भिक्षु जयन्ती मनाउन जाँदा

- कृष्णादेवी शर्मा (श्रेष्ठ)

दुःख जीवनको साथी हर्ष हो पर्व पावन
दुःख रम्छ सदा साथ, गाह्रो छ सुख पाउन ।
अगाडि दुःख लागेर, सुख बस्दछ त्यो पछि
प्राप्तीमा सुखको साथ, मन जम्छ अहा १ कति ।
(अनुष्टुप)

साँच्चै हो, जीवन दुःखकै पर्याय रहेछ । हामीलाई कहिले भने जस्तो भौतिक वस्तुको अभावमा मन दुःखी हुन्छ त, कहिले विविध कारणवस मनमा तनाव उत्पन्न भएर जीवन दुःखी बन्छ । चारै तर्फ मानव जीवनको अध्ययन, मनन र मूल्यांकन गर्दा सुखको क्षण जीवनमा हामीले थोरै मात्रे उपयोग गर्न पाउँछौं । कसैले पनि पूर्ण रुपमा सुखको अनुभूत गर्न सकेको देखिदैन । सन्तानको चाहना मानव आवश्यकता हो । कुनै बेला ध्वाँके छोरा–छोरी जन्मन्छन् त्यो बेला आमा–बुबा तथा आफन्तजनहरु सबैलाई सुखको प्राप्ती हुन्छ । तर तत्कालै बालक लामो समयसम्म चिच्याई–चिच्याई रुन थाल्यो भने सबैलाई तनाव हुन्छ बच्चा किन रोयो होला भनेर । त्यसैले सुख–दुःख भन्ने कुरा जीवनमा यस्तै रहेछ ।
हो मैले पनि धेरै सुखद क्षणहरु अनुभव गर्दै आएँ । ती क्षणहरु तलाउमा ढुंगा फाल्दा आएका जल तरङ्ग झै विलाउँदै गैरहेका छन् । साथ दिईरहेको छ त केवल दुःखले जुन हरेक जीवनको भोगाई, अनिवार्यता र वास्तविकता पनि हो रहेछ । मैले भोगेका सुखद क्षणहरु मध्ये जीवनको उत्तराद्र्धमा आएर एउटा अतिनै सुखद र महत्वपूर्ण क्षण प्राप्त भएको छ । कहिले कसरी र किन त्यो क्षण उपलब्ध भयो भन्ने कुरा पनि यो नियात्रामा पाठक सामु पश्कन चाहन्छु ।
पर्वत जिल्लाको भुडिकुवा गा.वि.स. वडा नं. ५ महिली चौरमा जन्मेर षड्मास पूरा हुँदा नहुँदा आमा तुलसा रेग्मीको निधन पश्चात् पर्वत जिल्लाकै ज्ञादी कटुवा चौपारी गा.वि.स. वडा नं. १ चपाईफाँट भन्ने ठाउँमा वस्नु हुने ठुली आमा भागिरथी पौडेल (आमाकी दिदी) ले गोद उहाँकै रुखमा १९ औं बसन्त पार गरी पर्वतकै फलेबास खानीगाउँ अवस्थित श्री भवानी विद्यापीठ र (मा.वि.) हाल उ.मा.वि. २५ वर्ष अध्यापन कार्य सम्पन्न गरी अहिले नवलपरासी जिल्लाको देवचुली नगरपालिका वडा नंं १५ बुद्धपथमा स्थाई बसोबास गर्दै आएकी छु ।
वि.सं. २०७१ सालको फागुन महिनाको सुरुमै लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष हिमलाल ज्ञवाली ज्यूले मलाई फोन गरेर भन्नु भयो – “अगामी २०७२ को भवानी भिक्षु स्मृति पुरस्कार तपाईले पाउँदै हुनुहुन्छ कृष्णाजी अग्रिम बधाइ छ ।” झ्याप्प सुनदा खुसी लाग्यो तर त्यती पत्यार भने लागेन कारण पुरस्कार वितरण गर्ने अवधि धेरै लामो थियो, वि.सं. २०७२ साल जेठ महिनाको २१ गते मात्र समय वित्दै गयो । मनले पनि अन्यौलमा पिङ खेलिरह्यो । फेरि वि.सं. २०७२ को वैशाख महिनाको शुरुमै हो .......... गते हेटौंडाबाट साथी हयग्रय आचार्यको फोन आयो – “कृष्णाजी आजको कान्तीपुर (पत्रिका) हेर्नुहोस् तपाईलाई भवानी भिक्षु स्मृति पुरस्कार मिल्दैछ, मेरो तर्फबाट पनि अग्रिम बधाई छ ।” कान्तिपुर हेरे फेरि एक पटक खुसीले मन फुरुङ भयो । त्यसैको केही दिन पछि कपिलवस्तु जिल्ला निवासी श्री हरिप्रसाद शर्मा सरले फोन गर्नु भो यही समाचार सुनाएर । उहाँले भन्नु भो – लुम्बिनी दैनिक र बुटवल टुडे जस्ता पत्रिकाहरुले पनि यो समाचार लेखिसकेका रहेछन् । परिश्रमको फल मीठो हुन्छ भन्ने भनाईले मेरो मनलाई छोयो । कान्तिकारी विश्वेश्वर महाकाव्य लेखे वापत प्राप्त गर्ने स्व. भवानी भिक्षु भवानी भिक्षु स्मृति पुरस्कार ग्रहण गर्ने दिन वि.सं. २०७२ जेष्ठ २१ गतेको प्रतिक्षामा रमाउन थाले ।
मात्र तीन दिन थिए । नव कपिलवस्तु साहित्य समाज कपिलवस्तुका अध्यक्ष श्री भक्तिराम पन्थीज्यूले फोन गरेर भन्नुभयो – म्याडम पत्र आउन ढिलो हुन सक्छ, टाढाको कुरा प¥यो । त्सैले मेरो यही अनुरोधलाई आधिकारिक निमन्त्रणा स्वीकारेर आगमी वृहस्पतिबार ठीक एघार बजे रुपक स्मृति प्रतिष्ठान काठमाण्डौंबाट स्थापित नव कपिलवस्तु साहित्य समाजबाट वितरण गरिने भवानी भिक्षु स्मृति पुरस्कार ग्रहण गर्न उपस्थित भैदिनुहुन नव कपिलवस्तु साहित्य समाज परिवार हार्दिक निमन्त्रणा गर्दछौं । मैले अध्यक्षज्यूको प्रस्तावलाई स्वीकारे ।
स्व. भवानी भिक्षुको १०७ औं जन्म जयन्ती–२०७२
आज कपिलवस्तु जाने तयारी हिजै भैसकेको थियो । विहान ४ बजे नै विछ्यौना छोडेर नित्यकर्म गरी सके पश्चात् चिया पिउने कार्य पनि भयो । मेरो साथमा जाने मेरा हितैषी साथी द्वय विष्णु कुमारी गौतम र रुकुु कुमारी क्षेत्री पनि तयारी अवस्थामा रहेर मेरै वासस्थानमा प्रवेश गर्नु भो । हामी तीन महिला कपिलवस्तु जानको लागि धौलागिरी चोकमा पुगेर वसको प्रतिक्षामा उभियौं । झण्डैं आधा घण्टा पश्चात बुटवलजाने बसमा हामी चढ्यौं । यतिबेला झण्डै बिहानको ५ः३० बजे सकेको थियो ।
बस अगाडि बढ्यो । हामी लगभग ७ः३० बजे भूमहीमा उत्रेर नवलपरासी सदरमुकाम जाने जीपमा बसेका थियौं । हामी परासी पुगेर भैरहवाको बसमा चढ्दा झण्डै ८ः१५ बजेको थियो । भैरहवामा आउँदा बस फेरेर बुद्धभूमी लुम्बिनी हुँदै हामी ११ बजेको समयमा कपिलवस्तुको जिल्ला प्रशासन चोक तौलिहवा उत्रिएका थियौं । संस्थाका अध्यक्ष भक्तिराम पन्थीज्यू र साहित्यकार रामप्रसाद बलोपस ज्यूको न्यानो आतिथ्य सत्कार ग्रहण गरी हर्षित भएर खाना खानको लागि होटल रिम तर्फ लागेका थियौं ।
झण्डै सवा १२ बजे रिम होटलको स्वादिष्ट भोजन लिएर तौलिहवा संस्कृृत उच्च मा.वि. सभाहल तर्फ फर्केका थियौं । यही हलमा नेपाली साहित्य राष्ट्रिय स्तरका मूर्धन्य साहित्यक व्यक्तित्व भावना र साधनाका धनी स्वर्गीय भवानी भिक्षुको १०७ औं जन्मजयन्ती मनाउनको लागि भव्य तयारी भैरहेको थियो । कार्यक्रम हलभित्र प्रवेश गरेर अभिवादन आदनप्रदान भए पश्चात् कार्यक्रम शुरु भैहाल्यो । शालिन तथा मिष्ठभाषी व्यक्तित्व साहित्यकार अध्यक्ष भक्तिराम पन्थीज्यूको गरिमामय सभापतित्व, बरिष्ठ साहित्यकार तथा शिक्षाविद हरिराज शर्माज्यूको प्रमुख आतिथ्यतामा साहित्यप्रेमी प्रमुख जिल्ला अधिकारी श्री विनोद प्रकाश सिंहज्यूले ग्रहण गर्नुभएको थियो । विशिष्ट आतिथ्यता र कार्यक्रम सञ्चालक साहित्कार रामप्रसाद बेलबासेज्यूको दक्ष उद्घोष कलाले कार्यक्रम ज्यादै रोचक र शोभनीय भएको थियो । त्यस्तै संस्थाका उपाध्यक्ष साहित्यकार विदुषी श्री पार्वती शर्माज्यूको मिठो स्वागत मन्तव्य कार्यक्रमको गरिमालाई अझै माथि उठाएको थियो । वि.सं. २०५० सालमा स्थापना भएको नवकपिलवस्तु साहित्य समाजले यो वर्ष वितरण गरेको पुरस्कारको श्रृङ्खला दशौं थियो । रुपक स्मृति साहित्य प्रतिष्ठान काठमाण्डौंले स्थापना गरेको भिक्षु पुरस्कार नवकपिलवस्तु साहित्य समाजबाट प्रदान गरिदै आएको भिक्षु पुरस्कार यो वर्ष नारी स्रष्टालाई दिईने संस्थाको महत्वपूर्ण निर्णय उदाहरणीय भएको कुरा सबै वक्ताहरुले स्मरण गराउनु भएको थियो । यो महान निर्णयले अरु साहित्यिक संस्थाको तुलनामा नवकपिलवस्तु तथा रोचक स्मृति प्रतिष्ठान एक कदम अगाडि रहेको कुरा ध्रुवसत्य छ ।
कार्यक्रममा वि.सं. १९६६ सालमा कपिलवस्तु जिल्लामा जन्मेर नेपाली भाषा र साहित्यमा समर्पित मूर्धन्य व्यक्तित्व स्व. भवानी भिक्षुको बारेमा विस्तृत छलफल व्याख्या र विश्लेषण गरिएको थियो । यसै विषयमा कपिलवस्तुमा भवानी भिक्षु जीवनी अध्ययन केन्द्र खोल्नु पर्ने विषयबारे पनि चर्चा परिचर्चा चलेको थियो । भिक्षु बारे विविध विषयमा लेखिएका कविता, गीत र गजलहरु वाचन गरिएको थियो । रचना वाचन गर्नेहरुमा राघवेन्द्र प्रताप श्रीवास्तव, हरिराज शर्मा, भक्तिराम पन्थी, अन्जय सिग्देल, वासुदेव जमरकटेल, तेजकुमार वैद्धाचार्य, विनोप्रकाश सिंह, पार्वती शर्मा, कृष्णादेवी शर्मा र विन्दु सिग्देल लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो । यसरी हामीले लगातार ४ घण्टा भित्र स्रष्टा सम्मान पुरस्कार वितरण, रचना वाचन र अन्य साहित्यि उन्नयन सम्बन्धी छलफल गरी कार्यक्रमलाई समापन गरेका थियौं । अनि हामी केही साथीहरुले आफ्ना तस्वीर मोबाईल कैद गरेर तौलेश्वर उ.मा.वि. बाट विदा भएका थियौं ।
अव हामी जिल्ला प्रशासन चोक हुँदै बसपार्कमा गई अध्यक्ष श्री भक्तिराम पन्थी ज्यूको अनुरोधमा विदाइको चिया पिएर विष्णु गौतम, रुकुकुमारी क्षेत्री र म बस चढेर रुपन्देही जिल्लाको चार नम्बर तर्फ लागेका थियौं । समयले औलाठ्याई रहेको अवस्था थियो । चार नम्बर पुगेर अर्को बस परिवर्तन गरेपछि हामी बुद्धचोक रुपन्देहीमा झर्दा ५ बजेको थियो । त्यहाँबाट झण्डै एक घण्टा पैदल बाटो हिडे पछि राजमार्गको दक्षिण पट्टि बक्सरडाँडा भन्ने ठाउँमा पुगेका थियौं । जहाँ आजको रात हामीले विताउँदै थियौं । यो घर थियो रुकुकुमारी बहिनीकी छोरी बिमला कार्कीको । बिमला खुशी भईन् मिठो चियाले शुरुमै स्वागत गरिन एकक्षण रमाईलो भयो । साहित्यिक कार्यक्रमको पनि चर्चा चल्यो । साँझ खसीको मासु, आलु बोडीको तरकारी र टमाटरको अचार भएको स्वादिलो खाना खाएपछि एकक्षण हाँसेर सुत्यौं ।
वि.सं. २०७२।०२।२२ गते विहान ७ः०० बजे तिरै लोकल मिनीबस चढेर बुटवल सम्म आयौं । त्यहाँबाट फेरी अर्को बस चढेर हामी भलुइभन्ने ठाउँ सम्म आयौं । यहाँ विष्णु बहिनीका कान्छा ससुराको घरमा पसेर घ्यू राखेको साना मसिना चामलको भातसित रहर दाल करेलाको अचार बोडीको तरकारी मारेर फेिर बस चढ्यौं । वनकट्टी सम्मको लागि त्यहाँ सानो कामको लागि १० मिनेट झरेर फेरि अर्को बसमा देवचुली नगरपालिका वडा नं. १५ प्रगतिनगरको बुद्धचोक घरमा आईपुग्यौं । हातमा भारी सम्मान पत्र र अनुहार हल्का मुस्कुराएको थियो । यतिबेला बेलुकाको ठीक ५ः०० बजेको थियो।



अन्त्यमा एक श्लोक कविताः–
चर्चित् त्यो उपन्यास आगत रचे उम्दा कथाकार हुन्
स्रष्टा हुन् एकमा नक्षत्र गण झै साहित्यका सार हुन्
आभारी छ सदा पवित्र मन यो यी शब्दका पुष्प ली
लाखौं वर्ष जिउन भवानी म भनी अर्पन्छु श्रद्धाञ्जली ।

देवचुली–१५, नवलपरासी

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 भाद्र, 2072

लेखकका अन्य रचनाहरु