सागरका कथाहरूको सार

- प्रा. डा. कपिल लामिछाने

कथाकार विजय सागरको लघुकथाहरूको सँगालो सागरका कथाहरू (२०६०) प्रकाशमा आएको छ । २०६० सम्म आइपुग्दा नेपाली लघुकथाले राम्रो विकास गरिसकेको छ र अब यो छुट्टै स्वतन्त्र गद्य विधाको दाबी गर्ने अवस्थामा पुगेको छ । सागरले २०३२ सालदेखि लघुकथा लेखिरहेका छन् । उनले जुनबेला लघुकथा लेख्न थाले त्यतिखेर भने यस विधाको राम्रो प्रचार पनि भइसकेको थिएन । सङ्क्षिप्तता वा खिरिलोपना, चोटिलोपना र एकोन्मुखता लघुकथाका आफ्नै विशेषता हुन् । आख्यानको वृहत् रूप उपन्यास, लघु रूप कथा हो भने लघुतम रूप लघुकथा हो । त्यसैले लघुकथाको जीवन भित्र आख्यान हुन्छ, जुन आख्यानले लघुकथाभित्र विस्तारित हुने, झ्याँगिने अवसर पाउन्न— बिजुली चम्के झैँ चम्किन्छ, चट्याङ परे झैँ चड्किन्छ मात्र । अर्को शब्दमा भन्ने हो भने लघुकथा आख्यानको वामपुड्के स्वरूप हो । वनस्पति विज्ञानमा अचेल वामपुड्के रूख विकसित भए झैँ आख्यान जगतमा लघुकथा विकसित भइसकेको छ । नेपाली लघुकथाको इतिहासका थोरै पृष्ठमध्ये एक पृष्ठ वा थोरै अध्यायमध्ये एक अध्याय भएर हाम्रा सामु डम्म उभिएका छन्– विजय सागर, सागरका कथाहरू लिएर । सागरका कथाहरूमा सागरका २०३२ देखि २०५९ सालसम्ममा विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित लघुकथाहरू सँगालिएका छन् । पहिलो लघुकथा हो ‘यथार्थ’ र पछिल्लो लघुकथा हो ‘बुवाको नाम’ ।
सागरका यी लघुकथाहरूमा २०३२ देखि २०५९ सम्मको नेपालको धुकधुकी खासगरी नेपाली समाजका कटु यथार्थको सशक्त अभिव्यक्ति भएको पाइन्छ । च्युतादर्श, शैक्षिक विकृति, श्रमशोषण, अन्याय–अत्याचार, भ्रष्टाचार, यौनदुराचार, खोक्रो आडम्बर, प्रतीकात्मकता, सन्देशमूलकता आदि सागरका लघुकथामा पाइने मुख्यमुख्य विषय र विशेषता हुन् ।
२०३२ मा प्रकाशित ‘यथार्थ’ कथामा विद्यार्थी कालमा जुवा खेल्ने एउटा विद्यार्थीलाई शिक्षकले हप्काएकाले सप्रेर असल बाटोमा लागेको र पछि प्रहरी सेवामा लागि जुवाको कोठामा छापा मार्न पुग्दा त्यहाँ तिनै गुरुलाई भेटेको यथार्थस्थितिलाई प्रस्तुत गरिएको छ । कथाले अरूलाई अर्ती दिनेहरूले पहिले आपंmै असल बन्नु पर्ने सङ्केत गरेको छ । कथाले गुरुको च्युतादर्शलाई चित्रण गरेको छ । ‘कौवा’ मा एउटा त्यस्तो कागको कथा छ जुन सुरुमा आफैँं अनाथ थियो, तर मान्छेले उसलाई शरण दिएर बचायो–हुर्कायो, तर पछि उसले अरूका गुँड भत्काउने, नास्ने र फुल खाइदिने गर्न थाल्यो । हामी सबै हेर्दै छौँँ । देख्दै छौँँ पनि, तर त्यसको विरोध–प्रतिरोध गर्दैनौँँ । त्यसैले त काग अधिनायक भएको छ भन्ने देखाइएको छ । प्रतीकात्मक यस कथामा हरेक अन्याय–अत्याचार विकृति–विसङ्गतिका विरुद्ध विद्रोह आवश्यक भएको स्पष्ट पारिएको छ ।
‘छेपाराको रङ्ग’मा उदार र क्रुर स्वभावका सेठ, सेठका भाइ र छोराहरूको कथा रहेको छ । सेठ उदार थिए, तर भाइ क्रुर । भाइ मरेपछि सेठ स्वयम् क्रुर भए, जसले गर्दा छोराहरू विदेशिए र बाबु मरेपछि मात्र फर्के । छरछिमेकीहरूले छोराहरूको उदारताको प्रशंसा गर्न थालेको कुरा कथामा देखाइएको छ । ‘नयाँ कोट’मा जिम्वाल मुखियाको जेठो छोरो जेठा सावको कथा छ । सहर पढ्न गएका जेठा साव केही दिनका लागि गाउँ आएको बेलामा बाबु विरामी परेकाले गाउँमै बस्न बाध्य हुन्छ । असारमा हिलो खेल्छ र दसैँँंमा गाउँलेहरूले नयाँ लुगा लगाएको देखेर नयाँ कोट सिलाउँछ, तर दसैँंको टिको लगाइदिन बस्दा पुरानै कोटमा हुन्छ । नयाँ कोटबारे जिज्ञासा राख्दा त्यो जिउमा नमिलेको, तान्दा च्यातिएको हुँदा Çयाँकिएको जनाउँछ । प्रथम पुरुष शैलीमा लिखित यो कथा प्रतीकात्मक छ ।
प्रथम पुरुष शैलीमा लिखित ‘सन्धि’ कथामा कथित बाल–बैरी कृष्णे र रामेका बीचको सम्बन्धलाई रामे (‘म’ पात्र)का दृष्टिविन्दुबाट प्रस्तुत गरिएको छ । कृष्णेको मृत्युको कल्पनामात्रले रामेका मनमा उठेका तरङ्गहरूलाई कथाको रूप दिइएको छ । वास्तवमा कथाबाट रामे र कृष्णे असल मित्र हुन् भन्ने देखिन्छ । ‘गधाकाजीको गुरुकुल आश्रम’ कथामा वर्तमान शिक्षाप्रणालीप्रति व्यङ्ग्य छ, शिक्षित भएर स्वायत्तता र ज∙लको सार्वभौमिकता स्थापित गर्न गधाका नेतृत्वमा गुरुकुल स्थापना भएको, तर अयोग्यलाई उत्तीर्ण र योग्यलाई अनुत्तीर्ण गराएकाले योग्यहरू ज∙ल पसेका र अयोग्य गधा, खच्चड, घोडा र गोरुहरूले मानवको अधीनस्थ हुन स्वीकार गरी आफ्नो स्वायत्त शासन र सार्वभौमसत्ता मान्छेका हातमा सुम्पिदिएको देखाइएको छ ।
‘राना दाइ’ कथामा राना दाइका माध्यमबाट नेपालीको गरिबी, शोषण र अन्यायको कथाव्यथा छ भने ‘राक्षस’ कथामा पारिवारिक सम्बन्ध देखाइएको छ । बाबुआमाको यथोचित देखरेख नगरी आफ्नो बन्द व्यापार वा रोजगारीमा मात्र लागिरहने नयाँ पुस्तालाई यहाँ राक्षसको संज्ञा दिइएको छ । यस तथ्यलाई कलकत्ते छोराका माध्यमबाट प्रस्तुत गरिएको छ । ‘पाजीको वक्तव्य’ कथामा अन्यायमा परेका खरायोको विन्ती नसुन्ने पाजीको वक्तव्यको प्रसङ्ग रहेको छ । निर्धाको कुरा कोही सुन्दैन, कमसेकम शासकले त सुन्दै सुन्दैन भन्ने तथ्यलाई कथाले औँल्याएको छ ।
‘कमिलाहरूको लाम’ प्रतीकात्मक र स्तरीय कथामा परिश्रमी सयौँँ कमिलाको सिकार एक्कासि बाजले झम्टेर लगेको घटना प्रस्तुत गरिएको छ भने ‘पल्लेदारको छोरा’ कथामा पल्लेदारले अरूका लागि चामल ओसार्ने गरेकोमा ८ वर्षे छोरो कहिले त आफ्ना घरमा पनि ल्याउन भन्छ, तर पल्लेदार ल्याउन सक्दैन । उल्टै छोरालाई मुड्क्याउन खोज्छ, छोरो भाग्छ । कथा सकिन्छ । यस्ता घटनाका माध्यमबाट कथाकारले विपन्न वर्गका जटिल समस्यालाई खुलस्त पारेको पाइन्छ ।
‘स्वर्गमा पुगेका बालकहरू’ कथामा देशमा भएको अकाल र भोकमरीले गर्दा आफ्ना बाबुआमा, बाजे, बज्यै र अन्य अग्रजहरूको अन्तले गर्दा क्षुब्ध बालबालिकाहरूले सल्लाह गरी इन्द्रसमक्ष पानी र कल्पवृक्ष माग गर्न पठाउने निर्णय भएको र केही चलाख बालकहरू स्वर्ग पुगेको, तर इन्द्रका स्वागत–सत्कारमा भुलेर त्यहीँ गन्धर्वमा देह रूपान्तर भएको देखाइएको छ । देशमा बालकालिकाहरू तिनको प्रतीक्षामा रहेको देखाइएको छ । प्रायः यस्तो लोभमोह वयस्कहरूमा हुन्छ । कथाकारले यहाँ बालकमै त्यो देखाएका छन् ।
‘साना उद्योग’ कथा ठगीसित सम्बन्धित छ । साना उद्योगका नाममा ऋण लिने र सो रकम अन्य क्षेत्रमा लगाउने व्यापक प्रचलन छँदै छ । यस कथाले त्यही देखाएको छ । साना उद्योगका निमित्त ऋण लिएको र व्यापक प्रचारप्रसार गरेको नियमित प्रगति प्रतिवेदन पठाउने गरेको, तर एकपटक पाँचवटा वसको स्टेटमेन्ट प्राप्त भएकाले खलबली मच्चिएको कुरा कथामा देखाइएको छ । उच्चस्तरीय जाँच आयोगले उद्योगमा छानबिन गर्न जाँदा त्यहाँ विभागीय प्रमुख नै रहेको र जाँडरक्सीमा रमाएर सबै सदर गरिएको रोमाञ्चक घटनालाई कथाले विषयवस्तु बनाएको छ । यस्ता घटना आम भइसकेका छन् । त्यसैले यस कथामा समकालीन यथार्थको सजीव चित्र उतारिएको पाइन्छ ।
‘हाम्रो अनुहार’ कथामा मान्छेको भित्री खोक्रो आदर्श देखाइएको छ । माग्नेको छोराले आमासित बाबुका बारेमा प्रश्न राख्दा समस्या खडा भएको छ । हाम्रो समाजका भद्रभलाद्मी ठुलाबडाहरू यौनाचारका लागि माग्ने पनि भन्दैनन्, तर त्यसको जिम्मेवारी लिन सक्दैनन् । यही स्थितिलाई कथाले औँल्याएको छ । त्यसको बाबु ठूलो घरको मान्छे, सेठ, पुलिस वा मातेर हिंँड्ने कुनै पनि ठिटो हुन सक्नेतर्फ उसकी आमाले सङ्केत गरेको कथामा देखाइएको छ ।
मानवतावादी तर मानवताच्युत समाजप्रति कटु व्यङ्ग्य गर्दै लेखिएको एक मार्मिक कथा हो ‘नेत्रदान’ । यसमा दुईवटा घटनाहरू छन् । अन्धाले नेत्रदान पाएर संसारलाई देख्न–बुझ्न पाएर अत्यन्त खुसी–आनन्दित भएको पहिलो घटना हो । त्यही व्यक्ति एक अर्को त्यस्तै अवसरमा दृष्टि पाएकोमा दुख व्यक्त गर्छ । मान्छेको भेषमा मान्छे राक्षस भएको, लोग्ने–स्वास्नीबीच विश्वासघात भएको, सालनालसहितको आफ्नो बच्चा आफैँंले मारेको, बृद्ध बाबुआमालाई सक्षम छोराछोरीले लत्याएको जस्ता अमानवीय व्यवहारले गर्दा ऊ पुनः आँखा मान्छेलाई फर्काउने घोषणा गर्छ । यो दोस्रो घटना हो र यसैबाट कथाको सन्देशको प्रसारण भएको छ ।
‘वामपुड्केहरूको देश’कथा अति काल्पनिक छ । लोभलालच, अन्याय–अत्याचार र स्वार्थीपना अत्यधिक भएको नेपालतिर यसले सङ्केत गरेको छ, रूख विरुवाका हाँगा काटेर सारे झैँ मान्छेको हात काटेर वंशवृद्धि भएको वैज्ञानिक सफल परीक्षणबाट विकसित वामपुड्केहरू संसारका अरू मानिसभन्दा अलिक भिन्न काँटीका रहेको कथामा देखाइएको छ भने ‘मुर्दाहरूको बस्ती’ कथामा दयामाया, मित्रता र बन्धुत्व हराएर एउटा मुर्दा बस्तीमा परिणत भएको पहिलेको सुरम्य देश (नेपाल) को अवस्था देखाइएको छ । यसमा देशवासीहरू मुर्दा भएकाले पूर्व र पश्चिमको भूभाग अरूले खाँदा र दक्षिणतर्फको आँगन (तराई) जलमग्न हुँदा पनि विद्रोहका स्वर नउठाउने नेपाली चेतनाप्रति व्यङ्ग्य कसिएको पाइन्छ । तर अब क्रमशः चेतना जागृत हुन थालेकोमा थोरै सन्तोष लिइएको छ । दन्त्यकथाका शैलीमा प्रस्तुत गरिएको यस कथामा राष्ट्रवादी स्वर तीव्र भएर देखापरेको छ ।
आत्मपरक शैलीमा लिखित ‘बुवाको नाम’ कथामा अव्यवस्थित रूपमा बसोबास गर्नेहरूको लगत लिन पुगेको टोलीका सदस्य कथानायक एक युवकको विवरण तयार पार्ने क्रममा बाबुको नाम सोध्छ, तर नाम दिन अकमकाउँदा त्यसै बखत एक ४२÷४३ वर्षकी महिला आएर ऊ आफ्नो छोरो भएकाले आफ्नो नाम लेखिदिन भनी, तर टोलीले मानेन । अनि उसले टोलीका त्यहाँ उपस्थितहरूतिर इ∙ित गर्दै यहाँहरूमध्ये कसैको पनि नाम लेखिदिनु भए हुन्छ भनी । वास्तवमा ऊ बदिनी थिई भन्दै कथाकारले बदिनीको सामाजिक अवस्था देखाएका छन् तथा हाम्रो यौनाचार र बादी–वदिनी प्रथाप्रति कथाकारले कटु व्यङ्ग्य गरेका छन् ।
सागरका कथाहरूभित्र सँगालिएका यी अठारवटा लघुकथाहरूको सार के हो ? यसबारे घोत्लिँदा सकारात्मक चिन्तन यी लघुकथाको सार रहेको देखिन्छ । हाम्रो समाजमा दुराचार छ । लघुकथाकार त्यसको अन्त चाहन्छन् । अरूलाई अर्ती दिने आफूचाहिँ जेतेमेते गर्ने गुरुहरू छन्, सागर त्यसको अन्त चाहन्छन् । समाजमा अन्याय, शोषण, बालश्रमको शोषण र अभाव छन्, विजय तिनको उन्मूलन चाहन्छन् । शैक्षिक विकृति छन् । उनी त्यसको समाप्ति रुचाउँछन् । समाजमा असामाजिक वा अमानवीय विचार र व्यवहार छन्, स्रष्टा त्यसलाई हटाउन चाहन्छन् । यी तथ्यलाई हेर्दा यी कथाका सारका रूपमा सकारात्मक सोच वा चिन्तनलाई लिन सकिन्छ । भाषिक अशुद्धि, छपाइसम्बन्धी कमजोरीका अतिरिक्त लघुकथाको सैद्धान्तिक स्वरूपका दृष्टिले यी लघुकथाहरू सबै खरो उत्रन सकेका छैनन् । फेरि पनि अधिकांश लघुकथाहरू अत्यन्त चोटिला र मर्मस्पर्शी तथा उत्कृष्ट रहेको कुरालाई नकार्न सकिन्न ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 भाद्र, 2072

लेखकका अन्य रचनाहरु