आजका कवि वीरभद्र : सन्दर्भ "गुरूकुलमा कवि वीरभद्र"

- नवीन पौड्याल

१.आमुख – नेपाली साहित्यम वीरभद्र कार्कीढोली एक सुपरिचित, प्रतिष्ठित नाम हो। उनी एकजना सफल कवि, एक कुशल कथाकार, एक दक्ष निबन्धकार, समीक्षक, सम्पादक हुन्। साहित्यिक लेखन र सम्पादन क्षेत्रमा उनी सम्मानित व्यक्तित्व हुन्। यद्यपि उनी सबैभन्दा बढी एक सच्चा कवि हुन्। उनको कविता लेखनको समयको हिसाब लगाउँदा तीन दशक भइसकेको छ। 'निर्माणको यो मोडदेखि' कवितासङ्ग्रह प्रकाशित भएदेखि हालसम्ममा उनका आठवटा कवितासङ्ग्रह प्रकाशित भइसकेका छन्। नेपाली साहित्यका निम्ति यो सानो उपलब्धि होइन। उनले नेपाली साहित्य क्षेत्रलाई लेखन, सम्पादनज्सता कार्यबाट विशिष्ट योगदान दिएका छन्। कवि वीरभद्रले नेपाली कवितालाई उचालेका छन्, स्याहारेका छन्, तन मनले सेवा गरेका छन्। कविता उनको निम्ति साधना बनेको छ, उद्देश्य र अभीष्ट बनेको छ।
वीरभद्र एकजना सर्जक हुन्। उनको सिर्जनाको प्रतिभा कतै कविताको रूपमा, कतै कथाको रूपमा पोखिएका छन्। उनी साहित्यमा नै रमाउँछन्। जीवनलाई साहित्यकै अङ्गका रूपमा अँगालेका छन्। लेखन, सम्पादन र अध्ययन उनको साहित्यिक नशा हो। उनको 'प्रक्रिया' पत्रिका भनेपछि सारा नेपाली साहित्यिक जगतले स्तरीय र मानक पत्रिकाका रूपमा बुझ्दछ। प्रक्रियालाई निरन्तरता दिन वीरभद्रले आफ्नो सम्पूर्ण तन, मन, धन दिएर लागि परेका छन्। प्रक्रियाले उनी आफुलगायत सिक्किम र सिङ्गै नेपाली समाजलाई पनि चिनाएका छन्। यसका एकेकवटा अङ्क गहकिला र सङ्ग्रहनीय छन्। यसका निम्ति उनले जति खटेका छन्, यो खटाई नै वास्तवमा साहित्य उचाल्न चालिएको पाइला हो। प्रक्रियाको समानान्तरमा उनले साहित्यिक सामयिक पत्रिका 'स्थापना' एवम् 'प्रथा' र 'पिढीँ'लाई अघि बढाएको छन्।

२.विषयप्रवेश – काठमाडौंमा गत केही वर्षदेखि यता एकल कविता वाचन गर्ने एउटा प्रतिष्ठान छ 'गुरूकुल'। बैरागी काइँलाको एकल कविता वाचनबाट शुरू भएको उक्त प्रतिष्ठानले धेरै लोकप्रियता हासिल गरेको छ। महिनामा एकपल्ट कवि, नाट्यकर्मी कथाकारलाई बोलाएर वाचन र अभिनयको आयोजना हुन्छ। त्यहाँ आउने दर्शक वा श्रोताले प्रवेश शूल्क तिरेर बसेका हुन्छन्। हालसम्म त्यस वाचन कार्यक्रममा यता दार्जीलिङ सिक्किमका कविहरू राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा र वीरभद्र कार्कीढोलीले एकल कविता वाचन गर्ने अवसर पाएका छन्। अनेकौं दर्शक - श्रोताहरूको वाहवाही र प्रसङ्शा पाएका छन्। गुरूकुलले नेपाली साहित्यमा ठुलो योगदान दिएको छ। यसले नेपाली संसारकै नेपाली साहित्यको श्रीवृद्धिमा योगदान दिँदै आएको छ। यसले यता भारतका राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, वीरभद्र कार्कीढोलीलाई पनि यसरी उच्च स्थान र आसन दिएर यताका साहित्यकारहरूलाई पनि हौसला प्रदान गरेको छ। गुरूकुलका पूर्ण इन्फादा, शशी लुमुम्बुलगायत अन्य सबै कार्यकारिणी कार्यकर्ताप्रति यताका नेपाली साहित्यप्रेमी कृतज्ञ बनेका छौ। उहाँहरूलाई हाम्रो साधुवाद छ।
उक्त गुरूकूलमा वीरभद्र कार्कीढोलीले वाचन गरेका प्रतिनिधिमूलक एकतीसवटा कविताहरूको एउटा सङ्ग्रह छ- 'गुरूकूलमा कवि वीरभद्र'। यसमा उनका खारिएका, माझिएका कविताहरू समावेश छन्। कविले जीवन जगतबारे अनुभव गरेका, भोगेका, देखेका, बुझेका, सुझेका कुराहरूलाई कवितात्मक र कलात्मक अभिव्यक्ति दिएका छन्। कवितामा विविध पक्षीय स्वर दिइएको छ। क्षेत्रीय र जातीयतादेखि लिएर राष्ट्रीय र अन्तर्राष्ट्रीय चिन्तन गरिएको पाइन्छ। यसमा कविले कथ्य विषयलाई सशक्त भाव, शिल्प र शब्दमा सम्प्रेषित गरिएको छ। पाठकले सहज रूपमा बोध गरे पनि सांसारिक चिन्तन गर्न पनि बाध्य बनाएका छन्।

३. गुरूकुलमा पठित कविताहरूको सामान्य अध्ययन
कवि वीरभद्रको प्रस्तुत कवितासंग्रहका कविता विशिष्ट गुणले युक्त छन्। कविताहरूको नामरखाइ, संरचना, बाह्य र आन्तरिक लयान्विति, कथनपद्धति, विचारसूत्र, भाषा र अभिव्यक्ति कला, शैली, केन्द्रीय विचार प्रतिपादन ढाँचा, नाटकीकरण आदि पक्षहरूमा विशिष्ट छन्। प्रस्तुत कवितासंग्रहको भूमिकामा डा गोविन्दराज भट्टराईले उनको कवित्वको सठिक मूल्याङ्कन गरेका छन्। डा भट्टराईका विचारमा 'गुरूकुलमा कवि वीरभद्र सङ्ग्रहमा साँच्चै नै वीरभद्रका प्रतिनिधि कविता छन्। फ्रतिनिधि शिल्प र सिर्जना चेतना यहाँ समेटिएको छ। यहाँ उनका विश्वास उनको परिवेश औ दृष्टिकोण समावेश छन्। पढ्दा लाग्छ, उनी सरलतामा विश्वास गर्नेसरलसाधक र निर्भिमानी कवि हुन्। उनको विषयहरू ससाना पलमा सामान्य घटनाले उत्पन्न हुने भावना र क्षणहहरू छन्। तिनमा उनको शिल्पगत पृथकता सुरक्षित छ। धेरै कवितामा उनी समयसँग, कालसँग परिस्थितिसँग ठोक्किएर बोल्दछन्। साधारण उदाहरणको दृश्यले कति असाधारण औ विशेष क्षणहरू सम्झाउने कार्य गर्दछ।' (आज कवि भाइ वीरभद्रलाई यीनै प्रेम र शुभकामनाका थुँगाहरू उनी पठाएको छु) यसै गरी पूर्ण इन्फादाले पनि उनको कवित्वगत मूल्याङ्कन यसरी गरेका छन् – 'यहाँ कविले अमूर्त सपनाको बोक्रे आदर्श देखाउने अथवा मुखमा रामराम बगलीमा छुरा भन्ने कुरा देखाएका छन्। ...कवि वीरभद्र कार्कीढोलीका कवितामा नयाँ शैली र नयाँ प्रयोग भएका छन्। उनका कविताले नयाँ इतिहासको अभिलेख स्थापना गरा छन् र नयाँ पुस्ताले अनुकरण नगरी नहुने बाध्यको सिर्जना भएको छ।' (पछिल्लो आवरण - गुरूकूलमा कवि वीरभद्र)

३.१. कविताको कथ्य - वीरभद्र आजका युगका कवि हुन्। आजका मान्छेले जे जति कुरा भोग्ने गर्छन्, ती सबैलाई वीरभद्रले आँक्न र समात्ने कोशिश गरेका छन्। आजको जटिल युगमा कविले मान्छेलाई पनि जटिल पाएका छन्। प्रत्येक पलमा नै मान्छेले पाखण्ड पर्वलाई व्यावहारिक रूपमा नै पालन गरिरहेको छ। मान्छे बुझ्नै नसक्ने प्राणी बनेको छ। साधुको रूपमा चोर हुनसक्छ। चोरले साधु महात्माको अभिनय गरिरहेको हुनसक्छ। आजका मान्छेमा मानवता, सम्वेदना, प्रेम, आत्मीयता, सौहार्द्रता, सौजन्य मासिइसकेको छ। यतिसम्म कि मान्छे मर्दा दुःख परेको, रोएको अभिनय र स्वाङ गर्न सिपालु बनेको छ। मान्छेको पाखण्डीपनलाई कविले यसरी अभिव्यक्ति दिएको छ-
आँसु चुहाएर मलामी नजानू यो ठाउँमा
मलाई मलामीहरू अधिक किन्न पाइहाल्छ।
मान्छेको चारित्रिक पतन देखेर हिमालसमेत सम्वेदनशील भई रून्छ। मानवीय विवशता, आर्थिक, सांस्कृतिक दीवालीया, चिन्तनगत ह्रासता, शोषणका नयाँ नयाँ रूप आदिलाई उनका कवितागत कथ्यका रूपमा लिनसकिन्छ।
३.२. कवितामा देश- वीरभद्रका कविताहरूमा 'देश' शब्द घरिघरि आवृत्ति भएको पाइन्छ। कविलाई देश एउटा अपरिहार्य वस्तु बनेको छ। देशमा एकापट्टि संविधान छ, संविधानले देशका नागरिकहरूलाई धेरै समानाधिकार, गणतन्त्र, स्वतन्त्रता, सुरक्षा सबै दिएको छ। अर्कापट्टि भने देशमा अराजकता, अन्याय, असुरक्षा, अनाधिकार, असमानता छ। व्यवहारिक रूपमा भने देशले सबै आमनागरिकलाई समान रूपमा न्याय, अधिकार र सुरक्षा दिन सकेको छैन। देशकै नागरिकहरूबीच कसैलाई काखा कसैलाई पाखा गर्दछ। देशभक्त, सिमानाका वीर सिपाही, देशका निम्ति वलिदान र त्याग गर्ने गोर्खा-नेपालीलाई देशले भनेजस्तो न्याय दिनसकेको छैन। देशले हाम्रो इतिहास र भूगोल तथा समर्पण चिनेको छैन र अनेकावली लाञ्छना पनि लगाउने गर्छ। कवि वीरभद्र देशको यस्तो व्यवहारबाट क्षुब्ध र रूष्ट भई आफ्नो स्वरलाई यसरी उकासेका छन्-
मेरो सलामलाई मेरो देशले
एकपल्ट सम्झोस् सम्झोस्। (देशबारे, पृष्ठ १३)
मेरो देशको दीर्घायुको निम्ति
मेरो सन्तान, सन्तानले
मेरो देशमा प्राण गुमाँछ।
-------- -- ---- --------- -
यो देश देशको माटोलाई सोध
हाम्रो प्राण रगत र पसिनाको
मोल भाउ कति छ कति
(ओ देश र मेरो देश, पृष्ट ३६-३७)
कति धेरै सोंच्दो रहेछु। देशबारे
देशले तर कहिले कहिले
किञ्चित नसोच्दो रहेछ। मबारे।
यति छ भिन्नता म र मेरो देशमा। पृष्ठ---

३.३. युगीन चेतना- कवि वीरभद्र आजका कवि हुन्। कवि यो वर्तमान युगको यान्त्रिकता, सम्वेदनहीनता, आतङ्ककारी, असहिष्णु परिवेशदेखि त्रस्त र ग्रस्त छन्। मान्छेले अर्कालाई हियाउँछ, बदनाम गर्छ, दुरूपयोग गर्छ, पीडा दिन्छ। मान्छेको सोंच र मानसिकता नै प्रदूषणयुक्त छ। यही प्रदूषित मानसिकताबाट नै प्रकृति र परिवेश प्रदूषित बनेको छ। शङ्का, अन्धविश्वास, असुरक्षा, अनैतिकता, चोरी-चकारी, भ्रष्टाचारी मानसिकता नै प्रदूषणका मूल कारण हुन्। यही कुरूप मानसिकतालाई कविले झल्काएका छन्-
झ्याल ढोका उदाङ्गै नराख
शङ्कालु छ। बहने यी हावाहरू पनि
लोभ नगर यी उज्यालोको
प्रदूषित छ। यो उज्यालो पनि।
(उज्यालोको लोभले-----पृ,ठ ३५)
अचेलका मान्छेहरू अर्कालाई सताउने, दुःख दिने बनेका छन्। परपीडालाई नै आफ्नो धर्म र कर्तव्य ठान्छन्। कवि सम्वेदनशील भई यसरी आक्रोश पोख्छन्-
उसै पनि मेरो नाम गर्वसाथ लिन्छन्। हरेक
परपीडकहरू
त्यसै पनि श्रद्धासाथ मान्छन्। मेरो नाम
चोटहरू, पीडाहरू अचेल।
(उसै पनि मेरो नाम, पृष्ठ १४)
मैले काँडाहरू मासिदिएर के बिराएँ।
काँडाहरू विषालु हुँदैनन भनेर
कसले भन्न सक्छ।
(काँडाहरू मासिदिएर के बिराएँ, पृष्ठ ३९)
आजका मान्छे सामाजिक, राजनैतिक, आर्थिक व्यवस्थादेखि उत्पीडित र ग्रसित छन्।
कोही कसैको विश्वास हुँदैन। मान्छे आफैं विजित छ औ पराजित पनि छ। मान्छेमा हुनुपर्ने मानवीय गुण, गरिमा र मूल्यहरू विस्तारै विलुप्त हुनलागको अवस्थादेखि कवि विरक्तिएका छन्। हताश र निराश भई यसरी भाव पोख्छन्-
आत्मीयता संवेदनाका कुरा नगर
अचेलका मनभित्र उजाड मरूद्यान मात्र छ।
काँडाहरूसित बाँच्दै आउने मान्छेहरूलाई
बरू फूलहरूले मारेकामा अफसोच छ।
(आत्मीय र संवेदनाका कुरा, पृष्ठ ३१)

३.४. सूक्तिमयता - कवि वीरभद्रका कवितामा कतै मिठा सूक्तिमय अभिव्यक्ति पाइन्छन्। उनलाई कविता लेख्न प्राकृतिक तवरले स्वतःस्फूर्त आएको देखिन्छ। काव्यिक अनुभूतिलाई कविले सहज, सरल ढङ्गमा व्यक्त गरेका छन्। जीवन जगतको शाश्वततालाई कविले कतै सूक्तिमय अभिव्यक्ति पनि दिएका छन् –
नदीमा पुगेपछि मान्छेले
डुबुल्की मार्न पर्छ भन्ने छैन
धारा पुगेपछि तिर्खाएर
पानी, पिउनैपर्छ भन्ने छैन।
कविले सूक्ष्म संवेदनाका लहरले शाब्दिक कलाद्वारा यसरी पोखेका छन्
मलाई फूलहरूले भन्दा अधिक माया
काँडाहरूले दर्दै आएका छन्-----
मलाई पराइहरूले भन्दा अधिक
आफ्नै आफन्तहरूले आँखा तर्दै आएका पनि छन्।
(आत्मीयता र संवेदनाका कुरा, पृष्ठ ३१)
कति गाह्रो पर्छ। संवेदन मन बुझाउनु
कति साह्रो पर्छ। संवेदन मन छुटाउनु।

४.दार्शनिकता – कवि वीरभद्रका कवितामा दार्शनिकताका केही झलक पनि देखा पर्छन्। कविले जीवन र जगतमा देखे-भोगेका कुरालाई नै आफ्नो दार्शनिक अभिव्यक्ति दिएका छन्। प्रस्तुत संग्रहका उनका कविताहरूमा रगत, रङ्ग, फूल, काँडा, घोचाइ, पीडा जस्ता शब्दको बाहुल्य देखिनुका पछाडि एउटा दर्शन लुकेको छ। कविभित्रको एउटा मान्छे पीडित, लाञ्छित, शासित, शोषित छ। त्यही पीडाहरू घरिघरि आवृत्ति भइरहेको पाइन्छ। संवेदनाका विभिन्न पाटालाई स्वर दिएका छन्। उनको दर्शनको केन्द्र मान्छे नै हो। मान्छेका विभिन्न पक्षहरूलाई देखाउने काम गरेका छन्। उनले प्रकृतिलाई पनि आफ्नो दर्शनको आधार बनाएका छन्। प्रकृतिका खोला, नाला, हिमाल, हावा, पानी-झरी, नदीलाई कवितामा उतारेर मान्छेकै मन र चरित्रका विभिन्न पाटाहरीको अभिव्यक्ति दिएका छन्। घरिघरि फूल, काँडा, रगत र रङ्गको प्रयोगले कविले केही कुरो बताउन चाहेका छन्। उनका कवितामा निराशाका केही सुसाइ पाइए तापनि मूलमा भने उनी आशावादी नै हुन्। जीवनमा जति नै दुःखका आँदी –बेहरी आए पनि बाँच्न र हाँस्न सक्नु पर्छ। उनी संघर्ष गरी बाँच्न चाहन्छ। उनको काव्यिक अभीष्ट बाँच्नु हो। कवितामा यसरी व्यक्त गरिएको छ-
सोंच्छु। रून हुँदैन छाती पिटेर दुःखहरूमा
रोएर आखिर दुःखहरूमा टरिजाने होइन
सक्नुपर्छ बाँच्न, बाँच्नेहरूसित
मार्नु हुँदैन यो ज्यान ती मरिजानेहरूसित।
(फगत सोंचहरू, पृष्ठ ४४)
यही बाँच्नु नै कविको मूल स्वर हो। बाँच्नु नै जीवनको परम प्राप्ति हो। अहिलेको युगमा बाँचिदिनु नै सबैभन्दा ठुलो संघर्ष हो। यसैगरी मानवतावाद, समानता, वर्गहीन समाजको परिकल्पना पनि कविको दर्शनिक चिन्तनभित्र देखिन्छन्। कविको देश चिन्तन पनि उल्लेखनीय छ। कविताहरूमा देश शब्द घरिघरि देका पर्दछ। देश भनेको सीमाभित्रको ढुङ्गा र माटाको जमीन नभएर सरकार र जनमानसका रूपमा कविले अभिव्यक्ति दिएका छन्। मान्छेभित्रको मानसिकता पनि देशकै अङ्गका रूपमा कविले दर्साउनु खोजेका छन्। कवितामा अनिश्चितताको धर्शन पाइन्छ। यस युग र जगतमा निश्चितता भन्ने केही छैन। मान्छेको नैतिकता, धर्म, समाज, घर इत्यादि केही पनि निश्चित छैन। यही अनिश्चिततामा नै कविले जीवन पाउँछन्। भोगाइ नै जीवन हो भन्ने कविको ठम्याइ देखिन्छ।

५.कविताहरूको शैलीगत अध्ययन - उनका कवितामा पाइने प्रवल पक्षहरूमध्ये शैलीगत कौशलता पनि एक हो। कविले शिल्पगत संयोजनमा निकै मेहनत गरेका छन्। अभिव्यक्त कौशल, शब्दशय्या, संरचना, आनुप्रासिक प्रयोग, पुनरावृत्ति, विपर्यास, व्याकरणिक विचलन, उक्तिवैचित्र्य जस्ता शिल्पगत पक्षहरूलाई कुशलतासँग संयोजन र प्रस्तुतीकरण गरेका छन्।

५.१. अभिव्यक्ति कौशल- प्रस्तुत सङ्ग्रहको आधारमा भन्नुपर्दा कविमा अभिव्यक्तिगत कौशल छ। यसमा एक किसिमको मुक्त लयमा कविता लेखिएको छ। भाषा सरल र सुवोधगम्य छ। प्रतीकलाई कविले निकै प्रयोग गरेका छन्। यी प्रतीकहरू कविद्वारा नै निर्मित वैयक्तिक छन्। रात, सूर्य, जून, खेत, पहाड, हिमाल, फूल, काँड़ा, झ्याल आदिका आ-आफ्नै प्रतीकात्मक अर्थ दिएको छन्। यस संग्रहका कविताहरूमा शब्दचयन र शब्दशयनका बीच कुशल संयोजन भएको छ। कविताहरूमा शब्दहरूले एकप्रकारको आन्तरिक लयात्मकता, सुमधुरता र कलात्मकता सिर्जना गरेको आभाष पाइन्छ। शबदहरूहरू खेल्छन्, क्रीडा-कौतूक गर्छन्। अतः भावपक्षसँग शाब्दिक र शिल्पगत संयोजनले प्रस्तुत संग्रहका कविताहरू रोचक र सुस्वादु बनेका छन्।

५.२. कविताको संरचना पक्ष- गुरूकुलमा पठित कवि वीरभद्रका कविताहरू प्रायः नै लघु आयामाका छन्। कविताहरू एकै नासे नभएर कुनै सबैभन्दा छोटो बीस पंक्तिको र कुनै सबैभन्दा लामो सतासी पंक्तिको रहेको छन्। कविले एउटा भावभुल्को (अनुच्छेद)लाई एउटा पंक्तिगुच्छामा समेटेका छन्। गुरूकुलमा वाचन गरिएका कविताहरूको संरचनालाई हामी यसरी तालिका बनाएर हेर्न सक्छौं-
सं. कविता पङ्क्ति पङ्क्तिगुच्छा प्रतिपङ्क्तिगुच्छाका थोरै र धेरै पङ्क्ति
१ देशबारे १९ १ १९
२. उसै पनि मेरो नाम ४८ १३ १-५
३. आँखाहरू छलेर लुकिने गोप्य ठाँउ ४४ १३ २-९
४. सपना र तिमी २१ ४ ४-६
५. म र खेतहरू ८७ १० ४-२८
६. पहाडहरू घोषित हिमालहरू १७ ४ ३-६
७. त्यो समय आज किन बेखबर छ २९ ५ २-१९
८. त्यो मान्छे र फूलबारे सोध्यौ भने २१ ५ २-५
९. कुराहरू प्रसङ्ग प्रसङ्गबस् २१ ५ २-६
१० रङ्गहरूसित रगत रङको कुरा ३५ ६ २-८
११ हत्याराहरूकै निम्ति २० ५ ४-४
१२ आत्मीयता र संवेदनाका कुरा १७ ४ ४-५
१३ हिमालसमेत रोइसक्यो २१ ४ ४-८
१४ तिमी आयौ भने २९ ९ २-४
१५ उज्यालोको लोभले २२ १ २२
१६ ओ देश मेरो देश ६४ १३ १-७
१७ काँडाहरू मासिदिएर के बिराएँ ३२ ७ ३-८
१८ यति छ भिन्नता म र मे. ५१ ९ २-१२
१९ सम्झिएर खुल्लै छु १९ ४ ४-६
२० फगत सोंचहरू १८ ५ २-४
२१ बाँच्नुका कुरा लिएर २३ २ ४-१९
२२ कतै बाहिर, अन्तै बाहिर छु अचेल ४४ ७ ३-१४
२३ कोही कोही आएको छैन ३१ ५ ३-१०
२४ घाम र तिमी २० ४ २-९
२५ तिमी गएपछि साँच्चै ५१ ८ ५-८
२६ तिर्खा र त्यो मान्छे ३७ ९ २-६
२७ पहाडमा ऐले पहाडमा २० ५ २-६
२८ विचल्नी परेर कुनै चरा ५४ ९ ४-१५
२९ लाटोकोसेरा सम्झिएर अचेल ३६ ५ ३-१७
३० श्रद्धेय मौनताहरू ४२ ८ २-९
३१ चराहरू कराउन थालेपछि ३९ ९ २-६

५.३. पंक्तिगुच्छाको प्रयोग – प्रत्येक पंक्तिगुच्छालाई एउटा खाली ठाउँ (स्पेस) दिएर छुट्याइएको छ। एउटा पंक्तिगुच्छा (अनुच्छेद) मा एक शब्ददेखि आठ शब्दसम्मको एउटा पंक्ति रहेको देखिन्छ। पंक्तिगुच्छाका प्रत्येक पंक्तिहरू एकार्कामा समबद्ध छन्। एउटा पंक्तिको पूरकको रूपमा अर्को पंक्ति रहेको देखिन्छ।

५.४. बहुवचनको आधिक्य – कविले कविताहरूमा अर्थबहुलता प्रदान गर्न अधिकांश बहुवचनको प्रयोग गरेका छन्। जस्तो रङ्ग शब्द कविका निम्ति बहुअर्थी छ। उनका निम्ति रङ्ग विचार हो, समानता हो, विविधता पनि हो। धोरै कवितामा एकवचन लाग्ने पदमा पनि हरू प्रयोग गरेका छन्। यसलाई कविले बहुवचन बनाएर सार्विकता, वैयक्तिकतामा सामूदायिकता, एकलमा सकल, थोरैमा धेरै प्रदान गर्न खोजेका हुन् भन्ने लाग्छ। यसमा रहेका केही यस्ता एकवचन बहुवचन गरिएका पदहरूमा चोटहरू, पीडाहरू, उज्यालाहरू, अँध्याराहरू, धैर्यहरू, मौनताहरू, थाहाहरू, चूकरातहरू, वज्रघातहरू, आँखाहरू, सोंचहरू, बाँधहरू, ढुङ्गाहरू, उँचाइहरू, स्थितिहरू, हावाहरू, कञ्चनजङ्घाहरू, भग्नावशेषहरू, बिहानीहरू, दुःखहरू, एकान्तहरू, यात्राहरू, स्वरहरू, यात्राहरू, रागहरू, डरहरू, आँधीहरू, बगरहरू आदि हुन्। यसैगरि उनले हरू पदलाई अन्य धेरै पदहरूमा गाँसेर अर्थबहुलता दिएका छन्।

५.५. आवृत्ति- कवि वीरभद्रले कतिपय शब्दलाई घरिघरि दोहोर्यातएर विशिष्ट अर्थ दिन खोजेका छन्। 'म र खेतहरू' कवितामा 'खेतहरू' शब्दको चालीसपल्ट आवृत्ति भएको छ। खेतको केही लाक्षणिक अर्थ दिन खोजिएको छ। 'खेत'को अर्थ कतै शोषित आमजनताको रूपमा लिएको पाइन्छ। 'रङ्गहरूसित रगत रङ्गको कुरा' कवितामा कविले अठाह्रचोटि रङ्ग शब्दको प्रयोग गरेका छन्। अन्य दुई-तीनवटा कवितामा पनि 'काँड़ा', 'फूल', शब्दहरू घरिघरि देखा पर्छन्। काँडाले दुःख, अवहेलना, बाधक आदिको अर्थ प्रदान गर्छ।

५.६. आनुप्रासिक प्रयोग- यस संग्रहका कवितामा छन्दको निर्वाह नभई मुक्त लय पाइन्छ। कविले लय सिर्जना गर्नका निम्ति कविले बीचबीचमा आनुप्रासिक सौन्दर्य प्रदान गरेका छन्। जस्तै-
कति गाह्रो पर्छ । संवेदन मन बुझाउनु।
कति साह्रो पर्छ । संवेदन मन छुटाउनु। (पृष्ठ ३३)।
------- -------- -------- ------------ ---------------
हेर न, छापैछाप छ हुरीहरूको
हेर न दागैदाग छ छुरीहरूको।
अनुप्रासको प्रयोगले कवितामा लयात्मकता सिर्जना भएको छ। यही लयात्मकताकै कारले कवितामा श्रुतिमाधुर्य प्राप्त भएको छ। यसमा पद, पदावली, उपवाक्य र वाक्यका बिचबिचमा विराम, अल्पविराम आदिको प्रयोग पाइन्छ। कवितामा निरन्तर पङ्क्ति प्रवाहभित्रका वाक्य, पाउका बिच निश्चित वा वैकल्पिक रूपमा कतै मध्यानुप्रास र कतै अन्त्यानुप्रास पाइन्छ। कवितामा एक किसिमको प्रवाह सञ्चालित पाइन्छ। आफ्नो कथ्यलाई कविले विभिन्न प्रतीक, बिम्व, भाव, संवेदना आदिले छेकारो मारेर लग्दै गएका छन्। कविताहरू एक दुईवटालाई छाडेर छोटा छोटा संरचनामा आवद्ध छन्। मुक्त लयमा कविले भाव बिम्बलाई उतारेर पाठकलाई सम्प्रेषित तुल्याउन सक्षम छन्।

६.मूल्याङ्कन र उपसंहार- नेपाली साहित्यमा श्री वीरभद्र कार्कीढोली एक विशिष्ट प्रतिभा हुन्। उनका कविताहरूले आफ्नै छुट्टै किसिमको महत्व र विशेषता राखेको पाइन्छ। उनी युगीन कवि हुन्। अहिलेको युगको सजीव प्रतिविम्बन भएको पाइनु नै उनको कवित्व शक्ति हो। उनका कविता युगचेतनाका अतिरिक्त, मानवीय मनका अन्तर कुन्तरको सर्वेक्षण गरिएको छ। जटिल स्थितिको रेखाङ्कन गरिएको पाइए तापनि अभिव्यक्ति पक्ष भने सर्वबोध्य, सम्प्रेष्य छन्। जटिलता विषयमाथि सरलतम अभिव्यक्ति कौशल उनको कवित्वगत उपलब्धि हो। उनको आफ्नै किसिमको काव्यिक भाव, भाका, लय र शैली छ। निराशाभित्र आशा, अप्रस्तुतबाट प्रस्तुत, कोमलताभित्र कठोरता पाइन्छ।

स्नातकोत्तर नेपाली विभाग
दार्जिलिङ सरकारी महाविद्यालय

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 भाद्र, 2072

लेखकका अन्य रचनाहरु