मेरो इलाम यात्रा

- खगिन्द्रा खुसी

उ ! निगुरो आएछ ।
हो ! डौठे निगुरो आएछ, आउन थालेछ ।
पाहाडमा आएको डौंठे निगुरो र मालिङ्गोमा दही लगाएको तरकारी........!
मेरो घरको छेउमा बाँस छ । त्यसको तामा काटेर २,३ दिन फ्रिजमा राखेर खाँदा मालिङ्गोको तिर्सना मेटाउँछ । सानामा खाएको मालिङ्गो र डौठे निगुरोको शव्जीको स्वाद अझै किलकिलेमै छ ।
हैन हौ सर, स्वाद त जीव्रोमा पो हुन्छ त कहाँको किलकिलेमा स्वाद हुन्छ ?
हा हा हा हा हा..................
यो संवाद कुनै फिल्मको हैन, नाटकको पनि हैन, न कथाको हो, न त उपन्यासको । यो त एउटा यात्रामा गाडीभित्र भएको यथार्थ संवाद हो । प्रसङ्ग २०७२ साल श्रावण २४ गतेको दिनमा भएको यात्राको हो । मेरो विहान ६ बजेदेखि यात्रा सुरुभयो । घरबाट निस्कँदा निस्कँदै लेखनाथ चोकमा बसले हर्न लगायो । हिँड्दा मात्रै बस भेट्न नसक्ने बुझेर दौडन थालें । धन्न पिच सम्म आइ पुग्दा नपुग्दै गार्मेन्टचोक तिरबाट आउँदै गरेको रिक्सा भेटें । त्यसमै चढेर रिक्सावाला दाईलाई हतार लगाएँ र मात्रै समयमै बस भेट्न सकें । बसमा चढ्ने बित्तिकै बस पनि हिंढीहाल्यो । समयमै गन्तव्य पुग्ने भएँ भनेर ढुक्क भएं तर ढुक्क भएको पनि व्यर्थै भयो । चाराली बिर्तामोड हुँदै बिराटनगर जाने गाडीमा चढेकी थिएँ लक्ष्मी चौक पुगेर गाडी नै बिरामी भयो । हिंड्नै नसक्ने भयो । एकछिन बाटो हेरे पनि बन्नका लागि समय लाग्ने देखेर बसबाट बाहिर निस्कीएँ । चाराली सम्म पुग्नको लागि बाइकवालाको सहयोग लिनु पर्यो । एकजना चन्द्रगढीकै मान्छे बुधबारेका कर्मचारीको सहयोगमा चाराली पुगें । चारालीबाट बिर्तामोड सम्म बसमा जानुपर्ने थियो तर इलाम जाने ट्याक्सी नै भेटें र त्यसमै चढेर बिर्तामोड बसपार्क सम्म पुगें । त्यो ट्याक्सी पनि बिरामी रहेछ, त्यसैले अर्को ट्याक्सीको अगाडीको झ्यालपटीको सीट रिजर्व गरें । म सँग नागरिकताको प्रतिलिपि बनाउनका लागि हिंडेकी धुलाबारीकी मेरै उमेरकी जस्तीलाग्ने साथी बसिन् अनि सुरु भयो बिर्तामोड देखि इलाम सम्मको यात्रा ।
झापामा बिहान घाम नझुल्कँदै देखि नै गर्मीले पसिना निकालीरहेको थियो । त्यसैले छिटो भन्दा छिटो इलामको चिसो भेट्न हतारिएका थियौं हामी । तर साढे सात बजे नै स्टेशनबाट हिंडे पनि पेसिन्जरका नाममा हामी दुईजना मात्र भएकोले पेसिन्जर पर्खिएर ओर मूल बाटामा आएर आधाघण्टा बस्यो गाडी । बल्ल अरु दुईजना पेसिन्जर थपिएपछि मात्र आठ बजे इलामतिर फर्कियो गाडी । चार जना पेसिन्जर लिएर इलाम प्रवेश ग¥यो गाडी । विर्तामोड देखि लगभग एक घण्टा पनि गाडी गुड्न नपाउँदै चिसो सुरु भयो । बाक्लो हुस्सुले बाटो छेकेर गाडी कुदाउनै नसक्ने भयो । पछाडी बसेका पेसिन्जरले त गाडी रोक्न अनुरोध गरिरहेका थिए तर हुस्सु भित्र हुर्केका ड्राइभर गाडी रोक्न तयार भएनन् । कुहिरोभित्र हराउँदै निस्कँदै फिक्कल पुग्यौं हामी । फिक्कलमा धेरैबेर गाडी रोकेर अहिले सम्म खाली रहेको गाडीबाट पोखिने गरी मान्छे भरे ड्राइभरले । भरी गाडी लिएर ढुक्क मनले इलाम सम्मको यात्रा गराए उनले । ती ड्राइभरलाई धन्यबाद !
महेन्द्र रत्न बहुमुखी क्याम्पस ईलाम मैले बि.एड. अध्ययन गरेको क्याम्पस हो । आजको मेरो गन्तव्य पनि त्यहीं थियो । फर्म भर्नु थियो मैले, त्यसकै लागि हिंडेकी थिएँ म । इलाम बसपार्कबाट सिंडी चढ्दै चियाबारीको बाटो हुँदै म.र.ब. क्याम्पस पुगें म । मैले पढेको क्याम्पसले स्वागत गरे झैं लाग्यो मलाई । हरियाली बिचको क्याम्पस, फुलबारीहरु बीचको क्याम्पसको सुन्दरता नियाल्दै म लाईव्रेरीमा पुगें । मैले टिका निरौला सरलाई भेट्नुथियो । उहाँलाई भेट्ने ठाउँ नै लाइव्रेरी थियो । टिका सरलाई त्यहीं भेटें । मेरो फर्म भर्ने काम पुरा भयो । मेरो गन्तव्य त्यहीं थियो, मेरो गन्तव्यको उद्देश्य पनि त्यति नै थियो । अब पुनः झापा नै फिर्नु थियो मैले । टिका सरसँग बिदा मागें, उहाँले भन्नु भयो मेची बहुमुखी क्याम्पसबाट उमानाथ ओली लगायत अरु सरहरु आउनुभएको छ, उहाँहरु सँग जान्छौ ? मैले नाइ नास्ति गर्ने कुरै थिएन । आफ्नै छिमेकी विद्वान गुरुहरु सँग घर फिर्न पाएकी थिएँ मैले । टिका सर सँगै लाईब्रेरीबाट तल झरें । उहाँ मिटिङ स्थल तर्फ जानु भयो म बाहिर बसें । एकैछिनमा मिटिङ स्थलतर्फबाट एकहुल गुरुहरु निस्कनुभयो । महेन्द्र रत्न बहुमुखी क्याम्पस ईलामका र मेची बहुुमुखी क्याम्पस भद्रपुरका गुरुहरु एकसाथ देख्दा धेरै खुसी लाग्यो । सबै भन्दा पहिला कमल गुरागाई सरलाई देखें, त्यसपछि हेम राज प्रसाईं, चित्र बहादुर श्रेष्ठ, होम सिटौला, अरुण भट्टराई सरलाई देखें । मैले गरेको नमस्कारमा हात जोड्दै सबै गुरुहरु क्याम्पस परिसर भ्रमणमा निस्कनु भयो । उमानाथ ओलीसरलाई भने निकैबेर पछि क्याम्पस परिसर भ्रमण गरेर आएपछि मात्र देखें ।
मेची र म.र. बहुमुखी क्याम्पसको संयुक्त समुह सँग पुनः इलाम बस पार्क पुगें म । त्यहाँको तमु होटलमा खाना खाने व्यवस्था मिलाइएको रहेछ । मैले पनि खाना खाएकी थिइन । गुरुहरुको हुलमा तमु होटलको मिठो खाना खाइयो । भात, दाल, गुन्द्रुको अचार, काँक्रोमा दही र सिलाम लगाएको अचार, स्कुसको मुन्टा र आलुको शब्जी, मासु खानेलाई खसीको मासु नखानेलाई पनिरको सव्जी थियो मासु नखानेमा कमल गुरागाई सर र म परेछौं । साथमा पापड, काँक्रोको सलाद, दही र खुर्सानी सहितको मीठो खाना खाएर होटलबाट बाहिरियौं । हामीले खाना खाए पनि ड्राइभरले खान बाँकी रहेछ । ड्राइभरले खाना खाउन्जेलको समयलाई सदुपयोग गर्दै सबैले किनमेल गर्याैं । छुर्पी, चिया, ललिपप, काँक्रा जस्ता कोशेलीहरु सबैले किनेर बाँकी किन्नु पर्नेकुरा बाटामा किन्दै जाने सल्लाह गर्दै दिनको दुई बजे इलाम बसपार्कबाट झापा तिरको यात्रा सुरु भयो । अरुण भट्टराई सर अघि नै जिरो पोइन्टमा भएका आफ्ना दिदी भिनाजुको घरमा आएर बस्नु भएको रहेछ । जिरो पोइन्टकै छेउमा भएको उहाँको दिदी भिनाजुकै घरमा गयो गाडी । भिनाजुलाई लिएर आँगनमा आउनु भयो उहाँ र म बाहेक सबै सँग चिनजान गराउनु भयो उहाँले । त्यतिन्जेल अरुण भट्टराई सर सँग मेरो चिनजान भएको थिएन । त्यही भएर पनि त्यो चिनजान कार्यक्रममा म छुटेकी थिएँ । तर गाडीमा चढेपछि चिनजान भयो । उहाँ भट्टराई हुनुहुँदो रहेछ, मेरा मावली पनि भट्टराई भएका कारण उहाँ सँग मामा भान्जीको साइनो गाँसियो । बोलीरहने, हँसाईरहने ठुलो स्वरका अरुण भट्टराई नै त्यो यात्रालाई रमाइलो बनाउने प्रमुख पात्र हुनुभएको मैले महसुस गरें ।
मेची बहुमुखी क्याम्पसका प्रमुख उमानाथ ओली, मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा क्याम्पस कार्य समितिका सदस्य चित्र बहादुर श्रेष्ठ, क्याम्पस कार्य समितिका सदस्य अरुण भट्टराई, सह–प्राध्यापक कमल गुरागाईं, उप–प्राध्यापक होम सिटौला र शाखा अधिकृत हेमराज प्रसाईं र म सहित सात जनाको झापा सम्मको यात्रा इलामको जिरो किलोमिटरबाट २ः५ बजे सुरु भयो । इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस चार पाँच बर्ष अगाडि देखि स्वायत्ततामा गई सन्चालन भैरहेको छ । मेची बहुुमुखी क्याम्पसलाई पनि त्यस्तै गरी सन्चालन गर्ने ईच्छाले स्वायत्तता सम्बन्धि व्यवस्थाको बारेमा बुझ्नका लागि ईलाम पुगेको मेची क्याम्पसका गुरुहरुसँगको यात्रा साँच्चै ऐतिहासिक रहेको महसुस गरेकी छु मैले । मैले मेची बहमुखी क्याम्पसमा पढ्न पाइन, यहाँका गुरुहरुबाट कक्षामा बसेर औपचारिक रुपमा शिक्षा लिन पाइन, तर पनि अनौपचारिक रुपमा यिनै गुरुहरुबाट धेरै शिक्षा पाएकी छु मैले, जीवन दर्शनका कुराहरु सुनेकी छु, जाने बुझेकी छु । आज तिनै क्याम्पसमा सधैं औपचारिक रुपमा प्रस्तुत हुने गुरुहरुको अनौपचारिक गफ सुन्ने मौका पाएकी थिएँ । सुरुबाटै कमल सर र अरुण सरको रमाइलो भनाभन सुरु भयो । भाषा र व्याकरणमा कट्टर कमल गुरागाई सर र भाषामा व्याकराणको परिधि भन्दा बाहिर रहन चाहने कमर्श र इङ्गिलिस पक्षका अरुण सरका बिचमा धेरै भनाभन भए र तिनै भनाभनले यात्रालाई रमाइलो बनायो । यात्रालाई रमाइलो बनाउने मुख्य पात्र उहाँहरु दुईजना नै बन्नु भयो भने सहयोगी पात्रका रुपमा हामी सबै थियौं ।
ठाउँ ठाउँमा काँक्रा, नासपाती, टमटर र स्कुसको मुन्टा किन्दै आउने क्रममा एकठाउँ अरुण सरले “स्कुसको साग कसरी रहेछ ?” भन्नु भयो । कमल सरले गल्ती पकडीहाल्नु भयो । स्कुसको साग हुँदैन सर ! स्कुस, फर्सी, घिरौंलाको मुन्टा हुन्छ, रायो तोरी मुलाको साग हुन्छ” भन्नुभयो त्यहाँ पनि एक पटक सबैले हाँस्ने मौका पायौं । तर अरुण सरले पनि गल्ती भन्नु भएको रहेनछ । अरुण सर प्रणामी सम्प्रदायका भएकाले मुन्टा भन्नु नहुनेहुँदा साग भन्नु भएको रहेछ । त्यही ठाउँमा मैले पनि दुईमुठा स्कुसको साग र तीन के.जी.नासपाती किनें ललिपप ईलम बजारमै किनेकी थिएँ । सबैले नासपाती, स्कुसको मुन्टा, काँक्रा किन्यौं । त्यसपछि आएको तिनघरेको बजारमा निगुरो देखे पछि सुरुभएको सम्वाद माथी यो लेखको सुरुमा राखि सकेकी छु । सुर्योदय नगरपालिकामा पर्ने “कन्याम इन” होटलमा बसेर कफी पियौं । कमल सर, उमानाथ सर र हेमराज सरले ब्ल्याक कफी र अरुले मिल्क कफी पियौं र पुनः यात्रारम्भ गर्याैं । तर त्यहाँ भन्दा अलिकति मात्रै अगाडिको बजारबाट कमलसरले आलु ल्याउनु रहेछ । आफ्ना बहिनी ज्वाईंले राखिदिएको आलु ल्याउनु पर्ने भए तापनि उहाँहरु घरमा नभएको कारणले उहाँहरुले राखिदिएकै आलु त ल्याउन पाउन भएन तर उहाँ लगायत अरुले पनि त्यहाँको दोकानबाट किनेर एक एक बोरा आलु ल्याउनु भयो । त्यहाँ निकैबेर अलमल भयो । त्यहाँ नजिकैको कपडा पसलमा बसेर रामायणको किताब पढ्दै गरेका हजुरबालाई देखेर निकै भावुक भएँ म । धेरै बेर लगाएर एउटा एउटा अक्षर गर्दै रामायण पढ्न सुरु गर्नु भएको थियो उहाँले । यसरी पढेर कहिले सक्नु हुँदो हो त्यत्रो ठुलो किताब? उहाँको दृढ ईच्छा शक्ति र धैर्यता देखेर उहाँलाई सलाम गरें मनले र उहाँले थाहै नपाई दुईवटा फोटो खिचें र घरमा आएर फेसबुकमा लगाएँ ।
हामी झापा प्रवेश गर्दा साँझ पर्न लागि सकेको थियो । कमल सरको घर शनिश्चरे भएको र उहाँसँग एकबोरा आलु भएको कारणले उहाँलाई घरसम्मै पुर्याईदिने कुरा भयो । बुधबारेबाट जयपुरको बाटो हुँदै शनिश्चरे तर्फ लाग्यौं हामी । जयपुर चोक देखि अलिकति भित्र पटि चित्र बहादुर श्रेष्ठ सरको पुरानो घर रहेछ, चित्र सरले हातको ईसाराले उहाँको घर भएको ठाउँ देखाउनु भयो । त्यहाँ भन्दा अलि तल शनिश्चरेको नजिकै वकिल चित्र बहादुर को घर रहेछ । उहाँको छोरोको मृत्यु भएको कुरा थाहा थिएन मलाई । पानीमा डुवेर मृत्यु भएको कुरा त्यहीं पुगेर थाहा पाएँ मैले । दुइ तिन दिन अघि मात्र चिन जान भएको थियो चित्र बहादुर सर सँग मेरो । मेरो पसलमा वकिल लक्ष्मी खनाल, वकिल राजेन्द्र खनाल र उहाँ आउनु भएर चिया खाँदै निकैवेर गफ गरेर जनु भएको थियो । आज उहाँलाई त्यत्रो ठुलो शोक परेको सुन्दा दुःख लाग्यो ।
अर्जुनधारा मन्दिर भन्दा थोरै पश्चिमपटि रहेको कमलसरको घरको आँगनमा आलुको बोरा र काँक्रा नासपातीहरु झारेर उहाँलाई घरमा छोडेर बिर्तामोड तिर लाग्यौं । गुरुआमाको केही खाएर जाने आग्रहलाई समयको अभावमा मान्न सकेनौं । कमल सरले खुर्सानी चाही झार्न बिर्सनु भएछ । त्यो विर्तामोडको कृषि बजारतिरको लाइनमा रहेको होम सिटौला सरको घर अगाडी गाडी रोकेर उहाँका सामान ओराल्ने क्रममा मात्रै थाहा भयो र त्यो खुर्सानी पनि होमसरले नै राखिदिनु भयो । हामी बिर्तामोडबाट ओरालो झर्याैं । शैनिक बजार देखि पश्चिम पटि उमानाथ ओली सरको घर रहेछ । शैनिक बजार देखि उहाँको घर सम्म जाने बाटाका बाँसघारीहरुमा चराचुरुङ्गीहरु बास बस्ने बेलाको हल्ला गर्दै थिए । मनमनमा हतार लागिरहेको थियो घर पुग्नलाई । बाटाका पानी नपरेर बाँझा रहेका खेतका ठुला ठुला प्लटहरु देखाउँदै उमासरले उहाँको घर पुर्याउनु भयो हामीलाई । त्यहाँ पुगेर उहाँको सामान झारेर त्यहाँबाट पनि विदा भयौं । अब ओर्लिने पालो मेरो थियो । शैनिक देखि चन्द्रगढी लेखनाथ चोक सम्म ओर्लने कोही थिएन । ड्राइभर दाइले एकैछिनमा लेखनाथ चोक पुर्याएर मेरा लागि गाडी रोकिदिए । म आफ्ना सामान हातमा बोकेर गाडीबाट उत्रिएँ र सबैलाई बाई गर्दै त्यहाँबाट बिदा भएँ । मनमनै मेची क्याम्पसका गुरुहरुको स्वायत्त प्रक्रियाबाट क्याम्पस सन्चालन गर्ने सोचलाई धन्यबाद दिँदै, आजको रमाइलो, सुखपूर्ण र ऐतिहासिक यात्राको संस्मरण लेख्ने अठोटका साथ घर पुगें ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 भाद्र, 2072

लेखकका अन्य रचनाहरु