ प्रत्यय लागेर दर्शन शब्दको निर्माण भएकोे हो । ‘दृश्’को अर्थ देख्नु हुन्छ । देख्नु भन्नाले स्थूल (चर्म) चक्षुले बाहिरी संसारलाई र सूक्ष्म (ज्ञान÷प्रज्ञा) चक्षुले आन्तरिक संसारलाई देख्नु भन्ने अर्थ गर्न सकिन्छ । जसद्धारा देखिन्छ (दृश्यते अनेन इति दर्शनम्) र जसको तत्वबोध या साक्षत्कार हुन्छ (दृश्यते इति दर्शनम्) यी दुई दर्शन शब्द विभिन्न अर्थ र तात्पर्यमा प्रयोग हुन्छ (चालिसे २०६९ः१) । दर्शन शब्दलाई अंग्रेजीमा फिलोसोफी भनिन्छ । ग्रीक भाषामा फिलोस ९उजष्यिक० र सोफिया ९कयउजष्ब० दुई शब्द मिलेर उजष्यिकयउजथ बनेको पाईन्छ । यसमा अघिल्लो शब्दले प्रेम र पछिल्लो शब्दले ज्ञान बुझाउँछ । यी दुई शब्दको अर्थलाई जोडेर ‘ज्ञानप्रतिको प्रेम’ भन्ने शाब्दिक अर्थ गरिएको छ (सिन्हा, १९८३) । यसरी हेर्दा दर्शन ज्ञानप्रतिको प्रेम हो भन्न सकिन्छ । नेपाली, संस्कृत र अंग्रजी भाषाका दर्शन शब्दका धारणाका आधारमा दर्शन मानवीय विश्व दृष्टिकोण हो भन्न सकिन्छ । दर्शनशात्रलाई अझै स्पष्ट पार्नका लागि केही विद्धानहरुका धारणा प्रस्तुत गर्न सकिन्छ ः
“दर्शन त्यस ज्ञानको नाम हो, जसबाट चछुष अर्थात् रुपमा प्रकट हुने र आँखाले देखिने विषयहरु, चाहे ती अति नै सूक्ष्म या अन्य कुनै वस्तुभित्र गाभिएर रहेका वा धेरै टाढा रहेका किन नहोउन, ती सबको ज्ञान हुन्छ” ।–प्रसिद्ध पूर्वीय चिन्तक माधवाचार्य

“दर्शनशास्त्र जगतको विषयबोध गर्ने मानव प्रयास हो”े –प्रसिद्ध भारतीय दर्शनशास्त्री राधाकृष्णन्
“दर्शनशास्त्र चिन्तन पद्धति मात्र नभएर जीवन पद्धति पनि हो ”। –पाश्चात्य विद्धान एम. हिरियन्ना
“प्रत्येक दर्शनले एक विश्व दृष्टिकोण अभिव्यक्त गर्दछ ”।–पाश्चात्य विद्धान मोरिस कर्नफोर्थ
“हरेक सच्चा दर्शनशास्त्र आफ्नो युगको उच्चतम बौद्धिक सारतत्व हो ”। –कार्ल माक्र्स (भूसाल २०६८ः१७)
यी माथिका भनाईहरुबाट के स्पष्ट हुन्छ भने दर्शनशास्त्र भन्नाले मानव चेतनाको एक उच्चतम रुप हो भन्ने स्पष्ट हुन्छ ।
पूर्वीय विद्धानहरुका मत अनुसार दर्शन भन्नाले आलोचनात्मक व्याख्यान, तार्किक पर्यवेक्षण, जस्तै न्याय, वैशेषिक, साङ्ख्य, वेदान्त, योग, मीमांसा आदिद्धारा जीवन र जगत्बारेको सम्यक् हेराइ गर्नु भन्ने अर्थ गरिएको छ मानव प्रवृत्तिको चर्चा गदै हब्स भन्छन् । मानवको छनौट दर्शन या आदर्शका बिच नभएर सधै राम्रो दर्शन र नराम्रो दर्शनबीच हुन्छ भन्ने भनाईबाट मानिस दार्शनिक प्राणी रहेको कुरा वुझन् सकिन्छ । चिन्तनका दृष्टकोणबाट मानवीय प्रवृत्तिमा समानता भएपनि पूर्वीय र पाश्चात्य दर्शनको प्रवृत्ति अलग अलग देख्न सकिन्छ । पाश्चात्य दर्शनले प्रायः बौद्धिक चिन्तनलाई प्राथमिकता दिएको पाईन्छ भने पूर्वीय दर्शनले बौद्धिक दर्शनलाई गौण रुपमा लिदै यस दर्शनले प्रायः अपरोक्षानुभूति या आत्म साक्षात्कारलाई प्राथमिकता दिएको पाईन्छ । परम तत्वको साक्षात्कार वा अपरोक्षानुभवलाई पूर्वीय दर्शनमा दर्शन भनिएको छ (दर्शनम् साक्षात्करणम्ः अपि च दृश्यते अनेन इति दर्शनम्) । यसको साथै पूर्वीय दर्शनमा दर्शनका साधन श्रृति र तर्कलाई मानिएको छ साथै श्रृतिको अर्थ वेद हो भन्ने बुझिन्छ । पूर्वीय दर्शन आध्यात्मिक चिन्तनबाट बढी प्रभावित भएको देखिन आउँछ । पूर्वीय चिन्तनका सन्दर्भमा चर्चा गर्दा परलौकिक शक्तिमा विश्वास गर्ने ईश्वरवादी चिन्तन प्रबल रुपमा रहेका वेद, ब्राह्मण, आरण्यक, उपनिषद ब्रह्मसूत्र, भगवद्गीता र अन्य आस्तिक दर्शनका विचारहरुनै दर्शन सम्बन्धी धारणाहरु प्रकट भएको पाईन्छ ।
पूर्वीय र पाश्चात्य दर्शनमध्ये पूर्वीय दर्शन परम्परामा आस्तिक र नास्तिक, वैदिक र अवैदिक, आत्मवादी र अनात्मवादी, ईश्वरवादी र अनिश्वरवादी भनेर दर्शनलाई विभाजन गरिएको छ । वेद, ईश्वर र आत्मालाई स्वीकार गर्ने दर्शनलाई आस्तिक, वैदिक, आत्मवादी वा ईश्वरवादी मानिएको छ भने वेद, ईश्वर, र आत्मालाई स्वीकार नगर्ने दर्शनलाई नास्तिक दर्शन भनिएको पाईन्छ । आस्तिक दर्शन अन्तर्गत न्याय, वैशेषिक, साङ्ख्य, योग, मीमांसा र वेदान्त दर्शन पर्दछन् भने नास्तिक दर्शन अन्र्तगत चार्वाक, जैन र बौद्ध दर्शन पर्दछन् ।
जीवन र जगतलाई हेर्ने, बुझने र व्याख्या गर्ने दृष्टिकोण नै दर्शनशात्र हो । मानिस जुन विश्व परिवेशमा बाँचेको हुन्छ, आफु बाँचेको परिवेशको बारेमा मानिस स्वयम्का चिन्तकहरुको प्रणाली नै दर्शन हो । अर्थात् दर्शन भनेको मानिसको विश्व दृष्टिकोण हो । संसार भनेको के हो ?यसको उत्पत्ति कसरी भयो ? र विकास कसरी हुन्छ ?भन्ने जस्ता सवालमा हरेक व्यक्तिको एउटा निश्चित दृष्टिकोण हुनु आवश्यक हुन्छ, त्यो नै उसको विश्व दृष्टिकोण हो र त्यही उसको दर्शन हो ।
२.१ दार्शनिक लेखनाथ र ऋतुविचारमा पूर्वीय दर्शन
कवि शिरोमणि लेखनाथ पौड्याल काव्ययात्राको प्रहरदेखि नै दार्शनिक कविको रुपमा देखा परेको पाईन्छ । कवितामा नैतिक उपदेश एवंम् दार्शनिक चिन्तन दिनु कविको विशेषता हो । उनका फुटकर कवितादेखि खण्डकाव्य, नव्यकाव्यसम्म आर्य संस्कृति, हिन्दुधर्म वा पूर्वीय अध्यात्मदर्शन तथा वेदान्त दर्शनको प्रभाव परेको पाईन्छ । उनका कवितामा सांसारिक भोगवासना वा तृष्णाका तटबन्धनलाई तोड्दै अध्यात्मवादी दर्शनबाट मुक्तिको कामना गरेका छन् । र्र्धािर्मक भावनामा आस्थावान हुनुको साथै हिन्दु सस्कृतिप्रति बढी प्रभावित भएको देख्न सकिन्छ । नेपाली साहित्यमा अनुकरणीय व्यक्तित्व बन्न सकेका कविका विभिन्न फुटकर कविता, ऋतुविचार, वुद्धिविनोद, सत्यकली संवाद खण्डकाव्य, तरुण तपसी नव्यकाव्य एवं गंगागौरी अपूर्ण महाकाव्यांस जस्ता कवितामा दार्शनिक विम्बहरुको प्रयोग भएको पाईन्छ । मन सांसारिक विषयवासनातिर प्रवृत्त हुन्छ भने मानिस भित्रको बुद्धि अध्यात्मतिर उन्मुख भई अन्त्यमा मुक्ति मिल्दछ भन्ने लेखनाथको दार्शनिक चिन्तन रहेको छ । उनको चिन्तनशीलता र दार्शनिकताको धरातल पूर्वीय दर्शनको अध्यात्मिकता हो । लेखनाथको मूल पृष्ठभूमि पूर्र्र्र्वीय साहित्य, दर्शन र नेपाली जनजीवनरहेको छ । त्यसैले शिल्पसङ्गठन र भावप्रस्तुतिमा पूर्वीय अलङ्कारशास्त्र र वाल्मीकी, कालिदास आदिका काव्यकृति नै आदर्श रहेका छन् (पराजुली २०५६ः१७०) ।
कवि लेखनाथका काव्यसाधनाको पच्चीसवर्षे बैसको छहारीमा टुसाएको एक उल्लेख्य नेपाली खण्डकाव्यफाँटको पहिलो प्रकृतिकाव्य ऋतुविचार खण्डकाव्य हो । पूर्वीय अध्यात्मदर्शनको महिमा र आदर्शको प्रस्तुतिले प्रकृतिको चित्रणमा सशक्तता थप्ने र प्रकृतिका झलकमा दर्शन टल्किने भएकोले सोही अनुसार यहाँ कविको दार्शिनक चेत झुल्किएको हामी पाउँछौ । नीति चेतना एवंम् पूर्वीय अध्यात्मवादी दर्शनका महान व्याख्याता कवि कवितामा दर्शनको मिसावट गर्ने प्रवृत्तिका दृष्टिले नेपाली कविताको इतिहासमै उनको महत्वपूर्ण स्थान छ । उनको दार्शनिकतामा आधुनिक समाजदर्शनको साथै पूर्वीय सांख्य, वेदान्त र योगदर्शन जस्ता अध्यात्मवादी दर्शन पनि प्रस्तुत काव्यमा व्यक्त भएको छ । नीति एवंम् दार्शनिक पक्ष प्रकृति चित्रणसँगै घुलमिल भएर आएका छन् । कविले प्रकृति चित्रणलाई काव्यमा अँगाले पनि उनको काव्यको मूलपृष्ठभूमि दार्शनिक चिन्तन हो । दर्शनका सुक्ष्म गम्भीर कुरालाई एकै पङ्क्तिमा सरल किसिमले सशक्त ढंगमा व्यक्त गर्न सक्नु र प्रकृति बिम्ब काब्यमा दिन सक्नु कविको महत्वपूर्ण उपलब्धिको रुपमा लिइन्छ । ऋतुविचारका एक पङ्क्तिमा प्रकृति र अर्को पंङ्क्तिमा दर्शन सुक्ति देखापर्नु कविको आफ्नै नितान्त मौलिक विशेषता रहेको छ ।
कवि पौड्यालको ऋतुविचार खण्डकाव्य ऋतुपरिवर्तनको आधारमा प्रकृतिको चित्रण गर्दै सामाजिकतातर्फको चासो नै यसको मुख्य विषय हो । संक्षेपमा भन्नुपर्दा छ वटै ऋतुहरुको आगमन र प्रत्यागमनसँगै देखापर्ने सामाजिक स्थिति मानिसको मानवीय स्वभाव र क्रियाकलापको समेत झलक दिन काव्य सफल भएको छ । प्रकृतिका वाह्य तथा आन्तरिक तत्वको खुलासा गराउने यो ऋतुकाव्य छ वटा ऋतुहरुको चित्रण खिच्दछ । कविको यस काव्य प्रकृति चित्रणमा वसन्तबाट सुरुभई शिशिर विचारमा पुगेर पुराभएको छ ।
प्रकृतिका यावत् स्वरुपहरुको वर्णन गर्ने क्रममा नेपाली जीवनजगत, धर्म, सस्कृति, कृषिकर्म, चाडपर्व, प्रकृति एवम् जीवनजगतका विभिन्न परिस्थितिको उतार चढाव तथा आगमन प्रत्यागमनलाई यस खण्डकाव्यको मूल विषय वस्तु बनाएको पाईन्छ । प्रकृतिजगत जसरी क्षणक्षणमा परिवर्तन भइरहन्छ त्यसैगरी मानव जीवनमा पनि त्यस परिवर्तनको प्रभाव पर्दछ । प्रकृतिको रुपरङ्गमा परिवर्तन आएजस्तै जीवनचक्रमा पनि परिवर्तन आइरहन्छ भन्ने चर्चा प्रस्तुत भएको पाइन्छ । अझ ऋतुविचारमा प्रकृति एवं जीवन र जगत्का सुक्ष्म सुक्ष्म पाना पल्टाएर लेखनाथले काव्य चैतन्य दर्शाएका छन् । नेपाली साहित्यमा अनुकरणीय व्यक्तित्व बन्न सफल भएका लेखनाथको कविता ऋतुविचारमा वान्किला र फूर्तिला भएका छन् । व्यावहारिक सत्तामा अडेस लागि पारमार्थिक सत्तालाई आब्हान गर्ने लेखनाथ ठाउँ ठाउँमा पूर्वीय चिन्तनको तारिफ गर्नमा व्यस्त छन, यिनले प्रकृति र जीवनका सृष्टि र समाधिका चर्चा प्रस्तुत गरेका छन् (रिसाल २०५८ः१७३) ।
वसन्त विचारमा कवि लेख्दछन् ।
हजारौ– मुख भै निस्के लता– वृक्षा ऽऽ दि हालमा ।
लया वस्था वितायेका जीव झँै सृष्टि– कालमा ।। (पौड्याल २०६२ः३)
दर्शनका सूक्ष्म गम्भीर कुरालाई एकै पङं्क्तिमा सरल किसिमले सशक्त ढङ्गमा व्यक्त गर्न सक्नु र प्रकृतिबिम्ब दिन सक्नु कविको महत्वपूर्ण उपलब्धि मानिन्छ । ऋतुविचारमा एक पङ्ंक्तिमा प्रकृति र अर्को पङ्ंक्तिमा दर्शन –सूक्ति देखापर्नु कविको अन्य काव्यकारको भन्दा फरक मौलिक विशेषता रहेको पाईन्छ ।
गौथलीहरु सा ऽऽनन्द योग्य जोडी मिलीकन ।
माया –चेतन झँै थाले गुण कृत्य जमाउन ।। (वसन्त विचार ः८७)
चैत्र, बैशाखको महिनालाई वसन्त ऋतुको समय मानिन्छ । वसन्त ऋतुका गौथलीहरु जब वासना वृत्ति आउँछ त्यसपछि लगत्तै गुँड बनाउने तरखरमा लागेको कुरालाई अन्त्यत मार्मिक ढंगले कविले वर्णन गरेका छन् । यहाँ वस्तुतत्वको रुपमा गौंथलीका जोडीमा उत्पन्न हुने युग्मेच्छा र तिनले गुणको निर्माण गर्नको लागि देखाउने सक्रियताको वर्णन गरिएको छ । तर उपमानको रुपमा माया र चेतन (ब्रह) को चर्चा गरेर सत्व र तमोगुणको मिश्रण भएर ब्रहको मायाले सृष्टि उत्पन्न हुन्छ भन्ने अध्यात्मवादी सन्देश प्रसारित गरिएको छ । यस पंङ्क्तिमा साख्येय र वेदान्त दर्शनको प्रयोग भएको छ । माया र चेतन शब्द वेदान्त दर्शनमा प्रयोग हुने शब्द हुन् भने यिनै शब्दलाई सांख्येय दर्शनमा प्रकृति–पुरुष भनिन्छ । यसरी हेर्दा यस पंङक्तिमा वेदान्त र सांख्येय दर्शनको प्रयोग भएको देखिन्छ । मायासँग चेतनको भेट भएपछि आसक्ति पलाए जस्तै वसन्त ऋतु आएपछि पनि गौथलीका जोडी गुँड बनाउने प्राकृतिक तरखरलाई दार्शनिक किसिमले माया चेतनको गुँडकृत्यसँग तुलना गर्दै कविले आफ्नो दार्शनिक चिन्तन प्रकट गरेका छन् ।
संसार यो हिलो सारा पद्यको रस मुक्ति हो ।
जीव छन् भ्यागुता–तुल्य पद्म ईश्वर– भक्ति हो ।। (वर्षा विचारः ७४)

(संसार= हिलोमैलो, जीव =भ्यागुता, कमल=ईश्वर भक्ति, कमल रस=मुक्ति हो ।)
वर्षाको समय भएकोले जताततै हिलैहिलो छ, कमल छन्, भ्यागुता छन् । यस दृश्यलाई कवि आध्यात्मिक भाव संप्रेषणको लागि नियोजित गरिदिन्छन् । अनि हिलो संसारको प्रतीक भैदिन्छ (तुच्छ र घृणित), कमल ईश्वर भक्तिको प्रतीक बन्छ । भ्यागुता प्राणीका प्रतीक हुन जान्छन् र कमलको रस मुक्तिको प्रतीक बन्छ । यस्तो भावविधानबाट के सन्देश निस्कन्छ भने यस तुच्छ संसारमा निवास गर्ने तुच्छ मानवजातिको परम कर्तव्य हो ईश्वरभक्ति र चरम लक्ष्य हो मुक्ति । वेदान्त दर्शनअनुसार मुक्तिको परिभाषा सुखको अनुभव गर्नु हो । अर्थात् “सुखाभिव्यक्ति मुक्ति” भन्नाले कुनै पनि व्यक्तिले सुखको अनुभव गर्नु नै मुक्ति होे । कविले उपमा अलङ्कारको प्रयोग गर्दै मुक्तिसम्बन्धी दर्शनलाई यसरी अभिब्यक्ति दिएका छन् ।
बाँध बाँधी –ँिददा सोझै चढयो पानी कुला–भरी ।।
चित्त रोकी सुषुम्णामा लगेको प्राण झै गरी ।। (वर्षा विचार ः ६५)
वर्षाको समयमा विशेषगरी पानीको मात्रा बढी हुनु स्वभाविक हो । यस पद्य पंङ्क्तिमा वर्षामा कुलामा बाँध बाँध्दा जसरी कुलाभरी पानी चढ्छ, ठिक त्यसै गरी चित्त रोकी प्राणीलाई सुषुम्णामा पु–याउँदा मुक्ति मिल्दछ भन्ने दार्शनिक चिन्तन कवि प्रकट गर्दछन् । यस पंङ्क्तिमा योगदर्शनको अभिव्यक्ति छ । सोही अनुसार श्वास खैचिन सक्यो भने मुक्ति र स्वर्ग प्राप्त हुन्छ भन्ने दार्शनिक विचार छ । कवि वर्षामा बाँधभा बाँधेर कुलामा पानी चलाउने नेपाली किसानहरुको प्रचलनको वर्णनलाई दर्शनका माध्यमले स्पष्ट पारेका छन् ।
खेतको मोहनी शोभा हेरदा–हेरदै महाँ ।
ब्रह्ममा ब्रह्म –वेत्ता झै लीन हुन्छ मनै वहाँ ।। (शरद् विचारः६७)
शरद विचार अर्थात् शरद ऋतुको समय असोज कात्तिक महिनालाई मानिन्छ । यस समयमा खेतमा मोहनी लाउने गरी निकै आकर्षक देखिन्छ । शरदकालीन खेतको फाँटको शोभालाई हेर्दा हेर्दै किसानमा स्वर्गीय आनन्दित हुने प्रसङ्गलाई कविले व्रह्मवेत्ता व्रह्मा लीन भएझै ठानेका छन् । सांसारिक र आध्यात्मिक आनन्दको तुलना गरिएको यो पद्य पङ्ंक्तिमा वेदान्त दर्शनको आभाष पाईन्छ ।


लेखनाथ वेदान्त दर्शनको अद्धैतवाददेखि सम्पूर्णतः भिजेका छन् । कविको विचारमा परमात्मा नै ब्रह्म हो अथवा आत्मा परमात्माको एक चोइटो हो । परमात्माबाट चोइटिएको आत्माले आपनो स्थितिको निम्ति भौतिक शरीरमा प्रवेश गरेको हो । आत्मा जबसम्म भौतिक शरीरभित्र रही रहन्छ तबसम्म उसलाई ठूलो भोग्नुपर्छ । शरीरबाट मोक्षप्राप्ति गरी परब्रह्ममा नमिलेसम्म आत्माले शान्ति प्राप्त गर्न सक्दैन । त्यसैले शारीरिक वासनातिर नलागी आत्मिक चिन्तनमा रहनु आवश्यक छ भन्ने कविको विचार छ । उनको काव्यकृतिको आत्मा नै आध्यात्मिक दर्शन हो,(चापागाईँ २०६०ः २९) ।
प्रत्येक पुष्पको रुप, रेखा, रङ्ग अनेक छ ।
तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ ।। (वसन्त विचार ः२८)
झरीले छोपि–ंंंंंंंंंंंंंंंंंंंंंंंंराखेका वर्षाका दिन छन् सब ।
अविद्याले अँठायायेका जीव–तुल्य गत –प्रभ ।। (वर्षा विचारः ३८)
नदीका जलले छोड्यो सारा बगर सुस्तरी ।
ज्ञानीका मनले तुच्छ भोगको वासना– सरी ।। (शरद विचार ः ३४)
कृषिको श्रम– साफल्य देखनाले प्रजा सब
परमा ऽऽ नन्दमा पायेको योग झै छ खुशी अब । ।। (शरद विचार ः६९)
कुइरामा कठै !काग घुम्छन् अन्योलमा परी ।
मायाले मुक्तिको मार्ग बिर्सेका विषयी– सरी ।। ( हेमन्त विचार ः३२ )
यसैगरी कविले हेमन्त विचारमा कुइरोलाई लिएर कवि विभिन्न भाव चित्र बनाउँछन् र त्यसलाई पनि आध्यात्मिक सन्देशको संम्प्रेषणमा उपयोग गर्दछन् ।
विचार गर्दा उसको न रेखा छ न रंङ्ग छ ।
ब्रह्ममा विश्व झै खाली भ्रान्तिको त्यो तरंङ्ग छ ।।
सूर्योदय भएपछि कुइरो फाट्छ र हराएर जान्छ । त्यसको रङ्ग रेखा केही रहँदैन । यस दृश्यबाट कवि के भन्न चाहन्छन् भने जसरी ब्रह सत्य हो र विश्व भ्रम हो उसैगरी प्रकाश सत्य हो र कुइरो भ्रम हो भन्ने दार्शनिक विचार कवि व्यक्त गर्दछन् । यसबाट ‘ब्रह सत्यं जगन्मिथ्या’ को दर्शन प्रतिध्वनित हुन्छ ।
कुइरामा कठ!ै काग घुम्छन् अन्योलमा परी ।
मायाले मुक्तिको मार्ग विर्सेका विषयी– सरी ।। (हेमन्त विचारः३२)
मायाँले विषयवासनामा भुलेका मानिसले मुक्तिको बाटो छोड्दछ वा छोडेका छन् भन्ने कुरा कविले माथिको पङ्ंक्तिमा प्रस्तुत गरिएको हेमन्त ऋतुका कागहरुको उदाहरणको माध्यमबाट वर्णन गरेका छन् । हेमन्त ऋतुमा चारैतिर कुहिरो व्याप्त हुनाले कागहरु अन्योलमा पर्दछन् वा आफ्नो बाटो पहिल्याउन सक्दैनन् जसरी मायाँ र ममतामा भुलेका विषयीहरुले मुक्तिको मार्ग पहिल्याउन सक्दैनन् भन्ने विचार कविको रहेको छ । यस पङ्ंक्तिमा कविले वेदान्त दर्शनको कुरा लिएर कवि प्रकृतिको वर्णन गर्न तम्सिएको पाईनुको साथै सम्पूर्ण पाठकहरुलाई नैतिक उपदेश दिएको छ । कविको यस पंङ्क्तिमा नैतिक उपदेश भन्दा पनि दार्शनिक स्वर टड्कारो रुपमा देख्न सकिन्छ ।

निष्कर्षः
लेखनाथ पौड्यालको सौन्दर्य नमूनास्वरुप ऋतुविचार खण्डकाव्य नेपाली कविताकै पनि प्रथम परिश्कृत सौन्दर्यवाटिकाका रुपमा देखापर्छ । आध्यात्मिक बुद्धिवादका कवि लेखनाथको ऋतुविचारमा पंङ्क्तिपङ्क्तिमा लेखनाथीय प्रतिभामा पेलिएर खारिएको आध्यात्मिक दर्शन सुकोमल ढङ्गले व्यक्त गरिएको छ । दर्शन एक रुखो विषय भए पनि लेखनाथको सरस भाव पुञ्जभित्र घोलिएर सहज वोध बन्न पुगेको छ । लेखनाथको भाव संक्षिप्त रुपमा अभिव्यक्त भएको छ । यसर्थ भावधाराको सहज वोधले गर्दा पनि पाठकहरुको हृदयमा लेखनाथीय दर्शन भाव सरसताको साथमा अङ्कित रहन्छ । ऋतुविचारमा लेखनाथ पौड्यालको अध्यात्म चेतना पनि ठाउँ ठाउँमा प्रकट भएको छ । यसमा उनले खास गरी वेदान्त, साङ्ख्य र योगजस्ता पूर्वीय अध्यात्म दर्शनका मान्यताहरुको उपयोग ठाउँठाउँमा गरेको पाईन्छ । प्राकृतिक सृष्टिप्रक्रिया र प्रवृत्तिमार्ग सम्बन्धी साङ्ख्यमुलक र वेदान्ती दृष्टि (वसन्त विचार, श्लोक ः८७), ब्रह्मवेत्त ब्रह्ममा लीन हुन्छ भन्ने वेदान्ती विचार (शरद विचार, ः६७, योगदर्शनमूलक चित्तवृत्तिनिरोध (वर्षा विचार ः६५) वेदान्ती मुक्ति चेतना (वर्षा विचार ः७४), वेदान्तदर्शनकै विषयी, माया र मुक्तमार्गसम्बन्धी दृष्टि (हेमन्त विचारः३२)आदिको घतलाग्दो काव्यात्मक अभिव्यक्ति ऋतुविचार भित्र गरिएको छ । यी सम्पूर्ण दार्शनिक सन्दर्भहरुले लेखनाथ पौड्यालको अन्तर्विकासशील अध्यात्मचेतनाको छनक दिएका छन, र उनको कवितात्मक विषयवस्तुमा त्यसको उल्लेख्य स्थान छ भन्ने सङ्केत पनि कविले गरेको पाईन्छ ।

सन्दर्भ ग्रन्थ सूचि:
उपाध्याय, केशवप्रसाद, विचार र व्याख्या, साझा प्रकाशन द्धितीय संस्करण, २०५० ।
उपाध्याय, केशवप्रसाद मन्थन, साझा प्रकाशन, पहिलो संस्करण २०५९ ।
कँडेल, घनश्याम, नेपाली समालोचना, साझा प्रकाशन,पहिलो संस्करण, २०५५ ।
चापागाईँ, नरेन्द्र, नरेन्द्र चापागाइँका समालोचना, साझा प्रकाशन, पहिलो संस्करण २०६० ।
चालिसे, नारायण, पूर्वीय दार्शनिक मान्यतामा कोइरालाका उपन्यास, वी. पी. चिन्तन केन्द्र दाङ, प्रथम संस्करण २०६९ ।
पौड्याल, लेखनाथ, ऋतुविचार, साझा प्रकाशन, बाइसौ संस्करण, २०६२ ।
पराजुली, ठाकुर, नेपाली साहित्यको परिक्रमा,साझा प्रकाशन,द्धितीय संस्करण २०५६ ।
भुसाल, वेदुराम, नेपालमा प्रचलित दार्शनिक चिन्तनहरु, नेपाल प्रज्ञा प्रतिष्ठान, पहिलो संस्करण, २०६८ ।
रिसाल, पारसमणि, नेपाली काव्य र कवि, साझा प्रकाशन, पाँचौ संस्करण, २०५८ ।
सिन्हा, हरेन्द्रप्रसाद, भारतीय दर्शनकी रुपरेखा, दिल्लीः मोतीलाल वनारसीदास, सन् १९८३ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 भाद्र, 2072

लेखकका अन्य रचनाहरु