चूडा मणि रेग्मीसँगको वनारस वसाइतिर फर्कदा

- पोष राज निरोला

आजभन्दा झण्डै छ दशक अगाडिको मेरा ठिटौले अवस्थातिरको प्रसङ्ग पहिल्याउन खोज्नु कम चानचुने काम होइन। कनीकुथी गर्दा एउटा लिखत त जेनतेन तयार परिएला हो तर खास उल्लेख गरिनुपर्ने सन्दर्भहरु चाहिँ मेरो स्मृतिपटलवाट ‌ओझेलमा परिसकेका रहेछन् भने अथवा अनावश्यक प्रसङ्गहरु चाहिँ परिदिए भने के हविगत होला? यस्तो अप्ठ्यारो परिस्थितिलाई मनमा गम्दै घोरिँदै जसो पर्ला भनी आँट कसेको छु- उही वनारसको पुरानो वसाइतिर फर्कन।
चूडा मणि रेग्मी मेरा दौँतरी साथी । अर्का शव्दमा भन्दा अभिन्न मित्र। अनौपचारिक प्रसङ्गका तँ तँ –मम का यार पनि । तँ चिता म पुर्याछउँछु भनेर कसले चितायो र कसले पुर्यागयो। यसको केही थाहा थिति छैन। तर सन्जोग चाहिँ यहाँ यस्तै परिदिएजस्तो छ । हामी दुवै एक वर्ष जेठाकाछा भए पनि जन्मथलो पूर्वको चैनपुर वाना गाउँ । घर माथिल्लो र तल्लो। धुलामाटाको खेल सँगसँगै जस्तो, चण्डी, रुद्री, कौमुदी सम्वन्धी पठनपाठन सँगसँगै जस्तो। उच्च शिक्षा आर्जनका लागि वनारस जवाइ पनि झण्डैसँगै जस्तो ।
पहिले नेपालीहरुको निमित्त उच्च शिक्षा आर्जन गर्न जाने ठाउँ भनेकै वनारस, कलकत्ता, इलाहावाद, मथुरा र वृन्दावन जस्ता ठाउँहरु हुन्थे। तिनमा पनि अङ्ग्रेजी र संस्कृत जस्ता सवै विषयहरुको राम्रो पढाइ हुने स्थान भएर होला वनारस नै मुख्य मानिन्थ्यो । धर्म र विद्या हराए काशी जानु भन्ने वूढापाकाका कथनले पनि यसकै पुष्टि गर्थ्यो । संस्कृत पढ्नेहरुका निम्तिको सर्वोच्च संस्था क्वीन्स पनि यसकै त्यसपछिको परिवर्तित रूप वाराणसेय संस्कृत विश्व विद्यालय थियो । त्यस अन्तर्गत महाविद्यालयहरुमा खास गरी संन्यासी संस्कृत महाविद्यालय, गोयन्का संस्कृत महाविद्यालय र मारवाडी संस्कृत महाविद्यालय प्रमुख थिए । अङ्ग्रेजीतर्फको सर्वोच्च संस्था वनारस हिन्दू विश्व विद्यालय थियो । त्यस अन्तर्गत केन्द्रीय हिन्दू महाविद्यालय र अन्य कलेजहरुमा डी.ए.भी. इन्टर कलेज, डि.ए.भी. डिग्री कलेज, हरिश्चन्द्र इन्टर कलेज र सनातन धर्म इन्टर कलेज प्रमुख थिए।
यी दुई उच्च संस्था र यिन अन्तर्गतका महाविद्यालय र कलेजहरुमा अध्ययन गर्न भनेर नेपालका विभिन्न भेगवाट नेपालीहरु त्यहाँ पुग्थे । अनि त्यहाँका विभिन्न गल्ली र टोलहरु जस्तै दूधविनायक, गौशाला, मंगलागौरी, पञ्चगङ्गाघाट, व्रह्माघाट, रामघाट, दशाश्वमेध घाट, असीघट आदिमा डेरा गरी वस्थे। तिनताका दूध विनायक नेपालीहरुको वसोवासको केन्द्र नै मानिन्थ्यो । विद्यार्थीहरुको आपसी चिनजान र भेटघाटको मुख्य थलो भएर होला त्यस भेगमा रहेका चिया दोकान र पानपसलहरुमा समेत नेपालीहरुकै वाहुल्य हुने गर्थर्यो । यस्तै कारणले गर्दा होला त्यहाँ वसोवास गर्ने हिन्दुस्थानीहरुले यसलाई नेपाली मुहल्ला पनि भन्ने गर्थे ।
हामीभन्दा पहिलेदेखि नै वनारस वसेर केही अनुभव वटुलिसकेका केही मित्रहरुका राय अनुसार संन्यासी संस्कृत महाविद्यालय नामको संस्थामा चूडा मणि रेग्मी र मैले पढ्ने निधो गर्यौं । त्यो संस्था दूधविनायकवाट झण्डै सवा किलोमिटर पर रहेको विश्वनाथ मन्दिर छेउको अपारनाथ मठ ढुण्डीराज सम्पूर्ण गली भन्ने ठाउँमा अवस्थित थियो। हामी दुवैले साहित्यमा एकैचोटि सम्पूर्णमध्यमा परीक्षा दिने गरी त्यहाँ पढ्न सुरु गर्यौंह । हामीभन्दा केही वर्ष जेठा भए पनि सँगसँगै जसोका लेखपढ र वस उठका सहयात्री कोशराज रेग्मी र वल्लभमणि दाहालले पनि त्यसै विद्यालयमा हामीसँगै पढ्ने निर्णय गर्नुभयो । हामी चारैजनालेसँगै पढ्यौँ र सन् १९५४ को सम्पूर्णमध्यमा परीक्षा दियौं । पछि जाँचको परिणाम निस्कँदा चूडा मणि रेग्मी र म प्रथम श्रेणीमा पास भयौं । प्रभावशाली दुई व्यक्ति असफल हुनुभयो । मेरा अनुमानमा यस्तो विचित्र नतिजा निस्कनु संस्कृत पढ्नपट्टिको इच्छा र अनिच्छाको परिणति थियो।
त्यसपछि कोशराज रेग्मी र वल्लभमणि दाहाल संस्कृत पढाइलाई विदा गर्दै अङ्ग्रेजीतिर कस्सिनुभयो । चूडा मणि रेग्मी र मैले भने अरु हौसला वढेर होला आफ्ना छोराले आचार्य पास गरेर अल्गो आसन (व्यासासन) माथि वसेर आफूलाई सप्ताह पुराण सुनाऊन् र इहलोक परलोक दुवै सपारिदिऊन् भन्ने आमावुवाको मनचिन्ते झोली भरिपूर्ण पारिदिनाखातिर संस्कृत पढ्नतिरै कम्मर कस्यौं । अनि त्यसै महाविद्यालयवाट सन् १९५७-५८-५९ मा आचार्य गरेर संस्कृत पढाइ पूरा गर्यौंं र आफ्ना आमावुवाका इच्छा फलीभूत पनि तुल्याइछाड्यौं ।
त्यसपछि अङ्ग्रेजीतर्फको हाम्रो पढाइ शून्यप्राय : भएकाले एकाधवर्षको अन्तरालमा वाराणसेय संस्कृत विश्वविद्यालयको छात्र वनेर १९६१ मा विशिष्ट पूर्वमध्यमा (आइ.ए.को पूर्वाधार) परीक्षा पास गरेर १९६३ मा हरिश्चन्द्र इन्टर कलेज वाराणसीवाट अलाहवाद वोर्डको आइ.ए. परीक्षा पास गर्यौंे ।
हामी दुईको झन्डै १० वर्ष जतिको वनारस वसाइमा डेढ दुई वर्षजतिको वसाइ भिन्नाभिन्नै भयो होला नत्र एउटै कोठा एउटै भान्सा एउटै ओछ्यान कहिल्यै छुटेन। विद्यालयको पढाइ प्राय : छुटाएनौं । राम्रा सिनेमा आए पढाइ नविगारी हेर्नेगर्थ्यौं । दिउँसो गुरुले कक्षामा पढाएको पाठ वेलुका प्राय : दोहोर्यानउने गर्थ्यौं । कितावी किरा चाहिं हुँदैनथ्यौँ । जाँच दिने समय नजिक्किँदा भने २० देखि २५ दिनसम्म पूरै तयारीमा जुट्थ्यौं मानो खाई मुरी उव्जाउने किसानका पाराले।
हाम्रो सुरुतिरका वनारस वसाइका वर्षहरुतिर दृष्टि लाउँदा संस्कृत पढ्ने र अङ्ग्रेजी पढ्नेहरुका विच पारस्परिक सम्पर्क एवम् सम्वन्ध शून्यप्राय: थियो । यिनीहरु आ-आफ्नै पाराले वसोवास र लेखपढ गर्थे । यिनीहरुको आपसमा चिनजानसम्म हुँदैनथ्यो । एउटै घरको तल्लो र माथिल्लो तलामा वस्नेहरुका विच वोलीचालीसम्मको पनि खडेरी थियो। त्यसमा पनि विशेष गरी संस्कृत पढ्नेहरुलाई अङ्ग्रेजीवालाले हेय दृष्टिले हेर्ने र उनीहरुलाई मान्छे जस्तै नठान्ने र ठानिहाले पनि यिनीहरु असभ्य र पाखे प्रवृत्तिका हुन्छन् जस्ता विशेषण भिराइदिन्थे र अर्काका दानदातव्यमा वाँचेका ठान्थे । गहिरिएर हेर्दा यसभित्र आंशिक सत्यता अवश्य लुकेको पाइन्थ्यो । एक पक्षमा हीनभाव र अर्को पक्षमा अहंभाव तर त्योभन्दा पर पुगेर भन्नुपर्दा एकपक्षको विपन्नता र अर्को पक्षको संपन्नताको संकीर्ण चिन्तन नै यो सवको कारकतत्तव थियो।
यी दुवै खाले विद्यार्थीहरुका शिक्षण संस्थाहरु भिन्नै थिए । यिनीहरुका सङ्गठनहरु पनि वेग्लावेग्लै थिए । अङ्ग्रेजीतिर नेपाली छात्र संघ र वार्षिक मुखपत्र ‘छात्र’ र ‘छात्रवाणी’ थिए भने संस्कृततिर वाराणसेय संस्कृत परिषद् र वार्षिक मुखपत्र ‘छात्रदूत’ थिए ।
कोशराज रेग्मीको प्रभावशाली व्यक्तित्व र वल्लभमणि दाहालको प्रभावशाली व्यक्तित्वको सम्मिश्रणवाट तत्कालीन विद्यार्थी परिवेशमा ठूलो परिवर्तन आयो भन्ने मेरो ठहर छ। यी दुई व्यक्तिले अङ्ग्रेजी पढ्नतिर कम्मर कसिसकेपछि अङ्ग्रेजीतिरका वालकृष्ण पोख्रेल र तारानाथ शर्माजस्ता चर्चित व्यक्तिहरुसँग परिचय हुनु अनि वल्लभमणि दाहाल, चूडा मणि रेग्मी र गणेश भण्डारीले तारानाथ शर्मासँग अङ्ग्रेजी पढ्न लाग्नुले सामान्य परिचय आत्मीयतातिर घनीभूत हुँदै जाँदा यिनीहरुकै माध्यमवाट अरुहरुसँग सम्पर्क फैलिँदै जाँदा दुवै पक्षका आवतजावत र विचार आदानप्रदानका ढोका खुल्दै गएका हुन् भन्न त्यति अप्ठ्यारो परेन।
विद्यार्थीहरु विभिन्न खाले हुन्छन् : केही पढ्नतिर भन्दा वुवाआमाको धन उडाइदिनतर्फ मन गर्ने हुन्छन, कोही फगत आफ्नो लेखपढतिर मात्र ध्यान दिने हुन्छन् त कोही आफ्नो पठन-पाठनसँगै अन्य रचनात्मक कार्य गर्नतिर पनि उद्यत रहने हुन्छन्। यो तेस्रो कोटिमा पर्ने व्यक्तिहरु थिए : कोशराज रेग्मी, वालकृष्ण पोखरेल, वल्लभमणि दाहाल, तारानाथ शर्मा, चूडा मणि रेग्मी, गणेश भण्डारी, माधव भण्डारी आदि र साथै यो लेखक पनि । यिनीहरुकै सक्रियतामा विद्यार्थीहरुको आपसी जमघट हुन्थ्यो । मौका मौकामा सभासमारोह, साहित्यगोष्ठी, कविता तथा कथुङ्ग्री प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रमहरु पनि गरिन्थे । आ-आफ्ना विद्यार्थी सङ्गठन तर्फवाट वार्षिक उत्सवहरु मनाइन्थे । आ-आफ्ना मुखपत्र मार्फत् आफ्नो भाषा-साहित्य एवम् संस्कृतिलाई टेवा पुर्याउने खालका रचनाहरु छपाइन्थे । विभिन्न पर्वपर्वका अवसरमा नेपालीपन झल्काउने जस्तै देउसी, भैलो, सँगिनी खेल्ने कार्यक्रमहरु पनि गरिन्थे।
भाषिक क्षेत्रमा व्यापक रूपमा चर्चा पाएको झर्रोवाद त्यसैताकाको उपज हो। त्यतिखेर नेपाली भाषा संस्कृत, हिन्दी र अङ्ग्रेजीवाजका चेपुवामा परेर विद्रूप रूपतिर परिणत हुँदै जाँदै थियो । यसै गरी संस्कृत, हिन्दी र अङ्ग्रेजी वहुल शव्दहरुकै मारमा पर्दै गए कुनै वेला यसको मौलिक स्वरूप नै हराउन सक्ने प्रवल सम्भावना थियो । यस्तै सम्भावनालाई ध्यानमा राख्दै ‘जय नेपाल मेरो हियोले वोल्छ’ भन्नेा वालकृष्ण पोखरेल, त्यस्तै राष्ट्रवादी चिन्तन वोकेका वल्लभमणि दाहाल र कोशराज रेग्मीहरु होमिए भाषिक आन्दोलनमा, यिनीहरुकै होस्टेमा हैंसे थप्दै अरुहरु (माथि उल्लेख गरिएका व्यक्तिहरु) पनि लागि परे।
विद्यार्थी सङ्गठनको वार्षिक मुखपत्र “छात्र”, “छात्रवाणी” र “छात्रदूत” जस्ता पत्रिकाहरुमा झर्रोवाद सम्वन्धी आफ्ना धारणाअनुसारका रचनाहरु छपाउन सम्भव भए पनि तत्सम्वन्धी सैद्धान्तिक सन्देश दिन र आफ्ना मान्यताहरु स्थापित गराउन आफ्नै अनुकूलको मुखपत्रको आवश्यकता थियो । यसैको पृष्ठभूमिमा झर्रोवादी अभियानका प्रमुख व्यक्तिहरु छुट्टीका समयमा आ-आफ्ना घर गएका वखत उनीहरुद्वारा २०१२ साल श्रावणमा पूर्वको चैनपुर वजारमा पूर्वीय युवक छात्र सम्मेलनको आयोजना गरियो र त्यसैले जनसांस्कृतिक सभा नामक संस्था जन्मायो । त्यसै मार्फत् २०१३ सालमा वनारसवाट मुखपत्रका रूपमा “नौलो पाइलो” त्रैमासिक पत्रिका प्रकाशित भयो र यसै पत्रिकाका माध्यमवाट झर्रोवाद सम्वन्धी मान्यताहरु स्थापित गरिएका हुन् । त्यसमा विशेष श्रेयका भागी एउटा चिताउने र अर्को पुर्यााउने चाहिँ कोशराज रेग्मी र वालकृष्ण पोखरेल नै थिए ।
इतिहासमा कुनै कालखण्डको कुनै खास विषयलाई उर्वर तुल्याउने खास समय विशेषलाई सुनौलो युगको विशेषण लगाइदिन सकिन्छ भने प्रवासमा वसेर विद्यार्थी जीवनको जीवन्त ऊर्जा खर्चिएर नेपाली भाषा, साहित्य एवम् संस्कृतिलाई दरिलो टेवा पुर्यासउन लागि पर्नेहरुका १०-८ वर्षे छोटै समयविशेषलाई पनि ‘उर्वर समय’ भनेर विशेषण लगाइदिए अन्यथा नठहर्ला भन्ने लेखकीय धारणा रहेको छ।
वनारस वसाइका प्रत्येक वर्षमा हामी जाँच दिइसकेपछि दुई तीन महिनाजती छुट्टीका समयमा आ-आफ्नै घरतिर जान्थ्यौं र पछि श्रावणतिर वनारस पुग्थ्यौं । चूडा मणि रेग्मी प्राय: लखेनतिरै व्यस्त रहन्थे । म आफ्नै घर व्यवहारमा व्यस्त हुन्थे । मलाई पनि लेखनतिर लाग्न सल्लाह दिन्थे । म आफ्नो पारिवारिक स्थितिले नभ्याउने उत्तर दिने अनि उनी चाहिँ “खाने मुखलाई जुँगाले नछेक्ने” कुरा गर्थे । नभन्दै यसो सोचिल्याउँदा उनले भनेको कुरा एकदम ठीक थियो । “पीपलको विउ ढुङ्गाको काप छेडेर त वाहिर निस्कन्छ” भने त्यो भन्दा कठिन र सकस पर्ने काम त अवश्य थिएन होला ?
चूडा मणि रेग्मी पठनपाठनका अवसरमा पनि खाली समयमा प्राय: साहित्य लेखन एवम् प्रकाशनतिरै ध्यान दिन्थे । जस्ता दाज्यै उस्तै भाइ । म भने वेला मौकामा कविता, कुथुङ्ग्री प्रतियोगिता हुँदा र कहिलेकाँही निस्कने पत्रपत्रिकाहरुमा कुनै वखत रचना दिनपरे कम्मर कसेरै लागिपर्थें । उनका निम्ति साहित्ययात्रा सहज थियो । पढ्दा पढ्दै ‘पहिलो यात्रा’ प्रथम कथा संग्रहका रूपमा निकाले । त्यसै वेला पाल्पाली कवि कुलमणि देवकोटाको ‘छरिएका फूल’ कविता सँगालो पनि निकाले । उनको अर्को विशेषता थियो : विद्वान् एवम् साहित्यिक व्यक्तिप्रति आदर सम्मान दर्शाउनु । यसको प्रत्यक्ष प्रमाण थियो – नौलो पाइलोको सम्पादक मण्डलमा आफ्नो नाम परिसकेको भए पनि तारानाथ शर्माका निम्ति आफ्नो नाम कटाउन सहर्ष स्वीकृति दिनु ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 भाद्र, 2072

लेखकका अन्य रचनाहरु