साहित्यिक सद्भाव यात्रा भैरहवा

- देवीचरण भण्डारी

वेलुकै देखि अनेकौँ तर्कनाहरु सलवलाईरहे मनभित्र, भोलीदेखि अर्थात् २०६६।१०।२८ गतेदेखि सुरु हुने हाम्रो साहित्यिक सद्भाव यात्रा १० औँ को बारेमा । साहित्यिक सद्भाव यात्राको गन्तव्य थियो भैरहवा । भैरहवा मेरो लागि विलकुल नयाँ ठाउँ थिएन । केही दिन (माघ १५–१८) पूर्व नेपाल निजामती कर्मचारी संगठनको ८ औँ राष्ट्रिय अधिवेशनमा भाग लिन म भैरहवा पुगेको थिएँ । तथापि हाम्रो साहित्यिक यात्राको गन्तव्य टाढैको भएकाले वाटामा खासगरी वसको यात्रामा सहज, असहज के हुने हो, यात्रादलमा सम्मिलित स्रष्टाहरुको शारिरीक अवस्था कस्तो रहने हो । कुनै–कुनै स्रष्टाहरु त वसमा यात्रा गर्दा छाद्ने र छेर्ने सम्मको अवस्था मैले प्रत्यक्ष देखेको पनि छु । सायद त्यसैले पनि संभावित यस्ता घट्ना परिघटनाहरुको चिन्ताले मलाई वेलुका भरी सताई नै रह्यो ।
‘बाबा, म पनि तपाईँसँगै जान्छु नि ! मेरो स्कूल जम्माजम्मी २ दिन मात्र त छुट्छ नि !’ मेरो सानो छोरो प्रभातले ध्यान भंग ग¥यो मेरो । मैले बोल्नै नपाई गीता, मेरी जीवन संगीले थपिन् ”बाबा जाओस् न त प्रभात पनि” । अब भने म अक्कवक्क भएँ । श्रीमतीजीको सोर्स लरतरो सोर्स होइन नि ! नमानेर धरै थिएन ! ठीकै छ त, प्रभात जान्छ भने जाओस् न त के फरक पर्छ र ! मैले सहमती जनाइदिएँ । अर्थात् हामी वावु–छोरा दुवै जाने भयौं भैरहवा तर्फ ।
भोलीपल्ट अर्थात् २०६७ माघ २८ गते अपरान्ह ठीक ३ः०० बजे चन्द्रगढीबाट प्रस्थान ग¥यौँ हामी । चन्द्रगढीबाट आयोजक संस्था जुही साहित्यिक पत्रिकाका प्रधान सम्पादक चूडामणि रेग्मी, श्रीमती वेदकुमारी रेग्मी, अमिता रेग्मी र रोहण रेग्मी सहित ४ जना चढ्नु भयो वसमा । त्यसै गरी देवीचरण भण्डारी, प्रभात भण्डारी, कृष्ण सुवेदी ‘निराकार’, उदेन सुवेदी, वनियानीका स्रष्टा डिल्लीराज नेपाल–श्रीमती नेपाल, पृथ्वीनगरका स्रष्टा विरही अधिकारी–श्रीमती सुमना अधिकारी, जलथलका याम दंगाल ‘सरोवर’, भद्रपुरका स्रष्टा राधिका राया र कृष्णा क्षेत्री, काँकरभिट्टाका स्रष्टा विजय खरेल–श्रीमती पार्वती खरेल, अनि कालेवुङ्गकी स्रष्टा सरिता ‘समदशी’ हुनुहुन्थ्यो । सुरुङ्गाबाट थपिनु भयो प्रेम प्रभात । इटहरीबाट (सुनसरी) उपेन्द्र पागल–श्रीमती ब्रिन्दा बस्नेत, प्रभात क्षेत्री, कृष्णविनोद लम्साल, कविता लम्साल, रुक्मिणी भट्ट, कालीप्रसाद सुवेदी, कृष्ण अधिकारी र डा. बद्रीविशाल पोखरेल हुनुहुन्थ्यो । मोरङ्गबाट – वरिष्ठ समालोचक प्राज्ञ अनिरुद्ध तिम्सिना, मधु पोखरेल–श्रीमती दुर्गादेवी पोखरेल, डम्वर घिमिरे, गण्डकी पुत्र, देवी पन्थी, धनजित पराजुली, धर्मराज राई, पुरुषोत्तम घिमिरे–श्रीमती सविता घिमिरे, जे.वी. थुलुङ्ग र सोमराज अभय ।
यसरी जुही साहित्यिक सद्भाव यात्रा (१० औँ) मा ४० जनाको यात्रा दल तयार भयो । चन्द्रगढीबाट ३ः०० बजे प्रस्थान गरेर वेलुकी ७ः३० बजे पुगियो एस.ओ.एस्. वालग्राम नजिकै रहेको कृष्णविनोद लम्सालको घर । पूर्व निर्धारित योजना बमोजिम वेलुकाको भोजनको व्यवस्थापन कृष्णविनोद लम्सालले गर्नुभएको थियो । हाम्रो यात्रादलले त्यहाँ रमाई–रमाई भोजन ग्रहण ग¥यो । दालभात, तरकारी, गुन्द्रुकको अचार बडो स्वादिष्ट भोजन थियो त्यहाँ । थपीथपी मजाले खाइयो भोजन । कृष्णविनोदजीकोमा खाना खाइसकेपछि हाम्रो यात्रा अगाडि बढ्छ । रातभरी वसमा रमाइलोसँग यात्रा गर्दै हामी भोलीपल्ट विहान ५ः०० बजे चितवन पुग्यौँ । पूर्व निर्धारित योजना मुताविकै विहान सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुरमा प्रगतिशील लेखक संघ चितवन र साहित्य संगम चितवनको संयुक्त आयोजनामा हाम्रो साहित्यिक सद्भाव यात्रादललाई स्वागत तथा कविगोष्ठीको कार्यक्रम थियो । निर्धारित समय भन्दा केही ढिलो गरी सुरुभयो कार्यक्रम । परिचयात्मक कार्यक्रमपछि कवि गोष्ठी सुरुभयो । प्र.ले.स. चितवनका अध्यक्ष डि.आर. पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि हाम्रो यात्राटोलीका नायक झर्र्रोवादी आन्दोलनका सशक्त अभियन्ता, पूर्वका मोतिरामले परिचित चुडामणि रेग्मी हुनुहुन्थ्यो । साहित्य संगम चितवनका अध्यक्ष श्री भवनाथ सडौलाले स्वागत मन्तव्य राख्नु भएको थियो भने स्वागत गीत गाउनु भएको थियो राजेन्द्र घायलले । त्यहाँ विभिन्न पूर्वका स्रष्टा तथा त्यहाँका स्थानीय संष्टाहरुले कविता वाचन गरेका थिए । यो स्तम्भकारले पनि स्वलिखित गीत प्रस्तुत गरेको थियो । विहानको भोजन सप्तगण्डकी क्याम्पसकै क्यान्टिन भित्र गरियो । भोजनको व्यवस्थापन स्थानीय आयोजकका तर्फबाट गरिएको थियो । त्यहाँबाट हाम्रो साहित्यिक यात्रादलमा चितवनका स्रष्टाहरु पनि थपिनु भयो । गाडी खचाखच भरियो । वसको प्यासेजमा मुडा राखेर समेत बस्नुभयो स्रष्टाहरु । गीत गाउँदै, ताली बजाउँदै, नाच्दै, कम्मर मर्काउँदै बढो रमाइलोसँग भैरवहातिर हुइकियों हाम्रो बस । लगभग १२ः०० बजिसकेको थियो चितवनबाट भैरहवातर्फ प्रस्थान गर्दा । भैरहवा बस रोकिने ठाउँमा हातमा फूलका गुच्छा र माला बोकेर हाम्रो स्वागतमा त्यहाँका स्रष्टाहरु व्यग्रताका साथ प्रतिक्षामा रहनु भएको रहेछ । हामी पुगेपछि हामीलाई बढो आत्मियता र हार्दिकताका साथ स्वागत अभिवादन गरियो, पुष्पहार र पुष्पगुच्छाले अनि एक–एकवटा चिसो फ्रुटीले । शाक्यवुद्ध इन्टरनेशनल होटलमा हाम्रो भोजन र आवासको व्यवस्था मिलाइएको रहेछ । सबैलाई माथिल्लो तला र तल्लो तलामा गरी कोठा व्यवस्थापन गरियो । कृष्ण सुवेदी ‘निराकार’, उदेन सुवेदी, यो स्तम्भकारको पुत्र र स्तम्भकार समेत ४ जना एउटा कोठामा सेटिङ्ग भयौँ । कोठामा आ–आफ्ना सामानहरु थन्क्याएपश्चात् हामी वुद्धले शान्तिको सन्देश दिएको पावनस्थल लुम्विनी भ्रमणमा निस्कियौँ । लुम्विनी भ्रमण गरिसकेपछि पुनः भैरहवा साँझमा फर्कियौँ । साथमा खाना खाइसकेपछि कोठे कविगोष्ठी सम्पन्न भयो । निकै थाकेको कारणले होला, म धेरै वेरसम्म वस्न सकिन र कोठामा आइ सुतें । कविता वाचनका लागि नाम बोलाइएको थियो रे मेरो । तर त्यहाँ कविता सुनाइन मैले ।
मिति २०६७÷११÷१ गते विहान ११ः०० बजेदेखि भैरहवा वाणिज्य संघको सभाहलमा सुरु भयो भव्य तथा आकर्षक कार्यक्रम । भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा बाल साहित्यकार कपिल लामिछानेको सम्मान र जुही कपिल लामिछाने विशेषाङ्कको लोकार्पण अर्थात् घोम्टी खोली कार्यक्रम सम्पन्न भयो । त्यति मात्रै भएन त्यहाँ, मोहनराज शर्माको आधुनिक तथा उत्तर आधुनिक मैत्री समालोचना र राधिका रायाको कला उपन्यासको समेत घुम्टी खोलिएको थियो । प्राज्ञ बुँद राताको गजले धेरैको मन तानिएको अनुभूति गरेंं मैले त्यहाँ । अन्य धेरै कवि कवयत्रीहरुले कविता वाचन गर्नुभएको थियो । जेहोस् अत्यन्तै सुरम्य साहित्यिक वातावरणले मनलाई आनन्दित र प्रफुल्लित बनाइरहेको थियो मेरो ।
त्यहाँ वस्ता वस्तै अनेक तर्कहरु एकपछि अर्को गर्दै पानीको छालझैं आउन थाले मन भरीभरी । चूडामणि रेग्मी सुदुरपूर्व अर्थात् पूर्वाञ्चल क्षेत्रको अनि कपिल लामिछाने पश्चिमाञ्चल क्षेत्रको वासिन्दा । चूडामणि रेग्मीको नाता सम्बन्धभित्रको मान्छे पनि हैन कपिल लामिछाने । भौगोलिक दुरीको हिसाबले पनि टाढा नै मान्नुपर्छ भैरहवा (रुपेन्देही) । त्यति टाढाको मान्छेलाई किन रोज्नुभएको होला चूडामणि रेग्मीले । फेरी सोच्तछु, साहित्यले नजिक टाढा, आफ्नो अर्काको केही भन्दोरहेनछ, न त जात र धर्म नै हुँदो रहेछ साहित्यको । न त कुनै सीमाले नै छेकी रहेछ साहित्यलाई । विश्व प्रसिद्ध लेखक, कवि, साहित्यकारमा कृतिहरुले संसार भरीकै पाठकहरुलाई प्रभावित पारिरहेको हुन्छ, सायद त्यसै भएर पनि होला, चूडामणि रेग्मीले पश्चिमाञ्चलका प्रतिभाको छनौट गर्नुभएको । चूडामणि रेग्मीकै सक्रियता र वहाँकै प्रधान सम्पादकत्वमा ‘जुही ६० कपिल लामिछाने विशेषाङ्क तयार भएको र त्यसैको घुम्टी खोली कार्यक्रम र कपिल लामिछानेको सम्मान कार्यक्रममा सरिक हुन हामी पूर्वका स्रष्टाहरु जुही साहित्यिक सद्भाव यात्रा १०औं अन्तरगत त्यस तर्फ लगेका थियौं । यस विशेषाङ्कमा मैले पनि कपिल लामिछानेका दुइटा वाल उपन्यास ‘मुसाको वस्ती’ र ‘ठूलो मान्छे’ को संक्षेपमा समालोचनात्मक लेख लेखेको थिए । यो समालोचनात्मक लेख लेख्ने क्रममा कपिलजीका कृतिहरु मार्फत् उनलाई चिन्ने र अध्ययन गर्ने अवसर प्राप्त भएको छ मलाई । यसरी कपिल लामिछानेको बारेमा अध्ययन कार्यक्रममा थाहा भयो, वहाँले वाल कथा, वाल कविता, वाल उपन्यास लगायत करीव २ दर्जन गहकिला कृतिहरु निकाली सक्नु भएको रहेछ । समुद्रमा डुवेर मोति निकाले झैं गरी चूडामणि रेग्मीले नेपाली साहित्यरुपी समुद्रबाट कपिल लामिछानेलाई टपक्के टिपेर नेपाली साहित्यको फूलवारीमा मगमगाउँदो सुगन्ध छर्नुभयो । कपिल लामिछानेले नेपाली भाषा र साहित्यमा खास गरेर वाल साहित्यको क्षेत्रमा अब्वल दर्जाको योगदान पु¥याउनु भएको छ । यही योगदानले गर्दा जुहीले विशेषाङ्कको रुपमा उपस्थापन गराइयो कपिल लामिछानेलाई । नेपाली लोक परम्परामा चली आएको गाउँ खाने कथालाई विद्यावारिधीको विषयवस्तु बनाएर नेपाली लोक साहित्यलाई ठूलो सम्मान गर्नु भएको छ वहाँले ।
एकठाउँका स्रष्टाहरुलाई अर्का ठाउँका स्रष्टाहरु सँग भेटघाट, चिनजान र साहित्यको माध्यमबाट एक अर्काको भावना साटासाट गर्ने अवसर जुराई दिएर नेपाली भाषा र साहित्यको क्षेत्रमा ठूलो गुन लाउनु भएको छ चूडामणि रेग्मीले । मोफसलमा रहेका प्रभिावान् स्रष्टाहरुलाई चिनेर नेपाली साहित्यकाशमा चम्काउने काममा निरन्तर लागिरहने चूडामणि रेग्मीको कार्य सत्य छ, प्रशंसनीय छ । प्रसङ्ग फेरी यात्रा तर्फ नै ।
जुही कपिल लामिछाने विशेषाङ्कको लोकार्पण तथा उनको सम्मान कार्यक्रम सकिएपछि वेलुका हाम्रो यात्रादल फर्कियो भैरहवाबाट । भैरहवाबाट फर्कंदा पनि वस उत्तिकै खचाखच थियो । चितवनका स्रष्टाहरुको वाक्लो उपस्थिति थियो वसमा । भैरहवाबाट सुरु भयो संगीतमय यात्रा हाम्रो फर्कंदा खेरी । अरुले गीत गाएको देखेपछि र सुनेपछि मैले पनि मन थाम्न सकिन र मुख खोलें मैले पनि । मैले गीत गाउन थालेपछि सबैको ध्यान खिचियो मैं तर्फ । कहिले सामुहिकरुपमा ग्रुप सँगै त कहिले वाउ–छोरा मिलेर (छोरा प्रभात) अनि कहिले एक्लै, कति गाइयो गाइयो गीत नाथे त । भैरहवाबाट सुरु भएको संगीतमय गीती यात्रा एकैचौटी चितवनमा पुगेर रोकियो । त्यो पनि चितवनका स्रष्टाहरु त्यहाँ ओर्लिने भएर । बेलुकाको खाना चितवनमा जुहीका प्रधान संपादक तथा हाम्रा नाइके चुडामणि रेग्मीका सुपुत्र प्रदिपमणि रेग्मीले व्यवस्थापन गरिदिनु भएको रहेछ । आर.सी. रिजाल, गण्डकी पुत्र, देवी पन्थी, मधु पोखरेल, उपेन्द्र पागल, कालीप्रसाद सुवेदी लगायतका साथीहरु खाना भन्दा अघि हलका चुस्की लिन थाल्नुभयो । आँफूलाई भने केही नचल्ने । तैपनि एकदुइवटा गीतले साथ दिए मैले उहाँहरुलाई । खाना खाइसकेपछि हामी त्यहाँबाट प्रस्थान ग¥यौँ । वाटामा सुनसरी, मोरङ्गका स्रष्टाहरुलाई छाड्दै फल्गुण २ गते लगभग ९ बजेतिर चन्द्रगढी आइपुगियो ।
अहिले पनि मेरो अन्तस्करणमा त्यो साहित्यिक यात्राको सम्झना झलझली आइरहेको छ । यो लेख तयार गरिरहँदा म त्यो साहित्यिक यात्रामै छु कि जस्तो लागिरहेको छ । यस प्रकारको साहित्यिक सद्भाव यात्राले एक–अर्को स्थानका स्रष्टाहरुसँग चिनजान गर्ने, सम्वन्ध बढाउने, सद्भाव कायम गराउने तथा भाइचाराको सम्बन्ध समेत स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । यस किसिमको साहित्यिक सद्भाव यात्रा व्यक्तिगत रुपमा समायोजन गरेर चुडामणि रेग्मीले नेपाली भाषा र साहित्यको उत्थानमा खेल्नु भएको भूमिकाको जति प्रशंसा गरेपछि कम नै हुन्छ जस्तो लाग्छ । फेरीफेरी पनि यस्तो कार्यक्रमहरुको संयोजन हुँदै जाओस् यस पुनित कार्यमा सफलता मिल्दै जाओस् गुरु चूडामणि रेग्मीलाई धेरै धेरै शुभकामना ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 भाद्र, 2072

लेखकका अन्य रचनाहरु